जनसम्वाद डायरी- १

गंगा श्रेष्ठ
- ९ चैत्र २०७५

 

तयारी र रेकी
हामी नागरिकसँग प्रत्यक्ष सम्वाद गर्न चाहन्थ्यौं । पछिल्लो चेतनासहित सबै समस्या र सम्भावनाहरूसँग साक्षात्कार गर्न चाहन्थ्यौं । देशको भूगोल, भूगोलमा बस्ने मानिस, मानिसहरूको समाज, समाजको संस्कृति, आर्थिक, राजनीतिक समस्या र समाधानका उपायहरू त्यहीँका जनतासँग बुझ्न चाहन्थ्यौं । एकै वाक्यमा भन्दा जनतासँग सिक्न र सिकाउन अनि देश बुझ्न र बदल्न चाहन्थ्यौं । यही महान ध्येयकासाथ एक महिने जनसम्वाद यात्रा मध्यपहाडमा गर्ने योजना बनायौं ।

मध्यपहाडनै किन ?
झन्नै एकमहिना लामो विमर्शपछि हाम्रो निष्कर्ष थियो-
* मध्यपहाड हिमाल र तराईलाई जोड्ने सेतु हो ।
* मध्यपहाड एकप्रतिशतभन्दा बढी भाषा र जनसंख्या भएको नौवटा समुदायमध्ये सातवटा समुदाय बसोबास गर्ने ठाउँ हो ।
* मध्यपहाड कुनैबेलाको राष्ट्रिय अर्थतन्त्रको मेरुदण्ड हो ।
* मध्यपहाड अहिले भौतिक पूर्वाधारको अभावमा बसाइँसराइ र विदेशिनेहरूको चर्को समस्या भोगिरहेको ठाउँ हो ।
* मध्यपहाड फौजी र प्रशासनिक एकता भए पनि भावनात्मक एकता अझै नभएको ठाउँ हो ।
* मध्यपहाड विकासको प्रचुर सम्भावना बोकेको तर विकासले गति लिन नसकिरहेको ठाउँ हो ।
* मध्यपहाड प्रदेशहरूको नामाङ्कन र सीमाङ्कनको बारेमा सबभन्दा बढी असन्तुष्टि रहेको ठाउँ हो ।

मुख्यतः यिनै कारणहरूले एकमहिने जनसम्वाद यात्रा मध्यपहाडमा गर्ने निश्कर्षमा पुग्यौं ।

यात्राको तयारी
राजनीतिक तयारी
थिम : असल राजनीति र समावेशी विकासका लागि जनसम्वाद
नारा : अब आँखा खोलौं !
समृद्धि सबैका लागि, सधैंका लागि !

शैली : आफ्ना कुराहरू शिष्ट, सभ्य तर सशक्त रूपमा राख्ने । कुनै राजनीतिक पार्टी र कसैलाई ब्यक्तिगत रूपमा गालिगलौज नगर्ने ।

संगठनात्मक तयारी
* अभियानको समग्र नेतृत्व पार्टी संयोजक डा.बाबुराम भट्टराई स्वंयले गर्ने ।
* अभियानलाई ब्यवस्थित रूपमा सन्चालन गर्न एउटा मुख्य समिति र विभिन्न उपसमितिहरू निर्माण ।
* हेडक्वार्टर सदस्यहरू सम्भव भएसम्म यात्रा अवधिभर हिँड्ने । अरू केन्द्रीय नेताहरूको हकमा आ-आफ्नो प्रदेशभरी अनिवार्य हिँड्ने ।

