" /> जनसम्वाद डायरी - ९ | नयाँ शक्ति नेपाल

जनसम्वाद डायरी - ९

- १६ वैशाख २०७६

पन्ध्रौं दिन

आरूघाट हुँदै पालुङटार

भिमोदय बहुमुखी क्याम्पसको प्राङ्गणमा आयोजित सम्मान कार्यक्रम सकेर आरुघाट बजारमा अर्को खुल्ला जनसम्वाद भयो । सहभागी सबैको एउटै चिन्ता र चासो थियो- बुढिगण्डकी परियोजनाबाट प्रत्यक्ष असर पुग्ने यस आरुघाट बजारको ब्यवस्थापन कसरी हुन्छ ? परियोजनाबारे जानकारहरू भन्दैथिए- "ड्याम पूरा भएपछि फेवातालभन्दा १६ गुणा ठूलो ताल बन्छ यहाँ । यो आरुघाट बजार पुरै डुबानमा पर्छ ।"

डा. भट्टराई प्रधानमन्त्री हुनुभएको बेला राष्ट्रिय गौरवको आयोजनामा राखी नेपालीको आफ्नै लगानीमा बनाउने भनिए पनि यस आयोजनामा कमिशनको खेलले गर्दा आयोजनाले खास गति लिन सकेको छैन । आयोजनामा अनावश्यक राजनीति भैरहेको छ । कांग्रेस यो आयोजना भारतलाई सुम्पन चाहान्छ्भने नेकपा चीनलाई । देउवा सरकारले भारतलाई दिने निर्णय गर्‍योभने ओली सरकारले निर्णय उल्टाएर चिनियाँ कम्पनी गेजुवालाई दिने निर्णय गर्‍यो । कमिशनको लागि नेताहरू देश बेच्न पनि तयार हुन्छन् भन्ने उदाहरण हो यो परियोजना ।

डा. भट्टराईले कुनै पनि मूल्यमा यो योजना पूरा गराईछाड्ने प्रतिबद्धता गर्दै आरुघाटलगायतका जनताले सरकारलाई खबरदारी गर्दै आयोजना पूरा गर्न सहयोग गर्नुपर्ने कुरा राख्नुभयो । उहाँले सरकारले प्रशस्त मुआब्जा दिनुपर्ने र प्रभावित क्षेत्रबाट स्थानान्तरण गरिएका जनताहरूको सुरक्षित बस्ती र ब्यबस्थित जीवनका लागि सरकारले जिम्मा लिनुपर्ने कुरा पनि राख्नुभयो । त्यसका लागि सरकारलाई भन्ने र प्रतिनिधिसभामा थप कुरा राख्ने प्रतिबद्धता पनि गर्नुभयो ।

सिन्धुली र गोरखा राजनीतिक आवद्धता र स्कूलिङ्को आधारमा उस्तैउस्तै लाग्छ । पहिलो शक्ति कम्युनिस्ट दोश्रो कांग्रेस । कम्युनिस्टमा पनि पूर्व एमाले होइन, पूर्व माओवादी । प्रत्येक ब्यक्ति कुनै न कुनै पार्टीमा आबद्ध छन् । स्वतन्त्र ब्यक्ति पाउनै गाह्रो यी जिल्लाहरूमा । राजनीति धेरै बुझेको छु भन्छन् तर सारै संकीर्ण । आफ्नै पार्टी राम्रो, आफ्नै नेता महान, आफूले बुझेको कुरानै अन्तिम सत्य । हो, यस्तै प्रवृत्ति हावी छ, यी जिल्लाहरूमा । साथीहरूले घ्याम्पेसालको रमाइलो घटना सुनाउँदै थिए- "यो घ्याम्पेसाल कांग्रेसको गढ हो । यहाँ अघिल्लो चुनावमा बाबुराम भट्टराई चुनाव प्रचारमा आउने थाहा पाएपछि बजारै बन्द गरेर सबै पिकनिक खान गएका थिए । तर यसपालि चुनावमा कांग्रेससँग मिलेर लडेकोले होला, आज कार्यक्रममा भने सबै आएछन है !"

