जनसम्वाद डायरी - ४

- २० चैत २०७५

प्रस्थान

२०७५ माघ १३ गते काठमाण्डौंबाट प्रस्थान गर्यौं । त्यस दिनको मुकाम झापाको दमक थियो । दमकका स्थानीय साथीहरू भेषराज भट्टराई, राजु खड्का, दिनेश दंगाललगायतले खानपान र बासको ब्यबस्था गरेका थिए । पुग्दा साँझ पर्यो । सबै टोलिलाई राजु खड्काको घरमा खानाको प्रवन्ध रहेछ । थरीथरीका खानाको परिकार, जिब्रोमा झुन्डिने स्वाद, सफा र स्वस्थ भोजन । कूल मिलाएर झन्नै १०० को संख्या थियो होला । आर्थिक भार सबै साथीहरूले नै ब्यहोरेका थिए । हामी सबै पाहुना भयौं । कोहि कसैको केही गुनासो सुनिएन । साँच्चै, राम्रो थियो ब्यबस्थापन ।

१४ गतेको मुकाम पाँचथरको च्याङ्थापु थियो । बिहान ७ बजे नहिँडे नपुगिने । त्यसैले १४ गते बिहान ७ बजे सबै त्यहाँबाट हिँड्यौं ।

कन्यामको सुन्दरता

कन्यामको चियाबारी सुन्दर मात्रै होइन, सौर्न्दर्यको रानी नै हो । आँखालाई मात्रै होइन, मनलाई नै मोहनी लगाउँछ । लठ्ठै मात्रै होइन, पागलनै बनाउँछ । जतिपटक गए पनि उत्तिकै सुन्दर र आकर्षक । षोडशी कन्याजस्ती । त्यही भएर आन्तरिक र बाह्य पर्यटकको हब बन्दैछ, ईलामको कन्याम ।

कन्यामको सौर्न्दर्यलाई आँखाभरी पिउँदै, मादक मन लिएर हतारिदै गन्तब्यतिर हुइकियौं । कन्यामसँग लठ्ठिएर पिरती गाँस्ने समय थिएन हामीसँग ।

२ नबज्दै पाँचथरको गणेश चोक पुग्यौं । यहि चोकबाट छुट्टिन्छ मध्यपहाडी लोकमार्ग । यहाँबाट दुरिको हिसाबले ३४ किमि छ च्याङ्थापु । थर्पुसम्म ९ किमि अझै पिचरोड नै छ । अस्ति रेकि गर्दा सबै कण्ठै भएको छ, बाटो । कहाँ पिच, कहाँ कच्ची, कहाँ हिलो, कहाँ अप्ठेरो, कहाँ घुम्ती, कहाँ उकालो, कहाँ ओह्रालो । साँच्चै कण्ठै छ, प्रशान्त, भिम र मलाई ।

ताप्लेजुङका सबिन बानियाँलगायत एउटा टोलि हिजोदेखि यतै छन् । उमेर खासै खाएको नभए पनि उनी यस क्षेत्रका स्थापित र पुराना नेता हुन् । हिजो जनयुद्धकालदेखिका । उनले बिहानैदेखि हामीलाई बारम्बार फोन सम्पर्क गरिरहेका थिए । फोनबाट सबिनले योजना सुनाइरहेका थिए- "याङ्वरक गाउँपालिकाको कार्यालय थर्पुमा छ । त्यहाँ गाउँपालिका प्रमुख, उपप्रमुखलगायत स्थानीय जनताले टोलिलाई स्वागत गर्ने कार्यक्रम छ । चाँडै आउनुहोला । नत्र च्याङ्थापु पुग्न रात पर्छ ।"

याङ्वरकमा अनपेक्षित स्वागत

गणेश चोकमा अल्मल नगरी हामी थर्पुतिर हान्नियौं । थर्पु सानो बजार । खासै मान्छेको भिडभाड नहुने ठाउँ । बजारको शुरूदेखि अन्त्यसम्म मान्छेनै मान्छेको भिड । लिम्बुहरूको पवित्र बाजा च्याब्रुङ्को रन्कोसँगै फूलमाला, खादाकोको ओइरो । स्वागतमा उभिएका सबैको अनुहारमा खुशिको मुस्कान । बाबुराम भट्टराई बहालवाला प्रधानमन्त्री हुन् कि पूर्वप्रधानमन्त्री ? छुट्ट्याउनै गारो भो ।

