जनसम्वाद डायरी- ६

- २८ चैत २०७५

पाँचौ दिन

बाँदर आतङ्क

उत्तरमा मकालु हिमाल नजिकै देखिन्थ्यो । बिहान खुब गज्जबले खुलेको थियो मौसम । प्याउली बजार खासै उचाइमा त थिएन । तर मकालुतिर मोहडा फर्किएको हुनाले मकालुको चिसो हावा सिधै प्याउली आइपुग्दो रहेछ । त्यसैले सोचेभन्दा धेरै नै चिसो थियो प्याउली बजार ।

समयमै शुरू भयो कार्यक्रम । कार्यक्रमको आयोजना गाउँपालिकाले गरेको थियो । पालिकाको प्राङ्गणमा मान्छे खचाखच । पाइला राख्ने ठाउँनै थिएन । घाम तात्दै जाँदा प्राङ्गणमा नअटेर मान्छेहरू सडकसम्म फैलिदैं गयो । कलाकार साथीहरूले पनि कार्यक्रममा रौनक थप्नुभयो । पालिका प्रमुख आफैले नृत्यको नेतृत्व लिनुभयो । उमेरले साठी कटिसकेका प्रमुखज्यू साँच्चै गज्जबको मान्छे हुनुहुँदोरहेछ । आफ्नो कुरा सिधा राख्ने तर कुरामा रस घोलेर ।

उहाँले आफ्नो पार्टी नेपाली कांग्रेसको समेत तथ्यसहित कडा आलोचना गर्नुभयो, अरु पार्टीको त कुरै छाडौं । आफ्नो थातथलो, गाउँघरप्रतिको माया अद्भुत रहेछ उहाँमा । आफ्नो गाउँठाउँको सम्मान र गौरव गर्न सबैलाई बारम्बार अपील गरिरहनु भयो । बसाई सरेर बाहिर गएकाहरूलाई पनि आफ्नै जन्मभूमिमा फर्कन आग्रह गर्नुभयो । आफूलाई शहरिया भन्नेहरूले गाउँलाई हेपेको देख्दा साह्रै झोंक चल्ने कुरा पनि बताउनुभयो । प्रमुखज्यू आवेगमा आएर भन्दै हुनुहुन्थ्यो- "आफ्नो सम्पत्तिको मालिक आफैँ हुन्छ, तर शहरकाले हाम्रो जग्गाजमिनको भाउ राख्न मिल्छ ? तिनको शहरको जग्गाको भाउ रोपनीको एक करोड भए मेरो पाँच करोड । लौजा कसैलाई केही भन्नू छ ?"

गाउँ र शहरको मनोवैज्ञानिक दरार कसरी बढदै गइरहेको छ भन्ने सहजै अनुमान लगाउन सकिन्थ्यो उहाँको भनाइबाट । ग्रामीण जीवन असाध्यै कष्टकर छ । न्यूनतम सेवा सुविधा पनि छैन । त्यसैले गाउँ रित्तिने र शहर भरिने क्रम जारी छ । यथाशीघ्र गाउँमा न्यूनतम सेवा सुविधा नपुर्याउने हो भने अबको केही बर्षभित्रमा गाउँ खाली हुने निश्चित छ ।

आफू पालिका प्रमुख भएपछि गरेका कामहरूको बिस्तृतमा फेहरिस्तनै प्रस्तुत गर्नुभयो । आगामी योजना पनि सुनाउनुभयो । उहाँले गाउँपालिकामा धेरै समस्याहरू छन् तर अहिलेको सबैभन्दा ठूलो समस्या भनेको बाँदर आतंक भएको कुरा राख्नुभयो । हामी सबै एकअर्काको मुखामुख गर्यौं । हामीलाई अचम्म लाग्यो । बाँदर पनि कहिँ समस्या हुन्छ ? तर यहाँको सत्य यहि थियो ।

तिवारी भञ्ज्याङ्को कार्यक्रम संक्षिप्त मात्रै गरियो । किनकि, च्याङग्रेमा त्यहाँको गाउँपालिकाले आयोजना गरेको कार्यक्रममा जान ढिला भैसकेको थियो ।

