नयाँ शक्ति पार्टी, नेपालको संगठनात्मक सिद्धान्त र अन्तरिम विधान–२०७३

१६ असार २०७३

नयाँ शक्ति पार्टी, नेपालको संगठनात्मक सिद्धान्त र अन्तरिम विधान–२०७३
Organisational Principle and Interim Constitution of Naya Shakti Party, Nepal– 2016

 

खण्ड एक


१. प्रारम्भ

संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान २०७२ को घोषणासँगै नेपालमा लोकतान्त्रिक राजनीतिक आन्दोलनको एउटा चरण आधारभूत रुपमा पूरा भएको छ । नेपाल तीब्र उत्पादन, न्यायपूर्ण वितरण र समृद्धिको नयाँ युगमा प्रवेश गरेको छ । यद्यपि लोकसम्प्रभूताको अभियान जारी छ । यो युगलाई अगाडि बढाउन समृद्धि–उन्मुख शैली, संस्कार, सोंच र दृष्टिकोणसहितको नयाँ राजनीतिक संगठन बनाउनु आजको आवश्यकता हो । नयाँ शक्ति पार्टी, नेपाल मूलत: विकास, समृद्धि, समानुपातिक समावेशी लोकतन्त्र, सुशासन, सदाचार, समन्याय, स्वाधीनता र समुन्नत समाजवादका लागि प्रतिबद्ध राजनीतिक दल हो । हामीले देश र जनताको हितलाई सुनिश्चित गर्ने संकल्प लिएर दल निर्माण गरेका छौं । अबको दलले उन्नाइसौं वा बीसौं शताब्दीका संगठनात्मक सिद्धान्तहरुको अनुसरण गरेर मात्र पुग्दैन । यसलाई एक्काईसौं शताब्दीका आवश्यकताहरुबाट परिलक्षित गर्नुपर्छ । तिनै आवश्यकताका आधारमा हामी हाम्रो संगठनात्मक सिद्धान्तलाई विकसित र उन्नत बनाउँदै लैजानेछौं ।

संगठनात्मक सिद्धान्त पार्टीले अवलम्बन गर्ने राजनीतिक मार्गदर्शन भन्दा अलग हुँदैन । पार्टीको मार्गदर्शक सिद्धान्त समुन्नत समाजवाद उन्मुख वाम…–लोकतन्त्र हुनेछ । यहाँ ‘वाम’ शब्दले पार्टीको प्रगतिशील, अग्रगमनकारी र अविचलित जनपक्षीय भावनाको अभिव्यक्ति गर्दछ । ‘लोकतन्त्र’लाई हामीले उदार वा प्रतिनिधिमूलक लोकतन्त्रको अर्थमा नभई सहभागितामूलक लोकतन्त्रको रुपमा प्रयोग गरेका हौं । यसैगरी ‘समाजवाद’को पनि नयाँ शक्ति पार्टी, नेपालले नयाँ र समयसापेक्ष परिभाषा गरेको छ । नयाँ शक्ति पार्टी, नेपालले विश्वास गरेको समाजवाद राज्य नियन्त्रित समाजवाद नभई समुदाय वा समाज केन्द्रित समुन्नत समाजवाद हो । यसकालागि हामीले समानुपातिक, समावेशी र सहभागितामूलक पार्टी संगठन निर्माणको अभ्यास गर्ने लक्ष्य लिएका छौं । हाम्रो पार्टीमा सदस्यहरु सार्वभौम हुनेछन् । तिनै सदस्यको सार्वभौम निर्णय नै पार्टी सञ्चालनको मुख्य आधार हुनेछ ।
नयाँ शक्ति पार्टी, नेपालको सांगठनिक सिद्धान्त निम्नानुसार हुनेछ:

१. सार्वभौम सदस्यहरु

१.१.    नयाँ शक्ति पार्टी, नेपाल वैकल्पिक राजनीतिक शक्ति हो । नयाँ शक्ति पार्टी, नेपालमा स्वयंसेवी सदस्य र भविष्य–उन्मुख युवाहरुको संलग्नता रहनेछ । पार्टीमा आवद्ध सदस्यहरुले पार्टी संगठनलाई सदैव चलायमान, रचनात्मक र जीवन्त बनाउने छन् । हामी समानुपातिक, समावेशी, सहभागितामूलक र प्रत्यक्ष लोकतन्त्रको अभ्यास गर्छाैं । समानुपातिक, समावेशी, सहभागितामूलक लोकतन्त्रमा सदस्यहरु सार्वभौम हुनेछन् । सदस्यहरुको सार्वभौमसत्ता नै पार्टी शक्तिको स्रोत हुनेछ । पार्टीमा समभाव विकास गरिनेछ ।

१.२.     सबै सदस्यहरु जनतासँग जोडिएर काम गर्नेछन् । नयाँ शक्ति पार्टी, नेपालको विचार, संगठन, समाजिक कार्य, रचनात्मक आचरण र व्यवहारको अन्वेषण र प्रयोग स्थानीय तहमा जनतासँगै बसेर गरिनेछ । सदस्यहरुले प्राप्त सीप र अनुभवहरुका आधारमा कुनै न कुनै आर्थिक उपार्जन र सामाजिक परिवर्तनको कार्य गर्नेछन् । सिर्जनशीलता, उत्पादनमुखी सोंच, विनम्र व्यवहार र जनतासँग एकाकार हुने संस्कृति नयाँ शक्ति पार्टी, नेपालका सदस्यहरुको मूल चरित्र हुनेछ ।

१.३.    सबै तहका कार्यकारी पदहरु सदस्यहरुको प्रत्यक्ष मताधिकारद्वारा निर्वाचित हुनेछन् । केन्द्रीय कमिटी देशविदेशमा रहेका सम्पूर्ण सदस्यहरुको मतद्वारा निर्वाचित हुनेछ । प्रादेशिक कमिटी प्रदेशभरिका सदस्यहरुको मतद्वारा बन्नेछ । स्थानीय कमिटीहरु स्थानीयस्तरमा बसोबास गर्ने सदस्यको मतद्वारा निर्वाचित हुनु पर्नेछ ।

१.४.     नयाँ शक्ति पार्टी, नेपालले शक्तिको निक्षेपीकरणलाई प्रोत्साहित गर्नेछ । नयाँ शक्ति पार्टी, नेपाल सामूहिक नेतृत्व, जिम्मेवारी बाँडफाँटको मान्यतामा आधारित हुनेछ ।

१.५.    पार्टी सदस्यहरुमा उम्मेद्वारहरुलाई अस्विकार गर्ने अधिकार र निर्वाचित कुनैपनि पदाधिकारीले आफ्नो जिम्मेवारी पूरा नगरेमा वा विधानको पालना नगरेमा वा पार्टी हित विपरित काम गरेमा तोकिएबमोजिम सदस्यहरुले फिर्ता बोलाउने अधिकार सुनिश्चित गरिनेछ ।

२. समानुपातिक, समावेशी र सहभागितामूलक प्रतिनिधित्व

२.१.    पार्टीको सम्पूर्ण सांगठनिक संरचनाहरु अनिवार्यरुपमा समानुपातिक, समावेशी र सहभागितामूलक हुने गरी निर्माण गरिनेछ । पार्टीमा मुख्य जातीय समुदाय (मधेसी–थारु, आदिवासी जनजाति, खस–आर्य) र दलित, मुस्लिम लगायतका अल्पसंख्यक, फरक क्षमता भएका समूह, यौनिक तथा लैंगिक अल्पसंख्यक समूहको समानुपातिक र समावेशी संलग्नतामा पार्टीका कार्यकारी कमिटीहरु निर्माण हुनेछन् । यसरी बनाइने सांगठनिक संरचनामा महिला, युवा, प्रौढ, श्रमजिवी तथा आर्थिक रुपले विपन्नको अनुपात सम्बन्धित समुदायको जातीय क्लस्टर भित्रबाटै मिलाइनेछ ।

३. पदको मतदान गोप्य, विचारको मतदान खुल्ला

३.१.    पार्टीभित्र कुनै पनि कमिटीको निर्वाचन हुँदा सदस्यहरुले प्रयोग गर्ने मतदान गोप्य हुनेछ । सैद्धान्तिक, वैचारिक, नीतिगत विषयहरुमा हुने मतदान खुल्ला हुनेछन् । कसले कुन विचार वा प्रस्तावका पक्षमा मतदान गरेको हो प्रष्ट खुल्नेगरी अभिलेखन गरिनेछ । फरक विचारको सम्मान र यसको रचनात्मक स्वतन्त्रतालाई कुण्ठित गरिने छैन ।

३.२.     पार्टीले लोकतान्त्रिक प्रतिष्पर्धा, सदाचार, सुशासन र पारदर्शितालाई संगठनको अभिन्न अंगको रुपमा अवलम्बन गर्नेछ । पार्टीका सबै तहका जिम्मेवारी, अपेक्षित नतिजा र जवाफदेहिताका मापदण्डहरु तय गरिनेछ । सबै नीतिगत र आर्थिक मामिला पारदर्शी हुनेछन् ।

४. बहुमतको कार्यान्वयन, अल्पमतको सम्मान

४.१.    पार्टीभित्र अल्पमतका विचारहरु राख्ने, फरक मत दर्ता गर्ने र कमिटीको निर्णयानुसार बहस चलाउने अधिकार हुनेछ । बहुमत विचारलाई कार्यान्वयन गर्न सहयोग गर्नु अल्पमत पक्षको कर्तव्य हुनेछ । त्यसैगरी कार्यान्वयन गर्दा अल्पमत विचारको सम्मान गर्नु बहुमत पक्षको कर्तव्य हुनेछ । विचार अभिव्यक्तिमा स्वतन्त्रता र कामकारवाहीमा एकरुपता पार्टीको आधारभूत संगठनात्मक सिद्धान्त हुनेछ ।

५. शक्तिपृथकीकरणको प्रयोग

५.१.    पार्टीभित्र शक्तिपृथकीकरण, नियन्त्रण र सन्तुलनको मान्यता अवलम्बन गरिनेछ । कार्यकारी कमिटीहरुले संघ, प्रदेश, स्थानीय तहगत कार्यकारीको काम गर्नेछन् । महाधिवेशनले विधायिकी अधिकार प्रयोग गर्नेछ । यसको निरन्तरताकालागि तहगत परिषद्को व्यवस्था हुनेछ । शक्तिपृथकीकरणको मान्यताअनुसार संघ, प्रदेश र स्थानीय तहमा न्यायिक छानविन र कारवाहीका लागि अनुशासन आयोग, सार्वजनिक चासोको विषयमा छानविनका लागि लोकपाल, आर्थिक अनुशासन र लेखा परीक्षणका लागि लेखापरीक्षण आयोग र आन्तरिक निर्वाचन सम्पादनका लागि निर्वाचन आयोग, सदाचार प्रवद्र्धनको लागि सदाचार (Ethics) आयोग हुनेछन् ।

५.२.    पार्टीमा शक्तिपृथकीकरणको प्रयोग गर्न तथा नियन्त्रण र सन्तुलनको व्यवस्था मिलाउन आवश्यक नियम बनाइनेछ । एक अर्कोलाई सहयोग, सहजीकरण गर्ने हरेक निकायको कर्तव्य हुनेछ ।

६. राजकीय मनोनयन र पदका लागि आन्तरिक निर्वाचन

६.१.    राज्यको कुनै पनि पद तथा जिम्मेवारीमा उम्मेद्वार छनौट गर्दा समानुपातिक समावेशी मान्यताका आधारमा सदस्यहरुबीचको सहमतिमा वा आवश्यक परे आन्तरिक निर्वाचन गरिनेछ ।
यस अनुच्छेदको प्रयोजनका लागि राजकीय मनोनयन भन्नाले राज्यका निर्वाचित हुने वा नियुक्ति हुने पदहरु बुझ्नु पर्दछ ।

७. मनोनित विभाग; स्थायी र दक्ष कर्मचारी

७.१.    पार्टीका विभिन्न तहका विभाग र संयन्त्रहरु मनोनित हुनेछन् । यस्ता पार्टी अंगहरुमा मनोनित गर्दा सम्बन्धित व्यक्तिको रुची, क्षमता र बिषय विज्ञतालाई विचार गरिनेछ ।