घ्याम्पेसाल, मसेल, चोरकाटेलगायतका ठाउँहरूमा कार्यक्रम गर्दै साँझ बास बस्न पालुङटार पुग्यौं । अँध्यारो बाक्लो भए पनि साथीहरूको ब्यवस्थित ब्यवस्थापनले गर्दा अँध्यारोमा कतै अलमलिनु परेन । पालुङटार नपाका वडाध्यक्ष दीपक पाण्डेको घरमा प्रशान्त, डम्बर, रमेश, बीरेन्द्र, मलागायतलाई बस्नेखाने मिलाएको रहेछ । साह्रै उर्जाशील र कृयाशील युवा दीपक पाण्डे । बेलुका अशोक देवकोटा पनि आइपुग्नुभयो । युवा साथीहरूको जोशीला कुरा राति अबेरसम्म सुन्यौं । दीपकजीको आमा र श्रीमती पनि असाध्यै राजनीतिक सुझबुझ राख्नुहुँदो रहेछ । पारिवारिक वातावरणमा रात बितायौं ।

सोह्रौं दिन

जनयुद्ध दिवसमा पालुङटार

आज फाल्गुन १ गते अर्थात् २३ औं जनयुद्ध दिवस । जनयुद्धको एक तूफानीकेन्द्र गोरखाको पालुङटारमा पुगेका छौं । यसलाई संयोगनै मान्नुपर्छ । बाबुरामको गृहथलो । प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव जितेको क्षेत्र । आजको दिन बिशेष दिन थियो बाबुराम भट्टराईका लागि । किनकि, गोरखा हिजो जनयुद्धको एक तूफानीकेन्द्र, आज नयाँ शक्तिको एक आधार क्षेत्र, हिजो जनयुद्धको एक प्रमुख नेता, आज नयाँ शक्तिको जन्मदाता र प्रमुख नेता । भट्टराईमाथि हिजो र आजको भूमिकाबारे प्रश्न उठ्नेवालानै थियो । जसको जवाफ डा. भट्टराईले कसरी दिनुहोला ? सबैको मनमा कौतूहलता थियो ।

कार्यक्रम शुरू भयो । डम्बरजीले जोडदार भाषण गर्नुभयो । खुब ताली र प्रशंसा बटुल्नुभयो । केही बर्षभित्र प्रचण्ड रूँदैरूँदै बाबुरामको शरणमा आउने जीकिर गर्नुभयो । पालुङटार नपाका मेयर दीपकबाबू कडेलले खास राजनीतिक भाषण गर्नुभएन । पालुङटारको बिकासमा केन्द्रित रहेर आफ्नो मन्तव्य राख्नुभयो । निर्धारित समयभन्दा झन्नै एकघण्टा ढिलो भैसकेको थियो डा. भट्टराईले सम्बोधन शुरू गर्दा । उहाँले २३ औं जनयुद्ध दिवसको शुभकामना दिँदै आफ्नो कुरा शुरू गर्नुभयो ।

"जनयुद्ध कसैको रूमानी रहर नभएर ऎतिहासिक आवश्यकता थियो । र, आज नयाँ शक्ति पनि कसैको रूमानी रहर नभएर ऎतिहासिक आवश्यकता हो । ब्यवस्था परिवर्तनको लडाइँ संसारमा प्रायः हिंसात्मक हुनेगरेको र नेपालमा पनि हिंसात्मक लडाइँ भएको तर अबको अवस्था फेर्ने लडाइँ हिंसात्मक नहुने तर निक्कै कठिन हुने कुरा पनि डा. भट्टराईले बताउनुभयो । आफूले हिजो जानिबुझिकन इमान्दारिपूर्वक जनयुद्धको नेतृत्व गरेको र आज पनि जानिबुझिकन नयाँ शक्तिको नेतृत्व गरिरहेको कुरा बताउनुभयो । माओवादी पार्टीलाई नयाँ युगको नेतृत्व गर्ने पार्टी बनाउँभन्दा प्रचण्डले नमानेपछि आफू नयाँ शक्ति पार्टी बनाउन वाध्य भएको भन्दै प्रचण्डसँग ब्यक्तिगत रूपमा आफ्नो केही गुनासो नरहेको कुरा पनि बताउनुभयो ।

