योङ प्रेजिडेंट्स अर्गनाइजेशन नेपाल च्याप्टरको कार्यक्रममा डा. बाबुराम भट्टराईको सम्बोधन

३ माघ २०७२

तपाईंहरू सबैलाई मेरो हार्दिक अभिवादन !

सर्वप्रथम म योंग प्रेजिडेंट्स अर्गनाईजेशन नेपाल च्याप्टरको शिक्षा विषयकी अध्यक्ष ऋतु सिंह वैद्यजीलाई धन्यवाद दिन चाहन्छु । विश्वका ९४ देशमा रहेको यस संगठनको बनोट र अवधारणाले म प्रभावित छु । तपाईंहरू युवा जमात हुनुहुन्छ, जोश, जाँगर, सकारात्मक सोंच र क्रियाशीलताले भरपूर ! तपाईंहरु उत्पादनमा सक्रिय हुनुहुन्छ र रोजगारी सिर्जना गर्नुहुन्छ । तपाईंहरुमा उद्यमशीलता, नयाँ कुरो गर्ने चाहना र जोखिमसँग खेल्न सक्ने सामर्‍थ्य छ । उत्पादन प्रक्रियाको नेतृत्व गर्नुहुन्छ तपाईंहरू ।

निरन्तर शिक्षा, नयाँ विषयबारे बुझ्ने र त्यसबाट सिक्ने कुरा तपाईंहरुको संगठनको एउटा महत्वपूर्ण स्तम्भ रहेको जानेर मलाई झन् खुशी लागेको छ ।

प्रकृति, समाज, हाम्रा चेतना र विचारहरु गतिशील, परिवर्तनशील छन् । कुनै समयको कारणले, कुनै परिस्थितिको कारणले परिवर्तन हाम्रो जीवन र कर्मको अभिन्न तत्व हो । यसलाई नकारेर, अस्वीकार गरेर यदि हामी निश्चित सिद्धान्त, वाद वा विचार सार्वकालिक सत्य छन् भनेर अघि बढ्न खोज्यौं भने हामीले यात्रा त तय गरौंला तर गन्तव्यमा पुग्न सक्दैनौं । हामीलाई वाद प्रति निष्ठावान रहेको गर्व त होला तर जसको हितका लागि हामी वादको वकालत गरिरहेका हुन्छौं, हामी यथार्थमा तिनको हित गर्न सकिरहेका हुँदैनौं । विचार र वाद समय र परिस्थितिको आवश्यकतासँगै विकसित र परिमार्जित हुँदै जान्छन् र जानुपर्छ ।

निरन्तर शिक्षा र परिवर्तन प्रति तपाईंहरूको लगाव एकदमै सकारात्मक विषय हो । एउटा जमाना थियो व्यापार–व्यवसायीहरुले जे–जसो गरेर पनि आफ्नो लगानीको बढी–से–बढी प्रतिफल खोज्नु व्यावसायिक धर्म मानिन्थ्यो । मानव इतिहासमा यो सोंच सम्भवत: धेरै लामो समयसम्म चल्यो । तर यो सोंचले शताव्दियौंसम्म समष्टिगत मानव समृद्धि प्राप्त हुन सकेन । निरंकुश शासक र व्यापारिक पूँजीपति वर्गको यो ऐतिहासिक अलायन्स, यो साँठगाँठ रहुन्जेल विश्व आधुनिक औद्योगिक विकासको युगमा प्रवेश गर्नै सकेन ।

जबदेखि शासन जनताको लागि र जनताबाटै भन्ने मान्यता वा लोकतन्त्र स्थापित हुन थाल्यो समाज मध्ययुगीन जीवननिर्वाहमुखी चरणबाट व्यवसायिक र बजारमुखी उत्पादनको चरणमा अगाडि बढ्यो । नयाँ आविष्कार हुन थाले । बाँच्नका लागि आवश्यक वस्तु तथा सेवाहरू भन्दा अरू वस्तु तथा सेवाहरूको उत्पादन र माग बढ्न थाल्यो । परन्तु शासन पद्धतिमा आएको लोकतान्त्रिक परिवर्तनको धेरै लामो कालखण्डसम्म उत्पादनको प्रतिफल पूँजी र श्रमबीचको बाँडफाँडमा न्यायोचित सन्तुलन कायम हुन सकेन । उत्पादन प्रक्रियाको अहम सहकर्मी श्रमको आर्थिक हकको समुचित कदर भएन । व्यावसायिक जगतमा उपभोक्ता र समष्टिगत समाज प्रतिको उत्तरदायित्व बुझ्ने प्रयत्न भएन । फलस्वरुप समाजमा अविरल द्वन्द र भीषण युद्धहरु भए ।

