नयाँ शक्ति नेपालका सबै तहमा क्रियाशील अभियन्ताहरुकालागि आचारसंहिता

२३ माघ २०७२

म नयाँ शक्ति,नेपालको अभियन्ता हुँ । म नेपाली राजनीतिमा परिवर्तन चाहन्छु.। यसकालागि म आफैंबाट परिवर्तनको सुरुवात गर्दछु ।  त्यसैले म निम्न आचारसंहिता पालना गर्न प्रतिवद्ध छु :

१.     नेपालमा भएका ऐतिहासिक राजनीतिक उपलव्धीहरुको म हृदयदेखि नै सम्मान गर्दछु ।
२.    यसकालागि महान शहीदहरुको योगदानको स्मरण गर्दै उहाँहरुको जीवन उत्सर्गको मूल्य र मान्यताबाट सदैव प्रेरित भइरहने छु । म शहीदको सपना पूरा गर्न प्रतिवद्ध छु ।
३.    म हरेक मान्छेको सार्वभौमिक स्वतन्त्रतालाई सम्मान गर्दछु । म मानवअधिकारको विश्वव्यापी मान्यताबाट निर्देशित भई नयाँशक्तिको राजनीतिक अभियानमा संलग्न हुनेछु ।
४.    म राजनीतिलाई अस्वस्थ विरोध, गालीगलौज र ध्वंसबाट नभई सकारात्मक पहल, आपसी सम्मान र प्रतिस्पर्धाबाट सु–सज्जित गर्न चाहन्छु । मेरो राजनीतिक संलग्नता उच्च नैतिक आचरण र राजनीतिक निष्ठाबाट परिलक्षित हुनेछ ।
५.    म सामाजिक न्याय, सकारात्मक विभेद र समानुपातिक समावेशी सिद्धान्तमा बिश्वास गर्दै अगाडि बढ्न तयार छु ।
६.    म शान्तिपूर्ण अभियान, सुशासन, पारदर्शिता, जवाफदेहिता र विधिको शासनप्रति प्रतिवद्ध छु ।
७.    म नेपाली समाजको विविधताहरु हाम्रा अमूल्य निधि र सम्पन्नताका आधार हुन भन्ने कुरालाई स्वीकार गर्दै विविधतामा एकता, सामाजिक सद्भाव र भाईचारा बृद्धिकालागि क्रियाशील हुनेछु ।
८. म सबै भाषा, धर्म, सम्प्रदाय र संस्कृतिको सम्मान गर्दछु । फरक जाति, धर्म, लिङ्ग, वर्ण, विचार, संस्कृति र रंगका आधारमा म कसैप्रति भेदभाव गर्नेछैन ।
९.    म सदैव सकारात्मक सोचबाट काम गर्नेछु । म हमेशा समयको पालना गर्नेछु ।
१०. म आफ्नो जीवनशैली सरल, शिष्टतापूर्ण र विनयशील बनाउनेछु । म व्यक्तिगत जीवन, राजनीतिक अभियान तथा संगठनका गतिविधिहरु धेरै खर्चिला र तडकभडकपूर्ण बनाउनेछैन ।
११.    म परिवर्तनको सुरुवात आफैंबाट गर्न चाहन्छु । म नयाँ भए अरु नयाँ हुन्छन् र नयाँ शक्ति बन्छ भन्ने कुरामा म विश्वस्त छु ।
१२.    म श्रमको सम्मान गर्दछु । विना श्रमको कमाई खानु हुँदैन भन्ने मान्यता राख्दछु । आफू कुनै न कुनै श्रममा नियमित सहभागी हुनेछु ।
१३. मेरो लागि राजनीति पेशा नभई सेवा हुनेछ । म जीविकोपार्जनको लागि छुट्टै पेशा, व्यवसाय वा आयआर्जनको व्यवस्था गर्नेछु । म व्यक्तिगत स्वार्थ बाझिने गतिविधि गर्नेछैन ।