डा. भट्टराईले शान्ति प्रक्रियाका बाँकी कामहरू तुरुन्त पूरा गरि देशमा स्थायी शान्तिको वातावरण बनाउनमा सरकार र प्रतिपक्ष दुबै उदासिन रहेको कुरा पनि बताउनुभयो । माओवादी पार्टी छाडेर कम्युनिस्ट बिचार, दर्शन त्यागेको; जनतालाई धोखा दिएको, शहीदको अपमान गरेकोजस्ता आरोपको खण्डन गर्दै डा. भट्टराईले भन्नुभयो, द्वन्द्ववादको मुख्य चुरोनै ब्रह्माण्डका हरेक कुरा परिवर्तनशील छ भन्ने हो । कम्युनिस्ट दर्शनले एतिहासिक द्वन्द्वात्मक भौतिकवादलाई आफ्नो मुख्य दर्शन मान्छ । त्यही दर्शनका अनुयायीहरू सबैभन्दा जड, यान्त्रिक व्यबहार गर्छन् । ब्रह्माण्डका हरेक कुरा परिवर्तनशील छ भने बिचार, दर्शन चाहिँ कसरी अपरिबर्तनशील हुन्छ ? नेपालका कम्युनिस्टहरू विचारमा जड र व्यबहारमा ढोंगी छन् । मैले बिचार र दर्शन त्यागेको होइन, त्यसको बिकासमा ईमानदार भएर प्रयत्न गरेको हुँ ।

जहाँसम्म जनतालाई धोखा दिएको, शहीदको अपमान गरेको भन्ने कुरा छ, यस्तो कुरा बाबुराम भट्टराईले कल्पनासम्म गर्न सक्दैन । माओवादी बिचार, दर्शनको त्यत्रो माया भएको भए प्रचण्डजीले माओवादी पार्टीलाई किन एमालेमा लगेर विलय गराउनुभयो ? माओवादी पार्टीलाई एमालेमा विलय गराउनेले जनतालाई धोखा र शहीदलाई अपमान गरेका हुन् कि अब अघि बढेर देश र जनताको बिकास र समृद्धिको नेतृत्व गरौं भन्ने बाबुरामले जनता र शहीदलाई धोखा दिएका हुन् ? तपाईंहरूनै भन्नुस् अगाडि बढ्नु राम्रो हो कि पछाडि फर्कनु राम्रो हो ? फैसला गर्ने जिम्मा तपाईंहरूलाई भयो ।

म हिजो माओवादी थिएँ । मैले जनयुद्धको नेतृत्व गरेकै हुँ । कतिपय कमिकमजोरीको वावजुद जनयुद्ध नेपालको इतिहास बदल्ने एउटा महान परिघटना हो । यसमा मलाई गौरव छ । शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न इमानदारीपूर्वक लाग्नेछु । मैदान छाडेर भाग्नेछैन । जनयुद्धको जिम्मा म लिन्छु ।"

डा. भट्टराईले मन्तव्यको क्रममा धेरै कुराहरू राख्नुभयो । गोरखाको योजनाबद्ध बिकासमा आफू अहोरात्र लागिरहेको र लागिरहने प्रतिबद्धता व्यक्त गरिरहँदा कार्यक्रम स्थल तालिले गुन्जायमान भएको थियो । पृथ्वीनारायण शाहादेखि बाबुराम भट्टराईसम्म आइपुग्दा गोरखाले ठुलाठुला सहासिक र भिजिनरी नेताहरू जन्माए । पृथ्वीनारायण शाहाको राज्यबिस्तार अभियान अन्ततः परिणाममा राज्य एकीकरण बन्न पुग्यो । एकीकृत सामन्ती राज्यलाई संघीय गणतन्त्रसम्म ल्याउन रोडम्याप तयार गर्ने र नेतृत्व गर्ने एक कुशल इन्जिनियर र नेता पनि गोरखालेनै जन्मायो । आज उनै नेता नेपाललाई २५ बर्षभित्र संसारको बिकसित र समृद्ध देशको हाराहारीमा पुर्‍याउने संकल्पसहित अगाडि बढिरहेको छ । आधुनिक नेपाल निर्माणदेखि समृद्ध नेपाल निर्माणसम्म गोरखाको योगदान अतुलनीय रहनेछ । सलाम गोरखालाई !

