जनसम्वाद डायरी - ८

- १० वैशाख २०७६

बाह्रौं दिन

बेग्लै देखिएको बट्टार बजार

२६ गते बिहान ९ बजे नुवाकोटको छहरेमा कार्यक्रम थियो । तीनदिनदेखि लगातार भइरहेको बर्षा र हिमपातको कारण टोखा-गुर्जु भन्ज्याङ्ग हुँदै छहरे जान नसक्ने खबर आयो । अब हाम्रो अगाडि गल्छी-बट्टारको बाटो मात्रै विकल्प थियो । किनकि, नागार्जुन-ककनीको बाटो पनि बर्षाद् र हिमपातको कारण जान सम्भव थिएन ।

सिन्धुलीको खुर्कोटबाट नै हामीले मध्यपहाडीको बाटो छाडेका थियौं । किनकि, त्यहाँबाट कतिपय ठाउँमा ट्र्याक नै खुलेको छैन । सिन्धुलीको खुर्कोटबाट रामेछापको राकाथुम, चौरिखोला, कलौदि भन्ज्याङ्गहुँदै काभ्रेको दोलालघाटसम्मको ९८ किमि बाटोको ट्र्याक कतिपय ठाउँमा अझै खुल्न बाँकीनै छ । त्यस्तै दोलालघाट, बाहुनेपाटी, पातिभन्ज्याङ्ग, छहरेहुँदै बिदुर पुग्ने ९३ किमि बाटोमा पनि कतिपय ठाउँमा मोटर गुड्न सक्दैन । त्यसैले हामी सिन्धुलीको खुर्कोटदेखि नुवाकोट बिदुरसम्मको १९१ किमि मध्यपहाडी लोकमार्गको बाटो हिँड्न सकेनौं ।

छहरेको कार्यक्रम क्यान्सिल गरेर साथीहरू बिदुरमा आउँने र हामी पनि काठमाण्डौंबाट गल्छीहुँदै सिधै बिदुर जाने सल्लाह बमोजिम डा. भट्टराईलगायत हाम्रो टीम बिहान ७ बजे बिदुरतिर हिँड्यो । हिँड्दा काठमाण्डौंमा झमझम पानी परिरहेको थियो । विश्वदीप पाण्डे र मनोज ढोडारीको ठाउँमा दुई भाइ खतिवडा डम्बर र सुदर्शन आउनुभएको थियोभने भीम पराजुलीको ठाउँमा रमेश पोखरेल आउनु भयो ।

हामी बिहान १० बजे नुवाकोट सदरमुकाम बट्टार बजार पुग्यौं । तीनदिनदेखी लगातार परेको पानी रोकिएर वातावरण छ्याङ्ग खुलेको थियो । दर्जनौं पटक यस बट्टार बजार आएँहुँला, तर यसपालिजस्तो सुन्दर कहिल्यै देखेको थिइनँ । न त कतै कुनै डाँडामा हुस्सुको बथान थियो न त कतै आकाशमा एकरूना बादल । जता हेर्‍यो उतै खुल्ला । खुला आकास, खुला धर्ती अनि हामी खुला मान्छे । वा ! क्या मज्जा !! अनि क्या आनन्द !!!

 

हिमाल रसुवाबाट सर्दैसर्दै बट्टार नजिकै डाँडामा आइपुगेको थियो । वरिपरि डाँडाका हरिया जंगलले आफ्नो रंग परिवर्तन गरेर सेता पछ्यौरा ओढेझैँ लाग्थ्यो । साँच्चै सुन्दर देखिएको थियो नुवाकोट र अलि पारिपट्टीको रसुवा । मर्नेबेलामा पृथ्वीनारायण शाहले बट्टार नजिकैको देवीघाट त्यसै रोजेका होइन रहेछन् । हुन त उनले दिव्योपदेश पनि यहीँ नुवाकोट दरबारबाटै दिएका थिए ।