मीरा राईको पौवादुम्मा

पौवादुम्मा गाउँपालिकाको कार्यालय रहेको च्याङग्रेमा एउटा पोखरी रहेछ । यहाँ आउने नवआगन्तुकले त्यस पोखरीलाई दाहिने पारेर घुम्नु पर्ने यहाँको संस्कार रहेछ । सायद स्कटिङमा रहेको प्रहरीलाई थाहा नभएर हो कि बाबुराम भट्टराई चढ्नुभएको गाडी सिधै बायाँतिर रहेको कार्यक्रम स्थलमा पुगेर रोकियो । स्थानीयहरूमा खासखुस चल्यो । तुरुन्तै उहाँको गाडी पोखरीलाई दाहिने पारेर घुम्यो । फेरि स्थानीयमा खासखुस चल्यो- नेता भनेको त यस्तो पो हुनुपर्छ । अघि कसैले भनेन रहेछ क्यारे !

खाना खाइसक्ने बित्तिकै कार्यक्रम शुरू भयो । फराकिलो चौरमा स्थानीयहरूको उपस्थिति उल्लेख्य थियो । चैत-बैसाखजस्तो टन्टलापुर घाम लागिरहेको थियो । बिहान प्याउलीमा खातमाथिखात लगाएको बाक्ला कपडाहरू एकएक गरि खोलेर एउटा सर्टमात्र बाँकी राख्दा पनि लछप्पै पसिनाले जिउ भिज्यो । तैपनि कार्यक्रममा सहभागीहरू शालिकझैं शान्त भएर नेताहरूका कुरा सुनिरहेका थिए । डम्बरजीले सशक्त भाषण गर्नुभयो ।

गापा प्रमुख किरण राई उमेरमा मात्रै युवा होइन, क्षमताको हिसाबले पनि निक्कै उर्जाशील र सिर्जनशील रहेछ । सरकारले स्थानीय तहलाई खास केही अधिकार नदिएको कारण काम गर्न एकदम अप्ठेरो परेको गुनासो गर्नुभयो । संघीयतालाई संघीय सरकारले केवल विकेन्द्रीकरणको रूपमा बुझेको आरोप पनि लगाउनुभयो । स्थानीय रूपमा विकास गर्न धेरै समय नलाग्ने तर संघीय सरकारको नीति स्पष्ट हुनुपर्ने कुरामा उहाँको जोड थियो ।

यहीँ पौवादुम्मामा जन्मिनु भएकी अन्तर्राष्ट्रिय धाविका मीरा राईलाई खुब सम्झिएँ । उहाँ जनमुक्ति सेनामा भर्ती हुनुभएको थियो । उमेर र शारीरिक बनावट दुबै हिसाबले सानी । जनमुक्ति सेनामा नेपाली सेनामा जस्तो उचाइ, तौल सबै हेरेर भर्ना गर्ने चलन थिएन । शारीरिक भन्दा मानसिक पक्षलाई जोड दिएर भर्ना गरिन्थ्यो । त्यतिबेला उहाँको क्षमता, रूचितिर हामी कसैको ध्यान पुगेको थिएन । सेना समायोजन प्रक्रियामा मीरा "अयोग्य" घोषित भयो । समायोजनमा जान पाउनु भएन । तर उहाँले आफूलाई कहिल्यै अयोग्य मान्नुभएन। निरन्तर संघर्ष गरिरहनु भयो। र, आज संसारलाई चकित पार्दै विश्वमा नेपालीहरूलाई चिनाउने अन्तर्राष्ट्रिय धाविका बान्नुभएको छ । अवसर पाए मान्छेले सबैथोक गर्न सक्छ्भन्ने जिउँदो उदाहरण हो मीरा राई । विश्वसामु अझ नयाँ नयाँ कीर्तिमान कायम गर्न सफलता मिलोस मीरालाई । शुभकामना छ !

