जनसम्वाद डायरी- २

- १४ चैत २०७५

दोश्रो दिन

जीवन पढाउने र बदल्ने स्कूल

पूर्वी क्षितिज नखुल्दै बिहान ५ बजे सुमधुर स्वरमा माइकबाट गीत बज्न थाल्यो- उठ है उठ...। लगातार तीनवटा जागरण गीत बज्यो । ९ बर्षदेखि १८ बर्षसम्मका विद्यार्थीहरू बिहानको नित्यकर्ममा जुटे । तीनवटा गीत बजिसक्दा विद्यार्थीहरूले नित्यकर्म पनि सके । होस्टलनै रित्तो पारेर सबै मर्निङ वाकमा गए ।

मर्निङ वाकबाट फर्किएपछि बिद्यार्थी र हामीसँगै बसेर बिहानको नास्ता खायौं । पकाउने, खाने र भाँडा माझ्ने सबै ठाउँ एकदम सफा । लोभै लाग्ने । खाने कुरा फाल्न नपाइने, पोख्न नपाइने, खाएको ठाउँमा एकसिता भात र एकथोपा पानी पनि पोख्न नपाइने, खाएपछि आफूले खाएको भाँडा आफैले माझ्नुपर्नेजस्ता कडा नियम रहेछ । अक्षरश: नियम पालना गरियो । गज्जब त के लाग्योभने स-साना नानीहरूले पनि ठुलाले जत्तिकै नियममा बसेर काम गरेको देखियो ।

बाटोमा, स्कूलको भित्तामा, कक्षा कोठामा जताततै जीवनोपयोगी कोटेशनहरू टाँसिएको थियो । धेरै कोटेशनहरूमध्ये "बानी चेन्ज" भन्ने कोटेशन सारै मन पर्यो । आफ्ना केहि नराम्रा बानीहरू चेन्ज गर्ने सङ्कल्प पनि मनमनै गरें ।

खाजा खाइसकेपछि सूर्यजीले मुख्य-मुख्य ठाउँहरू, कक्षाहरू, ल्याव, वर्कशवमा घुमाउँदै संक्षिप्तमा व्याख्या पनि गर्नुभयो । खाजा खाएपछि बिद्यार्थीहरू कोहि गाईको गोबर फाल्दै थिए, कोहि घोडा, बङ्गुर, कुखुरा, हासलाई चारो हाल्दै थिए, कोहि तरकारीबारीमा काम गर्दै थिए, कोहि मिलमा धान कुटाउँदै थिए, कोहि लुगा सिउँदै थिए, कोहि आरनमा फलाम पिट्दै थिए, कोहि समिलमा काठ चिर्दै फर्निचर बनाउँदै थिए, कोहि वर्कशपमा मोटर बनाउँदै थिए, कोहि खाना बनाउँदै थिए । स-साना नानीहरू पारिलो घाममा गीतसङ्गीतको तालमा रमाइरमाई नाच्दै गाउँदै अक्षर सिक्दै थिए । साँच्चै गज्जब थियो स्कूलको वातावरण ।

यस स्कूलमा पुग्नुभन्दा करिब १५ दिन अगाडि यहि स्कूलमा पढ्ने बिद्यार्थी एलिसा मगरको असाध्यै मन उद्देलित हुने जीवनकथा युट्युवमा हेरेको थिएँ । ११ बर्षे ती नानीलाई भेटेपछि वातावरणले मान्छेलाई कति परिवर्तन गराउँदो रहेछ भन्ने देखेँ । उनका दुईवटा दाजु पनि त्यहीँ पढ्दा रहेछन् । त्यस स्कुल पुग्नुअघि सडक बालबालिकाको रूपमा रहेका यी तीन दाजुबहिनीले जीवन के हो ? जगत के हो ? आफ्नो कर्तव्य के हो ? राम्रोसँग बुझिसकेका रहेछन् ।

"यदि यहाँ आउने अवसर नमिलेको भए काठमाण्डौंको सडकमा खाते हुन्थ्यौं होला हामी ।" यी तीन दाजुबहिनीको साझा निश्कर्ष थियो । उनीहरूको कुरा सुनेपछि लाग्यो, यो स्कुल जीवन, पढाउने र बुझाउने मात्रै होइन जीवन बदल्ने पनि रहेछ ।

