नयाँ शक्ति र ५ ‘स’को कार्यदिशा

- ७ माघ, २०७३

मनिकर कार्की

जुनसुकै राजनीतिक पार्टीको जन्म निश्चित सैद्धान्तिक आधारका हुन्छ र त्यसले निश्चित राजनीतिक कार्यदिशाको आधारमा कार्यसम्पादन गर्दछ । नयाँ शक्ति पार्टीको निर्माणसँगै नयाँ शक्ति कस्तो पार्टी हो ? यसको सैद्धान्तिक दर्शन के हो ? यसको राजनीतिक कार्यदिशा के हो ? अनि मुलुकको आर्थिक, सामाजिक, राजनीतिक एवं सांस्कृतिक रुपान्तरणका सन्दर्भमा यो पार्टीका तात्कालीक एजेण्डाहरु केके हुन् ? आम रुपमा यी यावत् विषयहरुमा केही न केही जिज्ञासा पक्कै पनि छ ।

अबको राजनीति समाजको विद्यमान अवस्था र त्यसको ऐतिहासिकता अनि भविष्यको आवश्यकतामा आधारित भएर अघि बढ्नुपर्छ, नकि पुरातन आग्रह र पूर्वाग्रहमा आधारित भएर । हिजो जसरी विश्वलाई आधारभूत रुपमा पूँजीपति वर्ग र श्रमिक वर्गको रुपमा परिभाषित गरिएको थियो र तिनै वर्गलाई प्रतिनिधित्व गर्ने गरी राजनीतिक दर्शनको निर्माण गरियो, त्यो दर्शनले मूलतः दुईवटा वर्गहरुको रक्षा गर्यो – पूँजीपति वर्ग र सर्वहारा श्रमिक वर्ग । तर, आजको विश्वलाई हेर्दा अब विश्व केवल यी दुई आधारभूत वर्गमा मात्रै सीमित देखिएन । २१ औं शताब्दीको ज्ञान, विज्ञान, सूचना र प्रविधिको युगमा विश्व पनि बहुध्रुवीय र बहुवर्गीय बन्दै गएको छ ।

त्यस्तै नयाँ नयाँ आविश्कारहरुसँगै विज्ञानका नियमहरु पनि थपिंदै जान्छन्, परिमार्जित र परिस्कृत हुँदै जान्छन् । माक्र्सको पालामा विज्ञानका आधारभूत नियमहरुमात्र प्रतिपादित थिए, तर आज यान्त्रिक विज्ञान अर्थात् क्वान्टम् मेकानिक्सको विकास भइसकेको छ । अनि प्रविधिको क्षेत्रमा पनि नानो टेक्नोलोजीको विकास भइसकेको छ । हो, हामीले आफ्नो मार्गदर्शक सिद्धान्तमा यी विकासलाई समाहित गर्दैजानुपर्छ । यो नै व्यवहारवादी दर्शन हो अनि आजको यथार्थता पनि ।

यसै सन्दर्भमा डा. बाबुराम भट्टराईको तर्क छ, ‘भौतिकवाद भनेर मात्र पनि हुँदैन । किनकि पूँजीवादले पनि भौतिकवाद मान्दछ । तर, उनीहरुले दुई विपरित प्रवर्ग एउटा निरन्तर रुपमा गोलचक्करमा रहने गर्छ भन्ने मान्यता राख्छन् । दुई तत्वहरु साइक्लिक अर्डरमा रहन्छ भन्ने मान्यता पूँजीवादीहरुको हुन्छ । अनि अर्थतन्त्रमा पनि त्यही नियम लागू हुन्छ भन्ने उनीहरुको मान्यता छ । अर्कोतिर पारम्परिक कम्युनिष्ट अर्थात् राज्य समाजवादीहरुले चाहिं एकले अर्कोलाई निषेध गरेर मात्र अघि बढ्न सकिन्छ भन्ने तर्क गर्दछन् । तर, यथार्थतमा दुई प्रवर्गहरुबीच न त गोलचक्कर नै हुन्छ न त एकले अर्कोलाई पूर्णतया निषेध नै गर्न सक्छन् । बरु ती दुई तत्वबीच गतिशील सन्तुलन हुन्छ र त्यो सन्तुलनले अगाडि बढ्न मद्दत गर्छ ।’

