नयाँ शक्ति कपिलवस्तुको एक वर्षे अभियान

- २४ मंसिर २०७३

नारायण खनाल

कपिलवस्तु जिल्ला संयोजक, नयाँ शक्ति पार्टी नेपाल
यतिबेला नयाँ शक्ति नेपाल र पुरानो शक्ति नेपालको बीच गम्भीर प्रकारको अन्तरविरोध छ । त्यसैको परिमाण हो कि आज संविधानसभाबाट संविधान बनेको भएता पनि नयाँ संविधानलाई कार्यान्वन गर्न गराउन लागू गर्न सम्भव भइरहेको छैन । त्यसको असर आज देशको राजनीतिक वैचारिक कामको क्षेत्रमा, संगठनात्मक क्षेत्रमा, निर्माण र सामाजिक क्षेत्रमा, उत्पादनको क्षेत्रमा, विकास निर्माण र आर्थिक समृद्धि र सुशासनको क्षेत्रमा, निर्माण र सांस्कृतिक रुपान्तरणको क्षेत्रमा परेको छ । समग्रमा भन्नुपर्दा देशको समग्र भू–भागमा बसोबास गर्ने मानिसहरुमा स्मृति र विस्मृतिको दुविधायुक्त मनिस्थिति र मनोदशा देखिएको छ । नयाँ सोँच र पुरानो सोँच, नयाँ शक्ति र पुरानो शक्ति, नयाँ विचार र पुरानो विचार विचार, नयाँ नेतृत्व र पुरानो नेतृत्व, नयाँ योजना र पुरानो योजना, नयाँ कार्यप्रणाली र पुरानो कार्यप्रणाली, नयाँ कार्यशैली र पुरानो कार्यशैली, नयाँ कार्यविधि र पुरानो कार्यविधि, नयाँ परिस्थितिले खडा गरेको नयाँ मान्यता र पुरानो मान्यता, नयाँ कार्यदिशा र पुरानो कार्यदिशाका बीचमा गम्भीर प्रकारको अन्तरविरोध र संघर्ष भैरहेका कारण यतिबेला नयाँ नेपालको आँगनमा जवरर्जस्त स्वर पनि छ भने अर्को घनिभूत सन्नाटा पनि ।

यद्यपि नेपाली जनतासँग अतीतका घनघोर र काला रातहरु र पुरानो सत्ताले निर्ममतापूर्वक नेपाली जनतामाथि जबरजस्ती बन्दुकको आडमा थोपरेका कहर र कष्टहरुको दुखद अनुभूति र स्मरण पनि ताजै छ । र भावी नयाँ नेपाल निर्माण गरिछाड्ने सकारात्मक राष्ट्रिय संकल्प र इरादा पनि । त्यसैको परिणाम हो कि आज नयाँ परिस्थितिमा नेपाली जनताले नयाँ ढंगले, नयाँ परिस्थितिले स्थापित गरेको नयाँ मान्यताहरुलाई कार्यान्वयन गर्न गराउन संघर्षका नयाँ र कडा प्रकारका योजना र शैलीमा आफ्ना छुटेका कुराहरुलाई संस्थागत गर्न आन्दोलनरत रहेको र आन्दोलनलाई पहिला भन्दा तेज पार्न, जनमत सिर्जना गर्न र नयाँ भौतिक शक्ति निर्माण गर्ने प्रक्रियामा रहेको देखिएको छ ।

