‘हातमा बन्दुक भएको मान्छेले फायर गर्छु भन्यो भने त्यो विश्वसनीय हुन्छ’

- १ फागुन, २०७३

दान बहादुर चौधरी

कार्यकारी समिति सदस्य एवं ५ नं. प्रदेश संयोजक,
नयाँ शक्ति पार्टी नेपाल

दान बहादुर चौधरी कपिलवस्तु जिल्लाको पुराना राजनीतिज्ञ हुनुहुन्छ । २०३९ सालमा पञ्चायती व्यवस्थामा प्रधानपञ्च निर्वाचित भएर राजनीतिक सुरु गर्नुभएका चौधरी त्यसपछि गाविस अध्यक्ष हुँदै २०५६ सालको संसदीय निर्वाचनमा कपिलवस्तु क्षेत्र नं. १ बाट तत्कालीन प्रतिनिधिसभामा संसद निर्वाचित हुनुभयो । त्यसपछि २०६४ सालको पहिलो संविधानसभामा संविधानसभा सभासद् भएपछि २०६६ सालमा उद्योग राज्यमन्त्रीहुँदै २०६८ सालमा महिला, बालबालिका तथा समाजकल्याण मन्त्री बन्नुभयो । उनै पूर्वमन्त्री चौधरी अहिले नयाँ शक्तिमा आवद्ध हुनुहुन्छ र नयाँ शक्तिको ५ नं. प्रदेश संयोजक हुनुहुन्छ । उहाँसँग नयाँ शक्ति नेपाल अनलाइनका लागि मनिकर कार्कीले देशको समसामयिक राजनीति र नयाँ शक्तिको विकास र समृद्धिका विषयमा केन्द्रित भएर गरेकाे कुराकानीको सम्पादित अंशः

२०३९ सालबाट सुरु भएको राजनीतिक यात्रामा तपाईंले साँढे तीन दसक बिताउनुभयो । यहाँले आफ्नै कालखण्डमा पञ्चायत, बहुदलीय व्यवस्था, माओवादी जनयुद्धको सुरुवात र अन्त्य, २०६२ यताको लोकतान्त्रिक आन्दोलन र गणतन्त्रसम्मको उपलब्धि पनि देख्नुभयो । यति हुँदा हुँदै पनि जनताको अवस्थामा कुनै परिवर्तन आएन, जनताको विकास र सृमद्धिको चाहना पूरा हुन सकेन किन होला ?

वास्तवमा एक छिन कहीं बसेर गम्भीर भएर सोच्दा आफूलाई कस्तो कस्तो पनि लाग्छ । म २०३९ सालदेखि नै राजनीतिमा सक्रिय रहेँ । पञ्चायतको पालामा प्रधानपञ्च भएँ, त्यसपछि गाविस अध्यक्ष हुँदै सांसद र मन्त्रीसम्म भएँ । त्यो बेला मलाई के लाग्थ्यो भने यो देशलाई स्थानीय प्रशासन जस्तैः सिडियो, जिल्ला सभापतिहरुले बिगारे भन्ने लाग्दथ्यो । वास्तवमा जब जनताले चुनेको स्थानमा पुगेपछि यो देश स्थानीय तहबाट होइन परन्तु दरबार र सिंहदरबारबाटै बिग्रेको रहेछ भन्ने महशुस भयो । जब त्यो माथिल्लो कुर्सीमा मान्छे पुग्छ, तब राष्ट्रियता धेरै काम थोरै हुने रहेछ र खास गरेर मैले के पाएँ भने यो देशमा बस्ने जनतालाई चाहे मधेशी, जनजाति, थारु, आदिवासी, राई, लिम्बु, मगर, पहाडका पहाडी र हिमालका हिमाली जोसुकै होउन् सबैलाई राष्ट्रको नीतिमा राष्ट्रको डोरमा लैजान सकेनन् । जनतामा यो राष्ट्र मेरै हो भन्ने भावना नेताहरुले दिन सकेनन् । कहिं न कहिं यस्तो आरोपको लडाईं सिंहदरबारबाटै सुरु भयो र त्यसको मारमा चाहिं हामी यहाँका नागकिलाई पर्यौं । यो देशका शासकहरुले जनतालाई एकसूत्रमा बाँध्न नसकेकै कारण अहिलेको यो दुरावस्था सिर्जना भएको हो ।

मतलब राजनीतिले जनतालाई जोड्न सकेन । अथवा जनता र जनताको आवश्यकता केन्द्रीत राजनीति विगतमा भएन भन्ने यहाँको भनाई हो ?