७.२    सबै पार्टी कार्यालयमा आ–आफ्ना विषयमा विज्ञ र व्यावसायिक कर्मचारीहरु हुनेछन् । उनीहरुको सेवा, सुविधाको शर्तसहितको नियमावली हुनेछ ।

८. व्यक्ति हैन, पद पूर्णकालीन

८.१.    पार्टी संगठनभित्र कुनै पनि सदस्य व्यक्तिका हैसियतले पूर्णकालीन हुनेछैन । खासखास पदहरु पूर्णकालीन हुनेछन् । सम्बन्धित कमिटीले निर्णय गरेका सहित पूर्णकालीन सदस्यहरुले नियमानुसार सञ्चार, यातायात, सामान्य पारितोषिक आदि जस्ता खर्चहरु पार्टी कोषबाट लिन पाउनेछन् ।

९. एक ब्यक्ति, एक पद, दुई कार्यकाल

९.१.    पार्टीले एक व्यक्ति, एक कार्यकारी पद र अधिकतम दुई कार्यकाललाई पालना गर्नेछ ।

९.२.    पार्टीमा ७० बर्ष उमेर पूरा भएपछि कार्यकारी पदहरुबाट निवृत्त हुने व्यवस्था हुनेछ र पार्टीको निर्णयानुसार सम्मानजनक स्थानमा भूमिका निर्वाह गर्नेछ ।

१०. स्वायत्त र रचनात्मक आंगिक संगठन

१०.१.    आवश्यकतानुसार आंगिक संगठनहरु बनाइनेछ । युवा, विद्यार्थी, महिला, किसान, मजदुर, पूर्व सुरक्षाकर्मी लगायतका आंगिक संगठनहरु हुनेछन् । शिक्षक, प्राध्यापक, कर्मचारी लगायत पेशागत क्षेत्रमा दलगत संगठन निर्माण नगरी पेशागत क्षमता विकास र समृद्धि तथा सुशासनको कार्यसूचीमा सहकार्य गर्न निरन्तर संवादको उपयुक्त विधि अवलम्वन गरिनेछ ।

११. सबै कमिटी स्वायत्त

११.१.    सबै कमिटी आफ्नो बैठक राख्न, योजना बनाउन, अधिवेशन बोलाउन, बजेट बनाउन, आफ्नो कार्यक्षेत्रको राजकीय तथा सार्वजनिक क्षेत्रको विषयमा छलफल गर्न र निर्णय लिन विधानको अधीनमा रही स्वायत्त हुनेछन् । आवश्यकतानुसार उत्प्रेरकहरुको व्यवस्था गर्न सकिनेछ ।

१२. सुशासन कायम, भ्रष्टाचारमा शून्य सहनशीलता

१२.१.    पार्टीले आफ्नो सम्पूर्ण जीवनलाई सदाचार, सुशासन, जवाफदेहिता र पारदर्शिताका आधारभूत मान्यताकारुपमा ग्रहण गर्नेछ । भ्रष्टाचारमा शून्य सहनशीलता अवलम्वन गर्नेछ ।

१२.२.    आर्थिक पारदर्शिताका लागि पार्टीको आर्थिक कारोवारहरुलाई बैंकमार्फत सञ्चालन गरिनेछ । व्यक्ति, संगठित संस्था र व्यवसायिक समूहबाट लिने आर्थिक सहयोगको सीमा तोकिनेछ । सबै सहयोगहरुलाई सार्वजनिक गरिनेछ । लेखापरीक्षण र त्यसको सार्वजनिकीकरण हुनेछ ।

१२.३.    पार्टीका सम्पूर्ण पदाधिकारीहरुको सम्पत्ति विवरण तहगत रुपमा सार्वजनिक र बार्षिक अद्यावधिक गरिनेछ ।

१३. सामाजिक विभेद र अपराधविरुद्ध शून्य सहनशीलता

१३.१.    पार्टी जीवनमा सामाजिक विभेद र अपराधजन्य क्रियाकलापहरु जस्तै: लैंगिक विभेद र हिंसा, बालश्रमको प्रयोग, जातीय विभेद तथा छुवाछुत, यौनिक तथा लैंगिक अल्पसंख्यकहरुमाथिको विभेद, फरक क्षमता भएका व्यक्तिहरुमाथिको विभेद, रोग, रंग, वर्ण, भाषाको आधारमा हुने विभेद आदि प्रति शून्य सहनशीलता हुनेछ ।

१४.    अध्ययन, अनुसन्धान र सूचनालाई प्राथमिकता

१४.१.    पार्टीले सदैव अध्ययन, अनुसन्धान र सूचनालाई प्राथमिकता दिनेछ । कुनैपनि बिषयमा धारणा बनाउँदा वा नीतिगत निर्णय गर्दा अध्ययन, अनुसन्धान, तथ्यांक, सूचना र जनमतमा आधारित हुने संस्कृतिको विकास गरिनेछ ।

१५. स्वस्थ जीवनका लागि योग, ध्यान र प्राणायाम

१५.१.    स्वस्थ शरीर र मन निर्माणकालागि पूर्वीय दर्शनमा आधारित योग, ध्यान र प्राणायाम जस्ता विधिहरु उपयोग गर्न प्रेरित गरिनेछ । आवश्यकता अनुरुप तालिम तथा प्रशिक्षणको व्यवस्था गरिनेछ ।

खण्ड दुइ
नयाँ शक्ति पार्टी, नेपालको अन्तरिम विधान, २०७३

प्रस्तावना

नेपाल एक अक्षुण्ण, अविभाज्य, सार्वभौमसत्तासम्पन्न, धर्मनिरपेक्ष, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक, बहुराष्ट्रिय राज्य हो । देशभक्ति, स्वतन्त्रता, सहिष्णुता, स्वाभिमान, अग्रगामी, संघर्षशील र श्रमशील चरित्र नेपाली जनताका आधारभूत स्वभाव हुन् । नयाँ शक्ति पार्टी, नेपाल यी महान जनताको न्याय, समानता, स्वतन्त्रता, पहिचान, मुक्ति र समृद्धिको आकांक्षा परिपूर्ति गर्न नेपाली जनताबीचबाट नेपाली जनताले नेपाली जनताकै लागि बनाएको राजनीतिक पार्टी हो । नेपाल राष्ट्रको गरिमा अभिवृद्धि, नेपाली जनताको सर्वोत्तम हित र समृद्धिनै नयाँ शक्ति पार्टी, नेपालको एक मात्र लक्ष्य हो ।
यो लक्ष्य पूरा गर्न नेपाली जनताले विभिन्न चरण र कालखण्डमा सञ्चालन गरेका राणाविरोधी आन्दोलन, पञ्चायती शासनविरोधी आन्दोलन, जनआन्दोलन, जनयुद्ध, मधेश आन्दोलन, आदिवासी जनजाति, थरुहट, महिला, मुस्लिम, दलित, अल्पसंख्यकलगायत उत्पीडित समुदायले चलाएको संघर्ष र आन्दोलनमा गरेको त्याग, बलिदान र उत्सर्गको उच्च सम्मान गर्दै,
देश विकास र समृद्धिका लागि मधेश, पहाड, हिमालको विशिष्ठतालाई सम्बोधन गर्ने आर्थिक समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्ने उद्देश्य साथ, नेपालमा मधेशी–थारु, आदिवासी जनजाति र खस–आर्य, महिला, दलित, मुस्लिम, यौनिक तथा लैंगिक अल्पसंख्यक, फरक क्षमता भएका र अल्पसंख्यक समुदायको समान पहिचान र स्वामित्व सहितको स्वाधीन, समृद्ध, समानुपातिक/समावेशी/सहभागितामूलक लोकतन्त्र र समुन्नत समाजवादको मार्गदर्शनमा आधारित नेपालको वैकल्पिक राजनैतिक शक्तिको रुपमा नयाँ शक्ति पार्टी, नेपाल स्थापना गर्ने उद्देश्यले यो विधान जारी गरेका छौं ।

भाग – १

नाम, परिभाषा र प्रारम्भ

१.१.    नाम : यो पार्टीको नाम ‘नयाँ शक्ति पार्टी, नेपाल’ हुनेछ । अंगेजीमा यसलाई ९ल्बथब क्जबपतष् एबचतथ, ल्भउब०ि भनिनेछ । चलनचल्तिको भाषामा यसलाई ‘नयाँ शक्ति नेपाल’ भनिनेछ र यही नामबाट पार्टीले पत्राचार गर्नेछ ।

१.२.    परिभाषा : विषय वा प्रसंगले अर्को अर्थ नलागेमा,
(क)    “पार्टी” भन्नाले नयाँ शक्ति पार्टी, नेपाल सम्झनु पर्छ ।
(ख)     “विधान” भन्नाले नयाँ शक्ति पार्टी, नेपालको अन्तरिम विधान २०७३ सम्झनु पर्छ ।
(ग)     “सदस्य” भन्नाले नयाँ शक्ति पार्टी, नेपालको सदस्य सम्झनु पर्छ ।
(घ)     “पदाधिकारी” भन्नाले नयाँ शक्ति पार्टी, नेपालका सबै तहका पदाधिकारी सम्झनु पर्छ ।
(ङ)     “नियमावली” भन्नाले नयाँ शक्ति पार्टी, नेपालको विधानबमोजिम बनेका नियमावलीहरु सम्झनु पर्छ ।

१.३    झण्डा, लोगो र चुनाव चिन्ह
(क)     पार्टीको झण्डा : अनुसूची १ बमोजिम चतुर्भुज आकारको रातो भूईंको बीचमा पाँच कुने सेतो तारा भएको पार्टीको झण्डा हुनेछ ।
(ख)     पार्टीको छाप : अनुसूची २ बमोजिम हुनेछ ।
(ग)     पार्टीको चुनाव चिन्ह : अनुसूची ३ बमोजिम हुनेछ ।
(घ)     पार्टीको लोगो : अनुसूची ४ बमोजिम हुनेछ ।

१.४    प्रारम्भ :यो विधान पार्टी स्थापना राष्ट्रिय भेला–२०७३ द्वारा पारित भएपछि प्रारम्भ हुनेछ ।

भाग – २

उद्देश्यहरु

२.१    पार्टीका मुख्य उद्देश्यहरु
(क)     समानुपातिक/समावेशी/सहभागितामूलक लोकतन्त्र, आर्थिक समृद्धि, सुशासन र समुन्नत समाजवादको कार्यदिशासहितको वाम–लोकतान्त्रिक वैकल्पिक राजनीतिक शक्तिको निर्माण गर्ने ।
(ख)     मुलुकको सार्वभौमिकतालाई रक्षा गर्दै हिमाल, पहाड, मधेश/तराई र बहुल राष्ट्रबीचको भावनात्मक एकीकरण गरी सबैको स्वामित्व र प्रतिनिधित्व सहितको राज्य संरचनालाई संस्थागत गर्ने ।
(ग)     सबै जाति, क्षेत्र, लिंग, समुदाय, समूहको जनसंख्याको आधारमा समानुपातिक र समावेशी सिद्धान्तका आधारमा पार्टी र राज्यका सबै अंग र तहहरुमा प्रतिनिधित्व सुनिश्चित गर्ने ।
(घ)     २१औं    शताब्दीलाई सम्बोधन गर्ने समानुपातिक/समावेशी/सहभागितामूलक लोकतन्त्र सहितको समुन्नत समाजवादी सामाजिक, आर्थिक तथा राजनीतिक प्रणालीको विकास गर्ने र त्यसैका माध्यमबाट नेपालको विकास, पहिचान, सामाजिक न्याय र समृद्धि सुनिश्चित गर्ने ।
(ङ)     आफ्नो लक्ष्य प्राप्तिका लागि जनपरिचालन र शान्तिपूर्ण राजनीतिक अभियानहरु अगाडि बढाउने ।

भाग – ३

सदस्यतासम्बन्धी व्यवस्था

३.१.सदस्यको योग्यता
देहायको योग्यता पुगेका कुनै पनि व्यक्ति नयाँ शक्ति पार्टी, नेपालको सदस्य बन्न सक्नेछन्:
(क)     १८ वर्ष उमेर पुगेका नेपाली नागरिक ।
(ख)     पार्टीको सिद्धान्त, विचार, नीति, उद्देश्य पालना गर्न मन्जुर ।
(ग)     पार्टीले तोकेको सदस्यता दस्तुर बुझाउन र तोकिएको काम गर्न मन्जुर ।
(घ)     नैतिक पतन हुने फौजदारी अभियोगमा सजाय नपाएको ।