एकै समयमा सुप्लामा पनि कार्यक्रम भएकोले सुप्लाको कार्यक्रममा पर्शुराम खापुङ, हिसिला यमि र प्रभुराम श्रेष्ठ जानुभयो । समयको कारण हिलेपानीको कार्यक्रम रद्द गर्न वाध्य भयौं । साथीहरूलाई पछाडि छाडेर प्रशान्तजी, डम्बरजीलगायतका हामी अगाडि आयौं । श्यामशीलामा दुईवटा कार्यक्रम थियो । एउटा इन्द्रहाङ्ग किरातिजीको स्कूलमा र अर्को जिल्ला रेडक्रस सोसाइटीले आयोजना गरेको जिल्लास्तरीय माध्यमिक विद्यालयहरूको हाजिरीजवाफ प्रतियोगिताका विजयी प्रतियोगीहरूलाई पुरस्कार वितरण कार्यक्रम अर्को स्कूलमा । जम्मा एकघन्टामा दुबै कार्यक्रम सम्पन्न भयो । पुरस्कार वितरण कार्यक्रममा झन्नै हजारभन्दा बढी शिक्षक, विद्यार्थीहरू सहभागी थिए ।

भोजपुर बजारको उत्साह

 

 

ट्याम्केको डाँडामाथि पुगिसकेको थियो घाम । भोजपुरको डबली बजारमा डबली मेला थियो । एकातिर मेला अर्कोतिर कार्यक्रम गर्दा कस्तो होला कार्यक्रम ? मनमनै चिन्ता लागिरहेको थियो । बिष्णुजीले आइडिया झिक्नु भयो । मेलाका आयोजकसँग कुरा गरेर यही मेलामै कार्यक्रम गर्ने । मलाई पनि ठीक लाग्यो उहाँको आइडिया । आयोजकसँग कुरा गर्नुभयो । कुरा मिल्यो । हामीले जम्मा एक घन्टा समय पाउने भयौं ।

साँझको बेला मेलामा टन्नै जम्मा भएका थिए मान्छेहरू । हजारौंको संख्यामा । यहाँको कार्यक्रम संचालन र कार्यक्रमको औचित्यबारे बोल्नुपर्ने जिम्मा मेरो थियो । समयको असाध्यै चाप थियो । डा. भट्टराई आइपुग्ने बित्तिकै कार्यक्रम शुरू गरें । मेलामा आएका हजारौं मान्छेहरू सबै कार्यक्रममा सहभागी हुन आए । कलाकार साथीहरूले एकसाथ हजारौं सहभागीलाई नचाउनु भयो । कार्यक्रम कन्सर्टमा बदलियो । केही सहभागीहरूले खरो प्रश्नहरू गरे ।

घाम ट्याम्केबाट ओह्रालो झरेको धेरै भैसकेको थियो । पूर्व मात्रै होइन, अँध्यारो डबलीमा पनि छायो । सहभागीहरू कलाकारलाई "वन्समोर" भन्दै थिए । डा. भट्टराईलाई केही प्रश्न बाँकी छ भन्दै थिए । तर, हामी कार्यक्रम समापन गर्न वाध्य भयौं । जनसम्वाद यात्राको यो २७ औं कार्यक्रम थियो । यति धेरै सहभागीहरू बीच सम्वाद भएको आजसम्मको यो नै पहिलो कार्यक्रम थियो ।

भोलि बिहान ६ बजेनै भोजपुर क्याम्पसमा डा. भट्टराईको कार्यक्रम थियो । यसको ब्यवस्थापन मदन राईले मिलाउनु भएको थियो । मदन दाइको कासन आयो- "बिहान चाँडै उठ्नुपर्छ । त्यसैले अहिले चाँडै सुत्नुहोला ।"

छैटौं दिन

विगतको सम्झना

आज २० गते । भोजपुर क्याम्पस र सिटिभिटीका विद्यार्थीसँग बिहान ६ बजेदेखि नै डा. भट्टराईको अन्तरक्रिया थियो । यता अन्तरक्रिया सकेर ८ बजे दावाबजारमा खुल्ला जनसंवाद थियो । डा. भट्टराईको लागि असाध्यै समयको चाप । तर, क्याम्पसमा हामी जान नपर्ने भएको कारण बिहानको समय हाम्रो लागि फ्री थियो । एकफन्का बजार परिक्रमा गर्यौं । २०५१ सालमा पहिलोपटक यहाँ आएको थिएँ । भौतिक संरचनामा खासै अन्तर आएको देखिनँ मैले । त्यसबेला बाटोले जोडिएको थिएन । अहिले बाटोले जोडिएको छ । बस फरक यतिनै रहेछ ।

