जनसम्वाद डायरी- ५

- २४ चैत २०७५

दोस्रो दिन

चुवानडाँडाको चर्चा

 धनकुटा फोहर प्रशोधन केन्द्रको बगैंचा

 

दोस्रो दिनको पहिलो कार्यक्रम १६ गते बिहान ८:३० बजे तेह्रथुमको चुवानडाँडा क्याम्पसमा थियो । फिदिमबाट त्यहाँ पुग्न बढीमा १ घण्टा लाग्थ्यो । फिदिमबाट तमोर नदी १३ किमि र तमोरबाट चुवानडाँडा १६ किमि । जम्मा २९ किमि । युद्धकालमा पैदल हिँड्दा दिनभरिनै लाग्थ्यो । जोरसालको अहिलेको मोटरबाटो कहाँ हिँड्न सकिन्थ्यो र ? पाँचथरको भारोपाहुँदै तमोरको लिम्बुनी पूल तरेर छातेढुङ्गाहुँदै चुवानडाँडा आउँनुपर्थ्यो । युद्धकालमा सयौंचोटि तरेंहुँला तमोर । तर मोटरमा दोश्रोचोटि तर्दै थिएँ । रेकीमा आएकोबेला पहिलोचोटि अहिले दोस्रो चोटि ।

८ नबज्दै पुग्यौं हामी चुवानडाँडा क्याम्पस । क्याम्पसको प्राङ्गणमा छानिएका त्यसक्षेत्रका अगुवा गन्यमान्यहरूको बाक्लो उपस्तिथि ।

डम्बरजीले कार्यक्रमको औचित्य र महत्वको बारेमा संक्षेपमा प्रकाश पारेपछि पर्शुराम खापुङ्ले आफ्नो गृह जिल्ला भएको कारण थोरै कुरा राख्नुभयो । क्याम्पस प्रमुख हिक्मतबहादुर रायलगायतका सहभागीहरूले महत्वपूर्ण राजनीतिक, आर्थिक र बिकास निर्माणसम्बन्धि प्रश्नहरू निक्कै शिष्ट तर असाध्यै पेचिलो रूपमा राख्नुभयो । वडाध्यक्ष तेजबहादुर कन्दङ्वाले चुवानडाँडा बिमानस्थल निर्माणको बारेमा जोड दिएर आफ्नो कुरा सुनाउनु भयो ।

दुर्भाग्य, काठमाण्डौं गएर सम्बन्धित ठाउँमा त्यो कुरा सुनाउन नपाउँदै बैतडीको गोठालापानीमा कार्यक्रम समापन गर्न लाग्दा पर्यटनमन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको खबर सुन्न पर्यो । रवीन्द्रजी यहि चुवानडाँडा विमानस्थलको सम्भाब्यता अध्ययनको लागि आएर ताप्लेजुङको पाथीभराको दर्शन गरेर फर्कदैँ गर्दा दुर्घटनामा पर्नुभएको रहेछ । रवीन्द्र नेकपाका नेता र मन्त्री त थिदैथिए, त्योभन्दा बढी मेरा एकजना असल मित्र थिए । असल मित्रलाई अल्पायुमै गुमाउन पर्दा कार्यक्रमको रौनक बीचमा गोठलापानीमा एक्लोजस्तो महशुस गरेँ ।

आठराई क्षेत्रमा पर्छ चुवानडाँडा । आठराई भनेपछि राजनीतिक र शैक्षिक दुबै हिसाबले अगुवा मानिन्छ । युद्धकालमा पनि यस क्षेत्रमा आइरहन्थेँ म । केपी ओलीको गृह जिल्ला भए पनि उनको नाम खासै सुन्न पाइन्नथ्यो त्यसबेला । मदन भण्डारी, सीपी मैनालीको नामभने धेरै मान्छेहरूले लिन्थे । राजनीतिमा त्यति आगाडि नभए पनि यहाँका थपलियाहरू पनि निक्कै चर्चित थिए । युद्धकालमा बालिका थपलिया नाम गरेकी एउटी किशोरी थिइन । उनी धाराप्रवाह कविता लेख्थिन । धेरै बर्ष भयो उनीसँग भेट नभएको । आजकाल के गर्छिन कुन्नी थाहा भएन ।