विशौं शताब्दीको उत्तरार्धका पछिल्ला वर्षहरूमा लोकतान्त्रिक सरकारको करबलले मात्र होइन, आफ्ना उपभोक्ताको चाहना बुझ्दा र उनीहरूको आर्थिक हितको रक्षा गर्दा आफ्नो व्यवसायको हित नै हुँदो रहेछ भनेर व्यवसायीहरूले बुझ्न थाले । पछिल्ला केही दशकमा समाज प्रतिको दायित्वका बारेमा थुप्रै चर्चा भएका छन् र नयाँ–नयाँ विधिहरू अवलम्बन गरिँदै छन् ।

यो सकारात्मक परिवर्तन निरन्तर शिक्षा र ज्ञानको खोजीबाट सम्भव भएको हो ।

त्यसैले मैले तपाईंहरुको संगठनको यो महत्वपूर्ण स्तम्भको तारिफ गरेको हुँ ।

लगानी प्रवद्र्धन गर्न, व्यवसाय विस्तार गर्न, नयाँ क्षेत्रमा हात हाल्न तपाईंहरु सुरक्षाको प्रत्याभूति खोज्नुहुन्छ । स्वाभाविक हो, व्यवसायमा जोखिम अन्तर्निहित हुन्छ, तर यो जुवाको खाल जस्तो होइन । आफ्नो सम्पत्ति दाउमा राखेर व्यवसाय गर्न सकिँदैन । तपाईंहरुले लगानीको सुरक्षा, सम्पत्तिको सुरक्षा, लगानीमा उचित प्रतिफल आर्जन गर्ने स्वतन्त्रता, मूल्य स्वतन्त्रता खोज्नु स्वाभाविक हो । सरकार र कानुनले मात्र यस्तो सुरक्षा दिन खोजेर व्यवहारमा प्रभावकारी हुन सक्दो रहेनछ । समाज रुष्ट भएसम्म सरकार मात्र दाहिना भएर हुँदो रहेनछ । त्यसैले कर्पोरेट सोशल रेस्पोन्सिबिलिटी भनेर अहिले व्यावसायिक जगतले आफ्नो मुनाफाको एउटा राम्रै हिस्सा छुट्याउन थालेका छन् ।

यदि हाम्रा सोंचहरु जडसुत्रवादी भएको भए यी परिवर्तन सम्भव हुँदैनथे । यी परिवर्तन नभएका भए आजभन्दा चार दशकअघि सम्म मात्र पनि असम्भव ठानिएका प्रविधि सम्भवत: अहिले हाम्रो हात र जीवनमा हुँदैनथे होला ।

नेपालले भर्खरै मात्र ७५ वर्षदेखिको राजनीतिक लोकतन्त्रको संघर्ष पूरा गरेको छ । राजनीतिक अधिरचना (Political Superstructure) मा महत्वपूर्ण अग्रगामी परिवर्तन भएको छ, तर आर्थिक आधार (Economic Base) अझै अल्पविकसित अवस्थामा छ । अर्थतन्त्रमा अझै निर्वाहमुखी कृषिको प्रचुरता छ । फलत: निरपेक्ष गरिबी, बेरोजगारी र श्रम पलायन व्याप्त छ । भर्खरै विकास हुँदै गइरहेको उद्योग र सेवा क्षेत्र राम्ररी जरा गाड्न र फैलिन सकिरहेको छैन । अर्थतन्त्र मूलत: विप्रेषणको भरमा टिकिरहेको छ । समष्टीगत अर्थतन्त्र गम्भीर संरचनागत संकटमा छ । यो स्थितिमा आर्थिक क्रान्ति वा हाम्रै सन्दर्भको औद्योगिक क्रान्ति आज देशको अपरिहार्य आवश्यकता हो ।

००० ००० ००० ०००

तपाईंहरु आजको सन्ध्यामा सम्भवत: सामान्य मानिसका लागि असामान्य लाग्ने मेरो हालैका कदमहरूका बारेमा सुन्न उत्सुक हुनुहुन्छ होला । नयाँ शक्तिका बारेमा तपाईंहरुका जिज्ञाशा, आशंका र सुझाव होलान् । म संक्षेपमा केही कुरा प्रकाश पार्छु, अनि तपाईंहरुका जिज्ञाशातिर लाग्छु ।