माओवादी र पालुङटार बैठक

तत्कालीन माओवादी पार्टी र यस पालुङटार अबिभाज्यरूपमा जोडिएको छ । माओवादी पार्टीको २०६७ मंसिरमा केन्द्रीय समितिको बिस्तारित बैठक यहि पालुङटारमा सम्पन्न भएको थियो । झन्डै ५ हजारको संख्यामा देशभरिका नेताहरू उपस्थित यो बैठक बिना निश्कर्ष टुंगिएको थियो । माओवादी पार्टीको मात्र नभएर देशकै लागि सर्बाधिक महत्व राख्ने चुनवाङ बैठकजस्तै यस बैठकलाई पनि एतिहासिक बनाउन सकिन्थ्यो । खासगरी मुख्य नेतृत्व प्रचण्डको ढुलमुलको कारण त्यो बैठक निश्कर्षबिना टुंगिएको थियो ।

यस बैठकमा प्रचण्ड, बाबुराम र किरणले अलगअलग दस्तावेज प्रस्तुत गर्नुभएको थियो । बाबुराम र किरणको कुरा प्रष्ट थियो । तर प्रचण्डको यो पनि ठीक त्यो पनि ठीक भन्नेखालको बीचको थियो । बाबुरामको डकुमेन्टको सार थियो- तत्काल बिद्रोहद्वारा सत्ताकब्जा गर्न संभव छैन, संभव भयो नै भने पनि त्यसको स्थायित्व हुँदैन । तसर्थ, संविधानसभाबाट संविधान बनाएर जानुपर्छ । शक्ति संचय गर्नुपर्छ ।" त्यस्तै किरणको डकुमेन्टको निश्कर्ष थियो- लोकतान्त्रिक गणतन्त्र र संविधानसभाको बाटो संशोधनवादी बाटो हो । तसर्थ, बिद्रोहको तयारी गर्नुपर्छ । बलपूर्वक सत्ता कब्जा गर्नुपर्छ ।" तर प्रचण्डको डकुमेन्टले न त प्रष्ट रूपमा संविधानसभाबाट संविधान बनाएर जाने कुरा गरेको थियो न त बिद्रोह गर्ने कुरा नै । पुरै सारसंग्रहवादी डकुमेन्ट थियो प्रचण्डको ।

 

अनौपचारिक छलफलमा प्रचण्ड भन्नुहुन्थ्यो- "लाइनको हिसाबले बाबुरामजीले भनेकै कुरा ठीक हो तर अहिले यसलाई पार्टीको आधिकारिक लाइन बनाएर जाने होभने किरणजीहरूले पार्टी फुटाएर जानुहुन्छ ।" किरणजीहरूलाई रोक्ने नाममा प्रचण्डले बैठकमा भन्नुभयो- " किरणजी र बाबुरामजीसँगको मेरो सम्बन्धको कुरा गर्दा किरणजीसँग सधैं एकता प्रधान र बाबुरामजीसँग संघर्ष प्रधान रह्यो ।" बच्चालाई ललिपप देखाएर फकाएझैं तत्काललाई त किरणजीहरूलाई फकाउनु भयो । तर त्यसको परिणाम आखिर के आयो ?

बाबुरामजीको लाइनमा पार्टी गएको भए पहिलो संविधानसभाबाट असी प्रतिशत माओवादी एजेन्डा बोकेको संविधान बन्थ्यो । संविधानको स्वामित्व माओवादीले लिन्थ्यो । झन्नै दस हजार सेना समायोजन हुन्थ्यो । स्थानीय तहको निर्वाचनमा जताततै चुनाव जित्थ्यो । प्रदेश र प्रतिनिधि सभाको चुनावमा सकेसम्म दुईतिहाई नभए पनि सबैभन्दा ठूलो पार्टी बन्थ्यो । पार्टी पनि फुट्दैनथ्यो । फुटे पनि सानो चोइटो मात्रै चोइटिन्थ्यो । पार्टीका हजारौं कार्यकर्त्ताहरूलाई काम दिन सकिन्थ्यो । उनीहरूको उर्जा देश बिकासमा लगाउन सकिन्थ्यो । सबैको ब्यवस्थापन सहिरूपमा गर्न सकिन्थ्यो । देश स्थायी शान्तिको बाटोतिर हिन्थ्यो । त्यसैको जगमा देशलाई बिकास र समृद्धिको मूल बाटोमा तीब्रतर गतिमा हिँडाउन सकिन्थ्यो ।