२०६० सालमा जनमुक्ति सेनाले सफल फौजी कार्बाही यही गरेको थियो । टावर कब्जा गर्दै त्यहाँका सुरक्षाकर्मीको सबै हतियार जनमुक्ति सेनाले कब्जा गरेको थियो । त्यसबेला यहाँको कार्बाहीको मुख्य नेतृत्व बर्षमान पुन र मणि थापाले गरेका थिए । त्यो बेला उनीहरू दुईबीचमा ब्यक्तिगत तहमै अस्वस्थ अन्तर्बिरोध थियो । सफल फौजी कार्बाहीबाट मणिजी निकै उत्साहित हुनुहुन्थ्यो । त्यही सफल फौजी कारबाहीपछि मणिजीले चर्चित गीत- "अरूण तरेर नाना, तमोर तरेर
आयौं हामी बिरताको गाथा कोरेर ।" रचना गर्नुभएको थियो ।

डा. भट्टराई आइपुग्दासम्म हामीले दावा बजारमा कार्यक्रमको तयारी गरिसकेका थियौं । कार्यक्रम छोटोमीठो गर्‍यौं । कार्यक्रम सकेर यहीँ खाना खायौं ।

सुन्तला स्वागत

ट्याम्केमयुङ गाउँपालिकाको प्राङ्गणमा खचाखच भरिएको थियो मान्छे । अनावश्यक घुमाएको नागबेली सडकले हैरान पारेको तन र मन गापा प्रमुखलगायत त्यहाँका स्थानीयले न्यानो स्वागत गरेपछी एकाएक चङ्गा भयो । हामीलाई लाइनै दुईतिर कुर्सीमा बस्न भनियो । हामी भने अनुसार बस्यौं । बीचमा स-साना टेबुल, टेबुलमाथि ठुला-ठुला चिल्ला आकर्षक सुन्तलाका दाना । हेर्दैमा मुख रसाउने । केही साथीहरूको हात हतार हतार टेबुलको सुन्तलामा सल्बलाएको देखेर मलाईभने सरम लागिरहेको थियो ।

निकैबेर सुन्तलाको चर्चा भयो । आफ्नो गाउँपालिकालाई सुन्तलाको पकेट क्षेत्र बनाउन चाहेको कुरा गापा प्रमुखले सुनाउनु भयो । मदन राईले अर्ग्यानिक कृषिको बारेमा संक्षिप्तमा कुरा राख्नुभयो । भोजपुरको सीमाना गापा थियो यो ट्याम्केमयुङ । ट्याम्केको डाँडा पूर्व भोजपुर र पश्चिम खोटाङ पर्छ ।

ट्याम्केमा मुन्धुम ट्रेल

हामीलाई ढिला भैरहेको थियो । डा. भट्टराईले ट्याम्केमा फोटो खिच्ने प्रस्ताव गर्नुभयो । फोटो खिच्ने राम्रो ठाउँ खोज्दै हामी सबै सम्म परेको चौरमा पुग्यौं । मदन दाइ आएर मेरो भान्जा पविले केही कुरा सुनाउन खोज्नु भएको छ, लु सबैले एकछिन ध्यान दिएर सुनौं त !

हिजो पौवादुम्मादेखि सँगसँगै आएको उनै कपाल पालेको भेडिगोठालोजस्तो देखिने ब्यक्ति रहेछ मदन राईको भान्जा र पर्शुराम खापुङ्को भदा । उहाँले मुन्धुम ट्रेलको बारेमा आफ्नो भावी योजना सुनाउनुभयो । ट्याम्केडाँडाको चिसो स्याँठ ! कहाँ धेरैबेर टिक्न सक्नु । मध्याह्नको घाममा पनि चिसोले हाम्रो शरीर मात्र होइन, मुटुनै काँपिरहेको थियो । चिसोले मुटु काँपिरहेको बेला मैले पविजीको धेरै कुरा त बुझिनँ । तर कुरोको चुरोभने बुझेँ । कुरोको चुरो थियो- मुन्धुमको अवधारणालाई कसरी पर्यटनसँग जोड्न सकिन्छ ? हाम्रो कला, संस्कृति, धर्मलाई पर्यटनसँग जोड्न सक्दा एकदम राम्रो हुन्छ । जोड्दै जानुपर्छ । पविजी त्यसैमा लाग्नुभएको रहेछ । उहाँको सपना साकार होस् । शुभकामना !