३.२.  सदस्यता प्राप्त गर्ने प्रक्रिया
सदस्यता प्राप्त गर्ने प्रक्रिया निम्नानुसारका हुनेछन्:
(क)     पार्टी सदस्यता प्राप्त गर्न इच्छुक योग्यता पुगेका नेपाली नागरिकले यस विधानको अनुसूचिमा उल्लेखित सदस्यता आवेदन फाराम सहित पार्टीको आधिकारिक समिति वा कार्यालयमा आवेदन गर्न सक्नेछन् ।
(ख)     आवेदनमाथि आवश्यक छलफल गरी सम्बन्धित समितिले १५ दिन भित्र सदस्यताबारे निर्णय गर्नेछ ।
(ग)     सदस्यता आवेदन स्विकृत भएपछि तोकिएको शुल्क तिरी सदस्यता लिन सकिनेछ ।
(घ)     सदस्यता विवरण सुरक्षित राख्ने दायित्व सदस्य र सम्बन्धित समितिको हुनेछ । सम्बन्धित समितिले सदस्यहरुको अभिलेख केन्द्रीय कार्यालयमा समेत उपलब्ध गराउनु पर्नेछ ।
(ङ)     कुनै सदस्यको कार्यक्षेत्र एक स्थानबाट अर्को स्थानमा सार्नुपर्ने भएमा दुवै समितिहरुले सूचना आदान–प्रदान गरी निवेदनको आधारमा सदस्यता सार्न सक्नेछन् । यस्तो विवरण केन्द्रीय अभिलेखमा समेत अद्यावधिक गर्नु पर्नेछ ।  

३.३. सदस्यता शुल्क
(क)    पार्टी सदस्यहरुले सदस्यता शुल्क रु १०० तिर्नु पर्नेछ । सदस्यता लिँदा सदस्यहरुले स्वैच्छिक रुपमा आर्थिक सहयोग गर्न सक्नेछन् । वार्षिक सदस्यता नवीकरण शुल्क रु १०० लाग्नेछ ।

३.४. सदस्यहरुको काम, कर्तव्य र अधिकार
पार्टी सदस्यको काम, कर्तव्य र अधिकार निम्न अनुसार हुनेछ :
(क)    पार्टीको नीति, सिद्धान्त र विचारको रक्षा, प्रचार र विकास गर्नु ।
(ख)    पार्टीले सञ्चालन गर्ने अभियान, आन्दोलन र समृद्धिका योजनाहरुमा संलग्न हुनु ।    
(ग)    पार्टीको सार्वभौमसत्तासम्पन्न शक्तिका रुपमा पार्टीका सभा, सम्मेलन, अधिवेशन र महाधिवेशनमा तोकिएको विधि र प्रक्रियाअनुरुप सहभागी हुनु, निर्णय दिनु र निर्णयको कार्यान्वयन गर्नु ।
(घ)    पार्टीको नीति, सिद्धान्त र कार्यायोजनाअनुरुप जनहितका सामाजिक कार्यहरुमा सक्रिय हुनु ।
(ङ)    पार्टी सम्पत्तिको रक्षा गर्नु ।
(च)    देशको समृद्धि, विकास, सामाजिक न्याय र संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र उत्तरोत्तर अग्रगतिका लागि क्रियाशील हुनु ।

३.५ सदस्यताको समाप्ति
तपशिल बमोजिमको अवस्थामा पार्टी सदस्यता समाप्त हुनेछ ।
(क)    मृत्यु भएमा ।
(ख)    पार्टीको अहित हुने काम गरेको आरोप प्रमाणित भई पार्टीको वैधानिक प्रक्रिया अनुरुप निष्कासनको कार्वाही गरेमा ।
(ग)    सदस्य स्वयंले पार्टी परित्यागको घोषणा गरेमा ।
(घ)    पार्टीको जानकारीबिना एक वर्षभन्दा बढी सम्पर्कबाहिर रहेमा ।
(ङ)    वार्षिक सदस्यता नवीकरण नगरेमा ।

भाग – ४

संगठनात्मक सिद्धान्त

४.१. संगठनात्मक सिद्धान्त
पार्टीको मुख्य संगठनात्मक सिद्धान्त निम्नानुसार हुनेछ:
(क)    पार्टी संगठन मुलुकको संघीय संरचनाका आधारमा निर्माण गरिनेछ ।
(ख)    पार्टीमा एकै प्रकारका मात्र सदस्यहरु हुनेछन् । सदस्यहरुनै पार्टीको सार्वभौमसत्तासम्पन्न इकाइको रुपमा रहनेछन् । सदस्यहरुबीचमा कुनै प्रकारको मर्यादाक्रम हुनेछैन । सबै सदस्यहरु राजनीतिक सदस्यको रुपमा क्रियाशील हुनेछन् ।
(ग)    पार्टी सदस्यताको प्राप्ति स्वैच्छिक हुनेछ । तर सदस्यका लागि तोकिएको पार्टी दायित्व र अनुशासनको पालना बाध्यकारी हुनेछ । विधानत: उल्लेख भएका बाहेक पार्टी सदस्यका दायित्वहरु सम्बन्धित कमिटीद्वारा समय–समयमा निर्धारित गरेबमोजिम हुनेछन् ।
(घ)    पार्टीका कमिटीहरु सम्बन्धित तहका अधिवेशनहरुप्रति उत्तरदायी हुनेछन् । सबै कमिटी र अधिवेशन संघीय महाधिवेशनप्रति उत्तरदायी हुनेछन् । पार्टीका प्रदेश, स्थानीय अधिवेशनहरुलाई चित्त नबुझे पार्टी केन्द्रसँग फरक विचार राख्ने र सो विचारमाथि महाधिवेशनमा मतदानको माग गर्ने अधिकार हुनेछ ।
(ङ)    पार्टीभित्र सहभागितामूलक लोकतन्त्रको अभ्यास गरिनेछ । पार्टीका सबै सदस्यहरुले संघीय समिति र पदाधिकारीहरुको निर्वाचनमा मतदान गर्नेछन् । प्रादेशिक समितिको निर्वाचन प्रदेशभित्रका सदस्यहरुको सहभागितामा हुनेछ । जिल्ला, नगर र गाउँ पालिकामा पनि यही विधि अवलम्बन गरिनेछ ।
(च)    अल्पमतका विचारहरु कार्यान्वयन हुने छैनन् । तर ती विचारहरुको पक्षमा जनमत निर्माण गर्ने अधिकार सुरक्षित हुनेछ  । वैचारिक बहस हुँदा अल्पमतका विचारहरुको दस्तावेज पार्टी सदस्यहरुबीच वितरण गरिनेछ । फरक विचार राखेवापत कसैलाई पनि पार्टीमा अपमानित वा दण्डित गरिने छैन । तर औपचारिक रुपमा अल्पमतले बहुमत विचारहरुको कार्यान्वयन प्रक्रियामा सहयोग गर्नु कर्तव्य र दायित्व हुनेछ ।
(छ)    पार्टी महाधिवेशनमा सम्पूर्ण पार्टी सदस्यहरुले आफ्ना विचारहरु दर्ज गर्न पाउनेछन् । तर यस्ता विचारहरुमाथि मतदानको अधिकार भने महाधिवेशन प्रतिनिधिहरुलाई मात्र हुनेछ । विचारको मतदान खुल्ला र नेतृत्वको मतदान गोप्य हुनेछ ।
(ज)    पार्टीभित्र स्वस्थ प्रतिस्पर्धालाई उत्प्रेरित गरिनेछ ।
(झ)    निर्वाचित पदाधिकारीहरुले चित्तबुझ्दो काम नगरेमा र पार्टीको हितविपरित काम गरेमा मतदाताहरुलाई फिर्ता बोलाउने अधिकार हुनेछ । यस्तो अधिकारको कार्यान्वयन निर्वाचन कार्यविधिमा तोकेबमोजिम हुनेछ ।
(ञ)    पार्टीभित्र शक्तिपृथकीकरण, नियन्त्रण र सन्तुलनको मान्यता अवलम्बन गरिनेछ । कार्यकारी कमिटीहरुले संघ, प्रदेश, स्थानीय तहगत कार्यकारीको काम गर्नेछन् । महाधिवेशनले विधायिकी अधिकार प्रयोग गर्नेछ । यसको निरन्तरताकालागि तहगत परिषद्को व्यवस्था हुनेछ । शक्तिपृथकीकरणको मान्यताअनुसार संघ, प्रदेश र स्थानीय तहमा न्यायिक छानविन र कारवाहीका लागि अनुशासन आयोग, सार्वजनिक चासोको विषयमा छानविनका लागि लोकपाल, आर्थिक अनुशासन र लेखा परीक्षणका लागि लेखापरीक्षण आयोग र आन्तरिक निर्वाचन सम्पादनका लागि निर्वाचन आयोग, सदाचार प्रवद्र्धनको लागि सदाचार ९भ्तजष्अक० आयोग हुनेछन् ।
(ट)    पार्टी सदाचार र सुशासनमा प्रतिबद्ध रहनेछ । आचारसंहिताको पालना गर्नु सबै सदस्यको कर्तव्य हुनेछ । पारदर्शिता, उत्तरदायित्व र विधिको शासनलाई अवलम्वन गरिनेछ ।
(ठ)    प्रदेश, स्थानीय समितिहरुको अधिवेशनमा निर्वाचन हुँदा जातीय क्लष्टरहरुको समानुपातिक सन्तुलन कायम गरिनेछ ।
(ड)    कुनै खास प्रयोजनका लागि तोकिएका पदहरुमा तोकिएका क्लष्टरअनुसार निर्वाचन गर्नुपर्दा सम्बन्धित समुदायबीच प्रतिस्पर्धाको व्यवस्था गरिनेछ । तर यस्ता पदहरुमा मतदान भने सबैले गर्न पाउनेछन् ।
(ढ)    पार्टी बहुपद र सामूहिक नेतृत्वका आधारमा सञ्चालन हुनेछ ।
(ण)    पार्टीमा जातीय समुदाय, वर्ग, लिंग र क्षेत्रको समानुपातिक/समावेशी/सहभागितामूलक प्रतिनिधित्व सुनिश्चित हुनेछ ।
(त)    मुख्य कार्यकारी पदमा एक व्यक्ति एक कार्यकारी पद र अधिकतम दुई कार्यकालको मान्यता स्थापित गरिनेछ ।
(थ)    ७० वर्ष उमेर पूरा भएको पार्टी सदस्य पार्टीको क्रियाशील जीवनबाट स्वत: निवृत्त हुनेछ । तर यस्ता सदस्यको सदस्यता भने कायमै रहनेछ । यस्ता सदस्यहरुलाई जुन तहमा रहँदा निवृत्त हुन्छ, सोही तहको संरक्षक समितिमा राखी सम्मान गरिनेछ ।
(द)    नेपाल बहुराष्टि̭य राज्य हो । नेपालमा रहेका सबै जाति, संस्कृति र पहिचानहरु नै नेपाली राष्ट्रिय पहिचान हुन् । मुलत: मधेशी–थारु, आदिवासि जनजाति र खस–आर्य तथा दलित, अल्पसंख्यक र महिलाहरुको समानुपातिक समावेशी सहभागिताबाट नै राष्ट̭को एकता र पार्टीको सुदृढीकरण सम्भव छ भन्ने सिद्धान्तलाई स्वीकार गर्दै पार्टी संरचनाहरुलाई सोहीअनुसार व्यवस्थित गरिनेछ ।

४.२ संगठनात्मक संरचना
(क)    पार्टीको संगठनात्मक संरचना मूलत: तीन तहको हुनेछ । संघ स्तरको संरचना, प्रदेश स्तरको संरचना र स्थानीय स्तरको संरचना । यस बाहेक आवश्यकता अनुरुप विभिन्न समन्वयकारी संरचना बनाउन सकिनेछ । समन्वयकारी संरचनाहरुको काम, कर्तव्य र अधिकार नियममा तोकिए बमोजिम हुनेछ ।
(ख)    पार्टीको आवश्यकताअनुसार अन्य आयोग, सल्लाहकार समिति, संरक्षक समिति र कार्यदलहरु बनाउन सकिनेछ ।
(ग)    प्रत्येक समितिहरु समानुपातिक समावेशी सिद्धान्तमा आधारित हुनेछन् । क्लष्टरअनुसार महिलाको हकमा स्थानीय तहमा न्यूनतम ४० प्रतिशत र प्रदेश र संघमा न्यूनतम ३३ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गरिनेछ । अल्पसंख्यक समुदायको प्रतिनिधित्वका लागि समावेशी मान्यतालाई पालना गरिनेछ । दलितहरुलाई विशेषाधिकारको व्यवस्था गरिनेछ ।