ब्यवस्थापकीय तयारी
* यात्रावधिभरि हिँड्ने संघीय टीमले रू. १०-१० हजार आर्थिक उपसमितिमा जम्मा गर्ने ।
* आफूलाई व्यक्तिगत रूपमा आवश्यक सामग्रीहरू व्यक्तिले नै व्यवस्थापन गर्नुपर्ने । थर्मस, स्लिल्पिङ्ब्याग, औषधि आदि ।
* खाजाको रूपमा मकैभटमास खाने । खाना स्थानीय पार्टी कमिटिले व्यवस्था गर्ने । संभव नभए किनेर खाने । बस्न होटल प्रयोग नगर्ने ।
* जनतासँग केही कुरा पनि सित्तैमा नलिने ।
* यातायातको साधन सकेसम्म आफूसँग भएको प्रयोग गर्ने । संभव नहुँदा मात्र भाडामा लिने । पार्टीभित्रका साथीहरूको यातायात साधनको भाडा नतिर्ने । इन्धनभने संघको संघले, प्रदेशको प्रदेशले र स्थानीय तहको स्थानीय तहले व्यवस्था गर्ने ।
परम्परागत मन्च, खादा, माला प्रयोग नगर्ने
* पार्टी कमिटीले आयोजना गरेको कार्यक्रममा अलग्गै मन्च नबनाउने । नेताहरूको स्वागतमा खादा, माला प्रयोग नगर्ने । तर पार्टी कमिटीबाहेक अरूले आयोजना गरेको कार्यक्रममा मन्चको प्रयोग गर्ने र जनताले खादा, मालाले स्वागत गर्न चाहन्छन् भने स-सम्मान ग्रहण गर्ने ।
* लाइन लगाएर मन्चमा आसनग्रहण नगराउने ।

कार्यक्रमको समय र सञ्चालन शैली
* कार्यक्रमको प्रकृति र समय व्यवस्थापन
१) कोणसभा - आधाघण्टादेखि ४० मिनेट
२) हलभित्रको अन्तरक्रिया - बढिमा १ घण्टा
३) जनसभा - बढिमा २ घण्टा
४) अन्य संघसंस्था र निर्वाचित स्थानीय तहले आयोजना गर्ने कार्यक्रम - कार्यक्रमको प्रकृतिहेरी ३० मिनेटदेखि डेढ घण्टासम्म

उदघाटन र समापनबाहेक कहिँ पनि औपचारिक कार्यक्रम नगर्ने ।
* संभव भएसम्म सञ्चालकले नै कार्यक्रमको औचित्यमाथि प्रकाश पार्ने, नभए संघीय टीमबाट संक्षिप्तमा प्रकाश पार्ने ।
* बढिभन्दा बढी कार्यक्रममा सहभागीहरूसँग प्रत्यक्ष संवाद गर्ने ।
* अन्तमा सहभागीहरूको सल्लाह, सुझाव, जिज्ञासा र आलोचना सबै कुरा समेटेर पार्टी संयोजकले सम्बोधन गर्ने ।
अभियानलाई व्यवस्थित र परिणाममुखी बनाउन "अभियान निर्देशिका" बनाउने र कडाइकासाथ पालाना गर्नुपर्ने । मुख्य समितिद्वारा निर्दिशिका जारी । त्यसमा पछि निम्नासुर नियमहरू थप-
अनिवार्य पालना गर्नुपर्ने केही नियमहरू :
१) बिहान ७ बजे दिनभरि हुने कार्यक्रमको ब्रीफिङ गरिनेछ । ब्रीफिङमा अभियान टीमका सबै सदस्यहरू अनिवार्य उपस्थित हुनुपर्नेछ ।
२) गाडीहरु नम्बर अनुसार क्रमबद्ध रुपमा चलाउनु पर्नेछ ।
३) कार्यक्रम स्थलमा संयोजकले बोलेको बेलामा सबैजना अनिवार्य सहभागी हुनुपर्नेछ । अरू बेला जनताबीच असाध्यै विनम्र र जिम्मेवार भएर कुरा गर्ने र सम्पर्क बढाउनु पर्नेछ ।
४) तोकिएको व्यक्तिभन्दा बाहेक, अरु मन्चको कुर्सीमा बस्न पाइने छैन ।
५) होटेलमा शुल्क तिरेर बस्ने अवस्थामा सबैलाई व्यवस्थापनले तोकेको खाना भन्दा अरु कुरा खान पाइने छैन ।
६) जनताको घरमा आफूले खाएको भाडा आफैले माझ्नु पर्नेछ । साथै, सुतेको ओछ्यान र बसेको कोठा सफा गर्नुपर्ने छ ।
७) सबै सदस्यहरूले आ-आफ्नो जिम्माको काम गर्नुपर्ने छ । काम बिग्रेमा आफैँ जवाफदेही हुनुपर्ने छ ।
८) बिहान ७ बजे अघि र बेलुका ७ बजेपछि कार्यक्रम गरिने छैन ।
९) प्रत्येक दिन साँझ सम्भव भएसम्म दिनभरिको कामको समीक्षा गरिनेछ । भोलिपल्टको कामको अग्रिम तयारी पनि गरिनेछ ।सडकको रेकी

