जनसरकार प्रमुखदेखि नयाँ शक्ति अभियन्तासम्म

- २८ फागुन, २०७३

अनुभूति
सरुण बाँठा मगर
न्याय, मुक्ति र समानताको कम्युनिष्ट नाराबाट प्रभावित भएर म माओवादी पार्टीमा आवद्ध भएको थिएँ । २०५२ सालमा माओवादी पार्टीले राज्यसत्ताका विरुद्ध विद्रोहको झण्डा उठायो । वास्तवमा माओवादी जनयुद्धले उत्पीडित वर्ग, जाति, क्षेत्र, लिंग र समुदायका भावनाको प्रतिनिधित्व गर्दै नेपाली समाज रुपान्तरणको कठिन तर अग्रगामी पहल थालेको थियो । माओवादी शक्ति भौतिक रुपले अत्यन्त सानो भएपनि विचार, निष्ठा, त्याग र समर्पणमा अत्यन्तै विशाल थियो । म सोच्ने गर्दथें – ‘क्रान्तिमा संख्यात्मक रुपले सानो ठूलो भन्ने कुरा गौण हो, मुख्य कुरा त सही विचार, योजना र कार्यशैली हो ।’ मैले यी सबै कुरा माओवादी पार्टीका हरेक कार्यकर्ता र नेतामा पाउँथे । नेपालको राजनीतिमा अक्सर विचार–व्यवहार अनि आदर्शको अभाव देखिने गर्छ । ठीक, त्यही बेला मैले क्रान्तिकारी पार्टी पाएँ, क्रान्तिकारी सहयोद्धा पाएँ, म आफैं क्रान्तिकारी भएको पाएँ ।

मुक्ति प्राप्त गर्नु छ भने मृत्यु स्वीकार्नु अनिवार्य छ भन्ने दायित्वबोध हामी सबैमा हुन्थ्यो । हामी यिनै उद्दात्त भावनाले प्रेरित भएर पार्टी योजनालाई पूरा गर्न एकजुट हुन्थ्यौं । त्यसैले, अत्यन्तै छोटो समयमै राज्यसत्ताको चरम दमनका बाबजुद पार्टी देशव्यापी रुपले सशक्त बन्दै गयो । क्रान्तिका तीन साधन मध्ये पार्टी र जनसेना त विकास र विस्तारको तीव्र गतिमै थिए । तर, एउटा अर्को चीनको विकास गर्नु जरुरी थियो, त्यो भनेको जनसत्ता थियो । पार्टीको नेतृत्व जनसेनाको संरक्षण र जनताको सहभागिताजस्ता जनसत्ताका पूर्वाधारहरु बनिसकेका थिए । पार्टीको केन्द्रीय समितिको बैठकले स्थानीय जनसत्ता गठन गर्ने योजना पारित गर्‍यो । विशेष गरेर आधार क्षेत्रका प्रमुख जिल्लाहरुमा जनसत्ताको अभ्यास गर्ने योजना बन्यो ।

राज्य र माओवादी द्वन्द्वको केन्द्रभूमि ग्रामीण क्षेत्र भएका कारणले अक्सर उत्पीडित वर्ग समुदायको सहयोग समर्थन विद्रोही पक्षलाई थियो । राज्य पक्ष कमजोर हुँदै जाँदा सुरक्षा निकाय र स्थानीय जनप्रतिनिधिहरु गाउँगाउँबाट विस्थापित हुँदै गए । स्थानीय सत्ता रिक्तताको अवस्थाबाट माओवादीले स्थानीय जनसत्ताहरु वडा र गाउँस्तरमा निर्माण गर्दै अघि बढ्यो । अन्ततः २०५७ मंसिर ५ गते नेपालमै पहिलो जिल्ला जनसरकार ५० औं हजार जनताको बीचमा घोषणा भयो । माओवादी जनयुद्धको राजनीतिको फेरि पनि राष्ट्रिय–अन्तर्राष्ट्रिय रुपमा आफूलाई स्थापित गर्‍यो । द्वन्द्वमा राज्यको भूमिका निकै कमजोर सावित भयो ।

