मधेस विद्रोहको सपना

- ९ असोज २०७५

राजेश राम,
केन्द्रीय कार्यकारी समिति सदस्य,
नयाँ शक्ति पार्टी, नेपाल

पटक पटक भएको मधेस आन्दोलनमा ५ं४+५६+७+२२+१ = १४० जनाले शहादत प्राप्त गरिसके । पछिल्लो समय बाँकेमा मधेसका मसिहा भनेर चिनिएका उपेन्द्र यादवलाई कालो झण्डा देखाएको आरोपमा पक्राउ परेका राममनोहर यादवको मृत्युसम्म आइपुग्दा मधेस र मधेसीको सपना जहीँको तहीँ छ ।

मधेसीहरुले मागेको संघीयता प्राप्त भए पनि प्रान्तीय सरकारका निर्णयहरुलाई प्रान्तमै सञ्चालित कार्यालयहरुले अवज्ञा गरिरहेको देखिन्छ । जनकपुरमा नेपाल राष्ट्र बैंकलाई बन्द गर्न मन्त्री आफै ताल्चा बोकेर गएको प्रसंगलाई केन्द्रीय सत्ताका हिमायतीहरुले गाइजात्रा भनेर व्यङ्ग्य गरिरहेका छन् । सीमांकनको मागलाई समेत ओझेलमा पारेर २२ जिल्लाको मधेस ८ जिल्लामा खुम्चिएको छ । आत्मसम्मान र पहिचानका कुरा पनि धिमा गतिमा घिस्रिरहेको छ । नागरिकताको सबाल र संविधान संसोधनका कुरामा शब्दजालमा नै रुमलिन मधेस केन्द्रित दलहरु बाध्य छन् । यस्तो अवस्थामा मधेस विद्रोहले देखेको सपना पूरा होला ? मधेसी नेताहरुले मौसमी रुपमा बेलाबेलामा मागहरु उठाउने गरे पनि समग्र मधेसी नागरिक भने नेताहरुले मधेसको भावनालाई सत्तामा पुग्ने खुड्किलामात्र बनाएको आरोप लगाउन थालेका छन् ।

एकथरी मधेसको राजनीति गर्नेहरु पहाडी राष्ट्रवादको गोलचक्करमा फसेका छन् भन्ने अर्काथरी के गर्ने कसो गर्ने भनेर चिन्तामा परेका छन् । प्रधानमन्त्री केपी ओली प्रदेश नं. २ को प्रान्तीय संसदमा सम्बोधन गर्न जाँदा मधेस केन्द्रित दलकै कोही स्वागत गर्ने त कोही विरोधमा उत्रिनाले पार्टीभित्रकै अन्तरविरोध छताछुल्ल भयो । यसले मधेसी दल आफैमा विवादित र विभाजित भएको देखियो ।

प्रदेश २ मा मधेस केन्द्रित दल मिलेर सरकार चलाएका छन् । तर मधेसी जनताको पक्षमा कुनै काम भैरहेको छैन् । मधेसी राष्ट्रियता पहाडी राष्ट्रियताको चंगुलमा फसेको छ । मधेस केन्द्रित दलसँग मधेस आन्दोलनमा बलिदान गर्नेहरुको एकिन तथ्यांक समेत छैन । फरक फरक बलिदानको डाटा सार्वजनिक हुने गरेको छ । यो कस्तो बिडम्बना हो ? यसले के संकेत गर्छ ? मधेस आन्दोलन साँच्चिकै मधेसीको मुक्तिका लागि सचेत आन्दोलन थियो कि केही मधेसी नेता र दलका लागि भरियाको रूपमा साम्प्रदायिक आन्दोलन थियो ? केपी ओलीलाई कट्टर मधेस विरोधी देख्ने मधेस केन्द्रित दल र उपेन्द्र यादव अहिले घोडमिलान गरेर सत्ताको चास्नीमा डुबुल्की मार्दैछन् । उपेन्द्र यादव ओली नेतृत्वकै वाम सरकारमा लम्पसार छन् ।

समग्रमा हेर्दा मधेस विद्रोहको सपना मधेसी दल र नागरिकका लागि सपनामै सीमित रहने देखिँदैछ । व्यक्तिगत राजनीतिक स्वार्थपूर्तिका लागि बलिदानसँग सौदावाजी गर्दै हिँडेका मधेस केन्द्रित दलको मधेस प्रतिको चिन्ता ओइलाएको छ । लगभग मरेतुल्य भएको छ । मधेसको सवाल भन्दा चुनावी खर्च उठाउने र जुटाउनेतर्फ केन्द्रित छन् ।

