‘अहिले लाखौं जनताको शक्ति भन्दा प्रधानमन्त्रीको गोजीको १५ रुपैंयाको कलम शक्तिशाली देखिन्छ’

- १८ माघ, २०७३

पासाङ शेर्पा

केन्द्रीय कार्यकारी समिति सदस्य एवं १ नं. प्रदेश संयोजक,
नयाँ शक्ति पार्टी, नेपाल

नेपालको विद्यार्थी आन्दोलन, कम्युनिष्ट आन्दोलन, जनजाति आन्दोलनलगायत विभिन्न राजनीतिक संघर्षमा सक्रियतापूर्वक सहभागिता जनाउँदै नयाँ शक्ति पार्टी निर्माण अभियानको प्रारम्भिक चरणदेखि नै निरन्तर खट्नुभएका एक जना नेताको नाम हो पासाङ शेर्पा । उहाँ अहिले नयाँ शक्ति पार्टीको केन्द्रीय कार्यकारी समिति सदस्य एवं १ नं. प्रदेश संयोजक हुनुहुन्छ । उहाँसँग नेपालको समसामयिक राजनीति र पार्टी निर्माणको सन्दर्भमा नयाँ शक्ति नेपाल अनलाइनका लागि मनिकर कार्कीले गरेको विस्तृत अन्तरवार्ताको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ –

अहिले देशमा संविधान संशोधनको प्रक्रिया चलिरहेको छ, यद्यपि यो प्रक्रियाले राजनीतिक निकास दिन्छ या दिन्न भनने अहिले अन्यौलपूर्ण अवस्थामा नै छ । अहिलेको अवस्थामा यसको आवश्यकता के हो ? यसले कसरी राजनीतिक समस्या समाधान गर्छ ?

संविधान बन्दाको बखतमा अथवा संविधान जारी हुँदाको बखत खासगरी मधेशी, आदिवासी जनजाति, दलितलगायत सीमान्तकृत एवं उत्पीडित समुदायहरुले संविधानमा अपेक्षा गरे अनुसार अधिकार पाउन सकेनन् । उनीहरुले अपेक्षा गरे अुनरुप राज्य पुसंरचना हुन सकेन । अपेक्षा अनुसार उनीहरुको पहिचान सम्बोधन हुन सकेन भनेर नै उनीहरुले संधिवानमा असहमति जारी गरेका थिए । उनीहरुले असन्तुष्टि र असहमति जारी गरिरहँदा हाम्रो पार्टीको वर्तमान संयोजक एवं तत्कालीन माओवादी नेता ड. बाबुराम भट्टराईले पनि यो संविधान पूर्ण हुन सकेन, यसले एकाध नेतालाई खुसी बनाए पनि समस्त नेपाली जनतालाई खुसी बनाउन सकेन, त्यसैले अहिले नै दिपावली मानाउनु उचित छैन भनेर भन्नुभएको थियो । यसर्थ, यो संविधान अपूर्ण छ भनेर भन्नैपरेन, त्यो घोषणा गर्दाको बखत नै स्पष्ट भएको तथ्य हो ।

संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी हुनु राम्रो थियो तर, त्यससँगै मुलुकमा अर्को भयानक आन्दोलन र संघर्ष पनि चल्यो, त्यो हामीले देख्यो । यसर्थ, यी सबै खालका आन्दोलनहरु, संघर्षहरु र जनताको असन्तुष्टिलाई सम्बोधन गर्नका लागि संविधान संशोधन गरेर, यो संविधानलाई सबै नेपाली जनताको अपनत्व महशुस गरानु नै पहिलो आवश्यकता हो । त्यसपछि मात्रै मुलुकमा दिगो शान्ति पनि हुन्छ, मुलुकमा राजनीतिक स्थिरता पनि स्थापित हुन्छ भन्ने जिकीर हामी नयाँ शक्ति पार्टी र यसका अभियन्ताहरुको पहिलेदेखि नै रहिआएको छ ।