दिउँसो जिल्ला समन्वय समितिको हलमा कार्यक्रम शुरु भयो । दर्शक दीर्घा र अतिथि दीर्घा सबैतिर खचाखच उपस्थिति । नुवाकोट जिल्ला समन्वय समितिका सभापति सन्तमान तामाङले निक्कै समय लिएर जिल्लामा भएका समस्याहरूको बेलिबिस्तार लगाउनुभयो । नुवाकोट दशकौंसम्म एकछ्त्र अर्थमन्त्रालयको नेतृत्व गर्ने अवसर प्राप्त गरेको जिल्ला । सिंहदरबार नजिकैको जिल्ला । शक्तिशाली नेताहरूको जिल्ला । तर फेरि बिकासको सुचाकाङ्क हेर्यो अरु जिल्ला जस्तो यो पनि उस्तै । अझ बत्तिमुनिको अँध्यारोजस्तो ।

सामरिभन्ज्याङ्गको चिसो सिरेटो

आजको बास सामारिभन्ज्याङ्ग थियो । सेड्युल अनुसार बीचमा कार्यक्रम थिएन । तर जिल्लाका साथीहरूले देउडी र कागुने दुई ठाउँमा स-सानो कार्यक्रम राखेको कुरा बाटैमा थाहा पाएँ । चिसो बढिरहेको थियो । कागुनेको कार्यक्रम सक्दा नै अँध्यारो बाक्लिसकेको थियो । मेरो लागि यो बाटो नितान्त नयाँ थियो । हिलाम्मे चिप्लो बाटोमा चिप्लदैँ बल्लतल्ल सामरिभन्ज्याङ्ग पुग्यौं ।

नयाँ ठाउँ त्यसमाथि अँध्यारो । बजार र भूगोलको बारेमा केही थाहा भएन । सेकेन्ड नथामिएर चिसो सिरेटो चल्याचल्यै गर्दोरहेछ । कहिलेकाही सिरेटोले उग्ररूप धारण गर्दा हाम्रो सास बन्दहोला जस्तो हुन्थ्यो । अँध्यारो भएर होला, एकघन्टासम्म सडकमा उभदा पनि सुत्ने ठाउँ पत्ता लागेन । सबै सामान एउटै सुट्केसमा भएकोले सुट्केस निक्कै गह्रुङ्गो थियो । साथीहरूले गह्रुङ्गो सुट्केस बोकाएर निछाम्म अन्धकारमा पहिले ओह्रालो झारे, पछि फेरि ठाडै उकालो चढाए । बल्लतल्ल बासबस्ने घरमा पुर्याए ।

घरबेटी अच्छाका रहेछन् । उमेरले ३० नकाटेका, तर अनुभवले परिपक्व । सानै उमेरमा घर छाडेर हिँडेका रहेछन् । धेरै दु:ख पाएछन । दुःखले सानै उमेरमा धेरै सिकेछन । राम्रै कमाएछ्न । आफ्नै कमाइले आफ्नै गाउँ फर्किएर चिटिक्कको घर बनाएछ्न । ग्रील उद्योगको मालिक भएछन् । नयाँ घरमा प्रशस्त ओढ्नेओछ्याउने सहित आरामसँग रात काटियो ।

तेह्रौं दिन

सामरिको सौर्न्दर्य र इतिहास

बिहानैदेखि छ्याङ्ग आकाश खुलेको थियो । सामरिभन्ज्याङ्गको पारि भित्तामा झुल्किएको घाम केहिबेरमै सामरिबजार प्रवेश गर्‍यो । "अब चिन्ता गर्नुपर्दैन । म तिमीहरू बसेको आँगनमै आएपुगें," भन्दै सूर्यनारायण सबको आँगनआँगनमा पुगे । ए गाँठे ! तै पनि जाडो कम भए पो त । दाँत कटकटाउने चिसो । यस्तो चिसो त च्याङ्थापुमा पनि लागेको थिएन । चिसो वातावरणमा जब स्याँठ चल्छ, तब मान्छे फ्रीज होला जस्तो हुँदोरहेछ । अम्बिका रायमाझी दिदी भन्दै हुनुहुन्थ्यो- "भाइ ! सामरीको चिसोको चर्चा त काठमान्डौंमा पनि हुनेगर्छ ।"

