म राजनीतिमा किन लागेँ ?

- २१ जेठ २०७३

- करिश्मा मानन्धर

नयाँ शक्ति नेपालमा आबद्ध भएको ५ महिना भयो । यो अवधिमा धेरै कुरा सिक्ने र देख्ने मौका मिल्यो । देशमा हुने हरेक राजनीतिक परिवर्तन र गतिविधिलाई टाढाबाट मूल्याङ्कन गर्दा र सहभागी हुँदाका फरक धेरै रहेछन् ।

राजनीतिक रुपमा सबै नागरिक सचेत हुनु जरुरी छ । त्यसको पहिलो फाईदा, प्रतिनिधि छनोटमा हुन्छ । कस्तो प्रतिनिधिले समाज र देशको विकासमा योगदान दिन सक्छ भन्ने सहि निर्णय लिन मद्दत पुग्छ । त्यसको लागि पार्टीमा लाग्नैपर्छ भन्ने छैन । त्यो व्यक्तिको स्वतन्त्रताको कुरा हो ।

म अमेरिकामा बस्दा राजनीतिले गर्दा हुनसक्ने परिवर्तन के के हुन ? हाम्रो देशमा के भएको छैन ? किन हुँदैन भन्ने चाँसो बढ्दै गयो । अनि अमेरिका र नेपालको राजनीतिलाई तुलना गर्न सुरु गरेँ । नेपालका राजनीतिक पार्टीका गतिविधि जनताप्रति उत्तरदायी भएको देखिएन । यहाँ कसैप्रति पूर्वाग्रही भएर भन्न खोजेको पटकै होइन ।

अहिले अस्तित्वमा रहेका राजनीति पार्टीप्रति जनता  सन्तुष्ट छैनन् । यस्तो किन भयो ? यसमा दलहरूको पटक्कै चासो देखिँदैन ।

राजनीतिबाट जनसेवा भन्दा पनि आफ्नो पद कसरी सुरक्षित हुन्छ भन्ने प्रवृत्ति हावी छ । खासगरी त्यस्ता अवसर चुनाबको बेला बढी बाड्ने गरेको पाइन्छ । जुन बिल्कुलै गलत हो  ।

म राजनीतिलाई धेरै बुझेको मान्छे होइन । राजनीति भित्र हुने चलखेलका बारेमा मलाई थाहा पनि छैन । तर, कलाकारको नजरले समाज बुझेको छु । राजनीति बुझ्दैछु ।

नयाँ शक्तिमा आवद्ध हुनुभन्दा अगाडि धेरै पार्टीहरूले मलाई राजनीतिमा लाग्न आग्रह गरेका थिए । उहाँहरूको सिद्धान्त/विचार र काम गराइमा मेरो कत्ति पनि विचार मिलने, जसको कारण प्रस्ताव स्वीकार गरिन् ।

यदि नयाँ शक्ति नबनेको भए म राजनीतिमा पाइला टेक्दैनथेँ होला । मैले जीवनमा राजनीति गर्छु भनेर सोचेको पनि थिइनँ । राजनीतिको मेरो गुरु आमा हो । उहाँ राजनीतिक चेतना भएको सचेत महिला हो । जसको कारण मलाई राजनीतिक बुझ्न सहयोग पुग्यो ।

पहिलादेखि आमाले दिनभरको राजनीतिक गतिविधिलाई बिस्तारमा सुनाउने र आफ्नो धारणा राख्ने गर्नुहुन्थ्यो । राजनीतिमा सक्रिय नभएपनि चाँसो पहिलेदेखि नै थियो ।

कुनैपनि चिजको अगाडि लाग्नुको कारण हुन्छ । त्यो कुरा म मान्छु । म माओवादी पार्टीमा आस्था राख्ने मान्छे होइन । तर, डा. बाबुराम भट्टराईको विचारधारा र कामले मलाई राजनीतिमा ल्यायो ।

डा.भट्टराईले राजधानीको बाटो ठूलो बनाउँदा लाजिमपाटमा मेरो पनि जग्गा गएको छ । तर, म खुशी । किनकी मेरो नयाँ पुस्ताको लागि त्यो विकासको ढोका हो ।

