पार्टी शुद्धीकरण र विस्तारको योजनामा केन्द्रित वनौँ !

- ७ असोज २०७५

नारायण खनाल
केन्द्रीय कार्यकारी सदस्य तथा
कपिलबस्तु इन्चार्ज, नयाँ शक्ति पार्टी

हामी यतिबेला पार्टीको शुद्धीकरण र विस्तार तथा स्थानीय तहको अधिवेशनको तयारीको चरणमा छौँ । हाम्रो पार्टीको संघीय परिषदको चौथो विस्तारित बैठकले सर्बप्रथम पार्टीको मौजुदा शक्तिको यकिन गर्ने, त्यसको नवीकरण गर्ने र तलदेखि माथिसम्म सदस्यहरुलाई संगठनमा आबद्ध गर्ने, पार्टीको दर्शन–सिद्धान्त–राजनिति–विचार–संगठनको बीचमा बुझाइमा एकरुपता ल्याउने, विशेषत: हाम्रो पार्टीको ‘५स’को राजनैतिक कार्यदिशाको आधारमा पार्टी शुद्धीकरण र विस्तारको योजनामा सिङ्गो पार्टीलाई केन्द्रित गरी स्थानीय तहको अधिवेशन र प्रथम राष्ट्रिय अधिवेशन हाम्रो पार्टीको मूख्य कार्यबार रहेको छ ।

त्यसका निम्ति यतिबेला देशव्यापिरुपमा राजनैतिक/वैचारिक काम, संगठनात्मक काम, प्रचारप्रसारको काम ढिलै भएपनि तीव्रगतिमा भइरहेका छन् ।

यसको मूख्य उद्देश्य समावेशी, समानुपातिक, सहभागितामूलक लोकतन्त्रको जगमा अधिवेशन र महाधिवेशन सम्पन्न गर्नु रहेको छ । गत फागुन ९, १०, ११, १२ मा लुम्बिनीमा सम्पन्न हाम्रो पार्टीको चौथो विस्तारित वैठकयता देशमा भएगरेका सामाजिक जनपरिचालन र पार्टीको आन्तरिक चरणबद्ध अभियानको दौरानमा पार्टीलाई कैयौँ महत्वपूर्ण सफलता पनि प्राप्त हुँदै गएको छ, खासगरेर पार्टी शुद्धीकरण र विस्तारको क्षेत्रमा, तर त्यो अपेक्षाकृत भने छैन । हामीले पार्टीलाई वैचारिक दृष्टिकोणले धारिलो, संगठनात्मक दृष्टिकोणले सुदृढ र योजनागत दृष्टिकोणले आक्रामक र प्रभावकारी नबनाउँदासम्म पार्टीको स्थानीय तहको अधिवेशन वा पार्टीको विस्तारको कामलाई अनुशासित ढंगले समयमा पूरा गर्न असम्भव हुनेछ ।

आत्मगत अवस्था

– पार्टीको घोषित नीति तथा कार्यक्रमहरु वैज्ञानिक, वस्तुवादी र व्यवहारिक रहेका छन् । तर पार्टीमा विचारको वुझाइ र कर्यान्वयनमा एकरुपता ल्याउन सकिएको छैन । निकट भविष्यमा पार्टीको विषयगत स्कूलिङ र प्रशिक्षणको आवश्यकता रहेको छ । त्यसका निम्ति पार्टीको केन्द्रीय कार्यालयले तयार पारेको विषयगत प्रशिक्षक/प्रशिक्षणलाई पार्टीको सदस्यसम्म पुर्‍याउनु पहिलो शर्त हो ।

