‘नयाँ शक्ति’को संस्थापक बनौं ! वैकल्पिक राजनीतिको अभियन्ता बनौं !!

५ बैशाख २०७३

‘नयाँ शक्ति’को संस्थापक बनौं !
वैकल्पिक राजनीतिको अभियन्ता बनौं !!

आदरणीय जनसमुदाय !

सबै पूर्वाग्रहबाट मुक्त भएर एकपटक सोचौं त, अहिलेका राजनीतिक पार्टीबाट मुलुकको परिवर्तन सम्भव छ ? अहिले हालीमुहाली गरेको राजनीतिक नेतृत्वसँग मुलुकको आर्थिक कायापलट गर्ने इच्छाशक्ति, नियत र सामथ्र्य छ ? यी दल र नेतासँग मुलुकका अहिलेका चुनौतिको सामना गर्न र सम्भावनाहरु हासिल गर्न वैचारिक, कार्यक्रमिक र नैतिक पूँजी छ ? यदि छैन भने हामी यिनै दल र नेताकै पछि लागिरहेर आफ्नो, भावी पुस्ताको र देशको भविष्यमाथि खेलवाडको साक्षी बन्ने कि विकल्प खोज्ने ?

हामी आफ्नै जीवनकालमा विकसित, सुशासित र समृद्ध नेपाल निर्माण गरिछाड्ने छौं भन्ने संकल्प सहित देशमा अहिले एउटा नयाँ दलको उदय भइरहेको छ । त्यो हो – नयाँ शक्ति नेपाल । अहिलेसम्म विधिवत् स्थापना भइनसकेको ‘नयाँ शक्ति’को संकल्प छ, यो केवल वैकल्पिक राजनीतिक दल हुनेछैन, बरु वैकल्पिक राजनीति हुनेछ । यो पार्टी कुनै बन्द कोठामा होइन, लाखौं नेपालीको सामूहिक संकल्प र प्रतिवद्धता लिएर जनताकै बीचबाट जन्मनेछ ।

बन्द कोठामा दुईचार मान्छेहरु बसेर दल घोषणा र दर्ता गर्ने, तिनै मान्छेहरु ‘संस्थापक’ हुने प्रचलन र पद्धतिविरुद्ध ‘नयाँ शक्ति’ले दल निर्माण प्रक्रियालाई बृहत्तर, व्यापक जनसहभागितामूलक बनाउने प्रयासस्वरुप २०७३ साल जेष्ठ ३०, ३१ र ३२ गते काठमाडौंमा ‘पार्टी स्थापना राष्ट्रिय भेला’ आयोजना गरेको छ । यो भेलाभन्दा अगाडि दलको सदस्यता स्वीकार गर्ने हरेक अभियन्ता यसका संस्थापक हुनेछन् । यस उद्देश्यका लागि ‘आधार निर्माण योजना’ अन्तर्गत २०७३ बैशाख १ गतेदेखि जेष्ठ १ गतेसम्म नयाँ शक्तिका अभियन्ताहरु देशका हरेक गाउँ, नगर, टोलबस्ती र घरदैलोमा पुग्दैछन् । यस प्रक्रियामा सामेल हुन सकेसम्म प्रत्यक्ष सम्पर्क, छलफल, अन्तरक्रियामा सहभागी भइदिन नत्र फोन, इमेल, फेसबुक, ट्वीटरजस्ता सामाजिक सञ्जालबाट समेत सम्पर्कमा रहेर नयाँ शक्ति नेपालको अभियन्ता बनी दल स्थापना प्रक्रियामा आफ्नो सहभागिता, स्वामित्व र योगदान स्थापित गर्न हार्दिक आह्वान गर्दछौं ।

कस्तो नयाँ ? किन नयाँ ?

नयाँ शक्ति नेपाल कुनै पुरानो पार्टी फुटेर बनेको समूह वा कुनै पुरानो विरासतको निरन्तरता हैन । यो कुनै भूतमुखी, विगतमुखी होइन, भविष्यमुखी, आगतमुखी दल हुनेछ । पुराना दलहरुको एकीकरण होइन, बृहत्तर राजनीतिक ध्रुवीकरणबाट नयाँ पार्टी बन्नेछ । हिजो जुनसुकै दलमा लागेका वा नलागेका, स्वतन्त्र, पेशागत, तथा नयाँ पुस्ताका सबै यसमा सामेल हुनसक्छौं । देश र जनताप्रतिको प्रतिबद्धता, खराब काम नगरेको र नगर्ने आधारभूत इमान्दारिता नयाँ शक्ति नेपालमा सामेल हुनका लागि पर्याप्त छ । यो बिल्कुलै नयाँ, शून्यतह वा ग्रासरुटबाट शुरुवात भएको ‘फ्रेस’ राजनीतिक अभियान हुनेछ ।