क्याम्पसको प्राङ्गणमा कार्यक्रम निकै जम्यो । चुवानडाँडाले आफ्नो वौद्धिकता राम्रोसँग देखायो । संयोजक भट्टराईले पनि दमदार प्रस्तुति गर्नुभयो ।

कार्यक्रम सकेर हामी आजको दोश्रो कार्यक्रमस्थल संक्रान्ती लाग्यौं ।

संक्रान्तिको पानी समस्या

चमेरे गुफा

 

संक्रान्ती निकै पुरानो बजार हो तेह्रथुमको । कन्चनजंघा र कुम्भकर्ण हिमाल नजिकै दिखिन्छ संक्रान्तिबाट । केही दिन अघि रेकीमा आएकोबेला हिमालको सुन्दर दृश्य कुहिरोले छोपेको थियो । तर यसपालिभने छ्याङ्ग खुलेको रहेछ । समयको चापले गर्दा हिमालको मनोहारी दृश्य धितमरून्जेल हेर्न त पाइएन । तैपनि तलदेखि माथिसम्म एकफन्का घुमेर हिमाल हेर्न पनि छाडिएन ।

संक्रान्ती उद्योग बाणिज्य संघको हलमा खचाखच सहभागीहरूबीच कार्यक्रम शुरू भयो । संघका सभापति प्रेमप्रसाद पौडेलले हामी सबैलाई झस्काउने कुरा राख्नुभयो । उहाँको भनाई अनुसार २०१८ सालमा तेह्रथुमको जनसंख्या झन्नै ४ लाख थियो, अहिले १ लाख पनि छैन । बसाइँ हिँड्नेको ताँती अहिलेसम्म पनि रोकिएको छैन । उहाँको भनाई ठ्याक्कै तथ्यांकमा आधारित हो होइन ? थाहा भएन । तर, पहाडमा बस्ती रित्तिदै गएको कुरा चाहिँ सोह्रैआना सत्य हो । ५९-६० सालमा जति जनघनत्व थियो, त्योभन्दा अहिले धेरै पातलिएको रहेछ ।

गाउँपालिका अध्यक्ष विष्णु बिक्रम लिम्बुले यस भेगको सदीयौंदेखिको समस्या पानी भएको कुरा राख्नुभयो । तमोरको किनारदेखि खाम्लालुङ्सम्मको ठूलो एरिया सुख्खाग्रस्त एरिया हो । प्राकृतिक वनोटको कारणले होला, खाम्लालुङ एरियामाभने १२ महिनामा झन्नै ७ महिना दिनमा एकपटक पानी परेकै हुन्छ । तर त्यो पानी सबै कोयाखोला हुँदै तमोरमा मिसिन पुग्छ । संक्रान्तिको समस्यालाई सहयोग पुग्दैन । अध्यक्षको भनाई थियो, खाम्लालुङ्को पानी जम्मा गरेर उपयोग गर्न सक्ने होभने संक्रान्तिको पानीको समस्या धेरैहदसम्म समाधान हुन्थ्यो । स्थानीय तहले मात्रै यो काम गर्न गाह्रो छ, प्रदेश र संघको पनि सहयोग चाहिन्छ ।

२०५८ माघ १४ गते हाङ बहादुर राई, गब्बरसिं आङ्देम्बे, पदम तिम्सिना, प्रेम उप्रेतीलगायत २१ जनाले सामूहिक रूपमा सहादत प्राप्त गरेको बगाले पनि यहाँबाट नजिकै छ । २०६४ मा अर्थमन्त्री भएकोबेला डा. भट्टराईले शहीदहरूको सम्मान र सम्झनामा स्मृति पार्क बनाउन पहिलोपटक रकम विनियोजन भएको रहेछ । तर, हालसम्म पनि यो प्रोजेक्ट अलपत्रको अवस्थामा रहेछ । सहिद परिवारका सदस्यहरूले आफ्ना पीडा, वेदना र यस प्रोजेक्टको पूर्णताको बारेमा डा. भट्टराईको ध्यानाकर्षण गराए ।