भाग – ५

महाधिवेशन

५.१ पार्टीको महाधिवेशन सम्बन्धी व्यवस्था

५.१.१ महाधिवेशन
(क)     महाधिवेशन पार्टीको सर्वोच्च निकाय हुनेछ । यो विधान जारी भएको मितिले १ वर्षभित्र पार्टीको पहिलो महाधिवेशन सम्पन्न गरिनेछ । विशेष परिस्थिति परी महाधिवेशन गर्न नसक्ने अवस्था सिर्जना भएमा उचित कारण सहित केन्द्रीय परिषद्ले एक बर्षसम्म अवधि थप गर्न सक्नेछ ।
(ख)    पहिलो महाधिवेशनपछि प्रत्येक ४ बर्षमा पार्टीको नियमित महाधिवेशन आयोजना हुनेछ ।
(ग)     महाधिवेशनले विगतका कामहरुको समीक्षाका साथै पार्टीको राजनीतिक विचार, सिद्धान्त, कार्यनीति, कार्यक्रम र विधान पारित गरी अर्को महाधिवेशनसम्मको लागि कार्यान्वयनमा ल्याउनेछ ।
(घ)     यो विधान लागू भएपछि समायोजन वा एकीकरण गर्नुपर्ने अवस्था परेमा सोही बमोजिम यो विधान कार्यान्वयन हुनेछ । एकीकरण प्रयोजनका लागि यो विधानको अधीनमा रही अन्तरिम संघीय समितिले आवश्यक थप व्यवस्था गर्न सक्नेछ । यस्तो व्यवस्थालाई परिषद्मा अनुमोदन गर्नु पर्नेछ ।
(ङ)     प्रत्येक महाधिवेशनको बीचको अवधिमा गरिने सबै कामकारवाही महाधिवेशनप्रति उत्तरदायी हुनेछन् ।
(च)    दुई महाधिवेशनको बीचमा विषेश महाधिवेशन संघीय समितिले घोषणा गरी आयोजना गर्न सक्नेछ ।

भाग – ६

कार्यकारी समिति, परिषद् र वैधानिक अंगहरु

६.१.    कार्यकारी समितिहरुको स्वरुप र गठन विधि

६.१.१.संघीय समिति
(क)     संघीय समिति पार्टीको केन्द्रीय समिति हुनेछ ।
(ख)    संघीय समितिमा अध्यक्ष—१, उपाध्यक्ष—५, महासचिव—१, सचिव—५, कोषाध्यक्ष—१ समेत १३ जना पदाधिकारीसहित १५१ सदस्य हुनेछन् ।
(ग)    संघीय समितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरु प्रत्यक्ष निर्वाचित हुनेछन् ।
(घ)     संघीय समितिका उपाध्यक्ष र सचिव पदमा नेपालका मुख्य जातीय समूह तथा महिला, दलित र अन्यको समानुपातिक समावेशी प्रतिनिधित्व हुनेगरी निर्वाचन नियमावलीमा व्यवस्था मिलाइनेछ ।
(ङ)    ८० प्रतिशत संघीय समिति सदस्यहरु देशभरिका पार्टी सदस्यहरुको प्रत्यक्ष मतदानबाट निर्वाचित हुनेछन् । २० प्रतिशत सदस्यहरु संघीय समितिले मनोनयन गर्नेछ ।
(च)    संघीय समितिको निर्वाचन गर्दा नेपालका मुख्य जातीय समूहहरु मधेशी–थारु, आदिवासी जनजाति, खस–आर्य लगायत महिला, दलित र अल्पसंख्यक समुदायको समानुपातिक र समावेशी प्रतिनिधित्व सुनिश्चित गरिनेछ ।
(छ)     यो विधान जारी भएको मितिले १ वर्षभित्र पार्टीको पहिलो महाधिवेशन सम्पन्न गरी संघीय समिति गठन गरिनेछ ।
(ज)     निर्वाचित संघीय समितिको पदावधि ४ वर्ष हुनेछ ।
(झ)     विशेष परिस्थिति आइपरेमा संघीय समितिले परिषद्को स्वीकृतिमा राष्ट्रिय सम्मेलन, बिशेष महाधिवेशन वा राष्टि̭य भेलाको आयोजना गरी संघीय समितिको पुनर्गठन र अन्य आवश्यक राजनीतिक निर्णयहरु गर्न सक्नेछ ।
(ञ)    संघीय समितिको निर्णय अनुसार एक तिहाईमा नबढाई केन्द्रीय सचिवालय गठन गर्न सकिनेछ । सचिवालयमा तोकिएअनुसारका विभाग, संयन्त्र, समिति र उपसमितिहरु हुनेछन् ।

६.१.२. प्रादेशिक समिति
(क)    प्रादेशिक समितिमा अध्यक्ष—१, उपाध्यक्ष—५, सचिव—१, सह–सचिव—५, कोषाध्यक्ष—१ समेत १३ जना पदाधिकारीसहित १०१ सदस्य हुनेछन् ।
(ख)    प्रादेशिक समितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरु प्रत्यक्ष निर्वाचित हुनेछन् ।
(ग)     प्रादेशिक समितिका उपाध्यक्ष र सह–सचिव पदमा नेपालका मुख्य जातीय समूह तथा महिला, दलित र अन्यको समानुपातिक समावेशी प्रतिनिधित्व हुनेगरी निर्वाचन नियमावलीमा व्यवस्था मिलाइनेछ ।
(घ)    ८० प्रतिशत प्रादेशिक समिति सदस्यहरु प्रदेशभरिका पार्टी सदस्यहरुको प्रत्यक्ष मतदानबाट निर्वाचित हुनेछन् । २० प्रतिशत सदस्यहरु प्रादेशिक समितिले मनोनयन गर्नेछ ।
(ङ)     यो विधानका अधीनमा रही तोकिएको कार्यविधि बमोजिम प्रदेशको सम्मेलन सम्पन्न गर्नु पर्नेछ ।
(च)     प्रादेशिक समितिको पदावधि ४ वर्षको हुनेछ ।
(छ)    संघीय समितिको अनुमतिमा विषेश परिस्थिति र कारणसहित विशेष प्रादेशिक सम्मेलन आयोजना गर्न सकिनेछ ।
(ज)    संघीय समितिकै ढाँचामा आवश्यकतानुसार प्रादेशिक समितिको सचिवालय गठन गर्न सकिनेछ । संघीय समितिका विभागहरुकै ढाँचामा प्रदेश समितिमा समेत विभाग, संयन्त्रहरु हुनेछन् ।

६.१.३. जिल्ला समिति
(क)    जिल्ला समितिमा अध्यक्ष—१, उपाध्यक्ष—३, सचिव—१, सह–सचिव—३, कोषाध्यक्ष—१ समेत ९ जना पदाधिकारीसहित कूल संख्या २५ देखि ७५ जनासम्म रहनेछन् ।
(ख)    जिल्ला समितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरु प्रत्यक्ष निर्वाचित हुनेछन् ।
(ग)     जिल्ला समितिका उपाध्यक्ष र सह–सचिव पदमा नेपालका मुख्य जातीय समूह तथा महिला, दलित र अन्यको समानुपातिक समावेशी प्रतिनिधित्व हुनेगरी निर्वाचन नियमावलीमा व्यवस्था मिलाइनेछ ।
(घ)    ८० प्रतिशत जिल्ला समिति सदस्यहरु जिल्लाभरिका पार्टी सदस्यहरुको प्रत्यक्ष मतदानबाट निर्वाचित हुनेछन् । २० प्रतिशत सदस्यहरु जिल्ला समितिले मनोनयन गर्नेछ ।
(ङ)     जिल्ला समितिको कार्यकाल ३ बर्षको हुनेछ ।
(च)    यो विधानको अधीनमा रही तोकिएको कार्यविधि बमोजिम जिल्ला सम्मेलन सम्पन्न गर्नु पर्नेछ ।
(छ)    संघीय समितिको अनुमतिमा विषेश परिस्थितिमा कारणसहित विषेश जिल्ला सम्मेलन गरी यो अवधि थपघट गर्न सकिनेछ ।
(झ)    संघीय समितिकै ढाँचामा एक तिहाईमा नबढाई जिल्ला समितिको सचिवालय गठन गर्न सकिनेछ । प्रादेशिक समितिका विभागहरुकै ढाँचामा जिल्ला समितिमा समेत विभाग, संयन्त्रहरु हुनेछन् ।

६.१.४. गाउँपालिका/नपा/उपमहा/महा/नगरपालिका समिति
(क)    प्रत्येक गाउँपालिका/नपा/उपमहा/महा/नगरपालिका समितिमा अध्यक्ष–१, उपाध्यक्ष—३, सचिव—१, सह–सचिव—३, कोषाध्यक्ष—१ समेत ९ जना पदाधिकारी रहनेछन् । उपमहानगरपालिका र महानगरपालिकाहरुमा पदाधिकारीसहित ३५ देखि ७५ सदस्य रहनेछन् । गाउँपालिका र नगरपालिकामा पदाधिकारीसहित २५ देखि ४५ सदस्य रहनेछन् ।
(ख)    गाउँपालिका/नपा/उपमहा/महा/नगरपालिका समितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरु प्रत्यक्ष निर्वाचित हुनेछन् ।
(ग)     गाउँपालिका/नपा/उपमहा/महा/नगरपालिका समितिका उपाध्यक्ष र सह–सचिव पदमा नेपालका मुख्य जातीय समूह तथा महिला, दलित र अन्यको समानुपातिक समावेशी प्रतिनिधित्व हुनेगरी निर्वाचन नियमावलीमा व्यवस्था मिलाइनेछ ।
(घ)    ८० प्रतिशत गाउँपालिका/नपा/उपमहा/महा/नगरपालिका सदस्यहरु गाउँपालिका/नपा/उपमहा/महा/नगरपालिकाका पार्टी सदस्यहरुको प्रत्यक्ष मतदानबाट निर्वाचित हुनेछन् । २० प्रतिशत सदस्यहरु गाउँपालिका/नपा/उपमहा/महा/नगरपालिका समितिले मनोनयन गर्नेछ ।
(ङ)     यो विधान जारी भएको मितिले ६ महिनाभित्र गाउँपालिका/सबै तहका नगरपालिकाको सम्मेलन गरिसक्नु पर्नेछ ।  
(च)    प्रादेशिक समितिको अनुमतिमा विषेश परिस्थितिमा कारणसहित गाउँ वा सबै तहका नगरपालिकाको सम्मेलन अवधि ६ महिनाका लागि बढाउन सकिनेछ ।
(छ)    संघीय समितिकै ढाँचामा एक तिहाईमा नबढाई गाउँ वा सबै तहका नगरपालिकामा सचिवालय गठन गर्न सकिनेछ । जिल्ला समितिकै ढाँचामा गाउँ वा नगर समितिमा समेत विभाग, संयन्त्रहरु हुनेछन् ।

६.१.५.वडा र टोल समिति
(क)    प्रत्येक वडा र टोल समितिमा अध्यक्ष–१, उपाध्यक्ष—१, सचिव—१, सह–सचिव—१, कोषाध्यक्ष—१ समेत ५ जना पदाधिकारीसहित अधिकतम ३५ जनासम्म हुनेछन् ।
(ख)    वडा र टोल समितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरु प्रत्यक्ष निर्वाचित हुनेछन् ।
(ग)     वडा र टोल समितिका उपाध्यक्ष र सह–सचिव पदमा नेपालका मुख्य जातीय समूह तथा महिला, दलित र अन्यको समानुपातिक समावेशी प्रतिनिधित्व हुनेगरी निर्वाचन नियमावलीमा व्यवस्था मिलाइनेछ ।
(घ)    ८० प्रतिशत वडा र टोल समितिका सदस्यहरु वडा र टोल समितिका पार्टी सदस्यहरुको प्रत्यक्ष मतदानबाट निर्वाचित हुनेछन् । २० प्रतिशत सदस्यहरु वडा र टोल समितिले मनोनयन गर्नेछ ।
(ङ)    गाउँ वा नगर समितिले आवश्यकताअनुसार टोल भेलाबाट बहुमत सदस्यको सहभागितामा टोलसमिति गठन गर्न सक्नेछन् । टोल भेलाको गठन विधि, गाउँ वा नगरसमितिले तोकेबमोजिम हुनेछ ।