४२ जिल्लाका ३८ जातिका १५० जना बिद्यार्थीहरू अध्ययनरत स्कुल सायद नेपालमै एकमात्र जीवन र जगत बुझ्ने, बुझाउने, व्याख्या गर्ने र बदल्न सक्षम बनाउने स्कुल होला । अब्यबहारिक र अवैज्ञानिक शिक्षाको कारण समाजमा अयोग्य र बेरोजगारको पल्टन जन्माइरहेको देशमा स्वाभिमानी, सुयोग्य, श्रमशील, संघर्षशील, सिर्जनशील नागरिकहरू जन्माउन अहोरात्र लागिरहनु भएका मदन राईलाई मनमनै सलाम ठोक्दै हामी त्यहाँबाट सूर्य राईलाई साथमा लिएर भोजपुरतिर अघि बढ्यौं ।

शुरु भयो कच्ची बाटो

शुरु भयो कच्ची बाटो । दर्जनौं ठाउँको अप्ठ्याराहरू छिचोल्दै ४२ किमि बाटोलाई झन्नै ४ घण्टा लगाएर भोजपुर र खोटाङको सीमाना ट्याम्केडाँडा पुग्यौं । ०५२ सालमा पहिलो पटक यस डाँडोमा पाइला टेकेको याद आयो । उचाई उक्लनु गारो । उक्लिएपछि उचाइमा टिकिरहन झन गाह्रो ।

जेहोस उचाई उक्लिएपछि आँखालाई मात्रै होइन, मन र मष्तिस्कलाई पनि फराकिलो क्षितिजमा सकेजति फैलाउन सकिन्छ । क्षितिजमा फैलनुको मजै बेग्लै । एकछिन सबै मनमौजी भयौं । ट्याम्केको उचाईमा मध्याह्नको हावाको झोंक्कासँग एकछिन पौठेजोरी खेल्दै फोटो खिच्यौं । डाँडामा घामको काम बेशीमा जस्तो प्रकाश र ताप दिने हुँदैन । अर्थात् केवल प्रकाश दिने मात्र हुन्छ । मध्ये दिनमा पनि घाम कोमल र कलिलै हुन्छ । आ-आफ्नो नाक र कान छ छैन छाम्दै हामी नजिकैको चखेवा भञ्ज्याङ्को एकमात्र होटलमा खाना खान छिर्यौं ।

छिनामखु भोजपुरको एउटा चर्चित गाउँ । जनयुद्धकालमा जनमुक्ति सेनाको बृगेड कमिसार भएर ०६१ सालमा पछिल्लो पटक यस रमणीय गाउँमा पुगेको थिएँ । सम्झना ताजा भएर आयो । त्यतिबेला मोटर बाटोको कुनै छेकछन्दै थिएन । तर आज हामी मोटरमा यात्रा गरिरहेका छौं । कछुवा गतिमा भएपनि परिवर्तन भैरहेको रहेछ, विकट गाउँबस्तीहरू ।

बाटो नागवेली भएर घुमेकोघुमेकै भयो दिक्क लागुन्जेल । तैपनि स्टेरिङ सम्हालिरहेका प्रशान्तजीको अनुहारमा तनावको लेस थिएन । अतिनै भएपछि सूर्यजीलाई बाटो यतिधेरै घुमाउनुको रहस्य सोध्यौं । उहाँले रहस्य खोल्नुभो- यो पहिला कृषि सडकको लागि तयार भएको ट्र्याकमा जोडेर यस्तो भएको हो । साथै, यसमा नेताहरूको घरघरमा बाटो पुर्याउने स्वार्थले पनि काम गरेकोहोला । कुरा दुईटै सत्य थियो ।

लोकमार्ग कसैको घरको आँगनमा सडक पुर्याउनको लागि निर्माण गरिँदैन । साथै लोकमार्ग लिंकरोड जस्तो गाउँगाउँ पनि घुमाइँदैन । तर बिडम्बना यहाँ यस्तै गरेको रहेछ । चखेवा भञ्ज्याङ्बाट भोजपुर बजार ४४ किमि रहेछ । सिधा बाटो लैजाने होभने दिक्तेलबाट भोजपुर हालको ८६ किमिलाई घटाएर झन्नै ५० किमिमा छोट्याउन सकिने सम्भावना रहेछ । यसमा पक्कै सरकारको ध्यान जानेनै छ ।