स्थानीय जनसत्ताले प्रारम्भिक रुपले जनताका बीचमा न्याय निसाफ सम्बन्धी कामकाज गथ्र्यो । पार्टीले स्थानीय जनसत्ता सञ्चालन कार्य निर्देशिका तयार गरी कार्यान्वयनमा ल्याएपछि अरु थुप्रै कामहरु जनसत्ताले गर्नुपर्ने भयो । सानातिना विकास, निर्माण, शिक्षा स्वास्थ्यमा नियमन, जुवातास, जाँडरक्सी नियन्त्रण जस्ता कामहरु गाउँ जनसत्ताबाट निरुपण हुन्थे । पछि जिल्ला जनसरकारले अधिवेशनमार्फत कर नीति ल्याएपछि तोकिएको व्यक्ति वा संस्थाबाट कर असुली गरिन्थ्यो । रोचक कुरा के हुन्थ्यो भने कर असुलीको नीति आएपछि गाउँ जनसमितिको प्रमुख हुनलाई कतिपय व्यक्तिहरुको बीचमा मारामार चल्थ्यो ।

स्थानीय निर्वाचनमा पार्टीकै कार्यकता बागी उम्मेद्वार उठ्थ्यो । यसो हुनुमा मुख्य कुरा आफ्नो हातमा आर्थिक स्रोत केन्द्रित हुनु नै थियो । सुरुको चरणमा जनसत्ताका कामहरु जनताले निकै रुचाए । अपार माया र समर्थन हुन्थ्यो । केही जनसत्ताका प्रतिनिधिहरु विरोधी राजनीतिक शक्तिहरुबीच पनि लोकप्रिय बनेका थिए । जनताको पक्षमा राम्रो काम गर्दा र जनसम्बन्ध प्रगाढ हुँदासम्म जनताले जनसत्तालाई यो यो काम गरियोस्, यस्तो नीति नियम बनाओस् भनेर मतहरु राख्थे । तर जब पार्टी ठूलो भयो, जनसत्ता व्यापक भयो जनताको आवाज कमजोर हुँदै गए । जनसत्ता सञ्चालन सम्बन्धी निर्देशिका र सत्ता सम्बन्धी सैद्धान्तिक अवधारणाले जनसत्ता (जनसमितिहरु) जनवादी शक्तिहरुबीचको संयुक्त मोर्चाको रुपमा बनाउँथ्यो ।

यो कुनै सर्वहारावर्गको एकल अधिनायकत्व होइन भनेर भनिन्थ्यो । तर व्यवहारमा जाँदा पार्टीभित्रकै वर्ग, जाति, क्षेत्र, लिंगको समायोजन गरिन्थ्यो । पार्टी बाहिर रहेका जनवादी शक्तिहरु वा व्यक्ति को हुन् ? र उनीहरुको सहभागिता जनसत्तामा कसरी सुनिश्चित गरिनुपर्छ भन्ने बारेमा ध्यान गएन । कतिपय स्थानमा जनसत्ता यति अलोकप्रिय बन्यो कि गाउँ निर्वाचनमा पार्टीको उम्मेद्वारले सर्मनाक पराजय व्यहोर्नु पर्ने अवस्था आयो । धेरै ठाउँमा स्वतन्त्र उम्मेद्वारले विजय हासिल गर्थे ।