६.१.६ तोकिएका सबै समितिहरुमा क्लष्टरको समुचित प्रतिनिधित्व गराउँदा उमेर समूहको समेत अनुपातिक सन्तुलन मिलाइनेछ ।

६.१.७ तोकिएका समितिमा तोकिएको संख्यामा पार्टी सदस्य उपलब्ध नभएमा सम्पर्क समितिका रुपमा रहनेछन् ।

६.२.    अस्वीकार र फिर्ता बोलाउने अधिकार
(क)    सबै तहका निर्वाचनमा कार्यकारी पदमा निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई अस्वीकार गर्ने अधिकार सम्बन्धित तहका सदस्यहरुमा रहनेछ ।
(ख)    सबै तहका निर्वाचित पदाधिकारी र सदस्यहरुलाई उनीहरुको कामकार्वाही चित्त नबुझेमा तोकिएको प्रक्रियाबाट फिर्ता बोलाउने अधिकार सम्बन्धित तहका सदस्यहरुमा रहनेछ ।
(ग)    अस्वीकार र फिर्ता बोलाउने अधिकारको प्रयोग तोकिएको कार्यविधि अनुसार हुनेछ ।

६.३.    पदाधिकारीसम्बन्धी थप व्यवस्था
(क)    अध्यक्षमा विजयी हुनको लागि कूल खसेको सदर मतको ५१ प्रतिशत मत प्राप्त गरेको हुनुपर्छ । प्रथम पटकको निर्वाचनमा कसैले ५१ प्रतिशत मत प्राप्त गर्न नसकेमा दोस्रो पटकको निर्वाचन पहिलो र दोस्रो हुनेको बीचमा मात्रै हुनेछ ।  
(ख)    निर्वाचनमा पदाधिकारीका उम्मेद्वारहरुले सोही तहको समितिको सदस्यकालागि समेत उम्मेद्वारी दिन पाउने छन् ।
(ग)    अध्यक्षको प्रतिस्पर्धामा न्युनतम १० प्रतिशत भन्दा धेरै मत ल्याई पराजित हुने मुख्य प्रतिस्पर्धी उम्मेद्वारलाई उपाध्यक्ष बराबरको हैसियत सहित बरिष्ठ नेताको रुपमा जिम्मेवारी दिइनेछ ।

६.४. विशेष समिति
नेपालको संविधान बमोजिम विशेष संरचनाहरुको गठन भएमा सोही बमोजिम पार्टीका विशेष समितिहरु गठन हुन यो विधानले वाधा पुर्‍याएको मानिने छैन ।

६.५. विभाग र संयन्त्रहरु
(क)     संघीय समितिको निर्णय अनुसार पार्टीको दैनिक कार्य सञ्चालन, संगठन सुदृढीकरण र राजनीतिक पहलका लागि विभागहरु गठन गर्न सकिनेछ ।
(ख)     संगठन विभाग, अध्ययन अनुसन्धान विभाग, सचिवालय व्यवस्थापन विभाग लगायत अन्य विभागहरु नेपाल सरकारको मन्त्रालयको ढाँचामा हुनेछन् ।
(ग)    विभाग बाहेक पार्टीमा तोकिएबमोजिम सदस्य रहने गरी संरक्षक परिषद्, सम्पर्क संयन्त्र, राष्टि̭य मामला संयन्त्र जस्ता अंगहरु हुनेछन् ।
(घ)    सबै अंगहरुमा एक संयोजक, एक सह–संयोजक र आवश्यकतानुसार सदस्यहरु रहनेछन् ।
(ङ)    विभागको काम, कर्तव्य, अधिकार, विषयगत क्षेत्र वा सदस्यहरुको नियुक्तिबारे संघीय समितिले छुट्टै नियमावली बनाई कार्यान्वयन गर्न सक्नेछ ।
(च)     संघीय समितिले तयार गरेको नियमावलीको अधीनमा रही प्रदेश समिति, जिल्ला समिति र गाउँ वा नगरसमितिले समेत विभागको व्यवस्थासहित संयोजकहरु र सदस्यको नियुक्ति गरी कार्यसम्पादन गर्न सक्नेछन् ।
(छ)     प्रत्येक विभागहरुले सम्बन्धित विषयमा नीति बनाउने, अध्ययन, अनुसन्धान गर्ने र यसका लागि योजनाहरु बनाउनेछन् । विभागका योजनाहरु पार्टीको सम्बन्धित समितिबाट अनुमोदन गर्नुपर्नेछ ।

६.५.१. संसदीय मामिला विभाग
(क)    पार्टीमा एक संसदीय मामिला विभाग हुनेछ । विभागले राज्यको संघीयसभा, राज्यसभा र स्थानीय निकायका निर्वाचनमा पार्टीको तर्फबाट विजयी हुने प्रयोजनकालागि आवश्यक अध्ययन, अनुसन्धान गरी रणनीति बनाउनेछ ।
(ख)    हाललाई पार्टी निर्वाचनमा सहभागी नभइसकेको अवस्थामा यस्तो विभागले देशव्यापी अवस्था आंकलन सहितको प्रतिवेदन तयार गरी पार्टीमा बुझाउनेछ ।
(ग)     संसदीय मामिला विभागले जनताका आधारभूत आवश्यकता, चुनावी मागहरु, नाराहरुको बिषयमा छलफल गरी विभिन्न दस्तावेज र प्रतिवद्धताहरु तयार गर्नेछ ।
(घ)     संसदीय मामिला विभागको भिन्नै नियमावली बनाईनेछ । सो नियमावली संघीय समितिबाट अनुमोदित भई लागू हुनेछ ।  
(ङ)    निर्वाचनमा सहभागी भई राज्यको संघीयसभा, राज्यसभा र स्थानीय निकायहरुमा पुगेपछि आफ्ना जनप्रतिनिधिहरुबीच पार्टीको कामलाई पुर्‍याउन संसदीय मामिला विभागलाई संसदीय दलले विस्थापित गर्नेछ ।

६.५.२ परिषदहरु
(क)    नयाँ शक्ति पार्टी, नेपालको नीतिगत निर्णयहरु गर्न व्यवस्थापकीय संयन्त्रको रुपमा एक संघीय परिषद् हुनेछ । यस्ता परिषद्हरु प्रदेश र जिल्लामा समेत हुनेछन् ।
(ख)    संघीय परिषद्मा संघीय समितिका सबै सदस्यहरु, केन्द्रीय सल्लाहकार समितिका सदस्यहरु, प्रदेश समितिका सचिवालय सदस्यहरु, जिल्ला र नगरका संयोजकहरु, आंगिक संगठनका केन्द्रीय संयोजकहरु, विभिन्न केन्द्रीय विभाग तथा संयन्त्रका सदस्यहरु, लेखा आयोग, संसदीय मामिला विभाग वा संसदीय दल, सम्पर्क संयन्त्रका सबै सदस्यहरु पदेन सदस्य हुनेछन् ।
(ग)     प्रदेश परिषदमा प्रदेश समितिका सदस्यहरु, सबै जिल्लाका अध्यक्षसहित पदाधिकारी, प्रादेशिक विभागीय प्रमुखहरु, नगरका संयोजकहरु, आंगिक संगठनका केन्द्रीय संयोजकहरु, विभिन्न प्रादेशिक विभाग, संयन्त्रका सदस्यहरु, लेखा आयोग, संसदीय मामिला विभाग वा संसदीय दल, सम्पर्क संयन्त्रका सदस्यहरु पदेन सदस्य हुनेछन् ।
(घ)    जिल्ला परिषदमा जिल्ला समतिका सदस्यहरु, सबै गाउँ वा नगरका अध्यक्षसहित पदाधिकारी, जिल्लाका विभागीय प्रमुखहरु पदेन सदस्य हुनेछन् ।
(ङ)    गाउँ वा नगर परिषदमा गाउँ वा नगर समितिका सदस्यहरु, सबै वडाका अध्यक्षसहित पदाधिकारी, गाउँका विभागीय प्रमुखहरु, वडाका संयोजकहरु सो तहको पदेन परिषद् सदस्य हुनेछन् ।
(च)    सबै तहको परिषदको अध्यक्षता पालैपालो सम्बन्धित समितिका उपाध्यक्षले गर्नेछन् ।
(छ)    सबै तहको परिषद्को बैठक सामान्यतया वर्षको दुईपटक बस्नेछ ।
(ज)     परिषद्का बैठकहरुमा कार्यसमितिका निर्णयहरुको अनुमोदन तथा अन्य नीतिगत निर्णयहरु हुनेछन् । कार्यसमितिले आफ्नो कार्ययोजना, बजेट, पार्टीको नीति, वार्षिक कार्यक्रम लगायतलाई परिषदको बैठकबाट पारित गराई लागू गर्नुपर्नेछ ।
(झ)    विभिन्न तहका परिषदमा आवश्यकतानुसार आमन्त्रित सदस्यका रुपमा उपस्थित गराउन बाधा पर्नेछैन ।

६.६. आयोग र वैधानिक अंगहरु

६.६.१.  लोकपाल
(क)    पार्टी सदस्यहरुका बारेमा सार्वजनिक रुपमा उठेका प्रश्नहरुको छानविन गरी आवश्यक कारवाहीको सिफारिश गर्न एक लोकपाल समूहको गठन गरिनेछ ।
(ख)    लोकपाल समूहले महाधिवेशन र संघीय परिषद्मा प्रतिवेदन पेश गर्नेछ । छानविन, अनुसन्धान र कारवाहीको सिफारिस गर्ने अधिकार यो निकायलाई हुनेछ ।
(ग)    लोकपालका निर्णयहरु कार्यान्वयन गर्नु हरेक पार्टी कमिटी र सदस्यहरुको कर्तव्य हुनेछ ।
(घ)    लोकपालको छुट्टै कार्यविधि बनाइ कार्यान्वयन गरिनेछ ।
(ङ)    लोकपाल समूह महाधिवेशनबाट निर्वाचित हुनेछन् । संक्रमणकालीन अवस्थामा राष्टि̭य भेलाले यस्तो समूह बनाउन सक्नेछ ।

६.६.२. लेखा आयोग
(क)    पार्टीको आन्तरिक लेखा नियन्त्रण, सुशासनको पालना र लेखा व्यवस्थापनसम्बन्धी प्रभावकारी विधिहरु बनाउन र कार्यान्वयनको अवस्था अनुगमन गर्न केन्द्रमा एक संघीय लेखा आयोग, प्रदेशमा प्रादेशिक लेखा आयोग र जिल्लामा जिल्ला लेखा आयोग हुनेछन् ।
(ख)    लेखा आयोगहरुका संयोजक र सदस्यहरु महाधिवेशन वा अधिवेशनबाट निर्वाचित हुनेछन् । संक्रमणकालीन अवस्थामा राष्टि̭य भेलाले यस्तो आयोग बनाउन सक्नेछ ।

६.६.३. निर्वाचन आयोग
पार्टीको निर्वाचनसम्बन्धी सम्पूर्ण कामहरु सम्पादन गर्न एक निर्वाचन आयोग हुनेछ ।
(क)     संघीय समितिले संघ, प्रदेश र स्थानीय तहको निर्वाचनलाई अगाडि बढाउन एक स्थायी निर्वाचन आयोग गठन गर्नेछ ।
(ख)    निर्वाचन आयोगले विभिन्न तहगत निर्वाचन गराउन आवश्यक नियमावली बनाई संघीय समितिको स्वीकृतिमा संघीय परिषद्बाट पारित गराई कार्यान्वयन गर्नेछ ।
(ग)    निर्वाचन आयोगले आवश्यकताअनुसार प्रदेश र जिल्ला तहसम्म निर्वाचन सम्पन्न गर्न आवश्यक जनशक्तिलाई तालिम दिई र परिचालन गर्न सक्नेछ ।
(घ)    निर्वाचन आयोगका संयोजक र सदस्यहरु महाधिवेशन वा अधिवेशनबाट निर्वाचित हुनेछन् । संक्रमणकालीन अवस्थामा राष्टि̭य भेलाले यस्तो आयोग बनाउन सक्नेछ ।
(ङ)    निर्वाचनसम्बन्धी सम्पूर्ण व्यवस्था नियमावलीमा उल्लेख भएअनुसार हुनेछ ।

