‘बयलगाडा चढेर त चन्द्रमामा पुगिंदैन नि’

- १९ फागुन २०७३

गंगा नारायण श्रेष्ठ

३ नं. प्रदेश संयोजक, नयाँ शक्ति पार्टी नेपाल

देशको समसामयिक राजनीतिक विषय र नयाँ शक्ति पार्टीले अंगिकार गरेको आर्थिक विकास र समृद्धिकै सेरोफेरोमा रहेर नयाँ शक्ति पार्टी नेपालका केन्द्रीय कार्यकारी समिति सदस्य एवं ३ नं. प्रदेशका संयोजक गंगा नारायण श्रेष्ठसँग नयाँ शक्ति नेपाल अनलाईनका लागि मनिकर कार्कीले गरेको कुराकानीको सम्पादित अंश–

यहाँको ३० वर्षदेखिको राजनीतिक यात्रा जारी छ, यो राजनीतिक यात्रामा बहुदलीय व्यवस्थाको लागि संघर्ष गर्नेदेखि जनयुद्धसम्ममा सहभागिता जनाउँदै गणतन्त्र प्राप्तिको आन्दोलनमा पनि सक्रिय रहनुभयो । तपाईंको आँखै अगाडि यत्रो राजनीतिक परिवर्तन हुँदा पनि जनताको आशा र अपेक्षा पूरा हुन सकेन किन ?

मैले राजनीतिलाई तीन दसकदेखि नै हेरिरहेको छु र आफू पनि सक्रिय भएर लागिरहेको छु । मेरो बुझाई के छ भने हरेक चिजको आफ्नो कोर्स हुन्छ र त्यो कोर्समा हरेक चिज आफ्नो गति अनुसार अघि बढ्छ । त्यो गतिलाई थप रापताप दिने अरु कुनै शक्ति भयो भने त्यो गति तीव्रतामा जान्छ । यदि भएन भने आफ्नै निरन्तरतामा रहन्छ । अहिलेसम्मको नेपालको इतिहासलाई हेर्दा हामीले आर्थिक समृद्धि किन हासिल गर्न सकेनौं ? भएर प्रश्न गरिरहेका छौं । हाम्रो देशको राजनीतिक परिवर्तनको बाटोमा निरन्तर गति प्राप्त भइनैरह्यो तर, सचेतन ढंगबाट आर्थिक समृद्धिलाई पनि राजनीतिक परिवर्ततसँगसँगै लैजानुपर्छ भन्ने सवालमा एउटा भिजन दिने नेतृत्वको अभाव नेपालमा रहँदै आयो । जसले गर्दा हामी राजनीतिक परिवर्तनमा बढी केन्द्रित भयौं र आर्थिक सृमद्धिको मुद्दामा हामीले उदासिन हुन पुगेको जसतो देखिन गयो ।

तर, सत्य कुरा के पनि हो भने एक समयमा एउटा कुरा प्रमुख हुन्छ । जस्तै राजनीतिक व्यवस्था परिवर्तनको आन्दोलन प्रमुख भइरहेको सन्दर्भमा आर्थिक समृद्धिको मुद्दा सहायक हुन जान्छ । नेपालको सन्दर्भमा त्यो सहायक मात्र होइन छाडियो भन्ने हो । हामीले हिजो राजनीतिक परिवर्तनको आन्दोलनमा लाग्नु नै पर्दथ्यो र हामी लाग्यौं पनि । तर, सबै खालको आन्दोलनकोबीचबाट व्यवस्था परिवर्तन भयो । अब यसलाई हामीले छोटो समयमा आर्थिक समृद्धिको उत्कर्षमा देशलाई पुर्याउनुपर्छ भनेरै नयाँ शक्ति गठन गरेका हौं । अब जसरी हामीले ८० वर्ष लगाएर लोकतन्त्रको आन्दोलन गर्यौं, फेरि त्यसैगरी समय लगाएर समृद्धि गर्ने समय हामीसँग छैन । त्यसैले हामीले भनेका छौं ‘समृद्धि संभव छ हाम्रै पालामा’ । हामीले समृद्धिको सवालमा ७ वर्ष, १५ वर्ष र २५ वर्षको एउटा खाका बनाएका छौं र त्यसै अनुसार यो देशलाई समृद्धिको एउटा शिखरमा लैजान कसरत गरिरहेका छौं । हामीलाई विश्वास छ, देशलाई त्यो शिखरमा पुर्याउन संभव छ ।

नयाँ शक्तिले अहिलेसम्म व्यवस्था परिवर्तनको लागि राजनीति गर्यौं, अब आर्थिक अवस्था फेर्ने राजनीति गर्ने कुरा गर्दैछ, अनि यहाँको बुझाइ पनि सचेतन ढंगबाट आर्थिक विकास र समृद्धिको मुद्दामा राजनीति प्रवेश गरेन भन्ने छ । नेपालको सन्दर्भमा आर्थिक समृद्धिले राजनीतिक एजेण्डाको रुपमा प्रवेश नपाउनुको कारण के देख्नुहुन्छ ?