हामी घाम ट्याम्केको डाँडाबाट ओरालो झर्दैगर्दा ४ बजे भोजपुर बजार पुग्यौं । चिसोमा जिउ तात्ने गरि चिया पियौं । हामीलाई बास बस्न अरुण नदीको किनार भोजपुर र धनकुटाको सीमाना
लेगुवाघाट पुग्नु थियो । सूर्यजी र जीवराज पोखरेलजीले हामीलाई एकजना पाको उमेरको तर फुर्तिलो स्थानीय अभियन्ता होमकर्ण पुरीको जिम्मा लगाउनु भयो । छुट्टिनेबेला बाटोको अवस्था देखेर हामीले चिन्ता ब्यक्त गर्यौं । सूर्यजीले भोजपुर र खोटाङ दुईजिल्लाको बाटोको चिन्तै नगर्न अनुरोध गर्नुभयो । जनसम्वाद यात्राको बेलासम्म जसरी पनि बाटो मर्मत हुन्छ भन्नुभयो । हामी ढुक्क भएर साथीहरूसँग छुट्यौं ।

झन्नै सात दशक उमेर खाइसकेका होमकर्ण दाइलाई यस्तो जाडोमा नलैजाने सल्लाह गर्यौं । तर दाइ माने पो । दाइ नगइनछाड्ने हुनुभो । त्यसपछि दाइलाई लिएर हामी लेगुवातिर लाग्यौं । अन्धकार बाक्लिदै थियो । कार्यक्रम गर्ने भनिएको पोइन्टहरूको बारेमा दाइले जानकारी गराउँदै जानुभयो । हामी राति ९ बजे लेगुवा पुग्यौं ।

दिक्तेल र भोजपुरको तुलनामा यहाँ जाडो आधा पनि थिएन । तैपनि अरुणमा बगेको चिसो स्याँठले बेलाबेलामा च्वास्स च्वास्स छाला चिमोट्ने गर्थ्यो ।

तेश्रो दिन

धनकुटाको यात्रा

दिनभरिको थकानले होला, एकै नींदमा बिहान छ्याङ्ग उज्यालो भएछ । होमकर्ण दाइलाई यहीँबाट बिदा गरेर हामी धनकुटाको
हिलेतिर लग्यौं । लेगुवा-हिले २६ किमिको यस खण्ड पनि असाध्यै अप्ठेरो रहेछ ।

झन्नै २ घण्टा बढी लगाएर हामी धनकुटाको कागते आइपुग्यौं । जिल्ला संयोजक श्रीराम रायमाझी, नया शक्तिको तर्फबाट बिजयी धनकुटा नपा- ३ का वडाध्यक्ष विकास घिमिरेलगायतका साथीहरूसँग भेट भयो । विकासजीले कागतेमा एउटा कार्यक्रम जसरी पनि थप्न दवावनै दिनुभयो । हामीलाई पनि मनासिब लाग्यो । सल्लाह गरेर पछि निर्णय दिन्छौं भन्यौं ।

दुईमहिना अघि मात्र पार्टी कामको सिलसिलामा एकरात यहीँ आएर बसेको थिएँ । त्यसबेला नै कागतेलाई ग्रीन कागते बनाउने वडाध्यक्ष विकास घिमिरेको योजना विस्तृतमा सुन्न पाएको थिएँ । थुप्रै मतदातासँग विकासजीको बारेमा थप बुझ्ने मौका पनि मिलेको थियो । मेरो निश्कर्ष थियो- युवावयका विकास मतदाताहरूको मनमा विकासको पर्यायवाचीको रूपमा बस्न सफल बन्दैछन । वडामा खास्सखुस्स हल्ला चल्दै थियो- अबको धनकुटा नगरको मेयर हो यो केटो ।

धनकुटाको टोली लिएर हामी हिले हुँदै तेह्रथुमको असाध्यै सुन्दर नगरपालिका वसन्तपुरतिर लाग्यौं । हिलेको बीच चोकमा तोङ्वाको मुर्ती छ । पहिला खास याद नगेरेको मुर्तिको बारेमा सोध्न यसपालिभने निकै खसखस लाग्यो । नागवेली सुन्दर सडकमा सर्पझैं चिप्लदैँ रोमान्चित मन लिएर हामी सिधुवा पुग्यौं ।
सडकको बिचमा दुरूस्तै फूलगोभीको मूर्तिले सबै यात्रुलाई स्वागत गरिरहेको थियो । फोटो खिचाउने रहर गर्यौ हामीले । पोजपोजका फोटाहरू लियौं । धनकुटाको चर्चित तरकारी क्षेत्रको रूपमा परिचित यस क्षेत्रमा बन्दा, काउली, आलु, गोलभेडा, लसुनलगायतका तरकारीहरू वार्षिक करोडौंको उत्पादन हुन्छ । कहिले कहिले त बजार नपाएर तरकारी सडेर गएको समाचार पनि सुन्नपर्छ । तर यसपालि हामीलाई किसानसँग छलफल गर्ने समय थिएन । तसर्थ, बजारमा फोटो खिचेर हामी अघि बढ्यौं ।