तर बिडम्बना ! प्रचण्डले न त किरणजीहरूलाई रोक्न सक्नु भयो, न त बिद्रोह गर्न सक्नु भयो, न त पहिलो संविधानसभाबाट संविधान बनाउन सक्नुभयो । आखिर हेर्दाहेर्दै झन्डैझन्डै सबै कुरा गुमाउनु भयो । आखिर अहिले आएर आफैँले नेतृत्व गरेको जनयुद्ध आफैँलाई जिन्दगीभरी तर्साउने छायाजस्तो बनेकोछ । भाग्दाभाग्दै एमालेको आँगनमा पुग्नुभएकोछ । हेर्दै जाउँ अझै कहाँसम्म पुग्नुहुन्छ ?

देशको जिम्मा लिएका नेताहरूले आफूलाई कहिल्यै ब्यक्तिको रूपमा हेर्नुहुन्न । किनकि, उनीहरू ब्यक्ति होइन, संस्था हो । हेर्दा सानो गल्ती लाग्नसक्छ, तर त्यसबाट कति भयानक परिणाम आउँछ । नेताहरूले निर्णय लिनुअघि हजारचोटि सोंच्नुपर्छ । प्रचण्डले विगतमा गरेको गल्तीको कारण आज लाखौं मान्छेमा निराशा, आक्रोश पैदा भएको छ्भने देश दशकौं पछि पर्ने खतरा बढेर गएकोछ ।

बाई बाई पालुङटार

पालुङटारको कार्यक्रम सकेर हामी तनहुँको पुर्कोटस्थित बाइसजाँगर पुग्यौं । त्यहाँ संक्षिप्त कोणसभा भयो । झ्वाट्ट सुन्दा यस ठाउँको नाम बाइसजँघार जस्तो लाग्छ । तर जँघार होइन, जाँगर रहेछ । के के थिए होलान् त ती बाइसजाँगर ? समयको कारण केही बुझ्न पाइएन । मनमा खुल्दुली बोकेर लमजुङको राइनास तीनपिप्लेमा पुग्यौं । तीनपिप्लेमा जनताको उपस्थिति अनपेक्षित थियो । सहभागीहरू चौरमा नअटेर बाटाबाटामा पनि उभिएर ध्यानपूर्वक कार्यक्रम सुनिरहेका थिए ।

बासबस्न सुन्दर बजार पुग्नुथियो । कार्यक्रम सकिने बित्तिकै खोटाङमा भुटेको मकैभटमास गाडी गाडीमा चपाउँदै सुन्दर बजारतिर हान्नियौं । साँझमा सुन्दर बजार पुग्यौं । रमेशजीको स्वास्थ्यमा समस्या आएको कारण उहाँ पोखरातिर लाग्नुभयो । हाम्रो टोलीलाई मध्यमर्स्याङ्दी हाइड्रोपावरको गेस्टहाउसमा खानबस्न मिलाएको रहेछ । आरामसँग रात बितायौं ।

सत्रौं दिन

सुन्दर बजारको सुन्दरता

लमजुङमा यति उर्बर र सुन्दर फाँटहरू होलान् भन्ने सोचेको थिइनँ । जता हेर्‍यो त्यतै हरिया उर्बर सुन्दर फाँटहरू । यहाँका सुन्दर फाँटहरूले सारै मन लोभ्यायो । मध्यपहाडी लोकमार्गको काम पनि तीब्र गतिमा भैरहेको रहेछ । कालोपत्रे गर्न तयारी अवस्थामा देखियो यहाँका धेरैजसो बाटाहरू । स्थानीयहरू भन्दैथिए- हाम्रो लागि जापान, अमेरिका, सिङ्गापुर यहि ठाउँ बन्दैछ अब । काठमाण्डौ त हाम्रो लागि केही होइन । अहिलेनै काठमाण्डौंको भन्दा महङ्गो छ यहाँको जग्गा ।" आफ्नो गाउँठाउँप्रति मान्छेमा आएको जागरण हेर्दा देश बिकास गर्न धेरै समय कुर्नुपर्ला जस्तो लागेन । असाध्यै खुसी लाग्यो ।

