नयाँ शक्ति निर्माण अभियानको सुरुवातको क्रममा बन्द सत्रलाई सम्बोधन गर्ने क्रममा डा. बाबुराम भट्टराईले व्यक्त गर्नुभएको विचार

७ मंसिर २०७२

नेपालको राजनीतिको एउटा अध्याय पूरा भयो । एक युग पूरा भयो, नयाँ युगमा प्रवेश गर्दैछौं । नयाँ युगमा कसरी जाने ? नेपाल अहिले हिजोको जस्तो मात्रै सामान्य नेपाल छैन । विश्वले यसलाई हेर्छ । क्षेत्रीय रुपमा चर्चामा छ ।

२५ सय वर्ष पहिले बुद्ध राजगद्दी त्यागेर महाभिनिष्क्रमणमा निस्किए । ठूलो ज्ञान प्राप्ती गर्ने र संसारलाई सन्देश दिने । कल्पना गर्नुस् तपाईंहरुले २५ सय वर्ष पहिले दासयुग थियो । त्यतिबेला विभिन्न प्रकारका अध्यात्मवादी, अवैज्ञानिक चिन्तनबाट समाज ग्रस्त थियो । त्यो समाजलाई रुपान्तरण गर्न नयाँ सन्देश दिनुपर्छ, समाजमा किन दु:ख–कष्ट छ, मान्छे किन दु:खी छ, दु:खीबाट सुखी हुने उपाए के छ भन्ने खोजी गर्न बुद्ध निस्किएका थिए । जसलाई हामी महाभिनिष्क्रमण भन्छौं । बुद्धले लामो समय ध्यान गरेर, चिन्तन गरेर एउटा विचार निकाले । त्यो विचार २५ सय वर्ष पछिसम्म पनि अरबौं जनताको बीचमा छ । भलै हाम्रो नेपालमा त्यति छैन तर विश्वका एक अर्ब भन्दा बढी मानिसहरुको बीचमा बुद्धको विचार प्रवाहित छ । बुद्ध यही भूमिका थिए ।

मलाई अर्को सम्झना भइराखेको छ, चे ग्वेभाराको । हाम्रो पालाका अन्तर्राष्ट्रिय रुपमा अत्यन्तै चर्चित र हाम्रो पुस्ताका निम्ति आइकन चे ग्वेभारा थिए । उनी ३९ वर्षको उमेरमा बोलिभियामा लडाइँ गर्दागर्दै मारिए । २९ वर्षको उमेरमा उनले क्युवाको क्रान्ति सफल गरेर क्युवाका अर्थमन्त्री बनेका थिए । तर अर्थमन्त्री बनेका चे ग्वेभारा अकस्मात वेपत्ता भए । क्युवा छोडेर गए, कहाँ गए कसैलाई भनिएन । क्युवामा मात्रै क्रान्ति होइन, विश्वभरी क्रान्ति गर्नुपर्छ, खासगरी अफ्रिका जस्ता पिछडिएका देश, ल्याटिन अमेरिका जस्ता पिछडिएका देशमा क्रान्ति गर्नुपर्छ भनेर मन्त्रीको पद छोडेर रातारात उनी गायब भए । मध्य अफ्रिकामा गए, त्यहाँको वातावरण बुझे । त्यति अनुकुल लागेन । पछि फेरि उनी बोलिभिया पुगे र बोलिभियामा पुगेर त्यहाँको क्रान्तिको सुरवात गरे र त्यही क्रममा उनी मारिए । तर उनको विचार मरेन । ल्याटिन अमेरिका अमेरिका मात्रै होइन विश्वका थुप्रै देशहरुमा जुन नयाँ समाजवादको अवधारणा अगाडि आइराखेको छ त्यसको केन्द्रमा अहिले चे ग्वेभारालाई नै मान्छन् । ल्याटिन अमेरिकाका अहिले पनि आदर्श चे ग्वेभारा छन् । संसारका अहिले भएका देशहरुमध्ये सबभन्दा धेरै वामपन्थी विचारधारा, समाजवादी विचारधाराको प्रभाव अहिले ल्याटिन अमेरिकामा छ । चे ग्वेभारा मारिए तैपनि उनको विचार अहिले करोडौंको बीचमा स्थापित छ ।

हामी ती महान् व्यक्तित्वहरुको स्तरमा छैनौं । तर नेपाल अहिले यस्तो ठाउँमा छ जसले २०औं शताब्दीको अन्त्यमा आएर जनयुद्धमार्फत पुरानो राज्यसत्तालाई अन्त्य गरेर २१औं शताब्दीको सुरुमा कम्युनिष्ट आन्दोलनलाई, वामपन्थी आन्दोलनलाई, माओवादी आन्दोलनलाई एउटा उचाइसम्म पुर्‍याएर त्यसले नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रसम्म पुर्‍याउने ठाउँसम्म पुग्यो । तर हामीले सोचेजस्तो भएन । राष्ट्रिय, अन्तर्राष्ट्रिय परिस्थिति हामीले भनेजस्तो भएन र हामीले सम्झौता गर्नुपर्‍यो । त्यो सम्झौता गर्दै जाँदा केही उपलब्धी त भए, संविधान त हामीले बनायौं तर जनताले खोजेजस्तो संविधान बन्न सकेन । माओवादी आन्दोलनपछि संविधानसभाबाट संविधान बनेपछि जुन अपेक्षा थियो त्यो के प्राप्त भयो त भनेर सम्पूर्ण जनता फेरि एक ढंगको अन्यौलमा, आक्रोशमा परेको अवस्था छ । यस्तो अवस्थामा के हामी चुप लागेर बस्न मिल्छ ? मिल्दैन । त्यसैले पनि हामीले के सोच्यौं भने फेरि एक चोटि आँट गर्नुपर्छ । तपाईं–हामी हिजो विभिन्न ढंगले विभिन्न तहमा पुग्यौं होला । म आफैंलाई प्रधानमन्त्रीको हैसियतसम्म तपाईंहरुले पुर्‍याउनुभयो । तर देश हामीले भनेको जस्तो अझै बनेको छैन । खासगरी जनताका विभिन्न वर्ग, जाति, क्षेत्र, लिङ्ग, समुदायका अधिकार सुनिश्चित हुन अझै पनि बाँकी छ । केही त प्राप्त भयो । पूँजीवादी लोकतन्त्रका केही कुरा त प्राप्त भए तर केही कुरा अझै पूरा हुन सकेका छैनन् । त्यो पूरा गर्नुछ । अझ सबभन्दा ठूलो कुरो त नेपाली जनताले गरिबी र बेरोजगारीबाट मुक्ति चाहेको छ ।  हामी गरिबी र बेरोजगारीको उत्पीडनमा छौं । विश्वमा सबभन्दा पिँधमा, सबभन्दा गरीब देशमा हामी पर्दैछौं । यो वर्ष त हाम्रो अर्थतन्त्र पूरै ऋणात्मक ढंगले गएर विश्वको सम्भवत: सबभन्दा गरीब देशको कोटीमा, सबभन्दा धेरै गरीबीको प्रतिशत भएको देशमा झर्ने खतरामा हामी परेका छौं । यस्तो अवस्थामा हामीले एउटा विचार दिनु छ । नेपाललाई मात्रै होइन नेपालजस्ता र द्वन्द्वको अवस्थामा रहिराखेका कतिपय देश छन्, एशिया, अफ्रिका, ल्याटिन अमेरिका थुप्रै देशहरु छन्, जहाँ अहिले पनि अशान्ति छ, अहिले पनि जनताले मुक्ति र अग्रगमनको बाटो खोजेको छ, विकास र समृद्धिको बाटो खोजेको छ । अब त्यस्तो विचार दिने आँट हामीले गर्नुपर्छ ।

हामीले नयाँ विचार सहित नयाँ शक्ति निर्माण गर्छौं जसले नेपाललाई बाँकी रहेका समस्याको समाधान गर्दै देशलाई समुन्नती र समृद्धिको शिखरमा पुर्‍याउँछ । त्यो सपनामा होइन, भोलिको निम्ति होइन, हामी मरेपछि होइन । हाम्रै जीवनकालमा, हाम्रै आँखाअगाडि समृद्ध नेपालको सपना हामीले देखेका छौं । त्यसैले त्यस्तो विचारसहितको नयाँ शक्ति निर्माण गर्ने अभियानमा हामी लागेका छौं । बुद्धले जस्तै त्यति ठूलो प्रभाव हामीले पार्न नसकौंला, चे ग्वेभाराको जस्तो आदर्श हामीले स्थापित गर्न नसकौंला तर तपाईं–हामीले हाम्रा केही साथीहरुले जस्तो र्‍याल काढेको भए सत्ताका केही चोइटाहरु भागमा पर्थे तर हामीले त्यसलाई त्याग गर्‍यौं । त्यसलाई त्याग गरेर समृद्ध, समुन्नत, समावेशी, समानुपातिक र सहभागितामूलक नयाँ नेपाल, समाजवादी नयाँ नेपाल निर्माण गर्ने काम अझै बाँकी छ त्यसको निम्ति अहिले भइराखेको, हिजोकै पञ्चायतको पुनरावृत्तिको रुपमा आएको जुन सत्ता र सरकार छ त्यसमा सहभागी भएर होइन त्यो भन्दा बाहिर रहेर वैकल्पिक विचार सहितको वैकल्पिक राजनीतिक धार निर्माण गरेर नेपाललाई फेरि नयाँ दिशामा लैजान सकिन्छ, लानुपर्छ भन्ने हिम्मत गरेर हामी निस्केका छौं । यो अभियानको महत्व त्यति ऐतिहासिक रुपमा छ भन्ने मैले ठानेको छु ।

४० वर्षपहिले विद्यार्थीकालमा पढ्दै गर्दा यो आन्दोलनमा लाग्न अभिप्रेरणा दिने मजदुर साथीहरु आज पनि मैले यहाँ देखिराखेको छु । पदम राना हुनुहुन्छ, राजु नेपाली हुनुहुन्छ । पदम राना दुई सय रुपैयाँको नोकरी गर्नुहुन्थ्यो सायद, राजु नेपाली एक सय रुपैयाँको नोकरी गर्नुहुन्थ्यो । म जवाहरलाल नेहरु विश्वविद्यालयमा पीएचडी गर्दै थिएँ । उहाँहरुले नै मलाई कम्युनिष्ट बनाउनुभएको हो । त्यतिबेलाका मसाल, मालेका वर्गसंघर्ष लगायतका दस्तावेजहरु दिनुभएको थियो । ती साथीहरु अहिले पनि हामीसँग हुनुहुन्छ । उहाँहरुको प्रेरणाले जसरी म आन्दोलनमा लागेको थिएँ, यो अभियानमा पनि उहाँहरुले साथ दिँदै हुनुहुन्छ । सत्य र न्यायको बाटोमा हिँडियो भने, विज्ञानलाई आदर्श मानेर हिँडियो भने जनताले साथ दिन्छ । हिजो जनयुद्ध सुरु गर्दाखेरि पनि १७ जनाको केन्द्रीय समिति थियो, ५०/६० जना होलटाइमर थियौं । मैले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई ४० सुत्रीय माग बुझाउन जाँदाखेरि उनले मजाक र ठट्टा गरेर वेवास्ता गरेका थिए । हामीलाई भनिएको थियो कि तीन महिनाभित्र माओवादी आन्दोलन कुल्चिइन्च । कांग्रेस र एमालेको दवदवा थियो । विश्वभरी कहिँ पनि कम्युनिष्टहरुको नाम लिन मान्छेहरु डराउँथे, त्यस्तो बेलामा हामी आफूलाई माओवादी घोषित गरेर बन्दुक उठाएर हिँडेका थियौं । ठूलो दुस्साहस थियो त्यो । धेरै मान्छेको निम्ति मुर्खता थियो । धेरै मान्छेले भने – पीएचडी गरेको बाबुराम त कस्ता पागल रहेछ, मान्छे मार्न हिँड्यो । तर हामी यहाँसम्म आइपुग्यौं । युद्धको क्रममा धेरैको ज्यान गयो त्यो दु:खद् कुरा हो । युद्ध, क्रान्ति अत्यन्त निर्मम पनि हुन्छ । तर परिवर्तन त भयो नि । हाम्रै जीवनकालमा राजतन्त्र गयो, गणतन्त्र आयो, एकात्मक राज्यसत्ता सिद्धान्तकै रुपमा भए पनि संघीयतामा गयो, हिन्दू राज्य धर्मनिरपेक्ष बन्यो, केही निश्चित मान्छेले मात्रै रजाईं गर्ने कथित संसदीय लोकतन्त्र थियो त्यसलाई समावेशी समानुपातिक लोकतन्त्र नाममात्रैको भए पनि हामीले रुपान्तरण गर्‍यौं । केही त प्राप्त भयो तर केही बाँकी छ । त्यसैले यस्ता यस्ता खास खास कालखण्डमा देश र जनताको निम्ति, मानव जातिको निम्ति संवेदना राख्ने मान्छेले हिम्मत र आँट गर्नुपर्छ ।