यसर्थ, संविधान संशोधन अपरिहार्य छ र संविधान संशोधन चैं संशोधनका लागि मात्र संशोधन नभएर त्यो संशोधनले मधेशी, आदिवासी जनजाति, थारुलगायत उत्पीडित उपेक्षित समुदाय, जसले पहिचानको अधिकार खोजिरहेको छ ती सबैको चित्त बुझाउने हुनुपर्यो । फेरि संशोधनले नेताहरुको चाहिं चित्त बुझ्ने तर, उत्पीडित जनताको चित्त नबुझ्ने भयो भने त्यो संशोधनले समाधान दिंदैन र त्यस्तो संशोधन आवश्यक पनि छैन । छोटकरीमा यसको आवश्यकता किन भन्दा संविधानमा नसमेटिएका र संविधान जारी भइसकेपछि मुलुकमा सिर्जना भएका संघर्ष र आदोलनहरुको अन्त्य गर्न र संविधानमा सबै जनताको अपनत्व महशुस गर्न संविधान संशोधन आवश्यक छ ।

यहिँनेर नेकपा एमाले लगायतका केही पुराना दलहरुले संधिवान बन्यो अब संशोधन होइन कार्यान्वयन गर्नु जरुरी छ भनेर भनिरहेका छन् । अनि जनताको पंक्तिमा पनि संविधानमा किन असन्तुष्टि भएको हो भन्ने कुराको स्पष्टता छैन र जनताले त्यो जान्न चाहेका छन् । अहिलेको संविधानमा नपुग के हो र कहाँनेर असन्तुष्टि छ ?

संविधान कार्यन्यन गर्न त एमालेले आफ्नो सरकार छँदा पनि खोजेकै हो नि । तत्कालीन प्रधानमन्त्री केपी ओलीले कार्यान्वयन गर्न खोजेकै हो । त्यही संविधान कार्यान्ययन गर्न खोज्दा मुलुकमा यति लामो समयसम्म आन्दोलन भयो, कयौं मानिस मर्नुपर्यो, हत्या हिंसा भयो । देश र जनताले यत्तिको ठूलो नाकाबन्दी लगायतको अफ्ठेरोहरु झेल्नुपर्यो । यत्तिको ठूलो वैद्शिक हस्तक्षपको सिर्जना भयो । किन यस्तो भयो त ? हो, देशको आन्तरिक कलहले गर्दा यस्तो भयो । आन्तरिक कलह केले गर्दा भयो भन्दा असन्तुष्टिसहित जर्बजस्ती जारी गरेको संविधान जर्बजस्ती कार्यान्वयन गर्न खोज्दा यस्तो वातावरण सिर्जना भएको हो । त्यसले गर्दा संविधान कार्यान्वयन गर्छु मात्र भनेर संविधान कार्यान्वयन हुँदैन । संविधान कार्यान्वयन गर्नका लागि सरोकारवाला जनता सबै सहमत हुनुपर्छ र त्यसका लागि सहमति चाहिन्छ ।

अब के के कुरामा सहमति चाहिन्छ त भन्दाखेरि यहाँ के देखिन्छ भन्दा संविधानले मधेशी जनताले आफ्नो स्वायत्त खालको प्रदेश संरचना चाहना गरेका छन् । थरुहटमा थारुहरुले त्यो चाहना गरेका छन् । आदिवासी जनजातिहरुले आफ्नो पूर्खौंयौली एवं ऐतिहासिक थातथलो र सघन बसाइको बाहुल्यता नटुक्रिने गरी र उनीहरुको पहिचानलाई पनि संबोधन हुने गरी राज्यको पुनःसंरचना गरिनुपर्दछ भनेर भनेका छन् ।

खासगरी यिनै दुईवटा मधेशी थारु, आदिवासी जनजातिहरुको ऐतिहासिक थातथलो अनुसारको प्रदेश संरचना बन्यो भने सबैको असन्तुष्टि मेटिन्छ । र, अल्पसंख्यकहरुको हकमा उनीहरुको ऐतिहासिक बसोबास अनुसार स्वायत्त क्षेत्रको घोषणा भयो भने सबैको अपनत्व महशुस हुन्छ र संविधान संशोधन गर्नुको सार्थकता पनि प्रमाणित हुन्छ ।