गाउँपालिका प्रमुखले हाम्रो टोलिलाई पालिका कार्यालय लग्नुभयो । कार्यालयको बरन्डामा माइक घन्किरहेको थियो । स्वागतमा उभिएका जनता पालिका कार्यालय वरिपरि झुम्मिए । सम्बोधन गर्ने कार्यक्रम थिएन त्यहाँ । पालिकाले हाम्रो लागि खाजाको ब्यबस्था पनि गरेको रहेछ । कावेलीको तीते माछा र चिउरा ख्वाए हामीलाई । पहिलोपटक खानेको लागि तीते माछा त्यति मीठो हुँदैन । बानी परेर होला मलाईभने असाध्यै मीठो लाग्छ । मसँगै बस्नुभएको प्रशन्तले त्यति मीठो मान्नु भएन । मलाई थाहा भएसम्म यो माछा अरुण नदीभन्दा पूर्व मात्रै पाइन्छ । तीते माछाको राम्रो ब्राण्डिङ गर्न सकियो भने आम्दानीको एउटा राम्रो श्रोत हुनसक्छ ।

गाउँपालिका प्रमुख लेखनाथ घिमिरेले गाउँपालिकाको समस्या र संभावनाको बारेमा संक्षिप्तमा जानकारी गराउनु भयो । "लिम्बुको वर्चस्व भएको ठाउँमा बाहुन गापा प्रमुख ?" एकछिन हाँसो पनि भयो । वास्तवमा यो हास्नुपर्ने कुरामात्रै थिएन । कुरा गम्भीर र अर्थपूर्ण थियो । प्रदेशको नामाङ्कनमा आज पनि असाध्यै किचलो छ । नेताहरू एकदमै अनुदार र संकीर्ण देखिएका छन् । एतिहासिक थातथलो, भाषा, संस्कृति र पहिचानको आधारमा नामाङ्कन गर्नुलाई जातिवाद देख्ने आँखाहरूले यहि याङ्गवरकलाई हेरे पनि बिषय प्रष्ट हुन्थ्योहोला । आखिर गापाको नाम लिम्बू भाषामा हुँदैमा गापा प्रमुख लिम्बु नै हुन्छन् भन्ने त हैन रहेछ नि ! पहिचानलाई राज्यले मान्नुको अर्थ समुदायहरुको आत्मसम्मान बढाउनु, प्रतिनिधित्व र सहभागितालाई सुनिश्चित गराउनु बाहेक अरु हुँदैहोइन । यति गर्न राज्य किन राजी नभएको ?

भोलि हामीले कार्यक्रम उद्घाटन गर्ने चिवाभन्ज्याङ यहि गाउँपालिकाको १ नम्बर वडा पर्दोरहेछ । लिम्बुहरूको वर्चस्व रहेको लिम्बू संस्कृतिको धनी यस गापाको नामनै लिम्बू भाषामा रहेछ- याङ्वरक । बाबुराम भट्टराईले याङ्वरकको अर्थ बुझ्नखोज्नु भयो । उपप्रमुख लिम्बू हुनुहुन्थ्यो । उहाँले लिम्बू भाषामा याङ्को अर्थ पैसा र वरकको अर्थ पानी अर्थात् पैसा पोखरी भएको जानकारी गराउनु भयो ।

गापाको नामनै पैसापोखरी, गाउँपालिकालाई कहिल्यै पैसाको दु:ख नहुनेरहेछ । एकछिन ठट्टा पनि चल्यो । यस लोकमार्गलाई नियमित र ब्यवस्थित गर्न सकियो, साथै सिक्किमले पनि बाटो चाँडै खोलिदियो भने साँच्चै यो गापामा पैसाको दु:ख हुँदैन । यस लोकमार्ग यस गापामा मात्रै ६५ किमि रहेकोछ । यति लामो दूरी एउटै गापामा भएको सायद यो गापा मात्रै होला । सहभागी एकजना कसैले तर्क राखे । सबैले सहमतिमा टाउको हल्लाए । सबको आशाले भरिएको नजर बाबुरामतिर मोडियो । बाबुराम गम्भीर बन्नुभयो ।

खाजा खाइसकेपछि गन्तव्यतिर जाने कुरा थियो । तर गापा वरिपरि बाबुरामको कुरा सुन्न बसेका जनताले हामीलाई निस्कन दिएनन् । गापा रहेको घरको बरण्डाबाटै बाबुराम भट्टराईले जनतालाई सम्बोधन गर्नुभयो । त्यसपछि पैसापोखरी र मौलो हेर्नजानै पर्ने स्थानीयहरूको माँग अनुसार हामी झन्नै ५०० मि बाटो माथि रहेको मौलो र पैसापोखरी हेर्न गयौं । त्यस क्षेत्रका सबै जनताका आस्था बोकेको मौलो र पैसापोखरी खासै ब्यवस्थित भने रहेनछ ।