मान्छे त संसारमा थुप्रै आउँछन्, मर्छन्, जान्छन् । यो मानव जातिको इतिहास त निरन्तर रहिराख्छ । तपाईं–हाम्रो जीवनकाल त धेरै रह्यो भने एक सय वर्ष रहला । तर मानव जाति निरन्तर अगाडि बढिराख्छ । तपाईं हामीले आफू जन्मेको यो कालखण्डमा, यो ७०/८० वर्षको कालखण्डमा संसारमा दुनियाँलाई बदल्नको निम्ति, मानव जातिलाई अगाडि बढाउनको निम्ति केही योगदान गर्‍यौं भने त्यसको हिसाब हुन्छ । नत्र मान्छे आउँछ, मर्छ, जान्छ । सात अर्ब मान्छेमध्ये एक सय वर्षपछि कति जनालाई सम्झेलान् ? हामी इतिहासमा गिनेचुने मान्छे सम्झन्छौं तर अरबौं मान्छेको कसैले पनि सम्झना गर्दैन । त्यसैले मानव जातिको सेवा गर्ने हो भने, हामी बसेको समाजलाई उन्नत बनाउने हो भने र अमूर्त मानव जाति मात्रै होइन, नेपाल नाम गरेको भूभाग, मेची–महाकाली र तराई–हिमालसम्मको जुन भूभाग छ, जो अहिलेको विश्वमा सबभन्दा गरीब, कमजोर र हेपिएको/चेपिएको अवस्थामा छ त्यो भूभागमा रहने करिव तीन करोड नेपाली जनतालाई मात्रै पनि त्यो गरीबीको पिँधबाट उचालेर समृद्धिको ठाउँमा पुर्‍याउन सक्यौं भने हामी मर्ने बेलामा त्योभन्दा ठूलो सन्तोष के हुन सक्छ ?

अहिले नेपालीहरु विदेश जाँदाखेरि पासपोर्ट देखाउँदा लज्जित हुनुपर्छ, नेपाली भन्यो कि यो कुनै ठग हो, तस्कर हो, भ्रष्टाचारी हो, छलछाम गरेर विदेशमा बस्छ, देश फर्कंदैन भनेर बढो हेयको दृष्टिले हेर्ने गरिन्छ । तर हामी यस्तो नेपाल बनाउन चाहन्छौं, हाम्रै जीवनकालमा हाम्रो पासपोर्ट विदेशको विमानस्थलमा देखाउँदा त्यहाँको पासपोर्ट हेर्ने मान्छेले हामीलाई नेपाली रहेछ भनेर सम्मान गरुन् । हामीले त्यस्तो सपना देखेका छौं । अहिले हाम्रा नेपाली दाजुभाइहरु पचासौं लाखको संख्यामा विदेशका मरुभूमिमा मर्ने अवस्थामा, प्रत्येक दिन लाश फर्कने अवस्थामा मजदुरी गरिराखेका छन् । हामी तपाईं हाम्रै जीवनकालमा यस्तो नेपाल देख्न चाहन्छौं – यति सुन्दर र जैविक विविधतायुक्त हावापानी, गर्मी मधेशदेखि चिसो हिमालसम्मको देशमा, संसारको सबै प्रकारको हावापानी भएको देशमा – यहाँ आएर श्रम गर्न, यहाँ रोजगारी गर्न मानिसहरु लालायित होउन् । हामी त्यस्तो नेपाल देख्न चाहन्छौं । हाम्रा उद्योगधन्दामा भारतीयहरु, पाकिस्तानीहरु, बंगलादेशीहरु आएर रोजगारी खोजुन्, हामी त्यस्तो नेपाल देख्न चाहन्छौं । हामीले त्यस्तो सपना देखेका छौं ।

धेरै मान्छेले भन्ने गर्छन् कि बाबुराम सोच्ने, विचार ल्याउने मान्छे त हो तर उसले मानिसलाई संगठित गरेर, अभिप्रेरित गरेर लिएर जान सक्दैन । तपाईंहरुलाई पनि लाग्यो होला । म यत्रो वर्षसम्म काम गर्दै आएँ तर मैले त्यो संगठनभित्र आफ्नो छुट्टै गुट बनाउने, समूह बनाउने, आफूले नेतृत्व लिने प्रयत्न गरिनँ । किनकि मैले के बुझेको थिएँ भने इतिहास एक व्यक्तिले बनाउने होइन, इतिहास भनेको जनताले बनाउने हो, सामूहिक प्रयत्नले गर्ने हो । माक्र्सवादी दर्शन सामूहिकताको दर्शन हो, समाजवादी चिन्तनधारा सामूहिक पद्धति र शैलीको चिन्तनधारा हो । त्यसैले मैले त्यहाँ व्यक्तिगत रुपमा आफैं अगाडि बढेर संगठन कब्जा गर्ने, नेतृत्वमा बसिराख्ने, सत्ता शक्ति र सम्पत्तिको केन्द्रीकरण गरेर त्यसको बहानामा संगठन सधैं कब्जा गरिराख्ने नीति मैले लिइनँ । सायद मेरो कमजोरी त्यही भयो, त्यसैले संख्यात्मक हिसाबले मसँग रहने साथीहरु थोरै रहनुभयो । मबाट धेरै अवसर प्राप्त हुन सक्दैनथ्यो त्यसैले जोसँग सत्ता शक्ति र सम्पत्ति थियो र बढी अवसर दियो धेरै त्यतापट्टि लाग्नुभयो त्यसैले गर्दा मसँग थोरै साथीहरु देख्नुभयो होला । त्यसैले अहिले पनि ती मान्छेहरुले भनेका छन् – बाबुरामसँग लागेर तिमीहरुले दु:ख पाउँछौ । उसले के दिन सक्छ ? उसले कुरा त राम्रा गर्छ तर उसले सत्ता, शक्ति र सम्पत्ति जोर्न जान्दैन, सक्दैन त्यसैले तिमीहरुले दु:ख पाउँछौ भनिराखेका छन् । म साथीहरुलाई भन्न चाहन्छु – सत्ता, शक्ति र सम्पत्ति त सायद तपाईंहरुलाई म ग्यारेन्टी गर्न सक्दिनँ तर म के चाहिँ ग्यारेन्टी गर्न सक्छु भने तपाईंहरुको दु:ख–सुखमा सदैब साथ रहनेछु । तपाईंहरु दु:ख पाउने, तपाईंहरु भोकै रहने, तर म ऐसआराम गरेर बस्ने गर्ने छैन । तपाईंहरु जुन जीवनस्तरमा बाँच्नुहुन्छ त्यही जीवनस्तरमा म बाँच्नेछु । त्यो भन्दा बढी अपारदर्शी ढंगले आफूले ऐसआराम गर्ने र तपाईंहरुलाई अप्ठेरोमा पार्ने काम मैले गर्नेछैन । यो प्रतिवद्धता म गर्न चाहन्छु । म तपाईंहरुलाई सत्ता, शक्ति र सम्पत्तिको ग्यारेन्टी त गर्न सक्दिनँ तर तपाईंहरुको सम्मानको ग्यारेन्टी म गर्न सक्छु । इतिहासमा तपाईंहरुले जुन महान् काम गर्दै हुनुहुन्छ त्यसवापत नेपाली जनता मात्रै होइन विश्व जनमतले जुन सम्मान दिनेछ, त्यसको म ग्यारेन्टी गर्न चाहन्छु र म ग्यारेन्टी गर्न सक्छु । तपाईंहरुले मैले धोका दिने छैन । अपारदर्शी ढंगले कुनै पनि गतिविधि गरेर तपाईंहरुको शीर निहुर्‍याउने अवस्थामा मैले पुर्‍याउने छैन । यो विश्वास म दिलाउन चाहन्छु ।

अब हामीले किन नयाँ शक्तिको कुरा गर्‍यौं । हामी आफैंले त्यति मेहनत गरेर बनाएको जुन माओवादी पार्टी थियो के त्यसैलाई रुपान्तरण गरेर लिएर जान सम्भव थिएन ? हो झट्ट हेर्दा यस्तो लाग्न सक्छ । तर हामीले प्रयत्न नगरेको होइन । हामीले प्रयत्न गर्‍यौं । बाबुरामले यतिबेला पार्टी नै छोडेर ठूलो धोका दियो, ठूलो घात गर्‍यो, भारतले नाकाबन्दी गरेको बेलामा, देशले दु:ख पाएको बेलामा पार्टीबाट निस्किएर उसले ठूलो धोका दियो, माओवादी आन्दोलनप्रति गद्दारी गर्‍यो भन्ने पनि कैयौं भ्रमहरु छरिँदै छ । यतिबेलै आएर नयाँ शक्तिको कुरा किन गरेको होला ? कुरो त ठीकै होला तर अहिले किन गरेको होला ? भनेर धेरै मान्छेले भन्दा तपाईंहरुलाई पनि जवाफ दिन सायद गाह्रो परेको छ तर नयाँ शक्तिको कुरा हामीले अहिले मात्रै गरेका होइनौं । २०७० फागुन २५ देखि चैत २ गतेसम्मको ‘नेपाल’ साप्ताहिकमा ‘बाबुराम भट्टराईको निष्कर्ष: नयाँ शक्तिको खाँचो’ शीर्षकमा दुई वर्ष पहिले लेखिएको हो । नयाँ शक्तिको चर्चा त्यतिबेलादेखि उठेको हो, जतिबेला हामीले देख्यौं माओवादी आन्दोलन विघटित हुँदै गइराखेको थियो । एउटा तप्काका अत्यन्त जडसुत्रवादी, यान्त्रिक, पुरानै शास्त्रीय कुरा गरेर केही साथीहरु निस्किएर गइराख्नुभएको थियो । अर्कोपट्टि एउटा तप्का जोसँग हामी सँगै थियौं त्यो तप्काको नेतृत्वमा कुनै पनि विचारको शृङ्खला थिएन । आफ्नो स्वार्थको, तत्कालीन सत्ताको फाइदाको निम्ति जे पनि गर्ने, कहिले यता गर्ने, कहिले उता गर्ने कारणले गर्दा र खासगरी विचार, मूल्य–मान्यता–आदर्श भन्दा सत्ता नै सबैथोक, सम्पत्ति नै सबैथोक हो भन्ने अवधारणा विस्तारै त्यो माओवादी आन्दोलनमा पनि झाङ्गिदै गयो र नेतृत्वको वरिपरि त्यस्तो नयाँ वर्ग पैदा हुँदै गयो । त्यसैले अब यो रुपान्तरणतिर जाँदैन, हामीले जुन सपना जनतालाई देखाएका थियौं, हामीले देखेका थियौं अब यही पार्टीबाट सायद पूरा हुँदैन भन्ने निष्कर्षमा पुगेर नै मैले यो बहस सुरु गरेको थिएँ । तैपनि त्यतिबेलै किन हामीले नयाँ शक्तिको अभियान अगाडि बढाएनौं भने हामीले १० वर्षे जनयुद्ध लडेर, २०६२/०६३ को आन्दोलनको जगमा, मधेश–थरुहट–जनजाति लगायतका आन्दोलनको बलमा जुन संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान बनाउँदै थियौं त्यो संविधान नबनेसम्म बीचैमा धरापमा पारेर छोडियो भने यी उपलब्धी पनि गुम्न सक्थ्यो । सैद्धान्तिक रुपमै भए पनि गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशी लोकतन्त्र जुन प्राप्त भएको छ त्यो गुम्न सक्छ भनेर पहिले यसलाई पहिले संस्थागत गरौं भनेर त्यसमा लाग्यौं । कांग्रेस र एमाले दोस्रो संविधानसभापछि हावी भएर आइसके, माओवादी आन्दोलन विघटन/विसर्जनतिर गइसक्यो, यसको नेतृत्वले हिजो आफैंले अगाडि सारेका मूल्य–मान्यता र आदर्श छोडिसक्यो त्यसैले आफूले भनेजस्तो संविधान त बन्दैन तर सैद्धान्तिक रुपमै भए पनि गणतन्त्र लगायतका उपलब्धीलाई संस्थागत गर्न सकियो भने यो पूँजीवादी लोकतन्त्रमा टेकेर अगाडि जाने आधार बन्छ त्यसैले संविधान नबनुन्जेलसम्म हामीले जतिसुकै अपमान सहेर पनि त्यहाँ बस्नुपर्छ – हामीले भन्यौं । साथीहरुलाई थाहा छ, विराटनगर सम्मेलनमा पनि हामीले यी कुराहरु भनेका थियौं – अब यही पार्टीले त अब धेरै कुरा गर्न सक्दैन, हामीलाई विश्वास छैन, तपाईंहरुका पद हामीलाई चाहिएको छैन, तर संविधान बनाऔं, संविधान बन्ने बेलासम्म हामी तपाईंलाई साथ दिन्छौं, संविधान बनेपछि तपाईंसँग बाटो फाट्छ, किनकि तपाईं नयाँ वर्गमा परिणत भइसक्नुभयो, तपाईंले जनताका परिवर्तनका मुद्दाहरु, किसान र मजदुरका वर्गीय मुद्दा, महिलाहरुका लैंगिक मुद्दा, मधेशी/थारु, जनजातिहरुका जातीय मुद्दा, कर्णाली र सेती–महाकालीका क्षेत्रीय मुद्दा, दलितहरुका उत्पीडनका मुद्दा, मुस्लिमहरुका सामुदायिक उत्पीडनका मुद्दा अब तपाईंहरुबाट हल हुँदैन ।