राती अँध्यारोमा केही भेउ नपाएको सामरी भौगोलिक रूपमा साँच्चै सुन्दर र सामरिक महत्त्वको रहेछ । नुवाकोट कब्जा गर्न आउँदा पृथ्वीनारायण शाहका सेनाहरू यहि भञ्ज्याङ्गमा लुकेर बसेका रहेछन् । यहाँ टक्सार भन्ने ठाउँ पनि रहेछ । पृथ्वीनारायणका सेनाहरूले यहीँ बसेर टकमारिको काम पनि गरेका हुनाले यसको नामनै सामरी टक्सार बनेको रहेछ । साँच्चै एतिहासिक महत्वको ठाउँ रहेछ सामरिभन्ज्याङ्ग ।

स्कूलको प्राङ्गण र सार्वजनिक कार्यक्रमहरू गर्ने सार्वजनिक स्थल एउटै रहेछ । राजन बम हाम्रो यस टीमको कलाकार र अभियन्ता समेत हुनुहुन्छ, उहाँको घर यहीँ थियो । उहाँ भन्दै हुनुहुन्थ्यो- सबै पार्टीले कार्यक्रम गर्ने ठाउँ नै यहि हो । सामरिमा अर्को ठाउँनै छैन ।" तर हामीले मानेनौं । अन्तमा, कार्यक्रम स्थलमा ब्यानर नटाग्ने र बक्ताहरूले शैक्षिक र नैतिक कुराहरू मात्र गर्ने समझदारी गर्यौं ।

आज वसन्तपन्चमी अर्थात् सरस्वती पूजा । स्कूलका विद्यार्थीहरू पूजाका सामाग्री बोकेर स्कुल भवनसँगै जोडिएको सरस्वती मन्दिरमा पूजा गर्न लाइन लागे । झन्नै आधाघन्टामा ३०० जति विद्यार्थीहरूले पूजाआराधना गरिभ्याए । स्मृतिमा स्कूले जीवन ताजा भएर आयो । पूजा सकिएपछि सबै विद्यार्थीहरू यहीँ बसे । कक्षाका उत्कृष्ट विद्यार्थीहरूलाई प्रोत्साहनस्वरूप विभिन्न पुरस्कारहरूको ब्यवस्था गरेको रहेछ । नुवाकोट संयोजक भीमलाल तामाङले आफ्नोतर्फबाट बिद्यार्थीहरूलाई कपी वितरणको ब्यबस्था गर्नुभएको रहेछ ।

पूजा सकिएपछि कार्यक्रम शुरू भयो । स्कूलको हेडमास्टर खड्का थरको मगर हुनुहुँदोरहेछ । खड्का थरको मगर हुन्छ भन्ने कुरा कमै मान्छेलाई मात्रै थाहा छ । तर इतिहासले भन्छ, शाहा वंशले गोरखाको लिगलिगकोट र गोरखा (हालको सदरमुकाम रहेको) कब्जा गर्नुभन्दा पहिला लिगलिगकोटमा घले मगर र गोरखामा खडका मगरको राज्य थियो । द्रब्य शाहले राज्य कब्जा गरेपछि त्यहाँबाट लखेटिएका खडका मगरका सन्तान थिए यी हेडमास्टर । कार्यक्रममा भीमलालजीले आफ्नो स्कूले जीवनको एकदमै मार्मिक कुराहरू सुनाएर विद्यार्थीलाई मोटिभेसन गर्नुभयो । विद्यार्थीहरूलाई कपी पनि वितरण गर्नुभयो । डा. भट्टराईले पनि आफ्नो विद्यार्थी जीवन सम्झदै विद्यार्थीहरूलाई एकदमै अभिप्रेरणात्मक प्रवचन दिनुभयो । एसएलसीमा बोर्ड फस्ट गरेपछि आइएस्सी पढ्न काठमाण्डौं जाँदा २०२६ सालमा यहि सामारिमा बास बसेर गएको कुरा पनि सुनाउनुभयो । पुराना दिनहरू सम्झिरहँदा डा. भट्टराई निक्कै भावुक देखिनु भएको थियो ।

