संस्कार र संस्कृतिमा पनि ‘नयाँ’को आवश्यकता

- ६ असोज २०७३

दुर्गा सोव
सह–संयोजक, नयाँ शक्ति पार्टी, नेपाल

हाम्रो देश नेपाल धार्मिक तथा साँस्कृतिक विविधतायुक्त देश हो । यहाँ विभिन्न जाति, भाषा, धर्म, क्षेत्र र समुदाय अनुसारको धार्मिक संस्कार र संस्कृति पनि भिन्दाभिन्दै छन् । प्राकृतिक, धार्मिक, साँस्कृतिक विविधताले भरिपूर्ण हाम्रो देश नेपालमा धर्म, संस्कार र संस्कृतिको नाममा सामाजिक विभेद चर्को रुपमा रहेको छ । त्यसका साथसाथै, हाम्रो समाजमा जातीय, क्षेत्रीय, लिंगीय विभेद पनि गहिरो गरी जरा गाडेर बसेको अवस्था छ ।

समाजमा गहिरो गरी जडा गाडेर बसेको यस्तोखाले विभेदबाट नेपालमा सबैभन्दा बढी आधा आकाश आधा धर्ती ओगट्ने महिला र दलित समुदाय पीडित भएका छन् । आर्थिक तथा विकासको दृष्टिले समेत निकै पछाडि परेको सुदूरपश्चिमका जिल्लाहरुमा यस्तो असर अझै बढी गम्भीर ढंगले परेको देखिन्छ । अन्धविश्वास यतिसम्म थियो कि कुनै बेला ती सुदूरपश्चिमका जिल्लाहरुमा महिलाहरुलाई बली चढाउने प्रचलन समेत थियो । जसलाई देउकी प्रथा भन्ने गरिन्छ ।

नेपालमा सानै उमेरमा महिलालाई विवाह गर्ने कुसंस्कार समेत रहेको छ । सानै उमेरमा छोरीको कन्यादान गर्ने बुबाआमा स्वर्गमा पुग्छन् भन्ने अन्धविश्वास र गलत सोँचका कारण समाजमा बालविवाह हुने गरेको छ । बालविवाहका कारण ठूलो संकटमा बालिकाहरु नै परेका छन् । उमेर नपुग्दै वस्तुजस्तै आमाबुबाले रोजेको केटासँग विवाह गरिदिने र सानै उमेरमा आमा बनेपछि भोग्नु पर्ने समस्याका कारण बालिकाहरु घरेलु हिंसाको शिकार बन्न पुगेका छन् । यस्तो हुनुमा सामाजमा जबर्जस्त स्थापित गलत संस्कार र संस्कृति नै हो ।

महिलाले समाज, घर र पुरुषका लागि योगदान गर्नुपर्ने हुन्छ । दलितको अवस्था पनि त्यस्तै छ । अचम्मको कुरा त बालविवाह जस्तो अपराधमा सामाजका ठूलाठालू नै खुशीमा भोज गरिरहेका हुन्छन् । बालविवाहपछि निम्तिने र सामना गर्नुपर्ने समाजका चुनौतिहरु सबै महिलाको हिस्सामा पर्ने गर्दछन् । यसको अर्थ बालविवाह गर्ने पुरुषलाई कुनै समस्या हुँदैन भन्ने कुरा पटक्कै होइन । यद्यपि ठाउँ र क्षेत्र अनुसारका संस्कार संस्कृतिहरु फरकफरक रहेका छन् ।

सूदुरपश्चिममा अहिले पनि छुवाछुत जस्तो कलंकित प्रथा कायमै छ । कथित माथिल्लो जातिलाई तल्लो जातिले छोएमा सुनपानी छर्केर शुद्ध हुने कुसंस्कार कायम छ । यस्तो कु–प्रचलन सुदुरपश्चिममा धेरै हुनुको कारण शिक्षा र अर्थसँग पनि जोडिएको छ । सुदूरपश्चिम हरेक कुराले पछि परेको क्षेत्र हो । त्यहाँ विकास, शिक्षा, स्वास्थ्य राज्यका मुख्य निकायमा पहुँच र सहभागिताको कुरालाई हेर्दा अहिले पनि अरुभन्दा निकै कम रहेको छ । यी कारणले महिला र दलितमाथि हुने विभेद त्यो ठाउँमा संस्कारको रुपमा नै विकास भएको छ ।