उमेरको आधा जीवन त्याग गरेको, संगठनको अध्यक्ष बन्ने रोलक्रममा रहेको भनिएको, संगठनको विचार निर्माणको नेतृत्व गरिरहेको व्यक्ति एकाएक सारा पद, सारा सांगठनिक नामहरु त्यागेर पार्टीबाट किन अलग्गियो भन्ने तपाईंहरुको स्वाभाविक प्रश्न होला ।

जनयुद्धका विधि र प्रक्रियाका दोषबाट मुक्त हुन पार्टी त्याग गरेको हो भन्ने भनाई पनि मैले सुन्ने गरेको छु ।

संविधान निर्माणमा प्रमुख अभिभारा बोकेको समितिको सभापति भएर, संबिधान पारित गर्दा पक्षमा मत हालेर भोलिपल्टै संबिधान अपूर्ण भयो भनेर टिप्पणी गर्ने बाबुराम ठेगान नभएको मान्छे हो भन्ने भनाई मैले सुनेको छु ।

सबभन्दा पहिला म पछिल्लो भनाई प्रति लक्षित हुन्छु । संबिधान निर्माणको क्रममा उठेका महत्वपूर्ण विषयहरु, विगतमा सम्बोधन गर्ने भनेर वाचा गरिएका विषयहरु चटक्कै छोडेर हतारमा संबिधान जारी नगरौं भनेर मैले त्यही बेला पनि भनेको थिएँ । आखिर अहिले के भयो ? थुप्रै राम्रा र अग्रगामी विषय समेटेर पनि यो संबिधान गणितीय बहुसंख्यकले त पारित भयो तर जनताको मन जित्न सकेन । सबैलाई समेटेको अनुभुति दिन सकेन । मैले यो हुन सक्छ है भनेर त्यही बेला अनुमान गरेको थिएँ । म संबिधान निर्माण गर्नुपर्ने दायित्वबाट पन्छिईनँ, पूरै प्रक्रियामा सरिक भएँ । तर अपूर्ण विषयलाई पूरा गर्ने दायित्वबाट म बिमुख छैन । त्यो बाँकि दायित्व पुरानै पार्टीभित्रै रहेर पूरा गर्न सम्भव थिएन । पार्टीले बाटो बिराईसकेको थियो र सच्याउने कुनै प्रयास सफल हुने लक्षण थिएन, त्यसैले मैले त्यो पार्टी छोडें र संसद् पनि ।

दोस्रो विषय, जनयुद्धमा मैले गल्ति गरेको भए त आफ्नो सुरक्षाका लागि म त्यही पार्टीमा झुकेर भए पनि रहनुपर्ने होइन र ? जनयुद्ध एउटा विचारको आन्दोलन थियो । नेपाली समाजमा गडेर रहेको सामाजिक, राजनीतिक, आर्थिक विभेदलाई भत्काएर समतामुलक समावेशी समाज सिर्जना गर्ने राजनीतिक आन्दोलन थियो । जब तत्कालीन सरकारले बल प्रयोग गर्न थाल्यो, दमनका क्रुरतम विधिहरू प्रयोग हुन थाले, स्वाभाविक रूपमा आन्दोलनको रक्षाका लागि बलको सहारा लिन पुगेको हो । त्यसक्रममा केही गल्ति भए होलान, त्यसको जिम्मेवार म पनि हुन्छु । यसैको सत्य–तथ्यको निरुपण होस् भनेर, सत्य निरुपण आयोग बनेको छ । जनयुद्धका थुप्रै उपलव्धी छन्, जसको म गर्व पनि गर्दछु ।

अब हामीले पुराना नकारात्मक कुराहरु कोट्याएर मात्र हुन्न । सकारात्मक सोंचसाथ अघि बढ्नु छ । म त्यही दिशामा अघि बढिरहेछु ।

हाम्रा राजनीतिक उपलब्धिहरूलाई कम आंकलन गर्न मिल्दैन । तर त्यसैमा रमाएर बस्न पनि हुन्न । अब हाम्रो दृष्टि र प्रयास जनताको समृद्धिमा केन्द्रित हुनु पर्छ । राजनीतिक परिवर्तनको उद्देश्य पनि जनताको समृद्धि प्राप्त हुने शासन पद्धति स्थापना गर्नु हो । मैले भित्रबाट देखें कि समृद्धिको महाभियानमा होमिन पुराना पार्टीहरु तयार छैनन् । सक्षम छैनन् । भ्रष्टाचारको दलदलमा म संलग्न रहेको पार्टी मात्र होइन, सबै पार्टी नराम्ररी फसेका छन् । पार्टीका संगठन र नीतिहरु यथार्थमा आर्थिक क्रान्तिको नेतृत्व गर्न र जनहीतको प्रवर्धन र रक्षा गर्न सक्षम छैनन् । हिजोको संघर्ष र क्रान्तिमुखी पार्टीको ढाँचा र शैली अबको विकासमुखी राजनीतिको निम्ति उपयुक्त र पर्याप्त छैन ।