यसै सन्दर्भमा नयाँ शक्ति पार्टीले समावेशी र समानुपातिक प्रतिनिधित्वको सुनिश्चितताको लागि क्लस्टरको अवधारणा ल्याएको छ, यसलाई अलिकति प्रस्ट पारिदिनुस् न ।

नयाँ शक्तिले पहिलो कुरा के भनेको छ भने नेपाललाई बुझ्ने र चिन्ने तरिका नयाँ तरिकाले परिभाषित गर्नुपर्छ । नेपाल देश विभिन्न खालको जातीय, भाषिक समुदायको साझा भूगोल र भूमि हो भन्ने कुरा हामीले आत्मसात गर्दछौं भने यहाँ बस्ने मूल समुदायहरु मूलतः आदिवासी–जनजनति, मधेशी–थारु र खस–आर्य गरेर तीन फरक खालका ऐतिहासिक जातीय पृष्ठभूमि बोकेका समुदायहरुको बसोबास रहेको छ । यसर्थ, ती सबैको राज्यका साझा हैसियत, बराबर अधिकारको अवस्था नभएसम्म यो देश सबैको साझा भएको महशुस हुँदैन । त्यसो हुँदा यो देश सबैको साझा देश हो र यहाँ सबैको साझा अधिकार छ भन्ने महशुस गराउनको लागि नयाँ शक्तिले यो क्लस्टरको अवधारणा ल्याइएको हो ।

यो अवधारणा यो देश ककस्को हो ? भन्ने प्रश्नको उत्तर पनि हो । यो देश मुख्यतः तीन जातीय क्लस्टरका समुदायहरुको हो भन्ने परिभाषित गर्नका लागि यो अवधारणा ल्याइएको हो । र, देशमा यी समुदायको साझा हैसियत, बराबर प्रतिनिधित्व, बराबर अधिकार, र देश बनाउनको लागि बराबर पसिना नभएसम्म यो देश सबैको साझा भएको महशुस हुँदैन । जनताले त्यो महशुस गर्दैनन् । यो सबैको साझा देश हो र यहाँ सबैको साझा अधिकार छ भन्नको लागि यो क्सल्टरको अवधारणा ल्याइएको हो । नेपाललाई बुझ्ने र चिन्ने सवालमा यो नै नयाँ परिभाषा हो र नयाँ परिचय पनि हो ।

यो जातीय भाषिक समुदायको क्लस्टरको अवधारणाले वास्तवमै नेपाललाई चिनाउँछ, यो देश कसको हो र कस्तो छ भन्ने कुरा । राज्य पुनःसंरचनाको विषयमा नयाँ शक्तिको पटकपटकको भेला र बैठकले प्रस्ट पारिसकेको छ कि पहिलो संविधानसभाको राज्य पुनःसंरचना समिति र राज्य पुनःसंरचना आयोगले प्रस्तुत गरको अवधारणाको आधारमा राज्यको पुनःसंरचना गर्नुपर्दछ । किनकि त्यो अवधारणामा सर्वसम्मति थियो । त्यसलाई जनजातिले मानेको थियो, मधेशीले मानेको थियो, राजनीतिक पार्टीहरुले मानेका थिए र दोस्रो संविधानसभाले पनि ती सबै सहमतिहरुको स्वामित्व ग्रहण गरिसकेको थियो । त्यसको आधारमा पुनःसंरचना गर्नुपर्छ, यो नै सहि र वस्तुगत हुन्छ । यसर्थ, राज्यको पुनःसंरचनको विषयमा पनि नयाँ शक्तिको स्पष्ट धारणा छ र नेपालको सामाजिक बनावटलाई बुझ्ने र परिभाषित गर्ने कुरामा पनि स्पष्ट धारणा छ । यसमा कुनै द्विविधा छैन । नेपाललाई बुझ्ने फरक शैली छ, नेपाल र नेपाली जनतालाई कसरी एकढिक्का बनाउने, राष्ट्रिय एकतालाई कसरी बलियो बनाउने भन्ने विषयमा पनि हाम्रो प्रस्ट धारणा छ ।

यो क्लस्टरको कुरामा यसभित्रको सार जनसांख्यिकी अवस्थाका आधारमा राज्यको अंगहरुमा प्रतिनिधित्वको सुनिश्चिता र राजनीतिक अधिकारको ग्यारेन्टी नै हो । तर, यसलाई पुराना शक्तिहरुले असंभव जस्तो गरी प्रचारवाजी गरिरहेका छन् र यसको गलत ढंगबाट अपव्याख्या पनि भइरहेको छ, आखिर किन त्यस्तो गरिरहेका छन् ?