म त्यसलाई अहिलेको शब्दमा भन्दा जनता र जनताले चुनिएको जनप्रतिनिधिबीच अविश्वासको वातावरण सिर्जना गरियो । जुन अविश्वासको वातावरण अहिले सिर्जना भइरहेको छ, वर्तमानमा यसैले यो मुलुृकलाई सदियौं नपाएको दुःख र कष्टमा जकडेको छ । यदि यहि अवस्था रहने हो भने यो मुलुकका लागि धेरै हानिकारक पनि हुन्छ ।

अब त्यो अविश्वासलाई विश्वासमा परिणत गर्न कस्तो खाले राजनीतिक जरुरी हुन्छ ?

राणाहरुले नागरिकलाई अधिकारबिहीन गराएर राजनीति गरे, राजाहरुले पनि त्यही अनुकरण गरे । उनीहरुले प्राणभन्दा प्यारो मेरो देश भन्ने अवधारणाको निर्माण गरेर राजनीति गरे । र, जनताको यथार्थ भावनासित राष्ट्र जुट्न सकेन । त्यसमा विकास र आर्थिक समृद्धिको कुरा जुन छ, विगतमा त्यो प्रक्रियाको सुत्रपात नै भएन । अहिले जुन अनुपातमा ४० वर्षमुनिका युवाहरु जोसँग जोस जाँगर छ, त्यो विदेशमा पलायन हुन्छ र बुढेशकाल लागेपछि फर्किएर नेपाल आउँछ, त्यो खिएको बुद्धि नेपालमा फर्किएर आउँछ, अनि नेपालको कसरी विकास हुन्छ ? जुन बेला देशको लागि योगदान दिनुपर्ने हो त्यो बेलामा चाहिं हाम्रो श्रमशक्ति बाहिरिन पुग्छ । यो विरोधाभाषले देश अविकसित भएको हो । राज्यले त्यो वातावरण दिन सकेन त्यसैले ती युवाहरु पलायन भइरहेका छन् ।

आजको २०/२५ वर्ष अघि मेरो जिल्ला (कपिलवस्तु) को मेरै खेतमा फलेका अनाजहरु भारतमा बिक्री हुन जान्थ्यो । भारतबाट बयलगाडा, घोडा, साइकल लिएर अनाज लिन नेपाल आउँथे । हामी आफूले खाएर पनि बेच्न सक्ने हैसियतमा हुन्थ्यौं तर, अहिले सुनौली भन्सारबाट दैनिक ५० गाडी खाद्यान्न नेपाल आएन भने तराई पनि खान नपाएर मर्ने अवस्था सिर्जना भएको छ । आखिर किन यस्तो भयो ? यसको दोषी को हो ? आखिर जनताले आफ्नो राष्ट्रबाट केही पाउँदैनन्, आफ्नो अभिभावकबाट केही पाउँदैनन् भने कसरी मुलुकको समृद्धि हुन्छ ? जनतालाई गार्जिएनशीप दिन नै सकेन भने कसरी विकास हुन्छ ?

अहिले युवाहरु केही नयाँ सोचमा आएका छन् । र, हाम्रो किन यस्तो दशा भएछ, भनेर विचार विमर्श गरिरहेका छन् र निश्कर्षमा पुगिरहेका पनि छन् । यसबाट केही आशा र अपेक्षा पक्कै गर्न सकिन्छ ।

अहिले जुन राजनीतिक बेथिती छ, जुन अन्यौलता छ, राजनीतिको गाडी अगाडि बढ्न सकेका छैन, गतिरोधको अवस्थामा छ । मुलुकमा संविधान संशोधनको प्रसंग चलेको छ, तर कसरी टुंगिन्छ टुंगो छैन । यो अवस्थामा निकास के हुन सक्छ ?