यसैगरी मुस्लिम धर्म मान्ने महिलाहरु पनि निकै ठूलो उत्पीडनमा परिरहेका छन् । उनीहरुका लागि समाज सहज रहेको पाइँदैन । उनीहरु चाहेर वा नचाहेर अहिले पनि समाजको अगाडि बुर्का लगाएर हिँड्नुपर्ने बाध्यता देखिन्छ । यता हिन्दू धर्ममा पनि गरुड पुराणले महिलालाई अत्यन्तै अपहेलना गरेको छ ।

धर्मका अनुयायीहरुले त्यसको छत्रछाँयामा रहेर महिलाका लागि मात्र अनगिन्ती नियम बनाएका छन् । जुन कुरा समाजभित्र महिलामाथि हिंसा गर्ने हतियार बन्न पुगेका घटना पनि छन् । कुनै कुरामा कमजोर देखाउने, कतै निरिह बनाउने त कतै महिला भनेका मान्छे नै होइनन् जस्तो गरी व्याख्या र विश्लेषण गरेको पनि पाइन्छ ।

हाम्रो छिमेकी मुलुक भारतको कुरा गर्ने हो भने त्यहाँ त्यतिविधि छुवाछुत गरेको पाइँदैन । भारतमा दमाई र लोहारहरु अछुत जातभित्र पर्दैनन् । नेपालमा भारतबाट नै विभिन्न जातिहरु भित्रिएको कुरा इतिहासमा पढ्न पाइन्छ । त्यसैगरी नेपालको तराई क्षेत्रमा अहिले पनि सुन र लोहारको काम गर्नेमाथि जातीय भेदभाव गरिँदैन ।

यसैगरी मधेशका दलितहरु पहाडमा आए भने उनीहरुमाथि पनि जातीय विभेद हुँदैन । हाम्रो समाजमा विचित्र खालको सामाजिक संस्कार बन्यो । संस्कार यही नै हो भन्ने कुरा कतै पनि किटान गरिएको पाइँदैन । ठाउँ परिवेश र क्षेत्र हेरेर मात्र नेपालमा विभेद भैरहेको छ । यसरी हेर्दा विभेद जो बलियो र सम्पन्न छ उसैले सिर्जना गरेको कुरा हो । यहाँ सामाजिक संस्कारका नाममा गरिने विभेद ठाउँ अनुसार फरक रहेको छ । देशको पूर्वी क्षेत्र अलि खुल्ला समाज रहेको पाइन्छ । समयको परिवर्तनसँगै केही सोँच र संस्कारमा परिवर्तन देखिन्छ । पश्चिम नेपालको तुलनामा पूर्वी नेपालमा जातीय विभेद निकै कम रहेको पाइन्छ । तराई र पहाडका महिलामाथि हुने सामाजिक विभेदमा पनि भिन्नता पाइन्छ । त्यसैगरी सुदूरपश्चिमका महिलामाथि हुने सामाजिक, आर्थिक र साँस्कृतिक विभेद निकै भिन्न प्रकारका छन् ।

भगवान रिसाउने नाममा महिला छाउ हुँदा र सुत्केरी हँुदा गरिने विभेद अहिले पनि कायम छ । धर्म र संस्कारको आडमा महिलामाथि बारम्बार विभेद भैरहेको हुन्छ । त्यसको साथै कमैया महिलामाथि भिन्नै खालको विभेद हुने गरेको पाइन्छ । मध्यपश्चिममा पनि छाउपडी प्रथा अहिले पनि कायम रहेको छ । त्यो क्षेत्रका महिलाको आर्थिक अवस्था कमजोर भएका कारण पनि सामाजिक रुपमा उनीहरुमाथि अझ धेरै हिंसा हुने गरेका छन् । त्यसको साथै पश्चिममा बालबिबाह धेरै हुने गरेका विभिन्न समयमा जारी हुने तथ्यांकले देखाउने गरेको छ ।