नयाँ शक्ति नेपाल कसरी ‘नयाँ’ र ‘बैकल्पिक’ पार्टी निर्माणको अभियान हो भन्ने प्रश्न पक्कै उठ्छ । संसारमा जे छ, सृष्टिमा भएकै चीज छ । भौतिक जगतमा नयाँ भन्नाले पदार्थहरुको रुपान्तरण भन्ने बुझिन्छ । त्यसैगरी चेतना जगतमा नयाँ भन्नाले प्रवृत्तिहरुको रुपान्तरण भन्ने बुझिन्छ । हामी आज जे जस्ता राजनीतिक विकल्पमा छौं, प्रवृत्तिहरु भोग्न बाध्य छौं । सबै मिलेर अझ राम्रो गर्न सक्छौं । त्यही अझ बढी राम्रो, अझ उत्कृष्ट गर्न चाहने प्रयास नै नयाँ हो ।

सिद्धान्त, सोंच/धारणा, नीति, योजना तथा कार्यक्रम, शासन–प्रशासनको ढाँचा र संरचना, पार्टी संगठन, संरचना र अन्तरपार्टी लोकतन्त्रको अभ्यास, कार्यशैली, कार्यसंस्कृति र जीवनपद्धतिका क्षेत्रमा आज जेजस्तो अभ्यास भइरहेको छ, त्यसलाई हामी ‘मूलधार’, ‘संस्थापन’, ‘स्थापित मूल्यमान्यता’ वा ‘प्रचलित संस्कृति’ भन्छौं । त्योभन्दा अझ राम्रो गर्न खोज्ने, चाहना, प्रयास र प्रतिबद्धता चाहिँ वैकल्पिक राजनीति हो । वैकल्पिक राजनीति संसारभरि नै एक सकारात्मक सोंच अभियान हो । यो आन्दोलनले पुरानाहरुले सबै नराम्रो मात्र गरे भन्दैन । पुरानाहरुको विरोध, निन्दा र भत्र्सना मात्र पनि गर्दैन । तर भइरहेको भन्दा ‘फरक’ र ‘अझ राम्रो’ गर्न सकिन्छ भन्ने विश्वास गर्दछ ।

हरेक राजनीतिक दल इतिहासका केही भूमिका पूरा गरेपछि असान्दर्भिक हुन्छन् । प्रजापरिषदले राणाशाहीविरुद्ध जनजागरणको युग प्रारम्भ गर्‍यो र त्यही जगमा बनेको नेपाली कांग्रेसले सशस्त्र संघर्ष मार्फत राणाशाहीलाई ढाल्यो । ०४६ मा नेपाली कांग्रेस एक्लैले निरंकुश पञ्चायती व्यवस्था ढाल्न नसकेको वेला कांग्रेस र कम्युनिस्ट मिलेर समाजमा नयाँ प्रकारको जागरण मार्फत् ‘नयाँ शक्ति’ निर्माण गरे । फलत: २०४६ सालको जनआन्दोलनमा पञ्चायत ढल्ने आधार तयार भयो । अर्को युगीन कार्यभार पूरा भयो । त्यसपछि माओवादी आन्दोलन र जनयुद्धको अवधि आयो । त्यसले गणतन्त्रको अर्को युगीन दायित्व पूरा गर्‍यो । कांग्रेस–एमाले सोंचका सीमाबाट, २०४७ सालको संविधानको अभ्यास र निरन्तरताबाट नेपालमा गणतन्त्र सम्भव थिएन । त्यसपछि ‘नयाँ शक्ति’का रुपमा मधेशवादी, जनजातिवादी दल र आन्दोलनहरु आए । मधेश आन्दोलनविना संघीयता, समावेशिता र समानुपातिकताको सिद्धान्त स्वीकार्य हुन सजिलो थिएन ।

इतिहासको यो शिक्षाले हामीलाई के बताउँछ भने पुरानै दलहरुले नयाँ एजेण्डा र कार्यभारलाई न्याय गर्न सक्दैनन् । त्यसकालागि नयाँ दल चाहिन्छ । नयाँ जोस, जाँगर, नयाँ पुस्ताको सहभागिता र नयाँ स्पिरिट चाहिन्छ । यही नयाँ युगीन आवश्यकता पूरा गर्न नयाँ शक्ति नेपाल चाहिएको हो ।

के–के हुन् नयाँ एजेण्डा ?

