'नयाँ शक्ति पूर्ववत: कुनै पार्टीको निरन्तरता होइन'

- ६ चैत २०७२

- देवेन्द्र पौडेल

अन्तरिम केन्द्रीय परिषद् सदस्य, नयाँ शक्ति नेपाल

देशमा भिन्न प्रकृतिको नयाँ संस्कार, सस्कृति र आचरणसहितको राजनीति स्थापित गर्नका लागि उदात्त भावनामा समर्पित स्वयंसेवी अभियन्ताहरुको सचेत पहलकदमीमा निर्माण गर्न लागिएको वैकल्पिक राजनीतिक धारा हो । जसले विशाल जनताको प्रत्यक्ष सहभागितामा नयाँ कायक्रमसहित आगामी झन्डै २० वर्षमा देशलाई अन्तर्राष्ट्रिय मापदण्डमा पर्‍याउने उद्देश्य लिएको छ । त्यही उद्देश्य पूरा गर्नका लागि स्वाधीनता, सुशासन, सदाचार, समृद्धि र  समाजवादको प्रारम्भिक खाकासहित आफ्नो कार्यक्रमलाई आमजनताको बीचमा सम्प्रेषण गर्दै गइरहेको छ । कुनै पनि सिद्धान्त वा विचार जनताको जीवन परिवर्तन गर्नका लागि लक्षित हुनु पर्दछ । कैयाैं वैज्ञानिक आविस्कारहरु पनि अन्तत: मानिसको जीवनलाई समृद्ध पार्नका लागि व्यवहारिक जीवनमा प्रयोग हुँदै जाने गर्छन् । कुनै पनि खोज, आविस्कार वा अनुसन्धानको प्रारम्भमा केही आशंका, जिज्ञासा वा प्रश्नहरु उठ्ने गर्छन् । अन्तत: जे कुरा सही हो भन्ने प्रमाणित हुन्छ र त्यसको सार्वभौमिकता ग्रहण गर्दै जान्छ, त्यसपछि कैयौं आशंकाहरु पनि स्वत: हट्दै जाने गर्दछन् । सायद हाम्रो देशमा नयाँ शक्ति निमार्णको आवश्यकता, औचित्य र उपादेयताबारे सुरुका केही महिना कैयौं प्रश्नहरु उठेका थिए र अझै पनि केही अंशहरु बाँकी छन । तर पनि विद्यमान पुरानो परम्परागत राजनीतिक नेतृत्वले आर्थिक, राजनीतिक र सामाजिक क्षेत्रमा आमूल परिवर्तन ल्याउने गरी कुनै पनि भरपर्दो वा आशा लाग्दो विकल्प दिन नसकेकाले नयाँ शक्तिको आवश्यकता क्रमश: बढ्दै गएको स्वत: महसुस हुँदै गइरहेको छ ।

