जनसम्वाद डायरी- ३

- १७ चैत २०७५

चौथो दिन

संक्रान्तिको सुन्दरता हुस्सुले छोपेको कारण हेर्न सम्भव भएन । युद्धकालमा पनि संक्रान्तिबाट नजिकै देखिने कन्चनजङ्गा र कुम्भकर्ण हिमालको सौर्न्दर्यपान गर्न जोखिम मोलेर त्यहाँ जाने गर्थें । आफैँमा एकदम सुन्दर संक्रान्ती बजारलाई यी हिमालको दृश्यले अझ सुन्दर बनाएको थियो । २१ जनाले जनयुद्धमा सहादत प्राप्त गरेको बगाले यहाँबाट नजिकै भएको कारण पनि मेरो लागि संक्रान्ती बजार बिशेष थियो ।

नयाँ शक्ति बालाई त्यहीँबाट बिदा गर्न चाहान्थ्यौं । तर बा मान्नु भएन । तेह्रथुमभरी मेरो जिम्मा हो, तमोर तारेर मात्र म तपाईंहरूसँग बिदा हुन्छु । बाले भूमिगत कम्युनिस्ट पार्टीको स्पृट निकाल्नु भयो । हामीले हुन्न भन्न सकेनौं । तात्तातो २-२ कप चिया खाएर हामी चुहानडाँडा हुँदै तमोरतिर झर्यौं । आठराई भनेपछि पूर्वकै चर्चित क्षेत्र । मदन भण्डारीदेखि केपि ओलीसम्म जन्मिहुर्की गरेको क्षेत्र । पूर्वकै सबभन्दा पुरानो शैक्षिक संस्था भएको क्षेत्र । शैक्षिक र राजनीतिक चेतनाले भरिएको क्षेत्र । बाटोको कारण जीवन धेरै सहज र सरल पनि भएछ । संक्रान्तिबाट तमोरसम्म कालोपत्रे गर्न लागेको कारण बाटो पनि सजिलो रहेछ ।

चुहानडाँडाहुँदै ओह्रालो झर्दै गर्दा पूर्वी नेपालको कम्युनिस्ट आन्दोलनको एक हस्ती भक्तराज कन्दङ्वालाई झल्झली सम्झिएँ । ७० नपुग्दै अल्पायुमै उहाँ भौतिक संसारबाट बिदा हुनुभएको थियो । थुप्रै नेता र विद्वानहरू जन्माएको आठराई चुहानडाँडालाई छाडेर हामी ९ बजे तेह्रथुम र पाँचथरको सीमाना तमोर पुल तर्यौं ।

पाँचथरको जोरसालमा जिल्ला संयोजक नरेश चाम्लिङ हाम्रो प्रतीक्षामा हुनुहुन्थ्यो । नयाँ शक्ति बाले हामीलाई जोरसालमा नरेशजीको जिम्मा लगाएपछि मात्र आफू तेह्रथुम फर्कनु भयो । नरेशजीलाई साथमा लिएर हामी गणेश चोकतिर लाग्यौं । जनयुद्धकालमा पैदलै हिँडेको डाँडाकाँडामा सललल बग्ने पिच बाटो हुँदै जोरपोखरी, गोपेटारको रमणीय दृश्यहरूको आस्वादन गर्दै १२ बजे गणेश चोक पुग्यौं ।

खाना खाँदै गर्दा नयाँ शक्ति पार्टीको तर्फबाट ताप्लेजुङ, मिक्वाखोला गापा ५ नम्बर वडाका बिजयी वडाध्यक्ष डन्डुप शेर्पा पनि आइपुग्नु भयो । अब हामी ५ जना भयौं ।

गणेश चोकदेखि च्याङ्थापुसम्म

गणेश चोक ताप्लेजुङ र मध्यपहाडी लोकमार्ग छुट्टिने विन्दु हो । यस विन्दुबाट चिवाभन्ज्याङ ५७ किमि र फुङ्लिङ ४१ किमिको दुरीमा छ । ५७ किमिमध्ये ९ किमि पूर्व थर्पु बजारसम्म पिच बाटो भएको जानकारी पायौं । त्यसभन्दा पूर्व ४८ किमि बाटो पुरै कच्ची र त्यसमा पनि पुरै अप्ठ्यारो रहेको स्थानीयहरूको भनाई थियो ।