– हाम्रो पार्टीमा विभिन्न स्कूलिङबाट आएका योग्य, दक्ष र क्षमतावानहरुको केन्द्रीकरण भएको छ । तर निर्वाचनमा अपेक्षाकृत राम्रो नतिजा पार्टीको पक्षमा देखा नपरेपछि एकप्रकारको निराशा र हिनताबोधबाट ग्रसित समूहको जमघट जस्तो बन्न पुगेको छ । यसले गर्दा नयाँ आगन्तुक युवा नेतृत्वलाई उत्साहित बनाउन र पार्टी कार्यमा खटाउन सम्भव भइरहेको छैन । त्यसका निम्ति हाम्रो पार्टीका सबै सदस्यहरुको रुची र योग्यता अनुसारको वैज्ञानिक ढंगले जिम्मेवारी विन्यास गर्दै पार्टी कार्यमा खटाउनु पर्दछ ।

– हाम्रो पार्टीका कतिपय अभियन्ताहरुको बीचमा विगतको आग्रह पूर्वाग्रह, गुटगत संकीर्णता, बदला र प्रतिशोधको भावना व्याप्त छ । बदलिएको नयाँ परिस्थिति र नयाँ पार्टीको नयाँ सोच र योजना अनुसार आफैले आफैलाई बदल्ने र नयाँ मानिसहरुको उचित प्रकारको जिम्मेवारी विन्यास गरी एकले अर्काेबाट सिक्ने र सिकाउने, एकता संघर्ष र रुपान्त्रणको द्वन्दवादी मान्यतालाई हार्दिकतापूर्वक आत्मसात गर्ने संस्कार र संस्कृतिको निर्माण हुन सकिरहेको छैन । यो अवस्था रहिरहेसम्म हाम्रा स्थानीय वा प्रदेश वा राष्ट्रिय अधिवेशन र पार्टी विस्तार वा ध्रुवीकरणको ऐतिहासिक कार्यभार पूरा गर्न सकिने छैन । यसर्थ हामीले पुराना सडेगलेका विचार र व्यवहारलाई एकैसाथ लिएर नयाँ पार्टीको नयाँ मिसन पूरा गर्न सक्ने छैनौँ । हामीले कतिपय चिन्तन, प्रवृत्ति र पात्रको हकमा विधिको समेत प्रयोग गर्न हिच्किचाउनु हुँदैन ।

– पार्टीले गत स्थानीय तहको निर्वाचनमा विजय हासिल गरेका केही स्थानीय तहहरुमा त्यहाँका जनप्रतिनिधिहरुमा एक प्रकारको दम्भ, घमण्ड र अहंकार विकास भइरहेको पाईन्छ । पार्टीको लगातारको योजनावद्ध मेहनत र सामूहिक प्रयास र लगानीको परिणाम होइन बल्की आफ्नै व्यक्तिगत योग्यता र लब्धांकपत्र राम्रो भएकाले आफूले विजय हासिल गरको जस्ता तर्क यदाकदा गरेको पाइन्छ । त्यसप्रकारको समस्या वास्तवमा पार्टी कमिटी प्रणाली कमजोर भएको कारणले भएको हो । त्यो अवस्थामा जनतालाई छिटो छरितो गुणस्तरीय सेवा कसरी प्रदान गर्ने र पार्टीको मौलिक वैकल्पिक छवी कसरी निर्माण गर्ने भन्दा पनि आफू र आफ्नो स्वार्थी समूहलाई कसरी मजबुत बनाउने भन्ने विषयमा ध्यान केन्द्रित भएको पाइन्छ । यसले गर्दा जनतामा नयाँ शक्ति र पुरानो शक्तिको बीचमा मौलिक भेद छुट्याउन कठिनाइ परेको त छ नै हामीप्रति जनताको क्रमश: नकारात्मक धारणा बन्दै जान थालेको देखिएको छ । यसले पार्टी विस्तार र ध्रुवीकरणमा प्रतिकूल असर पार्न सक्छ ।

