जनसम्वाद डायरी - ७

- ५ वैशाख २०७६

 

आठौं दिन

शहीद भूमि सिन्धुली

सिन्धुली लामो राजनीतिक इतिहास बोकेको जिल्ला हो । विपी, गिरिजाहरूको पुर्ख्यौली थलो दुम्जा यही जिल्लामा पर्छ । बिराटनगर झर्नु अघि विपी कोइरालाका पिता कृष्णप्रसाद कोइराला यहीँ बस्थे । सायद त्यही कारण होला, जिल्लाका काँग्रेसहरू काँग्रेस हुनुमा गौरव गर्छन् । अर्कातिर कम्युनिस्ट पार्टीको स्थापनासँगसँगै बर्मामा जन्मिहुर्की शिक्षादीक्षा लिएर नेपाल पसेका एसबी राई (शेरबहादुर राई) ले ग्वाल्टारसँगै रहेको देउरालीटारमा बसेर कम्युनिस्ट विचारको बीउ रोपेका थिए । अहिलेसम्म आउँदा त्यही बीउ उम्री, हुर्की जिल्लाभरी फैलिएको छ ।

ग्वाल्टार र देउरालीटारको बीचमा बन्दिजोर खोला बग्छ । यी दुइटा टारमा बस्नेहरू बीच विचारमा कहिल्यै मेल भएन । खोलावारी देउरालीटारकाहरू जन्मजात कम्युनिस्ट अनि खोलापारी ग्वाल्टारकाहरू जन्मजात काँग्रेस । विचारको द्वन्द कहिले कुलोको पानीमा ब्यक्त हुन्थ्यो त कहिले बाटोमा । २०५४ सालमा कुलोको पानीको झगडामा ग्वाल्टारतिरका सन्तबहादुर माझीको ज्याननै गएको थियो ।

सबभन्दा रमाइलो त चुनावमा हुन्छ, ग्वाल्टारतिरको मत झन्नै एकछापे काँग्रेसमा र देउरालीटारतिरको मत एकछापे कम्युनिस्टमा जान्छ । देरालीटारतिर नेवार समुदायको घनत्व छ्भने ग्वाल्टारतिर बाहुनहरूको । दुबै टारका मानिसहरू आर्थिक हिसाबले मध्यम बर्गीय छनभने शैक्षिक हिसाबले सबै शिक्षित छन् । फेरि पनि विचारको कुरा आएपछि दुबै टारका ती शिक्षित मनुवाहरूले छेपारोले धुरिखाँबो समाएझैँ आ-आफ्नो खाँबो समाउँछन ।

देउरालीटार नजिकै बलेनीमा सार्कीहरूको ठूलो बस्ती छ । यस बस्तीमा पनि कम्युनिस्टहरूको जबर्जस्ती प्रभाव छ । जनयुद्धताका यस गाउँको नामनै माओवादी गाउँ थियो । यहाँका अगुवा ढुण्डिराज सार्की त शहीदनै हुनुभयो । सुनकोसी किनाराका सबै बस्तिहरू सुख्खा छ । सुनकोसी आफ्नै लयमा सुसाउँदै समुन्द्र भेट्न कतै उत्ताल छालमय वेगमा त कतै शान्त गतिमा निरन्तर बगिरहन्छ । किनारका बस्तिहरू सुनकोसीको नीलो पानी हेर्दै काकाकुल जीवन बिताउन विवश छन । कहिलेकाही कोसी बहुलाएर बस्तीमा बालुवा ल्याएर थुपारिदिन्छ । तर पनि बस्तिको न तिर्खा मेटिन्छ, न प्यासको पीडा कम हुन्छ ।