उपेन्द्र यादवले पटकपटक म राष्ट्रवादी हुँ मधेसवादी होइन् भन्ने गरेका छन् । उनी कुन राष्ट्रवादको गर्भबाट जन्मेका हुन् ? मधेसी वा पहाडी राष्ट्रवाद ? यसको सरल जवाफ मधेसी जनताले खोजेका छन् । उनले पहाडी राष्ट्रवादका कुरा गरेका हुन् भने पहाडबाटै चुनाव जित्ने हैसियत किन राख्दैनन् ? समग्र राष्ट्रवादको कुरा गरेका हुन् भने यो देशको कार्यकारी प्रधानमन्त्री बन्ने हैसियत किन राख्दैनन् ? राजेन्द्र महतो आफूलाई दरो र खरो मधेसवादी ठान्छन् । तर निर्वाचनमा मधेस आन्दोलनको उर्बरभूमि लहान लगायत मधेसका विभिन्न ठाउँमा पहाडी दलले चुनाव कसरी जित्यो ? पहाडी राजनीतिलाई मधेसबाट किन विदा गर्न सकिएन ? यसको जवाफ आम नागरिकले खोजेका छन् । मधेसी बलिदान र सपनामाथि नौटङ्की गर्दै हिड्ने मधेस केन्द्रित दल र नेताहरुको जनताले डिएनए टेस्ट गर्नु पर्ने हो कि ? मधेस केन्द्रित दलले मधेसमाथि ठूलो अन्तर्घात गर्दैछन् ।

आज समग्र मधेस एक प्रदेशको एजेन्डा इतिहासमा सीमित भएको छ । संविधान पुनर्लेखन बार्गेनिङ्को टेबुलमा राखिएको छ । शहीदको परिवारलाई ५० लाख र परिवारजनको रोजगार गफमै सीमित भएको छ । बरू त्यसको बदलामा स्थानीय सरकारले शहीद परिवार लगायत आम नागरिकको ढाड सेक्ने गरी कर बढाएर रगत चुस्ने कामको सुरूवात गरेको छ । यस्ता थुप्रै प्रश्नहरू छन्, जुन प्रश्न मधेसी जनताको मनमष्तिकमा उम्लिरहेको छ । यता मधेसको राजनीति पहाडी राष्ट्रवादमा सत्तास्वार्थको वार्गेनिङ्मा बदनाम भैरहेको छ ।

मधेस केन्द्रित दलको कुनै ठोस एजेन्डा छैन । अरू राजनीतिक दलको एजेन्डा काँधमा बोकेर हल्लीखल्ली गर्दै सत्तास्वार्थको वार्गेनिङ्मा टिकिरहेको छ । तथापि उनीहरूले आफ्नो एजेन्डा प्राप्त गर्न सकेका छैनन् । उपेन्द्र यादवको सरकारमा सहभागिताले मधेस एजेन्डा यतिबेला केपी ओलीकै बाटोमा हिडिरहेको छ । प्रदेश नं २ मा १७ दशमलब ४९ प्रतिशत दलित र ४ दशमलब १५ प्रतिशत मुस्लिमको जनसंख्या छ । जुन जनसंख्याले निर्वाचनमा निर्णायक भूमिका खेल्दछ । यसमा राजनीतिक दलहरूले हरेक हत्कण्डाको प्रयोग गर्छन् । आगामी निर्वाचनलाई प्रयोग गर्न प्रदेश नं. २ मा मधेस केन्द्रित दलले यादव र मुस्लिमबीचको कनेक्शन त कहिले दलित मुस्लिमबीचको कनेक्शनको जातीय कार्ड प्रयोग गर्न गौणरूपमा आन्तरिक तयारीमा जुटेका छन् । किन भने मधेस केन्द्रित दलले बाँकि उपलब्धि प्राप्तिका लागि थाँती राखेका आन्दोलन गर्ने हैसियत गुमाइसकेका छन् ।

यो वा त्यो वाहानामा मधेस केन्द्रित दलले मधेस र मधेस आन्दोलनको कार्ड प्रयोग गरेर सुरूदेखि नै मधेसी बलिदानमाथि राजनीतिक दलाली गर्दै आएका छन् । मधेसी जनताको सपना मधेस केन्द्रित दलबाटै सखाप हुने खतरा छ । लोकतन्त्रको जग र पहाडी अधिनायकत्वको आडमा मधेसका आधारभूत वर्गमाथि एकल जातिय मधेसी अधिनायकत्व बढेर जाने सम्भावना छ । निर्वाचनको परिणाम र स्थानीय सरकारको दलीय क्रियाकलाप त्यतैतिर केन्द्रित छन् । त्यसैले मधेसी जनताको विश्वास अविश्वासको खाड्लमा रोमलिएको छ । यसले आगामी निर्वाचनमा मधेसी समुदायलाई झनै संकटमा पार्दछ ।