हो, डा. भट्टराईले भनेजस्तो त्यही निरन्तर गतिशीलताको नियम नै नयाँ शक्तिको राजनीतिक दर्शन हो । यो दर्शनमा एकातिर मानिसको सामूहिक हितले पनि स्थान पाउँछ भने अर्कोतिर व्यक्तिको निजत्वलाई पनि स्वीकार गर्दछ । किनकि व्यक्तिको निजी भावनाहरु हुन्छन्, निजी हित र स्वार्थ पनि हुन्छ, व्यक्ति व्यक्तिबीच प्रतिस्पर्धी भावना पनि हुन्छ । यदि त्यो प्रतिस्पर्धी भावनालाई स्वीकार गरिएन भने हामी अगाडि बढ्न सक्दैनौं । अनि व्यक्तिकेन्द्रीत भएर सामूहिक अस्तित्वलाई पूर्णतया नकार गरियो भने पनि हामी समाजबाट एक्लिन पुग्छौं र त्यसरी एक्लिएर बस्न पनि सक्दैनौं । त्यसैले नयाँ शक्तिले सामूहिक हित र व्यक्तिको निजत्वलाई जोडेको नयाँ सिद्धान्त प्रतिपादन गरेको छ । यो नै असली रुपमा वैज्ञानिक हुन्छ । अनि यो दर्शन नै वास्तविक रुपले अगाडि बढ्ने आधार हो ।
अब चर्चा गरौं वैकल्पिक राजनीतिक कार्यदिशाको । जुनसुकै समाजमा आर्थिक, सामाजिक, राजनीतिक अन्तरविरोधहरु हुन्छन् र ती अन्तरविरोधहरुको वस्तुगत पहिचान र समाधानका लागि राजनीतिक दलहरु स्थापना भएका हुन्छन् । जहाँसम्म नयाँ शक्तिको कार्यदिशाको कुरा छ, त्यो मूलतः ५ ‘स’ मा आधारित छ । जुन यस प्रकार रहेको छ ।

समतामूलक समृद्धि

अहिलेको नेपाली समाजको मुख्य अन्तरविरोध वा समस्या हो, अगाडि बढेको राजनीतिक चेतना अनि पिछडिएको आर्थिक आधार । हामी राजनीतिक रुपले अगाडि भयांै तर आर्थिक उत्पादनका हिसाबले निकै पछाडि छौं । पटकपटकको राजनीतिक संघर्षबाट अधिकार त पायौं तर, त्यसलाई जनतासम्म पुर्याउनको लागि हामीसँग वितरणको आधार भएन । अर्थात् उत्पादन भएन । जबसम्म हामीसँग वितरणका लागि उत्पादन हुँदैन, ती अधिकारहरु केवल कागजमै सीमित हुनेरहेछ । हो, अहिलेको मुख्य अन्तरविरोध भनेकै यहि हो । हामीले राजनीतिक अधिकार त प्राप्त गर्यौं । तर, हाम्रो अर्थतन्त्र यति पिछडिएको छ कि त्यसको विकास नगरेसम्म संविधानप्रदत्त राजनीतिक अधिकारहरुको उपयोग पनि हुन सक्दैन र तिनको संरक्षण पनि संभव छैन । यसर्थ, यसलाई समाधान गर्नका लागि नै नयाँ शक्तिले समतामूलक समृद्धिको कुरा गरेको छ । ‘अबको निकास आर्थिक विकास’, ‘समृद्धि संभव छ हाम्रै पालामा’ जस्ता नारालाई सार्थक बनाउन सकिएको खण्डमा यो अन्तरविरोधको हल हुनेछ ।