नीति निर्माण गरेर मात्र हुँदैन, कामको परिणाम निकाल्न सक्नुपर्छ । डा.भट्टराईको कारण २०७२ साल बैशाख १२/१३ र २९ गते गएको भूइँचालोबाट धेरै मानिसको ज्यान जोगिएको छ । यो कुरा कसैबाट लुक्नु हुँदैन । भट्टराईको विचार र कामप्रति हाम्रो परिवार निकै सकारात्मक छ ।

उहाँले नयाँ शक्तिका बारेमा विभिन्न क्षेत्रका व्यक्तित्वहरुसँग छलफल गर्नुभयो । कलाकारसँग पनि उहाँले यसको अवधारणा बारे अन्तरक्रिया गर्नुभयो । अन्तरक्रियामा केहीले आक्रोस पोख्ने र केहीले दिएको सुझाबलाई डा.भट्टराईले शान्तपूर्वक सुनेको र मनन गरेको पाएँ ।

उहाँले आफ्नो पालामा गर्न नसकेका कुराहरु के के हुन ? र गरेका राम्रा कुरा के के हुन भन्ने विषयमा पटक–पटक बहस अन्तर्क्रिया भएका थिए ।

त्यो बेला उहाँले नयाँ शक्ति निर्माणका बारेमा आफ्ना विचार र योजना राख्नुभयो । डा.भट्टराईले चालेको विकासको पाइलामा मैले सहयोग गर्दा हुन्छ भने, किन नगर्ने ?

राजनीतिक दल भनेको एक जनाले निर्माण हुने होइन । यहाँ विभिन्न मानिसको सहभागिता चाहिन्छ । साथ चाहिन्छ । डा. भट्टराईले ल्याएको देश विकासको नीतिलाई अगाडि ल्याउन साथ दिनुपर्छ भन्दै म राजनीतिमा लागेको हुँ ।

नयाँ शक्तिमा आवद्ध हुनुपूर्व मैले तीन दिनसम्म आफैसँग अन्तरक्रिया गरेँ ।

के म कलाकार भएर राजनीति गर्नै नहुने हो त ? राजनीतिमा लाग्दा मेरो हजारौं दर्शक गुमाउने त होइन ? किनकी, राजनीति भनेको फोहोरी खेल हो, भन्ने छाप समाजमा परेको छ ।

सोचेँ, यदि मैले दोस्रो पुस्तालाई राजनीति भनेको फोहोरी खेल भनेर सिकाए भने देश कता जान्छ त ? राजनीतिको खोलभित्रबाट व्याक्तिगत स्वर्थको लागि युवापुस्तालाई गलत पाठ पढाईको छ । मेरो प्रश्नको जवाफ आफैंमा खोजेँ । अनि, भित्री मनले भन्यो ‘म जे गर्दैछु ठिक गर्दैछु ।’

भगवानले हरेक मानिसलाई ठीक र बेठीक छुट्याउन सक्ने विवेक दिएका छन् । त्यो आफैंले थाहा पाउन सक्नुपर्छ ।

राजनीति गर्ने वा नगर्ने ? यसबारेमा मेरो अन्तरआत्ममा संघर्ष चलिरहेको थियो । त्यो बेला म कसैसँग भेट्दा पनि भेटिन, कुनै कुरामा छलफल पनि गरिन् ।

मेरो जीवनको पहिलो निर्णय हो, जुन परिवारलाई बताइन । म मेरो विचारलाई डगमगाउन दिन चाहान्थ्येँ । राजनीतिमा लाग्ने निर्णय आफ्न्तलाई सुनाएँ भने विचार डगमगाउन सक्छ भन्ने लाग्यो, कसैलाई जानकारी नै दिइनँ ।

कलाकारिता क्षेत्रमा आफ्नो स्थान बनाएको मान्छे राजनीतिक बाटो कस्तो होला भन्ने आत्मसंघर्षकै बिचमा मेरा तीन दिन एक्लै बिते ।

राजनीतिले श्रोता दर्शकलाई पर्ने प्रभावको बारेमा पनि सोचेँ ? ठीक छ उहाँहरुलाई तत्काल दुःख लाग्न सक्छ ? तर, समयले सबै कुरा बताउँछ । मैले राम्रो गर्दै जाँदा समयले उहाँहरुको अगाडि सबै कुरा स्पष्ट गर्ने छ भन्नेमा बलियो भएँ ।