लमजुङ कृषि क्याम्पसको गेस्टहाउसमा मदन दाइ हिजैदेखि बस्नुभएको छ । आज बिहान डा. भट्टराईले कृषि क्याम्पसका विद्यार्थीहरूसँग अन्तरक्रिया गर्ने कार्यक्रम अनुसार बिहान सात बजे क्याम्पसमा अन्तरक्रिया भयो । हामीभने गएनौं । क्याम्पसको बाहिरी वातावरण हेर्ने र बुझ्ने मौका पायौं । क्याम्पसको भौतिक पूर्वाधार र ब्यवस्थापन एकदम लथालिङ्ग देखियो । यस्तो लथालिङ्ग ब्यवस्थापन भएको क्याम्पसले कसरी गुणस्तरीय जनशक्ति उत्पादन गर्नसक्ला ? मनमा चिसो पस्यो ।

विद्यार्थीहरूसँगको अन्तरक्रिया सकेर क्याम्पस गेट अगाडि पिपल चौतारीमा जम्मा भएका स्थानीयहरूलाई डा.भट्टराईले संक्षिप्त सम्बोधन गरेपछि बिहानको खाना खायौं । खानापश्चात हामी पुनः तनहुँ तर्यौं । मानेचौका भन्ने ठाउँमा त्रिभुवन उच्च मावि र क्याम्पस संगसंगै रहेछ । हामी पुग्दा हलमा मान्छे खचाखच भरिएको थियो । कांग्रेसको गढ रहेछ मानेचौका ।

मध्य-नेपाल हुँदै मुकाम पोखरा

मानेचौकाबाट हामी फेरि लमजुङ नै फर्कियौं । लमजुङको कुन्छा, सोतीपसलहुँदै दुईपिप्ले पुग्यौं । नवलपुर जिल्लामा पर्ने मध्यविन्दू थाहा थियो । तर लमजुङमा पनि रहेछ अर्को मध्यविन्दू । नवलपुरको मध्यविन्दू नगरपालिका यहाँको मध्य नेपाल नगरपालिका । स्थानीयहरूको अनुसार यो ठाउँ नेपालको मध्यभागमा पर्छ रे ! १७ दिनमा बल्ल मध्यनेपाल आइपुगिएछ । भनेको समयमा झुलाघाट बैतडी पुगिन्न कि जस्तो पनि लाग्यो ।

दुईपिप्लेमा छोटो सम्वाद सकेर भोर्लेटार पुग्यौं । त्यहाँ पनि दुइपिप्लेमा जस्तै संक्षिप्त कार्यक्रम भयो । त्यसपछि कास्कीको रुपा गाउँपालिका बेगनासताल हुँदै पोखरा तालचोक पुग्यौं । तालचोक पुग्दा साँझ पर्न शुरू भैसकेको थियो । कार्यक्रम झन्नै २ घण्टा चल्यो । कार्यक्रम राम्रो भयो । राति बास बस्न प्रदेश संयोजक देवीप्रसाद सुवेदीजीको होटल मिडटाउनमा पुग्यौं । साँझमा प्रशान्त, बीरेन्द्र र म लेकसाइडमा घुम्न निस्कियौं । हामीसँग पछि डा. अमर नागिला र अर्को एकजना साथी पनि थपिनुभयो । साँझको रंगीन बत्ति, रंगीन समय, फेवाको किनार, त्यसमाथि सिमसिम पानी । अहो ! साँच्चै स्वर्गको आभास भैरहेको थियो त्यस क्षण ! हामी बाहिरै खाना खाएर सुत्न देवीजीको होटलतिर लाग्यौं । डम्बरजीले कोठा मिलाएर राख्नु भएको रहेछ । आज पनि आनन्दले सुत्यौं ।