हाम्रो समाजमा वंश चलाउनका लागि छोरा नै चाहिन्छ भन्ने अर्को सोंच संस्कारकै रुपमा रहेको पाइन्छ । त्यहाँ पनि महिलाको भूमिकालाई संस्कारको सिक्रिभित्र बाँधिएर राखिएको हुन्छ, जसको बागडोर समाजका ठूलाठालूकै हातमा रहेको छ ।

संस्कार संस्कृतिले सबैभन्दा ठूलो असर महिलालाई पारेको छ । छुवाछुतको रुपमा दलित जातिलाई विभेद गरिन्छ भने महिलाहरुलाई लिंगको आधारमा विभेद भइरहेको छ । अझ त्यसमा पनि दलित महिलाहरुमाथि हुने विभेद त अत्यासलाग्दो छ ।

समाजमा संस्कार, संस्कृति र धर्मकर्म गर्ने धेरै ठाउँमा महिलालाई विभिन्न तर्क गरेर सहभागी नै हुन दिँदैनन् । महिलाहरुमाथि हुने यो अर्को ठूलो विभेद हो । त्यसैगरी दाइजो प्रथाले पनि नेपाली महिलाहरुमाथि चर्को विभेद गरेको छ । तराईमा दाइजोप्रथाकै कारण कयौं महिलाहरु हत्याजस्तो जघन्य घटनाहरुबाट पीडित हुनुपरेको छ । सामाजिक संस्कारका कारण महिलाले अकालमा ज्यान गुमाएका धेरै उदाहरण हाम्रो समाजमा रहेका छन् । तर पनि समाज र राज्यले पनि त्यसलाई गम्भीर रुपमा लिएको देखिँदैन ।

हाम्रो समाजमा चल्दै आएको यस्तै गलत संस्कार र संस्कृतिका कारण छोरीहरुलाई बाहिर पढ्न पठाउनु हुँदैन भन्ने मान्यता छ । जसले गर्दा महिलाहरु सामाजिक रुपमा सक्रिय जीवन विताउन समेत नसक्ने अवस्थामा छन् । सोही कारणले महिलाहरु परिवारबाटै विभेदमा पर्ने गरेका छन् । कयौँ वर्ष अघिदेखिका धर्म, संस्कार र संस्कृतिको मान्यतामा छोरीहरु चल्नुपर्छ भन्ने सोँचकै कारण महिलाले आफ्नो जीवन आफ्नो हिसावले जिउन पाउने अवस्था छैन ।

समय त परिवर्तन भयो । धर्म संस्कार र संस्कृति भने त्यो अनुसार परिवर्तन र परिमार्जन हुन सकेको छैन । आजको युगमा पनि पुरानै संस्कार संस्कृतिलाई जडको रुपमा लिइँदै आएको छ । जुन समय सान्दर्भिक नै छैन् । ती संस्कारलाई पनि समयको परिवर्तनसँगै परिमार्जन गरेर लैजानु पर्दछ ।

हामी यतिबेला एक्काइसौं शताब्दीको वैज्ञानिक तथा चमत्कारिक युगमा छौं । सूचना सञ्चारको अदभूत विकासले मानिसलाई निकै अगाडि बढाएको छ । तर पनि नेपालका यो शताव्दीका महिलाले आफूलाई विभेद गर्ने धर्म संस्कारलाई पूर्ण रुपमा अस्वीकार गर्ने र आफूलाई परिमार्जन गर्न सकिरहेका छैनन् । तर पनि विस्तारै यो सोँच र शैलीमा परिवर्तन हुन थालेको छ । नेपाली महिलाहरु राजनीतिक रुपमा पनि सचेत हुन थालेका छन् । पुरानै सोँच र संस्कारलाई तोड्ने प्रक्रिया समेत सुरु हुन थालेको छ । एक्काइसौं शताब्दीको यो युगमा महिलाहरुमाथि कुसंस्कार लाद्न खोज्यो भने त्यो अब कदापि सफल हुन सक्दैन । यसको असर धर्म र संस्कारमा पनि पर्दै जानेछ । त्यसकारण धर्मका अगुवाहरुले बुझ्नु पर्दछ कि समयको माग अनुसारको परिवर्तन आवश्यक छ । त्यसमा सचेत ढंगले आफ्नो गतिविधि गर्नु आवश्यक छ ।

