यसरी सम्भब छ समृद्धि

- १० जेठ २०७२

- सौगात पोखरेल

बिषय प्रबेश

दैनिकजसो काठमाडौँको अन्तर्राष्ट्रिय विमानस्थलबाट हजारौँको संख्यामा युवाहरु बिदेश पलायन भैरहेका छन् । तर पनि नेपालका राजनीतिक दलहरुले देश बिकासका नाराहरु फलाक्न छाडेका छैनन् । यो देशबाट चालिस लाख भन्दा बढि युवाहरु रोजगारीको शिलशिलामा बिदेशमा छन् । देशमा रहेको युवाहरु पनि कोहि कोरियाको फर्म लगाउने लाईनमा छन त कोहि मेनपावरबाट भिसा झर्ने प्रतिक्षामा छन् । गाँउमा मलामीको अभाब छ कारण धेरैजसो गाँउहरु युवाबिहिन भएको छ । कोहि बिरामी भयो भने अस्पताल पु¥याउने मान्छेको अभावमा मृत्युवरण गर्नुपर्ने अवस्था सिर्जित भएको छ । बिदेशिएका  परिवारहरु सन्तानका सुन्दर भविष्यका लागि भन्दै बजारतिर झरेको छ । गाँउका खेतबारीमा पाती फुल्न थालेको छ । कारण कृषी क्षेत्रमा लगानी शुरक्षित नहुने देखेर युवाहरु खेतवारी बाँझै राखेर बिदेश हानिएका छन् । किनकी यो देशमा कृषी बिमाको अभ्यास नै भएको छैन । गाँउतिर मात्र होईन शहरतिर पनि समस्या उस्तै बिकराल छ । शहरमा भएका युवाहरुलाई बेरोजगारी समस्याले गाँजेको छ । दैनिकजसो काम खोज्ने काममा अव्यस्त युवापुस्ता अनुभबको अभाबको कारण बेरोजगार रहन बाध्य छ । हाम्रो यस्तो देशको जहाँ मान्छे क्षमतामा भन्दा उमेरको बुढ्यौलीपनमा ज्यादा बिश्वास गरिन्छ । काम खोज्न जाँदा उसको क्षमता हेर्न भन्दा पहिला नागरिकता र अनुभबको कागजपत्र हेरिन्छ । बेरोजगारी समस्याबाट ग्रसित युवापुस्तालाई आजको राजनीतिले बिकाससँग जोड्न भन्दा पनि आफ्नो पार्टीको स्वार्थ पुर्तिका लागि प्रयोग मात्र गरेको छ । त्यसको उपज नेपाली राजनीतिमा युवाहरुको भुमिका प्रयोग हुने र फालिने प्यान्थरको जस्तो छ । युवाहरुमा पनि त्यहि खालको संस्कृतिको बिकास भएको छ । आजका धेरै युवाहरुलाई बल्छी र माछा मध्य एक रोज्न लगाउनुस । उनिहरुले बल्छी छाडेर माछा रोज्ने अबस्थामा छन् । कुनै राजनैतिक कार्यक्रममा दुईचार बाईक बोलायो,दुईचार लिटर पेट्रोल हाल्दियो । मासुभात खुवाएर पठायो । फेरी अर्को कुनै पार्टीको बिबादमा उसैगरि बोलायो र पठायो । यो नै आजको हाम्रो देशको चित्र हो ।

युवा पलायन रोक्ने चुनौतिहरु

नयाँ शक्ति नेपालले अहिले संबृद्धिको नारा दिएर नयाँ खालको राजनैतिक अभियानको थालनी गरेको छ । संबृद्धिको सपना देखाउन धेरै सजिलो हुन्छ । तर त्यसलाई पुरा गर्न त्यतिकै गाह्रो छ । देशको पुरा जनसंख्याको २० प्रतिशत भन्दा बढि बिदेशमा छन् । बिदेशिएकाहरु मध्येमा ८६ प्रतिशत बढी युवाहरु छन् । बिभिन्न प्रकारका अनुसन्धानले के बताउछ भने जुन देशका युवाहरु बिभिन्न बाहनामा बिदेशमा छन् । त्यो देशले तिव्र गतिमा बिकास गर्न सक्दैन । जुन देशका पचास प्रतिशत भन्दा बढी युवा बिदेश छन् त्यो देशमा बिकासको कुरा गर्नु मनको लड्डु घ्युसँग खानुजस्तै हो । तसर्थ बिदेशिएका युवाहरुलाई स्वदेशमा फर्काउन सकिए मात्र देश बिकास सम्भब छ । नयाँ शक्तिका लागि युवा पलायन रोक्ने पहिलो चुनौति हो भने बिदेशिएका युवाहरुलाई स्वदेश फर्काएर स्वदेशमा नै रोजगारीका अबसरहरु सिर्जना गर्नुपर्ने अर्को चुनौति हो । यि दुवै चुनौतीको हल कुरा गरेर होईन काम गरेर मात्र सम्भब हुन्छ । ति दुई चुनौतिहरुको हल गर्न सकियो भने मात्र सम्बृद्धि सम्भब छ । युवाहरुलाई स्वेदशमा नै सुन्दर भविष्य देखाउन सक्नु आजको सबैभन्दा ठुलो चुनौती हो । अब बिदेश पलायनको बिकल्पमा देशमा नै रोजगारीका अवसरहरु सिर्जना गरेर देश बिकास गर्ने समय आएको छ ।  