ग्वाल्टारमा सिन्धुलीकै प्रथम सहिद बाबुराम बरालको शालिक चिटिक्क परेको पार्कसहित भर्खरै स्थापना गरिएको छ । २००८ सालमा दिल्ली सम्झौताको बिरोधमा आफ्ना विचार राखेवापत बरालले रौतहट जिल्लामा जीवन बलिदान गर्नुपरेको थियो । त्यतिबेला बराल जम्मा २० बर्षको मात्रै हुनुहुन्थ्यो । पार्टिगत आवद्धताको हिसाबले उहाँ नेपाली काँग्रेसमा हुनुहुन्थ्यो । त्यसैले आज पनि काँग्रेसका साथीहरू बाबुराम बराललाई काँग्रेसको सहिद भन्न मन पराउनुहुन्छ । यहि ग्वाल्टारसँग जोडिएको मुर्किबेशी छ । त्यहाँ जनयुद्धबेला २०५९ सालमा रामबहादुर श्रेष्ठ, कुमार घिमिरे, पुष्पबहादु्र आले मगर, अर्जुन कार्की, शंकर कार्कीले सहादत प्राप्त गर्नुभएको थियो । ती ५ जना शहीदलाई माओवादीहरू आफ्नो पार्टीको शहीद भन्नुहुन्छ ।

कम्युनिस्ट आन्दोलनकै एक शिखर ब्यक्तित्व ऋषि देवकोटा "आजाद" अनि उहाँका सहयोद्धाद्वय दुर्गा सुवेदी र दलबहादुर रजन मगरले पन्चायतकालमा सहादत प्राप्त गर्नुभयो । काँग्रेसले उहाँहरूलाई सहिद मान्ने कुरै भएन, कम्युनिस्टहरू भित्र पनि आ-आफ्नो घटकको शहीदको रूपमा आजसम्म पनि यी तीन शहीदलाई तानातान गर्छन् । दुर्गा सुवेदी नाताले मेरो ससुरा अनि २०५९ सालमा सर्लाहीको तोरिबारीमा सहादत प्राप्त गर्नुभएको टीका श्रेष्ठ नाताले मेरो सहोदर भाइ । जिल्लाका कम्युनिस्ट साथीहरू मुख अमिलो पारेर मेरो नाकको टुप्पोमा चोरिऔंला ठड्याउँदै भन्छन् - "नातामा मात्रै तपाईँको ससुरो र भाइ । उहाँहरू अब तपाईंको पार्टीको सहिद होइन ।" अचम्म पर्छु म यी साथीहरूको कुरा सुन्दा ।

साँच्चै, अचम्मका छन् हाम्रा देशका नेताहरू । अनि यी नेताहरूका स्कूलिङ्बाट जन्मिएका चेलाहरू । सहिद कुनै पार्टी बिशेषको हुन्छ र ? जात र समुदाय बिशेषको हुन्छ र ? देश, जनता र अग्रगमनको लागि आफ्नो जीवनको बलिदान गर्ने मान्छेहरू तल्काल आवद्धताको हिसाबले कुनै पार्टीका हुनसक्छन । जात र समुदायका हुनसक्छन् । तर ती महान मान्छेहरू कुनै पार्टी अनि जात र समुदाय बिशेषको हुँदैनन् । उनीहरू त देश र जनताका हुन्छन् ।

सिन्धुलीमा गरिएको ग्वाल्टार र बोहरेटारको कार्यक्रममा पार्टिगत संकीर्णता राम्रैसँग प्रतिबिम्बित भएको अनुभूति भयो । खोइ, यो जडता र संकीर्णताबाट कहिले हामी माथि उठ्नेहोला ? समयमै सोंच्ने कि ? जनयुद्धमा मात्र १६९ जनाले सहादत प्राप्त गरेको यस शहीदभूमि सिन्धुली, लामो राजनीतिक विरासत बोकेको एतिहासिकभूमि सिन्धुली । सबैले गौरव गरिरहेको गौरवशाली सिन्धुली । वर्तमानलाई पनि विगतजतिकै गौरवशाली बनाउन सिन्धुलीका हामी सबै मिलेर गहिरो मन्थन गर्ने कि ?