माघ १० गते भएको कार्यक्रमा पुगेँ । अघिल्लो दिन रातभर निद्रा लागेको थिएन । कार्यक्रमपछिका तीन दिन कसैलाई भेट गरिन् । म नयाँ शक्तिमा लागेको कुरा मिडियाले सकारात्मक र नकारात्मक दुवै ढंगले निकै प्रचारमा ल्याए ।

सञ्चारमाध्यबाट एक्कासी करिश्मा मान्धर नयाँ शक्तिमा भन्ने समाचार सुनेपछि परिवारका सबै जना अचम्मित हुनभयो । टिभीमा समाचार हेरेपछि आमाले फोन गरेर भन्नुभयो ‘ल तिमी लागेछौं, राम्रो गर भन्दै खुशी हुनुभयो । विनोदको (श्रीमान) एउटा मात्र प्रश्न थियो, तिमी बुझेर लागेको हो ? उहाँले मलाई पहिला जसरी साथ दिनुभएको थियो अहिले पनि त्यसैगरी साथ दिनुभएको छ ।

सबै मिडियामा आएका समाचार अध्ययन गरेँ र, मनमा सोचें ‘सत्य कहिल्यै हार्दैन, जस्तो सुकै भएपनि अन्तिम जित सत्यकै हुन्छ’ भन्ने विचारले नकारात्मक सोचका विरुद्ध आफूलाई विजय बनाउन सकेँ ।

मलाई राम्रोसँग थाहा छ , राम्रा पत्रिकाले राम्रै लेख्छन् । अहिले म मा नकारात्मक कुरासँग लड्ने तत्वको विकास भैसकेको छ । म जे छु त्यही हो, कसैलाई केही भन्नुछैन् । पछिबाट कराउनेको अर्थ हुँदैन । अघि म छु, म देश विकासको अभियानमा केही योगदान गरौँ भनेर लागेको हो, अरूको कुराले फरक पार्दैन ।

केही सञ्चारमाध्यमले क्रमश प्रहार गरेँ । दुई तीन दिन निद्रा लागेन । तीन दिनपछि डा.भट्टराईले सोध्नुभयो ‘अरु साथीहरुलाई तनाब झेल्ने बानी परेको छ, तपाई राजनीतिमा नयाँ मान्छे, निदाउनु त भएको छ नि ?’ म माथि चौतर्फी प्रहार भइरहेको थियो । त्यो कुरा बुझेर होला डा.भट्टराईले सोध्नु भएको । मैले भने ‘ठीक छु केही छैन ।’

समाजिक सञ्जालमा मैले राजनीति गरेर ठूलै अपराध गरे जस्तो गरी निकै तल गिरेर केही व्यक्तिहरुले आफ्ना विचार राखे । कतिपय राजनीतिक दलका नेताहरुले आफ्नो वास्तविक औकात देखाएँ ।

कतिपयले मेरो कुनै विचार र दिमाग छैन जस्तो गरि प्रतिक्रिया दिए । हुन पनि हो कुनै पनि कलाकारलाई राजनीतिक पार्टीले निर्णय गर्ने तहमा पुर्‍याएकै छैन । यो पाँच महिनामा नकारात्मक सोच राख्ने मानिसबाट आफूलाई मजवुद बनाउने मौका पाएँ ।

बिषलाई अमृत बनाउने नयाँ शक्तिको उद्घोष हो । रियाक्टिप होइन, प्रोयाक्टिप राजनीति गर्ने हाम्रो उदेश्य हो । त्यसकारण कलाकार विचार नभएका हुन्छन् भन्ने सोच राख्नेलाई भन्नु केही छैन ।

उहाँहरुको जवाफ काम गरेर दिनेछु ।

देशको आर्थिक विकासका लागि जनता र राजनीतिक दलको नीतिलाई जोड्न पुलको काम गर्नुसक्छु । नयाँ शक्तिमा आबद्ध भएपछि म विभिन्न जिल्लामा पुगे र त्यहाँको जनताका समस्यालाई नजिकबाट देखेँ । जनताको आक्रोसित छन । हुनुपनि स्वभाविक हो ।