शिक्षित समाजले विस्तारै परिवर्तनको लागि समाजको अगुवाई गर्नुपर्दछ । समाजमा व्याप्त कुसंस्कार र संस्कृतिको साक्षी शिक्षित समुदाय बन्दा परिवर्तन हुन सकेको छैन । यो समुदाय छलफलमा जति क्रियाशील रहन्छ त्यो कुरा व्यवहारमा लागू गर्न नसक्दाको परिणामको मूल्य महिलाहरुले चुकाउनु परेको छ ।

हाम्रो समाजमा रहेको कुसंस्कार र संस्कृतिलाई परिवर्तन गर्ने कार्यको अगुवाई अब युवा जमातले नै गर्नु पर्दछ । सभ्य समाज निर्माण गर्ने मूल भूमिका अब युवाको काँधमा आएको छ । यस्ता विभेदपूर्ण संस्कार संस्कृतिलाई रुपान्तरण गर्दै लैजाने कुरामा युवा पीढी नै अगाडि आउनुपर्छ । हिजो महिला बोल्न सक्दैनथे । त्यो बेलाको अवस्था पनि त्यही प्रकारको थियो । बाध्य भएर महिलाले सबैकुरा मान्दै र गर्दै आए, तर अहिले त्यो अवस्था छैन् ।

गलत कुराको विरोधमा महिला आफैं अगाडि आउन सक्छन र आउनुपर्छ । त्यो बेलाको समाजले सिर्जना गरेको कुरा अहिलेसम्म हामीले बोकेर हिँडेका छौँ । जसलाई जरैबाट उखेलेर फाल्नको लागि सामाजिक कार्यकर्ता र राजनीतिक दलहरुले कुसंस्कारविरुद्ध अभियान नै चलाउनुपर्छ । खासगरी राजनीतिक पार्टीहरुको संगठन स्थानीय निकायसम्म हुन्छ । त्यसैले कुसंस्कार परिवर्तनको लागि पार्टीहरुले चलाउने अभियान प्रभावकारी हुन्छ । समाजमा चेतनाको विकास हुन्छ । जसले मानिसहरु ठीक र बेठीक के हो भनेर आफैंले छुट्याउन सक्ने अवस्था छ ।

समाज रुपन्तरणको लागि नीति बनाउने र लागू गर्ने काम पनि राजनीतिक दलहरुबाट नै हुन्छ । सभ्य र विभेदरहित समाज निर्माण गर्ने मुख्य भूमिका पनि राजनीतिक दलहरुकै हुन्छ । हरेक राजनीतिक पार्टीले जात र धर्मको आधारमा हुने विभेदलाई अन्त्य गर्ने र विभेद गर्न प्रोत्साहन गर्ने खालका गातिविधिमा संलग्न हुने नेता कार्यकर्तालाई कारवाही गर्ने पद्धतिको विकास गर्नुपर्छ । राजनीतिक पार्टीले मान्छे–मान्छेबीच हुने विभेद र संस्कार संस्कृतिका नाममा हुने विभेदका विरुद्धको अभियानलाई प्राथमिकतामा राखेर योजना बनाउने र कार्यान्वयन गर्नुपर्दछ । पार्टीहरुले आफ्नो घोषणापत्रमा समेत सामाजिक कुरिती र कुसंस्कारबारे किटान गरेर जानुपर्छ । पुराना राजनीतिक पार्टीहरु केवल ठूला ठूला राजनीतिक मुद्दाका मात्र कुरा गर्दछन् तर, समाजमा हुने कुरिती कुसंस्कार विरुद्ध आवाज उठाएको पाइँदैन । मुलुकमा अस्तित्वमा रहेका पुराना पार्टीहरुले समाज रुपान्तरणमा भन्दा सत्ता परिवर्तन र राजनीतिक एजेण्डालाई मात्र प्राथमिकता दिँदै आएका छन् । जसले गर्दा समाजमा अहिले पनि महिला दोस्रो दर्जाकै नागरिक हुन बाध्य बन्नु परेको छ । यी सबै कुरालाई आमूल परिवर्तन गर्ने योजनासहित नयाँ शक्ति देशमा उदाएको छ । अब नयाँ शक्तिको अगुवाईमा मुलुकमा व्याप्त कुरिति र कुसंस्कारको अन्त्य गर्नुपर्दछ ।