हामी धेरै पछाडि परिसक्यौं । अब फेरि दशकौं कुर्न सकिन्न र हुन्न । एकै दशकभित्र मुलुकको र प्रत्येक नेपाली परिवारको आर्थिक जीवनमा कायाकल्प गर्न सकिन्छ । त्यो गर्न नयाँ सोंच र दर्शन चाहिन्छ र त्यो सोंच पूरा गर्न सक्ने राजनीतिक पार्टी तथा नेतृत्व । यही नयाँ कामका लागि मैले यो उमेरमा नयाँ यात्रा प्रारम्भ गरेको हुँ । मलाई विश्वास छ, म यो हासिल गरेर छोड्छु । ठीक दुई दशक अगाडि गणतन्त्र र संविधानसभाबाट जनताको संविधान बनाउने माग राख्दा मलाई मान्छेहरुले विश्वास गर्दैनथे । नेपाली समाजमा अविश्वास व्यक्त गरिनु कुनै नौलो कुरा होइन । प्रसिद्ध राजनेता Winston Churchill ले भनेका थिए – "You will never reach your destination, if you stop and throw stones at every dog that barks."

म अहिले देशव्यापी छलफलमा छु । नेपालको आर्थिक रुपान्तरणका लागि नयाँ शक्ति चाहिन्छ भन्ने आम धारणा छ । प्रत्येक नेपालीले गर्वले म नेपाली हुँ भन्न सक्ने, रोजगारीका लागि बिदेशिनु नपर्ने, विश्व समुदायमा विकसित राष्ट्रको पंक्तिमा खडा हुने समृद्ध नेपाल निर्माणका लागि युवाहरुलाइ साथ लिएर युवाहरुकै नेतृत्वमा मैले नयाँ शक्तिको परिकल्पना गरेको हुँ ।

नयाँ शक्तिको धरातल फरक हुनेछ । यो पुराना वाद र विचारहरुको सीमित घेरामा बाँधिने छैन ।

समावेशी लोकतन्त्र नयाँ शक्तिको मूल राजनीतिक दर्शन हुनेछ । समावेशी विकास यसको मूल आर्थिक दर्शन हुनेछ । सुशासन र सदाचार यसको जीवनशैली हुनेछ ।

प्रत्येक व्यक्तिको अन्तरनिहित क्षमता उनको आफ्नो, परिवारको, समाजको र समग्र राष्ट्रको आर्थिक समृद्धिमा उपयोग हुन सक्ने गरी आर्थिक स्वतन्त्रता प्रत्येक व्यक्तिलाई प्राप्त हुनेछ । उत्पादन र उत्पादकत्व वृद्धिको प्रमुख इकाई व्यक्ति नै हो भन्ने मान्यतामा म अडिग छु । नेपालमा जन्मेको प्रत्येक बालबालिकाले आफ्नो क्षमता विकास गर्न पारिवारिक हैसियत बन्देज वा सीमाको रुपमा रहनु हुन्न । राज्यले प्रत्येक बालबालिकालाई समान र उच्च गुणस्तरको आधारभूत शिक्षाको प्रवन्ध गर्नु पर्छ । शैक्षिक विभेद अरु सबै सामाजिक, आर्थिक विभेदहरुको जरो हो । आधारभूत स्वास्थ्य श्रमको उत्पादकत्व वृद्धिको लागि अत्यावश्यक हुन्छ । यो पनि राज्यको जिम्मामा रहनुपर्छ ।

आर्थिक गतिविधिहरु विस्तार गर्न प्रत्येक व्यक्तिलाई अनुकुल बनाएपछि निश्चित रुपमा सरकारको राजश्व बढ्छ र सामाजिक सेवा तथा सामाजिक सुरक्षामा खर्च गर्न सक्ने सरकारको सामर्‍थ्य बढ्छ । प्रत्येक परिवारले आर्थिक सुरक्षाको अनुभूति गर्न पाए भने स्वाभाविक रुपमा लगानीकर्ताहरुले, व्यवसायिक जगतले पनि सहज रुपमा काम गर्ने वातावरण पाउँदछ ।