राजनीतिक परिवर्तनका लागि जनताका छोराछोरीले ठूलो बलिदान गरेका छन् । विभिन्न पार्टीमा लागेका युवाहरूको आक्रोस मैले देखेँ र सुने ।

युवाहरूका मुद्धा हरेक राजनीतिक पार्टीले कुनै न कुनै ढंगले सम्बोधन गर्नुपर्छ । पार्टी भनेको परिवार पनि हो । परिवारको सबै सदस्यलाई क्षमता र योगदान अनुसारको समान अधिकार र समान अवसर हुनुपर्छ ।

फेरि, राजनीति भनेको जागिर पनि होइन, स्वंयसेवा हो ।

अर्को, कुरा देशमा दुईवटा मात्र वर्ग देखेको छु । एउटा गरिव र अर्को धनी । ग्रामिण क्षेत्रमा सबै जातका जनता विभेदमा परेका छन् । २१ औँ शताब्दीमा आईपुग्दासम्म पशुको जस्तो जिवन बिताउन बाध्य छन् । जीवनको मुल्य के हो थाहा छैन ? उनीहरूलाई बिहान साँझको चुलो कसरी बाल्ने भन्ने चिन्ता मात्र छ ।

राजनीति भनेको तल्लो वर्गलाई माथि उठाउने हतियार बनाउनुपर्छ । तर, त्यो भएको जस्तो लागेन । सुकुमबासीको त्यस्तै हालत छ  । उनीहरु सुतेको जीवनमा उनीहरुको अधिकार छैन् ।

आफ्नो देशको जनता भोकै बस्दा, खान र पानी पर्दा ओत लाग्ने ठाउँको व्यवस्था समेत राज्यले गर्नु सकेको छैन ।

यो त, सत्तामा पुगेका राजनीतिक दलको दायित्व हुन्छ । उनीहरुको पक्षमा राज्यले थोरै भएपनि व्यवस्था गरिदिने हो भने धेरै हुने थियो ।

राजनीतिमा आएपछि विभिन्न प्रकारका व्यक्तित्वहरुसँग दिनहुँ जसो भेटघाट हुन्छ । उहाँहरुको कुरा सुन्दा निकै पीडा बोध हुन्छ ।

सिनेमाको ३० वर्षमा मैले धेरै पुरस्कार पाएँ । राज्यले दिने सबै पुरस्कार मैले पाइसकेको छु । विदेशमा बस्ने नेपालीबाट त्यत्तिकै सम्मान पाएको छु ।

तर, जब म जनताको घर आगनमा पुगेँ त्यो बेला लाग्यो मैले काम गर्न अझै बाँकी छ । जुन म गर्न सक्छु । सिनेमाबाट  जनताका धेरै कुरा बोल्न र देखाउन बाँकी भेटेँ ।

पेट भर्नकै लागि कैयौँ परिवार भारत र अन्य खाडी मुलुक पस्नु पर्ने ? यस्तो बाध्यता ?

यस्तो अवस्थाको अन्त्य गर्न देशमा आर्थिक विकास चाहिन्छ । जुन कुरा नयाँ शक्तिले पाँच ‘स’ को रुपमा लिएको छ । हरेक बिद्धानको डायरीमा लेखिएको हुन्छ ‘गर्न नसक्ने कुरा केही हुँदैन ।’ यो सत्य हो  ।

हाम्रो जस्तो भौगोलिकता भएका धेरै देश छन् जसको विकास लोभ लाग्दो गरी अगाडि बढेको छ । नेपालले पर्यटनको क्षेत्रमा निकै राम्रो गर्नसक्छ , त्यसको लागि राज्यसञ्चालन गर्नेहरूसँग काम गर्ने इच्छा शक्ति हुनुपर्दछ । जुन पटकै छैन । कसरी हुन्छ देशको विकास ?

नयाँ शक्ति र डा. भट्टराइको विचारले देशलाई समृद्धि बनाउन सकिन्छ । म त सबैलाई भन्छु देशको आर्थिक विकास चाहानेहरू अब ढिलो गर्नु हुँदैन आउनुस् एउटै ठाउँबाट काम गरौँ । विकास हाम्रै पालामा सम्भव छ ।

साभारः http://kantipur.ekantipur.com/news/2016-06-03/20160603145834.html