समानुपातिक/समावेशी लोकतन्त्र

नेपाली समाजको अहिलेको अर्को समकालीन अन्तरविरोध लोकतन्त्रको आवश्यकता र अभ्यासमा देखिएको अन्तरविरोध हो । जब समाज बहुवर्गीय र बहुध्रुवीय हुँदैछ भने त्यहाँ राजनीतिक हक, अधिकार र पहिचानका मुद्दाहरु मुखरित हुन्छन् । अहिलेको समकालीन राजनीतिमा तिनै मुद्दाहरु हावी भएका छन् । तर, व्यवहारतः हामीले औपचारिक वा कर्मकाण्डी खालको लोकतन्त्रमार्फत ती मुद्दाहरुलाई समाधान गर्ने चेष्टा गरिरहेका छौं । हो, यहिंनेर अर्को अन्तरविरोध देखा पर्दछ । अर्थात् लोकतन्त्रको समृद्धिकरण कसरी गर्ने भन्ने सवाल नै वर्तमानको मुख्य समस्या हो ।

हामीले अहिलेसम्म औपचारिक लोकतन्त्रको व्याख्या गर्यौं तर, त्यो लोकतन्त्रलाई कसरी समावेशी बनाउने र कसरी सहभागितामूलक बनाउने अनि कसरी उन्नत बनाउने ? भनेर कहिल्यै बहस गरेका छैनौं । फलस्वरुप हाम्रो यो औपचारिक खालको लोकतन्त्रले गरिखान सकेन । त्यसैले अब लोकतन्त्रकै समृद्धिकरणका लागि यो अन्तरविरोधको हल गर्दै विशिष्ट प्रकृतिको समानुपातिक, सहभागितामूलक अनि समावेशी लोकतन्त्रको अभ्यास गर्नुपर्छ ।

अनि यहिँनेर जनताको प्रत्यक्ष सहभागितामा आधारित हुने प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीसहितको शासकीय स्वरुप र पूर्ण रुपेण समानुपातिक प्रतिनिधित्वको संसद नै विशिष्टिकृत लोकतन्त्रको आधार हो र हुनेछ । यो लोकतन्त्रले हक अधिकार र पहिचानका मुद्दालाई समेत मुख्यगरी तीनवटा जातीय क्लस्टर (आर्य–खस, मधेशी–थारु र आदिवासी–जनजाति) को आधारमा वैज्ञानिक रुपले समाधान गर्नेछ । त्यसमा उत्पीडनमा परेका दलित, महिला, मुस्लिमलगायत अल्पसंख्यकहरुसमेतको प्रतिनिधित्व सुनिश्चित हुनेगरी प्रनिधित्व गर्नुपर्छ ।

स्वाधीनता/सार्वभौमिकता

समकालीन समाजको अर्को मुख्य अन्तरविरोध भनेको नेपालको विद्यमान भू–राजनीतिक जटीलता, भूमण्डलीकरण र राष्ट्रिय हितबीचको अन्तरविरोध हो । यसै पनि इतिहासदेखि नै नेपाललाई दुई ढुंगाबीचको तरुलको रुपमा व्याख्या गरिंदै आएको छ । अनि हिनाताभावयुक्त त्यही तरुल दृष्टिकोणले नै यो अन्तरविरोधको जन्म भएको हो । यसर्थ, अब यो अन्तरविरोधलाई हल गर्नका लागि नेपाललाई पारम्परिक रुपले भनिएझैं दुई ढुंगाबीचको तरुल होइन परन्तु दुई ठूला अर्थतन्त्रबीचको पुलको रुपमा प्रतिविम्बित गर्नुपर्छ । नेपाल यसैपनि दुई ठूला देश भारत र चीनबीचको भूराजनीतिक जटिलतामा छ । यसर्थ, हामीले आफ्नो राष्ट्रियता र स्वाधिनताको रक्षा गर्दै यी दुईवटै देशको आर्थिक विकासबाट लाभ लिनसक्नुपर्छ । यसरी छिमेकी मुलुकबाट लाभ लिनको लागि कुनै एक अमूक छिमेकीलाई नजिक र अर्कोलाई टाढा होइन, दुवैसँग रणनीतिक सन्तुलन मिलाएर समृद्धितर्फ अग्रसर हुनुपर्छ ।

