विदेशीको हेपाइ - देश गरीब हुनुको परिणाम

- १० मंसिर २०७३

रुद्र ढकाल

पूर्वप्रधानमन्त्री भएता पनि कुटनीतिक राहदानी प्रयोग नगरी सबै नेपालीले बोक्ने राहदानी बोकेर हङकङ पुग्दा डा. बाबुराम भट्टराईले अध्यागमनमा नजरबन्द अर्थात् भर्चुअल डिटेन्सनमा केहीबेर बस्नुपर्‍यो । पूर्वप्रधानमन्त्री भट्टराईले बेलायत भ्रमणको क्रममा भन्नुभएको थियो – 'व्यक्ति जतिसुकै धनी र प्रतिष्ठित भएपनि देशै गरीब भएपछि नेपाली पासपोर्टवालाहरुलाई विदेशीहरुले हेप्छन् ।'

भट्टराईका अनुसार जुवाडे अर्थतन्त्र र ब्रह्मलूटको भरमा केही व्यक्ति मात्रै धनी हुने परम्परा भएको हाम्रो देश नेपाल वास्तविक रुपले बिश्वका गरीब देशहरुमध्येमा पर्छ । नेपाल यसरी गरीब हुनु नै आम नेपालीको अपमानको मुख्य कारण हो । नोभेम्बर १३ तारिखका दिन बेलायतको अल्डरशटमा भएको अन्तर्राष्ट्रिय नेपाली समाज युकेको बिशाल सभालाई सम्बोधन गर्दै तथा विश्व मुद्रा कोष, ओ. ई. सी. डि. र विश्व बैंक लगायतका तथ्यांकहरुलाई केलाउंदै नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. भट्टराईले नेपालको कूल ग्रार्हस्थ उत्पादन अर्थात् विश्वको कूल आय मध्ये नेपालमा भएको कूल राष्ट्रिय आय जम्मा शून्य दशमलब शून्य शून्य चार अर्थात् ०.००४ भएको बताउनुभयो । यस आम्दानी मध्ये साढे तीन करोड नेपालीलाई बराबरी भाग लगाउँदा अहिले सरदर नेपालीको औसत प्रतिब्यक्ति आय एक जनाको भागमा २ अमेरिकी डलर पर्न आउँछ । भट्टराईका अनुसार यसै तथ्यांकको आधारमा नै हाम्रो देश नेपाल विश्वकै गरीब देशमा चिनिएको हो ।

यसको मतलव नेपाली पासपोर्टवालाको हैसियतमा विदेशीहरुको सामु हामी उभिँदा उनीहरुले हामीलाई एउटा भिखारीलाई हेर्ने नजरले हेर्ने गर्छन् । अझ भन्नुपर्दा नेपालीले बदमासी पो गरिहाल्छ कि भनेर शंकाको दृष्टिले हेर्छन्।  यसबाहेक जतिसुकै हाईप्रोफाइलको काम गरे पनि चोरेर पो भागिहाल्छ कि भनेर काम गर्ने ठाउँहरुमा समेत् बिदेशीहरुले नेपालीहरुलाई एउटा चोर मानिसलाई हेर्ने नजरले अर्थात् 'स्ट्रेन्जर' को रुपमा हेरिरहेका हुन्छन् । यसैगरी जतिसुकै हाईप्रोफाईल ब्यक्तित्व भए पनि हरियो नेपाली राहदानी देख्नेबितिकै बिदेशी इमिग्रेशनले जहिले पनि नेपालीहरुलाई शंकाको दृष्टिले नै हेरिरहेका हुन्छन् ।  बिदेशीको यस्तो हेपाहा प्रवृत्तिको ज्वलन्त उदाहरणको लागि हालसालै हङकङ अध्यागमन (ईमिग्रेशन) ले नेपालका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई गरेको अनौठो व्यवहारलाई लिन सकिन्छ ।      