साँझ परिसकेको थियो । च्याङ्थापु पुग्ने अप्ठ्यारो बाटो पुरै बाँकी थियो । त्यसैले हातारिएर बिदा भयौं हामी ।

मुकाम च्याङ्थापु

२५ किमि अप्ठेरो जोखिमपूर्ण बाटो पार गरेर च्याङ्थापु पुग्दा साँझ निक्कै छिप्पिसकेको थियो । केही दिन अघि लगातार परेको पानीले वातावरण निक्कै चिसिएको थियो । मुटु छेड्ने चिसो सिरेटो च्याङ्थापुभरी बगिरहेको थियो । सिरेटोको वास्ता नगरी स्थानीय जनसमुदाय बिहे घरमा जसरी भेडाको मासु र भात पकाएर जन्ती पर्खिएझैं हाम्रो टोलीलाई पर्खिबसेका रहेछन् । न पार्टी संगठन, न पैसा खर्च फेरि पनि त्यस्तो भव्य ब्यवस्थापन । अचम्मै लाग्यो जनताको आकर्षण र बिश्वास देखेर । जनताको यस आकर्षण र विश्वासलाई भोटमा कसरी बदल्न सकिएला ? मेरो मनमाभने एकोहोरो यो प्रश्नले चिसो सिरेटोले भन्दा बढी चिमोटिरह्यो ।

बाटोमा हिउँ जमेको कारण चिवाभन्ज्याङ पुग्न संभव छैन भन्ने धेरैको रिपोर्ट थियो । सबिन र गापा प्रमुखको अनुसार स्काभेटर लगाएर हिउँ पन्साउन लगाइराखिएको छ । सायद रातभरमा बाटो क्लिएर हुन्छ । तर, भरपर्दो रिपोर्ट राति ११ बजेसम्म पनि प्राप्त हुनसकेन ।

सबिन र स्थानीय साथीहरू र प्रशान्त, भिम, विश्वदीपलगायत हामी बिहान ४:३० मा अगाडि जाने र अरु ५ बजे आउने सल्लाह गरेर राति सुत्यौं ।

चिवाभन्ज्याङ्तर्फ

हाम्रो गाडी निर्जन क्षेत्रमा पुगेपछि उज्यालो भयो । याक्लिङ्को डाँडासम्म कुनै समस्या भएन । तर हल्का हिउँभने बाटोभरी जमेको थियो । जब ओरालो झरेर घाम नलाग्ने खोल्साखोल्सी हुँदै बाटो अघि बढ्यो, तब हिउँले भरिएको सडक मात्रै देखिन थाल्यो । रेकीमा हेरेको बाटोभन्दा बिल्कुल नयाँ देखिएको थियो बाटो । झन अघि बढ्यो झन हिउँ थुपृएको बाटो थियो ।

एउटा खोल्सो कटेर साँघुरो मोडबाट उकालो चढ्नुपर्ने अप्ठेरो बाटो थियो । भएभरको जुक्तिबुद्दी लगाउँदा पनि गाडी चढेन । यस्तरी स्लीप भयो कि गाडी झन्नै भीरमुनी खस्यो । त्यसपछि म आत्तिएँ । फर्कौं भने प्रशान्तलाई । तर प्रशान्तले मान्नु भएन । हामीलाई गाडी ठेल्नु भने, अन्तिम पटक प्रयत्न गरौं भने । हामी गाडी ठेल्न लाग्यौं । गाडी छेउ र भित्ता नाच्दै अप्ठेरो मोड पार गर्यो । प्रशान्तको विश्वास थियो, अब हामी चिवभन्ज्याङ पुग्छौं र फोरव्हीलर अरू गाडीहरू पनि पुग्छ । तर टुव्हीलर गाडी यहाँबाट अघि आउन संभव छैन ।

प्रदेश संयोजक प्रभुरामजीको गाडी त याक्लिङ्को डाँडोसम्म पनि आउन सकेनछ । अरु गाडीहरू पनि त्यही अप्ठेरो मोडसम्म आएर रोकिएछ । संयोजक भट्टराईको गाडी पनि मोडबाट अघि बढन सकेनछ । हामी चिवा नपुग्दै दसगजामा एसएसबी चिवाका प्रमुख भुटियाजीसँग भेट भयो । उहाँहरू डा. भट्टराईको प्रतीक्षामा रहेछन् । डा. भट्टराई आउँदै हुनुहुन्छ भनेपछी उनीहरू पनि फर्किए ।