यसरी छिमेकीसँगको सन्तुलित सम्बन्धसँगै मुलुकको बृहत्तर आर्थिक हितका लागि सबैभन्दा पहिले मुलुकको आन्तरिक राष्ट्रियता मजबुद् बनाउनुपर्छ । अनि आन्तरिक राष्ट्रियता बलियो पार्नका लागि सतहमा उठेको पहिचानको मुद्दालाई सहभागितामूलक र समावेशी लोकतन्त्रको माध्यमबाट सम्बोधन गर्ने र माथि उल्लेख गरिएका तीन जातीय क्लस्टरबीच राष्ट्रिय एकता कायम गरेर आन्तरिक एकता मबजुद बनाउनुपर्छ । त्यसपछि मूलतः पृथ्वीनारायण शाहको पालादेखि निर्माण गरिएको तरुल राष्ट्रवादलाई गतिशील र प्रगतिशील राष्ट्रवादमा परिणत गर्नुपर्छ । अब पनि त्यही अन्तरमुखी र निरिह प्रकारको मानसिकतालाई बोकेर हामी वैश्विक अर्थराजनीतिक रंगमञ्चमा उभिन सक्दैनौं । यसकारण आन्तरिक राष्ट्रियता बलियो बनाउँदै दुई ढुंगाबीचको तरुल मानसिकतालाई तोडेर दुई ठूला अर्थतन्त्रबीचको गततिशील पुल बनेर आर्थिक समृद्धि हासिल गर्नुपर्छ । यसर्थ, यसको समाधान स्वाधीनता र सार्वभौमसत्ताको सम्वद्र्धन र प्रवद्र्धन नै हो ।

सुशासन/सदाचार

हामी जहिल्यै सिद्धान्ततः सदाचार र सुशासनका कुरा गर्दछौं तर, व्यवहारतः हाम्रो आचरण भ्रष्ट भइदिन्छ । हामी सधैं एउटा आदर्श समाज र राज्यको कल्पना गर्न पुग्दछौं तर, आफैं ससानो अवसरमा लोभिन्छौं र आफू र आफ्नो घरपरिवार अनि आफ्नै वरिपरीका मान्छेहरुका आवश्यकताले घेरिन पुग्दछौं । परिणामतः हामी कुनै न कुनै भ्रष्टाचारजन्य गतिविधिमा फस्न पुग्दछौं । यसर्थ, अर्को मुख्य अन्तरविरोध हो, सुशासित राज्य÷सफा राजनीतिको आवश्यकता र भ्रष्ट राज्ययन्त्र÷राजनीतिबीचको अन्तरविरोध । अहिलेसम्मको राजनीतिक अभ्यास हेर्दा नारामा भ्रष्टाचाररहित सुशासित अनि चरित्रवान् आदर्श राजनीति अनि व्यवहारमा प्रदूषित र स्खलित राजनीतिकै संरक्षण गर्ने दैध चरित्र प्रदर्शन गर्यौं ।