सहभागीहरूको सुझाव, गुनासा, अपेक्षा सबै कुरालाई पोको पारेर सकेको सहयोग गर्ने वाचा गर्दै हामी पोक्लावाङ औसि बजारको कार्यक्रमतिर हिँड्यौं । हिँडदै गर्दा २०६० सालमा यहीं संक्रान्ती नजिकै बास बसेको घरमा असावधानिवश कुकर बम विस्फोट हुँदा पुरै घर ध्वस्त भएको र १३ बर्षकी एकजना किशोरीको ज्यान गएको असाध्यै पीडादायी घटना स्मरण गर्न पुगेँ । त्यो घटना सम्हाल्न कति मेहनत गर्नुपरेको थियो । अहिले सम्झँदा पनि शरीरभरी काँडा उमृएर आउँछ ।

युद्ध कति निर्मम हुन्छ ? सानातिना असावधानीले कत्राकत्रा विपत्तिहरू लिएर आउँछ । भोगेकाहरूलाई मात्र थाहा हुन्छ यस्तो कुरा । आजकाल कतिपय मान्छेहरू गणतन्त्र ख्यालख्यालमा आएजस्तो सोच्छन । ज्ञानेन्द्रले सत्ता खुरूक्क त्यत्तिकै छाडिदिएजस्तो सम्झन्छन । गणतन्त्र, संघीयता, धर्मनिरपेक्षताका लागि कतिधेरै त्याग, तपस्या, बलिदान गर्नुपरेको थियो भन्ने कुरा बिर्सन्छ्न ।

पोक्लावाङ मोडेल

पोक्लावाङ स्कुलको प्राङ्गणमा सयौं स्थानीयबासी हाम्रो प्रतीक्षामा बसिरहेका थिए । २०५८ सालमा प्रहरी चौकी कब्जा गरेर केही थान राइफल जनमुक्ति सेनाले कब्जा गरेको घटना पनि स्मृतिमा ताजा भएर आयो ।

यस कार्यक्रममा नेताहरू बस्ने अलग्गै मन्च त कुरै छाडौं, अलग्गै कुर्सी पनि राखिएको थिएन । गोलाकारमा सबै नेता, जनता एकै ठाउँमा बस्ने गरि खुला चौरमा कुर्सीहरू राखिएको थियो । नेताजनता एकै ठाउँमा बसेर कार्यक्रम गर्दा अलग्गै भावनात्मक निकटताको अनुभव हुँदोरहेछ । जनताले नेताहरूलाई साँच्चै आफ्नै ठानेर मनका कुरा खोल्दा रहेछन् । पछि जनसम्वाद यात्राभरी यो नै हाम्रो कार्यक्रमको मोडल भयो ।

आँखाको लागि त बेलुकाको बास म्याङ्लुङ बजार टाढा थिएन । वारिपारी थियो । तर गाडीमै हामीलाई यहाँबाट कम्तिमा २ घन्टा लाग्थ्यो । बिचबीचमा स-साना कार्यक्रमहरू पनि थियो । त्यसैले हतारिएर हामी हिड्यौं । खोरूङ्गा खोला तरेर हलिमेलाहुँदै साँब्लाको पाखोमा पुग्दा झम्केरात परिसकेको थियो । पर्शुराम दाइ यहीँका बासिन्दा । मान्छेहरू गौंडैपिच्छे स्वागतका लागि पर्खिबसेका । जतिनै ढिला भए पनि, थाकेर शिथिल भए पनि जनताको स्वागत ग्रहण गर्नुको विकल्प थिएन । नेपालमा थोरै नाममध्ये श्रद्धाले लिइने नाम अभि सुवेदी सरको पुर्ख्यौली घर पनि यही साब्लानै हो । अन्तिम भेटघाट साँब्लामा गरेर तेह्रथुम पुग्दा रात छिप्पिसकेको थियो ।