हामीले स्थानीयहरू धेरैजनासँग चिवाभन्ज्याङ जान संभव छ छैन भनेर बुझ्यौं । ब्यक्तिपिच्छेको कुराले हामी अलमलमा पर्यौं । पार्टीका सथीहरूले जोडबल गर्दा च्याङ्थापुसम्म जान सकिने कुरा भनेका थिए । केही साथीहरूले च्यङ्थापुसम्म पनि जान संभव छैन, त्यसैले गणेश चोकमै कार्यक्रम उद्घाटन गर्नुपर्छ भन्ने मत काठमान्डौंमै राखेका थिए । हामी जसरी हुन्छ चिवाभन्ज्याङ पुग्न चाहन्थयौं । च्याङथापुभन्दा उता नरेशजी र डन्डुजीलाई पनि थाहा रहेनछ ।

च्याङ्थापुसम्म जसरी पनि जाने, त्यसभन्दा अगाडि त्यहीँ गएर योजना बनाउने सोंचसहित हामी अघि बढ्यौं । सुने र सोंचेजस्तो खासै अप्ठ्यारो रहेनछ बाटो । सजिलैसँग हामी ४ बजे च्याङ्थापु पुग्यौं । त्यहाँ फूटबल प्रतियोगिता चलिरहेको रहेछ । सबभन्दा पहिला त्यहाँको प्रहरी चौकीमा गएर रिपोर्ट बुझ्न चाह्यौं । म आफैँ चौकीमा गएँ । अचम्म ! चौकी त चकमन्न छ । संगैको वडा कार्यालयमा भोटेताला झुन्डिएको छ । फर्किएर फूटबल मैदानतिर लाग्यौं । चौकी र कार्यालय बन्द गरेर सबै फूटबल हेर्न गएका रहेछन् ।

हामीले पहिला चौकी प्रमुख असईलाई सोध्यौं । उनलाई त्यहाँबाट कति किमि छ र बाटोको अवस्था कस्तो छ ? खास केही थाहै रहेनछ । स्थानीयहरूलाई खासै थाहा रहेनछ । बल्लतल्ल तीनदिन अघि चिवाभन्ज्याङ पुगेर आएको एकजना मान्छे फेला पर्यो । उनले अढाईदेखि तीन घण्टा लाग्ने तर बाटो जम्मा २३ किमि मात्र भएको जानकारी दिए । भगवान नै भेटेजस्तो भयो हामीलाई । फोरव्हीलर गाडी सजिलै जानसक्ने कुरा बताएपछि हामी असाध्यै खुशी भयौं । तर अहिले जाँदा फर्कन गारो र सीमामा पनि अँध्यारोमा मात्र पुगिने भएकाले भोलि बिहान मात्रै जानू भनेर हामीलाई सल्लाह दिए ।

काठमान्डौंबाट हिँडेदेखि सधैं बासबस्ने ठाउँमा राति मात्र पुग्ने गरेका थियौं । तर आज चाहिँ बेलैमा बास्बस्ने तरखर गर्यौं । लोकल भालेको झोलसँग राम्रोसँग खानपान गरि बेलैमा सुत्यौं ।

अन्तिम विन्दू चिवाभन्ज्याङमा

बिहान ४ बजेनै उठ्यौं हामी । ४:३० बजे नेपाल र भारतको सीमाना मध्यपहाडी लोकमार्गको पूर्वको अन्तिम विन्दु चिवाभन्ज्याङ लाग्यौं । झन्नै १५ किमि गुडेपछि धर्तीमा उज्यालो खस्यो । वारिको डाँडाबाट चिवाभन्ज्याङ्को थाप्लोमा सूर्यले आफ्नो पहिलो किरण पोखेको दृश्य कम्ता मनोरम थिएन । मन मादक बन्दै गैरहेको थियो । नजिकै देखिएको चिवाभन्ज्याङ्को डाँडो एकाएक टाढा लाग्न थाल्यो । बाटो त हान्निएर ठाडै तलतिर पो झर्यो । सोधौं, कसलाई सोध्ने ? न बस्ती थियो न फोनको नेटवर्क ।

हुन त हामीसँग च्याङ्थापुका एकजना स्थानीय गंगा ढुङ्गेल पनि हुनुहुन्थ्यो । उहाँलाई पनि खासै थाहा रहेनछ । उहाँले सानैछँदा गाईगोठ राख्न यता आउने गरेको कुरा सुनाउनु भयो । यति नजिकै भएर पनि किन यता नआउनु भएको ? बर्षमा कतिपटक काठमाण्डौं जानुहुन्छ ? हामीले ढुङ्गेलजीसँग जिज्ञासा राख्यौं । जवाफ छोटो थियो- यता आउने कामनै पर्दैन । काठमाण्डौंमा काम परिरहन्छ । बर्षमा ४ चोटि त कम्तिमा काठमाण्डौं गइन्छ ।