नुवाकोटको अन्तिम कार्यक्रम थियो, विन्दुकेशर माविमा । यहाँ पनि डा. भट्टराईले विद्यार्थीमाझ सामरिमा जस्तै प्रवचन दिनुपर्ने माँग स्कूलको थियो । तर समयको कारण त्यो सम्भव थिएन । तैपनि डा. भट्टराईले विद्यार्थीहरूमाझ संक्षिप्त प्रवचन दिनुभयो ।

भर्‍याङभुरुङमा भेटिए धादिङका साथीहरू

नुवाकोट र धादिङलाई थोपल खोलाले छुट्याउँदो रहेछ । यस क्षेत्रलाई भर्‍याङभुरुङ भनेर चिनिदो रहेछ । यहाँको लागि निक्कै चर्चित नाम रहेछ यो । "भर्‍याङभुरुङ" मलाई भने यो शब्द सुनेरै अचम्म लाग्यो । कसरी रहन गयोहोला यो नाम ? मैले धादिङका तीनजना केन्द्रीय नेताहरू राजु नेपाल, डा. भरत सिंखडा र सुदर्शन खतिवडासँग यसको बारेमा बुझ्न खोजें । तर उहाँहरूले पनि चित्त बुझ्ने गरि बुझाउन सक्नुभएन ।

थोपल खोला तारेर धादिङका साथीहरूहरूलाई टोलि जिम्मा लगाएपछि नुवाकोटका साथीहरू फर्कनुभयो । हामी थोपल खोलालाई तलै छाडेर ठाडै उकालो लाग्यौं । सेमजोङमा साथीहरू अघिदेखि पर्खिरहनु भएको थियो । निक्कै अप्ठ्यारो र साँगुरो बाटो छिचोल्दै तामाङहरूको बसोबास रहेको सेमजोङ पुयौं ।

सेमजोङको उचाइ ठ्याक्कै त थाहा भएन । चिसोभने यहाँ पनि धेरैनै थियो । स्थानीय तामाङ युवायुवतीहरू आफ्नै भेषभुषामा सजिएर गाउँको वल्लोछेउदेखि सिङ्गै गाउँ घुमाउँदै गाउँको पल्लोछेउ जहाँ कार्यक्रम स्थल थियो, सम्म हाम्रो टोलिलाई गीतसङ्गीतले स्वागत गर्दै पुर्याएका थिए । कार्यक्रममा सहभागीहरूको संख्या निक्कै उल्लेख्य थियो । जिल्ला संयोजक तथा पूर्व संविधानसभा सदस्य बीरबहादुर तामाङ त्यहाँका तामाङ समुदायमा असाध्यै लोकप्रिय रहेछन् । गएको स्थानीय निर्वाचनमा थोरै भोटले मात्र पराजित भएका सुकराम तामाङ यस क्षेत्रको सम्भावित नेताको रूपमा उदाइरहेको कुरा धेरैले सुनाए ।

सेम्जोङ कुनै समय तामाङ राज्यको राजधानी र त्यहाँका राजाहरु वाइवा थिए रे । दरबारको भग्नावशेष अझै बाँकी रहेकोे कुरा सुनिए पनि देख्न भने पाइएन । भाषा, संस्कृतिका धनी तामाङहरू शैक्षिक र आर्थिक रूपमा भने कमजोर देखियो । डा. भट्टराईले इन्द्रेणी राष्ट्रवादविना देशमा समृद्धि सम्भव नभएको कुरा बोलिरहँदा सहभागीहरूबीचमा तलीले वातावरण गुन्जायमान बनिरहेको थियो ।