पहिलो दिन
प्रदेशका ईन्चार्ज र संयोजकहरूलाई सडक रेकी गर्न जिम्मा दिने निर्णय भए पनि पछि हेडक्वार्टरबाटनै रेकी गर्ने प्रस्ताव संयोजक बाबुराम भट्टराईले गर्नुभयो । हेडक्वार्टर सदस्य प्रशान्त सिंहले पार्टी निर्माणको आवश्यकतालाई ध्यानमा राखेर हाइलक्स गाडी किन्नुभएको थियो । संयोजक भट्टराईले रेकीको जिम्मा मलाई र प्रशान्तलाई दिनुभयो ।

भीम पराजुलीलाई लिएर हामी २०७५ पुस २५ गते रेकीको लागि काठमाण्डौंबाट पूर्वतिर हिड्यौं । रेकीको क्रममा हामीले बाटोलाई चार भागमा वर्गीकरण गर्‍यौं । एक - कालोपत्रे गरेको, दुई- कालोपत्रे गरेर भत्किएको, तीन - ग्राभेल गरेको र चार - ट्र्याक मात्र खुलेको ।

सडकको अवस्थासँगै एक कार्यक्रम स्थलबाट अर्को कार्यक्रम स्थल पुग्न कति किलोमिटर र कति समय लाग्छ भन्ने कुरा पनि नोट गर्दै गयौं । बिहानको चियानास्ता गर्ने, खाना खाने, बेलुका खाना खाने र बास बस्ने दुरी र समयको पनि रूटिन मिलाउँदै गयौं । दिउँसोको खाजाको लागि भने हामीले टाइम र स्थान छुट्याएनौं । किनकि, खाजा मकैभटमास खाने र गाडीभित्रै खाने निर्णय थियो ।

रेकीको क्रममा कार्यक्रम स्थल, कार्यक्रम स्थल वरिपरिको वातावरण, सुरक्षास्थिति, बस्तिको घनत्व, आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिकलगायत विभिन्न सम्भावना र चुनौतीहरूको पनि गहन अध्ययन गर्दै गयौं ।

काठमाण्डौंबाट हिँडेको दिन बास बस्न हामी खोटाङको सदरमुकामस्थित हाम्रो पार्टीका नेता तथा कृषि र शिक्षाविद मदन राईद्वारा संचालित "सुभद्रा मदन फाउन्डेसन" मा पुग्यौं । पहिलो दिन सिन्धुलीको बहादुरा खोलादेखि उदयपुर घुर्मीसम्मको पाँच किलोमिटर मात्रै कच्ची बाटो थियो । अरू सबै बाटो कालोपत्रे थियो । झन्नै २०० किमि को यात्रा सजिलोसँग पूरा गर्‍यौं ।

सिन्धुली मेरो गृहजिल्लै भयो । उदयपुर, ओखलढुंगा र खोटाङ छिमेकी जिल्लाहरू । पहिलो दिनको यात्राको भूगोल मेरो लागि चिरपरिचित थियो । त्यसैले हामीले खास मिहिनेत गरेनौं ।

हामी सुभद्रा मदन फाउन्डेसन पुग्दा झन्नै बेलुकाको ९ बजेको थियो । यस फाउन्डेसनले चलाएको स्कूलको बारेमा धेरै रोचक कुराहरू सुनेको थिएँ । आफ्नै आँखाले प्रत्यक्ष हेर्ने र बुझ्ने अवसर भने हामी तीनैजनाको लागि यो पहिलो थियो । बेलुकी थाकेको र रात पनि छिप्पिएको कारण हेर्न, बुझ्न सम्भव भएन । तैपनि राति अबेरसम्म स्कूलका व्यवस्थापक सूर्य राईसँग विभिन्न बिषयमा गहिरो र अन्तरङ्ग छलफल गर्‍यौं ।

पार्टीका संगठन विभाग प्रमुख श्रेष्ठको जनसम्वाद डायरीलाई हामी क्रमिकरुपमा प्रकाशन गर्दै जानेछौं  । 

क्रमशः