हेर्नुस् यसमा दलका र नेताहरुको व्यक्तिगत स्वार्थले काम गरेको छ । पुरना राजनीतिक दलका नेताहरु के चाहनुहुन्छ भने सबैअधिकार सिंहदरबार केन्द्रीत होस् । सबै अधिकार सिंहदरबारमा आओस् । उहाँहरु जनतालाई भन्दा पनि सिंहदरबारलाई अधिकारसम्पन्न बनाउन चाहनुहुन्छ । अधिकार सिंहदरबारमा केन्द्रीत गर्ने र सिंहदरबार पनि फेरि आफ्नो कब्जामा राख्ने । अहिले त साँच्चै भन्दाखेरि हजारौं, लाखौं जनताको शक्ति भन्दा सिंहदरबारभित्र बस्ने प्रधानमन्त्रीको गोजीमा भएको १५ रुपैंयाको कलम शक्तिशाली छ । जनता के चाहन्छन् भन्दा सबैकुरा सिंहदरबारमा होइन जनतामा अधिकार जानुपर्दछ । नेतामा होइन अधिकार जनतामा जानुपर्दछ । निर्णय प्रक्रियामा, राष्ट्र निर्माणको कुरामा जनताको सहभागिता र अपनत्व प्रधान कुरा हो भन्ने कुरा गर्दछन् तर पुराना नेताहरुको सोंचमा के छ भने जनताको काम भनेको भोट हाल्ने र नेता छान्ने मात्र हो भन्ने छ । ती सबै अधिकार नेतामा हुनुपर्छ भन्ने मानेविज्ञानका कारण अहिलेको हालिमुहाली र नेताकेन्द्रीत अधिकार गुम्छ भन्ने डरले गर्दा उहाँहरु संघीयतालाई रुचाइरहनु भएको छैन । अधिकार जनतालाई प्रत्यायोजन गर्ने कुरामा उहाँहरु कन्जुस्याईं गरिरहनुभएको छ । यो हिजोदेखि हालीमुहाली गरिराखेको शक्ति गुम्छ भन्ने डर नै मुख्य हो ।

यहाँले सुरुदेखि नै नयाँ शक्ति निर्माण अभियानमा संलग्न भएर लाग्नुभयो । नयाँ शक्तिमा अहिलेसम्मको तपाईंको अनुभव कस्तो रह्यो ? यो अभियान निर्माणको यात्रा कस्तो रह्यो ?

म धेरै उत्साहित छु । मैले मेरो राजनीतिक जीवनमा अहिलेसम्म जति पनि छलाङ मारिने खालको राजनीतिक निर्णयहरु लिएको छु, त्यसमा मलाई कुनै पछुतो छैन । मैले एकपछि अर्को इतिहासहरु व्यक्तिगत रुपमा निर्माण गर्दै आएको छु, चाहे लोकतान्त्रिक जनआन्दोलनमा सहभागि भएर लोकतन्त्रलाई सफल पार्ने कुरा होस् चाहे प्रजातन्त्रको लागि पंचायती व्यवस्था ढाल्नको लागि विद्यार्थी कालमा संघर्षको अनुभूति भन्नुस्, अर्थात् लोकतन्त्र आइसकेपछि पनि आदिवासी जनजातिहरुको मुद्दालाई उठान् गर्ने सवालमा भन्नुस् म एउटा अवस्थाबाट अर्कोमा अवस्थामा सहजै फड्को मारेर अघि बढिरहेको छु । यसर्थ, अरु राजनीतिक नेताहरु भन्दा मेरो चाहिं अलिक फरक पृष्ठभूमि छ । म एउटा समयलाई चिनेर, वातावरण बुझेर आवश्यकता अनुसार फड्को मारेर अघि बढिरहेको छु । र, त्यसपछि अहिले नयाँ शक्ति निर्माण गरेर अघि बढ्ने सन्दर्भमा होस् मैले जे जे निर्णय गरेको छु म त्यसबाट पूर्ण रुपमा सन्तुष्ट छु ।