कटुन्जेको उत्साह

सेमजोङको कार्यक्रम सकेर हामी कुन्डलादेवी मावीतिर ओह्रालो झर्यौं । डा. भट्टराईले विद्यार्थीहरूमाझ छोटो प्रवचन दिनुभयो । त्यसपछि हामी आजको अन्तिम र मुख्य कार्यक्रम स्थल नेत्रावती गापाको कटुन्जेमा पुग्यौं । मान्छेहरूको सहभागिता देखेर अचम्म लाग्यो । सहभागीहरू यति खुसी थिएकि, हुलकाहुल युवायुवतीहरू मात्र नभएर बृद्धबृद्धाहरूसमेत कम्मर मर्काइमर्काई नाच्नथाले । हुँदाहुँदा त एकजना ९० काटेको बा थपक्क लौरो भुइँमा राखेर सबलाई आश्चर्यमा पार्ने गरि टप्पाको नाच्नु भयो । यस कार्यक्रममा रामरिझन सरले भाषणमा निक्कै ताली बटुल्नु भयो । साच्चै यादगार रह्यो, कटुन्जेको कार्यक्रम ।

बेलुकाको बास खहरे थियो । त्यसपछि हामी खहरेको लागि हिँड्यौं । एउटा सानो डाँडो कटेपछी ठाडै ओरालो झर्नु पर्दो रहेछ । बाबा ! यति अप्ठेरो बाटो त जीवनमै हिँडियोहोला सायद । मुटुले ठाउँ नै छाड्ने । प्रशान्तजीको ड्राइभिङ र आत्माविश्वासलाई चाहिँ मान्नै पर्छ । हामी सिटमा बसेकाहरू डरले लगलगी हुँदा पनि प्रशान्तजी चाहिँ आनन्दले स्टेरिङ घुमाइरहनुहुन्थ्यो ।

खहरे पुग्दा रातको झन्नै ८ बजेको थियो । शारीरिक र मानसिक दुबै रूपमा थकान अनुभव भयो आज । पूर्व माओवादीहरूको एकछत्र वर्चस्व भएको ठाउँ होभन्दा पनि हुन्छ खहरेलाई । भोलिको कार्यक्रम कस्तो होला ? साथीहरू चिन्ता गर्दै थिए । म भने जस्तो पर्छ, त्यस्तै टर्छ भन्ने सोंचसहित सुतें ।

चौधौं दिन

 

वाई वाई तीन नम्बर प्रदेश

आँखुखहरे गज्जबको उब्जाउयोग्य फाँट रहेछ । नाम धेरै सुने पनि आउने अवसर जुरेको थिएन । कल्पना धमला भन्दै हुनुहुन्थ्यो- "मैले एसएलसी यहीँबाट बाट गरेकी हूँ नि दाइ ।" राजु नेपाल, रिम बस्याल, बिष्णु सापकोटा, डा. भरत सिंखडा, नारायण तिवारीको गृह जिल्ला । साथीहरू कार्यक्रमको तयारी गर्दै हुनुहुन्थ्यो । खहरेको भित्तामा दलित बस्ती रहेछ । कार्यक्रम शुरू हुनुभन्दा अघि दलित बस्ती जाने कुरा भयो ।

निक्कै भिरालो परेको जमिनमा स-साना झुप्राहरू झुरूप्प रहेछ । ६ रोपनी जमिनमा १८ घरका १८० जना शिल्पीहरू बसोबास गर्ने यस बस्तीलाई कामी बस्तीको नामले चिनिदो रहेछ ।

परम्परागत आरनमा बनाएको हातहतियारनै जीवन चलाउने मुख्य आधार रहेछ यस बस्तीको । निक्कै कष्टकर जीवन जिउन विवश यहाँका शिल्पीहरूलाई सरकारले अलि राम्रो ठाउँमा स्थानन्तरण गरि पेशामा आधुनिकीकरण गर्न सहयोग गर्नुपर्ने देखियो । समाजमा यी शिल्पीहरूलाई अरु सरह सम्मान र सहयोग गर्न समाजको पनि दायित्व हो । समाजका अगुवाहरूले बुझ्नुपर्यो, कामी भनेको अछुत होइन, काम गर्नेहरू कामी हुन् ।

 