यसरी रोक्न सकिन्छ युवा पलायन

अबसरहरुको बैज्ञानिक खोजिमार्फत हामीले हाम्रो देशबाट पलायन हुने युवाहरुलाई रोक्न सकिन्छ । अव भाषणमा होईन काममा प्राकृतिक स्रोतहरुको सदुपयोग गर्न सकेको खण्डमा मात्र हामीले थुप्रै रोजगारीका अवसरहरु प्रदान गर्न सक्छौँ । त्यसको सदुपयोगसँगै लगानी शुरक्षित हुने बिश्वास दिलाउन आवश्यक छ । हामीले धेरैपटक हाम्रो खोलाहरुबाट यति बिद्युत निकाल्न सकिन्छ भनेर सुन्दै आयौँ । तर त्यसको व्यबहारमा कार्यान्वयन गर्न हामीले कहिल्यै सकेनौँ । हामी हाम्रो देशको नदिहरुबाट बिद्युत निकाल्न भन्दा पनि नदि नै बेच्दा आनन्द मान्यौँ । त्यसैको निरन्तरतामा बिभिन्न सन्धिको बाहनामा थुप्रै नदिहरु हामीले गुमाउनु परेको छ ।

अहिले सम्मका राजनैतिक दलहरुले युवाहरुलाई नितान्त पार्टीको लडाकुको रुपमा मात्र स्थापित गराए । वा भनौँ न युवाहरु भनेका पार्टीका लागि र पार्टी भित्र पनि गुटको रक्षाका लागि मात्र प्रयोग गरिए । तर युवाहरुलाई देश बिकासको योजना निर्माणमा र समाजप्रति उत्तरदायी बनाउन सकेको खण्डमा युवाहरुले देश बिकासका निम्ती महत्वपुर्ण भुमिका खेल्न सक्छन् । नेपालमा रहेको दक्ष प्रविधी सिपयुक्त युवाशक्तिलाई देशमा नै रोक्ने हो भने बिश्वमा बिकसित प्रविधीहरु स्वदेशमा भित्र्याएर यहि थुप्रै रोजगारीका अवसरहरु सिर्जना गर्न सकिन्छ । त्यो सँगै हाम्रो देशमा रहेको खोलानाला, बनजंगल, उर्वर भुमी र प्राकृतिक सौन्दर्यलाई प्रयोग गरेर थुप्रै रोजगारीका अबसरहरु सिर्जना गर्न सकिन्छ । त्यसका लागि सरकारले ठोस निति तथा कार्यक्रमहरु सार्वजानिक गरेर बिदेशी लगानीलाई देशमा भित्र्याउन सकिन्छ ।

नयाँ शक्तिको युवा संगठन कसरी नयाँ ?