दिउँसो १२ बजेदेखि रामेछापको मन्थलीमा कार्यक्रम थियो । २ नम्बर प्रदेशबाट ८ वटा सुमो गाडीमा आउनुभएको रामरिझन यादव, सुशील यादवलगायत ६० जनाभन्दा बढी साथीहरू मन्थलीको कार्यक्रममा पनि जानेहुनुभयो । बाटोमा २० वटाभन्दा बढी गाडीको ताँती देखेर बाटो वरपरका मान्छेहरू छक्क परेर हेरिरहेका थिए । मलाई पनि एकदम असहज महशुस भैरहेको थियो । तर प्रशान्तजी भन्दै हुनुहुन्थ्यो- "राजनीति आदर्श र निष्ठा त हुँदै हो, त्यसको साथसाथै शक्ति पनि हो ।" उहाँको कुरा सुनेर मन चङ्गा भयो ।

मन्थलीको मर्म

 

निर्धारित समयमै टोली रामेछापको मन्थली पुग्यो । समयमै कार्यक्रम शुरू भयो । हलमा सहभागीहरू नअटाएर बाहिर बरन्डामा पनि खचाखच थियो । मेयर रमेश कार्कीले मन्थलीलाई शैक्षिक हबको रूपमा विकास गर्ने योजना रहेको बताउनु भयो । डा. भट्टराईले मन्थली शहरको इन्जिनियरिंग (नक्साङ्कन) गरेको स्मरण गर्दै आफूले सोचेजस्तो शहर नबनेकोमा चित्त पनि दुखाउनुभयो । उहाँले रामेछाप कृषिको लागि उपयुक्त नरहेकोले यस जिल्लालाई सेवामुखि उद्योगमा जोड गर्नुपर्ने कुरा सुझाउनु भयो । साथै मेयर कार्कीको कुरामा समर्थन जनाउँदै आफुले सकेको सहयोग गर्ने वाचा पनि गर्नुभयो ।

सहभागीहरूले डा.भट्टराईलाई निक्कै पेचिला राजनीतिक प्रश्नहरूद्वारा प्रहार गरे । राजनीतिको मूलधारबाट चिप्लिएर घरको न घाटको बनेको आरोप लगाए । डा. भट्टराईले पनि जमेर जवाफ फर्काउनु भयो । नयाँ कुराको खोज अनुसन्धान पुरानै मूलधारमा बसेर संभव नहुने जिकिर गर्दै भट्टराईले आफू जीवनमा तेश्रोचोटी "बहुलाएको" घोषणा गर्नुभयो । पहिलोपटक पन्चायतबिरूध्द लड्दा, दोश्रोपटक जनयुद्ध गर्दा र अहिले तेस्रोपटक विकास र समृद्धिको लागि नयाँ शक्ति खोल्दा । पहिलोपटक बहुलाउँदा पन्चायत गयो, दोश्रोपटक बहुलाउँदा गणतन्त्र आयो तेस्रोपटक बहुलाएको छु, अब विकास र समृद्धि ल्याउँछु ।

मन्थलीको कार्यक्रम साँच्चै नै रोचक र फलदायी भयो ।

खुर्कोटको पुरानै कुरा

सुनकोसी किनारामा रहेको खुर्कोट मध्यपहाडी लोकमार्गअन्तर्गत १० आधुनिक शहर बनाउने घोषणा भएको ठाउँ हो । शहरको लागि ठाउँ अलि साँगुरो भए पनि यो ठाउँ निक्कै रणनीतिक ठाउँ हो । मध्यपहाडी लोकमार्ग र विपीमार्ग यहीँबाट छुट्टिन्छ । सुनकोसी तरेर उत्तर लागेपछि दोलखा लामामगर हुँदै चीन जाने र विपीमार्ग भएर दक्षिण लागेपछि महोत्तरी जलेश्वरहुँदै भारत जान पनि नजिक पर्छ । पूर्वपश्चिम, उत्तरदक्षिण सबैतिरको केन्द्र पर्छ खुर्कोट । सुनकोसी र तामाकोसीको सङ्गम यहीँ नजिकै छ । तर पानीको अभाव भने यहाँ पनि उस्तैछ ।