तेस्रो दिन

मध्य माघको म्याङ्लुङ

तेह्रथुमको लसुने

मध्य माघ अनि म्याङ्लुङ । जाडोको के कुरा गर्नु । पर्शुराम दाइले युवा जोश निकालेर जाडोमा बिहान ८ बजेनै चोकमा पुर्याउनु भयो । चोकमा ७५ बर्षिय नयाँ शक्ति बा उर्फ अमर कन्दङ्वा माइक बजाएर जोशका साथ मान्छे जम्मा गर्दै हुनुहुन्थ्यो । जिल्ला संयोजक भगवान दहाललगायत साथीहरू कार्यक्रमको तयारी गर्दै हुनुहुन्थ्यो । बयोबृद्धहरू पनि लौरो टेकेर बिहानबिहान सम्वादमा सहभागी हुन आइपुगेको देखेर अचम्म लाग्यो । बीच बजारको चोकमा झुरूप्प मान्छे जम्मा भयो । कार्यक्रम शुरू भयो । कार्यक्रममा २०१५ सालमा ने का बाट निर्वाचित सांसद ९३ बर्षीय तेजमान तुम्बाहाम्फेलगायतको उपस्थिति थियो । चोकको कार्यक्रम छोटोमिठो रूपमा सम्पन्न भयो ।

खानापश्चात उद्योग बाणिज्य संघको हलमा विभिन्न राजनीतिक पार्टीका प्रमुख तथा प्रतिनिधि, नागरिक समाजका अगुवा, पत्रकार, बौद्धिक ब्यक्तित्वहरूको खचाखच उपस्तिथिमा निक्कै उच्चस्तरको अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । नेकाको तर्फबाट बोल्ने बक्ताले सत्तापक्षको तीखो आलोचनासहित अब देशको नेतृत्व गर्ने एकमात्र क्षमतावान राजनेता बाबुराम भट्टराई हो भनेर सबैलाई चकित बनाए । पहिचान र समावेशिताको बारेमा सहभागीहरूले चर्को रूपमा आवाज उठाए । नामाङ्कन र सीमाङ्कनमा सरकारले ठूलो षड्यन्त्र गरेको जिकिर गरे, अधिकांश सहभागीहरूले । डा. भट्टराईले सबैले उठाएका एकएक जिज्ञासाको चित्तबुझ्दो जवाफ दिनुभयो ।

जिरिखिम्तीमा १५ मिनेट

जिरिखिम्ती तेह्रथुमको अर्को पुरानो बजार हो । युद्धकालमा नाका बजार भन्थ्यौं हामी । ६ थर क्षेत्र प्रवेश गर्ने एकमात्र नाका थियो त्यसबेला हाम्रो लागि । निक्कै खतरनाक नाका । दिउँसो त कट्नै नसक्ने । जहिले राति मात्रै क्रस गर्थ्यौं यो नाका ।

छोटो सम्बोधन गर्ने कार्यक्रम थियो यस बजारमा । संयोजकले करिब १० मिनट बोल्नुभयो । ३-४ सय सहभागीहरूले सास रोकेर कुरा सुने । सहभागीहरूमध्य कसैले भन्दैथिए- डा. साप ! तपाईंले माओवादी छाडेर गल्ति गर्नुभयो । लसुने पुग्न हतार भएकोले जवाफ दिन सम्भव भएन । हामी त्यहाँबाट हिड्यौं ।

लसुनेबाट वसन्तपुरतर्फ

लसुने बजारको बीच चोकमा दुरुस्तै लसुनको स्तम्भ छ । स्तम्भलाई भित्तातिर पारेर छेउतिरको सडकलाई कार्यक्रम स्थल बनाएको रहेछ । लसुने बजारका सबै स्थानीयहरू कार्यक्रम स्थलमा जम्मा भइसकेका रहेछन् । हामी पुग्ने बित्तिकै कार्यक्रम शुरू भयो । लसुनको पहिचान बोकेर बसेको लसुने बजारबाट थुप्रै साथीहरूले लसुन किनेर गाडीमा हाल्नुभयो । वसन्तपुर पुग्न ढिला भैसकेको थियो । त्यसैले यहाँबाट पनि हतारिएर बाटो लाग्यौं ।

लालिगुँरास नगरपालिकाको मुख्यालय वसन्तपुर बजार पुग्दा ४ बजिसकेको थियो । बजारको वल्लोछेउसम्म मेयर अर्जुन माबुहाङ लिन आउनु भयो । उहाँले घन्टौंदेखि झन्नै एकहजार स्थानीयहरूले कुरिरहेको जानकारी पनि गराउनु भयो । यो कार्यक्रम पार्टीको तर्फबाट आयोजना गरिएको थिएन, नगरपालिकाको तर्फबाट आयोजना गरिएको थियो । त्यस कारण कार्यक्रमको ब्यबस्थापन र संचालनको जिम्मेवारी उहाँहरूकै थियो ।