वास्तवमा यो हाम्रो लागि दुर्भाग्य नै हो कि यहाँ ठूला ठूला प्रतिबद्धताहरु गर्ने प्रधानमन्त्री, दलका नेताहरुले त्यो कार्यान्वयन गर्दैनन् । जे जे सहमति हुन्छ, आयोग बन्छ, छानबिन समितिहरु बन्छन् तर, तिनले दिने प्रतिवेदनहरु कुनै पनि कार्यान्वयन हुँदैनन् । हो, यो नै मुलुकको लागि दुर्भाग्य हो । अहिले एमाले जस्तो पार्टीले संघीयता हाम्रो मुद्दा नै हैन भन्न थालेको छ, आखिर त्यो कहाँबाट आयो ? किन उसले त्यसो भनिरहेको छ ? वास्तवमा भन्ने हो भने गणतन्त्रको मुद्दा माओवादीले नै उठान गरेको हो, यो भन्न मलाई कुनै संकोच छैन । र मधेशलाई पनि त्यही आन्दोलनले जगाएको हो । जनजातिलाई पनि त्यसैले उठाएको हो । आन्दोलनमा सडकमा आऊ भनेर भनेकै हो । तर, जे होस् जसरी माओवादीले गणतन्त्रको मुद्दा उठायो, त्यही सेरोफेरोमा संघीयताको मुद्दा पनि उठान भएको हो र त्यो खाली मधेश र मधेशीको मात्र मुद्दा भएन, यो देशको लगभग ७० प्रतिशत भन्दा बढीका जनताको मुद्दा भयो ।

त्यही कारण हो पहिलो संविधानसभामा संविधान बन्न नसक्नुको । किनकि त्यो बेला संघीयता र गणतन्त्र पक्षधरहरुको बढी सहभागिता थियो । को को गणतन्त्रवादी थियो भन्ने कुरा त्यो बेला सबैलाई थाहा थियो, कांग्रेस र एमाले त गणतन्त्रको मुद्दामा पछि आएका हुन् ।

संघीयताको मुद्दामा सम्झौता भयो र लागू गर्ने क्रममा यो मुद्दा नै होइन, कसको मुद्दा हो ? भनेर प्रश्न गरियो । राष्ट्रको ठूलो पार्टीले सत्ताको खेलमा सबै बिर्सिएर गयो । अहिले पनि त्यही सत्ताको करारनामा चलिरहेको छ देशमा । यो करारनामाले देश चल्दैन । खासगरी यसका लागि डा. बाबुराम भट्टराईले एउटा ठूलो विश्वासको वातावरण बनाउनु भएको छ । उहाँले संविधान घोषणा भएपछि राजनीनामा दिनुभयो । उहाँले पनि चुनाव जितेर जानुभएको हो, उहाँको पनि एउटा सांसदले पाउने सुविधा थियो, बजेटमा तलमाथि गर्न सक्ने हैसियत पक्कै हुन्थ्यो । तर, उहाँले त्यो सबै छाडेर वैकल्पिक राजनीतिमा आउनुभएको छ ।

उहाँले भन्नुहुन्छ, यदि त्यो संविधानमा अलिकति केही संशोधनको कुरा उाठएको भए, कमा र विन्दु थप्नुपर्छ भनेको भए अहिलेकै एमालेका अध्यक्ष र माओवादी अध्यक्षले पनि संविधान बन्न दिने थिएनन् । यदि यसपटक पनि संविधान धरापमा पथ्र्यो भने तीन करोड नेपालीको भविष्य अँध्यारोमा पर्न सक्थ्यो । यसर्थ मैले संविधान बनाउन अथक पहल गरेकै हो भनेर उहाँले भन्नुहुन्छ । कम्तीमा संविधान घोषण भएपछि थोरै भएका कमीकमजोरीहरुलाई जनताको संघर्षको बलमा भोलिका दिनमा पनि सच्याएर पूर्ण बनाउन सकिन्छ भनेर अगाडि बढ्नु भएको हो । यो वास्तवमै सहि दृष्टिकोण पनि हो । उहाँले अहिले जसका लागि जेका लागि राजनीनामा गरेर नयाँ शक्ति निर्माणमा लाग्नुभयो त्यसलाई जनताले आत्मसात गरेको छ । जनताले विश्वास गरेको छ ।