यस्तो लाग्छ नयाँ नेपालका पक्षधर आम जनसमुदाय र नेतृत्व एकातिर, पुरानो नेपाल र त्यसका हिमायती दल तथा तत्वहरु अर्कोतिर उभिएको छ । सिंगो देश, यतिबेला नयाँ शक्ति र पुरानो शक्तिबीच ध्रुवीकृत र गोलबन्द मात्र हुँदै गइरहेको छैन्, देश, आन्दोलन र संघर्षको राप र ताप पनि बढ्दै गइरहेको देखिएको छ । पुरानो नेपालका पक्षधर दल तथा तिनको नेतृत्व यतिबेला विद्यमान प्रतिक्रियावादी बुर्जवा संसदीय व्यवस्थालाई टिकाउन, त्यसको मलजल गर्न र देशलाई प्रकारान्तरले यथास्थितिको गोलचक्करमा फसाइराख्ने साम्राज्यवादी र विस्तारवादी योजनाका गोटी बनिरहेका छन् भने नयाँ नेपालका पक्षधर दल, नयाँ शक्ति नेपाल र नयाँ नेपालका पक्षधर आम जनसमुदाय नयाँ परिस्थितिले स्थापित गरेका नयाँ मूल्य मान्यतालाई संस्थागत गर्ने संविधान सभाबाट बनेको नयाँ संविधानलाई तीव्र गतिमा कार्यान्वयन गर्ने गराउने दृढ इच्छाशक्ति र राष्ट्रिय संकल्पसहित नयाँ परिस्थितिमा नयाँ कार्यदिशा, नयाँ शक्ति, नयाँ नेतृत्वको नयाँ बहसमा व्यापक फैलावका साथ मैदानमा रहेको छ ।

यो अवस्थामा नयाँ शक्ति नेपालले अगाडि सारेका नयाँ नेपालको अन्तरवस्तु तथा अन्तरसम्बन्धको बारेमा उपरी र सतही प्रकारले विश्लेषण गर्ने र सोही अनुरुपको व्यवहारको अभ्यास गर्दा देशको यो दुरावस्था भएको हो भन्ने कुरा दिन प्रतिदिन नेपाली जनताको बीचमा नेपालको पुरानो शक्ति र तिनको नेतृत्व नाङ्गेझार हुँदै गइरहेको देखिएको छ । देशको यही राजनैतिक पृष्ठभूमिमा पहिला नयाँ शक्ति निर्माण अभियान हाल आएर नयाँ शक्ति नेपाल अन्तरिम जिल्ला परिषद् कपिलवस्तुले ‘नयाँ शक्ति निर्माणको अभियानमा सहभागी बनौँ वैकल्पिक राजनीतिको आधार तयार पारा’ैँ भन्ने मूल नाराका साथ संचालन गरेको अभियान, त्यो अभियानको शुरुआतको
पृष्ठभूमि अभियान दौरानमा राजनैतिक, वैचारिक, संगठनात्मक, प्रचार–प्रसार र प्रविधिका कामको समीक्षा रिर्पोट, अनुभूति सीमा समस्या तथा कमजोरी निम्न प्रकारको रहेको छ ।

पृष्ठभूमि:
संविधानसभाबाट २०७२ असोज ३ गते नयाँ संविधान जारी भएसँगै आधा देशले दीपावली मनाउने र विजय उत्सव गर्ने अर्कोतिर आधा देशले संविधान जलाउने र विरोध प्रदर्शन गर्ने एक प्रकारले पूर्व पश्चिम लोकमार्गको उत्तरमा बस्ने मानिसहरु चीननिकट र दक्षिणमा बस्ने मानिसहरु भारतनिकट जस्तो स्थिति बन्यो । असोज ९ गते तत्कालीन एनेकपा (माओवादी) बाट डा. बाबुराम भट्टराईको राजीनामा, कम्युनिष्ट पार्टीको साधारण सदस्यता परित्याग, नयाँ पार्टी बनाउने घोषणा, तराई मधेशवादी दलहरुको जारी संघर्षले कडा रुप, भारतीय नाकाबन्दी, संसदवादी दलहरुले आफ्ना पुराना सबै प्रकारका अन्तरविरोधहरुलाई थाती राखेर गरिएको नयाँ तथा कथित राष्ट्रवादी मोर्चाको गठन तात्कालीन राजनीतिक परिस्थिति थियो ।