जनतामा व्यापक सांगठनिक आधार नभएको पार्टीले राज्यमा प्रभाव पार्दै देशलाई सुशासन र समृद्धिको बाटोमा लैजान नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्दैन । कार्यक्रमिक योजनासहित निर्दिष्ट लक्ष्यमा पुग्नका लागि बलियो, भरपर्दो, पारदर्शी र सरल सङ्गठनात्मक प्रणाली आवश्यक हुन्छ । यस्तो संगठन निमार्णका लागि तोकिएको कार्यकर्ता वा अभियन्ताहरुको मात्रै विचारले पुग्दैन, बरु व्यापक जनताको सुझावसहितको विचारलाई खुल्ला लोकतान्त्रिक प्रणालीद्वारा समावेश गरेर मात्रै त्यसलाई क्रमश: पूर्णता दिन सकिन्छ । हामीले बनाउन लागिएको नयाँ शक्ति केवल हाम्रो लागि होइन, बरु आम जनताको जीवनलाई परिर्वतन गर्नको लागि सुरु गर्न खोजिएकोले आम जनताको सुझाव, निगरानी र नियन्त्रणमा यो शक्तिलाई निमार्ण गरिने छ । कुनै ठूलो र कुनै सानो, कुनै माथिल्लो र कुने तल्लो जस्ता पुरातनवादी सामन्ती संस्कार नयाँ शक्तिको सांगठनिक प्रणालीमा कहिल्यै लागू गरिने छैन । जिम्मेवारी अनुसारका सापेक्षित कार्यविभाजन र कार्य सम्पादनका नयाँ/नयाँ तरिका र प्रणालीहरु हुनेछन । तर, कुनै पनि तहगत, सिढिगत वा उचो र निचोको असमानता अपनाइने छैन । नयाँ शक्ति नेपालको सांगठनिक आधार समावेशी, समानुपातिक र सहभागितामूलक लोकतन्त्रअनुकूल हुनेछ । जसले गर्दा नेपालका तीन विशेषता भएका भौगोलिक अवस्थितिलाई समायोजन गर्न सकियोस । मधेस/तराई, हिमाल र पहाडको भौगोलिक विविधतालाई भावनात्मक एकतामा जोड्ने यसको उद्देश्य हुनेछ । सबै प्रकारका राष्ट्रियताहरुको विवधता हाम्रो साँस्कृतिक सम्पत्ति हो । थुपै्र जातजाति, भाषा–भाषी, धर्म सम्प्रदाय, लिंग, समुदाय र संस्कार–संस्कृतिहरु हाम्रा ऐतिहासिक सम्पदाहरु हुन् । सबै प्रकारका शोषण, अन्याय, अत्याचार र उत्पीडनको अन्त्य गर्दै नेपाली विषेशताको संघीयतासहितको समाजवाद हाम्रो गन्तब्य भएकोले सबै हाम्रा संगठनहरु समावेशी, समानुपातिक पहूँच र प्रतिनिधित्वको सुनिश्चिता भएको प्रणालिमा आधारित हुनेछन् ।

समाजमा मूलत: ५ उमेर समूह भएकाहरुको उपस्थिति हुने गर्दछ । बच्चा, किशोर, युवा, प्रौढ र जेष्ठ । बच्चा र किशोरलाई उनीहरुको भविष्यको लागि लालनपालन र प्रारम्भिक अध्ययनमा राज्यले विशेष व्यवस्था गर्नु पर्दछ । महिला, पुरुष दुवै समूहका यो उमेरकालागि राजनीतिक पार्टी, संघसंस्था, नागरिक समाज आदि सबैले पनि विशेष योजना बनाएर उनीहरूलाई शारीरिक तन्दुरुस्ती र भविष्यका कर्णधारको रुपमा अघि बढाउने ठोस योजना बनाउनुपर्नेछ ।

जब उसले औपचारिक रुपमा राज्यको नागरिकता संविधानमा व्यवस्था भए अनुरुप लिन्छ, तब मात्रै उसलाई सङ्गठित गर्ने प्रक्रिया सुरु गर्नु पर्दछ । सायद नयाँ शक्तिले १८ वर्ष पुगेकालाई मात्रै सङ्गठनमा आवद्ध गर्ने लक्ष राखेको छ । यसरी हेर्दा उमेर समूहको हिसाबले युवा, पौढ र जेष्ठहरूको सन्तुलन मिलाउनु पर्ने हुन्छ । युवाहरूलाई पार्टीको महत्त्वपूर्ण ठाउँमा जिम्मेवारी दिँदा उनीहरू परिपक्व भैससकेका हुँदैनन् भन्ने परम्परागत मान्यतालाई हामीले स्वीकार गर्ने छैनौं । त्यसैले नयाँ शक्तिले जोसिला युवाहरू, अनुभवले खारिएका ज्येष्ठहरू र परिपक्वता भएका प्रौढहरूको साङ्गठनिक सन्तुलन मिल्ने गरी सबै कमिटीहरूमा समायोजन गरिने छ ।