उहाँ एउटा बौद्धिक व्यक्तित्व पनि हो र पढेलेखेको व्यक्ति हो । एउटा योग्य र जुझारु नेता पनि हो । र, त्यसमा उहाँले जुन योजना ल्याउनुभयो त्यसले बिग्रँदो राजनीतिक अवास्थामा डा. साबले राष्ट्रलाई जुन विचार र विभाजन दिनुभएको छ, त्यसले मात्र एउटा आशा बाँकी राखेको छ ।

अहिले संविधान संशोधन होइन कार्यान्वयन गर्नुपर्छ भन्ने पनि सुनिन थालेको छ, एमालेले त्यही मुद्दामा जोड दिइरहेको छ । फेरि संविधानमा एउटा असन्तुष्टि पनि छ, यो असन्तुष्टि किन र कहाँनेर हो ?

वास्तवमा यो संविधान जसरी जारी भयो त्यो पहिलो दिनमै त्यसलाई नेताहरुले सहमतिमा ल्याएको भए, असन्तुष्टिलाई सम्बोधन गरेको भए यो अवस्था नै आउने थिएन । यसमा नेताहरु बेइमान छन् भन्ने कुरा प्रमाणित भएको छ । यो संविधान जुन जारी भयो त्यसपछि यत्रो ठूलो बलिदानी र संघर्ष भयो । म पछिल्लो समयमा दाङ, प्यूठान, गुल्मी, अर्घाखाँची, पाल्पा, बाँके, बर्दियालगायतका जिल्लाहरुमा गएँ त्यहाँ नेकपा एमालेले जनतालाई गलत ढंगले आश्वासन दिइरहेको पाएँ । उसले जनतालाई लडाउने काम गरेको छ, वास्तवमा यसो गर्नु राष्ट्रद्रोही नै हुन्छ ।

यदि कुनै पार्टीले जनताबीच लडाईं सिर्जना गर्दछ भने त्यो कदापि सहि कदम हुन सक्दैन । चाहे मधेशी, पहाडी, हिमाली जोसुकै होउन् ती सबैलाई यो राष्ट्र मेरो हो भन्ने भावना उत्पन्न गराउनुको साटो अफवाह फौलाउने काम जुन भएको छ, त्यो गलत छ । दुनियाँमा कहाँ छ कि कुनै प्रदेशले आफ्नै सेना बनाउँछ, पुलिस बनाउँछ, अनि सीमाना लगाउँछ भन्ने कुरा ? एउटा प्रदेशको अनाज अर्कोमा जान पाउँदैन, एउटा प्रदेशको पानी र बिजुली अर्कोमा जान पाउँदैन भन्ने दुनियाँमा कहिँ हुन्छ ? तर एमालेले त्यही अफावाह फैलाइरहेको छ, त्यही वातावरण बनाइरहेको छ । यदि मधेश प्रदेश छुट्टै भयो भने यहाँको अनाज पहाडमा जान पाउँदैन, पहाडी मधेशमा आउन समस्या हुन्छ भन्ने जस्तो गलत प्रचारवाजी जुन भएको छ त्यसले नै समस्या सिर्जना भएको हो । विभेद द्वन्द्व र फुटले कहिं पनि फाइदा गर्दैन, यो निकै नै हानिकारक हुन्छ ।

अहिले प्रदेशहरुको सीमांकन र स्थानीय संरचना निर्माणमा पनि असन्तुष्टिहरु देखिएका छन् ती सबैलाई समाधान गर्नका लागि के गर्नुपर्छ ? के भयो भने समस्या समाधन पनि हुन्छ र संविधान कार्यान्वयन अनि चुनावको वातावरण पनि बन्छ ?