२०७२ असोज ३ गते एनकेन संविधान जारी भयो र त्यही दिनमै हामीले भन्यौं – संविधान आधा गिलास भरिएको, आधा गिलास खाली जस्तो संविधान बन्यो । त्यसैले अब हामीले नयाँ बाटो लिन्छौं, जनताका मुक्तिका आकांक्षा पूरा भएका छैनन्, विकास र समृद्धिका आकांक्षा अहिलेकै अवस्थाबाट पूरा हुँदैन त्यसैले हामी नयाँ बाटो लिन्छौं भनेर जनतालाई संकेत गरेका थियौं । त्यसैको परिणामस्वरुप नै मैले असोज ९ गते पार्टी परित्यागको घोषणा गरें । त्यसपछि तपाईंहरु साथीहरुले क्रमश: साथ दिँदै जानुभयो र अहिले हामी नयाँ अभियानमा लागेका छौं । त्यसैले यतिबेलै किन गरियो, गलत समय भयो भन्ने मान्छेलाई जुन परेको छ यो तथ्य थाहा नहुने मान्छेहरुले भन्ने कुरा हो । उहाँहरुको यो अज्ञानतालाई केही अवसरवादी मान्छेहरुले ढाकछोप गरेर अहिलेको यस्तो देशमा संकट भएको बेलामा, आन्दोलन भइराखेको बेलामा, भारतले नाकाबन्दी गरेको बेलामा, नयाँ शक्ति निर्माण अभियानमा लागेर धोका भयो, घात भयो भन्ने मान्छेहरुको भनाइमा कुनै पनि सत्यता छैन । त्यसैले त्यसबाट तपाईं–हामी कोही पनि विचलित नहोऔं । त्यो भ्रममा नपरौं । हामीले समृद्ध नयाँ नेपाल, समावेशी समानुपातिक र सहभागितामूलक नयाँ नेपाल, समाजवाद उन्मुख नयाँ नेपाल, स्वाधीन नयाँ नेपाल र सदाचारयुक्त, सुशासनयुक्त नयाँ नेपाल बनाउने सोंचका साथ नै हामी अगाडि बढेका हौं । त्यसैले यस विषयमा साथीहरुलाई कुनै पनि प्रकारको संशय होइन दृढतापूर्वक हामीले जे गरेका छौं, ऐतिहासिक काम गर्दैछौं, ठीक गर्दैछौं भन्ने मनोभावका साथ जान म आग्रह गर्न चाहन्छु । कांग्रेस, एमाले, एमाओवादीसम्म आउँदा उनीहरुले जुन कामहरु गरे, त्यही काम अब बाँकी दिनमा सम्भव छैन भनेर नै हामी अगाडि आएका हौं ।

म यहीँनेर थोरै नेपाली कम्युनिष्ट आन्दोलनको समस्याको बारेमा बताउन चाहन्छु । जुन दिशातिर हामी जाँदैछौं त्यो दिशामा जाने विषयमा केही विषयमा हामी असाध्यै प्रष्ट हुन जरुरी छ । किनकी माक्र्सवादलाई, समाजवादलाई, साम्यवादलाई जुन ढंगले हिजो बुझियो त्यसका अपूर्णताहरु घटनाक्रममा देखा पर्‍यो । त्यसैको सिकार यो आन्दोलन भयो । त्यसैले अब हामीले नयाँ शक्ति बन्ने हो भने पहिले हामी नयाँ शक्ति हुनको नयाँ विचारले युक्त हुनुपर्‍यो, नयाँ संस्कारले युक्त हुनुपर्‍यो । हामी आफैं नयाँ संस्कारयुक्त भएनौं, नयाँ विचारयुक्त भएनौं भने हामीले नयाँ शक्तिको नेतृत्व गर्न सक्दैनौं । त्यसैले हामीले हिजोको जुन प्रदुषणयुक्त, माक्र्सवादको जुन खालको भ्रष्टीकरण गरेर यहाँ प्रयोग गरियो, साइनबोर्डको रुपमा माक्र्सवादको प्रयोग गर्ने, माक्र्सवाद–लेनिनवादबाट नाउँ एमाले छ तर काम माक्र्सवाद–लेनिनवादको केही पनि छैन, पूरै उल्टो छ, नाउँ माओवादी छ तर काम पूरै खाओवादी छ । अनि यस्तो प्रकारको संस्कारमा हामी हुर्किएको हुनाले त्यो मानसिकता त्याग्न सकेनौं भने हामीप्रति पनि जनताको विश्वास हुँदैन र तपाईं–हामीले पनि विश्वासका साथ अगाडि बढ्न सक्दैनौं । त्यसैले यसक्रममा हामीले नयाँ विचार लिनु छ भने हामीभित्र रहेका कमीकमजोरी सहितका दोषयुक्त जुन विचार छन् त्यसलाई हामीले निकाल्न सक्नुपर्छ । त्यसो गर्न सकेनौं भने हामीले नयाँ काम गर्न सक्दैनौं । हिजैको धङधङी बोकेर हामी हिँड्यौं भने हामी नयाँ बन्दैनौं र नयाँ शक्तिको नेतृत्व पनि गर्न सक्दैनौं । त्यसैले यस्तो बेलामा मलाई एउटा सम्झना भइराखेको छ, उहिले उहिले गुरुकुल प्रथा हुन्थ्यो । मैले पनि दुई/तीन महिना त्यसरी पढेको छु । आफैंले घरबाट सिदा लगेर गुरुलाई दिएर गुरुको सेवा गरेर बसेर दुई/तीन महिना मैले पनि पढेको छु । त्यतिबेला एक जना व्यक्तिका दुई छोराहरु रहेछन् । एउटा आठ वर्षको, अर्को छ वर्षको । उनले गएर गुरुलाई भनेछन् – गुरु, मेरा दुई छोराहरुलाई गुरुकुलमा राखेर पढाइदिनुपर्‍यो, ठूलो चाहिँलाई त मैले पढाएको छु, त्यसले जान्दछ, श्लोकहरु कण्ठै भन्छ, धेरै कुरो मैले सिकाएको छु, यो कान्छोले चाहिँ केही पनि जान्दैन, यसलाई केही पनि सिकाएको छैन । त्यसपछि गुरुले ठीक छ म यिनलाई पढाउँछु, तर तिमीले के बुझ भने यो कान्छोलाई चाहिँ मैले दुई वर्षमा जान्ने बनाउन सक्छु तर यो ठूलो छोरालाई चाहिँ चार वर्ष लाग्छ भनेछन् । यो पढेकोलाई चाहिँ झन् चार वर्ष, नपढेकोलाई चाहिँ दुई वर्ष मात्रै भनेर सोधेपछि गुरुले भनेछन् – तिमीले जे भरेका छौ यसको दिमागमा त्यो मैले पहिले पखाल्नुपर्छ/झिक्नुपर्छ अनि नयाँ कुरा मैले हाल्नुपर्छ त्यसैले यसलाई दुई वर्ष बढी लाग्छ, जो नयाँ हो त्यसलाई चाहिँ म दुई वर्षमा पढाउन सक्छु । त्यसरी नै हामी पनि जुन आन्दोलनबाट आएका छौं, जो दोषयुक्त विचार, विकृत र भ्रष्टीकरण गरिएका विचारहरु, शैलीहरु, आचरणहरु हामीले बोकेका छौं त्यो हामीले पखाल्नुपर्छ । त्यसैले तपाईं–हामीले अलि बढी मेहनत गर्न पर्ने हुनसक्छ । जो नयाँ युवा पुस्ता आएको छ, प्रदुषित नभएका नयाँ मानिसहरु जो छन्, तिनीहरुलाई छिटो हुन सक्छ । त्यसैले पनि तपाईं–हामीले पहिले हिजोका गलत बुझाइ, सोंचहरु र शैलीहरुलाई बदल्न आवश्यक छ । कम्युनिष्ट आन्दोलनमा समस्या कहाँनेर रह्यो त ? नेपालको कम्युनिष्ट आन्दोलनको समस्या कहाँ हो ? म त्यहाँ केन्द्रित हुन चाहन्छु । हाम्रो मुख्य समस्या के हो भने, नेपालको कम्युनिष्ट आन्दोलनमा अहिले जुन सरकार बन्यो कमल थापाको नेतृत्वमा, व्यवहारत: उनको नेतृत्व भन्छु, किनकि अहिले भारतसँग समस्या परेको छ उनी उपप्रधानमन्त्री भएर समस्या सुल्झाउन उनैले नेतृत्व गरेर गए, तराई–मधेशमा आन्दोलन छ, त्यो वार्ता गर्ने नेतृत्व पनि कमल थापालाई दिइयो । त्यसैले जसले जेसुकै भने पनि यसको व्यहारिक र वैचारिक नेतृत्व कमल थापाले गरिराखेका छन् । त्यस अन्तरगत हाम्रा चित्रबहादुर केसी, जिन्दगीभरी कुनै पदमा बस्नुभएन, अहिले बुढेसकालमा आएर उपप्रधानमन्त्री खान जानुभयो । रोहितजी जो सधैं आफूलाई सत्ताभन्दा बाहिर राख्नुहुन्थ्यो उहाँ पनि अहिले नजिकबाट बसेर यसलाई सघाउ पुर्‍याइराख्नुभएको छ । केपी ओलीजी हिजोसम्म महाकाली सन्धीमा के भन्नुहुन्थ्यो तपाईं–हामीलाई थाहा छ, अहिले उहाँ पनि कमल थापाकै विचारमा सहमत भएर नेतृत्व स्वीकार गरिराख्नुभएको छ । हाम्रै तत्कालीन अध्यक्ष प्रचण्ड पनि अहिले कमल थापाकै नेतृत्वमा मिसिनुभएको छ । यसरी रोहितजी देखि लिएर मोहनविक्रमजी हुँदै एमाले र एमाओवादीसम्म एकै ठाउँमा रहनु त्यो के प्रवृत्ति होला ? के ले त्यहाँ नजिक ल्याएको होला ? कसरी यसो भएको होला ? के उहाँहरु अत्यन्त खाँट्टी क्रान्तिकारी कम्युनिष्ट भएको हुनाले उहाँहरुले त्यसो गरेको होला कि उहाँहरुको चिन्तनमा के ठूलो खोट छ, त्यो कारणले गर्दा त्यहाँ पुग्नुभयो होला ? सुरुदेखि नै, माक्र्सको पालादेखि नै एउटा प्रवृत्ति थियो । ल्हासाल भन्ने एउटा पात्र थियो । माक्र्सले जब ‘पूँजी’ लेख्नुभयो र समाजवादको जुन व्याख्या गर्नुभयो, उहाँको भनाई के थियो भने, ऐतिहासिक भौतिकवादी पद्धतिअनुसार समाज विभिन्न चरण हुँदै अगाडि बढ्छ, त्यतिबेला युरोपमा पूँजीवाद आउँदै थियो, अब पूँजीवादमा टेकेर हामी समाजवादमा जानुपर्छ । सामन्तवादको अन्त्य हुँदै थियो, केही अवशेष बाँकी थिए, अब पूँजीवादमा टेकेर समाजवादमा जानुपर्छ भन्ने सिद्धान्त ल्याउनुभयो । त्यतिबेला पूँजीवादबाट वाक्क भएका मान्छेहरुले, मजदुरहरुले पूँजीवादका हतियार फ्याक्ट्रीमा पनि आगो लगाउने गर्थे रीसले । त्यो नबुझेर । पूँजीपति वर्गले नै शोषण गर्‍यो भन्ने ढंगले । त्यस्तो बेला ल्हासाल भन्ने पात्रले के भन्थ्यो भने पूँजीवादलाई समाजवादमा जाने हो भने पूँजीवादका विरुद्ध सामन्तवाद, राजामहाराजासँग पनि मिल्नुपर्छ, ती बरु प्रगतिशील हुन्छन् । पूँजीवादका विरुद्ध राजा महाराजाहरुसँग मिलेर भए पनि संघर्ष गर्नुपर्छ भन्ने विचार त्यसले राख्थ्यो । उसले पूँजीवादलाई भन्दा सामन्तवादलाई प्रगतिशील देख्थ्यो, जबकि ऐतिहासिक भौतिकवाद अनुसार सामन्तवादपछि पूँजीवाद आउने हो, पूँजीवादपछि समाजवाद आउने हो । त्यो ल्हासालवादी प्रवृत्ति नेपालको कम्युनिष्ट आन्दोलनमा पनि लामो समयदेखि रहेछ । त्यही कारणले गर्दा नेपालमा पूँजीवादलाई भन्दा सामन्तवादलाई नजिक ठान्ने, यहाँका जुन पूँजीवादी लोकतान्त्रिक शक्ति छन् तिनलाई भन्दा राजालाई नजिक ठान्ने प्रवृत्ति नेपालको कम्युनिष्ट आन्दोलनमा डरलाग्दोसँग रहेछ । सुरुमा रायमाझीहरुले त्यो कुरा भन्ने गर्थे हामीले त्यसको विरोध गरेर पुष्पलालको धार सही हो भन्ने गर्दथ्यौं तर त्यतिबेला नै मोहनविक्रमजीले गद्दार पुष्पलाल भन्ने ठेली लेख्दिनुभयो र हामी जस्ता धेरै युवालाई उहाँका तर्कहरुले पुष्पलाल त गद्दार नै रहेछन् क्यारे, पूँजीवादी लोकतन्त्र ल्याएर समाजवादतिर जाने भन्ने विचार त बेठीक नै रहेछ क्यारे भन्ने परेको थियो । उहाँले केशरजंग रायमाझी पनि गलत हुन्, पुष्पलाल पनि गलत हुन् भन्न त खोज्नुहुन्थ्यो तर सारमा पुष्पलालको जुन पूँजीवादको जगमा टेकेर, पूँजीवादी क्रान्ति पहिले सम्पन्न गरेर अनि समाजवादतिर जानुपर्छ भन्ने सही माक्र्सवादी द्वन्दात्मक ऐतिहासिक भौतिकवादी सोंच थियो, त्यसका विरुद्ध ल्हासालवादी सोंच, सामन्तवादसँग मिलेर पूँजीपति वर्गलाई कमजोर पारेर राजासँग मिलेर समाजवादतिर जान सकिन्छ भन्ने अत्यन्त दोषपूर्ण, खोटपूर्ण सोंच मोहनविक्रमजीले पनि मलजल गरिदिनुभएछ । अहिले कम्युनिष्ट आन्दोलनमा रहेका मानिसहरु, खासगरी माओवादी आन्दोलनको मूल पंक्ति त्यसैबाट दीक्षित रहेछ । त्यसैले गर्दा अहिले कमल थापाको नेतृत्वमा रोहितजी देखि लिएर एमाले हुँदै प्रचण्डसम्म जहाँ मिसिन पुग्नुभयो त्यसको जरो भने त्यो ल्हासालवादी चिन्तन हो । पूँजीवादलाई भन्दा सामन्तवादलाई नजिक राख्ने जुन चिन्तन थियो त्यही कारणले गर्दा उहाँहरुलाई त्यहाँ पुर्‍यायो ।