मैले विभिन्न कालखण्डहरुमा आफूले सकेको इतिहास निर्माणमा योगदान पर्याएको छु । अहिले नयाँ शक्ति निर्माण अभियानमा जुटिसकेपछि म अत्यन्तै उत्साहित छु । हामी नयाँ शक्ति निर्माणका अभियन्ताहरु जनताकोमा पुग्न नसक्नुमा हाम्रो कमजोरी छ, यदि जनतामा पुग्न सकिन्छ भने जनताले हामीलाई साथ दिनेछन् भन्ने कुरामा म ढुक्क छु ।

सर्वसाधारण जनतादेखि पाँच तारे होटलमा बस्ने मानिससम्मलाई हामीले यी पुराना पार्टीहरुले देश विकास गर्लान्, देशलाई समृद्धितर्फ लैजालान्, देशमा राजनीतिक स्थायित्व कायम गरेर साँच्चिकै नेपाललाई नयाँ बनाउलान् ? तपाईंहरुलाई विश्वास लाग्छ ? भनेर सोध्ने हो भने उनीहरुको जवाफ अहिलेका पार्टीहरुप्रति विश्वास छैन, यिनीहरुले देशलाई बर्बाद गरे अब अघि बढाउलान् भन्ने कुरामा विश्वास छैन भन्ने नै आउँछ । यसमा सबै जनताको एक मत छ । यसको अर्थ के हो भने एउटा वैकल्पिक राजनीतिक कोर्समा हामी प्रवेश नगर्ने हो भने अब मुलुक झन्झन् बिग्रने बाटोतर्फ अग्रसर हुनेछ भन्ने निश्कर्ष हो । नयाँ शक्तिले मुलुकलाई एउटा वैकल्पिक राजनीतिक कोर्समा लिएर जाँदैछौं । यसर्थ नयाँ शक्ति निर्माण गर्ने काम केवल एउटा पार्टी निर्माण गर्ने कुरा मात्र होइन, यो त एउटा राजनीतिक कोर्सबाट अर्को राजनीतिक कोर्स निर्माणको अभियान हो ।

नयाँ शक्ति आफैं पनि त्यही बाटोमा गइहरेको छ र सिंगो नेपाललाई पनि त्यही बाटोतर्फ डोर्याएर लगिरहेको छ । र सबै अब त्यही बाटोमा हिंड्नुको विकल्प पनि छैन । यसर्थ, हामीलाई खुसी लागेको छ । हिजो पंचायतविरुद्ध लडेर प्रजातन्त्र स्थापना गर्ने कोर्समा पनि प्रवेश गर्नुपर्छ भन्दापनि यस्तै गाह्रो थियो, तर त्यो कुरालाई जनताले आत्मसात गरिसकेको थियो र त्यो संभव पनि भयो । राजतन्त्र अन्त्य गर्ने कोर्समा पनि त्यस्तै थियो, तर जनताले आत्मसात गरेपछि त्यो पनि सफल भयो । अब मुलुकलाई समृद्ध बनाउने कोर्समा हामी प्रवेश गरेर जानुपर्छ भन्ने कुरालाई पनि जनताले आत्मसात गरेका छन् र यो सफल हुन्छ । जनताले स्वीकार गरेको कुरा के हो भने पुराना पार्टीका नेताहरुमा त कुनै प्रकारको भिजन छैन कम्तीमा देशलाई विकास गर्ने भिजन भएको नेता भनेको डा. बाबुराम भट्टराई नै हो भन्ने कुरा सबैले भन्छन् । यसमा दुईमत छैन । त्यसकारण पनि एउटा ठीक नेतालाई रोजेर नयाँ बनाउने अभियानमा सहभागिता भइएछ भन्ने कुराले मलाई चाहिं उत्साहित नै बनाएको छ ।

तपाईंहरुले विकास र समृद्धिको कुरा गरिरहँदा अब सबैले विकासको कुरा गर्न थालेका छन् । सबैले विकास र समृद्धिको कुरा नगरेसम्म अब राजनीति चल्दैन भन्ने प्रस्ट भइसकेको छ । उनीहरुले गर्ने समृद्धि र विकासको कुरा अनि नयाँ शक्तिले गर्ने विकास र समृद्धिको कुराबीच भिन्नता के हो ? र, कसरी त्यो हासिल हुन्छ ? यसमा नयाँ शक्ति पार्टीको अवधारणा र योजना कस्तो छ ?