झन्नै डेढमहिना अघि खोटाङ जानेक्रममा खुर्कोटमा डा. भट्टराईले स्थानीयहरूलाई सम्बोधन गर्नुभएको थियो । तसर्थ, यसपालि यहाँ कार्यक्रम राखिएको थिएन । तर रामबाबु थापालगायत साथीहरूले जनता जम्मा भइसकेका छन् । छोटो सम्बोधन गर्नुपर्छ भनेपछि डा. भट्टराईले संक्षिप्त सम्बोधन गर्नुभयो । स्थानीयहरूले उहि पुरानै कुरा दोहोर्‍याए- पुस्तौंदेखिको राजगुठीको समस्या । आधुनिक शहर निर्माणको पूर्वाधार नबनेको समस्या । पानीको समस्या आदि । समाधानको लागि पहल गर्ने प्रतिबद्धतासहित हाम्रो टोली आजको मुकाम बोहरेटारतिर लाग्यो ।

हिजोको ग्वाल्टार मोडेलमै रहेछ सबै कुरा । टोली सबैलाई जनताको घरमा सुत्ने मिलाएको रहेछ । मेसभने हिजोजस्तै संयुक्त थियो । हिजोजस्तै खसीको मासुभात थियो ।

नवौं दिन

शहीद परिवारसँग भेटघाट

मुरली अछामीका ४ छोरा र ३ छोरीमध्ये जनयुद्धमा मन्जु र निर्मलाको सहादत भयो । जेठो छोरो गोपि अछामी बालबाल बाँचे । माओवादी सरकारमा खेलकुद राज्यमन्त्री बने । पुरै परिवारनै राजनीतिमा होमिए । बुढेसकालमा बुढाबुढी घर रूघिरहेका छन् । बिहान कार्यक्रम शुरू हुनु अघि डा. भट्टराई, हिसिला यमि र म शहीदका मातापितालाई भेट्न गयौं । नजिकै सहिद अप्सरा श्रेष्ठको घर थियो । तर, घरमा कोही नभएकाले घरपरिवारको कोहिसँग पनि भेटघाट हुन पाएन ।

असारे काका उर्फ ईश्वरी दहालको गाउँ एकताका एकदमै चर्चामा थियो । यो गाउँले नेपालको राजनीतिक परिवर्तनमा ठूलो योगदान पुर्याएको छ । यहि गाउँकी आमा सीता दहालले तीन भाइ छोरा मीनकुमार दहाल, पवन दहाल र भगवान दहाललाई गुमाएर कोखनै रित्तो बनाउनु भएकोछ । यस्ता महान आमाहरूलाई राज्यले उच्च सम्मानसहित उचित ब्यबस्थापन गर्न नसक्दा कष्टकर जीवन बाँच्न वाध्य छन् । कुनैबेलाको चर्चित गाउँ नाङ्गेडाँडा अहिले साँच्चै नाङ्गो बनेको छ । गाउँमा कुनै आकर्षण छैन, फुङ्ग उडेको रातोमाटो र केही थान निराश मनहरू मात्रै छन् ।

ग्वाल्टार र देउरालीटारकै नियति

 

 

ग्वाल्टार र देउरालीटारजस्तै यहाँ पनि झाङ्गाझोली रातमाटा बजार र गुठ बजारलाई छुट्ट्याउने कालिमाटी खोला छ । केही बर्ष अघिसम्म गुठ बजार एकछापे कम्युनिस्ट हो भने रातमाटा बजार एकछापे काँग्रेस । ग्वाल्टार र देउरालीटारजस्तै यी दुई बजारले पनि विचारको कुरा आएपछि पानी बाराबार गर्थे । तर आजकाल कमी भएको छ । तर पनि अझै संकीर्णता मात्रा खासै कम भएको छैन ।