प्रभावकारी, सक्षम र प्रतिस्पर्धी बजार आर्थिक गतिविधि विस्तार गर्न, उपभोक्ताको हित रक्षा गर्न अत्यावश्यक हुन्छ । हामीले बजारको रक्षा गर्नु पर्छ, साथै कतिपय अवस्थामा सर्वथा खुला छोड्दा पनि बजार मात्तिएर आर्थिक संकट उत्पन्न हुन्छ । त्यसैले बजार नियमनमा कुनै मोलाहिजा नहुने प्रणाली आवश्यक छ ।

नेपालको आर्थिक विकासमा अहिले सबैभन्दा ठूलो अभाव सुशासनको हो । भ्रष्टाचारले असल व्यवसायी ठूलो मारमा परेका छन् । कालाबजारी तथा तस्कर र राजनीतिक दलहरूबीचको साठगाँठले गर्दा अर्थतन्त्र रोगी बनेको छ, समाजमा आर्थिक असमानता बढेको छ ।

नयाँ शक्तिको महत्वपूर्ण स्तम्भ भ्रष्टाचार–मुक्त समाज हुनेछ । हामीले हाम्रो पार्टीको आर्थिक गतिविधिहरूमा पूर्ण पारदर्शिता राख्ने छौं । विधिको शासन कडाइपूर्वक लागू गरिनेछ ।

निजी क्षेत्र र विज्ञहरु सहितको Economic Policy Group निर्माण गरी त्यसमार्फत अल्पकालीन, मध्यकालीन र दीर्घकालीन विकास नीति तथा क्षेत्रगत विकास नीति तय गरिनेछ:

–    आसन्न आर्थिक क्रान्तिको मुख्य वाहक शक्ति निजी क्षेत्र हुनेछ र त्यसनिम्ति लगानी मैत्री वातावरण निर्माण गर्न अधिकतम जोड दिइनेछ ।
–    नेपाली युवालाई रोजगारी दिने, प्रविधि हस्तान्तरण गर्ने र नेपाली कच्चा पदार्थ प्रयोग गरी उत्पादित वस्तु निर्यात गर्ने गरी सबै क्षेत्रमा विदेशी लगानी स्वागत गर्ने नीति अबलम्बन गरिनेछ ।
–    कृषि, पर्यटन, जलस्रोत, उद्योग, सेवा लगायतका तुलनात्मक लाभका क्षेत्र पहिचान गरी केही दशकसम्म निरन्तर दुई अंकको आर्थिक वृद्धिदर हासिल गर्ने गरी स्वदेशी तथा विदेशी लगानी परिचालन गरिनेछ ।
–    तीब्र गतिमा विकासको दिशामा अघि बढिरहेका भारत र चीन जस्ता दुई ठूला छिमेकी अर्थतन्त्र र बजारलाई अवसरको रुपमा ग्रहण गर्दै समृद्ध र अन्तरनिर्भर राष्ट्रिय अर्थतन्त्र निर्माण गर्ने महाभियान सञ्चालन गरिनेछ ।

यिनै युगीन लक्ष्य हासिल गर्न नयाँ सोंच, नयाँ नीति, नयाँ कार्यक्रम, नयाँ संगठनात्मक ढाँचा र नयाँ कार्यशैली सहितको नयाँ वैकल्पिक राजनीतिक शक्ति निर्माणको अभियानमा अहिले हामी लागिरहेका छौं । यो शक्ति हिजोको कुनै राजनीतिक पार्टीको एउटा परिवर्तित रुप मात्र नभएर विभिन्न पार्टीमा लागेका र कुनै पनि पार्टीमा नलागेका स्वतन्त्र, पेशेवर व्यक्तिहरुको संलग्नतामा व्यापक सहभागितामूलक तरिकाले निर्माण गरिनेछ । अर्थात् नयाँ शक्ति निर्माणको प्रक्रिया पनि नयाँ र मौलिक हुनेछ । आर्थिक विकास तथा समृद्धि र सुशासनलाई केन्द्रमा राखेर निर्माण हुन लागेको त्यस्तो नयाँ शक्तिमा निजी क्षेत्रका युवा उद्यमी व्यवसायीहरुको सक्रिय संलग्नता अपरिहार्य छ । त्यसबारे गम्भीर ढंगले सोच्न म यहाँ उपस्थित साथीहरुसँग विशेष आग्रह गर्दछु । म तपाईंहरुको जिज्ञासा, सुझाव सुन्न उत्सुक छु ।

धन्यवाद !
२०७२ माघ ३