हो, नयाँ शक्तिले आर्थिक विकास र समृद्धिको ऐजण्डा बोकेपछि कम्तीमा सबैले विकास र समृद्धिको कुरा गर्न थाल्नुभएको छ । तर, उहाँहरु पुरानै फ्रेमबाट समृद्धिको रुप निकाल्न चाहनुहुन्छ । हामी समृद्धिको रुपलाई नै नयाँ बनाउनुपर्छ भनिरहेका छौं । पहिलो कुरा, नयाँ र पुरानो चाहिं कसरी छुुट्याउने भन्दा, अहिले रहेका पार्टीहरु पुरानो राज्यव्यवस्था भत्काउनको लागि बनाइएका पार्टीहरु हुन् त्यसको आधारभूत दस्तावेज हेर्नुभयो भने सामन्तवाद हटाउने, राजतन्त्र हटाउने, एकात्मक हटाउने, यस्तै यस्तै हटाउने अनि भत्काउने चिजहरु नै बढी छन् । एकाध बनाउने कुरा छ, तर अधिकांशचाहिं भत्काउने कुराले नै ओगटेको छ । तर, हाम्रोमा भत्काउने कुरा छैन बरु नयाँ बनाउने कुरा छ । हाम्रा दस्तावेजहरुमा एकाध भत्काउने कुरा पनि होलान् तर मूलतः बनाउने कुरा नै छ । हामी आधारभूत रुपमा यहिंनेर फरक छौं ।

दोस्रो कुरा, नेपाल किन बिग्रियो ? नेपाल भ्रष्टाचारबाट लिप्त भएर बिग्रियो । अनि भ्रष्टाचार कहाँबाट सिर्जना भयो भन्दा राजनीतिक पार्टीका नेताहरुले राजनीतिलाई पेशा बनाएको कारणले गर्दा भ्रष्टाचार सुरु भएको देखिन्छ । राजनीति त समाजसेवा हो, यो पेशा होइन । हामी अहिले नयाँ शक्ति भ्रष्टाचार उन्मुलनको लागि कहाँबाट सुरुवात गर्ने भन्दा नयाँ शक्तिको अभियन्ताबाट सुरु गर्नुपर्दछ भनिरहेका छौं । यसका लागि राजनीतिलाई सेवा बनाउने र अभियन्ता सबैले एउटा न एउटा पेशा अब ग्रहण गरेर अघि बढाउनुपर्छ भन्ने छ । सुक्को कमाइ छैन, राजनीति गरेर बसेको छ, तर काठमाडौंमा बंगला ठड्याएको छ, महंगो गाडी चढेको छ, फेरि पनि कमाइ छैन । यस्तो खालको पुरानो राजनीतिक पद्दतीबाट मुक्त गरेर कम्तीमा नेताहरुको पनि काम र इलम त हुनुपर्छ भन्ने हो । राजनीतिक पार्टी भ्रष्टीकृत भइसकेपछि मुलुक बिग्रिएको हो । त्यसकारण कहाँबाट चोखिनुपर्दछ त भन्दा सबैभन्दा पहिलो राजनीतिक पार्टीबाट सुरु गुर्नुपर्दछ ।