सरुण बाँठा मगर

जनसत्तामा आएको यो समस्याले पार्टीलाई केही नयाँ ढंगले सोच्न बाध्य बनायो । जनप्रतिनिधिहरुलाई पार्टीले निगरानी गर्ने र जनतालाई पनि निगरानीको लागि उत्प्रेरित गर्ने निर्णय लिइयो । तर व्यवहारमा खासै परिवर्तन केही पनि आएन । केही ठाउँका जनप्रतिनिधिहरु त बेलगाम आफ्नो मनमर्जीले सत्ता चलाउँथे । जनतामा बल प्रयोग र विपक्षीहरुलाई अनावश्यक प्रताडना दिने काम भए । बहु विवाह गरेका केटा केटीलाई देश निकाला गर्ने, परपुरुषसँग यौन सम्पर्क गर्ने केटी र केटालाई गुप्ताङ्गमा आगो झोस्नेजस्ता डरलाग्दा गतिविधिहरु केही जनसत्ताका मान्छेहरुबाट भए । यी विषयमा जनसत्ताभित्र ठूलो बहसका विषय बन्थे । आर्थिक स्रोत, साधन खासखास व्यक्तिहरुमा केन्द्रित हुने पद्दतिले भ्रष्टाचार र अनियमितता मौलाउँदै गयो । पार्टीभित्र गरिने छानविन औपचारिकतामा सिमित हुन्थे । पार्टी कार्यकर्ता र जनसत्ताका प्रतिनिधिहरुको लवाईखवाई, उठाईबसाई, हिंडाई बोलाई जनतासँग होइन कुनै अर्कै व्यक्तिसँग मिल्ने खालको बन्यो । कार्यशैली जनताले रुचाउने नभै जनताले घृणा गर्ने खालको बन्यो ।

अब हेर्दाहेर्दै त्याग, समर्पण र महान आदर्श बोकेको पार्टी र त्यसमातहतका संगठनहरु आफैंले विरोध गर्ने गरिएका बुर्जुवा संगठनमा रुपान्तरित भए । देख्दादेख्दैको पार्टीको शैली र व्यवहार सर्वहारा क्रान्तिकारी होइन निकृष्ट सामन्तवादी पाखण्डीपनमा रुपान्तरित भयो । हामीजस्ता थुप्रै इमान्दार कर्तव्यनिष्ठ कार्यकर्ताहरु जसले आफ्नो आदर्श भूलेका छैनन् निराश र कुन्ठित बन्नुपर्ने अवस्था आयो । मलाई लाग्छ द्वन्द्वमा संलग्न सिंगो पुस्ताको लागि आजीवन रुपले यो पीडादायी घाउ बल्झिरहने छ ।

२०५८ सालदेखि २०६४ सालसम्म निरन्तर म रुकुम जिल्लाको जनसरकार प्रमुख र मगराँत स्वायत्त प्रदेशको प्रतिनिधिसभाको सभामुख भएर काम गरें । यति लामो समयसम्म त्यो जिम्मेवारीमा रहँदा थुप्रै अनुभव र शिक्षा आर्जन गरियो । ती अनुभवहरु अहिले पनि र भोलि पनि काम लाग्न सक्छन् । व्यवहारसिद्ध अनुभवले नै समाज रुपान्तरणमा मार्गनिर्देश गर्न सक्छ ।
कमरेड प्रचण्डले आफ्ना दस्तावेज लेखनका क्रममा थुप्रै ठाउँमा पार्टीभित्र हुर्कदै गएको गैरक्रान्तिकारी विचार र प्रवृत्तिले पार्टीलाई पूरै संक्रमित गरेको यदि समयमै विचार र विधिको विकास नगर्ने हो भने पार्टी विघटनमा जानु अनिवार्य छ भनेर उल्लेख गरेको स्वीकारोक्ति अहिले पनि पढ्न सकिन्छ देख्दादेख्दै आफ्नै जीवनकालमा त्यत्रो विद्रोहको नेतृत्व गरेको पार्टी समेत विघटनको अवस्थामा पुग्दा पीडाबोध हुनु स्वभाविक हो । तसर्थ पार्टी विकास र रुपान्तरणको नयाँ प्रक्रियाबाट अघि बढ्ने सम्भावना समाप्त भैसकेपछि आत्मसमीक्षाका दुईवटा निष्कर्षहरु मेरो सामू उपस्थित रहे ।