प्रचारात्मक कार्यक्रम र संगठन बिस्तारको सिलसिलामा हालसालै बेलायत पुग्नुभएका भट्टराईले लण्डन स्थित नेपाली दूतावास लगायत प्रशिद्ध विश्वबिद्यालय लण्डन स्कूल अफ इकोनोमिक्स एण्ड पोलिटिकल साइन्स र विश्वकै एक नम्बर श्रेणीको अक्सफोर्ड बिश्वबिद्यालयमा दिएको पब्लिक लेक्चर लगायतका अन्तरक्रिया कार्यक्रम र पोर्चुगल तथा बेलायतका विभिन्न स्थानहरुमा दिनुभएको सार्बजनिक अभिव्यक्तिहरुका अनुसार उहाँलाई हङकङ इमिग्रेशनले बिना कारण अध्यागमनको एउटा अपराधीलाई केरकार गरी अनुसन्धान गर्ने कोठामा लगेर राखेको थियो ।

नेपाल गरीब देश भएकैले नेपालीलाई बिदेशी इमिग्रेशनले हेपेको र बिनाकारण थुनामा राखेको हो । देश गरीब हुनुको धेरै कारणहरुमध्ये मुख्य कारण ६ देखि ९ महिनामा फेरिइरहने अस्थीर सरकार र त्यही मौका छोपेर भ्रष्टाचारमा रमाइरहने नेपालको माफिया कर्मचारीतन्त्र हो । किनकि यस्तो बेला कर्मचारीतन्त्रले सरकारलाई टेरपुछार लगाउँदैन र जे गरे पनि आफूहरुलाई कसैले केही पनि हल्लाउन सक्दैन भनी आफूले आफैंलाई देशकै सर्बेसर्वा ठान्ने गर्छ । यस्तो अस्वच्छ र धमिलो बाताबरणमा राज्यलाई जताततै भ्रष्टाचारै भ्रष्टाचार र दलालीतन्त्रले गाँजेको हुन्छ । महंगी र कालाबजारीले देशलाई सर्बत्र घेरेको हुन्छ । त्यसभित्रको  बजार भने एकदमै छाडा र अनियन्त्रित हुन्छ किनकि बजारलाई नियन्त्रण गर्ने निकायका कर्मचारीहरुलाई महंगीले केही फरक पार्दैन । उनीहरुसँग बैंकमा मात्रै नभइ भ्रष्टाचारबाट थुपारेको कालो धन प्रशस्त मात्रामा हातमा नै हुन्छ । जुन दु:ख नगरी कमाएको धन उनीहरुलाई खर्च गर्न कत्ति पनि अप्ठेरो हुँदैन । जति महँगी भए पनि र कुनै पनि उपभोग्य बस्तुको जति नै मूल्य तिर्नु परे पनि खुरु खुरु तिरिरहेका हुन्छन् । अर्कोतिर जति जति महंगी बढीरहेको हुन्छ, उति उति भ्रष्टाचार पनि गुणात्मक रुपले फस्टाइरहेकै हुन्छ । फलस्वरूप देशमा पैसाको क्रयशक्ति घट्दै गइरहेको हुन्छ भने मुद्रास्फिती चाहीँ लगातार बढिरहेको हुन्छ । अर्कोतिर बहुसंख्यक जनताहरु झन्झन् गरीब र देश भित्रभित्रै कंगाल बन्दै गइरहेको हुन्छ । औसतमा केही प्रतिशत व्यक्तिहरु मात्रै धनी बन्दै गइरहेका हुन्छन् ।

व्यक्तिगत रुपमा जतिसुकै धनी र प्रतिष्ठित भए पनि जबसम्म देशको समग्र विकास भई प्रतिव्यक्ति आय बढ्न सक्दैन तबसम्म विश्वले कुनैपनि गरीब देशको नागरिकलाई हेर्ने दृष्टिकोणमा परिबर्तन हुँदैन । नेपालको कुनैपनि व्यक्तिलाई व्यक्तिगत रुपले जतिसुकै धनी र प्रतिष्ठित भए पनि देशकै समग्र उन्नति नभएसम्म बिदेशीहरुले निम्नस्तरको दरिद्र ठानी जहिले पनि शंकाको दृष्टिले अपमान गर्ने क्रम जारी रहन्छ । देशको अहिलेको साझा मुद्दा भनेको व्यक्तिगत लाभ-हानीको हिसाबकिताबमा केन्द्रित फोहोरी र भद्दा राजनीतिको विकल्पमा आर्थिक विकास र समृद्धिको एजेण्डालाई कार्यान्वयन गर्न सक्ने राजनीति जन्माउनु हो ।