नेपालको संविधान, २०७२ मा लोकतन्त्र, गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, सामाजिक न्याय, समावेशिता र समाजवादउन्मुख राजनीतिक सिद्धान्त स्थापित भएका छन् । यो ठूलो उपलब्धि हो । नयाँ संविधानले सिद्धान्तत: ठीकै राजनीतिक सिद्धान्त स्थापित गरेको छ तर व्यावहारिक राजनीति अझै समस्याग्रस्त छ । शासकीय स्वरुप परिवर्तन भएको छैन । मधेशी, जनजाति, महिला, दलित, मुस्लिम लगायत सीमान्तकृत समुदायका कतिपय विषयमा असन्तुष्टीहरु कायमै छन् । पहिचानको मुद्दा वा संघीयताको खाकामा आमसहमति बन्न सकेन । समावेशिताका मापदण्डहरु सरलीकृत, प्रष्ट र समानुपातिक भएनन् । विकास र सुशासनमैत्री प्रशासनिक पुन:संरचनाको परिकल्पना गरिएन । नैतिक मूल्य र सदाचार आधारित राजनीतिक संस्कृतिको विकासतिर कसैको ध्यान गएन । सार्वभौम नागरिकभन्दा ‘पावर ब्रोकर’हरु शक्तिशाली हुँदै गए । डनगिरी, माफिया र गिरोहतन्त्र लोकतन्त्रको पवित्रतामाथि हावी भइरहे । कमजोर अर्थतन्त्र, बेरोजगारीको व्यापक समस्या, उत्पादनशील श्रमशक्तिको ठूलो संख्यामा पलायनजस्ता समस्याको हल खोज्न सकिएन । भ्रष्टाचार र अपारदर्शिता लोकतन्त्रका अन्तरनिहित गुणझैं राजनीतिक प्रणालीमा टाँसिएर रहिरहने भए । भूमण्डलीकरण र भूराजनीतिक जटिलतालाई राष्ट्रहित अनुरुप हल गर्ने कुटनीतिक क्षमता र तत्परता शासक वर्गमा देखिएन ।

यिनै अन्तरविरोधलाई हल गर्न सक्ने नयाँ अभियानलाई संगठित गर्नु नै हाम्रो नयाँ जिम्मेवारी र दायित्व हो । पुराना दलहरुबाट यो काम फेरि पनि सम्भव छैन । सत्ता हातमा आएपछि सबै ठीक भएको देख्ने, यथास्थितिवादलाई अंगालो मार्ने रोग पुराना दलहरुमा देखापरिसकेको छ । हिजो २०४७ सालको संविधानलाई नै संसारको उत्कृष्ट भन्नेहरु फेरि नयाँ संविधानलाई संसारकै उत्कृष्ट भन्दै नयाँ रुपान्तरण र परिवर्तनको आन्दोलनलाई दमन गर्न उद्यत भइसकेका छन् ।

समकालीन अन्तरविरोध र पाँच ‘स’ को प्रस्ताव:

नयाँ शक्ति नेपालले यी समस्यालाई मुख्य पाँच अन्तरविरोधका रुपमा चित्रण गरेको छ र यिनलाई हल गर्ने उपायलाई पाँच ‘स’ भनेको छ ।

अहिलेको पहिलो अन्तरविरोध पिछडिएको आर्थिक स्थिति र विकसित राजनीतिबीच छ । हामीकहाँ राजनीतिक क्रान्ति र परिवर्तनले त निरन्तरता पायो तर देशको आर्थिक अवस्था झनझन खराब हुँदै गएको छ । विगत पच्चिस वर्षदेखि औसत आर्थिक बृद्धिदर पाँच प्रतिशतभन्दा कम छ । पूर्वाधारहरु कमजोर छन । देशभित्रै रोजगारीको वातावरण र अवसर छैन । कूल उपभोगको करिब ८३ प्रतिशत हामी अरु देशबाट आयात गर्दछौं ।

तर हाम्रो नयाँ संविधानले सामाजिक न्यायमा आधारित कैयौं संरक्षणमुखी तथा प्रगतिशील मान्यताहरुलाई मौलिक हकका रुपमा नै स्वीकार गरेको छ । उदाहरणका लागि हामीले संविधानमा नै दुई वर्षभित्र बेरोजगार भत्ता दिने कुरा गरेका छौं । तर देशको आर्थिक विकास हुन सकेन, राज्यको आयस्रोत बलियो भएन भने यी प्रावधानहरु प्रभावकारी रुपमा कार्यान्वयन हुन सक्ने छैनन् । फलत: आर्थिक अल्पविकासको समस्याले राजनीतिक प्रणालीलाई नै धान्न नसक्ने र लोकतन्त्र जोखिममा पर्ने समस्या आउन सक्छ । यो समस्या हल गर्न अब सबै राजनीतिक दल, शक्तिले विकास र आर्थिक समृद्धिको बाटो तय गर्नु पर्ने हुन्छ । पाँच ‘स’ भित्रको पहिलो ‘स’ समृद्धि हो । समृद्धि एक नयाँ एजेण्डा र युगीन दायित्व हो ।