शैक्षिक र आर्थिक अवस्था ग्वाल्टार र देउरालीटारजस्तै भए पनि काठमाण्डौंसँगको पहुँचभने ग्वाल्टार र देउरालीटारभन्दा यताको बढी छ । ३ घन्टामा आरामले काठमाण्डौं आइपुगिन्छ । सायद त्यसैले होला शहरीकरण ग्वाल्टार र देउरालीटारभन्दा यहाँ तीव्र गतिमा भैरहेको छ । ग्वाल्टार र देउरालीटारजस्तै यहाँ पनि उब्जाउयोग्य जमिन जति प्रायः सबै बाहुन र नेवारको स्वामित्वमा छ्भने अलि पाखातिर दलितहरू छन् । सार्कीको छोरा गोपि अछामी राज्यमन्त्री भएपछि यहाँका बाहुन, नेवारहरूलाई स्वीकार गर्न गाह्राे परेको थियो ।

यो सुनकोसी गाउँपालिका हो । यहाँ गाउँपालिका प्रमुखमा नेकपाले जितेको छ । पूर्व पार्टीको नाम लिने होभने माओवादीले जितेको छ । कार्यक्रममा आएका कतिपयले भने- नयाँ शक्तिको कार्यक्रममा नजानु भनेर पालिका प्रमुखले भन्नुभएको थियो । जे सुकै गरोस् हामी त आयौं ।" सबै कुरा बुझेपछि आधाघन्टा ढिलो गरि कार्यक्रम शुरू गर्यौं । कार्यक्रममा सोचेजस्तो सहभागिता नभए पनि उल्लेख्य संख्यामा उपस्थिति भयो । कार्यक्रम सोचेभन्दा राम्रो भयो ।

जे होस्, अवसर प्राप्त गरेपछि मान्छेले उन्नतिको बाटो अँगाल्दो रहेछ । विपी र मध्यपहाडी मार्ग सुचारु भएपछि होटेलहरू मात्रै सयौंको संख्यामा यी मार्गहरूमा खुलेका छन् । बिदेश गएका युवाहरू फर्किएर आएका छन् । कतिपय बसाइँ सरेर गएकाहरू समेत फर्किएर आएका छन् । एक नम्बर प्रदेशमा देखिएको बसाइँ सराइ र युवा पलायनको समस्या सिन्धुलीमा आएपछि एकदमै कम देखिन्छ । न्यूनतम सेवा, सुविधा र अवसर राज्यले उपलब्ध गराउने होभने बाँकी काम सबै नागरिकले गर्दा रहेछन् भन्ने कुरा सिन्धुलीले पुष्टि गर्यो ।

काभ्रेपलान्चोक प्रवेश

नार्के पुल । जनयुद्धताका खुब चर्चित थियो यो पुल । जनमुक्ति सेना र तत्कालीन शाही नेपाली सेनाबीच ठूलो भिडन्त भएको थियो यस पुलमा । झन्नै शतप्रतिशत तामाङ बस्ती भएको ठाउँ हो नार्के । युवा नेता सोनाम छेवाङ्गजी लागायत साथीहरू खाना तयार गरेर पर्खिरहनु भएको रहेछ । खाना खाएपछि २८५५ औं सोनाम लोछारको शुभकामनासहित नार्केबासीलाई संक्षिप्त सम्बोधन गर्नुभयो डा. भट्टराईले ।