कार्यक्रम शुरू भयो । प्रोफेसर तथा बौद्धिक ब्यक्तित्व बालकृष्ण माबुहाङ पनि यस कार्यक्रमको बक्ता हुनुहुँदो रहेछ ।

चिसोले चोरकमिलाले चिलेजस्तो चिल्न थालिसकेको थियो । तैपनि सडकमा मान्छेहरू डेग नचली कुरा सुनिरहेका थिए । बिचबिचमा कलाकार साथीहरूको मीठो गीतसङ्गीतको प्रस्तुतिले माहौल झन तताइरहेको थियो । बुढी आमाहरू पनि सडकमा कम्मर मर्काइमर्काई नाचिरहनु भएको थियो ।

लसुनेमा लसुनको स्तम्भजस्तै यहाँ लालीगुँरासको स्तम्भ छ । वास्तवमा यो लालीगुँरास क्षेत्र हो । यहाँबाट शुरू भएको लालीगुँरास क्षेत्र संखुवासभा र ताप्लेजुङको सीमाना तीनेजुरे, मिल्केसम्म फैलिएको छ । यस क्षेत्रलाई गुँरासको राजधानी भनेर पनि चिनिन्छ । युद्धकालमा करिब ४ बर्ष गुँरासको राजधानी यस क्षेत्रलाई मैले पनि आफ्नो मुख्यालय बनाएर बसेको थिएँ । बिश्वकै दुर्लभ प्रजातिका गुँरासहरू यस क्षेत्रमा पाइन्छन् । संरक्षणको अभावमा कतिपय प्रजातिका गुँरासहरू त लोपनै भैसकेको छ भने कतिपयको अस्तिव संकटमा छ । लालीगुँरास पनि मासिदै गइरहेकोछ । गुँरास संरक्षणमा सरकारलगायत सम्बन्धित निकायको ध्यान पुगोस् ।

कार्यक्रममा बालकृष्ण माबुहाङ्ले शिरिजङ्ग मुन्धुम विश्वविद्यालयको अवधारणाबारे चर्चा गर्नुभयो । आफू त्यस प्रोजेक्टमा लागिपरेको जानकारी पनि गराउनु भयो । डा. भट्टराईलाई संसदमा कुरा राखिदिन र आवश्यक सहयोग गरिदिन अनुरोध पनि गर्नुभयो । मेयर अर्जुन माबुहाङ्ले खासगरि मध्यपहाडी लोकमार्गको दायाँबायाँ ३१-३१ मिटर खाली गर्नुपर्ने सरकारको निर्णयले पहाडी बस्तिहरू सबै ध्वस्त हुने आतंक जनतामा बढेको कुरा सुनाउनु भयो । यो निर्णय तुरुन्त सच्याउन पहल गरिदिन डा. भट्टराईलाई अनुरोध गर्नुभयो ।

कार्यक्रम समापन हुँदा साँझ परिसकेको थियो । उता धनकुटाका साथीहरू सिधुवामा हामीलाई पर्खिरहनु भएको थियो । त्यहाँ पनि संक्षिप्त कार्यक्रम सहकारीका साथीहरूले राख्नुभएको जानकारी आइरहेको थियो । खाजा पनि नखाई हतारिएर हामी सिधुवातिर लाग्यौं ।

सिंधुवाका सहकारी किसानहरूका कुरा

तेह्रथुमको लसुने

 

साँझ छिप्पिदै गइरहेको थियो । सिंधुवामा साथीहरू हामीलाई पर्खिरहेका थिए । जति ढिला भए पनि सिंधुवाका सहकारीमा आबद्ध किसानहरूको कुरा सुन्नै पर्छ भन्ने जोड थियो कृषिविद मदन राईको । सिंधुवा तरकारी खेतीका लागि नाम चलेको पकेट क्षेत्र हो । यहाँका कृषि उपजहरु भारत र बंगलादेशसम्म पनि निर्यात हुन्छ । सहकारीका अध्यक्ष मेघेन्द्र गुरुङले सहकारीको कार्यालयमा यहाँका किसानहरूले भोगिरहेका समस्याहरूको फेहरिस्त प्रस्तुत गरे ।