बजारमा राम्रै कार्यक्रम भयो । बुढिगण्डकीमा ड्याम बाँधेपछि खहरे पनि डुवानमा पर्नेरहेछ । सरकारले चित्तबुझ्दो मुआब्जा नदिएको गुनासो स्थानीयहरूको थियो । जनतालाई जोगी बनाएर देश कसरी धनी हुन्छ ? कतिपयको यस्तो तर्क पनि सुनियो । डा. भट्टराई प्रधानमन्त्री हुँदा यसलाई राष्ट्रिय गौरवको आयोजनाको रूपमा अघि बढाएको प्रोजेक्ट भएको हुनाले पनि डा. भट्टराईप्रति जनताको अलि बढी सुझाव, गुनासो हुनेनै भयो ।

यहाँको कार्यक्रम सकेर नेपालकै सबैभन्दा चर्चित टार सल्यानटार पुग्यौं । बाल्यकालमा रेडियो नेपालबाट ‘पालुङटारको साँढेले सल्यानटारको बिउ खायो’ बोलको गीत खुब सुनिन्थ्यो । यस गीतको पृष्ठभूमि आजसम्म पनि थाहा पाउन सकिएन । धादिङे साथीहरूले पनि बताउन सक्नुभएन । बिशाल टार तर पुरै सुख्खा । बुढापाका भन्दैथिए- सिंचाइको ब्यबस्था हुने होभने यहि टारले पलिदिन्छ धादिङलाई । बुढिगण्डकी आयोजनाले यस टारलाई पनि प्रत्यक्ष असर पुर्याउने भएकोले यहाँका जनताको पनि चासो, चिन्ता खहरेको जस्तै थियो ।

सल्यानटारको कार्यक्रम तीन नम्बर प्रदेशको अन्तिम तथा ६७ औं कार्यक्रम थियो । आजबाट हाम्रो टोली ४ नम्बर प्रदेशको गोरखा पुग्दै थियो । गोरखा डा. भट्टराईको गृह जिल्ला । देशभरिमा एउटै जिल्लामा प्रतिनिधिसभामा एक र प्रदेशसभामा एक प्रत्यक्षतर्फ चुनाव जितेको जिल्ला । हामी सबैलाई अलि बढीनै चासो हुनु स्वाभाविक थियो ।

हामी ४ बजे बुढिगण्डकी तर्दा प्रदेश इन्चार्ज रुद्र गुरुङ, संयोजक देवी सुवेदी, प्रवाश प्रदेश इन्चार्ज देबेन्द्र पराजुली, जिल्ला संयोजक ज्ञानेन्द्र कुमाललगायतका साथीहरू स्वागतका लागि पुलको मुखमा जम्मा भैसक्नु भएको रहेछ । एक नम्बर प्रदेशबाट तीन नम्बर प्रदेश प्रवेश गर्दा बहादुरा खोलामा जसरी प्रभुरामजीले राजुजीलाई टोलि हस्तान्तरण गर्नुभएको थियो, त्यस्तै गरी राजुजीले देवी सुवेदीजीलाई टोली हस्तान्तरण गर्नुभयो । तीन नम्बर प्रदेशका इन्चार्ज सोनामसिं स्याङ्तान, संयोजक राजु नेपाललगायत केही बाहेक अरु सबै साथीहरू यहीँबाट फर्कनुभयो ।

आजको हाम्रो मुकाम आरुघाट बजार थियो । हामी पुलदेखिनै पैदलै आरुघाट बजार पुग्यौं । असाध्यै धेरै नाम सुनेको बजार तर पहिलोपटक पाइला टेक्दै थिएँ । यो बजारसँग प्रचण्ड र बाबुरामको नाम खुब जोडिएर आउँथ्यो । कम्युनिस्ट स्कूलिङमा हुर्किएर पनि होला, यो बजारको नाम धेरै पहिलेदेखिनै कण्ठस्थै थियो ।

क्रमशः

यो पनि-

जनसम्वाद डायरी- १ 

जनसम्वाद डायरी- २

जनसम्वाद डायरी- ३

जनसम्वाद डायरी - ४

जनसम्वाद डायरी- ५

 जनसम्वाद डायरी- ६

जनसम्वाद डायरी - ७