त्यसको सँगसँगै कमरेड स्टालिनको पालामा उहाँले समाजवादको जुन ढंगको प्रयोग उहाँले गर्नुभयो, हो त्यतिबेला दोस्रो विश्वयुद्धको विशिष्ट अवस्था थियो, फाँसीवादविरुद्ध लड्दा अत्यन्त केन्द्रिकृत खालको संगठन, बलियो र फौजिकृत संगठन सायद चाहिन्थ्यो होला, तर उहाँले माक्र्सवादको जुन द्वन्दात्मक भौतिकवादी पद्धति थियो, अर्थात प्रत्येक चीजमा विपरितहरुको एकत्व हुन्छ, कुनै पनि चीजमा जतिसुकै टुक्रा पार्दै जानुस् अणुहरुलाई त्यो विपरित टुक्रामा बाँडिँदै जान्छ भन्ने सिद्धान्तअनुसार समाजमा पनि वर्ग हुन्छन्, फरक प्रवृत्ति हुन्छ, तिनको टक्करले मात्रै समाज बन्छ, पार्टी बन्छ, त्यसैले पार्टीभित्र पनि फरक विचार र सोंच हुन्छ भन्ने जुन द्वन्दात्मक सोंचाई थियो त्यसका विरुद्ध स्टालिनले कुनै फरक विचार हुनुहुँदैन, फरक विचार भनेको दुश्मनको विचार हो, फरक विचार राख्नेलाई फाँसी दिनुपर्छ, विदेशी दलाल र एजेन्टको रुपमा मारिदिनुपर्छ भन्ने हदसम्म तन्काएर एकमनावादी खालको सोंच, विपरितहरुको एकत्वको सोंचको सट्टा जुन एकमनावादी सोंच उहाँले अगाडि सार्नुभयो, जुन भ्रष्टीकरण गर्नुभयो माक्र्सवादलाई त्यसैलाई समात्ने मानिसहरु, तेस्रो अन्तर्राष्ट्रिय मार्फत त्यो स्टालिनको मोडेल नै सही मोडेल हो भनेर हाम्रा देशका धेरैजसो कम्युनिष्ट पार्टीहरुले त्यही मोडेललाई नै समाते । नेपालको सन्दर्भमा यहाँका सबै कम्युनिष्ट धारहरुले स्टालिनकै एकमनावादी, अति केन्द्रीयतावादी सोंच, फरक र भिन्न सोंच राख्नेलाई विदेशीको एजेन्ट, दुश्मनको एजेण्ट ठानेर फाँसीसम्म दिने, यहाँ त फाँसी नै दिन अलि गाह्रो छ त्यसैले चरित्रहत्या गरेर बदनाम गरिदिने सोंचलाई नै समाते । त्यसको जरो भनेको स्टालिनको एकमनावादी चिन्तन प्रणाली हो । यसबाट हाम्रा सबै पार्टीहरु ग्रस्त छन् । त्यसैले अहिले हाम्रा विरुद्धमा जुन प्रचार भइराखेको छ त्यो त्यसैको सोंच हो । किनकि कमरेड स्टालिनले आफ्ना विरोधीहरुलाई जर्मन एजेण्ट भनेर, आफ्नो पार्टीका केन्द्रीय समितिका ९८ जनालाई फाँसी दिएर, गोली हानेर मारेका थिए । पोलिट्ब्यूरोका सदस्यहरु, केन्द्रीय समितिका सदस्यहरुसँग अलिकति चित्त बुझेन भने विदेशीको एजेण्ट भनेर, कुनै तर्क नै गर्नु परेन फाँसी दिइहाल्ने । त्यही विरासत बोकेका मान्छेहरुले अहिले जो नयाँ कुरा गर्न खोजेका छौं उनीहरुसँग तर्क छैन, तथ्य छैन अनि जनतालाई भ्रम छर्न विदेशीको एजेण्ट भनेपछि जवाफ नै दिनुपरेन । यसको स्रोत भनेको कमरेड स्टालिनमा रहेको एकमनावादी, निषेधवादी, अत्यन्त सर्वसत्तावादी खालको जुन कमजोरी थियो, उहाँका कतिपय राम्रा पाटाहरु पनि थिए तर उहाँका कमजोर पाटोलाई समात्ने आफूलाई कथित वामपन्थी कम्युनिष्ट भन्नेहरुको रोगकै कारणले गर्दा नेपालको कम्युनिष्ट आन्दोलनको पनि यो गति हुन पुगेको हो । त्यसैले ल्हासालका सामन्तवादपरस्त, पूँजीवादी क्रान्तिमा टेकेर समाजवादमा जानुको सट्टा सामन्तवादी शक्ति राजा महाराजालाई नजिक ठान्ने प्रवृत्ति, कमल थापाहरु जस्तालाई नजिक ठान्ने ल्हासालवादी प्रवृत्ति र अर्को अलिकति फरक र भिन्न सोंच राख्नेवित्तिकै विदेशीको एजेण्ट हो भनेर दुत्कार्ने र अति अन्धराष्ट्रवादको नाउँमा आफ्नै देशका फरक विचार राख्ने मान्छेहरुमाथि दमन गर्ने प्रवृत्ति, त्यो स्टालिनको अत्यन्त एकाधिकारवादी सोंच हो । जनताका जायज मागहरु, मधेशका जायज मागको पक्षमा कोही बोल्यो भने, थारुहरुका जायज मागका पक्षमा, जनजातिका जायज मागका पक्षमा अथवा महिला, दलित र मुस्लिमका जायज मागका पक्षमा कोही बोल्यो भने त्यसलाई विदेशीको एजेण्ट, भारतको एजेण्ट भनेर सजिलै पन्छाइदिने जुन प्रवृत्ति यहाँ हुर्किंदै छ यो नेपालको कम्युनिष्ट आन्दोलनमा त्यही कमजोरी, त्यही दृष्टिदोष र त्यही चिन्तनको दोषको परिणाम हो । यसैलाई कसैले डोग्म्याटो रिभिजनिज्म भनेका थिए अर्थात जड्सुत्रीय संशोधनवाद । कम्युनिष्ट आन्दोलनमा दुईवटा प्रवृत्ति: एउटा, अत्यन्त यान्त्रिक ढंगले सुत्र फलाक्ने प्रवृत्तिलाई जड्सुत्रवाद अर्थात डोग्म्याटिज्म भनिन्छ भने अर्को, माक्र्सवादले सिकाएका द्वन्द्वात्मक भौतिकवादका आधारभूत कुरालाई पनि छोड्ने प्रवृत्तिलाई संशोधनवाद अर्थात रिभिजनिज्म भन्ने गरिन्छ । तर केही यस्तो प्रवृत्ति हुन्छ जसले मुखले बडो डोग्म्याटिक कुरा गर्छ, माक्र्सवाद, लेनिनवाद र माओवाद भन्दा तल कुरै गर्दैन तर सारमा चाहिँ द्वन्द्वात्मक भौतिकवादका आधारभूत सिद्धान्तलाई पनि परित्याग गरेर माक्र्सवादलाई पूरै भ्रष्टीकृत गरिदिन्छ । यस्तो डोग्म्याटो रिभिजनिष्ट प्रवृत्ति अर्थात जड्सुत्रीय संशोधनवादी प्रवृत्ति नेपालका कम्युनिष्टहरुको मूल प्रवृत्ति रहेछ । त्यही कारणले गर्दा अहिले यहाँसम्म आएर उनीहरु संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान बनेपछि पूँजीवादी गणतन्त्रलाई पूर्णता दिएर समाजवादको दिशामा अगाडि बढ्नुपर्ने बेलामा यहाँका उत्पीडित जाति/जनजाति, महिला, दलित, किसान, मजदुरको हक–अधिकार संविधानमा सुनिश्चित गर्ने पक्षमा उभिनुको सट्टा, उनीहरुको आन्दोलनप्रति ऐक्यवद्धता जनाउनुको सट्टा तिनलाई दमन गर्न ती कथित कम्युनिष्टहरु अहिले उत्रिएका छन् । त्यसैले यस्तो प्रकारको विकृत र भ्रष्टीकृत माक्र्सवादलाई देखेर यसैलाई माक्र्सवाद भन्न सकिन्न । यस्तै नक्कली माक्र्सवादीहरुलाई देखेर नै माक्र्सले आफ्नै पालामा भन्नुभएको थियो – आइ एम नट ए माक्र्सीस्ट अर्थात म माक्र्सवादी होइन । उहाँले वाक्क भएर त्यसो भन्नुभएको थियो । किनकि उहाँको नाम लिएर, उहाँको सिद्धान्त र विचार विपरित फ्रान्सका केही कथित क्रान्तिकारीहरुले भनेको हुनाले म माक्र्सवादी होइन भनेर माक्र्सले नै भन्नुभएको छ । उहाँले किन त्यसो भन्नुभयो होला ? यस्तै भ्रष्ट र पाखण्डी कम्युनिष्ट नामधारी मान्छेहरुको कुकृत्य देखेर सायद माक्र्सले पनि त्यो भन्नुभएको थियो । अहिले हामी त इश्वरवादमा विश्वास गर्दैनौं, स्वर्ग र नरकमा विश्वास गर्दैनौं यदी कथमकदाचित् बुढा दाह्रीवाल माक्र्स स्वर्गको डिलबाट कतै नेपाललाई हेरिरहेको भए उहाँ कति चिन्तित हुनुहोला † उहाँले कसरी हेरिराख्नुभएको होला यी नक्कली कम्युनिष्टहरुलाई † उहाँको नाउँमा यस्तो वितण्डा मच्चाइराख्ने मान्छेहरुलाई उहाँले कसरी हेरिराख्नुभएको होला † त्यसैले पनि साथीहरु हामी अब अगाडि बढ्नुपर्छ । हामीले आँट गर्नुपर्छ । हामीले विज्ञानका नियम पक्रनुपर्छ । द्वन्द्वात्मक ऐतिहासिक भौतिकवादका जो समाज परिवर्तनका नियम छन् तिनलाई पक्रेर हाम्रो समयानुकुल विचारको विकास गर्नुपर्छ । दर्शन आफैं आकाशबाट खस्ने होइन । मान्छेले आवश्यकताले, समाजको आवश्यकताले, इतिहासको आवश्यकताले त्यो जन्मिने हो । एउटा कालखण्डमा जुन विचारको माक्र्सले प्रस्तावना गर्नुभएको थियो त्यसलाई प्रयोग गर्दै जाने क्रममा भ्रष्टीकृत हुँदै नेपालसम्म आइपुग्दा साँच्चै नै माक्र्सवादलाई यति विकृत र भ्रष्टीकृत गरियो । नाम के राख्ने हो भोलि हामी सल्लाह गरौंला चिन्तित नहुनुहोस् । तपाईंहरुको दिमागमा कहीँ परिराख्या छ भने, बाबुरामले माक्र्सवाद छोड्न लाग्यो भनेर नै उनीहरु नै नक्कली माक्र्सवादीहरुले, नक्कली माओवादीहरुले भनिराखेका छन्, तपाईंहरुलाई पनि साँच्चै छोड्न लागेको पो हो कि भन्ने लागेको छ भने, माओको झण्डा उठाएर मनपरी जति पनि खाने गरेका मान्छेहरुले माओवाद छोड्यो, माक्र्सवाद छोड्यो भन्दा तपाईंहरु भित्र मनमा कतै आतंकित हुनुभएको छ भने, तर्सिनुभएको छ भने नतर्सिनोस् । किनकि त्यो नक्कली माक्र्सवाद, नक्कली माओवाद हामीलाई चाहिएको होइन, त्यसका विज्ञानका आधारभूत नियमहरु, समाज दुनियाँ बदल्ने एउटा नियम हुन्छ, त्यो नियमलाई हामीले पक्रने हो । त्यो नियमका दुईवटा मुख्य पाटा छन् । एउटा, भौतिकवादी पाटो । अर्थात जो देखिन्छ संसारमा, जो हाम्रो आँखाले देख्छ त्यो प्रमुख कुरा हो । जो हामीले देख्दैनौ त्यो सहायक पाटो हो । अर्थात जो हाम्रो चेतना हो त्यो पछि जन्मिएको हो र भौतिक जगत पहिले जन्मिएको हो । यो कुरा हामीले बुझ्न किन जरुरी छ भने हामीले हाम्रो मुख्य कार्यभार आर्थिक विकास र समृद्धि भनेका छौं । आर्थिक विकास र समृद्धिमा जानको निम्ति हामीले यो जन्मलाई, हाम्रो यो भौतिक जगतलाई प्रधान मानेनौं भने किन आर्थिक विकास गर्ने ? हामीलाई खानु लाउनु नै छैन, सुखसयल गर्नु नै छैन भने किन विकास र समृद्धि चाहियो ? हामीलाई इश्वरवादले के सिकाएको छ भने अहिले सेवा गर, ठूला मालिकहरुको सेवा गर अनि भोलि स्वर्गमा पाउँछौ । हामी त यस्तो परलोकवादी छौं । त्यो कारणले गर्दा हामी धेरै मेहनत नगर्ने, विकास र समृद्धितिर नलाग्ने हाम्रो परम्परा छ । फेरि भाग्यवाद पनि छ । जो गरीव छ, दु:खी छ, दलित छ, महिला छ, उनीहरुलाई के भनिएको छ भने तिमीहरुको भाग्यको कारणले गर्दा यो भएको छ । अनि महिलाहरु पनि दु:ख सहेर बस्छन्, दलितहरु पनि मेरो भाग्यमा यस्तै रहेछ, हिजो गल्ती गरेको रहेछु त्यसैले अहिले दु:ख गरें, अहिले मालिकको सेवा गरें अर्कोचोटि पाउँछु भनेर बस्छन् । त्यसैले यो भाग्यवाद, परलोकवाद रहेसम्म आर्थिक विकास र समृद्धि हुँदैन । त्यसैले चारवाकले भनेका थिए ‘यावत् जिवेत् सुखम् जिवेत्, ऋणम् कृत्वा घृतम् पिवेत्’ । यो चाहिँ पूर्वीय दर्शनभित्रको भौतिकवाद थियो । जति बाँच्ने हो आरामसँग बाँच, बरु ऋण गरेर भए पनि घिउ खाउ, मरेपछि फर्किएर आइँदैन भनेका थिए उनले । यही जीवनमा खाने हो, अर्को जीवन पाईंदैन । त्यसैले भौतिक प्रगतिको सोंच, भौतिकवादी सोंच भएन भने मान्छेले किन मेहनत गर्छ ? किन सुख समृद्धि खोज्छ ? त्यसैले भौतिकवादी सोंच हुन आवश्यक छ । भौतिकवादी सोंच नभएकोले, परलोकवादी सोंच राख्ने मान्छेले विकास र समृद्धिको कुरा गर्न सक्दैन । त्यसैले हामीले विकास र समृद्धिको हाम्रो कार्यक्रम, कार्ययोजनालाई हामीले सफल पार्ने हो भने हाम्रा जनतामा भौतिकवादी चेतना जगाउनै पर्छ । अर्को जन्म पाईंदैन, यही जन्ममा नै सुख पाउने हो, मरेपछि फर्किएर आईंदैन भन्ने कुरा हाम्रा जनतालाई हामीले सिकाउनुपर्छ । मेहनत गर्नुस्, कमाइ गर्नुस्, सुखी हुनुस्, सम्पत्ति आर्जन गर्नुस्, अरुलाई शोषण र ठगी नगर्नुस्, अरुको शोषण र ठगी नगरिकन आफ्नो मेहनतबाट सम्पत्ति कमाउनुस् र सुखसँग बाँच्नुस् भन्ने कुरा हामीले सिकाउनुपर्छ । त्यो भनेको भौतिकवाद हो ।