६.६.४ सदाचार आयोग
(क)    पार्टीमा सम्पूर्ण सदस्य तथा अभियन्ताहरुलाई सदाचारको अभिमुखीकरण र प्रवद्र्धनको लागि एक सदाचार आयोग हुनेछ ।
(ख)    सदाचार आयोगको गठन पार्टीको महाधिवेशनले गर्नेछ । संक्रमणकालीन अवस्थामा राष्ट्रिय भेलाले यस्तो आयोग बनाउन सक्नेछ ।
(ग)    सदाचार आयोग सम्बन्धी सम्पूर्ण व्यवस्था नियमावलीमा उल्लेख भएअनुसार हुनेछ ।

६.६.५ अनुशासन आयोग
(क)    पार्टीको विधान, नीति, सिद्धान्त र आचारसंहिता विपरित हुनेगरी कसैले अनुशासनको उल्लंघन गरेमा वा गरेको सूचना प्राप्त भएमा यसमाथि न्यायिक छानविन र कारवाहीको सिफारिशका लागि संघ, प्रदेश र स्थानीयतहमा एक अनुशासन आयोग हुनेछ ।   
(ख)    अनुशासन आयोगको गठन पार्टीको महाधिवेशनले गर्नेछ । संक्रमणकालीन अवस्थामा राष्ट्रिय भेलाले यस्तो आयोग बनाउन सक्नेछ ।
(ग)    अनुशासन आयोग सम्बन्धी सम्पूर्ण व्यवस्था नियमावलीमा उल्लेख भएअनुसार हुनेछ ।

६.६.६. संरक्षक परिषद
(क)     पार्टीबाट निवृत्त हुने पदाधिकारी तथा सदस्यहरुलाई सम्मानित गर्ने र अनुभवहरुलाई हस्तान्तरण गर्दै जाने उद्देश्यले एक संरक्षक परिषदको गठन गरिनेछ ।
(ख)    ७० बर्ष उमेर पूरा भएका निवृत्त सदस्यहरु वा पार्टीमा कार्यकारी भूमिका वहन गर्न नचाहने पार्टी सदस्यहरु तहअनुसारको संरक्षक परिषद्मा मनोनित हुनेछन् ।
(ग)    संरक्षक परिषद्ले तहगत कार्यसमितिको बैठकमा भाग लिने, सल्लाह–सुझाव दिने तथा पार्टीलाई संरक्षण दिनेछ ।
(घ)    संरक्षक परिषद्सम्बन्धी थप व्यवस्था छुट्टै कार्यविधिमा गरिनेछ ।

भाग – ७

समिति तथा पदाधिकारीहरुको काम, कर्तव्य र अधिकार

७.१    संघीय समितिको काम, कर्तव्य र अधिकार
(क)     महाधिवेशन र परिषद् बैठकबाट पारित निर्णयहरुको कार्यान्वयन गर्नु गराउनु ।
(ख)     पार्टी, आंगिक संगठन, संयन्त्रहरु सञ्चालनका लागि आवश्यक योजनाहरु बनाउनु र पारित निर्णय र नीतिहरु लागू गर्नु ।
(ग)     विधान, राजनीतिक प्रतिवेदन र पारित नीति तथा कार्यक्रमअनुसार राजनीतिक, सांगठनिक र कार्यक्रमिक योजनाहरु बनाउनु ।
(घ)     विधानबमोजिम महाधिवेशनको आयोजना गर्नु र तल्ला समितिहरुलाई प्रभावकारिताका लागि उचित निर्देशन, उत्प्रेरणा र सहजीकरण गर्नु ।
(ङ)     पार्टीको दैनिक कार्यसञ्चालनको लागि सचिवालय गठन गरी कार्यान्वयन गराउनु ।
(च)     सल्लाहकार परिषदको गठन गरी सल्लाह, सुझावहरु लिनु ।
(छ)     विभाग, आयोग, संयन्त्रहरुको कार्ययोजना पारित गरी कार्यान्वयन गर्नु ।
(ज)     देश विदेशका अन्य राजनीतिक दलहरुसँग सहकार्य, समन्वय र राजनीतिक संवाद बढाउनु ।
(झ)     राजनीतिक अभियान र जनपरिचालनका कामहरु गर्नु गराउनु ।
(ञ)     संघीय समितिका पदाधिकारी वा सदस्यहरुलाई अधिकार प्रत्यायोजन गर्नु ।
(ट)     प्रदेश समिति, जिल्ला समिति, स्थानीय समिति र पार्टी अंगहरुलाई गर्नुपर्ने कामहरुबारे उचित सल्लाह र सहजीकरण गर्नु ।
(ठ)     राज्य र सरकारका कामहरुको निगरानी गर्नु र जनताको पक्षमा काम गर्न दवावमूलक आन्दोलन, अभियान, संवादसहितको पहलकदमी लिनु ।
(ड)     पार्टीका नियमित कामहरु सम्पादन गर्न सदस्यहरुलाई जिम्मेवारी दिनु, विभिन्न कार्यदलहरु बनाउनु, कर्मचारीहरुको नियुक्ति गर्नु, केन्द्रीय कार्यालय सञ्चालन गर्नु, प्रवक्तामार्फत नियमित सूचना सम्प्रेषण गर्नु र कुनै खास विषय वा अभियानको लागि उत्प्रेरक तोक्नु ।
(ढ)     पार्टीको तर्फबाट प्रतिनिधित्व गर्नुपर्ने स्थानमा पार्टी प्रतिनिधि तोकी जिम्मेवारी सुम्पनु ।
(ण)     महाधिवेशनप्रति उत्तरदायी भै पार्टीको हितकालागि आवश्यक काम गर्नु ।

७.२    प्रादेशिक, जिल्ला र स्थानीय समितिको काम, कर्तव्य र अधिकार
(क)    संघीय समितिले गर्ने भनी तोकिएको काम कर्तव्य र अधिकार प्रदेशस्तर, जिल्ला र स्थानीय स्तरका समितिहरुले सोही समिति स्तर र प्रकृतिबमोजिम आफ्नो काम कर्तव्य र अधिकारको प्रयोग गर्नेछन् ।

७.३.    पदाधिकारीहरुको काम, कर्तव्य र अधिकार
पदाधिकारीहरुको काम, कर्तव्य र अधिकार देहायबमोजिम हुनेछ :

७.३.१. संघीय समिति अध्यक्षको काम, कर्तव्य र अधिकार
(क)     संघीय समितिले आयोजना गरेको सबै कार्यक्रमहरुको अध्यक्षता गर्ने । बैठक बोलाउने र बैठकमा प्रस्तावहरु प्रस्तुत गर्न महासचिवलाई निर्देशन गर्ने ।
(ख)     संघीय समिति, विभागहरु, आंगिक, राष्ट्रिय संगठन, सम्पर्क संयन्त्र लगायतका बैठकहरुमा उपस्थित भई नीतिगत निर्देशन दिने, प्रशिक्षण दिने, पार्टी संगठनका सबै राष्ट्रिय स्तरका कार्यक्रममा सहभागी भै पार्टीको विचार, नीति, सिद्धान्त र राजनीतिबारे पार्टी सदस्यहरुलाई प्रशिक्षित गर्ने गराउने ।
(ग)     विधानबमोजिम पार्टीको संघीय समितिले गर्ने भनिएको सबै कार्यक्रम, योजना र निर्णयहरु कार्यान्वयनका लागि आवश्यक निर्देशन र सहयोग गर्ने ।
(घ)     पार्टीको मुख्य केन्द्रीय नेताको रुपमा राजनीतिक, सांगठनिक र कार्यक्रमिक बिषयहरुमा नेतृत्व गर्ने ।
(ङ)    संघीय परिषदबाट अनुमोदन गराउने नीतिगत बिषयहरु छलफलका लागि प्रस्तुत गर्ने वा गराउने र निर्णयहरु कार्यान्वयनको सुनिश्चितता दिने ।
(च)     पार्टी विधानको पालना गर्ने गराउने । विधानअनुसार पार्टीको गरिमा अभिवृद्धि गर्ने ।
(छ)    पार्टीलाई राजनीतिक, सांगठनिक र कार्यक्रमिक रुपमा बलियो बनाउन र पार्टीको गरिमा पहिचान नेतृत्वदायी काम गर्ने ।
(ज)     कुनै बिषयमा निर्णय गर्दा मत बराबर भएमा निर्णायक मतदान गर्ने ।

७.३.२. उपाध्यक्षहरुको काम, कर्तव्य र अधिकार :
(क)     अध्यक्षको अनुपस्थितिमा अध्यक्षले अधिकार प्रत्यायोजन गरेबमोजिम कार्य गर्ने ।
(ख)     उपाध्यक्षहरुमध्ये पालैपालो संघीय परिषदको अध्यक्षता गर्ने ।
(ग)     पार्टीको विधान, केन्द्रीय महाधिवेशन, सम्मेलन र बैठकका निर्णयबाट उपाध्यक्षहरुले गर्ने भनी तोकिएका कार्यहरु गर्ने ।

७.३.३. महासचिवको काम, कर्तव्य र अधिकार
(क)     अध्यक्षको स्वीकृती लिई संघीय समितिको बैठक बोलाउने र सञ्चालन गर्ने ।
(ख)     बैठकको माइन्यूट पुस्तिका र पार्टी अभिलेख ठीक दुरुस्त राख्ने । बैठकको एजेण्डा र निर्णयहरु लिपिवद्ध गर्ने र सबै केन्द्रीय पदाधिकारी र प्रादेशिक संयोजकसम्म दोहोरो सञ्चार सुनिश्चित गर्ने ।
(ग)     संघीय सचिवालयका कामहरुको समन्वय गर्ने ।
(घ)     कार्यालयको लागि चाहिने भौतिक पूर्वाधार व्यवस्थापन, मर्मत सम्भार र अन्य भैपरि आउने सम्पूर्ण कामको रेखदेख, नियन्त्रण र सम्वद्र्धन गर्ने ।
(ङ)     समसामयिक राजनैतिक तथा सामाजिक घटना र महत्वपूर्ण राजनीतिक बिषयमा अध्यक्षको स्वीकृत लिई स्वयम् आफैं वा प्रवक्ता मार्फत पार्टीको प्रतिक्रिया सम्प्रेषण गर्ने ।
(च)     पार्टीका सबै निकाय, पदाधिकारी, सदस्यहरु र सर्वसाधारण जनतासँग पार्टीको संघीय कार्यालयको तर्फबाट जीवित सम्पर्क स्थापित गर्नु ।
(छ)     निर्णय कार्यान्वयनको अवस्था अनुगमन गर्ने र आवश्यक सुझाव दिने ।
(ज)     विधानको कार्यान्वयनमा अध्यक्षलाई सहयोग गर्ने र बैठकमा महासचिवले गर्ने भनी तोकिएको सबै काम गर्ने ।

७.३.४. सचिवहरुको काम, कर्तव्य र अधिकार
(क)     महासचिव उपस्थित नभएको अवस्थामा अधिकार प्रत्यायोजित गरेको वा बैठकको निर्णयबाट तोकिएको महासचिवले गर्ने कामहरु गर्ने ।
(ख)     यो विधान वा पार्टीको निर्णयबमोजिम सचिवालय सञ्चालनसम्बन्धी काम गर्ने ।
(ग)     सदैव पार्टीप्रति उत्तरदायी भइ बैठकले तोकेअनुसारका कामहरु गर्ने ।

७.३.५. कोषाध्यक्षको काम, कर्तव्य र अधिकार
(क)     पार्टी कोषको व्यवस्थापन, रेखदेख र सञ्चालनको आवश्यक व्यवस्था मिलाउने ।
(ख)     पार्टीको कोषको आय–व्यय अवस्थाको प्रारुप र बजेट तर्जुमा गरी महाधिवेशन, सम्मेलन, भेला र बैठकमा पेश गरी अनुमोदन गराउने । अनुमोदित बजेटको कार्यान्वयन गराउने ।
(ग)     पार्टीको नियमित लेखा सञ्चालनकालागि लेखापालको प्रबन्ध मिलाउने र सो कामको अनुगमन गर्ने ।
(घ)     पार्टीको स्रोत परिचालन निर्देशिकाको कार्यान्वयन गर्ने गराउने । आर्थिक सुशासनलाई बलियो बनाउने र वार्षिक लेखापरीक्षण गराउने ।
(ङ)     बैठकले तोकेबमोजिम कोषाध्यक्षले गर्ने अन्य कार्यहरु गर्ने ।