दोस्रो अन्तरविरोध औपचारिक लोकतन्त्र र वास्तविक लोकतन्त्रबीच छ । दशकौं लामो संघर्षपछि नयाँ संविधानसँगै हामीले लोकतन्त्रलाई स्थापित र संस्थागत गरेका त छौं तर हाम्रो लोकतन्त्रको रुप प्रतिनिधिमूलक, औपचारिक र सीमित प्रकृतिको छ । लोकतन्त्रका नाममा दलतन्त्र, दलतन्त्रका नाममा गुटतन्त्र, गुटतन्त्रका नाममा नेतातन्त्र, नेतातन्त्रका नाममा व्यक्तितन्त्रलाई नै हामीले लोकतन्त्रको अभ्यास बनाएका छौं । नागरिक सार्वभौमसत्तामा आाधरित लोकतन्त्रको ढाँचा र निर्वाचन प्रणाली स्थापित गर्न सकेनौं । समावेशिता सिद्धान्तत: स्वीकार गरिए पनि त्यो समानुपातिक छैन । तसर्थ अर्को युगीन एजेण्डा र कार्यभार ‘समानुपातिक समावेशी/सहभागितामूलक लोकतन्त्र’हो ।

भूराजनीतिक जटीलता, भूमण्डलीकरण र राष्ट्रिय हितबीच अर्को अन्तरविरोध छ । भूमण्डलीकरण भनेको साम्राज्यवाद हो भनेर शाब्दिक निन्दा गर्ने र व्यवहारमा त्यसैद्वारा लपेटिँदै जाने आत्मरतीबाट हामीले राष्ट्रिय हितहरुको रक्षा गर्न सक्ने छैनौं । भूमण्डलीकरणले चुनौति र अवसर, जोखिम र सम्भावना दुबै ल्याएको छ । हामीले भूमण्डलीकरणका जोखिमहरुलाई कम गर्न, चुनौतिलाई सामना गर्न, अवसर र सम्भावनाहरुलाई उपयोग गर्न सक्ने गरी आफूलाई तयार राख्नु पर्ने हुन्छ ।

भूराजनीतिक हिसाबले पनि हामी एक प्रकारको जटिलतामा छौं । हाम्रा दुबै ठूला छिमेकीहरुको हाम्रा लागि उत्तिकै महत्व छ । हामी कुनै एकलाई गाली गरेर अर्काको नजिक जाने, एकका विरुद्ध अर्को कार्ड देखाउने, सत्तास्वार्थका लागि राष्ट्रिय आत्मसमर्पणको नीति अपनाउने जस्ता गल्ती गरेर अगाडि बढ्न सक्दैनौं । तसर्थ तेस्रो एजेण्डा र कार्यभार स्वाधिनता र प्रगतिशील राष्ट्रवादको पक्षपोषण हो ।

सभ्य/सुशासित राज्यको अपेक्षा र भ्रष्ट राज्ययन्त्र/संस्कृतिबीच पनि अन्तरविरोध छ । नेपाली नागरिक सभ्य, सुशासित राज्ययन्त्र र संस्कृति चाहन्छन । तर हाम्रो राज्ययन्त्र भने यसको ठीक विपरित छ । भ्रष्टाचार, ढिलासुस्ती, कुशासनजस्ता मनोवृत्तिहरु हाम्रो राज्ययन्त्रका अन्तरनिहित गुणझैं बनेका छन् । जालझेल, देखावटी बढप्पन, अपारदर्शीता, राज्यस्रोतको नीतिगत तथा अनैतिक दोहन आम समस्या हुँदै गएका छन् । राज्य प्रणाली मात्र हैन, सम्पूर्ण समाजमा भ्रष्टता नै संस्कृति बन्दै जाने जोखिम बढेको छ । तसर्थ चौथो एजेण्डा र कार्यभार सुशासन तथा सदाचारको प्रवद्र्धन हो ।