हिसिलाजीलाई तामाङ पहिरन पहिर्याएर दुरूस्तै तामाङनी जस्तो बनाएका थिए स्थानीय तामाङ महिलाहरूले । हिसिलाजी नजिक आएर बस्दा डा. भट्टराई झुक्किएर झस्किनु भयो । सबै हलल्ल्ल हाँसे । डा. भट्टराईलाई पनि तामाङ टोपी लगाइदिएर झन्नै तामाङजस्तै बनाए । भट्टराई दम्पती तामाङजस्तै देखिनु भयो । गणेश गुरुङले यहि मौकामा एउटा गीत गाउनु भयो । युवायुवती, बुढाबुढी सबै गणेशजीको गीतमा झुमे, नाचे । त्यसपछि हामी भकुण्डेबेशीतिर लाग्यौं ।

नमोबुद्ध नगरपालिकाअन्तर्गत भकुन्डेबेशीमा आयोजित "संघीयताको कार्यान्वयन, ३ नम्बर प्रदेशको नामाकरण र राजधानी" बिषयक अन्तरकृया कार्यक्रम भब्य रूपमा सम्पन्न भयो । नगरपालिकाका मेयर टिपी शर्मा र नेपाली काँग्रेसका जिल्ला सचिबले पार्टीभन्दा माथि उठेर आफ्नो विचार राख्नुभयो । हाम्रो पार्टीका तीन नम्बर प्रदेश इन्चार्ज सोनामसिं स्याङतानले पनि आफ्नो विचार सशक्त रूपमा राख्नुभयो । डा. भट्टराईले अन्तमा अन्तरक्रियाको निश्कर्ष तीन बुँदामा राख्नुभयो-


१) संघीयता सहि ढंगले कार्यान्वयन हुन नसकेको ।
२) प्रदेशको नामाकरण सांस्कृतिक पहिचानको आधारमा हुनुपर्ने
३) राजधानी काभ्रेको बनेपा धुलिखेललाई बेस बनाएर राख्नुपर्ने

कार्यक्रम सकेर हामी धुलिखेल हुँदै बास बस्न बानियाँडिही पुग्यौं । स्थानीयहरूको सहभागिता बाक्लो थियो । पूर्व संविधानसभा सदस्य तथा काभ्रेका नेता अक्कल बहादुर थिङ्गले जनसमुदायलाई सम्बोधन गर्नुपर्छ भन्नुभयो । रात परिसकेको थियो । डा. भट्टराईले अध्यँरोको पर्वाह नगरी उपस्थित जनसमुदायलाई सम्बोधन गर्नुभयो । मौसम चिसिरहेको थियो । त्यसैले ढिला नगरी हामी बासस्थान तिर लाग्यौं ।

दशौं दिन

पाँचखालको पहिचान तरकारी

यात्राको दसौं दिन । काभ्रेको पाँचखालस्थित सर्वमङगला क्याम्पसमा विद्यार्थीहरूसँग आकर्षक अन्तरक्रिया भयो । रातिदेखि परेको पानीले वातावरणमा निकै चिसो थपेको थियो । वरिपरिको अग्ला डाँडाहरूमा हिउँ परेको खबर आइरहेको थियो । कार्यक्रम चलिरहँदा पनि सिमसिम पानी रोकिएन । आयोजकहरू पानीको कारण सहभागितामा ठूलो असर परेको गुनासो गरिरहेका थिए । तैपनि हलभरी मान्छेहरू खचाखच थिए । काठमाण्डौं, ललितपुर, भक्तपुरबाट पनि साथीहरू कार्यक्रममा सहभागी हुन आइपुग्नु भयो । विद्यार्थीहरूको उपस्थिति अधीक भएकोले डा. भट्टराईले शिक्षा सम्बन्धि कुराहरू मात्रै राख्नुभयो ।

क्याम्पसको कार्यक्रम सकेर तामाघाट हुँदै पाँचखालको मध्य बजारमा गएर कफी खायौं । सिमसिम पानी परिरहेकै थियो । चिसोले मुटु नचिमोटे पनि छाला चिमोटिरहेको थियो । कफी पिएपछी जिउ तातिएको अनुभव भयो । पाँचखाल नपा कार्यालयमा मेयर महेश खरेललगायत स्थानीय जनसमुदाय हाम्रो प्रतीक्षामा आधाघन्टादेखि पानीको पर्वाह नगरी कुरिरहेको खबर कफी पिउँदानै आइसकेको थियो । हतारहतार कफि पिएर नपा कार्यालयमा गयौं ।

