स्ववियु निर्वाचनमा नयाँ शक्ति विद्यार्थीको सहभागिता

- २९ पुस २०७५

नेत्र चापागाईँ
महासचिव, नयाँ शक्ति विद्यार्थी युनियन

नयाँ शक्ति विद्यार्थी युनियनको स्ववियु निर्वाचनको सन्दर्भमा धारणा के रहेको छ ? हामी कस्तो स्ववियु चाहन्छौँ ? किन स्ववियु चाहन्छौँ ? हाम्रो एजेण्डा के हो ? नयाँ शक्ति विद्यार्थी युनियनले किन जित्नु आवश्यक छ ? हामीले जितेमा के कस्तो परिवर्तन गर्न सक्छौँ ? मैले यस लेखमा बुँदागत रुपमा लेख्ने कोसिस गरेको छु ।

स्ववियु निर्वाचनबारे

स्वतन्त्र विद्यार्थी युनियन विद्यार्थी आन्दोलनको एउटा गरिमा थियो र छ । स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनलाई हामीले स्वागत गरेका छौँ । तर यसका केही सुधार गर्नुपर्ने पक्ष छन् र स्ववियुलाई निष्पक्ष बनाउन त्रिभुवन विश्वविद्यालयले पहिले पूर्वाधार तयार पार्नुपर्छ भन्ने हाम्रो कुरा हो । त्यसका निम्ति अहिले नै हामीले त्रिविलाई स्पष्ट भनेका छौँ, यसअघिका निर्वाचन निष्पक्ष भएनन्, कैयौँ क्याम्पसमा दशौँ वर्षसम्म निर्वाचन हुन सकेको छैन । अब निर्वाचन हुँदा निष्पक्ष, धाँधलीरहित र सरकारी क्याम्पसमा मात्र होईन निजी क्याम्पसमा पनि निर्वाचन गर्ने वातावरण बनाइयोस् । हामी निर्वाचनमा जान तयार छौँ । हामीले स्वागत गरेका छौं ।

सुधारका पक्षहरु

मुख्य कुरा त नेपालका क्याम्पसहरुको डिएनए नै खराब छ । यसको निर्माण प्रक्रिया नै खराब छ । यहाँ चरम राजनीतिक भागबन्डा छ । क्याम्पस प्रमुख राजनीतिक भागवण्डामा, त्रिविको भिसी राजनीतिक भागबन्डामा, त्रिविको रजिष्ट्रार राजनीतिक भागवण्डामा, रेक्टर राजनीतिक भागवण्डामा, प्राध्यापकहरु सबै पार्टी सदस्य छन् । कर्मचारीको ट्रेड युनियन छ । सहायक क्याम्पस प्रमुख र मास्टर्सको पार्ट टाइम लेक्चरसम्म राजनीतिक भागवण्डाको आधारमा नियुक्ति भइराखेको छ । यसले गर्दाखेरि स्ववियुको निर्वाचन खासमा स्वतन्त्र विद्यार्थीको पक्षमा हुनुपर्नेमा यो पनि दलीय विद्यार्थीको जस्तो बनाउन खोजिन्छ र आफ्नो दल हार्नेजस्तो भयो भने स्वयम् क्याम्पस प्रमुख, निर्वाचन आयोग नै चुनाव भाँड्न आफ्नो दल समर्थित विद्यार्थीहरुलाई उक्साउन, ताला लगाउन, झगडा गराउन र प्रशासनिक धाँधली गर्न लाग्छन् । त्यसकारण निष्पक्ष निर्णय लिन सक्दैनन् । त्यसैले कैयौँ क्याम्पसमा दसौं वर्षदेखि चुनाव हुन सकिरहेको छैन ।

त्रिवि होइन्, निर्वाचन आयोगद्वारा स्ववियु निर्वाचन

हामी क्याम्पसमा हुने स्ववियु निर्वाचनको प्रकृति सुधार होस् भन्ने चाहन्छौँ । हाम्रो कुरा के हो भने जसरी राज्यको चुनाव गर्ने जिम्मा निर्वाचन आयोगले लिन्छ त्यसरी नै स्वतन्त्र विद्यार्थी युनियनको चुनाव निष्पक्ष रुपमा गराउने जिम्मा निर्वाचन आयोगलाई दिऊँ । त्यसरी निर्वाचन गराएमा निष्पक्षताको ग्यारेन्टी हुन्छ । त्यस्तो निर्वाचनले वास्तविक विद्यार्थीको हित गर्छ । स्ववियु निर्वाचन गराउने जिम्मा निर्वाचन आयोगलाई दिऊँ ।

नयाँ शक्ति विद्यार्थी युनियनको एजेण्डा

राजनीतिक क्रान्ति सम्पन्न भइसकेपछि विद्यार्थी संगठन वा विश्वविद्यालयहरुमा हुने आन्दोलन शैक्षिक आन्दोलन हुनुपर्छ । हामी शैक्षिक मुद्दालाई लिएर निर्वाचनमा जान्छौँ । नेपालमा जसरी विश्वविद्यालयहरुमा राजनीतिक भागवण्डाहरु भएका छन् त्यसको पूर्ण रुपमा खारेज गर्नुपर्छ भन्ने हाम्रो भनाइ हो । हाम्रो अर्को एजेण्डा यो पनि हो । हामीलाई जिताउनुपर्ने कारण भनेको अहिलेको सत्तासीन मान्छेहरु र पुराना शक्तिहरुसँग हजार भ्रम छ हामीसँग एउटै सत्य छ । सत्यले जित्छ वा भ्रमले जित्छ भन्ने अबको चुनाव हो । हामी सत्य लिएर जादैँछौं ।

हाम्रो सत्य भनेको के हो त ?