– पार्टीका कतिपय जिम्मेवार अभियन्ताहरु पार्टीको सदस्य बनिरहने, पार्टीका वैठकमा उपस्थित नै नहुने, पार्टीको लेवी नतिर्ने, बाहिर विभिन्न पार्टीमा वैकल्पिक शक्ति खोज्दै हिँड्ने, पार्टीको जिम्मेवारी पूरा नगर्ने, विरोधीहरुसँग सामिप्यता बढाउने ,आफ्नो पार्टीको राजनैतिक लाइन र नीति तथा कार्यक्रमको समेत सार्वजनिक आलोचना गर्ने, केन्द्रीकरण हुन नचाहने, पार्टीले सकभर नखोजे हुन्थ्यो जस्ता अवसर र अराजकतावादी सोचाइहरु हुर्कँदै जान थालेको देखिएको छ । यसले गर्दा जनतामा हाम्रो पार्टीको विकासमा अपेक्षाकृत प्रगति हुन सकिरहेको छैन ।

वस्तुगत अवस्था

– हामी यतिवेला नेपाली जनताको मानसिक शान्ति र आत्मिक खुशीका निम्ति विकास र समृद्धिको दौरमा छौँ । तर आर्थिक समृद्धिको पक्ष अहिले पनी ओझेलमा नै परेको छ । भूकम्प गएको लामो समय बितिसक्दा पनि पीडितहरु खुला आकाशमुनि वस्न बाध्य हुनु, राष्ट्रिय गौरवका निर्माणाधीन आयोजनाहरु मन्द गतिमा चल्नु, देशका ऐतिहासिक शहरहरु काठमाडौँ, पोखरा, जनकपुर, लुम्बिनी, तिलौराकोटको सरसफाई, सडक, खानेपानी, ढल निकासको उचित व्यवस्थापन नहुनु, वेरोजगारीको समस्या झन् पछि झन् पेचिलो हुँदै जानु, देशका युवा शक्तिहरु कामको खोजिमा विदेशतिर ओइरो लाग्नु, शान्तिसुरक्षा फितलो हुनु, महङ्गी, भ्रष्टाचार, कालोबजारी, विभिन्न निर्माण कार्यमा लागेका ठेकेदार कम्पनीहरुको काममा ढिलासुस्ती र भौतिक संरचनाहरुको गुणस्तरहीन निर्माणलाई नियन्त्रण गर्न नसक्नु, मुलुकलाई विश्वव्यापी जलवायु परिवर्तनको प्रभावबाट जोगाउन जंगल संरक्षण, चुरेक्षेत्रको संरक्षण गर्न नसक्नु जस्ता हजारौँ देश र देशवासीसित जोडिएका अहम् सवालहरुप्रति जबरजस्त वहुमतप्राप्त सरकारले पटक्कै ध्यान दिएको देखिँदैन । सरकारको अहिलेसम्मको कामकाज हेर्दा परम्परावाद, नातावाद कृपावादमा आधारित रहेको छ । मन्त्रीहरु काम गर्ने भन्दा कुरा धेरै गर्ने बातबहादुर देखिन्छन् । नेपालमा बातवीर मन्त्री भन्दा कर्मवीर मन्त्रीको खाँचो छ । प्रधानमन्त्रीले जम्बो टोलीसहित दुई छिमेकी देशहरुको भ्रमण गरिसकेका छन् । ती छिमेकी विकसित देशहरुले तीव्रगतिमा गरेको विकासका आधारभूत सूत्रहरु के हुन् ? त्यहाँको प्राविधिक पक्ष के हो ? मानव संसाधनको अवस्था के हो ? आर्थिक समृद्धिका आधारहरु के के हुन ? ती विषयहरुलाई बुझ्ने र विकसित देशहरुको अनुकरण गरी देशलाई विकसित देशहरुको दिशामा अगाडि वढाउने चिन्ता र चासो देखिँदैन । भ्रमणमा स्वाधिनता र स्वाभिमानी रुपमा विदेशी समकक्षीहरुसित प्रस्तुत हुनुभन्दा दास मनोवृत्ति र लम्पसारवाद अनुरुप प्रस्तुत हुनु र अमूर्त खालका दर्जनौँ सम्झौता र समझदारीको कुटुरो वोकेर देश भित्रिने र भ्रमण वडो महत्वपूर्ण, फलदायी रह्यो भनी पत्रकार सम्मेलन गर्ने परम्परा नेपालको पुरानो परम्परा हो ।