यो संघीयताको सन्दर्भमा राष्ट्रले आधिकारिक दुई वटा समितिहरु पाएको थियो । एउटा संविधानसभा अन्तर्गतको राज्य पुनःसंरचना समिति थियो र त्यसपछि डा. बाबुराम भट्टराईको प्रधानमन्त्रीत्वको बेलामा नै ९ सदस्यीय राज्य पुनःसंरचना आयोग बनाइएको थियो । तिनीहरुले पेश गरेको आधिकारिक रिपोर्टलाई दोस्रो संविधानसभाले मानेन । दलहरुकै प्रतिनिधित्व गरेर गएका विज्ञहरुले दिएको रिपोर्ट मानेनन् । राज्य पुनःसंरचना समिति, आयोगले दिएको रिर्पाेट चाहिं नमान्ने, तर आफूले बनाएको समितिले दिएको रिपोर्ट चाहिं सबैले मान्नुपर्ने पनि कहिं हुन्छ ? मैले थाहा पाए अनुसार कुनै कुनै जिल्लामा राजनीतिक दलहरुले दिएको सुझावलाई नमानेर स्थानीय निकाय पुनःसंरचना सिफारिस आयोगले आफ्नै ढंगले निर्णय गरेको छ । त्यस्तो पनि कहिं हुन्छ ? नियत नै सफा छैन भने र हामीले त्यही संविधान बनाउने क्रममा नै त्यहाँको दलहरुको जुन वास्तविकता हो, आफ्नै विधानमा उल्लेख भएको कुरा पारित गराउने जुन ध्येय छ, त्यो नै समस्याको कारण हो ।

अहिले सबै नागरिकहरु आफ्नो गाउँ, प्रदेशमा के सहि हुन्छ र के हुँदैन भन्न सक्ने भएका छन् यहाँ ७० प्रतिशत आदिवासी, जानजाति महिला दलित, मुस्लिम आदि समुदायले दिएको सुझावालाई एउटा कुनामा थन्क्याएर जुन कुरा लागू गर्न खोजिएको छ, त्यसले राष्टलाई निकास दिँदैन । यदि ठूला दलहरुको यहि रवैया रह्यो भने यहाँ ठूलो दंगा हुनसक्छ । हामी यति मिलिजुली बसेको यो क्षेत्र, जुन हिसाबले यो खाका प्रस्तुत गरिएको छ, र भ्रम सिर्जना गरिरहेको छ, यसको निराकरण हुन सकेन भने त्यसले संकट ल्याउन सक्छ ।

पछिल्लो समयमा यहाँ नयाँ शक्तिमा आवद्ध हुनुभएको छ, लामोसमयदेखि राजनीतिमा सक्रिय यहाँले आफू पनि परिर्वतन हुँदै आउनु भएको छ, तपाईंलाई नयाँ शक्रिमा आउन चाहिं केले आकर्षित गर्यो ?

म एउटा कुरा प्रस्ट शब्दमा भन्न चाहन्छु, म जहाँबाट राजीनामा गरेर आएको छु, यो राष्ट्रको सबैभन्दा धेरै मन्त्रीपरिषद्मा बसेर काम गरेका मेरा अध्यक्ष थिए, विजय कुमार गच्छदार । यो राष्ट्रमा यति धेरै समयसम्म मन्त्रीपरिषद्मा बस्ने व्यक्ति कमै छन् र २०४६ यता यति धेरै पटक निर्वाचन जित्ने व्यक्ति पनि कमै छन् । त्यसमध्ये अग्र स्थानमा आउने पनि उहाँ नै हो । तर, सधैं मन्त्री बनेर सांसद जितेर मुलुकले कुनै निकास पाउने छैन । म पनि त्यहाँ ठूलै हैसियतमा थिएँ, वरिष्ठ उपाध्यक्ष थिएँ, त्यतिमात्र होइन केही महिना अघि भएको फोरम लोकतान्त्रिकको महाधिवेशनमा विधान समितिको संयोजक पनि म नै थिएँ । मेरो अध्यक्ष्तामा फोरम लोकतानित्तकको विधान बनेको हो । तर, मैले त्यहाँ कुनै भिजन देखिँन । कसरी सत्तामा पुग्ने भन्ने मात्रै भिजन थियो । कम्तीमा यत्रो समावेशी समानुपातिक कुरा गरेका छौं यत्रो लडार्इं पार गरेर आएका छौं । अब पनि त्यही सत्तालिप्सामा लाग्ने हो भने मधेश, थरुहट र समग्र राष्ट्रले पनि कुनै निकास पाउने छैन भन्ने बुझेर म त्यहाँ बस्न सकिन ।