खोटाङ प्रवेश

दिक्तेलसम्मको बाटो खराब मात्रै होइन, खतरापूर्ण छ । बाटोभरी कार्यक्रमनै कार्यक्रम छ । जिल्ला संयोजक मणि राई ३० बर्ष सिंङ्गापुर प्रहरीमा पेन्सन पकाएर आउनुभएको ब्यक्ति । साह्रै अनुशासित, समयको असाध्यै ख्याल गर्ने, धेरै नबोल्ने तर धेरै गर्ने । शारीरिक रूपमा पनि साह्रै चुस्त, फ़ुर्तिलो । गज्जबको मान्छे । मदन राई ,मणि राई र सूर्य राईले जहाँजहाँ भन्यो त्यहिँत्यही पछि लाग्यौं । पूर्वनिर्धारित ठाउँभन्दा कतिपय नयाँ ठाउँमा पनि कार्यक्रम राख्नुभएको थियो । हामीले केही भनेनौं । उहाँहरूको पछि लागिरह्यौं ।

सबभन्दा पहिला सेखुवा त्यसपछि आन्नपूर्ण मावि बुवालुङमा कोणसभा गर्यौं । त्यसपछि वानाचुङ्को थुम्कोमा साकेलासिलीको भब्य प्रस्तुतिसँगै आकर्षक जनसभा भयो । साकेला टोली वानाचुङ वारि सडकमै स्वागतको लागि बसेका थिए । डा. भट्टराईलगायत हामी सबै साकेला टोलीसँगै गाउदै नाच्दै वानाचुङ्को सम्म परेको थुम्कोमा पुग्यौं । अस्ताउँदो घामको पहेँलो किरण वानाचुङको थुम्कोभरी पोखिएको थियो । साकेला नाचिरहेका राई युवतीहरूको गालामा घामको पहेँलो किरण पोतिदा युवतीहरू अझ सुन्दर देखिन्थे । समय थिएन । रातभरी साकेला नाच्ने रहर त थियो नि !

नेर्पाको संसरीडाँडा आइपुग्दा झमक्क रात परिसकेको थियो । सानो बजार तर धेरै मान्छेहरूले हामीलाई पर्खिरहेका । सबैको चिन्ता एउटै थियो, बाटो आयो धेरै राम्रो भयो । तर हामीलाई यो बाटोले उठिबास लाउने भयो । जनप्रतिनिधिदेखि सर्वसाधारणसम्मको एउटै कुरा थियो । डा. भट्टराईले यहाँ पनि उहि कुरा दोहोराउनु भयो ।

आजको मुकाम दिक्तेलको शुभम फाउन्डेसन । मदन राई र सूर्य राईको ब्यवस्थापन । चिन्ता हुने कुरै भएन ।

सातौं दिन

एक नम्बर प्रदेश छाड्ने दिन

आजको पहिलो कार्यक्रम नुनथलामा थियो । सगरमाथा लगायतका हिमालहरू छ्याङ्ग देखिने । मनै लोभ्याउने दृश्य । ४ बजे जसरी पनि ३ नम्बर प्रदेशको सिन्धुली जिल्लाको सिमाना बहादुरा खोला पुग्नुपर्छ । त्यसैले छोटो मात्र कार्यक्रम गर्यौं । अर्खौलेमा पनि यहि मोडलको कार्यक्रम गर्यौं । खाना हलेसीमा थियो । हलेसी पशुपतिपछिको हिन्दूहरूको पवित्र तीर्थस्थल हो । बर्षमा लाखौं तिर्थयात्रीहरूले यहाँ आएर दर्शन गर्छन् ।