– अहिलेसम्मकै बलियो वहुमतप्राप्त स्वघोषित कम्युन्ष्टि सरकारले ८३ प्रतिशत किसान भएको देशमा सिँचाई, वीऊ, मलखादको प्रभावकारी योजना बनाएको वा एक दुई ओटा त्यस्ता महत्वपूर्ण कामहरुको प्रारम्भ गरेको देखिँदैन । ‘कुराले पेट भरिँदैन सम्धी’ भन्ने नेपाली उखान जस्तै नेपाली, गरीब, किसान, सर्वसाधारण मेहनतकश जनताको पेट पनी कुराले भरिँदैन । अहिले पेट उनीहरुले भरेका छन् जो सत्ताको नजिक छन्, दलाली गर्छन्, चाप्लुसी गर्छन् । तर वाह्रै महिना पसिना बगाएर, मकै चामलको सहारामा बाँच्न विवस भएका गरीब किसान, मजदुरहरुको पेट सारङ्गी जस्तै खोक्रो छ । सारङ्गी जस्तो पेटले राष्ट्रियता र लोकतन्त्रको गीत धेरै लामो समयसम्म गाइराख्न सम्भव हुनेछैन । समग्रमा तीनै तहका सरकारले भनेका कुरा र गरिरहेको कामको बीचमा, जोड दिनुपर्ने काम र ध्यान दिनुपर्ने कामको बीचमा, तत्कालीन काम र दीर्घकालीन कामको बीचमा, सामान्य काम र विशेष कामको बीचमा उचित प्रकारको तालमेल र तादात्म्यता मिलाउन सकेको देखिँदैन ।

– स्थानीयस्तरमा आम जनतासँग बढी प्रत्यक्ष सरोकार राख्ने सरकारी अङ्ग स्थानीय सरकार भएकाले स्थानीय प्रशासन असाध्यै जनमैत्री, सहज र पारदर्श हुनुपर्दछ । प्रमुख कार्यालयमा स्थानीय दोभाषेको व्यवस्था गरिनुपर्दछ । स्थानीय तहमा उठाइने व्यवसायी कर, सम्पत्ति कर, मालपोत कर, घरवहाल कर, शुल्क र जरिवाना आदिको अभिलेख नियमितरुपमा सार्वजनिक गरिनुपर्दछ, नागरिकता, घरजग्गा, धनीपूर्जा जस्ता कामहरु सहज रुपले हुने व्यवस्था गरिनुपर्दछ, सबै कागजात पुर्‍याएर निवेदन दिएको २४ घन्टामा काम सम्पन्न गरिनुपर्दछ । स्थानीय तहका विकास निर्माण योजना र तिनको बजेट विनियोजन स्थानीय स्तरमा रहेका सम्पूर्ण राजनैतिक दल र सरोकारवालाहरुको परामर्शमा गरिनुपर्दछ । तर तीनै तहका सरकारहरु परम्परागत ढंगले नै चलिरहेका छन् । यसले गर्दा जनतामा कुनै नौलो अनुभुति हुन सकिरहेको छैन ।

– यतिबेला तलदेखि माथिसम्म नेकपाको दवदवा र हालीमुहाली रहेको छ । यो शक्तिको वरिपरि पहिचानवादी धाराको एउटा हिस्सा सत्तामा पुगिसकेको छ भने अर्काे सत्तामा जान लालाहित बनिसकेको देखिन्छ । नेपाली कांग्रेस निर्वाचनको नतिजा सार्वजनिक भएपश्चात दिमागी सन्तुलन समेत गुमाउँदै गएर नेता र नीतिविहिन जस्तै बनेको छ । र ऊ यतिबेला आन्तरिक कचिङ्गलमा नराम्रोसँग फसेको देखिन्छ ।