अब नयाँ शक्तिमै किन आएँ ? भन्ने जुन प्रश्न छ, म अन्य दलमा पनि जान सक्थेँ, एमालेमा पनि जान सक्थेँ किनकि म ०५६ सालमा एमालेबाटै सांसद् जितेको पनि हो । मैले त्यहाँ पनि राम्रो ठाउँ पाउनसक्थेँ । तर, म त्यहाँ नगई नयाँ शक्तिमा आएँ । किनकि नयाँ शक्तिमा पाउने केही होइन, यदि केही पायो भने राष्ट्रले पाउँछ भन्ने सोचेरै म नयाँ शक्तिमा आएँ । आफ्नै खर्चले राजनीति गर्ने हो, त्यो गरिरहेको छु । तर, एउटा जुन आर्थिक भिजन डा. बाबुराम भट्टराईले र नयाँ शक्तिलले बोकेको छ, त्यसैप्रति आकर्षित भएर म नयाँ शक्तिमा आवद्ध भएको हुँ । त्यही आर्थिक विकासको भिजन नहुँदा हामी यो अवस्थामा आइपुगको हौं । यो देशले धेरै आरोह अवरोह पार गरिसक्यो तर आर्थिक लडाईं कसैले गरेको छैन । त्यही कारण यो अवस्था भएको हो ।

गल्फमा कति नेपालीहरु गइरहेका छन् ? यो देश वनजंगलमा धनी हो कि होइन, माटोमा धनी हो कि होइन, कला संस्कृतिमा धनी हो कि होइन ? हामीले के पाएका छैनौं ? तर, यसका बाबजुद पनि सबैले भाषण गर्ने तर कार्यान्वयन नगर्ने गरे । डा. भट्टराईले अर्थमन्त्री र प्रधानमन्त्री भएको बेलामा केही न केही काम गर्न खोज्नुभयो त्यो वास्तवमै सहि थियो । काठमाडौं जस्तो ठाउँमा सडक विस्तार गर्नु कम चुनौतिपूर्ण थिएन । उहाँले राष्ट्र बनाउने जुन योजनाहरु ल्याउनुभयो, जुन भिजन ल्याउनुभएको छ, त्यो ठीक लागेर म नयाँ शक्तिमा आवद्ध भएको हो । नयाँ पार्टीमा लागेर केही पद पाइहाल्छु, सांसद भइहाल्छु, बजेट ल्याएर केही गरिहाल्छु भन्ने सोचले म आएको होइन यो राष्ट्रलाई केही योगदान दिउँ, राष्ट्रले जुन भिजन पाएको छ, त्यसमा केही योगदान गरौं भनेर म नयाँ शक्तिमा आएको हुँ ।
‘अबको निकास आर्थिक विकास, समृद्धि संभव छ हाम्रै पालामा’ भन्ने जुन नारा छ, त्यसैलाई सार्थक बनाउन उत्पादनमुखी र स्वरोजगारमुखी कार्यक्रमहरुलाई अवलम्बन गर्न, आर्थिक विकासको लडाईंको बागडोर जुन सम्हाल्नुभएको छ, डा. भ्ट्राईको त्यही मुद्दाले आकर्षित गरेर म नयाँ शक्तिमा आएको हुँ । केही लिनको लागि होइन, नयाँ शक्तिको भिजनमा केही कडी थप्न आएको हुँ ।

अहिले सबै पार्टीहरुले विकास र समृद्धिको कुरा गरिरहेका छन्, विकासको कुरा नगरेसम्म अब राजनीति पनि चल्ने देखिंदैन । यस्तो परिस्थितिमा पुराना पार्टीहरुले भन्ने विकासको कुरा र नयाँ शक्तिले भन्ने विकासको कुरामा के फरक छ ?