उनको संक्षिप्त जवाफभित्र नेपालको लामो इतिहास लुकेको थियो । एकात्मक र केन्द्रीकृत राज्यसत्ताले भएभरको सबै अधिकार नारायणहिटी र सिंहदरबार केन्द्रीत गर्यो । सेवा सुविधा जति काठमाण्डौं केन्द्रित गर्यो । त्यसैले च्याङ्थापुका जनताले पनि कि काठमान्डौं चिने कि आफ्नै गाउँघर । देश त कुरै छाडौं
आफ्नै जिल्ला सदरमुकाम, आफ्नो वरिपरि रहेका बिभिन्न एतिहासिक महत्व बोकेका ठाउँहरू पनि जनताले चिनेनन वा चिन्न आवश्यक नै भएन । यो दोष गंगा ढुङ्गेलहरूको होइन, देशका शासकहरूको हो । शासकीय संरचनाको हो ।

झन्नै २ किमि जति अनकण्टार निर्जन ओह्रालो झर्यौं । खोल्सामा हल्का हिउँ पग्लन बाँकी रहेको भेट्यौं । बाटो निक्कै अप्ठेरो थियो । प्रशान्तजीलाई उहाँले थाहा नपाउने गरि चोरआँखाले हेरेँ । साथी त झन पुरै मूडमा पो देखेँ ।

मन ढुक्क भयो । युरोपतिर गाडी हिउँमा कसरी गुडाइन्छ प्रशान्तजीले व्याख्या गर्नुभयो । करिब ६ किमि जति गुडेपछि हामी चिवाभन्ज्याङ पुग्यौं । हल्काहल्का जमेको हिउँमा सूर्यको सुनौलो किरण हाम्रो आँखासम्म आएर ठोकिन्थे र हिउँतिरै फर्किन्थे । हाम्रो मनमा खुसी अटेन । हामी बिजयी भावमा एकछिन पोखिने गरि चिच्यायौं । अनकण्टार ठाउँमा शूनशान थियो वातावरण । अचम्म ! त्यति उचाइमा पनि केही थान कागहरूभने कावा खाइरहेका थिए ।

दसगजामा गाडी राखेर सिक्किमतिर आँखा लगायौं । नेपालतिर जस्तै अनकण्टार र निर्जन । बाटोको कतै छेकछन्द थिएन । यत्रो खर्च गरेर बनाएको हाम्रो बाटोको के अर्थ ? म मनमनै पिरोलिएँ । डाँडैडाँडा यसो हेर्दै हिन्दै थिएँ । उत्तरतिर सेन्ट्रीपोष्ट देखेँ । मन रोमान्चित भयो । साथीहरूलाई भन्दा पनि नभनी सेन्ट्रीपोष्ट भएतिर अगि बढेँ । बाटोमा जाँदाजाँदै एकजना भेडिगोठालाजस्तो जनजाति अनुहार परेको मान्छे देखेँ । परैबाट उसले गुडमोर्निङ सलाम सर भन्यो । मैले पनि त्यसै भनेँ । नजिकमा गएर हात मिलाएँ । मैले आफ्नो परिचय दिएँ । उसले पनि आफ्नो परिचय दियो । चिवाभन्ज्ग्याङ एसएसबी पोस्टका प्रमुख रहेछन् उनी ।

त्यतिबेलासम्म सबै साथीहरू पनि आइपुगिसकेका थिए । उनले हामीलाई आफ्नो पोस्टसम्म लगे । सिक्किम प्रहरीको चौकी पनि संगै रहेछ । चौकी प्रमुखसँग पनि चिनाए हामीलाई । उनले मनैदेखि न्यानो स्वागत गरे हामीलाई । जाडोमा आफ्नै क्वार्टरमा लगेर तात्तातो चिया खुवाए । सिक्किमकै रहेछन् उनी । सिक्किमको राजनीतिबारे हामीसँग खुलेरै आफ्नो धारणा राखे । प्रहरी चौकिमा पनि प्रहरी प्रमुखले तातो चिया र बिस्कुटले स्वागत गरे । निक्कै सहृदयी लाग्यो हामीलाई उनीहरूको व्यबहार । कतिपय प्रहरीको नातागोता पाँचथरतिर पनि रहेछ । रूप, रंग, भाषा, संस्कृति सबै एउटै । मात्र, सीमानाको कारण कोहि हामी भारतीय कोही नेपाली । सुगौली सन्धि अघिको ग्रेटर नेपालको तरङ्ग तरङ्गियो मनभित्र ।