विगतको सम्झना

सिधुवाहुँदै गाडी अघि बढदै थियो । मेरो मनभने ०६१ सालका ती दिनहरू सम्झिएर एकतमासले एकोहोरियो । तत्कालीन माओवादी पार्टीभित्र प्रचण्ड र बाबुरामको बीचमा भयानक वैचारिक अन्तर्संघर्ष चलिरहेको थियो । यस अन्तर्संघर्षमा म बाबुरामले अघि सार्नुभएको लाइनतिर उभिएको थिएँ । अन्तर्संघर्ष यति शत्रुतापूर्ण हुँदै गयो कि ज्यानकै खतरा बढ्दै गयो । त्यसवेला म पार्टी केन्द्रीय सदस्य साथै संखुवासभा र तेह्रथुमको इन्चार्ज थिएँ । कमान्ड इन्चार्ज बादलको निर्देशनमा राज्य इन्चार्ज गोपाल किरातिले मलाई सबै जिम्माबाट मुक्त गर्दै कारबाहीको घोषणा गरे । साथीहरू बीचमा रुवाबासीनै चल्यो । मैले रसियन कम्युनिस्ट पार्टी र स्तालिनलाई सम्झिएँ त्यसबेला । पार्टीभित्रको अन्तर्संघर्षको कारण स्तालिनले १३८ जनाको केन्द्रीय समिति सदस्यमध्ये ९७ जनाको हत्या गराएका
थिए ।

साँच्चै एकदिन आफ्नै जनमुक्ति सेनाका साथीहरू मलाई खोज्दै म बसेको घरमा आइपुगे । उता रोल्पामा बाबुरामलाई बन्धक बनाइसकेका थिए । संकेत राम्रो थिएन । तत्कालै पहल नलिने हो भने मारिन पनि सक्छुजस्तो लाग्यो । दिल्लीमा रहेका प्रचण्ड-बाबुरामलाई संखुवासभाको ओखरबोटेमा रहेको एकमात्र लेनफोनबाट सबै घटना बताएँ । त्यसपछि भोलिपल्टनै म पनि दिल्ली हिँडे । जताततै सरकारी सेना, प्रहरी र सुराकीको सन्जाल, गस्ती, एम्बुस त्यसमाथि आफ्नै पार्टीका कमरेडहरूको खतरा । जोगिएर हिन्न सारै गारो थियो । नहिँडी पनि भएको थिएन ।

जोखिम मोलेर म संखुवासभाको ओखरबोटेबाट धनकुटातिर अघि बढेँ । अरू ठाउँ त सजिलै हिँडियो । तर धनकुटाको यहि सिधुवा क्रस गर्न मलाई सारै अप्ठ्यारो भयो । बजारभरि सेना, प्रहरीको बाक्लो उपस्तिथि र गस्ती । बाटो हिँड्ने प्रत्येक बटुवामाथि कडा निगरानी । मलाई लिएर अघिअघि हिँडेका साथी ३ चोटि बजार पुग्दै फर्कदैँ गरिसकेका थिए । दिउँसो उज्यालोमा क्रस गर्न सम्भव नहुने भएपछि झमक्क साँझ परेपछि बजार कट्ने योजना बनयौं । योजनाअनुसार झमक्क साँझ परेपछि बजार कटियो ।

भूगोल तिनै थिए, बाटो, घर, जङ्गल उनै थिए । मेरो हेर्ने आँखा यिनै थिए । तर ०६१ साल र ०७५ सालबीच आकासपातालको फरक अनुभव भइरहेको थियो । कम्युनिस्टहरू, कम्युनिस्ट पार्टी वा कम्युनिस्ट आन्दोलन किन धराशायी बन्यो ? मेरो मनमा अहिले पनि आफैँले भोगेका यस्ता घटनाहरू सम्झेर एकतमासले एकोहोरिन्छ । एकोहोरिदा एकोहोरिँदै गाडी वसन्तपुर बजार नजिक पुगिसकेको रहेछ ।