भगवान मान्छेको आस्था र विश्वास हो । बिज्ञान होइन । बिज्ञानले ल्याब टेस्टको माँग गर्छ । धर्ममा त्यो संभव छैन । अरूको आस्थाको सम्मान गर्नुपर्छ । तर आफू आफ्नो आस्था चोइस गर्न स्वतन्त्र हुनुपर्छ । हो, म नास्तिक हूँ । तर सबैको आस्थाको उच्च सम्मान गर्छु । आफू नास्त्तिक भए पनि एक पटक जीवनमा यहाँको विचित्र प्राकृतिक दृश्य हेर्न सबै आउनुपर्छ । धार्मिक सथलको कारण यहाँ सुबिधा सम्पन्न होटलहरू पनि खुल्दै गइरहेको देखिन्छ ।

खाना खाएर हामी खोटाङको भूगोलमा कतै कार्यक्रम नगरी जयरामघाट पुल तरेर ओखलढुंगा प्रवेश गर्यौं । किनभने, एकमहिना अघि मदन राईको अगुवाइ र डा. भट्टराईको उपस्तिथिमा हलेसीलगायतका मुख्य बजारहरूमा भब्य कार्यक्रम सम्पन्न भएको थियो ।

जयरामघाटमा छोटो कार्यक्रम गरेर ओखलढुंगाको हर्कपुरमा पनि चिया मात्र खायौं । किनकि, यहाँ पनि खोटाङकै लटमा कार्यक्रम भएको थियो । ३:३० बजे सुनकोसी तरेर उदयपुरको घुर्मी पुग्यौं । तीन नम्बर प्रदेश र सिन्धुली जिल्लाका साथीहरू सोनामसिं स्याङ्तान, राजु नेपाल, दीर्घराज श्रेष्ठ, हरिबहादुर श्रेष्ठ, रामबाबु थापा, सुरदबहादुर स्याङ्तानलागायत नेताहरू बहादुरा खोलामा स्वागतको लागि उपस्थित भैसक्नु भएको रहेछ । हामी भनेकै समय ४ बजे बहादुरा खोलामा आइपुग्यौं ।

३ नम्बर प्रदेश प्रबेश

सिन्धुलीका साथीहरूले सिन्धुलीको पहिचान जुनार दिएर हाम्रो स्वागत गर्नुभयो । १ नम्बर प्रदेशका संयोजक प्रभुराम श्रेष्ठले ३ नम्बर प्रदेशका संयोजक राजु नेपाललाई हात मिलाएर यात्रा टोली हस्तान्तरण गर्नुभयो । डा. भट्टराईलागायत हामी सबैले पनि उहाँहरू दुईजनाको हातमाथी हात राखेर साथीहरूलाई साथ दियौं ।

हामी तीन नम्बर प्रदेश प्रवेशसँगै खम्बु संस्कृति छाडेर तामाङ संस्कृति भएको भूगोलमा प्रवेश गर्यौं । सिन्धुली जिल्लामा मात्रै तामाङहरूको जनसंख्या ३० प्रतिशतभन्दा बढी छ । धादिङ अर्थात बुढिगण्डकी नतर्दासम्म अब केही दिन हाम्रो टोली तामाङहरूको घनत्व रहेको भूगोलमा रहनेछ ।

गृह जिल्लामा पैदा भएको भावुकता

सिन्धुली मेरो गृह जिल्ला । समग्र टोली कमान्डको जिम्मा त थिदैथियो । अझ आफ्नो गृह जिल्लामा थप जिम्मा थपिएको महशुस भयो । विश्वदीपलगायतका भाइहरू मैले सुन्ने गरि अरूलाई भन्थे- यो गंगा दाइको जिल्ला हो.... । भाइहरूको भावना बुझेकै थिएँ । साँच्चै, आफू जन्मेको माटोमा पुगेपछि मान्छे भावुक हुँदोरहेछ । मभित्र पनि भावनाको छाल छचल्किरहेको थियो । सायद त्यसैले भनिएको होला- जननी जन्मभूमिश्च स्वर्गादपी गरियसी !