अर्को कुरा पुराना नेताहरुले के भन्नुहुन्छ भने देशको विकास पनि हामी नै गछौं, मुलुक समृद्ध पनि हामी नै बनाइदिन्छौं भन्नुहुन्छ । हामीलाई सत्तामा पुर्याउ, मन्त्री ÷प्रधानमन्त्री बनाउ अनि हामी देश बनाइदिन्छौं भन्नुहुन्छ । तर, हामी अब के भन्दौं भने एउटा देशलाई समृद्ध बनाउनको लागि सत्ताले मात्र चाहेर पनि हुँदैन र जनताले मात्र चाहेर पनि हुँदैन । समृद्धि र विकासका लागि जनतामा त्यो अनुसारको चेतना र जागरण पैदा हुनुपर्छ । सत्ताले त्यसलाई समायोजन र संयोजन गर्ने व्यवस्था गर्नुपर्छ अनिमात्र मुलुक समृद्ध बन्नसक्छ । हामी त्यो भनिरहेका छौं । हामी राज्य र जनता दुबैको सहभागितामा समृद्धि हासिल हुन्छ भनिरहेका छौं । जनताको चेतना र जागरण अनि सत्ताको एउटा स्वच्छ छविबाट यी सबै चिजहरुको समायोजन गरेर समृद्धि बनाउनुपर्छ भन्छौं ।

पुराना पार्टीहरुको के छ भने राजा महेन्द्रको जस्तो विकासको मूल पनि मै फुटाउँछ, राष्ट्रिय एकता पनि मै बनाउँछु त्यो मैमा निहित छ भनेजस्तो अहिलेका पुरान पार्टीका नेताहरु त्यै भनिरहेका छन् । हामी के भन्छौं भने राष्ट्रियता जनताको नशा र रगतमा हुन्छ । विकास जनताको सहभागिताबिना हुँदैन । राज्य त्यसको एउटा संयोजनकारी भूमिकामा मात्र रहने हुन्छ । हामी त्यो भनिरहेका छौं ।

राष्ट्रियताको कुरा गर्दा अहिले समाजमा चर्को राष्ट्रवादको वकालत गर्ने समूह पनि सक्रिय छ, तपाईंहरुको राष्ट्रियता र राष्ट्रिय स्वाधिनताको व्याख्या चाहिं के हो ?

हामीले राष्ट्रियता र राष्ट्रिय स्वाधिनतालाई अलिकति फरक ढंगले व्याख्या गरेका छौं । अरु पार्टीका साथीहरु के भन्नुहुन्छ भने कि छिमेकीसँग लम्पसार परेपछि राष्ट्रियता बलियो हुन्छ, कि त छिमेकीलाई मुख छाडेपछि राष्ट्रियता बलियो हुन्छ । उहाँहरुको राष्ट्रियता कि त मुख छाड्ने कि त लम्पसार पर्ने भन्ने छ । त्यसो भएपछि राष्ट्रियता बलियो भएको ठान्नुहुन्छ । हामी के भन्छौं भने छिमेकीलाई गाली गर्नु पनि आवश्यक छैन र लम्पसार पर्नु पनि आवश्यक छैन । हाम्रो आन्तरिक राष्ट्रियता र राष्ट्रिय एकता बलियो हुनुपर्छ । हामी मधेशी जनजातिबिच, मधेशी पहाडीबिच, जनजाति खसआर्यबिचको एकता बलियो भयो भने राष्ट्रिय स्वाधिनता बलियो हुन्छ भनिरहेका छौं । आन्तरिक रुपमा कलह मच्चाइराख्ने अनि छिमेकीलाई दोष लगाएर छिमेकीप्रति लम्पसार परेर राष्ट्रिय एकता बलियो हुँदैन । यस्ता कयन कुराहरु छन् जो पुराना पार्टीहरु भन्दा हामी फरक ढंगले अघि बढाइरहेका छौं ।

अहिले नयाँ शक्ति पार्टी ६ महिले घरदैलो अभियानसँगै संगठन निर्माणमा केन्द्रीत देखिन्छ । यसमा १ नम्बर प्रदेशको प्रगति के छ ? कसरी अघि बढिरहेको छ यो अभियान ?