सुन्दर वसन्तपुर बजारको बीचमा त्यस क्षेत्रको पहिचान लालीगुँरासको मुर्ति ढकमक्क फुलिरहेको थियो । हिलेदेखि मनमा गुम्स्याएर राखेको जिज्ञासा छुट्नभन्दा अघि साथीहरूलाई सोध्यौं- बजारैपिच्छे किन यस्ता मुर्तिहरू राखेको हो ? साथीहरूको जवाफ थियो- यी मुर्तिहरूले आ-आफ्नो ठाउँको पहिचान बोकेर उभिएको छ । राजा माहाराजाहरूको मुर्ति राख्नुभन्दा यस्ता मुर्तिहरू राख्नु राम्रो होइन र ? गज्जवको जवाफ मिल्यो साथीहरूबाट ।

विकासजीले धनकुटा बजारमा एभोकाडो र लसुनेमा लसुनको म्याङ्लुङमा बिरालोको मुर्ति भएको जानकारी पनि गराउनु भयो । साथै, कागतेमा कागतीको मुर्ति तयार हुँदै गरेको थप जानकारी पनि गराउनु भयो । उहाँलाई सफलताको शुभकामना दियौं ।
यो अग्रगामी चेतनाको ध्योतक र नयाँ संस्कृतिको शुरूवात हो भन्ने निश्कर्षमा पुग्यौं । यो सन्देश अरूतिर पनि पुर्याउने वाचा गर्दै हामी तेह्रथुमको म्याङ्लुङतिर हान्नियौं ।

लसुने बजारको बीचमा असाध्यै आकर्षक लसुनको मुर्ति ठिंग उभिरहेको थियो । मुर्तिसँगै फोटो खिच्यौं । पसलपसलमा लसुन बेच्न राखेको देखिन्थ्यो । तर हामीले किनेनौं । एककप चिया पनि नखाई हामी म्याङ्लुङतिर सोझियौं । नजिकै थियो म्याङ्लुङ । तर हामीलाई बास बस्न संक्रान्ती बजार पुग्नुथियो ।

म्याङ्लुङे नयाँ शक्ति बा

म्याङ्लुङमा जिल्ला संयोजक भगवान दहाल र म्याङ्लुङ बजारभरि नया शक्ति बाको उपनामले चिनिने अमर कन्दङ्वाले पर्खिरहनु भएको रहेछ । बजार प्रवेश गर्नै लाग्दा बीच बाटोमा एउटा सानो मन्दिर छ । मन्दिरभित्र किंवदन्ती अनुसार बिरालोले कोपरेको एउटा ढुङ्गा छ । त्यही बिरालोले कोपरेको ढुङ्गा (लिम्बू भाषामा म्याङ्को अर्थ बिरालो र लुङ्को अर्थ कोपरेको, चिथोरेको) को नामबाट म्याङ्लुङ नाम रहेको मानिन्छ । बजार प्रवेश गर्नेबित्तिकै दुरुस्तै बिरालोको तर बाघको जत्रै मुर्ति रहेछ । एकबर्ष अघिसम्म यो मुर्ति थिएन । मुर्तिनजिकै एउटा पसलमा चिया पियौं ।

घाम वसन्तपुर डाँडापरि लुक्ने तयारी गर्दै थियो । हामी झन्नै ६० किमि पूर्वको संक्रान्ती डाँडा पुग्नु थियो । त्यसैले उहाँसँग छोटो मात्रै कुरा गर्यौं । युद्धकालमा ४ बर्ष यस जिल्लामा बसे पनि राती , त्यसमाथि नयाँ खनिएको बाटो भेउ पाउने कुरै भएन । भगवानजीले हामीसँग जान असमर्थ रहेको जानकारी गराउनु भयो । ७५ बर्षका नयाँ शक्ति बा उर्फ अमर कन्दङ्वा हामीसँग जान कास्सिनु भयो । बाको जिकिर थियो- मेरो घरै चुहानडाँडा हो । म लिएर जान्छु तपाईंहरूलाई । न हुन्छ भन्नु न हुन्न भन्नु ? के भन्नु भन्नु ?! बाको जोश र फुर्ती देखेर हाम्रो थकाइ कता भाग्यो कता ? ताजा भयौं हामी पनि ।