अहिलेसम्म मधेस राजनीतिमा मधेस केन्द्रित दलको नियत ठीक देखिएको छैन । नयाँ राजनीतिक विकल्पविना यिनीहरूबाटै मधेसी जनताको मुक्तिको कल्पना गर्न सकिँदैन । मधेस केन्द्रित दलको मागप्रति ठोस अडान कहिले देखिएन । यिनीहरु पद, प्रतिष्ठा र कुर्सीका लागि ढुलमुले चरित्र अबलम्बन गर्दै आएका छन् । मधेस आन्दोलनको कार्ड प्रयोग गरेर पटकपटकको सरकारमा महत्वपूर्ण मन्त्रालयहरू हत्याएकै छन् । तर मधेसी मुहारमा कुनै चमक दिन सकेनन् । झन् निराशाहरू नै थपिदिएका छन् । कुनै बेला मुलुकको तेस्रो ध्रुवीय वैकल्पिक राजनीतिक शक्ति नयाँ शक्ति पार्टीका संस्थापक डा. बाबुराम भट्टराईसँग नजिकिएका संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले डा. भट्टराईको बौद्धिकतालाई राम्रोसँग उपयोग गर्न सकेनन्, दुरूपयोग गरे । तालमेल बिग्रियो । तालमेल अन्तत: धोका र सत्ता प्राप्तिमा परिणत भयो, मुख्यत: बैकल्पिक राजनीतिक शक्ति निर्माणमा बाधक बन्यो । अहिले वाम सरकारको क्रियाकलाप र युगको माग अनुसार वैकल्पिक राजनीतिक शक्ति नै आगामी दिनमा निर्णायक राजनीतिक शक्तिको रूपमा उदाउने निश्चित छ । मधेस केन्द्रित दलले यसको हेक्का राख्नुपर्छ ।

यतिबेला मधेसमा संघीयता र समावेशीताको गलत अभ्यास भैरहेको छ । आधारभूत वर्गमा समावेशीताको कुनै गन्ध छैन । यसले एकात्मक र निषेधात्मक जातीय पुनर्जागरणको सुरूवात भएको छ । यसबाट निष्पक्ष निर्वाचनको कल्पना गर्न सकिँदैन । मधेसमा एक जातिले अर्को जातिको अस्तित्व स्वीकार्दैनन् । यो मधेसी राजनीतिको ठूलो चुनौति र समस्या हो । यसबाट मधेसमा कमजोर वर्ग झन् कमजोर र बलिया झन् बलियो हुने सम्भावना बढेर गएको छ । यो प्रवृत्तिले लोकतन्त्र खतरामा पर्नेछ । शोषित र शासक वर्गबीचको खाड्ल झन् गहीरो हुनेछ ।

आफ्नो अधिकारका लागि मधेसी जनता पटकपटक जलिरहेका छन् । मधेसी जनताले जलेको स्वाद मधेसी शासकहरूबाटै चाख्न पाएका छैनन् । पुरानै पात्र र प्रवृत्तिको शिकार हुँदै आएको छ । यतिबेला मधेसमा पहाडी शासक भन्दा सयौं गुणा खतरनाक मधेसी शासक देखिँदैछन् । मधेस वलिदानको जगमा मधेस केन्द्रित दल कहिले काँग्रेस त कहिले कम्यूनिष्ट सरकारसँग कमाउ धन्धामा लिप्त छन् । यसरी मधेस केन्द्रित दल शहीदको रगतमाथि सत्तास्वार्थको वार्गेनिङमा बाँचिरहेका छन् । एक दुई जनालाई रोजगारी दिँदैमा शहीदको सम्मान र मधेस केन्द्रित दलको वाचा पूरा हुन सक्दैन् । न त मधेसको मुद्दा नै समाधान गर्न सकिन्छ । मधेस विगतदेखि नै ठूलो मरूभूमि हो । सांसदको तलव भत्ता खाएर संविधान जलाउने त कहिले संविधान पुनर्लेखनका लागि क्रान्तिका कुरा गर्ने उपेन्द्र यादव अहिले किन केपी ओलीसँग लम्पसार छन् ? सरकार बनेपछि बलिदान गर्नेलाई ५० लाख रुपैयाँ र शहीद परिवारलाई रोजगारीको ग्यारेन्टी गर्ने राजेन्द्र महतो यतिबेला कहाँ छन् ? सत्ताका लागि कतै गुप्तवासमा फेरि साम्प्रदायिक योजना त बनिरहेको छैन ? मधेसी नेताहरूकालागि अब मधेसी जनताले कति बलिदान गर्नु पर्ने हो ?

यतिवेला पहाडी र मधेसी शासकको मधेसप्रति हेर्ने दृष्टिकोणमा कुनै अन्तर छैन । सत्तास्वार्थको अन्तर्विरोध मात्र छन् । त्यो हात्तीको देखाउने दाँत मात्र हो । मधेसमा पहिचान र आत्मसम्मानको लडाइँ छ । एउटा वर्ग जुन शासक छन्, उसले शासनका लागि पहिचान चाहन्छ । अर्को शोषित वर्ग जो इतिहासदेखि गुमेको आत्मसम्मानका साथ बाँच्न चाहन्छन् । यो दुबै अन्तर्विरोधको समकक्षीय मधेस हो । यसर्थ मधेस केन्द्रित दलबाट आजित मधेस अब फरक दिशा र दृष्टिकोणमा केन्द्रित हुँदैछन् । जसको जवाफ भोलि इतिहासको कठघरामा उभिएर मधेस केन्द्रित दलले दिनुपर्ने हुन्छ ।