नेपालमा वैचारिक जडता र बदलिएको राजनीतिक चेतनाबीच पनि अन्तरविरोध छ । हरेक युगका दार्शनिक तथा वैचारिक चिन्तनपद्धतिका निश्चित सीमा हुन्छन । तिनीहरुले आ–आफ्नो युगका समस्यालाई चित्रण गर्न र समाधान गर्न प्रयत्न गर्छन । एकपटक निर्माण वा स्थापित गरेका दार्शनिक तथा वैचारिक प्रस्तावना युगौंयुगका लागि हुँदैन । त्यसभित्रका सार्वभौम तथा सर्वकालिक सत्यलाई समाउने, बाँकी विषयलाई निरन्तर परिमार्जन र सुधार गर्ने तरिकाबाट मात्र अगाडि बढ्न सकिन्छ । तर नेपाली राजनीतिमा आज पनि अठारौं, उन्नाइसौं र बीसौं शताब्दीका अनेकन शास्त्रीय बहसलाई राजनीतिक चेतनाको मानक बनाएर एकअर्काप्रति पूर्वाग्रह राख्ने, अनावश्यक निन्दा र गालीगलौज गर्ने वैचारिक जडता बाँकी नै छ । एक्काइशौं शताब्दीमा आइपुग्दा हामीले समाजवादका व्याख्या र मानकहरु फेर्न सक्नुपर्छ । हिजोको केन्द्रिकृत, अधिनायकत्वमा आधारित समाजलाई नै अबको समाजवादको आदर्श र मानक बनाउन सकिन्न । समाजवादका आदर्शलाई नयाँ युगका यथार्थ र नेपाली समाजको मौलिकतामा पुन:परिभाषित गर्ने प्रयास हुनैपर्छ । अबको युगमा गरिबी बाँड्ने समाजवाद, निरंकुशता बाँड्ने समाजवाद, केन्द्रीकरण बाँड्ने समाजवाद कसैलाई चाहिएको छैन । समाजको वैकल्पिक आदर्श र वैकल्पिक समाजवादको चिन्तन भनेकै सम्भवत: ‘समुन्नत समाजवाद’ हो ।

अन्त्यमा,

निश्चय नै नयाँ शक्ति तिनलाई चाहिएको छैन जसले अहिलेको भ्रष्ट, भद्रगोल र गैरजिम्मेवार राजनीतिबाट फाइदा उठाइरहेका छन् । नयाँ शक्ति तिनलाई चाहिएको छ जो राजनीतिलाई पेशा वा व्यवसाय होइन समाज परिवर्तनको माध्यम बनाउन चाहन्छन्, जो नेपाली समाजमा तीब्र आर्थिक प्रगति चाहन्छन्, जो सुशासन चाहन्छन् । नयाँ शक्तिले सपना बेच्नेछैन, तथ्यांकमा आधारित हुनेछ । यसले पेशेवर कार्यकर्ता जन्माएर देशको बोझ बढाउने छैन, स्वयंसेवकहरुको विशाल संगठन खडा गर्नेछ । यसले एउटै राजनीति गर्नेछ, त्यो हो यो देशको राजनीति बदल्ने राजनीति ।

विकास, सुशासन, समृद्धि, समन्याय, समानुपातिक, समावेशी र सहभागितामूलक लोकतन्त्र, स्वाधिनता, समुन्नत समाजवादको नयाँ कार्यभार पूरा गर्ने लेफ्ट–डेमोक्र्याटिक दलको आवश्यकतालाई परिपूर्ति गर्नु नै नयाँ शक्ति नेपालको मुख्य ऐतिहासिक दायित्व हो । अहिले युगले हामीलाई सुम्पिएका अभिभारा पनि यिनै हुन् ।

हाम्रो सविनय आग्रह छ, एकताबद्ध हौं, युगका नयाँ अभिभाराहरु पूरा गरौं । नेपाललाई आफ्नै जीवनकालमा विकसित, सुशासित र समृद्ध मुलुक बनाउँ । नयाँ शक्तिको संस्थापक सदस्य बनौं र वैकल्पिक राजनीतिको अभियन्ता बनौं । यो देश हामीले नै बदल्ने हो । नव वर्ष – २०७३ को हार्दिक मंगलमय शुभकामना सहित,

धन्यवाद ।

२०७३ बैशाख १


नयाँ शक्ति नेपाल,
बबरमहल, काठमाडौं
फोन: ०१–४२३८२९४, ०१–४२३८२७३
वेवसाइट: www.nayashaktinepal.org
फेसबुक: www.facebook.com/NayaShaktiNepal.Org
ट्वीटर: www.twitter.com/NayaShaktiNEP

डाउनलोड