अठारौं दिन

सुन्दर नगरी पोखरामा जमेको जनसम्वाद

देवीजीले होटलमै सन्चारकर्मीहरूसँग भेटघाट मिलाउनु भएको थियो । शेड्युल अनुसार बिहान सबभन्दा पहिला सन्चारकर्मीसँग भेटघाट सकिएपछि पृथ्वीनारायण क्याम्पसमा विद्यार्थीको स्वागत कार्यक्रममा सहभागी भयौं । कार्यक्रम भब्य थियो । माछापुच्छ्रेको काखमा अवस्थित पृथ्वीनारायण क्याम्पस देशकै ठूलो क्याम्पसमध्येको एउटा क्याम्पस हो । पोखरा धेरै पटक गएको छु । तर आज जस्तो माछापुच्छ्रे खुलेको कहिल्यै देखेको थिइनँ मैले । माछापुच्छ्रे हिमाल क्याम्पसको प्राङ्गणमै ओर्लेजस्तो अनुभूत भैरहेको थियो । स्वागत कार्यक्रममा कलाकारहरूले असाध्यै आकर्षक गीतनृत्यहरूद्वारा भरपूर मनोरञ्जन पनि दिए । ब्याचुलर पढ्दै गरेकी लक्ष्मी पुनले शरीरमा काँडा उमार्ने एउटा सशक्त कविता सुनाइन् । उनको कविताको अगाडि आफूले लेख्दै आएको कविताहरू कमजोर जस्तो लाग्यो ।

क्याम्पसबाट सिधै हामी पोखरा उद्योग वाणिज्य संघको हलमा पुग्यौं । त्यहाँ नेपाल उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीलगायत पोखराका प्रतिष्ठित उद्योगी ब्यापारीहरूको उपस्थिति थियो । निजी क्षेत्र कसरी धराशायी बन्दै गैरहेको छ ? बैंकहरूले कसरी कमाइरहेको छ ? देशको अर्थतन्त्र कत्रो छ ? दुईअंकको वृद्धिदरको लागि के के गर्नुपर्छ ? सरकार के गरिरहेको छ ? यावत बिषयमा मुल्मीले खुलेर धारणा राख्नुभयो । उहाँले सरकारको खुलेर आलोचना गर्नुभयो । उहाँको आलोचना आवेग र भावनात्मकभन्दा तथ्यपरक थियो । मुल्मीको कुरा सुनिसकेपछि मुल्मी नयाँ शक्ति पार्टीको आर्थिक प्रबक्ताजस्तै लाग्यो । हामीले उहाँलाई दिउँसो चिप्लेढुंगामा हुने कार्यक्रममा आएर आफ्नो धारणा राख्न अनुरोध गर्यौं । उहाँले हुन्छ भन्नुभयो । छोटो तर निक्कै फलदायी अन्तरक्रिया सकेर हामी खाना खान देवीजीकै होटलमा आयौं ।

निर्धारित समयमै चिप्लेढुंगाको कार्यक्रम शुरू भयो । पार्टीकोतर्फबाट डा. भट्टराईबाहेक प्रशान्त सिंह, रुद्र गुरुङ, कमला गुरुङ, देवी सुवेदीलगायतका साथीहरूले सम्बोधन गर्नुभयोभने विभिन्न पार्टीका प्रतिनिधिहरू साथै निजी क्षेत्रबाट आनन्दराज मुल्मीलगायतले बोल्नुभयो । सहभागीहरूले निक्कै तीखा प्रश्नहरू गरे । रामेछापको मन्थलीलाई सम्झाउने प्रश्नहरू थिए भन्दा हुन्छ । डा. भट्टराईले पनि समय लिएरै प्रश्नकर्ताहरूलाई सन्तुष्ट बनाउनु भयो ।

सराङकोट हुँदै पातिचौरतिर

बास बस्न पर्वतको पातिचौर पुग्नुथियो । पातिचौर पुग्नुअघि कास्कीमै दुईवटा कार्यक्रम बाँकी थियो । तसर्थ हामी चिप्लेढुंगाबाट हतारिएर ढिकुरपोखरीतिर लाग्यौं । ढिकुरपोखरी पुग्नुअघि साराङकोटको डाँडोबाट केहिबेर सुन्दर फेवाताल र पोखरालाई नियाल्यौं । साराङकोटबाट दर्जनौं प्यारासुटमा दर्जनौं पर्यटकहरू आकाशमा रमाउँदै फेवातालतालतिर झर्दै थिए । साँच्चै सुन्दर छ पोखरा । यसको सौर्न्दर्य शब्दमा व्यक्त गर्न गाह्रो छ । साराङकोटमा सामूहिक फोटो खिचेर ढिकुरपोखरीतिर लाग्यौं ।