नारिमखोला, खाङ्साङ्बेशीहुँदै हामी ४:३० तिर च्याकुटार पुग्यौं । सुनकोसीको किनारमा अवस्थित यो ठाउँ पन्चायतकालदेखि एकछत्र कम्युनिस्टको गढ रहँदै आएको ठाउँ हो । २०७० को दोश्रो संविधानसभाको निर्वाचनमा म माओवादीको तर्फबाट सिन्धुली २ नम्बर क्षेत्रको उम्मेदवार थिएँ । त्यस चुनावमा यस गाउँबाट एकछापे भोट आएको थियो मलाई । अहिले पनि ब्यक्तिगत रूपमा असाध्यै माया र सम्मान गर्छन् । तर, कम्युनिस्ट छाडिस भनेर चित्त दुखाएका छन् । कम्युनिस्ट छाडेको होइन, कम्युनिस्टभन्दा अझ अघि बढेको हो भन्ने कुरा त्यति बिश्वास गरेका छैनन् । बिश्वास हुने गरि बात मार्न पनि पाइएको छैन । मलाई बिश्वास छ, अर्को चुनावसम्ममा फेरि मलाई एकछापे भोट हाल्नेछन ।

च्याकुटारबासी सबै सडकको एउटा होटलको फराकिलो प्राङ्गणमा जम्मा भएका रहेछन् । गाउँका बुढाबुढी, तरुनातन्नेरी, केटाकेटी सबै आए । कसैले आशीर्वाद दिए, कसैले गुनासो पोखे, कसैले माया खोजे । सारमा भन्दा सबैले बिश्वास गरे । डा. भट्टराईले संक्षिप्त सम्बोधन गर्नुभयो । हतारमा थियौं, तैपनि चिया बिस्कुट नखाई जान दिएनन् । चिया बिस्कुट खाएर बास बस्न ग्वाल्टार पुग्यौं ।

जिल्लाका साथीहरूले जनयुद्धलाई सम्झाउने गरि जनताको घर-घरमा बास र खानाको लागि संयुक्त मेस चलाएका रहेछन् । सुदिप कार्कीको घरमा संयुक्त मेस रहेछ । मेसमा खसीको मासु थपिथपी खान पाइने । विश्वदीप, मनोजलगायतका भाइहरू बन्दना (मेरो जीवनसँगिनी) तिर हेरेर मलाई जिस्क्याउँदै थिए- भाउजू ! यो गंगा दाइको जिल्ला हो है !

बाटोको कथा

सुत्नजानु अघि एकजना साथीले मध्यपहाडी लोकमार्ग सिन्धुलीबाट कसरी आयो भनेर पुरानो कथा कोट्याए ।

सिन्धुलीमा अहिले राष्ट्रियस्तरका तीनवटा मार्गहरू छन् । बनेपा-बर्दिबास विपी मार्ग, खुर्कोट-घुर्मी मध्यपहाडी पुष्पलाल मार्ग र हेटौंडा-चतरा गणेशमान मार्ग । एकदशक अघिसम्म सडक सन्जालको हिसाबले यो जिल्ला निकै बिकट थियो । तर अहिले पूर्वपश्चिम, उत्तरदक्षिण सबैतिर सडकको पहुँच छ । पछिल्लो समयमा सडक र शिक्षा क्षेत्रमा तीव्रतर विकास भएको जिल्लाहरूमध्ये सिन्धुली एउटा पनि हो ।

विपीमार्ग धमाधम निर्माण भइरहेको थियो । माओवादी जनयुद्ध उत्कर्षमा गइरहेको थियो । काभ्रेमा साथीहरूले भनेजति चन्दा नदिएको भन्दै बारम्बार निर्माण कार्य अबरुद्ध गर्नेगर्थे । यता सिन्धुलीमा भने एकदिन पनि मैले अबरुद्ध हुन दिइनँ । ट्यापेमुन्द्रेले अबरोध गर्न खोजे उनीहरूलाई ठीक पार्न ठेकदारलाई सहयोग गर्नेगर्थ्यौं । सायद त्यसैले होला तोकिएको समयसीमाभित्र प्रोजेक्ट सम्पन्न भयो । बाटोको स्तर पनि असाध्यै राम्रो भयो ।