यसर्थ, यसको अन्त्य नगरेसम्म मुलुकको विकास संभव छैन । किनकि भ्रष्टाचार यस्तो रोग हो, जसले व्यक्ति, परिवार, समाज अनि राष्ट्रलाई नै संकटमा पुर्याइदिन्छ । यसर्थ, भ्रष्ट बन्दै गएको राजनीतिको समाधान भनेको नै व्यवहारतः सुशासन र सदाचारयुक्त स्वच्छ र सफा अर्थात् क्लीन पोलिटिक्स हो । यसका लागि राजनीतिलाई पेशा होइन आंशिक स्वयम् सेवाको रुपमा ग्रहण गर्नुपर्दछ । यदि यो चुनौतिपूर्ण काममा सफलता हासिल हुनसक्यो भने नयाँ शक्तिले साँच्चिकै राजनीतिको पारम्परिक व्याख्या र बुझाइलाई परिवर्तन गर्न सक्षम हुनेछ ।

समुन्नत समाजवाद

पाँचौं अर्थात् अन्तिम अन्तरविरोध भनेको यहाँका राजनीतिक दलहरुले ग्रहण गरिरहेका वैचारिक एवं सैद्धान्तिक जडता र बदलिएको वस्तुगत परिस्थिति र राजनीतिक चेतनाको अन्तरविरोध हो । अहिले हाम्रो समाजमा जेजस्ता वैचारिक एवं राजनीतिक दर्शन र दृष्टिकोणहरु विद्यमान छन् ती कुनै न कुनै रुपमा पारम्परिक जडतामा आधारित छन् । किनकि हाम्रो राजनीतिको सुरुवात नै समाजको वस्तुगत आवश्यकतामा होइन किन्तु कुनै अमूक दर्शन या सिद्धान्तमा आधारित भयो । हो, हामीले अहिलेसम्म दर्शनमा राजनीति गर्यौं । तर, समाजलाई र जनताको जीवनस्तरलाई बदल्ने प्रकारको दर्शनको खोजी गरेनौं बरु प्रकारान्तरले त्यस्तो खोजीको चेष्टालाई दुत्कारिरह्यौं ।

अनि हामीले समाजको अवस्था, परिवर्तनको गति र नियम, समाजको वस्तुगत आवश्यकता बुझ्न सकेनौं । मान्छेका चाहना र आवश्यकता अगाडि तर, हाम्रो चिन्तन प्रणाली निकै पछाडि पर्न गयो । अब त्यही दर्शन र वादलाई व्यवहारतः लागू गर्ने बेला आएको छ । यस मानेमा नयाँ शक्तिले लिएको सन्तुलित हुँदै अगाडि बढ्ने र समुन्नत समाजवादको दिशातर्फ उन्मुख हुने रणनीतिक कार्यदिशा साँच्चिकै वैकिल्पक विचार हो । विगतका रुढ अनि शास्त्रको रुपमा परिभाषित भएका विचार र दृष्टिकोणलाई नै बोकेर हिंड्नुको साटो बदलिएको वस्तुगत यथार्थ र वर्तमान अपेक्षाकाबीच तालमेल मिलाउँदै अग्रगामी फड्को हान्ने राजनीतिक दर्शन अहिलेको अपरिहार्य आवश्यकता पनि हो । अनि पारम्परिक होइन आर्थिक समृद्धिसहितको समुन्नत समाजवादसम्म पुग्ने रणनीतिक कार्यदिशा पनि आजको वैकल्पिक कार्यदिशा नै हो ।

नयाँ शक्तिले प्रतिबद्धता जनाएका यी कार्यदिशा लागू गर्न, जनताका आवाजलाई मुखरित गर्ने सामाजिक अभियानहरु संचालन गर्ने, आवश्यक पर्दा ठूला ठूला आन्दोलनलाई पनि संचालन गर्ने नै यसको राजनीतिक लाइन हो । अनि हरेक व्यक्ति र यसका अभियन्ताहरु आर्थिक, सामाजिक, सांस्कृतिक निजी र पारिवारिक जीवनमा पनि खुल्ला र पारदर्शी बनेर अघि बढ्ने नै यसको वैकल्पिक संस्कृति हो ।