संयोजकको गाडी आउन नसक्ने समाचार सुनेपछि हामीले तुरून्त सोच्यौं र समाधान निकाल्यौं । अरू नआए पनि हुन्छ, तर संयोजकलाई जसरी पनि ल्याउनु पर्छ । प्रशान्तजीले तुरून्त गाडी मोड्नु भयो र संयोजक भट्टराईलाई लिन जानुभयो । मभने डाँडैमा बसें । २० मिनेटमा संयोजकलाई लिएर प्रशान्तजी आइपुग्नु भयो । हामी सबैमा खुशीको उमंग छायो । झन्नै ५ किमिको उकालो त्यसमा पनि हिउँले ढाकिएको उकालो बाटो हिँडेर दुर्गा सोब, कमला गुरुङलागायत दर्जनौं साथीहरू चिवामा आइपुग्नु भयो ।

हामी रेकी गर्न जाँदाजस्तो हल्का हिउँ थिएन । चिवाको डाँडो पुरै हिउँको तन्नाले ढाकिएको थियो । कार्यक्रमतिर भन्दा धेरै साथीहरूको मन सेताम्य हिउँसँग लडिबुडी गर्ने, मनमौजी भएर फोटो खिच्नेतिर तानिएको देखिन्थ्यो । साथीहरू रमाइरहेको प्रष्ट अनुभूत गर्न सकिन्थ्यो ।

संयोजकले केही समय साथीहरूलाई पर्खौं भन्ने सुझाव राख्नुभयो । त्यो समय भारततिरका सुरक्षा फौजसँग भेट्न उपयोग गरौं भन्ने भयो । किनकि, उनीहरूले बोलाएकै थियो । जाँदाजाँदै उनीहरूले सम्मान सलामी अर्पण गर्ने प्रस्ताव राखे । आफ्नो सरकारसँग अनुमती लिएको जानकारी पनि गराए । पूर्वप्रधानमन्त्रीको हैसियतमा डा. भट्टराईलाई सुरक्षा फौजले समान सलामी दिए । डा. भट्टराईले सिक्किमका मुख्यमन्त्री पवन चाम्लिङसँग फोन सम्पर्क गर्न धेरै प्रयत्न गर्नुभयो । तर फोनको नेटवर्कको कारण फोन सम्पर्क हुनसकेन ।

हिउँमाथि कार्यक्रम उद्घाटन

 

ठिक ९:३० बजे हामीले कार्यक्रम उद्घाटन गर्यौं । डम्बर खतिवडा हेडक्वार्टर सदस्य र १ नम्बर प्रदेशको पनि हुनुभएकोले कार्यक्रम सन्चालन उहाँले गर्दा राम्रो हुन्छ भनेर बेलुका मैलेनै प्रस्ताव गरेको थिएँ । तर उहाँ प्रभुजीको गाडीमा भएको कारण कार्यक्रम स्थल आउँन सक्नुभएन । संयोजक डा.भट्टराईले मलाई कार्यक्रम सन्चालन गर्ने भन्नुभयो । मैले कार्यक्रम सन्चालन गरेँ । नवराज सुवेदीजीले कार्यक्रमको सभापतित्व गर्नुभयो ।

पार्टी सचिवालय सदस्य दुर्गा सोब, गाउँपालिका प्रमुखले सम्बोधन गर्नुभयो । पालिका प्रमुख लेखनाथजीले हिजोदेखिनै मन खोलेर हाम्रो अभियानलाई सहयोग गरिरहनु भएको थियो । आजको मन्तब्य पनि मन फुकाएर राख्नुभयो । आस्थाको हिसाबले उहाँ नेकपाको हुनुहुन्थ्यो । तर उहाँले पार्टीको संकीर्ण घेराभन्दा माथि उठेर उच्च राजनीतिक संस्कार देखाइरहनु भएको थियो ।

मुख्यवक्ता डा. भट्टराईले जनसंवाद कार्यक्रमको उद्देश्य र औचित्यको बारेमा विस्तृतमा प्रकाश पार्नुभयो । आज उद्घाटन भएको कार्यक्रम ठिक एकमहिनापछि वैतडीको झुलाघाटमा पुगेर समापन हुने कुरा जानकारी गराउनु भयो । भारत सरकारलाई संभव भएसम्म यसै बर्ष नभए पनि अर्को बर्षसम्म बाटो जोड्नको लागि विषेश अनुरोध पनि गर्नुभयो ।