क्वारेन्टाइन चेकपोष्टहरुको व्यवहारले किसानहरू आजित भएको कुरा थाहा पाइयो । तरकारीका ट्रकहरु चेकपोस्टमा पुगेपछि अलपत्र पारिदिने र जसको कारण तरकारी कुहुने, सड्ने र कामै नलाग्ने गरि नष्ट भएको तीतो अनुभव पनि किसानहरूले सुनाए ।

सरकारले उच्चस्तरको मल, बीउ, प्रबिधि किसानहरूलाई उपलब्ध गराउनुपर्ने, बाली बिमाको प्रिमियममा सरकारी अनुदानको अंश बढाउनुपर्ने, स्वदेशमै तरकारीको बजार सुनिश्चित गरिदिनुपर्ने, भारत सरकारसँग नेपाल सरकारले पहल गरेर हाल कृषकहरूले भोगिरहेका समस्याहरूको समाधान गरिदिनुपर्ने जस्ता माँग र सुझाव सहकारीमा आबद्ध किसानहरूले राखे ।

कार्यक्रम सकिएपछि बासको लागि विकासजीले आफ्नै वडा कागतेमा पुर्याउनु भयो । रात छिप्पिदै गइरहेको थियो । म्याङ्लुङ र कागतेको दूरी खासै लामो नभए पनि बिहानदेखि चापाचाप कार्यक्रमले गर्दा हामी सबै थाकेका थियौं । भोलिको कार्यक्रम पनि बिहानैदेखि थियो । तसर्थ, सबै आ-आफ्नो बासतिर लाग्यौं ।

चौथो दिन

चर्चामा नरहेको चमेरे गुफा

खासै चर्चामा नरहेको चमेरे गुफा धनकुटा नपा- ३, मालबाँसेमा पर्छ । यो गुफा धनकुटा बजारबाट ५ किमि उत्तर-पूर्व साँगुरो कच्ची बाटो छिचोलेपछि पुगिन्छ । गुफाको प्रबेशद्वार निक्कै अप्ठेरो र साँगुरो रहेछ । तर भित्र छिरेपछि निक्कै फराकिलो झन्डै २०० जना अटाउँदो रहेछ । न्यूनतम ब्यबस्थापन पनि नभएर होला पर्यटकको खासै ध्यानाकर्षण भएको देखिएन । वडाध्यक्ष विकास घिमिरेले वडाको विशेष योजनामा यस गुफालाई आन्तरिक पर्यटन क्षेत्रको रूपमा बिकास गर्ने लक्ष्य रहेको कुरा जानकारी गराउनु भयो ।

यस गुफालाई पर्यटन गन्तब्य बनाउन सक्दा आठ हजार संख्यामा रहेको लोपोन्मुख जाति आठपहरिया राई जो यस क्षेत्रमा बसोबास गर्दै आइरहेका छन्, उनीहरूको जीवनस्तरमा सुधार ल्याउनसक्ने अवसर पनि प्राप्त हुने कुरा विकासजीले राख्नुभयो । केहि अगुवा आठपहरिया राईहरूसँग हामीले छोटो भेटघाट गर्यौं । डा. भट्टराईले निक्कै चासो दिएर सोधखोज गर्नुभयो । उनीहरूको आफ्नै भाषा, संस्कृति रहेछ । आफूहरूको बारेमा सरकारले खासै चासो नदेखाएकोमा उनीहरूको सरकारप्रति गुनासो थियो ।

फोहरमाथि बगैंचा

चमेरे गुफाबाट धनकुटा नगरपालिका-६, सल्लेरी बनमा रहेको स्यानिटरी ल्याण्ड्फिल्ड साइटमा पुग्यौं । फोहर ब्यबस्थापन विल्कूल नयाँ ढंगले गरेको देखियो । त्यहाँका प्रमुख उपेन्द्र खनालले १० रोपनी जमिनमा रहेको विभिन्न संरचनाहरूको भिजिट गराएपछि संक्षिप्तमा यहाँ गरिएको नयाँ प्रयोगबारे व्याख्या गर्नुभयो । २०६६ सालबाट शुरु गरिएको यस साइटमा अहिले फोहरको थुप्रोमाथि तयार पारिएको दुईवटा आकर्षक बगैंचाले सबैको ध्यान तान्छ । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले त आफ्नो एउटा बैठक यहि बगैंचामा राखेको कुरा पनि थाहा पाइयो ।