डा. भट्टराईलाई मेयरले नपाको तर्फबाट सम्मान गर्नुभयो । मेयर खरेलले सरकारमा भिजिनरी नेता नभएकोले दुईतिहाई भएर पनि सरकारले समृद्धिको पक्षमा काम गर्न नसकेको गुनासो गर्दै डा. भट्टराईजस्तो नेता सरकारमा हुनुपर्ने धारणा राख्नुभयो । सत्ताधारी पार्टीका मेयर साबको कुरा सुनेर अचम्म लाग्यो । स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि सबै पार्टीका हनुमान मात्रै रहेनछन् भन्ने लाग्यो ।

पाँचखाल तरकारी पकेट क्षेत्र । एकपटक सन्चारमाध्याममा पाँचखालको तरकारी बिषादियुक्त भएकालेे स्वास्थ्यका लागि सबैभन्दा हानिकारक रहेको खबर आएको थियो । बिषादी प्रयोगकै कारण पाँचखालमा सबैभन्दा बढी क्यान्सर रोगीहरू रहेको तथ्यांक पनि सार्बजनिक भएको थियो । सरकारले यसको कुनै जवाफ दिएन । सत्यतथ्य के हो ? थाहा भएन । यदि यो सत्य होभने स्थानीय सरकार गम्भीर बन्नु आवश्यक छ । स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने बिषादियुक्त तरकारी उत्पादन गर्नुभन्दा बिस्तारै अर्गानिक खेती गर्नेतर्फ किसानहरूलाई उत्प्रेरित गर्नु धेरै राम्रो हुनेछ ।

ईन्द्रावतीको दोहन

पानी रोकिने छेकछन्द थिएन । सिन्धुपाल्चोकको मेलम्चीमा कार्यक्रम सकेर बेलुका जसरी पनि काठमाण्डौं पुग्ने शेडुअल थियो । मेलम्चीतिर लागेपछि बाटोको दुर्दशा शुरू भयो । कुन्ताबेशीसम्म बाटो ठिकै थियो । कुन्ताबेशी कटेर इन्द्रावती निस्केपछि टुव्हीलर गाडीहरू हिलोमा फनफनी नाच्न लाग्यो । उपत्यकाबाट आउनु भएका साथीहरूको गाडी प्रायः सबै टुव्हीलर थियो । घरी छेउ र घरी भित्ता गर्दै नचाउँदै साथीहरूले गाडी जसोतसो मेलम्ची पुर्याउनु भयो ।

ईन्द्रावती नदीमा जताततै क्रसर सन्चालन गरेको देखियो । सिन्धुपाल्चोकका संयोजक भीम पराजुली भन्दै हुनुहुन्थ्यो- "यो सबै क्रसरहरू सत्ताधारीहरूका आफन्त, भाइ भतिजहरूले सत्ताको बलमा जबर्जस्ती चलाइरहेका छन् । वातावरणीय प्रदुषण भनिसाध्यै छैन । नदी आफ्नो वहावमा बग्नु पाएको छैन । यस्तै ताल हुने होभने अब केही बर्षमा ईन्द्रावती पानीविनाको बगर मात्र बाँकी रहन्छ ।" यस्तो अत्याचारको बिरूद्ध पार्टीको तर्फबाट केही पहल गर्न भीमजीलाई भन्यौं ।