अर्को, हामीलाई चाहिने विचार भनेको के हो भने जे चीज आज छ त्यो भोलि हुँदैन, जे भोलि छ त्यो पर्सि हुँदैन । त्यसैले चीज निरन्तर गतिमा हुन्छ, परिवर्तनमा हुन्छ । त्यो कुरालाई बुझाउने, सिकाउने वाद भनेको द्वन्दवाद हो । पूरै यो संसारका सबै चीज, १३.७ अर्ब वर्ष पहिले भन्छन् वैज्ञानिकहरुले, महाधमाका (बिग ब्याङ) बाट पृथ्वीको सृष्टि भयो, यो व्रम्हाण्डको सृष्टि भयो त्यतिबेलादेखि प्रत्येक चीज एकअर्कामा रुपान्तरित भइराखेका छन्, निरन्तर गतिमा छन् । कोही पनि स्थिर छैन यहाँ । त्यसको कारण के हो त भन्दा त्यो प्रत्येक बस्तुभित्र विपरित तत्व हुन्छ । आपसमा जति त्यसलाई टुक्राउँदै जानुहुन्छ एउटाको विपरित अर्को त्यहाँ भेटिन्छ । विपरितहरुको टक्कर र ठक्करले त्यहाँ गति पैदा हुन्छ । यसरी नै विश्व व्रम्हाण्ड अघि बढ्दै आएको छ । सामान्य अमिवाजस्तो जीवाणुबाट सुरु भएको प्राणी जगत् अहिले मान्छेजस्तो ठाउँमा आइपुगेको छ । यो कुरा सिकाउने पद्धति भनेको द्वन्दात्मक भौतिकवाद हो, अर्थात् डाइलेक्टिकल म्याटरलिजम हो । त्यसैले यही कुरा, द्वन्दात्मक भौतिकवादको जगमा टेकेर हामी अगाडि जाने हो । समाज पनि सानो खुट्किलाबाट, दासयुगीन अवस्था, सामन्तयुगीन अवस्थाबाट पूँजीवाद हुँदै समाजवाद हुँदै अगाडि जान्छ । त्यसैलाई ऐतिहासिक भौतिकवाद भन्ने गरिन्छ । जो प्राकृतिक दुनियाँमा द्वन्दात्मक भौतिकवाद भनिन्छ सामाजिक विकासको दुनियाँमा त्यसैलाई ऐतिहासिक भौतिकवाद भनिन्छ । त्यसैले यो सिद्धान्त चाहिँ विज्ञान हो । यो सबैले मानेको कुरा हो । केही मान्छेलाई यसैलाई माक्र्सवाद हो भन्दा सुन्न मन लाग्दैन । ठीकै छ नसुनोस्, तर द्वन्दात्मक तथा ऐतिहासिक भौतिकवाद मानोस् उसले । त्यो माने भयो । त्यसैले यो कुरालाई पक्रौं र अरु कुरामा चाहिँ टाँस्सिएर बसिराख्नु जरुरी छैन । तपाईं हामीलाई आफूले स्वतन्त्र सिक्न, बुझ्न त सिकाइएन । एकदम ब्रम्हज्ञानी नेता माथि हुन्छ, त्यसले सोच्ने हो, त्यसले जे ल्याएर दिन्छ त्यसलाई मान्दै भट्याउँदै जाने हो भन्यौं हामीले । केन्द्रीय समितिको जुन अध्यक्ष छ, महासचिव छ सर्वज्ञानी त्यो हो, त्यसको दिमागबाट आउँछ, त्यसपछि केन्द्रीय समितिले राज्य समितिलाई सर्कुलर पठाउँछ, राज्य समितिले जिल्लालाई गर्छ, जिल्ला पनि तल गाउँसम्म जान्छ, तल सेल सदस्यले त सोच्नै परेन । कहिल्यै पढ्न, लेख्न पनि उसले ध्यान दिनु परेन र अलिकति आलोचनात्मक ढंगले यो ठीक हो कि बेठीक हो भनेर सोच्न पनि परेन । यसरी यस्तो केन्द्रमुखी खालको जुन ढाँचा कम्युनिष्ट आन्दोलनमा बनाइयो त्यसले कम्युनिष्टहरु भनेका त पूरै दास जस्तो, आदेश पालक जस्ता, केही नेताहरुको झुण्ड छ त्यसले सबै ज्ञान र विज्ञानको ठेक्का लिएको छ, पछि त्यसैको आधारमा पार्टीको सत्ता र राज्यको सत्तामा ऊ बसेको छ तर तलका कार्यकर्ता चाहिँ दासजस्ता छन् । कम्युनिष्ट पार्टी नै त्यस्ता भइसकेपछि जनता कस्ता हुने † त्यसैले कम्युनिष्ट आन्दोलनमा हिजो जुन ढंगले प्रयोग गरियो, कथित समाजवादको नाउँमा जुन ढंगको अति केन्द्रिकृत ढाँचाको, यान्त्रिक खालको अन्धविश्वासपूर्ण, जड्सुत्रवादी माक्र्सवादको जुन प्रयोग गरियो त्यही कारणले गर्दा ती सत्ताहरु असफल भए । त्यसैले नेपालमा अहिले हामीले त्यसबाट पाठ सिकेर अगाडि बढ्न जरुरी छ । मैले यति विस्तारमा के भनेको हो भने अहिले यहाँ भइराखेका, आफूलाई कम्युनिष्ट नाम दिएका १०/१५ वटा पार्टी छन्, ती छँदाछँदै हामीले फेरि किन दु:ख गर्नुपर्‍यो भन्नेको जवाफ यो हो । काँक्रोलाई जतिसुकै चिरा पारे पनि, हुने त उही हो, स्वाद आउने त उही हो भनेजस्तै यी कम्युनिष्ट आन्दोलनको त्यो प्रवृत्ति, विचार, शैलीलाई नबदलेसम्म जति चिरा पारे पनि त्यही हुन्छ । तपाईं–हामी पनि सच्चिएनौं, नयाँ सोंच, नयाँ प्रवृत्ति लिएर आएनौं भने अर्को नाम राखेर गए पनि कहिँ पनि पुगिँदैन । यहाँ कुरो विचारको, चिन्तनको, शैलीको, प्रवृत्तिको हो । नामको कुरा, ब्राण्डको कुरा र झण्डाको कुरा होइन । त्यसैले हामीले नयाँ ढंगले जाने आँट गर्नुपर्छ । तपाईं हामी साथीहरुले नयाँ शक्ति निर्माण गर्ने भन्दा आफू नयाँ बन्ने, नयाँ ढंगले जाने दिशातिर सोचौं । यो पार्टी कम्युनिष्ट हुन्छ कि हुँदैन, हाम्रो त्यही झण्डा हुन्छ कि हुँदैन भन्ने कुरा छलफल गरौं । द्वन्दात्मक ऐतिहासिक भौतिकवाद मूल नियम हो, त्यसलाई पक्रने हो, त्यसैको आधारमा नेपाली समाजलाई बदलेर समृद्ध हुँदै अगाडि लैजाने हो । त्यसको निम्ति के गर्ने भनेर बहस र छलफल गरौं । हामीभन्दा बाहिर पनि असल र राम्रा धेरै मान्छेहरु छन् । यो कथित कम्युनिष्ट आन्दोलनमा, नक्कली कम्युनिष्ट आन्दोलनमा लाग्ने मान्छेहरुको संख्या अलि ठूलो देखिन्छ तर विचरा धेरै जनताहरु कम्युनिष्ट भनेका गरीव जनताका पक्षका हुन्, किसान मजदुरको पक्षमा लड्छन्, महिला दलित, जनजातिको पक्षमा लड्छन् भनेर कम्युनिष्ट आन्दोलनमा लागेका हुन् । तर कम्युनिष्ट नेताहरुको कुरा अहिले आउँदा देखियो नि त कमल थापासँग आत्मसमर्पण गरेर । उहाँहरुले वर्गीय मुद्दा त पहिल्यै छोड्नुभएको थियो, किसान र मजदुरका हकहितका कुरा त उहाँहरुसँग छँदै थिएन । महिलाका मुद्दा पनि देखिहाल्नुभयो संविधान बनाउने बेलामा । म त आफैं संवाद समितिको सभापतिको हैसियतमा त्यहाँ थिएँ, महिलालाई दोस्रो श्रेणीको नबनाउँ, छोराको श्रीमतीलाई चाहीँ एकढंगको नागरिकता, छोरीको श्रीमानलाई चाहीँ अर्को ढंगको नागरिकता किन गर्ने, छोरा र छोरीलाई विभेद गर्ने भनेर कति लडियो तर आफूलाई कम्युनिष्ट भन्नेहरुले नै, अहिले ठूलाठूला ओहदामा हुनुहुन्छ उहाँहरु, त्यसको विरोध गर्नुभयो र उहाँहरु आफूलाई कम्युनिष्ट भन्नुहुन्छ भने लैंगिक मुद्दा कहाँ रह्यो उहाँहरुसँग । दलितका मुद्दामा हामीले दलितहरुलाई विशेषाधिकारको कुरा भनेका थियौं, संविधानमा लेखौं भनेर कति जोड गरियो तर आफूलाई कम्युनिष्ट भन्नेहरु एक ठाउँमा उभिएको भए कांग्रेसले केही विरोध गर्‍थ्यो होला तर कांग्रेस पनि बाध्य हुन्थ्यो । बरु म के देख्नु भने कांग्रेस भनेको त आलुको बोराजस्तो हो । कांग्रेस नामको बोरामा बाँधिएका मात्रै हुन्, भित्र आलु आलु अलग अलग छन् । आफैं आफैं छरिन्छन् त्यसैले । बरु त्यो कांग्रेसको केही आलुलाई साथमा लिएर जान सकिन्थ्यो तर कम्युनिष्ट नामको अत्यन्त एकमनावादी जुन संरचना हो त्यहाँ त पटक्कै विवेक प्रयोग गरेर सोच्दै नसोच्ने, त्यहाँभित्र दलित छ तर दलितको पक्षमा बोल्दैन, कम्युनिष्ट भन्ने दलित, त्यहाँ महिला छन् तर एमाले र एमाओवादी भन्ने महिला त्यो पक्षमा बोल्दैनन्, त्यहाँभित्र मधेशी छन् तर एमाले र एमाओवादीभित्रका मधेशीहरु, भलै यहाँ त धेरै साथीहरु निस्किएर आउनुभयो कोही साथीहरु अझै त्यहाँ कुरेर बसिराख्नुभएको छ तर आफूलाई कम्युनिष्ट भन्नेहरु चाहिँ झन् डराएर बस्छन् । यसले शोषण, उत्पीडन र विभेदको विरुद्धमा लड्छ भनेर नेपालको जनमत कम्युनिष्ट भएको हो । तर कम्युनिष्टको नाउँमा जुन ढंगले वर्गीय, जातीय, क्षेत्रीय, लैंगिक उत्पीडनका सबै मुद्दा छोडियो त्यो कारणले गर्दा आज हामीले त्यो कथित नक्कली वामपन्थको सच्चा प्रगतिशील वामपन्थी विकल्प दिन सक्नुपर्छ । त्यसैको निम्ति नयाँ शक्तिले आधार बनाउँदा यी सबै विषयमा छलफल गरेर अहिलेको विश्व परिस्थिति सुहाउँदो, नेपालको परिस्थिति सुहाउँदो र विगतको जुन यी भ्रष्टीकृत जुन अनुभवहरु छन् त्यो भन्दा माथि उठेको सही विचार के हुन सक्छ त्यो खोजौं । त्यसैको निम्ति हामीले यो अभियानको दौरानमा व्यापक छलफल, गरेर चिन्तन मनन गरेर, अध्ययन अनुसन्धान गरेर एउटा टुंगोमा पुगौं । अहिले नै हाम्रो विचार के हुन्छ भनेर तपाईंहरुले टाउको नदुखाउनुहोला । यो गाँठो खुल्यो भने यति ठूलो उर्जा र स्फुर्ती पैदा हुन्छ तपाईं हामी अरु सबै कुरा टुंग्याउन सक्छौं । गाँठी कुरो यही हो । यदि साँच्चै नै नेपाललाई यी जुन लोकतान्त्रिक आन्दोलनका वर्गीय, जातीय, क्षेत्रीय, लैंगिक जुन मुद्दा छन् यसलाई हामीले सम्बोधन गर्छौं अर्थात समावेशी, समानुपातिक र सहभागितामूलक लोकतन्त्रको अभ्यास गर्छौं भन्ने कुरालाई तपाईंले बुझिदिुनुभयो र हामीले नेपाललाई विकसित र समृद्ध बनाउनु छ त्यसको निम्ति हामीलाई त्यो सुहाउँदो विचार हामीलाई चाहियो र नयाँ शक्ति चाहियो भन्ने कुरा तपाईंले बुझिदिनुभयो भने हामीले नयाँ शक्ति बनाउन सक्छौं । कसैले पनि त्यसलाई रोक्न सक्दैन ।