एकाध मानिसहरु मुखमा राम-राम भनेर बगलीमा छुरा बोक्ने तथा अर्काको धज्जी उडाउने हुन सक्लान् तर यतिबेला धेरैले नयाँ शक्ति पार्टी र संयोजक भट्टराईको विचारलाई मन पराएका छन् । तर हाम्रो देश नेपालमा राम्रो गर्न खोज्नेको खुट्टा तान्ने पुरानो प्रवृत्ति राजनीतिक व्यवस्था परिवर्तन भए पनि निरन्तर अझैसम्म हाबी छ । यस्तो प्रवृति नभइदिएको भए नेपालले उहिल्यै बिकासको छलाङ हानिसकेको हुन्थ्यो होला ।

देशलाई अधोगतिमा लैजाँदा नै व्यक्तिगत फाइदा हुने केही व्यक्तिहरुले वैकल्पिक राजनीतिको सधैं विरोध नै गर्छन् । यिनलाई देशको समग्र बिकास भए पनि नभए पनि कुनै मतलब छैन । आम नेपाली जनताहरुको उन्नति भएर उनीहरुको जीबनस्तर अझै उकासिएको पनि तिनीहरुले देख्न चाहन्नन् । उनीहरुलाई त केवल क्षणिक फाइदा भए पुग्छ । यिनलाई नेपाल जति-जति अविकसित र पछाडि पर्‍यो उति-उति धमिलो पानीमा माछा मार्दै कालो धन कुम्ल्याएर रजाईं गर्न पाइन्छ भन्ने कुरा भित्री मनमा लागिरहेको हुन्छ । नेपालमा सिस्टम बसिदियो भने त सबैकुरा पारदर्शी भएर यिनीहरुको कालो धन्दा चौपट हुन्छ । त्यसैले पनि केही मुट्ठीभर व्यक्तिहरुले विरुद्धमा आफ्नो शक्ति लगाउने नै छन् । 

नयाँ शक्तिको सन्दर्भमा आजकाल दुई किसिमका मानिसहरु देखा परेका छन् । एकाथरी मानिसहरु जो शुरुदेखि नै बाबुरामको गतिबिधिलाई नजिकबाट हेर्दै आएका छन्, ती मानिसहरु बाबुरामलाई बिश्वास र भरोशा गर्छन् । किनकि उनीहरुले देखेका छन् - बाबुरामको टाढैबाट छर्लंगै देखिने पारदर्शी जीवन, सदाचार र सरल ब्यबहार तथा उनको योग्यता र योग्यता अनुसारको खुबी र काम । ती मानिसहरुमा उनको कार्यदक्षताले शतप्रतिशत बिश्वास पारेको देखिन्छ । अर्काथरी अलिक अध्ययन र विश्लेषण गर्ने खुबी कम भएका र हावादारी हल्लालाई झट्टै पत्याइहाल्ने र अरुलाई उडाइहाल्ने प्रवृति भएका मानिसहरु छन् । ती मानिसहरु चाही बाबुराम भट्टराईलाई जहिले पनि शंकाको दृष्टि हेर्ने गर्दछन् । त्यो भित्र पनि एकाथरी चाहीं यस्ता मानिसहरु छन् तिनीहरुलाई भित्र भित्र चाहीँ बाबुराम नै चाहिएको छ तर बाहिर बाहिर मुखले चाहीँ किन हो कुन्नी भनीहाल्न सकिराखेका छैनन् । 'पर्ख र हेर'को अवस्थामा छन् । उनीहरु ढिलो या चाँडो पछुताउँदै नयाँ शक्तिको मुलधारमा लामवद्ध भएर समाहित हुने मनस्थितिमा छन् भन्ने मलाई लागेको छ किनकि यस्तो भैराखेको पनि देखिएको छ ।  यसो भएमा सोचेभन्दा ढिलै भए पनि एकचोटि देश विकासको माहौल सिर्जना भएरै छाड्छ । नत्रभने व्यक्ति जतिसुकै धनी र प्रतिष्ठित भए पनि देशै गरीब रहुन्जेल नेपालीहरुलाई विदेशीले हेपीरहन्छन्, हेपि नै रहनेछन् ।