साँझ पर्न लागेको थियो । बालाई सँगै लिएर हामी हिड्यौं । ज्येष्ठ नागरिकहरू जिउँदा इतिहास हुन् । उनीहरूका अनुभव, ज्ञान, सीप नयाँ पुस्ताको लागि ठूलो सम्पत्ति हुन्छ । तर हाम्रो समाजमा ज्येष्ठ नागरिकलाई सम्मान गर्ने र उनीहरूबाट सिक्ने संस्कार छैन भन्दा पनि हुन्छ ।

बासँग बाटाभरि कुरा गर्दै गयौं । बा साँच्चै तेह्रथुम जिल्लाको कम्युनिस्ट आन्दोलनको जिउँदा साक्षी रहेछ । प्रधानमन्त्री केपी ओलीको बारेमा सबै जानेका । ओली बालसखा नै रहेछ बुढाको । बुढाले ओलीलाई अहिले पनि मुतेकान्छा भनेर सम्झँदा रहेछन् । प्रधानमन्त्रीलाई मुतेकान्छा किन भनेको ? जिज्ञासामा बाको ठट्यौली शैलीमा जवाफ थियो- त्यो (ओली) लाठे हुँदासम्म पनि ओछ्यान मुत्थ्यो नि त ! त्यसैले उसलाई बालखामा चिन्नेजान्नेहरूले अहिले पनि मुतेकान्छा भन्छ के । बाको कुरा सुनेर कत्ति हाँस्नु ? आन्द्रै चुडिएला जस्तो ।

अब यो मुतेकान्छा र प्रचण्डले गरिखाँदैन । यिनीहरू कम्युनिस्ट होइन, पुँजिवादी भैसके । यिनीहरू सब भ्रष्ट भए । उहिले ओलीको पार्टीमा बसेर पनि काम गरियो । माओवादी हुन सब डराएको बेलामा प्रचण्डको पार्टीमा माओवादी भएर पनि काम गरियो । सरकारमा गएपछि यिनीहरू सब बिग्रीयो । बाबुरामले बेलैमा पार्टी छाडेर नयाँ पार्टी बानाएर सारै राम्रो काम गर्यो । अब जे गर्छ यो देशमा बाबुरामले गर्छ । अरूले गर्दैन । लेखिराख्नु, म ठोकेर भन्छु अरूले केही गर्दैन ।

बाले गाडीभरि भाषण सुनाउनुभयो । अर्थात् ७५ बर्षको आफ्नो अनुभव सुनाएर हामीलाई धेरै गुण लाउनुभयो ।

चुनावमा प्रचण्डले चिन्ह नदिएर त हो नि नयाँ शक्ति हारेको । कत्रो डर रछ गाँठे प्रचण्डलाई बाबुरामको । चुनाव चिन्है पो दिएन त । बाले नयाँ शक्ति चुनावमा हार्नुको आफ्नो बुझाई पनि सुनाए । चुनाव चिन्ह नदिने खबर सुनेपछि म त बेसुराजस्तो भएछु । रात र दिन पनि उस्तै लाग्ने, आफ्नो र पराई पनि नचिन्ने । अहिले सम्झदा पनि कम्ता रिस उठ्दैन ? त्यस्लाई.... । बाले कटटट दाह्रा किटे ।

गफको सुरमा बाले पनि बाटोको भेउ पाउनुभएन । बाटो भुलिनसम्म भुलियो । म्याङ्लुङबाट हलिमेलासम्म ठिकै थियो बाटो । रात पनि परिसकेको थिएन । जसोतसो पोक्लावाङ्सम्म आइयो । त्यसपछि इसिबुबाट कोयाखोला झर्नु सारै गाह्रो भयो । झन्नै राति १०:३० बजे बल्लतल्ल संक्रान्ती बजार पुग्यौं । बजार हामीले सोचेभन्दा निक्कै चिसो रहेछ । केही बर्ष अघि आगो लागेर मध्य बजार खरानी भएपछि नयाँ ढङ्गले पुनर्निर्माण भएको रहेछ ।

विगतमा सँगै काम गरेको हाल नेकपामा कार्यरत तत्कालीन माओवादी कमरेड विश्वाससँग त्यति राति पनि भेट भयो । २१ जनाको सामूहिक हत्या भएको बगालेका शहीदहरूलाई भावबिह्वल भएर सम्झना गर्यौं । आफ्नो पार्टीको नेताहरूको ताल देख्दा शहीदहरूको रगत सित्तैमा खेर जान्छ कि भनेर साथीले चिन्ता ब्यक्त गरे । राति अबेरसम्म राजनीतिक र भावनात्मक कुरा गरेर बितायौं ।


क्रमशः