यस साइटमा खासगरी नष्ट नहुने फोहर मात्र ल्याइन्छ । मल बनाउन मिल्ने फोहरलाई मल बनाउन सिकाएर कौसीमा तरकारी खेती गर्न सिकाएको र बजारका अधिकांश घरमा कौसी खेती गरिरहेको जानकारी पनि उपेन्द्रजीले गराउनुभयो । नष्ट नहुने फोहर निश्चित ठाउँमा जम्मा गर्दै गएपछि माथिबाट माटोले पुरिन्छ र त्यसमाथि बगैंचा बनाइन्छ । जसले गर्दा वातावरणमा प्रदुषण पनि हुन्न, खेर गइरहेको जमीन सदुपयोग पनि हुन्छ । देशभरीमा धनकुटा नगरपालिकाबाहेक अरूले यस्तो प्रबिधिको प्रयोग नगरेको जिकिर पनि उहाँले गर्नुभयो । यो प्रबिधिलाई अरू ठाउँमा पनि बिस्तार गर्न, गराउन सकेको सहयोग गर्ने प्रतिबद्धतासहित हामी त्यहाँबाट बिदा भयौं ।
अवलोकन र सम्मेलन

२०३९ सालमा स्थापना भएको यस संग्राहलय त्यति ब्यवस्थित रहेनछ । पूर्वका १६ जिल्लामा बसोबास गर्ने १६ जातिका धर्म, संस्कृति, भेषभुषा र उनीहरूले प्रयोग गर्ने सरसामानहरू संग्रहित यस संग्राहलयको ब्यवस्थापनमा सरकारको तुरुन्तै ध्यान पुगोस् भन्ने अनुरोध गर्दछु ।

धनकुटा बजारमा नेपाल पत्रकार महासंघ धनकुटा शाखाले आयोजना गरेको पुरस्कार वितरण र पत्रकार सम्मेलन सम्पन्न गरेपछि डा. भट्टराई, मदन राईलगयत एउटा सानो टीम पारिपात्लेस्थित राष्ट्रिय सुन्तला जात अनुसन्धान कार्यक्रम हेर्न गयौं । समय अभावको कारण खासै हेर्न त पाइएन, तर त्यस भेगका जनताहरूसँग छोटो सम्वाद गर्ने मौकाभने मिल्यो । डा. भट्टराईले संक्षिप्त सम्बोधन गर्नुभयो ।

विकास घिमिरेको ग्रीन कागते

धनकुटा नपा- ३, कागतेमा वडा कार्यालयद्वारा आयोजित सभामा वडाध्यक्ष विकास घिमिरेले ३ नम्बर वडालाई नमूना वडा बनाउने योजना पेश गर्नुभयो । प्रदेश र संघीय सरकारसँग विशेष बजेटको लागि अनुरोध पनि गर्नुभयो । सभामा सहभागीहरूले वडाध्यक्षको काम गर्ने शैली, योजना र सहासको प्रशंसा गरिरहेका थिए । ३ नम्बर वडालाई समृद्ध ग्रीन कागते बनाई छाड्ने वडाध्यक्षको प्रतिबद्धतालाई सबैले ताली पिटेर अनुमोदन गरे । तीन महिनाभित्रमा यस चोकमा कागतीको आकर्षक स्तम्भ राखिसक्ने योजना पनि सुनाए । प्रमुख वक्ता डा. भट्टराईले वडाध्यक्ष विकासजीको योजनामा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

धनकुटा र भोजपुरको सीमा बजार लेगुवाघाट पुग्दा साँझ परिसकेको थियो । आजको बास यहीँ बस्ने पूर्व योजना भए पनि भोजपुरका साथीहरूले प्याउली बजारसम्म पुग्नैपर्ने नयाँ योजना सुनाउनु भयो । त्यसोभए कार्यक्रम नगरी सरासर जानुपर्छ भन्ने सल्लाह गरियो । तर साँझको अन्धकारमा पनि लेगुवामा स्थानीय जनता पर्खिरहेका रहेछन् । आधा घन्टाको छोटो कार्यक्रम गरेर अरुण तरेर भोजपुरतिर लाग्यौं । अर्थात् लिम्बू भूमि छाडेर खम्बु भूमि प्रवेश गर्यौं ।