मूल रुपमा हाम्रो पार्टीले सुरु गरेको ६ महिने घरघरमा नयाँशक्ति अभियानमा आधारभूत कुरा त संगठन विस्तार नै हो । १ नम्बर प्रदेशमा अहिले हामीले कम्तीमा यो अभियानभरि सबै नगरका वडा कमिटीहरु, सबै जिल्लाका गाउँ कमिटीहरु पूर्ण रुपमा बनाइसक्ने भनेका छौं । पुरानो संरचना अनुसारका कुनै पनि गाविसहरु खाली नराख्ने, नयाँ शक्ति नपुगेको ठाउँ नराख्ने भन्ने नै छ । हामी त्यसै अनुसार जिल्ला जिल्लामा खटेर लागिरहेका छौं, हाम्रो साथीहरु त्यसैगरी लागिरहनुभएको छ । दोस्रो कुरा, यसभित्र प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको पक्षमा जुन हस्ताक्षर संकलन अभियान छ, त्यो निरन्तर अघि बढिरहेको छ ।



अर्को कुरा चाहिं हामीले बृहत राजनीतिक ध्रुवीकरणका लागि पहल गरिरहेका छौं । त्यसका लागि हामीले विभिन्न नेताहरुलाई जिम्मेवारी तोकेर कार्यक्षेत्रमा खटाइसकेका छौं । यसै अन्तर्गत विशिष्ट व्यक्तित्वहरु पूर्वमन्त्रीदेखि पूर्व सांसद र विभिन्न सामाजिक आन्दोलनमा क्रियाशील सामाजिक व्यक्तित्वहरु नयाँ शक्ति निर्माणको अभियानमा धु्रवीकृत हुँदै हुनुहुन्छ । यसबाट म निकै उत्साहित भएको छु । एवं प्रकारले जिल्ला जिल्लाहरुमा पनि ध्रुवीकरण सभाहरु आयोजना हुनेछन् । केन्द्रले न्यूनतम् दुई वटा यस्ता सभाहरु गर्ने भनेर परिपत्र गरेको छ तर, हामी न्यूनतम् रुपमा पनि यो अवधिमा ५ वटा ध्रुवीकरण सभाहरु हरेक जिल्लामा गर्ने भनेर लागिपरेका छौं । मैले अघि नै भनेजस्तो हामी जनताको घरदैलोमा पुग्न नसक्नुमा हाम्रो कमजोरी छ, यदि हामी त्यहाँ पुग्न सक्यौं भने हामीलाई जनताले धेरै साथ दिइरहेका छन् । यसर्थ, यो अभियानमा हामी व्यापक मात्रामा जनताको घरदैलोमा पुगेर संगठन निर्माण गर्ने भनेर लागिपरेका छौैं ।

अब अन्त्यमा केही भन्न चाहनुहुन्छ ?

मूल रुपमा हामीले राजनीतिक पार्टीहरु निर्माण भएको इतिहास हेर्नुपर्छ । हामीले नेपाली कांग्रेस निर्माण भएको इतिहास हेर्नुपर्छ । त्यसपछि एमाले लगायतका वामपन्थी दलहरु निर्माणको इतिहास हेर्नुपर्छ । निकै लामो समयको अभ्यासपछि उहाँहरु अहिलेको अवस्थामा पुग्नुभएको हो । तर, त्यसरी गरेको अभ्यासको अवस्था हेर्दा र नयाँ शक्ति निर्माणको अवस्थाबीच तुलना गर्दा हामी धेरै उत्साहित छौं । कांग्रेस एमाले जस्ता पुराना पार्टीहरुले २० वर्षमा जुन आकार पाएका थिए, त्यो आकार त हामीले ६ महिनामै पाइसकेका छौं । एक वर्षमा त्यो भन्दा ठूलो साइज ग्रहण गर्दैछौं भने नयाँ शक्ति निर्माणमा जनताको उत्साहपूर्ण सहभागिता छ कि छैन ? भनेर यहिँनेर नाप्दाखेरि प्रस्टसँग थाहा हुन्छ । त्यसकारण म निकै उत्साहित छु, सबै अभियन्ता साथीहरुलाई पनि उत्साहको साथ जनताको घरघरमा पुग्न पहल गरौं भन्न चाहन्छु । अब नेपाली जनता पनि नयाँ राजनीतिक कोर्समा प्रवेश गरिसकेको छ । म पूर्ण विश्वस्त छु हामी सफल भएरै छाड्नेछौं ।