यसमा धेरै फरक छ । हामीले गर्ने विकासको कामले ग्रास रुटका जनताको, किसानको हित हुन्छ । डा. भट्टराईको भिजन, सोचमा प्रस्टता छ । उहाँको योग्यता अनुसार उहाँ आफैंले पनि राम्रोसँग आफ्नो जिविका चलाउने हैसियत भएको व्यक्ति हो । उहाँको चर्चा यहाँमात्र होइन विदेशमा पनि त्यत्तिकै छ । र एउटा यथार्थ के हो भने हातमा बन्दुक भएको मान्छेले फायर गर्छु भन्यो भने त्यो विश्वसनीय हुन्छ तर, निहत्था जोसँग केही छैन उसले फायर गर्छु भन्यो भने त्यसलाई कसैले विश्वास गर्दैनन् । त्यस्तै डा.भट्टराई जोसँग आर्थिक भिजन छ, उसले विकास र समृद्धिको कुरा गर्दा विश्वसनीय हुन्छ । त्यही कुरामा जनता आकर्षित भएका छन् । उहाँसँग भएको भिजनबाटै प्रभावित भएका छन् जुन कुरा अरुले धेरै पटक भनिरहेकै हुन् तर, कसैले केही गर्नसकेनन् । उहाँले काठमाडौंको सडक विस्तार गर्ने बेलामा जुन बेला म उहाँकै क्याबिनेटमा थिएँ, त्यो बेला भन्नुहुन्थ्यो – देशको मुटु काठमाडौंमा सुधार गर्न सकिएन भने अन्त पनि सकिंदैन । त्यसैले उहाँले सबैलाई पहिलो दिन नै कसम खुवाउनु भएको हो, तपाईंहरुले त्यो हौसला दिनुभयो भने म अघि बढ्छु भनेर । त्यही अनुसार काम अघि बढ्यो । यसर्थ, उहाँले काम गरेको प्रमाण कै आधारमा नेपाली जनताले विश्वास गरेका हुन् ।

हामीले खोजेको समृद्धि हासिल गर्नका लागि कस्तो प्रकारको राजनीतिक संरचना जरुरी हुन्छ ? अनि सरकारको भूमिका, राजनीतिक दल र जनताले कसरी सहयोग गर्न सक्छन् ?

यो फोहोरी खेल धेरै भयो, राजनीतिमा । अब करारनामाबाट देश चल्दैन । आलोपालो ठेक्कामा देश चल्दैन । त्यसका लागि राजनीतिक स्थायित्व जरुरी हुन्छ । अब पनि राजनीतिले स्थायित्व ग्रहण गर्न सकेन भने यो भन्दा धेरै दुर्दिनहरु देखा पर्न सक्छन् । र, राजनीतिक स्थायित्वका लागि संविधानमा सम्बोधन हुनुपर्छ । जसरी हिजो गणतन्त्र सबैको साझा मुद्दा बनेको थियो, त्यसैगरी राजनीतिक स्थायित्व पनि अब सबैको साझा मुद्दा बन्नु जरुरी छ । जसको लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक संसदको व्यवस्था गर्नुपर्छ । एउटा अवधिमा यसको सुरुवात गर्नुपर्छ नै । यदि चाँडो भन्दा चाँडो यो भएन र राष्ट्रले स्थायित्व पाएन भने देशको अवस्था झन् नाजूक हुन्छ । अब विभाजन गरेर शासन गर्ने परम्पराको अन्त्य हुनुपर्छ ।