त्यो बेलाको परिस्थिति निकै जटिल बन्दै गएको थियो । एकातिर एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा बनेको तत्कालीन सरकारले चलाएको कृत्रिम राष्ट्रवादी बतास देशभर चलिरहेको थियो भने नयाँ नेपालका पक्षधर नेतृत्व र जनतामाथि एकपछि अर्को गरिएको हमला र आक्रमण पनि जारी थियो । अनि एनेकपा (माओवादी) भित्रबाट भर्खर मात्र नयाँ ढंगको विद्रोह गर्नु भएका डा. बाबुराम भट्टराईमाथि भैरहेको चौतर्फी विरोध र आलोचनाले नयाँ शक्ति निर्माण अभियानका तलदेखि माथिसम्मका नेता तथा कार्यकर्ताहरुमा एकप्रकारको निराशा पनि उत्पन्न भएको थियो । त्यो निराशाको प्रतिबिम्ब एकअर्काबीचको आशंका, सहयोगी भावनामा कमी र विश्वासको संकटमा देखा परेको थियो । त्यस्तै जिल्लाका विभिन्न राजनीतिक दलभित्र आपसी अविश्वास, टुटफुट, विग्रह र अन्तरकलह, विभाजन आपसी वैमनस्यता, चरम प्रकारको गुटबन्दी क्षतविक्षत भएको अवस्थामा, नयाँ नेपालका सुन्दर सपना देखाउन कम चुनौति थिएन ।

त्यस्तै अन्यौलता र आशंकाकैबीचबाट नयाँ निकासका लागि नयाँ नेतृत्व र शक्तिको खोजी चारैतिर भइरहेको थियो । त्यसै पृष्ठभूमिमा गतवर्ष काठमाडौँको एस आर पार्टी प्यालेसमा नयाँ शक्ति निर्माण अभियन्ताहरुको राष्ट्रिय भेलाले डा. बाबुराम भट्टराईको संयोजकत्वमा नयाँ शक्ति निर्माण अभियानको केन्द्रीय टिमको घोषणा भएसँगै कपिलवस्तु जिल्लामा पनि २०७२ मंसिर १५ गतेका दिन नारायण खनालको संयोजकत्वमा ५१ सदस्यीय नयाँ शक्ति निर्माण अभियान कपिलवस्तुको गठन भएको हो ।

अभियानका उपलब्धिहरु: 
त्यसयता नयाँ शक्ति पार्टीको कपिलवस्तु जिल्ला अभियान असाध्यै शालिन र भद्र तरिकाले योजनाबद्ध ढंगबाट नेपाली जनतालाई र विभिन्न दलका नेता तथा कार्यकर्ताहरुलाई परिवर्तनप्रति क्रान्तिकारी आशावादले ओतप्रोत बनाउँदै अगाडि बढिरहेको छ । यसले विरोधीहरुका लगातार हमला र आक्रमणहरुलाई चिर्दै प्रदेश तथा केन्द्रको समेत ध्यान आकृष्ट गर्ने खालको वैज्ञानिक वस्तुवादी र व्यवहारिक योजनाको तर्जुमा गरिरहेको छ । अनि ती योजनाहरु कार्यान्वयन गर्न सीमित स्रोतसाधनको बाबजुद पनि हामी उच्च प्रकारको मनोबल, काम गर्ने दृढ इच्छा शक्ति, विजय बनी छाड्ने इरादा, कडा प्रकारको परिश्रम र नयाँ शक्ति निर्माण अभियानलाई स्थापित गरी छाड्ने संकल्पसहित अघि बढिरहेका छौं । अहिलेसम्म जिल्लाका पाँच वटा निर्वाचन क्षेत्र, दुई नगरपालिकाहरुमा नयाँ शक्ति निर्माण अभियानको अन्तरवस्तु तथा अन्तरसम्बन्ध विषयक अन्तरक्रियामार्फत जिल्लाका दश हजार भन्दा बढी बुद्धिजिवी शिक्षक, कर्मचारी, वकिल, पत्रकार, किसान, महिला तथा विभिन्न दलका नेता तथा कार्याकर्ताहरु र आम जनताको जिज्ञासा मेटाउने काम गरेका छौं ।

नयाँ शक्ति नेपालको अन्तरिम केन्द्रीय परिषदमा ७, प्रादेशिक परिषदमा १४, अन्तरिम जिल्ला परिषदमा १०१, जिल्लाका ६ वटै नगरपालिकामा संयोजक÷प्रतिनिधि, जिल्लाका सरकारी तथा गैरसरकारी कार्यालयहरुमा प्रतिनिधिको व्यवस्था गरी वैचारिक हस्तक्षेपको कामलाई व्यवस्थित गरिएको छ भने अन्तरिम जिल्ला परिषद्बाट ३३ वटा विभागहरुको गठन गरी आन्तरिक कामलाई व्यवस्थित गर्न अभियान सफल भएको छ ।