उद्घाटनमा गणेश गुरुङ, राजन बमगायतका कलाकार साथीहरूले गीत, सङ्गीतबाट सहभागीहरूलाई यथोचित सम्बोधन गर्नुभयो ।

मानवबस्तिरहित निर्जन ठाउँमा भए पनि भारतले सीमासुरक्षा बल राखेर सीमा ब्यवस्थित गर्न खोजेको देखियो । उनीहरूको भनाइ अनुसार प्रत्येक ५ किमिमा सीमासुरक्षा बल राखिएको छ । तर नेपालतिर अहिलेसम्म केही गरेको देखिएनँ । चौरीगोठ राख्ने गोठालोभन्दा अरू मान्छे आवतजावत पनि नगर्ने रहेछ । सबभन्दा बढी सीमा किचलो भारतसँग छ । तर अहिलेसम्म खासखास नाकामासम्म हाम्रो सीमासुरक्षा बल राख्न सकेका छैनौं । संवेदनशील नाकाहरूमा सीमासुरक्षा बल राख्न सरकारले तुरून्त पहल गरोस् ।

च्याङ्थापुमा रहेको हाईस्कूलमा डा. भट्टराईले संक्षिप्त सम्बोधन गरेपछि खाना खायौं । खानापछि पूर्वका स्थापित नेता तथा पूर्वमन्त्री पर्शु्राम खापुङ्ग र डा.भट्टराईले च्याङ्थापुबासी जनसमुदायलाई सम्बोधन गर्नुभयो । स्थानीयहरूको माँग थियो- सिक्किम, बंगाल र नेपालको सीमाना फालोट च्याङ्थापुबाट जम्मा १७ किमि पर्छ । यो बाटो खुलाउने होभने सिक्किम, बंगाल र नेपाल तीनवटैले धेरै लाभ लिन सक्छ । चिवा नाका खासमा पर्यटकीय महत्वको छभने फालोट नाका पर्यटकीय र ब्यापारिक दुबै महत्वको छ । तसर्थ, फालोट नाका पनि सरकारले तुरून्त खोलोस ।

कार्यक्रम चलिरहेकै बेला गणेश चोकमा जनताले पर्खिरहेको सूचना आइरहेको थियो । तसर्थ हामी दायाँबायाँ नहेरी गणेश चोकतिर हान्नियौं ।

गणेश चोकमा स्थानीय जनसमुदायको बाक्लो उपस्थितिको माझ डा. भट्टराईले सम्बोधन गर्नुभयो ।

फिदिमको सडक कन्सर्ट

ताप्लेजुङका साथीहरू सबिनलागायतलाई त्यहीँबाट बिदाई गर्दै हामी आजको मुकाम फिदिमतिर अघि बढ्यौं । पाँचथरका संयोजक नरेश चाम्लिङ ढिलो भयो भनेर हामीलाई फोनबाटै अत्याई रहनु भएको थियो । हामी साँझ पर्नु अघिनै फिदिम आइपुग्यौं । फिदिमको मध्ये बजारमा माइक घन्काएर चाम्लिङजी बस्नुभएको रहेछ । डा. भट्टराईको आगमनसँगै फिदिमे जनता सडकमै कुडुँलो परे ।

कार्यक्रम सडक कन्सर्टमा फेरियो । हाम्रा कलाकार साथीहरूसंगै सहभागी सबै मन फुकाएर गाए, नाचे । डा.भट्टराईलगायत सबै नेताहरूको कुरा धित मरून्जेल सुने । साँच्चै, अविस्मरणीय भयो, फिदिमको सडक कार्यक्रम ।

आजको हाम्रो मुकाम यहीँ थियो । स्थानीय साथीहरूको निर्देश अनुसार साँझमा हामी आ-आफ्नो बासस्थानतिर लाग्यौं । जनसम्वादको पहिलो दिननै जनताको अनपेक्षित आकर्षण देखेर हामी निकै उत्साहित भयौं । जनताले विकल्प खोजेको गहिरो अनुभूत हामी सबैलाई ।

क्रमशः

यो पनि-

जनसम्वाद डायरी- १

 

जनसम्वाद डायरी- २

जनसम्वाद डायरी- ३