७.३.६. सदस्यहरुको काम, कर्तव्य र अधिकार
(क)     यो विधानबमोजिम कार्यसमितिका सदस्यहरुले गर्ने भनी तोकिएका र संघीय समितिले गरेका निर्णयहरु कार्यान्वय गर्ने गराउने ।
(ख)     पार्टीको उद्देश्य र नीति लागू गर्ने गराउने ।
(ग)    तोकिएका जिम्मेवारीहरु पूरा गर्ने ।

७.३.७. प्रदेश, जिल्ला र स्थानीय स्तरका अध्यक्षहरुले संघीय अध्यक्षले गर्ने भनी तोकिएको काम, कर्तव्य, अधिकार आ–आफ्नो समिति स्तरमा प्रयोग गर्ने ।

७.३.८.    प्रदेश, जिल्ला र स्थानीय स्तरका उपाध्यक्षले संघीय उपाध्यक्षले गर्ने भनी तोकिएको काम, कर्तव्य, अधिकार आ–आफ्नो समिति स्तरमा प्रयोग गर्ने ।

७.३.९.    प्रदेश, जिल्ला र स्थानीय स्तरका सचिवले संघीय महासचिवले गर्ने भनी तोकिएको काम, कर्तव्य, अधिकार आ–आफ्नो समिति स्तरमा प्रयोग गर्ने ।

७.३.१०. प्रदेश, जिल्ला र स्थानीय स्तरका सहसचिवले संघीय सचिवले गर्ने भनी तोकिएको काम, कर्तव्य, अधिकार आ–आफ्नो समिति स्तरमा प्रयोग गर्ने ।

७.३.११. प्रदेश, जिल्ला र स्थानीय स्तरका कोषाध्यक्षले संघीय कोषाध्यक्षले गर्ने भनी तोकिएको काम, कर्तव्य, अधिकार आ–आफ्नो समिति स्तरमा प्रयोग गर्ने ।

७.३.१२. प्रदेश, जिल्ला र स्थानीय स्तरका समिति सदस्यले संघीय समिति सदस्यले गर्ने भनी तोकिएको काम, कर्तव्य, अधिकार आ–आफ्नो समिति स्तरमा प्रयोग गर्ने ।

भाग ८

पार्टीको आंगिक संगठन/राष्ट्रिय संगठन/संघीय सम्पर्क मञ्च र अन्य संगठनहरु

८.१. पेशागत संगठन
(क)    शिक्षक, प्राध्यापक, कर्मचारी लगायत पेशागत क्षेत्रमा दलगत संगठन निर्माण नगरी पेशागत क्षमता विकास र समृद्धि तथा सुशासनको कार्यसूचीमा सहकार्य गर्न निरन्तर संवादको उपयुक्त विधि अवलम्वन गरिनेछ ।

८.२. आंगिक संगठनहरु
(क)    देशका विभिन्न वर्ग, तह, तप्का, क्षेत्र, र समुदायका जनसाधारणलाई पार्टीको आम नीति, सिद्धान्त र कार्यक्रमको पक्षमा क्रियाशील हुन उत्प्रेरित गर्ने अभिप्रायले आंगिक संगठनहरु गठन गर्न पार्टीले उत्प्रेरित गर्नेछ ।
(ख)    आंगिक संगठनहरुको छुट्टै विधान हुनेछ । सोही विधानअनुरुप ती संगठनहरु सञ्चालित हुनेछन् । यस्ता संगठन र पार्टीबीचको सम्बन्ध सुमधुर बनाउन आवश्यक संरचना बनाउन सकिनेछ । आंगिक संगठनको काम कार्वाहीमा पार्टीले कुनै प्रकारको हस्तक्षेप गर्ने छैन ।        

८.३. राष्ट्रिय (Nationalities) संगठनहरु
(क)     नेपालमा बसोबास गर्ने सबै जाति (राष्ट्र) र समुदायलाई पार्टीको नीतिअनुसार संगठित गरिनेछ । नेपालमा अस्तित्वमा रहेका सबै जाति (राष्ट्र) हरुको स्थानीयदेखि संघसम्म छुट्टै राष्ट्रिय संगठनहरु निर्माण गरिनेछ ।
(ख)    यस्ता राष्टि̭य संगठनहरुले जातीय पहिचान र एकताको प्रवद्र्धन, समानुपातिक समावेशीकरणको सिद्धान्तको कार्यान्वयन, सामाजिक सद्भाव र समृद्धिका लागि काम गर्नेछन् ।
(ग)     यी संगठनहरुको गठन र सञ्चालन आफैंले निर्माण गरेको कार्यविधि बमोजिम हुनेछ ।
(घ)    यस्ता संगठनहरुको समन्वय र सहजीकरण राष्ट्रिय मामिला संयन्त्रले गर्नेछ ।    

८.४. सम्पर्क संयन्त्र र सम्पर्क समाज
(क)     देशका विभिन्न क्षेत्रबाट अर्को स्थानमा आई बसोबास गरी रहेका पार्टी सदस्य र समर्थकहरुलाई संगठित गरी सम्पर्क समाजको गठन गरिनेछ ।
(ख)     सम्पर्क समाजहरु विषेशत: काठमाडौं उपत्यका र देशका शहरी क्षेत्रलाई केन्द्रित गरी गठन हुनेछन् ।
(ग)    सम्पर्क समाजको कामलाई व्यवस्थित गर्न केन्द्र, प्रदेश र जिल्ला तहमा सम्पर्क संन्यन्त्र रहनेछ । संयन्त्रले सम्पर्क समाजको गठन र परिचालन गर्नेछ ।
(घ)    सम्पर्क संयन्त्रको कार्यविधि संघीय समितिले तोकेबमोजिम हुनेछ ।
(ङ)    विदेशका सम्पर्क समाज आफैंले विधान वा नियमावली बनाई कार्यान्वयन गर्नेछन् ।

८.५ विभाग र शाखाहरु
(क)    पार्टीको संघीय समितिले आफ्ना नियमित कामहरु सम्पादन गर्न केन्द्रीय सचिवालयमा विभाग र विभाग मातहतका शाखाहरु बनाउन सक्नेछ ।
(ख)    यस्ता विभाग र शाखाहरु कार्यविधिमा व्यवस्था भएबमोजिम हुनेछ ।

८.६ अन्तर्राष्ट्रिय क्षेत्र
(क)    पार्टीले प्रवासमा रहेका नेपालीहरुलाई संगठित गर्नेछ । यसका लागि एक वैदेशिक शाखा बनाइनेछ जसले संगठन विभागसँग समन्वय गरेर कार्यसम्पादन गर्नेछ ।
(ख)    विभिन्न कुटनैतिक क्षेत्र र मिसनहरुसँग सम्बन्ध कायम गर्ने अन्तर्राष्ट्रिय विभाग रहनेछ ।
(ग)    अन्तर्राष्ट्रिय विभागले भाइचारा पार्टीसँगको सम्बन्ध कायम गर्नेछ ।
(घ)    अन्तराष्ट्रिय सम्बन्धको विस्तार गर्ने काम समेत यो विभागले गर्नेछ ।

अध्याय–९

पार्टी अनुशासन, उल्लंघन र  कार्वाही

९.१. अनुशासन
तपशिलबमोजिमका क्रियाकलापहरु पार्टी अनुशासन उल्लंघनका विषयहरु हुनेछन् ।
(क)    पार्टीले बनाउने र बेलाबेलामा अद्यावधिक गर्ने नियम, जीवन पद्धति र आर्थिक व्यवहारसम्बन्धी आचारसंहिता विरुद्धका क्रियाकलापहरु,
(ख)    पार्टी विधान विपरितका कार्यहरु, पार्टी संसदीय दलको नियममावली, ह्वीप र संसदीय दलका लागि बनाइएको आचारसंहिता विपरित हुने क्रियाकलापहरु,
(ग)    राजकीय पदहरुमा निर्वाचन हुँदा र पार्टीको आधिकारिक उम्मेद्वारको विरुद्धमा उम्मेद्वारी दिने वा आधिकारिक उम्मेद्वारको विरुद्धमा प्रचार गर्ने क्रियाकलापहरु,
(घ)    सामाजिक कुरीति र अन्धविश्वासलाई पक्षपोषण गर्ने र त्यसमा स्वयम् संलग्न भई गरिने अनुचित क्रियाकलापहरु,
(ङ)    सार्वजनिक, फौजदारी अपराधजन्य र भ्रष्टाचारजन्य क्रियाकलापहरु,  
(च)    महिला, बालबालिका, फरक सामथ्र्य भएका, तेस्रो लिङ्गी, वृद्धवृद्धा, दलित तथा श्रमजिवी जनताको आत्मस्वाभिमानमा चोट पुग्ने, उनीहरुलाई हेप्ने वा अपमानित गर्ने कुनै प्रकारका क्रियाकलापहरु,
(छ)    मादकपदार्थ  वा लागूपदार्थ सेवन गरी वा नगरी गरिने अमर्यादित तथा दुव्र्यव्यहारपूर्ण क्रियाकलापहरु,  
(ज)    अतिमहत्वपूर्ण कारण कमिटीले गोप्य राख्ने भनी जानकारी गराएका विषयहरुको गोप्यता भंग गरी पार्टीलाई हानीनोक्सानी पुर्‍याउने क्रियाकलापहरु ।
(झ)    माथि जुनसुकै कुरा लेखिएको भए पनि खुला रुपमा राजनीतिक बहस, पार्टी संरचनाभित्र आफ्नो अभिमत राख्ने, विचार व्यक्त गर्ने, लेख्ने र बोल्ने स्वतन्त्रता र अल्पमतको रक्षाका लागि व्यक्त गरिने विचारहरुलाई अनुशासनको दायरामा ल्याइनेछैन ।

९.३. कारवाही तथा सुनुवाईको मौका
माथि ९.१ मा उल्लेख गरिएका क्रियाकलापहरुमा कुनै पार्टी पदाधिकारी वा पार्टी सदस्य संलग्न भएको पाईएमा वा उजुरी प्राप्त भएमा तपसिल बमोजिमको प्रक्रियाअनुरुप कारवाही तथा सजाय गरिनेछ :
(क)    घटनाको छानविन गर्ने सम्पूर्ण जिम्मेवारी सम्बन्धित तहको अनुशासन आयोगको हुनेछ । आयोगद्वारा तोकिएबमोजिम अनुसन्धान तथा छानबिन गरिनेछ ।
(ख)    अनुशासन आयोगले छानविनको विधि सर्वमान्य सिद्धान्तका आधारमा आफैं निर्धारण गर्न सक्नेछ । आरोपित व्यक्तिलाई प्रतिवाद गर्ने, आफ्नो जिकिर राख्ने, सवुत प्रमाण पेश गर्ने अवसरबाट वञ्चित गरिने छैन ।
(ग)    कुनै पनि उजुरीको छानविन गर्न समय निर्धारण गरिएको बाहेक छानविन गर्न तीन महिनाभन्दा धेरै समय लगाइने छैन ।
(घ)    आरोपित कसुर प्रमाणित भएको अवस्थामा निश्चित समयसम्मको लागि सदस्यताबाट निलम्बन गर्ने वा पार्टीबाटै निष्काशन गर्न सकिनेछ । त्यस्तो निष्काशनको निर्णयउपर उपल्लो तहको आयोगमा पुनरावेदन गर्न सकिनेछ ।
(ङ)    अनुशासन आयोगको प्रतिवेदनभन्दा घटी वा बढी सजाय गर्न कमिटी स्वतन्त्र हुनेछैन । अन्यथा भए त्यसका लागि सम्बन्धित कमिटीको पूर्ण बैठकमा पुनर्विचारका लागि प्रतिवेदन फर्काउन सकिनेछ ।
(च)    सम्बन्धित कमिटीले कारवाही अनुमोदन गरेको मितिबाट कारवाही लागू भएको मानिनेछ ।