ढिकुरपोखरी कास्कीको एउटा सानो गाउँ हो । तर यो गाउँको नाम देशका धेरै मान्छेहरूलाई कन्ठैछ । कारण, पुष्पकमल दाहाल प्रचण्डको जन्मथलो हो यो गाउँ । कार्यक्रम कस्तोहोला ? मनमा थोरै कौतूहलता थियो । कार्यक्रम मूलबाटोबाट झन्नै २०० मिटर माथि रहेछ । स्थानीय जनताहरू पन्चैबाजासहित तल मूलबाटोमा स्वागतको लागि जम्मा भएका रहेछन् । फूल, अबिर र पन्चैबाजाको न्यानो स्वागत ग्रहण गर्दै कार्यक्रम स्थल पुग्यौं । सेकेन्ड ढिला नगरी कार्यक्रम शुरू भयो । तर डा. भट्टराईले सम्बोधन गर्नेबेलामा दर्केर पानी पर्‍यो । पानी रोकिने छाँट नदेखिएपछि डा. भट्टराईलेनै आफ्नो सम्बोधन रोक्नुभयो ।

पानीले ह्वात्तै जाडो बढायो । यहाँभन्दा अगाडि अझै लुम्लेमा कार्यक्रम छ । पानीसँगसँगै बाक्लो हुस्सुले गर्दा बाटो देख्न पनि गारो भैरहेको थियो । पानी, हुस्सु र चिसोले गर्दा "मुटु छुने लुम्लेको हावाले..." बोलको गीत सम्झना गराइरहेको थियो । साँच्चै मुटु छुने चिसो थियो लुम्लेमा । गाडीबाट झरेर पानीमा भिज्दै कार्यक्रम स्थल पुगेर डा. भट्टराईले अत्यन्तै छोटो सम्बोधन गर्नुभयो । हामीभने गाडीमै बसिरह्यौं ।

पानी र हुस्सुको कारण त्यसै पनि दिउँसै रात परेजस्तो भैरहेको थियो । घडीको सुईले रात पर्न लागेको संकेत गरिरहेको थियो । बाटो निक्कै चिप्लो र अप्ठेरो रहेछ । हतारिदैं हामी पर्वतको पातिचौर पुग्यौं । झन्नै तीनघन्टादेखि पातिचौरमा ३-४ सय स्थानीयहरूले पर्खिरहेका रहेछन् । सिमसिम पानी परिरहेको थियो । आँखा घोचे पनि नदेखिने अन्धकार थियो । हामी निक्कै थाकिसकेका पनि थियौं । कार्यक्रम बिहान गरौं भनेर साथीहरूसँग सल्लाह गर्‍यौं । तर स्थानीयले नमानेपछि बत्ति बालेर कार्यक्रमलाई डा. भट्टराईले सम्बोधन गर्नुभयो ।

ब्यवस्थापनको निम्ति साथीहरूलाई दिएको संख्याभन्दा निकै संख्या बढेपछि पार्टी कमिटीका साथीहरूलाई ब्यवस्थापन गर्न धौ धौ परिरहेको थियो । सिमसिम पानी त्यसमाथि चुक घोप्ट्याएजस्तो अँध्यारो अनि नयाँ ठाउँ । निकैबेर अलमलियौं हामी । साथीहरूले केही होटल घुमाउनु भयो तर बास पाएनौं । अन्तमा, पातिचौरबाट झन्नै पाँच किमि अगाडि ल्याएर एउटा होटलमा साथीहरूले सुताउनु भयो । आज पनि राम्रोसँग रात बित्ने भयो ।

क्रमशः

यो पनि-

जनसम्वाद डायरी- १ 

जनसम्वाद डायरी- २

जनसम्वाद डायरी- ३

जनसम्वाद डायरी - ४

जनसम्वाद डायरी- ५

 जनसम्वाद डायरी- ६

जनसम्वाद डायरी - ७

जनसम्वाद डायरी - ८