सत्य भनेको अबको शैक्षिक आन्दोलन हो । सुशासनको आन्दोलन हो । राजनीतिक भागवण्डाको अन्त्य हो । सत्य भनेको शिक्षा क्षेत्रमा भइरहेको व्यापारीकरण, माफियाकरणको अन्त्य हो । निजीकरणको अन्त्य हो । अहिलेका सत्ताधारीको ८० प्रतिशतको शिक्षा, स्वास्थ्यको व्यापार छ । यसको अन्त्य गरेर जनताको पहुँचमा, जनताको पक्षमा शिक्षा र स्वास्थ्य ल्याउने कुरा सत्य हो ।

पार्टीको नाममा चुनावमा जान्नौँ

हामी बहुदलीय व्यवस्थामा प्रतिबद्ध मान्छेहरु हौँ । त्यसको अर्थ स्वतन्त्र विद्यार्थी युनियन बहुदलीय अभ्यास होइन । त्यसकारण हामीले चाहेको नयाँ मोडेल के हो भने स्ववियु निर्वाचन दलीय झण्डा ओडेर दलको भ्रातृ संगठन भएर लड्ने होइन कि सकभर यसमा स्वतन्त्र व्यक्तिहरु नै आउन् हामी त्यसको पक्षमा छौँ । त्यो भएन भने पनि हामी वैकल्पिक समूह भनेर चुनाव लड्छौँ । हामी नयाँ शक्ति पार्टीका हौँ भनेर चुनाव लड्दैनौँ । अरु पनि त्यसैगरी लडुन् । अब पनि पुरानो मोडेलको स्ववियु आवश्यक छैन । नयाँ विधि, पद्दति र प्रणालीको स्ववियुमा अब हामी जानुपर्छ । विश्वविद्यालयमा विद्यार्थी संगठन आवश्यक छैनन् भन्ने होइन । आवश्यक छ । विद्यार्थी संगठनको अबको काम, कर्तव्य र अधिकार, त्यसको कार्यदिशा नयाँ ढंगको हुनुपर्यो । हामी त आधारभूत तहमा मात्र होइन मावि तहको १२ कक्षा सम्म पनि विद्यार्थी संगठन बनाउँदैनौँ । सरकारी तलबभत्ता खानेहरुको संगठन पनि हुँदैन हाम्रो पार्टीको । विश्वविद्यालयमा विद्यार्थी हक, हितका लागि विद्यार्थी संगठन चाहिन्छ तर पार्टीको प्रचार गर्न झण्डा बोक्न होइन । हामीले त्रिविलाई प्रस्ताव गरिसकेका छौँ, स्ववियु निर्वाचन कसैले पनि पार्टीको झण्डामा होइन् स्वतन्त्र समूह बनाएर चुनावमा जाऔँ ।

नयाँ शक्ति विद्यार्थी युनियनका मुख्य कामहरु

नयाँ शक्ति विद्यार्थी युनियनले मूलतः राजनीतिक भागवण्डाका विरुद्ध देशव्यापी जागरण अभियान चलायो । यसले गर्दा धेरै ठाउँमा विद्यार्थी तथा क्याम्पसमा जागरण आएका छन् । कैयौँ ठाउँका आन्दोलन सफल पनि भएको छ । नवौं शिक्षा संशोधनको विरुद्धमा नयाँ शक्ति विद्यार्थी युनियन माइतिघर मण्डलामा आमरण अनशन बस्यो । फिर्ता त गर्यो तर पछि राज्यले सहमती लत्याएर अघि बढ्यो । अर्को कुरा त्रिविले कहीँको क्याम्पसको आयव्यय पनि सार्वजनिक गरेको छैन हालसम्म, पोखराको पृथ्वीनारायण क्याम्पसमा हाम्रो विद्यार्थी संगठनले ६ दिन बसेको आमरण अनशनका कारण त्रिविले सबै क्याम्पसमा आर्थिक आयव्यय विवरण सार्वजनिक गर्ने सहमति त्रिविको प्रतिनिधिसँग भएको छ । त्यसको कार्यान्वयन गर्नुपर्छ । सरकारको वाइडवडी भ्रष्टाचारको सन्दर्भमा हामीले थुप्रै ठाउँमा आन्दोलन गर्यौँ । हामी विश्वविद्यालयमा राजनीतिक भागबण्डा अन्त्य गर्छौँ । आधारभूत तहमा शिक्षा निःशुल्क गर्छौँ र निजीलाई हामी नियन्त्रण गर्छौँ । हाम्रो मुख्य शैक्षिक मुद्दा यिनै हुन् ।