अध्याय–१०

पार्टी कोषको व्यवस्था

१०.१.पार्टीको आयस्रोत
पार्टीका सबै तहका कमिटीहरुमा पार्टी कोष हुनेछ । कोषमा तपशिल बमोजिमका रकमहरु आम्दानीमा बाँधिनेछन् । आम्दानी र खर्च बैंकमार्फत सञ्चालन हुनेछन् ।
(क)    पार्टी सदस्यबाट प्राप्त सदस्यता शुल्क,
(ख)    पार्टी सदस्यले पार्टीलाई गर्ने विशेष आर्थिक सहयोग,
(ग)    जनसाधारणबाट प्राप्त हुने सहयोग,
(घ)    पार्टीका प्रकाशनहरुको बिक्री वितरणबाट प्राप्त रकम,
(ङ)    प्रचलित नियम कानुनबमोजिम राजनीतिक दलले प्राप्त गर्न वाञ्छनीय हुने अन्य आयहरु ।

१०.२. कोषको सञ्चालन तथा सुशासन
(क)    यो विधानबमोजिम पार्टीको कोषको सञ्चालन संघीय कार्यसमितिको निर्णयअनुसार अध्यक्ष, कोषाध्यक्ष, महासचिव, कार्यालय प्रमुख र लेखापाल मध्ये कुनै दुई वा सबैको संयुक्त हस्ताक्षरबाट सञ्चालन हुने गरी राष्ट्रिय वाणिज्य बैंक वा बैठकले तोकेको कुनै बैंकमा खाता खोलिनेछ ।
(ख)    प्रत्येक आर्थिक वर्षको अन्त्यमा पार्टीको आयव्यय विवरण मान्यताप्राप्त लेखापरीक्षकबाट लेखापरीक्षण गराई महाधिवेशनमा प्रस्तुत गर्ने र राज्यका निकायहरुमा प्रस्तुत गर्ने तथा सर्वसाधारणको जानकारीकालागि पार्टीको वेवसाईटमा राखिनेछ ।
(ग)    आर्थिक स्रोत परिचालन, पारदर्शिता र सुशासनसम्बन्धी व्यवस्थाका लागि आर्थिक कार्यविधि बनाई कार्यान्वयन गरिनेछ ।

१०.३. भौतिक सामग्रीको सुरक्षा
(क)    पार्टीको भौतिक सामग्रीको सुरक्षा गर्नु सम्बन्धित समितिको मुख्य दायित्व हुनेछ ।
(ख)    कसैको जिम्मेवारीमा रहेका भौतिक सामग्रीको सुरक्षा गर्नु सम्बन्धित जिम्मेवार पदाधिकारीको र कार्यालयका सामग्रीहरुको सुरक्षा कार्यालय प्रमुखको दायित्व हुनेछ ।
(ग)    पार्टीको भौतिक सामग्री तथा अचल सम्पत्तिको अभिलेख राख्न, रेखदेख र नियन्त्रण गर्न, रुजु तथा पुनर्मूल्यांकन र लिलाम बिक्री गर्न कोषाध्यक्षको रेखदेख र नियन्त्रणमा जिन्सी शाखा गठन गर्न सकिनेछ । जिन्सी शाखा गठन नभएको अवस्थामा यो कार्य समेत लेखा शाखाले नै गर्नेछ ।  

भाग – ११

राजकीय पदमा उम्मेद्वारी र मनोनयन

११.१. नामांकन मनोनयनको सिफारिश
(क)    कुनै पनि तहको राजकीय पदको निर्वाचन नामांकनको सिफारिश–पत्र सम्बन्धित तहको पार्टी प्रमुखले हस्ताक्षर गरी प्रमाणित गर्नेछन । सम्बन्धित तहको अन्तर्पार्टी प्रतिस्पर्धामा विजय भएको भनी सम्बन्धित तहको निर्वाचन आयोगले प्रमाणित गरेको व्यक्तिलाई मात्र पार्टी प्रमुखले नामांकन दिन सक्नेछन ।

भाग – १२

विधान संशोधन

१२.१. विधान संशोधन र पारित गर्ने
(क)    अन्तरिम विधान २०७३ संसोधन वा थपघट गर्नु पर्ने भएमा संघीय समितिले प्रस्ताव तयार गरी संघीय परिषद् वा महाधिवेशनबाट दुई तिहाई सदस्यले प्रस्ताव पारित गरेमा विधान संशोधन हुन सक्नेछ ।

भाग १३

सक्रमणकालीन व्यवस्था

१३.१.    संक्रमणकालीन व्यवस्था
(क)     यो अन्तरिम विधान पहिलो महाधिवेशन सम्पन्न भई अर्को विधान जारी नभएसम्मको लागि राष्टि̭य भेलाबाट पारित हुनासाथ लागू हुनेछ ।
(ख)     यो विधान पारित हुनुअघि नयाँ शक्ति पार्टी, नेपालको केन्द्रीय परिषद्द्वारा पारित अन्तरिम पार्टी सञ्चालन तथा व्यवस्थापन निर्देशिका २०७२ बाट बनेका केन्द्रीय परिषद् लगायत मातहतका सबै संगठनहरु यसै विधान अन्तर्गत भएको मानिनेछ ।
(ग)     नयाँ शक्ति पार्टी, नेपालको केन्द्रीय परिषद्द्वारा पारित अन्तरिम पार्टी सञ्चालन तथा व्यवस्थापन निर्देशिका २०७२ बाट बनेका केन्द्रीय परिषद् लगायत मातहतका सबै संगठनहरु यसै विधान अन्तर्गत यथावत कायम रहनेछन् ।
(घ)    यो विधान राष्ट्रिय भेलाले पारित गरेको मितिबाट प्रदेश परिषद्देखि वडा स्तरसम्मका सबै तहका परिषदहरु स्वत: अधिवेशन आयोजक समितिमा रुपान्तरित हुनेछन् । सबै तहका संयोजक तथा सदस्यहरु तत्तत् तहका सम्मेलन नभएसम्मका लागि बहाल रहनेछन् । सदस्य संख्या सम्बन्धित तहका सम्मेलन आयोजक समितिले थपघट गर्न सक्नेछन् ।
(ङ)    हाल वहाल रहेको केन्द्रीय सचिवालय यो विधान राष्ट्रिय भेलाबाट पारित गरेको मितिदेखि केन्द्रीय कार्यकारी समितिमा रुपान्तरण हुनेछ । केन्द्रीय कार्यकारी समिति र केन्द्रीय परिषदका सदस्यहरुको थपघट केन्द्रीय कार्यकारी समितिबाट गर्न सकिनेछ ।
(च)    राष्ट्रिय महाधिवेशनबाट संघीय समितिको गठन नभएसम्मको लागि केन्द्रीय कार्यकारी समितिको संयोजकलाई राजनीतिक सहकार्यको निम्ति केन्द्रीय कार्यकारी समितिले केन्द्रीय संयोजकको अलावा आवश्यक सहसंयोजकहरु र सदस्य रहने गरी विशेष राजनीतिक समिति गठन गर्नेछ । समितिको काम, कर्तव्य र अधिकार केन्द्रीय कार्यकारी समितिको निर्णयबमोजिम हुनेछ ।

भाग १४

विविध

१४.१.    बाधा अडकाउ फुकाउने अधिकार:
(क)    यो विधानको कार्यान्वयनमा बाधा आई परेमा बाधा अड्काउ फुकाउने अधिकार संघीय समितिलाई हुनेछ ।

१४.२.    व्याख्या गर्ने अधिकार
(क)    यो विधानको कार्यान्वयन गर्ने सन्दर्भमा थप व्याख्या गर्नुपरेमा यसको व्याख्या गर्ने अधिकार संघीय परिषद् वा संघीय कार्यसमितिको निर्णयले अध्यक्षलाई हुनेछ ।

१४.३.    नियम बनाउने अधिकार
(क)    यो विधान कार्यान्वयन गर्नका लागि यो विधान प्रतिकूल नहुने गरी आवश्यक पर्ने नियम, आचारसंहिता एवम् निर्देशिकाहरु बनाउने अधिकार संघीय समितिमा हुनेछ । यस्ता नियमहरु संघीय परिषद्बाट अनुमोदन गराउनु पर्नेछ ।

१४.४. पार्टी विघटन
(क)    कुनै पार्टीसँग एकता गरिएको अवस्थामा बाहेक अन्य कारणले पार्टी विघटन भएमा पार्टीको चल अचल सम्पत्ति नेपाल सरकारको हुनेछ ।

१४.५. सपथ ग्रहण
(क)    सबै समितिका निर्वाचित र मनोनित सदस्यले पार्टीले तोकेबमोजिम सपथग्रहण गर्नुपर्ने छ । सपथग्रहण नगर्दासम्म पदअनुसार काम गर्न योग्य मानिने छैन ।
(ख)    सपथग्रहण आफूले रुचाएको राष्ट्रिय भाषामा गर्न निर्वाचित पदाधिकारी र सदस्यहरु स्वतन्त्र हुनेछन् ।

भाग १५

विधानमा बहस

(क)    नयाँ शक्ति पार्टी, नेपालको पहिलो महाधिवेशनसम्मका लागि यो प्रस्तावित विधानको छलफललाई खुल्ला गरिएको छ । महाधिवेशबाट पारित हुनासाथ यो विधान सम्पूर्ण रुपमा लागू हुनेछ ।
(ख)    हाललाई यो विधानको संघीय निर्वाचनसम्बन्धी व्यवस्था गर्न आवश्यक संरचनाहरु नभएको हुँदा सो प्रयोजनका सम्पूर्ण व्यवस्थाहरु संक्रमणकालीन व्यवस्था अन्तरगत निष्क्रिय गरिएको छ । राष्टि̭य भेलापछि विधानअनुसार प्रदेश र सो भन्दा तलका निकायहरुको निर्वाचन गर्न भेलाको निर्णयअनुसार केन्द्रीय कार्यकारी समितिले आवश्यक संरचनाहरु बनाई कार्यान्वयनमा लैजानेछ ।

भाग १६

खारेजी र बचाउ

१६.१.    खारेजी र बचाउ
(क)     यो अन्तरिम विधान जारी भएको मितिबाट नयाँ शक्ति पार्टी, नेपालको अन्तरिम केन्दीय परिषद निर्देशिका २०७२ स्वत: खारेज हुनेछ । सो निर्देशिका बमोजिम भए गरेका सम्पूर्ण काम कारवाही यसै अन्तरिम विधानबमोजिम भए गरेको मानिने छ ।


अनुसूचीहरु

शपथको व्यहोरा

१.१. नयाँ शक्ति नेपालको सपथ ग्रहण:
म, ............(नाउँ)........ नयाँ शक्ति नेपालको सदस्य भएकोमा गर्व गर्दछु । यही गर्वका साथ म मेरो देश, शहीदहरु, नेपाली जनता र यसको गौरवशाली इतिहासलाई साक्षी राख्दै निम्न प्रतिज्ञा गर्दछु,
म, नेपाली जनताको लोकतन्त्र, संघीयता, समृद्धि, विकास र सामाजिक न्यायको सपनालाई पूरा गर्न वचनवद्ध छु ।
म, आफ्नै जीवनकालमा समृद्ध नेपाल निर्माण गर्न सम्भव छ भन्ने विश्वास राख्दछु ।
म, सबै नेपाली जनताको समान पहिचान र स्वामित्व सहितको स्वाधीन, समृद्ध, समानुपातिक/समावेशी/सहभागितामूलक लोकतन्त्र र समुन्नत समाजवाद निर्माणकालागि क्रियाशील रहनेछु ।
म, जीनवनभर सुशासन, सदाचार, मानवीय मूल्य र गरिमा बृद्धिकालागि लागिरहनेछु ।
म, कहिल्यै सार्वजनिक हितलाई कुण्ठित गर्ने छैन र निजी स्वार्थकालागि राजनीति गर्नेछैन ।
म, सधैं श्रमको सम्मान गर्नेछु ।
म, जे बोल्छु, त्यही गर्नेछु र सधैं सकारात्मक सोंच राख्नेछु ।
म, नयाँ शक्ति नेपाललाई एक वैकल्पिक राजनीतिक पार्टीको रुपमा विकास गर्दै यसको लक्ष्य र उद्देश्य प्राप्त गर्न निरन्तर क्रियाशील रहनेछु ।
नयाँ शक्ति पार्टी, नेपाल, जिन्दावाद !
नाम:
ठेगाना:
हस्ताक्षर:

डाउनलोड