परम्परागत कतिपय पुराना पार्टी वा शक्तिहरूमा एउटै व्यक्तिले धेरै जिम्मेवारी वा निश्चित तोकिएको नेता विशेषका खास नजिकका व्यक्तिहरूले धेरै जिम्मेवारी लिने प्रचलन बढी छ । त्यसको साथै जिम्मेवारीको समयावधि निर्धारण गरिएकाले खास/खास व्यक्तिहरू तीसौं  वर्षसम्म नेतृत्वमा टाँसिइरहने र अरुलाई क्षमता र योग्यताको प्रयोग नै गर्न नदिने परम्परा विद्यमान छ । नयाँ शक्तिले यसलाई फेर्न चाहन्छ  र मूलरुपमा एक व्यक्ति एक जिम्मेवारी, एकपद दुई कार्यकालको सिद्धान्तलाई लागू गर्न चाहन्छ । जसका कारणले युवा, प्रौढ र जेष्ठहरूलाई चक्रीय प्रणालीमा क्रम मिलाउन सकियोस्  र सबैलाई आफ्ना क्षमता र योग्यताहरूलाई प्रयोग गर्न पाउने उचित प्रणाली बन्न सकोस् ।
कैयौँ पुराना शक्ति, समूह वा पार्टीहरूले लोकतन्त्रको आन्तरिक पार्टी जीवनको अभ्यासलाई औपचारिक परम्परागत प्रजातन्त्रका अर्थमा मात्रै बुझेका छन् । आजको युग भनेको परम्परागत प्रजातन्तको युग होइन । सूचना, सञ्चार र प्रविधिको विकाससँगै कैयौँ आविष्कार र अनुसन्धानले मानव जाति धेरै अगाडि बढेको छ । त्यसैले हाम्रो जस्तो देशमा तीव्रतापूर्वक आर्थिक समृद्धि र विकासको आवश्यकतालाई पूरा गर्ने संकल्पसहितको प्रणाली आवश्यक छ । सबै कमिटी र कमिटीका पदाधिकारीहरू नेपाली विशेषताको समावेशी लोकतन्त्रका आधारमा प्रत्यक्ष निर्वाचित हुने प्रणाली आवश्यक छ । जिम्मेवारी पूरा गर्न नसके वा गम्भीर गल्ती गरेकालाई तत्काल फिर्ता बोलाउने र गम्भीर गल्ती गरे जनतामा सार्वजनिक गर्ने प्रणाली सहितको साङ्गठनिक संरचना नयाँ शक्तिले परिकल्पना गरेको छ । नयाँ शक्तिमा आवद्ध हुने व्यक्तिको छवी सापेक्षित रुपमा निस्कलङ्क हुनुपर्ने छ । राज्य वा समाजमा गम्भीर अपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूको संलग्नता अस्वीकृत गरिनेछ । संयोगवस् कुनै व्यक्ति त्यस्तो परेको अवस्थामा जनताको उजुरीका आधारमा लोकपाल समूहमार्फत छानविन गरी तत्कालै निष्काशन गरिनेछ ।

देश र जनताप्रति समर्पित हुुनुपर्ने मुख्य भावसहित सबै सदस्यहरूको कार्य सम्पादन स्वयम्सेवी मानवमा आधारित हुनेछ । राजनीति भनेको पेशा होइन, सेवा हो भन्ने मुख्य चरित्र हुनेछ । त्यसो भएकै कारणले सबै सदस्यहरूको जीवनशैली, दिनचर्या या कार्यसम्पादन सरल, सहज, पारदर्शी र परिणाममुखी हुनेछन् । कुनै पनि कमिटी वा मिटिङहरू, सभा सम्मेलनका शैलीहरू सकेसम्म छोटा, तडकभडक नभएका र साधारण खालका हुनेछन् । बरु विचार र उद्देश्यमा समर्पित गर्नका लागि प्रेरित गरिनेछ । रिपोर्टिङ र अनुगमनको शैली विषयमुखी र परिणाममुखी हुनुपर्नेछ । नयाँ शक्ति मुलत: विद्यमान देशको वैकल्पिक राजनीतिक शक्ति भएकाले सङ्गठनात्मक रुपमा पनि यसले देशमा नयाँ  विकल्प दिनेगरी आफ्नो प्रणालीलाई जनताकै सुझाव र सल्लाहमा लोकतान्त्रिक विधिअनुरुप थप समृद्ध र परिमार्जित गर्दै जानेछन् ।