एक, माओवादी पार्टीभित्रै बसेर निराश र कुण्ठित हुँदै डिप्रेसनको शिकार भएर आजीवन बाँच्ने । दुई यसको विकल्प खोज्दै आफूलाई पुनर्ताजगीकरण गरेर बाँकी समयमा समाजको सेवा गर्ने । यी दुईवटा विकल्पबाहेक मसँग तेस्रो विकल्प थिएन । अन्ततः मैले दोस्रो विकल्प राजें । दोस्रो विकल्प रोज्ने क्रमसँगै डा. बाबुराम भट्टराईले थालनी गर्नु भएको नयाँ शक्ति निर्माणको अभियानसँगै डा. बाबुराम भट्टराईले थालनी गर्नु भएको नयाँ शक्ति निर्माणको अभियानमा संलग्न हुन पुगेँ । म नयाँ शक्ति अभियानको सदस्य बन्न किन तयार भए ? यसको पहिलो जवाफ: समकालीन र राजनीतिमा विकल्पको खाँचो छ त्यो पूर्ति गर्ने हैसियत नयाँ शक्तिले राख्न सक्छ । दोस्रो जवाफ: यसले पुराना विचार, सिद्धान्त, विधि, शैली र संरचनागत पक्षमा प्रश्न उठाएको छ, र नयाँ समाधानको अनुसन्धानमा लागिपरेको छ । तेस्रो जवाफ: नयाँ शक्तिले देश र आम जनताले चाहेको आर्थिक विकास र समृद्धिको आकांक्षा लिएको छ ।

संक्षिप्तमा यी तीन कारणले म नयाँ शक्तिको अभियन्ता सदस्य बनेको हुँ । म माओवादी पार्टी सदस्य हुँदा आफ्नै जीवनकालमा जनताको जनवादी सत्ता स्थापना भएको देख्न चाहन्थें । न्याय, मुक्ति र समानताको नारा सार्थक भएको नेपाली समाज देख्न चाहन्थें । तर, केही राजनैतिक उपलब्धिहरुबाहेक हिजो साँचेका सपनाहरु अधूरै रहन पुगे । सपना विपनामा रुपान्तरण हुन सकेन । विपनाले सपना पछ्याउन सकेन । सपना र विपनाका आ–आफ्नै संसार भए । सपनामा रमाउँदा विपनामा दुःखी हुनुपर्ने अवस्था विडम्बना नै बन्यो । त्यसैले म चाहन्छु, आफ्नै जीवनकालमा सपना र विपनाको भेट होओस् । सपनामा घाम लाग्दा विपनामा अन्धकार नछाओस् । समकालीन राजनीतिमा सपनाको व्यापार ठूलो हुन्छ । विपनाको अकूत फाइदा सिमित पहुँचवालालाई सपनाको घाटाभरी जनतालाई हुँदै आएको विरासत नदोहोरियोस् ।

त्यसैले नयाँ शक्तिको ‘समृद्धि सम्भव छ, हाम्रै पालामा’ भन्ने सपनालाई जीवन व्यवहारमा सार्थक रुपान्तरण गर्नु नै हिजोका तमाम अधूरा क्रान्ति र आन्दोलनलाई पूर्णतामा पुर्‍याउनु हो । आर्थिक समृद्धिबिना प्राप्त राजनैतिक उपलब्धिहरु पटकपटक गुम्ने र फेरि त्यसकै लागि लड्नुपर्ने अवस्था इतिहासमा धेरैपटक दोहोरिएको छ । झण्डै ७० वर्षको लामो कालखण्ड राजनैतिक अधिकारको लागि लडियो, अबको लडाई गरिवी, बेरोजगारी र आर्थिक पराधिनताका विरुद्ध हो । यसको लागि सोही अनुसारको विचार, सिद्धान्त, नीति, विधि र शैलीको आवश्यकता पर्दछ । एउटा स्वप्नद्रष्टा र दुरदृष्टि नेतृत्वविना यो सम्भव छैन । त्यसैले यसको लागि योग्य नेतृत्व भनेको डा. बाबुराम भट्टराई नै हुनुहुन्छ । र, नेपाली जनताको अवस्था परिवर्तनको नेतृत्व पनि नयाँ शक्तिले नै गर्नेछ ।