किरात सभ्यताअन्तर्गत लिम्बु र खम्बुलाई यहि अरुण नदीले छुट्याएको छ । अरूण पूर्व लिम्बु र पश्चिम खम्बुको भूमि हो । खासगरी ताप्लेजुङ, पाँचथर, ईलाम, तेह्रथुम, धनकुटा लिम्बुहरूको घनिभूत बसोबास भएको जिल्लाहरू हुन् भने, भोजपुर, खोटाङ, ओखलढुंगा, उदयपुर राईहरूको बाक्लो बसोबास भएका जिल्लाहरू हुन् । संखुवासभामा तुलनात्मक रूपमा लिम्बु भन्दा राईकै घनत्व देखिन्छ, त्यस्तै झापा, मोरङमा लिम्बु र सुनसरीमा राईको वर्चस्व भेटिन्छ ।

भोजपुरको जरायोटारमा पनि स्थानीयहरू बाबुरामलाई हेर्न र भेट्न पर्खिरहेका रहेछन् । उहाँ निक्कै थाक्नु भएको थियो । जनताले पर्खिरहेका छन् भन्ने थाहा पाएपछि उहाँ जनतासँग भेट्न तयार हुनुभयो । जनताले आत्मीय माया दिएपछि हामी सबैको थकान चट भयो । मायामा असीमित उर्जा हुन्छ भनेको त्यसै होइन रहेछ । जरायोटार पुरै सुख्खा रहेछ । खानेपानीको समेत समस्या रहेछ । यहाँका जनताको मात्रै दुईवटा गुनासा या माँग थियो- पहिलो, पानी र दोश्रो, बाटो । मध्यपहाडी लोकमार्गले धेरैको घरबाँस उठाउने पिरलो यहाँका जनतामा पनि थियो ।

प्याउलीको चिसो

राति निक्कै अबेर प्याउली बजार पुग्यौं । संगठनात्मक आधार कमजोर भएको जिल्ला । अझ प्याउलीकै कुरा गर्ने हो भने एकजना सम्पर्क ब्यक्ति पनि नभएको बजार । विष्णु कार्कीलगायत साथीहरू जसले भोजपुरको ब्यवस्थापन गर्ने जिम्मा लिनुभएको थियो, उहाँहरू भने ब्यवस्थापनमा समस्या नआउने विश्वास ब्यक्त गरिरहनु भएको थियो । तर मलाई विश्वास लागिरहेको थिएन । पर्शुराम दाइको ससुराली जिल्ला रहेछ भोजपुर । उहाँले ढुक्क हुनुहोस्, ब्यवस्थापनमा केही समस्या आउँदैन भन्नुभयो । मदन दाइले आजदेखि सुनकोसी नतर्दासम्म ब्यबस्थापनको जिम्मा मेरो भयो, आजदेखिको कमान्डर म हूँ । कसैले चिन्ता गर्नुपर्दैन । दुईजना सीनियर नेताहरूले यति भनेपछि चाहिँ म पनि ढुक्क भएँ ।

गाउँपालिका कार्यालयमा पालिका प्रमुख गजेन्द्र कार्कीलागायत झन्नै सयभन्दा बढी जनता पर्खिरहेका रहेछन् । उत्तर हिमालबाट सिधै ठोक्किन आइपुग्ने हिमाली हावाले हामी सबैको सातो खाइरहेको थियो । गिलास भरिभरी चिया खाएपछि बल्ल अलि जिउ तातियो । प्रमुखज्यूले खाना र बासको प्रबन्ध मिलाउनु भएको रहेछ । बिहान यहीँ प्राङ्गणमा ८ बजे कार्यक्रम गर्ने सल्लाहकासाथ खाना र बासतिर लाग्यौं ।

क्रमशः

यो पनि-

जनसम्वाद डायरी- १ 

जनसम्वाद डायरी- २

जनसम्वाद डायरी- ३

जनसम्वाद डायरी - ४