१४.    म सबैका आर्थिक, सामाजिक तथा राजनीतिक अधिकारहरुको सम्मान र दण्डहीनताको अन्त्यकालागि प्रतिवद्ध र सक्रिय रहनेछु ।
१५.    म महिला हिंसा, बालश्रमशोषण, जातीय छुवाछुत, आर्थिक शोषण, बालविवाह, दाईजो, वहुविवाह, भ्रष्टाचार, स्थानीय स्रोत साधनको दुरुपयोग, करछली, सरकारी सम्पत्तिको अपचलन कहिल्यै गर्नेछैन । यस्ता बिषयमा शून्यसहनशीलता अपनाउनेछु ।
१६.    म जे बोल्छु त्यसलाई पूरा गर्न क्रियाशील हुनेछु ।
१७.    म जबर्जस्ती चन्दा संकलन गर्नेछैन । आममानिसको सद्भावस्वरुप प्राप्त स्रोतसाधनलाई व्यक्तिगत प्रयोजनमा खर्च गर्नेछैन ।
१८.    म आफ्ना सम्पूर्ण आर्थिक, राजनीतिक तथा सामाजिक गतिविधिहरु जनमुखी, पारदर्शी र उत्तरदायी बनाउनेछु ।
२०.    म सामूहिक नेतृत्व र व्यक्तिगत जिम्मेवारीबाट निर्देशित हुनेछु । कहिल्यै पनि गुटगत गतिविधिमा लाग्नेछैन । पार्टी निर्णयहरु पूरा गर्न प्रतिवद्ध हुनेछु । आफ्ना विचारहरु निर्धक्कसाथ राख्नेछु ।
२१.    म पराजयमा आत्तिने र विजयमा उत्ताउलो हुनेछैन । सबै अवस्थामा जनतासँग एकाकार हुनेछु ।
२२.    म आफ्नो जीवनलाई जनताको निरन्तर निगरानीमा राख्न तयार छु । म सुन्न, सिक्न र नयाँ विचारहरु प्रयोग गर्न सदैव जागरुक हुनेछु ।
२३.    म पर्यावरणमा प्रतिकूल असर पर्ने कुनै पनि नीतिगत तथा व्यवहारिक गतिविधि गर्नेछैन ।
२४.    म हाम्रो आफ्नै स्रोत र उर्जावान श्रमशक्तिमार्फत राष्ट्रिय समृद्धि सम्भव छ भन्ने कुरामा विश्वास गर्दछु । यसमा म गौरव गर्छु र क्रियाशील हुनेछु ।
२५.    म आफ्नो राष्ट्रिय गौरव, स्वाभिमान, एकता र पहिचानलाई सदैव उँचो बनाउनेछु । म छिमेकी मुलुकहरुप्रति पञ्चशीलका आधारमा सर्वस्वीकार्य मूल्य, मान्यता र सिद्धान्तसहित मित्रवत रहनेछु ।
२६. म अन्तरपार्टी लोकतन्त्र, पार्टीभित्र सदस्यको सर्वोच्चता र स्वतन्त्रतालाई कहिल्यै अवमूल्यन गर्नेछैन ।
२७. म नयाँ शक्ति, नेपाल मार्फत स्वाधीन, समावेशी, सदाचारपूर्ण, समृद्ध र सुशासित नेपाल बनाउन सदैव प्रतिवद्ध छु ।
२८. म फरक विचार सुन्न तयार रहनेछु । आफ्ना विचारहरु शिष्टतापूर्वक राख्नेछु ।
२९. म आफू बदलिन, सिक्न र अगाडि बढ्न तयार रहनेछु ।
३०. म समूहमा संलग्न हुन, सामूहिक भावनाको सम्मान गर्न र नयाँ शक्ति निर्माण अभियानमा सामूहिक लक्ष्यकालागि क्रियाशील हुन प्रतिवद्ध रहनेछु ।

२०७२ माघ २३

– अन्तरिम केन्द्रीय परिषद्
नयाँ शक्ति नेपाल

डाउनलोड