– यो शक्तिको वरिपरि आसेपासे कार्यकर्ता, विभिन्न क्षेत्रका ठेकेदार, एनजिओ, आईएनजिओकर्मी, शिक्षा र स्वास्थ्यका व्यापारी र यस देशको दलाल प्रशासन, डनतन्त्रको गहीरो साँठगाँठ छ । यिनीहरुले कर्मचारीतन्त्रमा दलीय ट्रेड युनियन बलियो बनाउँदै लगिरहेका छन् । देशमा यिनिहरुले आफूलाई केन्द्रिकृत नोकरशाही विरासतबाट माथि उठाउन सकेको देखिँदैन । यिनीहरुको वैचारिक जीन अहिले पनि स्टालीनवादबाट ग्रस्त छ ।

– माथि पहिला नै भनियो जनताको विकास र समृद्धिको एजेण्डा अहिले पनि ओझेलमा नै परेको छ । जनताको विकासको नाममा जनताको ढाडै सेकिने गरी जथाभावि कर असुली गरेका छन् । जिल्लाको साधन र प्राकृतिक स्रोतको केन्द्रीकरण र जनताको करबाट उठेको रकम आफ्नो सुविधाको निम्ति खर्च गर्नमा नै आफूलाई सीमित पारेका छन् । वर्तमान सरकार चौतर्फी रुपमा फेल भैसकेको छ र चारैतिर नयाँ विकल्पको खोजी पनि भैरहेको छ ।

– देशमा जनप्रतिनिधिहरुका संस्था खडा भएयता पार्टीहरुको भूमिका प्राय: सबैको शुन्य जस्तै रहेको देखिएको छ ।

समग्रमा पार्टीको आत्मगत कारण र वस्तुगत कारणको संक्षिप्त विश्लेषणको निश्कर्ष यो हुन्छ कि पार्टीभित्र वा बाहिर देखा परेका समस्याहरुलाई हामीेले हाम्रो पार्टीको दर्शन, सिद्धान्त, राजनीति, संगठन र न्यूनतम निति तथा कार्यक्रम अन्तर्गत रहेर नै खोज्नु पर्दछ । त्यसो गर्दा पार्टीभित्र देखा परेका समस्याहरुलाई हामीले स्वस्थ, मैत्रीपूर्ण र रचनात्मक वैचारिक अन्तरसंघर्ष सञ्चालनको माध्यमबाट हल गर्नुपर्दछ भने पार्टीबाहिर देखा परेका समस्याहरुको समाधान पार्टीलाई संगठनात्मक रुपले सुदृढ, वैचारिक दृष्टिले धारिलो पारेर नै विरोधी र विपक्षहरुबाट सृजित समस्याहरुको समयमै तत्क्षण भण्डाफोर गरेर पार्टीलाई जनतामा स्थापित गर्नुका साथै एउटा सशक्त वैकल्पिक राजनैतिक शक्तिको रुपमा खडा गर्न सक्नेछौँ । यसो गर्न नसक्दा हामीले बदलिएको नवीन राजनैतिक परिस्थिति, नयाँ पार्टीको नयाँ योजना मात्र होइन आफ्नै औचित्यता, आवश्यकता र प्रसङ्ग समेत जनतामा गुमाउँदै जानेछौँ । यसर्थ हामीले पार्टीको आन्तरिक र वाह्य दुबै चुनौतिहरुको सामना गर्दै निकट भविष्यमा हाम्रो भूमिकालाई केन्द्रिकृत, सक्रिय र आक्रामक एवम् प्रभावकारी बनाउनु अपरिहार्य बनेको छ । त्यसो गरेर नै हामीले स्थानीय तहको अधिवेशन र पार्टी विस्तार एवं ध्रुवीकरणको ऐतिहासिक कार्यभार पूरा गर्न सक्नेछौँ ।

निश्कर्ष

हाम्रो पार्टीेले देशमा यस अवधिमा हासिल गरेका संगठनात्मक उपलब्धि, आत्मगत, बस्तुगत समस्याहरुको समीक्षा समग्रमा प्रारम्भिक प्रकारका उपलब्धि र समस्याहरुको समीक्षा नै हो । यस अभियानको समग्र समीक्षा स्थानीय तहको अधिवेशन र पार्टी विस्तारको चरण पूरा भएपछि नै विस्तृत प्रकारले गरिनुपर्दछ ।