मैले पाँच ‘स’ भनेर सामान्य अर्थमा बहस छलफल चलाइराखेको छु, त्यो अन्तिम नै होइन । त्यो चार स पनि हुन सक्छ सात स पनि भोलि हुन सक्छ । अहिले प्रारम्भमा पाँच ‘स’ भन्नुको अर्थ के हो भने हामीले नेपाल नाउँको भूभागमा समृद्धिको जुन सपना देखिराखेका छौं त्यसको निम्ति पहिले हाम्रो स्वाधीनता, सार्वभौमसत्ता र भौगोलिक अखण्डता जोगिनुपर्‍यो । यो भूगोल नै रहेन, नेपाल नै रहेन भने कहाँ विकास गर्ने ? त्यसैले पहिलो, हाम्रो स्वाधीनता र सार्वभौमिकता जोगिनुपर्‍यो । अहिलेको जुन विश्व परिस्थिति छ त्यो अत्यन्त जटील छ । ठूला शक्तिहरुले आफूले भनेजस्तो भएन भने वमवर्षा गर्ने, आपसमा मिलेर देशलाई नै तहसनहस पारिदिने काम गरेको तपाईं हामीले देखेका छौं । सिरियामा देखेका छौं, इराकमा देखेका छौं, अफगानिस्तानमा देखेका छौं । हामीकहाँ पनि अलिकति रड्कियो भने हामीले कसैसँग अलिकति सम्बन्ध विगार्‍यौं भने सबै धुरिएर हामीलाई ध्वस्त पारिदिने खतरा हाम्रो पनि हुनसक्छ । त्यसैले अत्यन्त सुझबुझपूर्ण ढंगले यो देशको स्वाधीनता र सार्वभौमिकता बचाउन हामीले ध्यान दिनुपर्छ । त्यसको निम्ति हाम्रो, नयाँ शक्ति निर्माण अभियानको, भनाइ के हो भने हिजोको परम्परागत प्रकारको सोंच, अत्यन्त पाखण्डी प्रकारको राष्ट्रवाद होइन, दुई ठूला छिमेकी भारत र चीनसँगको सम्बन्धलाई ठीक ढंगले बुझेर खासगरी भारतसँग दुई अढाई सय वर्षदेखिको जुन खालको असमान पराश्रित प्रकारको सम्बन्ध छ त्यसको संरचनात्मक असमानतालाई चिर्नको निम्ति तत्काल युद्धको तरिकाले लडेर अहिले सम्भव हुँदैन त्यसैले उसलाई एउटा दूरीमा राख्ने, निश्चित ठाउँमा रोक्ने गर्नुपर्छ । उत्तरमा चीन छ, जोसँग हाम्रो खासै समस्या छैन उसलाई पनि नचिढ्याउने र हामीले आफ्नो देशलाई एकतावद्ध गरेर, हिमाल–पहाड–तराई–मधेशलाई एकतावद्ध गरेर देशलाई बलियो बनाउने र आर्थिक विकास र समृद्धिका लागि दुईवटै देशबाट धेरै लगानी ल्याउने गर्नुपर्छ । भारत र चीनको संयुक्त लगानीमा कर्णालीको १० हजार मेगावाटको बिजुली किन उत्पादन नगर्ने ? चीन र भारतको अहिले एक खर्ब डलरको प्रत्येक वर्ष व्यापार हुन्छ । जबकि नेपालसँग त्यसको एक प्रतिशत पनि हुँदैन । चीनले सबभन्दा धेरै व्यापार गर्ने देशमध्येको एउटा भारत हो । भारत र चीनको बीचमा जुन सम्बन्ध छ यसको लाभ लिएर यी दुईवटै देशको संयुक्त लगानी यहाँ ल्याउन सक्नुपर्छ । १० हजार मेगावाट चिसापानी, कर्णालीमा हामीले लगानी गरेर विद्युत उत्पादन गरौं, ५ हजार हामीले प्रयोग गरौं हामीलाई पुग्दो विजुली हुन्छ, ५ हजार भारत निर्यात गरिदिउँ । यत्तिले समाधान हुन्छ अहिले हाम्रो समस्या । यो हो प्रगतिशील राष्ट्रवाद भनेको । जनतालाई सुख समृद्धि दिने, समृद्ध बनाउने र देशको भौगोलिक अखण्डता र सार्वभौमसत्ता पनि जोगिने र दुबै छिमेकीको सद्भाव लिएर नेपाललाई बलियो बनाउने कुरा चाहिँ दलाली हो कि सही अर्थमा राष्ट्रवाद हो ? जो मान्छेले आफ्नो सत्ता स्वार्थको निम्ति नक्कली राष्ट्रवादको हौवा दिइराखेका छन् ती राष्ट्रवादी हुन् ? तपाईं हामीले बुझ्न जरुरी छ । त्यसैले नयाँ शक्तिले भन्छ – हामी प्रगतिशील राष्ट्रवादको नीति लिन्छौं र नेपाललाई विकसित र समृद्ध बनाउँछौं । नेपालको राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डताको रक्षा गर्छौं । हाम्रो एउटा ‘स’ यो हो ।