कमजोर संगठन, साधन स्रोतको अभाव, दक्ष जनशक्तिको कमीका बाबजुद् जिल्लाको सापेक्षतामा केन्द्रको नयाँ पर्चा ५००० हजार प्रकाशन गरी जिल्लाव्यापी वितरण गर्नुका साथै जिल्लाका विद्युतीय र छापा मिडियाहरुको व्यापक साथ र सहयोग जुटाई अभियानलाई आम जनसमुदायसम्म स्थापित गर्न अभियान सफल भयो ।

ज्यादै पेचिलो र घनिभूत ढंगबाट अगाडि बढेको यस जिल्लाको अभियानबाट प्रभावित भएर यस जिल्लाका क्रियाशील राजनीतिक दलमध्ये मधेशी जनाधिकार फोरम (लोकतान्त्रिक) का केन्द्रीय उपाध्यक्ष एवं जिल्ला संयोजक सहित दुई हजार भन्दा बढी नेता तथा कार्यकर्ता, नेपाली कांग्रेस, ने.क.पा एमाले, तेस्रो लिङ्गी समाज, संघीय जनमुक्ति पार्टी, नेकपा माओवादी केन्द्र, नेकपा माओवादी वैद्य समूहलगायतबाट सयौँ नेता तथा कार्यकर्ता, डाक्टर, वकिल, इन्जिनियर, युवा तथा विद्यार्थीहरुको ठूलो समूहलाई नयाँ शक्ति नेपालमा सामिल गराउन अभियान सफल भएको छ ।

यतिबेला अभियानले जिल्लाका क्रियाशील राजनीतिक दलहरुभित्र निकै ठूलो बेचैनी र छटपटाहट मात्र पैदा भएको छैन तुफानी गतिमा अगाडि बढेको अभियानमा नजान आफ्नो पार्टीभित्र घोषित र प्रकट रुपमा दलहरुले आह्वान पनि गरिरहेका छन् । साथै हाम्रो अभियानका विरुद्ध ब्लकिङ मात्र होइन एण्टी अभियान नै छेडेका छन् । विरोधीहरुको यी सबै हर्कतका बाबजुद पनि यतिबेला जिल्लाका विभिन्न राजनीतिक दलभित्र पहिरो जान सुरु भएको छ, र जिल्लाका इमान्दार नेता तथा कार्यकर्ता र परिवर्तनप्रति सुन्दर सपना सजाएका बहुसंख्यक नेपाली जनसमुदायले डा.बाबुराम भट्टराईले नेतृत्व गर्नुभएको नयाँ शक्ति नेपालप्रति सकारात्मक धारणा बनाउँदै आशा र श्रद्धाको नजरले हेर्न थालेका छन् । यो अभियानको वैचारिक उपलब्धि हो ।

अभियानको केन्द्रीय प्रश्न भनेको हाम्रो नीति तथा कार्यक्रम र नयाँ योजनाप्रति हामीले के कति जनमत सिर्जना गर्न सक्यांै, यस जिल्लाका के कति नेता तथा कार्यकर्ता आम जनसमुदायको चेतना माथि उठाउन सक्यौं र के कति नयाँ भौतिक शक्ति निर्माण गर्न सफल रह्यौं भन्ने नै हो । यसक्रममा अहिले हामी दृढ निश्चयका साथ भन्न सक्छांै कि हाम्रो अभियन्ताहरु इमानदारीपूर्वक, दृढ इच्छाशक्तिसहित उच्च प्रकारको मनोबल लिएर फिल्डमा खट्ने हो भने पच्चिस हजार भन्दा बढी नयाँ अभियन्ताहरूलाई समाहित गर्न सकिने अवस्था रहेको छ । जुन हाम्रो अभियानको संगठात्मक उपलब्धि हो ।
नयाँ शक्ति नेपालको जिल्ला कार्यालय जिल्लाको सदरमुकाम तौलिहवामा स्थापना गरी जिल्लाका अफिसियल कामलाई चुस्तदुरूस्त र व्यवस्थित पारिएको छ । २०७३ सालको शुभ–दीपावली र छठ जस्ता नेपाली जनताका महान् पर्वहरुको अवसरमा कपिलवस्तु जिल्लाका १२ स्थान, रुपन्देही जिल्लाका ११ स्थान, नवलपरासी जिल्लाका ५ स्थान, अर्घाखाँची जिल्लाका ११ स्थानमा समृद्धि साँस्कृतिक संघको व्यानरमा भैलो तथा सांगितीक कार्यक्रम सम्पन्न गरियो । यस दौरानमा ५ नम्बर प्रदेशका २ लाख भन्दा बढी जनसमुदायको बीचमा नयाँ शक्ति नेपाललाई पु¥याउन अभियान सफल भएको छ । जिल्लामा महिला, शिक्षक, विद्यार्थी, युवा, नेपाल पे्रस सोसाईटी, कर्मचारीका आंगिक संगठनहरु निर्माण भएका छन् भने अरु कयौँ संगठनहरु बन्ने प्रक्रियामा रहेका छन् ।