चिसो मेलम्चीमा न्यानो माया

हल्का पानी परिरहेको थियो । चिसो निक्कै बढेको थियो । कार्यक्रम हल सानो थियो । एकतिहाई सहभागीहरू हलमा अटेनन । बाहिरै उभेर कार्यक्रम सुने । जिल्लाको समृद्धिको बारेमा बहस केन्द्रित भएको थियो । समृद्धिको मुख्य आधार पर्यटन र चीनसँगको ब्यापार हुने कुरा सहभागीहरूले बताइरहेका थिए । तातोपानी नाका बन्द भएपछि ब्यापारमा ठूलो समस्या आएको गुनासो सर्वत्र सुनिन्थ्यो । नाका चाँडै खोल्न पहल गरिदिन डा. भट्टराईलाई बिशेष अनुरोध गरिरहेका थिए ।

मनि र मसल्सको बलमा नेताहरूले यस जिल्लाबाट चुनाव जित्ने गरेको गुनासो अधिकांश सहभागीहरूको थियो । कतिपय सहभागीहरू खस्याकखुसुक गर्दै थिए- "हुन त नेताहरूलाई के दोष दिनु, २-४ सय पैसा र २-४ चोक्टा मासुमा भोट बेच्ने हामी जनता पो बेकुफ त ! अब आउने चुनावमा चाहिँ भोट बेच्न हुन्न है साथी हो ।"

डा. भट्टराईले मनि र मसल्सवाला नेताहरू जुनसुकै पार्टीको भए पनि बहिष्कार गर्नुपर्ने कुरा राख्नुभयो । समृद्धिको सम्भावना बोकेको सिन्धुपाल्चोकलाई आफू र आफ्नो पार्टीले सकेको सहयोग गर्ने प्रतिवद्धता पनि ब्यक्त गर्नुभयो ।

मेलम्चीको पानीको बारेमा खासै चर्चा भएन । २०४६ को जनआन्दोलनपछि भएको निर्वाचनमा कृष्णप्रसाद भट्टराईले मेलम्चीको पानी ल्याएर काठमाण्डौं धुने भाषण गरेको पनि २५ बर्ष भैसक्यो । पानी ल्याउन नपाई बुढा आफैँ स्वर्गतिर उकालो लागे । माथिबाटै काकाकुल काठमाण्डौलाई हेरेर बुढा दिक्क मान्दा हुन् ।

कम्युनिस्ट सरकार बनेमा तुरुन्तै मेलम्ची काठमाण्डौं भित्र्याउने वाचा गरेका थिए नेताहरूले । सरकार मात्रै बनेन, इतिहासमै पहिलोपटक दुईतिहाईको कम्युनिस्ट सरकार बन्यो । आजै आयो, अहिल्यै आयो जसरी केही समय बेस्सरी हल्ला पिटाए । गएको दशैंमा ग्यारेन्टी भने । तर अर्को दशैं आउनेबेला भैसक्यो । पानी आउने अत्तोपत्तो छैन । खानेपानी मन्त्रीले भने अनुसार ठेकदारबाट पैसा नपाएपछि ठेक्कानै रद्द गरेको समाचार हटकेक बनिरहेको छ । साँच्चै, काठमाण्डौंको लागि मेलम्ची मृगतृष्णा मात्रै बन्छ कि के हो ? सर्वत्र शंका बढिरहेको छ ।

चिसोचिसो मेलम्चीमा न्यानोन्यानो माया दिने सम्पूर्ण मेलम्चीबासीलाई मनैदेखि धन्यवाद दिँदै लब्सेफेदी, साँखुको बाटो झम्झम झरिको पर्वाह नगरी काठमाण्डौं फर्कियौं । भोलि एकदिन रेस्ट छ । पर्सि हिँडेपछि झुलाघाट पुगेर मात्र फर्कने योजना छ ।

क्रमशः

यो पनि-

जनसम्वाद डायरी- १ 

जनसम्वाद डायरी- २

जनसम्वाद डायरी- ३

जनसम्वाद डायरी - ४

जनसम्वाद डायरी- ५

 जनसम्वाद डायरी- ६