हामीले विकास र समृद्धि त भन्छौं तर देशका जुन विभिन्न जाति, भाषा, क्षेत्र, लिङ्ग, समुदाय छन् तिनलाई समावेशी, समानुपातिक र सहभागितामूलक प्रतिनिधित्व गराएनौं, त्यस्तो लोकतन्त्रको अभ्यास गरेनौं भने हामीले विकास त गरौंला तर त्यो विकास आम जनताले पाउँदैनन् । जनताको सहभागिता विना विकास हुने होइन । आकाशबाट पूँजी अथवा प्रविधि ल्याएर एकैचोटि विकास हुने होइन । त्यो चलाउने जनताले हो । त्यसैले जनताको सहभागिता, विभिन्न जाति, क्षेत्र, समुदायका जनतालाई हामीले एकाकार गरेर परिचालन गरेर एकता ल्याउने हो । त्यसैले हामीले दोस्रो ‘स’का रुपमा भन्यौं – समावेशी, समानुपातिक र सहभागितामूलक लोकतन्त्र ।

अहिलेको सत्तामा जुन खालको भ्रष्टाचार छ, राजनीतिक दलहरु यति अपारदर्शी छन्, चुनावमा १० लाख खर्च गर्ने भनिएको छ तर प्रत्येकले १० करोड खर्च गर्छ, कहाँबाट आउँछ त्यो ? जसको केही पनि हैसियत छैन, १० करोड खर्च गर्छ, मरिहत्ते गरेर मन्त्री हुन पुग्छ, त्यहाँ कमिशन एजेण्टहरुलाई लिएर पैसा कमाउँछ, अनि फेरि त्यही पैसा खर्च गरेर अर्कोचोटि चुनाव जित्छ । यसरी पैसाको बलमा चुनाव जित्ने र चुनाव जित्नको निम्ति पैसा कमाउने जुन दुश्चक्र छ यसले गर्दा नेपालको राजनीति अत्यन्त प्रदुषित भएको छ । आम जनता र युवा राजनीतिबाट पूरै वाक्कदिक्क छन् । हामीले विकास र समृद्धि ल्याउने हो भने त्यस्तो भ्रष्टाचारयुक्त कुशासन होइन, अब हामीलाई सदाचारयुक्त सुशासन चाहियो । त्यसैले हामीले अर्को ‘स’ भन्यौं – सदाचार र सुशासन । सदाचार, सुशासन, पारदर्शीता नै नयाँ शक्तिको मुख्य पहिचान हुनेछ ।

तत्काल हामीले विकास कसरी गर्छौं त ? हामी भर्खरै सामन्तवादी कृषिप्रधान अर्थतन्त्रबाट पूँजीवादी अर्थतन्त्रतिर जाँदैछौं । पूँजीवादको विकास गर्नुपर्छ तर पूँजीवादको विकासले मात्रै पनि मुठ्ठीभर मान्छे, सीमित मान्छे धनी हुने र बहुसंख्यक मान्छे गरीव हुने हुन्छ । हामीले जनतालाई सामाजिक न्याय सहितको विकास पनि दिनुछ । त्यसो गर्नको निम्ति हाम्रो विकासको नीति पहिलो चरणमा समावेशी खालको विकास हुन्छ । सहभागितामूलक विकास हुन्छ । मुख्य रुपमा त्यो पूँजीवादी नै विकास हुन्छ । किनकि भर्खर हामी सामन्तवादबाट अगाडि आउँदै छौं । हाम्रो अर्थतन्त्र कृषिप्रधान छ । एकैचोटि समाजवादतिर जाऊँ भन्यौं भने गरीबी बाँड्ने कुरा मात्रै हुन्छ । गरीबीको बीचमा समाजवाद आउँदैन । हाम्रो जुन प्रतिव्यक्ति आम्दानी जम्मा ७ सय डलर छ, सबैलाई बराबर बाँड्यौं भने दिनको दुई डलर हुन्छ । दिनको दुई डलर भनेको विश्वमा गरीबीको रेखामुनी हो । त्यसैले सबैलाई गरीबी बाँडेर समाजवाद आउँदैन । पहिलो चरणमा हामीले तिब्र आर्थिक विकासको पूँजीवादी बाटोबाटै विकास गर्नुपर्छ । किनकि व्यक्तिको सिर्जनशीलता, व्यक्तिको पहल र विदेशी लगानी, निजी लगानी लगाइएन भने अहिले हामीले ठूला–ठूला उद्योगधन्दाहरु, खुला बाटाघाटाहरु, एयरपोर्टहरु, आफ्नै पैसाले अहिले निर्माण गर्ने सम्भावना हुँदैन । त्यसैले पहिलो चरणमा हामीले पूँजीवादी प्रकृतिको विकास गर्छौं तर त्यस्तो पूँजीवाद जसको लक्ष्य समाजवादतिर जाने होस् । त्यसैले हामीले अर्को ‘स’ भन्यौं – समाजवादउन्मुख पूँजीवाद । समाजवादउन्मुख पूँजीवाद नै अहिलेको हाम्रो विकासको नीति हुन्छ । त्यसमा टेकेर हामी समाजवादतिर जान्छौं । देशलाई पहिले समृद्ध बनाऔं अनि त्यसलाई समाजवादी रुपान्तरण गरौं । त्यसो भयो भने त्यो समृद्ध समाजवाद हुन्छ तर अहिले नै गरीबीको बीचमा समाजवाद ल्याउँछु भन्यो भने त्यो गरीबी बाँड्ने समाजवाद हुन्छ, वास्तविक समाजवाद हुँदैन । त्यसैले नयाँ शक्तिले भनेको अर्को ‘स’को विषय भनेको चाहिँ ‘समृद्ध समाजवाद’ हो । त्यसैले साथीहरु हामीले यही लक्ष्यसहित जुन यो नयाँ शक्तिको कुरा गरेका छौं त्यसमा हामी प्रष्ट रहौं । म के विश्वास दिलाउन चाहन्छु भने स्पष्ट खालको नयाँ वैज्ञानिक विचार र देशलाई केही दशकभित्र, १० वर्षभित्र गरीबी र बेरोजगारीको अन्त्य गर्ने, २० वर्षमा मध्यम स्तरको विकासमा पुर्‍याउने र ४० वर्षमा समृद्धिको दिशातिर पुर्‍याउने कार्यक्रम सहितको योजना र सबै जनताको सहभागितामूलक लोकतन्त्र हुने र खासगरी नेपालका आर्य–खस जाति, मधेशी–थारु र आदिवासी/जनजातिका जुन तीनवटा जातीय क्लस्टर छन् यिनीहरु तीनवटैको समावेशी सहभागिता हुने, राज्य संयन्त्रमा पनि, पार्टीमा पनि, त्यस्तो लोकतन्त्रको अभ्यास गर्‍यौं भने र हामीले साँच्चै नै सुशासन र पारदर्शीताको आचरण अपनायौं भने हामीले त्यस्तो नयाँ शक्ति बनाउन सक्छौं ।

हामीले नयाँ शक्ति बनाउने क्रममा पनि हाम्रा मूलभूत अवधारणा, वैचारिक –राजनीतिक कार्यक्रम र संगठनात्मक सिद्धान्त, आचरण र शैलीको पनि नयाँ ढंगले परिभाषित गरेर तल जगैदेखि नयाँ शक्ति निर्माण गर्नुपर्छ । राम्रा, असल, सच्चरित्रवान, दूरदृष्टियुक्त मान्छे बाहिर पनि थुप्रै मान्छेहरु छन् । कुनै पनि पार्टीमा नलागेका राम्रा मान्छेहरु छन् । अरु पार्टीभित्र भएका पनि राम्रा मान्छेहरु छन् । त्यसैले ती सबै मान्छेहरुलाई समेटेर नै हामीले नयाँ शक्ति बनाउने हो । निश्चित अवधिसम्म हामीले अभियान चलाउँछौं । त्यो अभियानको सार भनेको के हो भने हामी एकचोटि फेरि जनताकै बीचमा जान्छौं । जनताले अहिलेको समस्यालाई कसरी बुझिराखेको छ, यसको समाधान के खोजिराखेको छ, जनताले कस्तो विचार सहितको, कस्तो संगठनात्मक पद्धतिसहितको, कस्तो शैलीसहितको, कस्तो शक्ति खोजेको छ ? त्यो अवधारणा लिनको निम्ति हामी जनताका घरदैलोमा जान्छौं । त्यसरी नै हामीले खर्च गर्नुपर्ने हुन्छ, हिजो त हामीले अरु मान्छेहरुसँग पैसा मागेर चलाएका थियौं । यहाँसम्म कि कतिपय अवस्थामा त विकृत ढंगले जबर्जस्ती चन्दा उठाउने, धम्क्याउने गरेर पनि पैसा उठाने चलन थियो । अब हामीले त्यसलाई पूर्ण रुपले अन्त्य गर्छौं । बरु जनताका घरदैलोमा गएर हामीले पछ्यौरा थाप्छौं, तन्ना थाप्छौं र घरघरबाट स्वैच्छिक ढंगले सय रुपैयाँ, हजार रुपैयाँ, पाँच सय रुपैयाँ, जनताले जति दिन्छन् त्यही हामीले संकलन गर्छौं र हिसाबकिताब गरेर खुला र पारदर्शी ढंगले सार्वजनिक गर्छौं । हामीले केन्द्रमा, राज्यमा, तल गाउँ–गाउँसम्म त्यस्तो खुला ढंगको तरिका चलाउन सक्छौं । आर्थिक सहयोग संकलन पनि एउटा प्रचारको माध्यम हुन सक्छ । पहिलो चरणमा हामी जनताको घरदैलोमा पुग्ने, उहाँहरुका सुझावहरु लिने, उहाँका रायहरु लिने, दु:खकष्ट बुझ्ने र साथै सहयोग पनि माग गर्ने प्रकारको तरिका केही समयसम्म चलाउँछौं । भूकम्पपीडित जनताका समस्यालाई लिएर पनि हामीले जनताको घरदैलोमा गएर सहयोग गर्छौं ।