नयाँ शक्तिको गठनसँगै त्यसको युवा संगठन ‘राष्ट्रिय युवा अभियान’ पनि गठन भयो । तर नयाँ शक्तिको युवा संगठनको निर्माण नेता र व्यापारीको कनेक्सन मिलाएर कमिशन खानका लागि गरिएको होईन । हामीले हाम्रो संगठनलाई राजनैतिक धम्कीको आडमा हुने हप्ता अशुलीतिर नलैजाने निर्णय गरेका छौँ । हामीले हाम्रो पहिलो भेला लगत्तै  कुनै पनि बाहनामा आफ्नो स्वार्थ पुर्तिका लागि बन्द हडताल नगर्ने प्रतिबद्धता जनाएका छौँ । त्यसो गर्न सकेको खण्डमा युवाहरुलाई हामीले ध्वंसको राजनैतिक संस्कारबाट सम्बन्ध बिच्छेद गराएर निर्माणतिर सम्बन्ध स्थापित गराउन सकिन्छ भन्ने हाम्रो साझा बुझाई हो । हामीले सरकारी स्वामित्वमा रहेको तर बिभिन्न बाहनामा बन्द गरिएका उद्योगहरु खोल्नका लागि दवाव सिर्जना गर्ने खालका कार्यक्रमहरु ल्याएका छौँ । त्यसो गर्न सकियो भने थुप्रै रोजगारीका अवसरहरु सिर्जना हुन सक्ने कुरामा हामी ढुक्क छौँ ।  हामी हाम्रो देशलाई दश बर्षको अवधीमा बेरोजगारी मुक्त देशको रुपमा स्थापित गर्ने योजनामा छौँ । पहिले त हामीले हाम्रो संगठनमा लागेका युवामित्रहरुलाई उत्पादनसँग जोड्नका लागि पहल गरिने छ । त्यसो गर्न सकेको खण्डमा हाम्रो संगठनमा आबद्ध कुनै पनि नेता कार्यकर्तालाई  राजनैतिलाई देखाएर हप्ता अशुली गरेर जिवन गुजार्न पर्दैन । त्यसपछि राष्ट्र निर्माण  कसरी गर्न सकिन्छ भनेर स्वदेशी बिदेशी लगानीकर्तासँग बसेर दश बर्षमा बेरोजगारी समस्या अन्त्यका संम्भाबनाबारे बृहत छलफलको आयोजना गर्ने छौँ । त्यो मार्फत नेपालको जलविद्युत,औषधी उत्पादन उद्योग,पर्यटन,कृषि क्षेत्रमा लगानीको बातावरण बनाउनुका साथै केहि ठुला आयोजनाहरु संचालन गर्न सकिने संभाबना हुन्छ । त्यसका लागि हामीले लगानीकर्ताको लगानी शुरक्षित हुन्छ भनेर बिश्वास दिलाउन जरुरी हुन्छ । हाम्रो देशमा लगानीकर्तालाई आर्कषित गर्नका लागी वा उनिहरुको लगानी शुरक्षित गर्नका लागी हामीले नै  रिक्स लिन पर्छ हामीले नगरे कसले गर्छ ?अहिले नगरे कहिले गर्ने ? भनेर नेपाल बन्द सधैका लागि बन्द गरौँ भन्ने अभियानको थालनी गरेका हौँ ।  अहिले सम्मका राजनैतिक दलका युवा संगठनहरु नयाँ उद्योग खुल्ने बित्तिकै चन्दाको प्याड बोकेर हप्ता अशुलीका लागि व्यापारी कहाँ पुगिहाल्ने र सहयोग नगरेको खण्डमा बिभिन्न प्रकारका धम्कीहरु पनि दिने समस्याका कारण नेपालका धेरै उद्योगी व्यापारीहरुले आफ्नो लगानी अशुरक्षित भएको महशुस गरिरहेका छन् । यो संस्कृतिको अन्त्य मार्फत मात्र लगानीका अवसरहरु खोज्न सकिन्छ ।

राष्ट्र निर्माणका लागि युवाहरुलाई आव्हान

अन्तमा हामी युवा मित्रहरुलाई आग्रह गर्न चाहन्छौँ । आउनुहोस अव पार्टी बनाउने मात्र होईन देश बनाउनका लागि पनि हामी पसिना बगाऔँ । आजसम्म नेपालका राजनैतिक दलहरुले राष्ट्रनिर्माणबारे कुनै पनि छलफल नगरेको सत्यता हामीले बिर्सेका छैनौँ । आज सम्म नेपालका राजनैतिक दलका थुप्रै भेला र सम्मेलन भए तर कुनै पनि राजनैतिक दलले देश कसरी बनाउने भनेर छलफल गरेन बरु नेता को बन्ने भनेर छलफल भयो । युवा मित्रहरु पार्टी नेता बनाउनका लागी हरियार बोकेर पनि लाग्नु भयो । हामीले आँफुले भनेको मान्छेलाई नेता त बनाउन सक्यौँ । तर देश बनाउ सकेनौँ । र अन्तमा राजनीतिप्रति पैदा भएको बितृष्णाको कारण राहदानीको लाईनमा लामबद्ध भएर नेतालाई गाली गर्दै बिदेशिन बाध्य भएका थुप्रै युवा नेताहरु आज बिदेशी भुमिमा पसिना बगाई रहेका छन् । हिजोका दिनमा नै राजनीतिलाई पेशा नबनाएर समाजसेवा बनाएर उत्पादनको काममा लागेको भए उनिहरु आज रोजिरोटीकै लागि बिदेशि भुमिमा लाग्न पर्ने थिएन ।

त्यसैले आउनुहोस एकपटक देश बिकासबारे  व्यापक छलफल गरौँ । हामीले हाम्रो संगठनमा देश बिकासका चरणहरुबारे छलफल गरेर नयाँ संस्कृतिको थालनी गरेका छौँ । यो छलफललाई निरन्तरता दिने हाम्रो प्रतिवद्धता छ । आउनुहोस यो देश बनाउने जिम्मा हाम्रो हातमा आईपुगेको छ । यो बेला युवाहरुको जवरजस्त हस्तक्षेप जरुरी छ । त्यो ध्वंसका निम्ती होईन, निर्माणका निम्ती हुनेछ ।

हामीले अहिले पनि  राष्ट्र निर्माणमा हस्तक्षेप गर्न सकेनौँ देश बिकास नहुने निश्चित छ । आउनुहोस हातेमालो गरौँ अवको राजनीति ध्वंसका लागी होईन, निर्माणका लागि हुनेछ । उद्योगधन्दा, कलकारखाना बन्द गर्न होईन, बन्द उद्योगहरु खोल्नका लागी हुनेछ । संगठनहरु हप्ता अशुलीका लागि होईन योजना कार्यन्वयनका लागी हुनेछ । बन्द सधैको लागी बन्द गरौँ यो हाम्रो प्रतिबद्धता हो ।