सिक्किमतिरबाट एकाध बर्षमा यस सीमानाकासम्म मोटरबाटो आइपुग्ने जानकारी पनि उनीहरूले गराए । यथाशीघ्र मोटरबाटो जोड्नुपर्ने हाम्रो धारणा हामीले राख्यौं । हाम्रो जनसम्वाद यात्राको लक्ष्य, उद्देश्य पनि बतायौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आउने कुरा पनि राख्यौं । उनिहरू निक्कै खुशी भए । यो रिपोर्ट सम्बन्धित निकायमा पुर्याउने र सक्दो सहयोग गर्ने वचन पनि दिए । यहि वचन बोकेर हामी उनीहरूसँग छुट्टियौँ ।

चिवा भन्ज्याङ्गको अर्थ के होला ? अघिदेखि मनमा खसखस लागिरहेको थियो । ३१०० मिटर उचाईमा रहेको यस भञ्ज्याङ्लाई कसैले चिया, कसैले चिवा, कसैले चियो र कसैले चेवा भनेको सुनियो । सिक्किमेलीहरूले चेवा भन्दा रहेछन् । नेपाली भाषीहरुले चियो भन्दा रहेछन् । लिम्बू भाषीहरूले चिवा भन्दा रहेछन् । त्यस ठाउँमा नपुगेकाहरूले चिया पनि भन्दा रहेछन् । भञ्ज्याङ् एउटा, नाम चारवटा ।

फर्कदैँ गर्दा ढुङ्गेलजीसँग जिज्ञासा राख्यौं । उनले अंग्रेजहरू नेपाल पस्लान भनेर यहि भञ्ज्याङ्गमा बसेर हाम्रा पू्र्खाहरूले चियाएर हेर्ने गरेको कारण चियो भञ्ज्याङ् नाम रहेको कथा सुनाए । अनि लिम्बुहरूले चिवा किन भनेको नि ? हामीले सोध्यौं । लिम्बू गाउँमै बसे पनि उनले यसको जवाफ दिन सकेनन् । बरू उनले थपे- यता नआएकाहरूले चियो वा चिवालाई चिया भनेर अड्कल गरेर भनेका हुन् । चिया भए पो चिया भञ्ज्याङ् हुनु ? चियानै छैन, अनि कसरी चिया भञ्ज्याङ् हुन्छ त ? यस भञ्ज्याङ्लाई कुन नामले चिन्ने ? हामी आफैँ अलमलमा पर्यौं ।

ढुङ्गेलजीसँग च्याङ्गथापु शब्दको अर्थ पनि खोज्यौं । उनले च्याङ शब्द लिम्बू भाषाको शब्द र यसको अर्थ च्याब्रुङको छोटो रुप हो भने । लिम्बू भाषामा फाक्तु भनेको ल्याउँनु हन्ने अर्थ हुन्छ भने । लिम्बू भाषामा च्याङफाक्तुको अर्थ च्याब्रुङ्ग लिएर आउ भन्ने हुन्छ । लिम्बु भाषाको यहि च्याङफाक्तु शब्द पछि गएर अपभ्रंश भई च्याङ्गथापु भएको हो । च्याङ्गथापु लिम्बू जातिको एतिहासिक थलो हो । अहिले पनि लिम्बुहरू च्याब्रुङ लिएर यस ठाउँमा जम्मा भएर आफ्नो पर्व मनाउने गर्छन् । ढुङ्गेलजीको तर्कसँग सहमत भयौं हामी ।

मिसन सफल भएकोमा खुसी थियौं हामी । ३ घण्टा लगाएर बिहान गएको बाटो झन्नै आधा समय डेढघण्टामै फर्किएर च्याङथापु आइपुग्यौं । कार्यक्रमको उद्घाटन गणेश चोक वा च्याङ्थापुमा नभएर चिवा भन्ज्याङमा नै गएर गर्ने निश्कर्षमा पुग्यौं हामी । माघ १४ गते बेलुकानै यहाँ आएर बस्ने र आज बिहानकै जस्तो माघ १५ गते बिहान पनि ४:३० बजेनै उठेर जाने अनि ९ बजे कार्यक्रम उद्घाटन गर्ने सुझाव दिने भयौं ।

मनभरी उत्साह बोकेर रेकीको काम सफलतापूर्वक सम्पन्न गरि प्रशान्त सिंह, भीम पराजुली र म काठमाण्डौं फर्कियौं ।

क्रमशः

यो पनि-

जनसम्वाद डायरी- १

 

जनसम्वाद डायरी- २