हामीबारे अत्यन्त धेरै जुन भ्रामक चर्चा केही मान्छेहरुले गर्ने गर्छन् । म तपाईंहरुलाई के आग्रह गर्न चाहन्छु भने हामीले त्यसमा चासो नदिउँ । हामीले इतिहास निर्माण गर्नुछ । नयाँ नेपाल निर्माण गर्नुछ । त्यसैले हामी प्रोएक्टिभ भएर अगाडि बढ्ने हो । अर्काले के भन्छ भनेर जवाफ दिँदै जाने काम हाम्रो होइन । त्यसैले हामीले गल्ती नगरौं, हामीले गल्ती गर्छौं कि भनेर सतर्क बनौं र अर्काले गरेको आलोचनामा पनि केही सत्यता छ भने त्यसलाई ध्यान दिऊँ । किनकि संस्कृतमा एउटा भनाइ छ – जीवन्तु मे शत्रुगणा सदैव, येषां प्रसादात्सुविचक्षणोऽहम्, ये ये यथा मां प्रतीबाधयन्ति ते ते तथा मां प्रतिबोधयन्ति अर्थात दुश्मनहरु सधैं बाँचिरहुन् तिनको दीर्घायू होस्, किनकि मैले जबजब गल्ती कमजोरी गर्छु, तिनले मलाई आलोचना गरेर झक्झक्याइदिन्छन् र तिनीहरुकै कृपाले गर्दा म अत्यन्त सजग छु र अगाडि बढिरहेको छु भनेजस्तै उनीहरुका आलोचनालाई सुनौं । त्यसको केही सत्यता छन् भने हामीले मनन् गरौं, यदि छैन भने त्यसलाई खण्डन मण्डन गरेर चित्त दुखाएर, मन अमिल्याएर समय र शक्ति बर्बाद नगरौं । हामीलाई थाहा छ, हामी ठीक बाटोमा छौं । हामी नयाँ ढंगले नयाँ नेपाल बनाउन चाहन्छौं । त्यसैले हाम्रा बारेमा, हामी के परस्त भयौं, कसैको निम्ति भयौं भन्ने जस्ता आरोप छन्, त्यसको कुनै पनि स्पष्टीकरण दिइराख्नु जरुरत छैन । किनकि हामीलाई जति हाम्रो देशको माया कसैलाई पनि छैन । किनकि हाम्रो इतिहास साक्षी छ । मेरो आफ्नै जीवनमा ६० वर्षको जीवनमा ४० वर्षको मेरो राजनीतिक जीवन छ, म दाबीसाथ भन्न सक्छु समकालीन नेपाली नेताहरुमध्ये सबभन्दा पारदर्शी जीवन मेरो छ । त्यसैले त्योभन्दा विपरित कोही कसैले पनि भन्छ भने म चुनौति दिन चाहन्छु । तपाईंहरु कुनै पनि ढंगले त्यसमा आशंकित हुन जरुरी छैन । नेपालीहरुको दिनहीन अवस्था, भारतमा मजदुरी गर्ने मेरा मजदुर साथीहरुको पीडा देखेर राजनीतिमा लागेको, यो नेपाललाई मुक्त गरौं, समृद्ध बनाऔं, भारतको सुगौली सन्धीदेखिको जुन हेपाहा नीति रह्यो त्यसलाई अन्त गरेर नेपाललाई स्वाधीन र समृद्ध बनाऔं भनेर लागेको मान्छे, म कसरी मेरो देशको हितविरोधी हुन सक्छु ? म कल्पनै गर्न सक्दिनँ । त्यसैले तपाईंहरु ढुक्क रहनुस्, हामी अगाडि बढ्छौं । यो देश बनाउने हामीले हो, हाम्रो पुर्खाले बनाएको यो जुन नेपाल हो यो नेपाल सार्वभौमिकता, स्वाधीनता र भौगोलिक अखण्डताको रक्षा गरेर यसलाई समृद्ध बनाउने, हाम्रा छिमेकीहरुसँग असल सम्बन्ध राखेर यो देशको छिटो विकास गर्ने बाटोमा हामी जाने हो । त्यसैले अरुले के भन्छन् भन्ने चिन्तातिर तपाईंहरु नजानुस् ।

अब एउटा कुरा सायद मैले भन्नैपर्छ । तपाईं हामी धेरै जनयुद्धको पृष्ठभूमिबाट आएका छौं । शहीद र वेपत्ताका परिवारका व्यक्तिहरु छौं हामी । घाइते योद्धाहरु छौं, हिजोको जनमुक्ति सेनामा लागेका साथीहरु अत्यन्त अपहेलित भएर जीवन विताइरहनुपरेको अवस्था छ । कतिपय विदेशमा गएर मजदुरी गरिराख्नुपरिरहेको अवस्था छ । त्यसैले के यी सबै साथीहरुलाई नयाँ शक्तिले छोडेको हो ? के यो जनयुद्धको पूरै विरासत छोडेको हो ? भन्ने आशंका पनि लाग्न सक्छ । तर त्यो विल्कुल होइन । हामी भन्छौं, नेपालमा जे उपलब्धी भएको छ त्यो प्रजापरिषद्देखि लिएर नेपाली कांग्रेस, एमाले, माओवादी र पछिल्लो चरणमा माओवादी, मधेश आन्दोलन र थटहट, जनजाति आन्दोलनको बलमा यो भएको हो । त्यसमा पनि मुख्य रुपमा माओवादी आन्दोलनकै बलमा यो उपलब्धी प्राप्त भएको हो । त्यसैले यी सबै आन्दोलनका शहीदहरु र खासगरी माओवादी जनयुद्धका शहीद र वेपत्ता र घाइते योद्धाहरु अत्यन्त सम्मानका पात्र हुनुहुन्छ । त्यसैले उहाँहरुको पूर्णरुपले हामी जिम्मेवारी लिन्छौं, लिनुपर्छ । हामीले भोलि संगठन बनाएपछि, पार्टी बनाएपछि पनि हामीले त्यसको पूरा जिम्मेवारी लिन्छौं । राज्यसत्तामा पुगेर पनि हामीले उहाँहरुको व्यवस्थापन हामीले गर्छौं । त्यसैले यसमा ढुक्क रहन म तपाईंहरु सबैलाई आग्रह गर्न चाहन्छु । हामीले लिएको बाटो भनेको फेरि अर्को हिंसा र युद्धको बाटो होइन । हामी अहिले शान्तिपूर्ण ढंगले अगाडि बढ्न चाहन्छौं । हाम्रो कार्यदिशा भनेको, पहिलेदेखि हामीले भनेका छौं, तीन ‘स’को कार्यदिशा: सडक, सदन र सरकार हो । यी तीन वटै मोर्चालाई हामीले प्रयोग गर्ने हो । जनताका पक्षमा हामीले सडकबाट पनि आवाज उठाउँछौं, जनदबाब सिर्जना गर्छौं, चुनाव हुँदा चुनावमा भाग लिएर हामी सदनमा पनि जान्छौं र त्यहाँ पनि जनताको पक्षमा नियम कानुनहरु बनाउनको निम्ति हामीले संघर्ष गर्छौं र हामीले जनताको अभिमत जितेर, बहुमत ल्याएर सरकारमा पनि गएर जनताको पक्षमा आर्थिक विकास र समृद्धिको निम्ति काम गर्छौं । त्यसैले हाम्रो कार्यदिशा भनेको सडक, सदन र सरकार तीनवटै मोर्चाको प्रयोग गरेर अगाडि बढ्ने र पूँजीवादी जगमा टेकेर समाजवादको दिशामा जाने हाम्रो कार्यदिशा हो । त्यसैले यो विषयमा पनि हामी कुनै प्रकारको भ्रममा पर्न आवश्यक छैन । जो साथीहरुलाई यसबारे भ्रम छर्न खोजिएको छ त्यसमा तपाईं हामीले प्रष्ट पार्नुपर्छ, जनतालाई पनि प्रष्ट पार्नुपर्छ ।

हामीले बनाउन खोजेको नयाँ नेपाल भनेको यो देशका उत्पीडित वर्ग, किसान, मजदुर, महिला, दलित, जनजाति, मधेशी, थारु, मुस्लिम लगायतको उत्पीडित जनताको निम्ति हामीले समृद्ध नेपालको परिकल्पना गरिराखेका छौं । त्यसैले तपाईंहरु सबैसँग म प्रतिवद्धता व्यक्त गर्न चाहन्छु, तपाईंहरुको पक्षमा नयाँ शक्ति निरन्तर लड्नेछ, म निरन्तर लडिराख्नेछु । म हाम्रा युवा विद्यार्थी साथीहरुलाई आग्रह गर्न चाहन्छु, नयाँ शक्ति भनेको मूलत: नयाँ विचार हो, नयाँ विचार उमेरले मात्रै हुन्छ भन्ने होइन । पुराना मान्छेहरु पनि नयाँ विचारमा आउन सक्छन् तर इतिहासले के भन्छ भने नयाँ विचारका मुख्य बाहक भनेका, विवेक र साहसले युक्त समूह भनेको युवा विद्यार्थी नै हो । त्यसैले नयाँ शक्तिको मुख्य आधारस्तम्भ, मुख्य आधार शक्ति भनेको युवा विद्यार्थी नै हुन्छ । त्यसैले म युवा विद्यार्थी साथीहरुलाई भन्न चाहन्छु भोलिको, भविष्यको नेपाल तपाईंहरुको नेपाल हो, र हामीले कल्पना गरेको समृद्ध नेपाल तपाईंहरुको निम्ति हो । हामी त १०/१५ वर्ष बाँचौंला, काम गरौंला । तपाईंहरुलाई त ४०/५० वर्ष काम गर्नुछ, भोग्नुछ । त्यसैले नयाँ नेपाल जुन बन्छ, नयाँ शक्ति जुन समृद्ध नेपाल बनाउँछ त्यो तपाईं युवा विद्यार्थीकै हो । त्यसैले तपाईं युवा विद्यार्थीहरु यसमा धेरै भन्दा धेरै संख्यामा लाग्नुपर्छ । तपाईंहरुले नै यो अभियानमा मुख्य भूमिका खेल्नुहुनेछ भन्ने म आग्रह गर्न चाहन्छु ।

त्यसरी नै माओवादी आन्दोलनका विभिन्न घटकमा रहेका साथीहरुलाई किरण पक्षमा गएका, विप्लव पक्षमा गएका, मणि र मात्रिका पक्षमा लागेका साथीहरु र अहिले प्रचण्ड पक्षमा रहेका साथीहरुलाई पनि म आग्रह गर्न चाहन्छु, यो नयाँ शक्ति भनेको कसैको विरुद्धमा होइन । हिजोसम्म हामी सहयात्रा गरेर एक ठाउँमा थियौं, तर अब अगाडि जानुछ । एउटा खुट्किलो त हामीले पार गर्‍यौं, गणतन्त्रसम्म त हामी त्यो भर्‍याङमा, हिजोको माओवादी भर्‍याङमा चढेर गणतन्त्रसम्म त पुग्यौं अब समृद्धिको नयाँ तलोको निम्ति हामीलाई अर्को नयाँ भर्‍याङ चाहिएको छ । त्यो तलोमा टेकेर फेरि समाजवादको अर्को तलोमा जान बाँकी छ । त्यसैले तपाईं हाम्रो अहिले केही समय बाटो फाटे पनि हामीले कुनै पनि कटुता नराखौं र फेरि एक ठाउँमा जम्मा भएर फेरि एउटा नयाँ यात्रामा सहभागी बनौं । ती विभिन्न खालका माओवादी घटकमा लागेका साथीहरुलाई पनि म विशेष आग्रह गर्न चाहन्छु । तपाईंहरुले हाम्रो अभियानको क्रममा धेरै भन्दा धेरै, हिजो माओवादी आन्दोलनमा लागेका विभिन्न समूहमा छरिएका, हामीबारे भ्रम बोकेका साथीहरुसँग पनि सहकार्य गरेर, बहस र छलफल गरेर तिनीहरुलाई पनि यो आन्दोलनमा समेट्ने प्रयत्न साथीहरुले गर्नुहुनेछ ।

नेपालको र समाजको वर्गीय बनोट तिब्र रुपले बदलिएको छ । हाम्रो समाज पूँजीपति र श्रमिक वर्गमा मात्रै बाँडिएको छैन । युरोपमा जसरी माक्र्सले परिकल्पना गर्दा सर्वहारा र पूँजीपति वर्गको कल्पना गर्नुभएको थियो त्यस्तो छैन हाम्रो समाज । अत्यन्त विविधतापूर्ण, वर्ग पनि अत्यन्त धेरै वर्गमा बाँडिएको हाम्रो समाज छ । त्यसमध्येमा पनि जो किसान र मजदुरको आधारभूत वर्ग हो र माथिको अत्यन्त सानो वर्ग पूँजीपति वर्ग हो र यीनको बीचमा स्वरोजगार वर्ग, आफ्नै श्रम गर्ने, आफ्नै साधनको प्रयोग गर्ने, आफ्नै ज्ञान र सीपको प्रयोग गर्ने त्यस्तो एउटा बीचको मध्यमवर्गीय तप्का ठूलो संख्यामा आइराखेको छ । त्यो मध्यवर्ती तप्का नै एउटा घ्याम्पाको आधारमा, माथि पूँजीपति वर्ग, धनी वर्ग पनि थोरै छ, तल श्रमिक वर्ग, मजदुर वर्ग पनि थोरै छ, बीचमा चाहिँ स्वरोजगार, आफ्नो व्यवसाय आफैं सञ्चालन गर्ने वर्ग, किसान र व्यवसायीहरुको मध्यम वर्ग सबभन्दा ठूलो छ । त्यसैले नयाँ शक्तिले त्यो मध्यम वर्ग, जुन घ्याम्पोको बीचको फुकेको आकार जस्तो हो त्यसलाई समेट्न नयाँ शक्तिले विशेष ध्यान दिनुपर्छ । त्यसैले हामीले अभियान चलाउँदा त्यो मध्यवर्ती तप्को निम्ति पनि यो नयाँ शक्ति हो भनेर उहाँहरुसँग बहस र छलफल गर्ने र उहाँहरुको हित रक्षा नयाँ शक्तिले मात्रै गर्न सक्छ भनेर विश्वस्त तुल्याउनुपर्छ । यही आशा र विश्वास गर्दै अहिले म तपाईंहरुबाट विदा हुन चाहन्छु ।

धन्यवाद ।

२०७२ मंसिर ७ ।