अभियानका समस्या तथा कमजोरीहरू:
नयाँ शक्ति नेपालको मूल स्पिरिट, मर्म र भावना भनेको नयाँ शक्ति नेपालको दर्शन, सिद्धान्त, राजनीति, विचार, शक्ति, कार्यप्रणाली, कार्यशैली, कार्यदिशा, कार्यविधिका अलावा नयाँ शक्तिको नयाँ संस्कृति तथा जीवन व्यवहार नै हो । यसका लागि हामलिे सदाचारका कुरा हामीले भनेर मात्र पुग्दैन । नयाँ शक्तिको मूल्यबोध गर्नेगरी हाम्रा अभियन्ताहरू प्रस्तुत हुन आवश्यक छ । त्यो कुरामा भने अभियन्ता टिममा पक्कै पनि केही सिमा, समस्या तथा कमजोरीहरू रहेका छन् ।

नयाँ शक्ति नेपालको अन्तरिम निर्देशिका २०७३ ले परिकल्पना गरेको संगठनात्मक संरचना कार्यप्रणाली र कार्यविधि तथा कार्यशैलीको चरित्र, गुण र विशेषता भनेको पूर्ण नभएर अन्तरिमकालीन नै हो । जुन देशको वर्तमान अवस्थासँग मेल खान्छ । यही कुरालाई आत्मसात् गर्ने र यसैमा टेकेर अगाडि बढ्ने प्रश्नमा टिममा बुझाई र कार्यान्वयनमा एक रूपता ल्याउन सकिएको छैन । अभियानको दौरानमा विभिन्न राजनीतिक दल र स्वतन्त्र मानिसहरू जम्मा भएर बनेको नयाँ शक्ति नेपालको संगठन आपसी विश्वास र सहयोगी भावना र अन्तरघुलनमा पनि केही समस्याहरू रहेका छन् । जसलाई निकट भविष्यमा तालिम र प्रशिक्षण तथा निरन्तर संवादको माध्यमबाट समायोजन गर्नु जरुरी हुन्छ ।

निष्कर्श:
संसारका सबै मानिसहरू जित्ने र विजय बन्नेबारे सोच्दछन् । दुनियाँका थोरै मानिसहरु मात्र यस्ता हुन्छन्, जसले आफू विजय बन्न र जित्नका लागि अग्रिम तयारी गर्नेबारे सोच्दछन् । हामी अहिले यही गरिरहेका छौं र त्यसरी नै सोचिरहेका छौं । यो यात्रामा हिजोका आग्रह, पूर्वाग्रह, गुटउपगुट तथा बदला र प्रतिशोधको भावनालाई सम्पूर्ण रुपले त्याग गरी नयाँ परिस्थितिमा नयाँ ढङ्गले यो राष्ट्रिय अभियानमा सहभागी हुन हामी आम जनसमुदायलाई हार्दिक अपिल गर्दछौं । दृढतापूर्वक अगाडि बढांै । नयाँ शक्ति नेपालको विजय अवश्यंभावी छ ।