ओलीजीलाई झापा मोरङ हुनै पर्ने देउवालाई कैलाली कन्चनपुर हुनैपर्ने, यस्तो कुराले कसरी निकास पाउँछ ? भूगोलको हिसाबले पहाड, मधेश तराई एक हुनुपर्छ र सबैले सबै स्थानबाट मत लिएर आओस्, त्यस्तो व्यवस्था लागू गर्नुपर्छ । र त्यसले राजनीतिक स्थायित्व ल्याउँछ । यदि राजनीतिक स्थायित्व भयो भने आर्थिक विकास र समृद्धिको मार्ग खुल्नेछ । पूर्ण समानुपातिक प्रतिनिधित्वले सबै वर्ग र समुदायको प्रतिनिधित्वको सुनिश्चितता गर्नेछ । त्यसो भयो भने देश समृद्धितिर लम्किन्छ ।

नयाँ शक्ति पार्टीले अहिले संगठन विस्तार अभियानमा केन्द्रीत छ, ५ नम्बर प्रदेशमा संगठन निर्माण कसरी अघि बढिररहेको छ ?

अहिले हामी केन्द्रीय निर्णय अनुसार घरघरमा नयाँ शक्ति अभियानको ६ महिने कार्यक्रम गरिरहेका छौं । केन्द्रबाट आए अनुसार हामीले जिल्ला जिल्लामा यो कार्यक्रम लागू गरिरहेका छौं । म आफैं पनि जिल्ला जिल्लामा पुगेर कार्यक्रम लागू गरिरहेको छु । यद्यपि हाम्रा संयोजक डा. भट्टराई कतै फेरि माओवादीमै फर्किनुहुन्छ कि भन्ने अलिकति थोरै आशंका जनस्तरमा देखिएको छ । तर, उहाँले त्यो कुरालाई चिर्दै पनि जानुभएको छ । त्यसको प्रमाण के हो भने एउटा सानो पार्टी फुट्दा केही सांसद लिएर जान्छ, बाबुराम भट्टराई एउटा प्रधानमन्त्री भएको व्यक्ति, ठूलो पार्टीबाट संसदमा आएको व्यक्तिसँग १०/२० जना सांसद थिएनन् त ? जनतालाई के लागेको छ भने उहाँसँग पक्कै पनि सांसद थिए, तर, उहाँले त्यो लोगो बुझाएर आउनुभएको छ । त्यो दलको लोगो छाडेर आउनुभएको छ, नयाँ शक्ति बनाउने अभियानमा उहाँ जसरी एक्लै आउनुभयो त्यसर्थ उहाँमाथि शंका गर्ने ठाउँ छैन ।

उहाँले आर्थिक विकासको नारालाई प्रमुख रुपमा उठाउनुभएको छ, राष्ट्रलाई केही गरौं, नयाँ शिराबाट अगाडि बढौं भनेर उहाँ सबैकुरा छाडेर आउनु भएको छ । त्यसकारण अब अविश्वासको वातावरण हटिरहेको छ, र यो ६ महिनाको अवधिमा हामी जोडदारका साथ अघि बढिरहेका छौं । यो कुरा जनताले बुझ्दै गएका छन्, जब यो अलिकति बाँकी रहेको भ्रम पनि हट्नेछ, हाम्रो संगठन निर्माण तीव्र बन्नेछ ।

हरेक जिल्लामा घरदैलो अभियान तीव्रताका साथ अघि बढिरहेको छ । बर्दियामै पनि केही महत्वपूर्ण साथीहरु अब नयाँ शक्तिमा प्रवेश गर्ने कार्यक्रम बन्दैछ । अब यो पार्टी शत प्रतिशत गतिमा अघि बढ्नेछ ।

यो ५ नं. प्रदेशमा चुनावको तयारी र रणनीति के छ ?

हामीले घरदैलो अभियानको क्रममा हामीले चुनावकेन्द्रीत कार्यक्रमहरु पनि अगाडि बढाएका छौं । पहिलो गाविसहरुको अवस्था के छ ? कुनमा कस्तो अवस्था छ ? इत्यादि कुरामा हामीले मसिनो गरी तथ्यांक लिइरहेका छौं । मलाई के लाग्छ भने सबै स्थानहरुमा हाम्रो उपस्थिति राम्रो हुन्छ र त्यसले आउँदो प्रदेश वा संसदीय निर्वाचनको लागि जगको काम गर्नेछ भन्ने विश्वास लिएको छु ।