सुनकोसी किनारैकिनार घुर्मिसम्म मोटरबाटो बनाउनुपर्छ भन्ने हुटहुटी हामीमा भित्रैदेखि जागेको थियो । जनयुद्धकालमै नाम्लोबरियो गाँसेर भीरपखेरा नाप्दै हिँड्यौं । हामीलाई प्राबिधिक ज्ञान केही थिएन । तैपनि जे जति जानेका थियौं, त्यति गर्दै गयौं । यही ग्वाल्टारका एकजना बाले त तिमीहरूले यहाँसम्म मोटरबाटो ल्यायौभने म खेत बेचेर मोटरसाइकल किनिदिन्छु भनेर हामीसँग बाजीनै थापे ।

२०६३ मा माओवादी पार्टीले मलाई अन्तरिम ब्यबस्थापिकाको विधायक बनायो । त्यसबेलाको विधायकको सम्मान र प्रतिष्ठा अहिलेको मन्त्रीकोभन्दा बढी थियो । काम लगाएपछि मन्त्रालयको सचीवदेखि सबै कर्मचारीले काम पूरा गर्थे । जनयुद्धकालमा नाम्लोबरियाले नाप्दै खन्न शुरु गरेको बाटो म विधायक भएपछि औपचारिक उद्घाटन गरेर खन्ने योजना बन्यो । बाराको डाँडाबाट पूर्वजाने बाटोको २०६३ सालमा औपचारिक शिलान्यास गरें मैले ।

पछि मध्यपहाडी लोकमार्गको अवधारणा बन्न थाल्यो । बाबुराम भट्टराई अर्थमन्त्रीछँदा २०६४-६५ को बजेटमा यस मार्गको औपचारिक नामाकरण भयो । यो बाटोको नाम मध्यपहाडी लोकमार्ग नराख्दै बाटो सिन्धुलीबाट लाने कि रामेछापबाट भन्ने ठूलो बहस भयो । हामी सिन्धुलीका बिधायकहरू सिन्धुलीबाट लैजानुपर्छ भनेर अड्डि कस्यौं, रामेछापका बिधायकहरूले पनि आफ्नै जिल्लाबाट लानुपर्छ भनेर अड्डि कस्नेनै भए । केही समय खुब रस्साकस्सी चल्यो । पछि सिन्धुलीबाटै लैजाने निर्णय भयो । जसको पछाडी मुख्यतः दुईवटा कारण थियो- पहिलो, सिन्धुलीतिर धमाधम ट्र्याक खनिदै थियोभने दोस्रो, हिसिला यमि भौतिक योजनामन्त्री हुनुहुन्थ्यो । जनयुद्धको मुख्य तूफानी केन्द्रमध्ये सिन्धुली पनि एउटा थियो । सुनकोसी किनारका कयौं बस्तीहरूबाट दर्जनौंले सहादतसमेत प्राप्त गर्नुभएको थियो । स्वाभाविक रूपमा हिसिलाजीमा भावनाले पनि काम गर्नेनै भयो ।

यदि म विधायक र हिसिला यमि मन्त्री नभएको भए यो बाटो रामेछापबाट जाने थियो । यो बाटोले अहिले सुनकोसी किनारको ६० किमिमा पर्ने बस्तिहरूको जीवनमा कायापलट नै ल्याएको छ । ग्वाल्टारका बाजि थाप्ने बालाई अहिले पनि हामी जिस्क्याउने गर्छौं- "खोइ त बा, मोटरसाइकल ?" बा बोल्नुहुन्न । तर बाको अनुहारमा अचम्मको उत्साह देखिन्छ । आफू जिम्मेवारीमा हुँदा जिल्लाका लागि गरेका कतिपय महत्त्वपूर्ण कामहरूमध्ये यो सडक पनि एउटा हो । आज विगतलाई फर्केर हेर्दा गौरवको अनुभूति हुन्छ ।

झन्डै रातको १२ बज्न थालिसकेको थियो । भोलि बिहानदेखि कार्यक्रम भएकोले साथीहरूसँग गफिने मन हुँदाहुँदै पनि सुत्यौं ।

क्रमशः

यो पनि-

जनसम्वाद डायरी- १ 

जनसम्वाद डायरी- २

जनसम्वाद डायरी- ३

जनसम्वाद डायरी - ४

जनसम्वाद डायरी- ५