हाम्रो देशमा विगत लामो समयसम्म निरंकुश राजनीतिक व्यवस्था चल्यो । २००७ सालदेखि २०१७ सालसम्म त्यतिखेर कांग्रेसको नेतृत्वमा लोकतन्त्रको अभ्यासको सुरुवात भयो । यद्यपि त्यो १७ सालमा गएर उल्टियो । फेरि २०४६ सालमा आएर केही वर्ष लोकतन्त्रको अभ्यास पनि भयो । तर, त्यहाँ पनि खासमा लोकतन्त्र थिएन । त्यो पनि एक ढंगको निरंकुशतन्त्र नै थियो । राजनीतिक व्यवस्थाको शीर्षस्थानमा राजतन्त्र भइसकेपछि त्यो निरंकुशता स्वभाविक हुन्छ र थियो । यसर्थ, विगतका समयमा त्यसैकाविरुद्ध बढी लडाईं लड्नुपर्दा राजनीतिक नेताहरुको ध्यान आर्थिक समृद्धितिर त्यत्ति जान नसकेको देखिन्छ । तर, एउटा कुरा के पनि छ भने केही देशहरु जस्तै श्रीलंका जहाँ लामोसमय ठूलो लडाईं पनि चल्यो तर, त्यो लडाईंको बीचमा पनि आफ्नो स्वभाविक समृद्धिको गतिलाई बढाइनै रह्यो । तर, हाम्रो देशमा भने त्यत्ति पनि हुन सकेन । विकासको पनि एउटा स्वभाविक प्रक्रिया हुन्छ र एउटा सचेतन ढंगबाट रुपान्तरण र विकास गर्ने पाटो हुन्छ, त्यसमा भने विगतका कालखण्डमा नेताहरुको दूरदृष्टि नपुगेकै हो, इतिहासमा त्यो पाटोलाई भने छुटेकै भन्नुपर्छ ।

अहिलेसम्मको राजनीतिले जनचाहनालाई बुझ्न सकेन भन्ने निश्कर्ष यहाँको हो ?

राजनीतिले जनचाहनालाई बुझ्न सकेन भन्ने निश्कर्ष त होइन मेरो । त्यो बेला राजनीतिक व्यवस्था परिवर्तन नै मुख्य राजनीतिक मुद्दा थियो, त्यसैले मुख्य जनचाहना भनेको गणतन्त्र नै थियोे । त्यो बेला चाहना संघीयताकै थियो । धर्मनिरपेक्षता कै थियो । यसर्थ, मुख्य कुरा हामीले विगतमा जहाँ फोकस गर्नुपर्दथ्यो त्यहीं गर्यौं । त्यसका साथसाथै जनताको आर्थिक जीवनपद्धति जसरी हामीले उठाउँदै जानुपर्दथ्यो, त्यो कुरा चाहिं हिजोको दिनमा छुट्न गएको सत्य हो ।

खासमा जनता अहिलेको राजनीतिबाट असन्तुष्ट छन्, यहाँले पनि जनताबीच जाँदा त्यो कुरा महशुस गर्नुभएकै हुनुपर्छ । जनतामा राजनीतिप्रति नै असन्तुष्टि र वितृष्ण बढ्दै गएको छ, यसलाई कसरी समाधान गर्न सकिएला ?

हामीले लोकतन्त्रको परिभाषालाई नै नयाँ ढंगबाट संश्लेषित गर्न खोजेका छौं । जस्तो अहिलेसम्म नेपालमा प्रयोग भइरहेको लोकतन्त्र संसदीय लोकतन्त्र हो र यसलाई अर्को भाषामा औपचारिक लोकतन्त्र वा प्रतिनिधिमूलक लोकतन्त्र जे भने पनि हुन्छ । यो लोकतन्त्र अहिले संसारभर निकै कमजोर बन्दै गएको छ । यो लोकतन्त्रको विकल्प अझ बढी लोकतन्त्र हो । तर, अहिले जुन प्रयोग भइरहेको लोकतन्त्र छ, यसले चाहिं जनतालाई अधिकार दिने कुरामा, जनतालाई भुईंतहसम्म शक्ति निक्षेपीकरण गर्ने र जनतालाई शक्तिशाली बनाउने कुरामा चाहिं यो त्यत्ति कामियावी देखिएको छैन । त्यसैले हामीले प्रतिनिधिमूलक संसदीय लोकतन्त्रको विकल्पको रुपमा प्रत्यक्ष लोकतन्त्र भनेर परिभाषित गरिरहेका छौं ।

जनतालाई सशक्तिकरण गर्ने लोकतन्त्र वास्तवमा सहभागितामूलक लोकतन्त्र नै हो । हाम्रै देशको इतिहास हेर्ने हो भने ३/४ सय वर्षअघिदेखि हामीले अभ्यास पनि गर्दै आएको लोकतन्त्र हो यो । गाउँमा कचहरी बस्ने, पञ्चायत बस्ने, आमा समूहहरुको क्रियाशीलता इत्यादि सहभागितामूलक लोकतन्त्रको स्थानीय अभ्यास नै हो । हामीले त्यही लोकतन्त्रलाई समृद्ध बनाउँदै अगाडि बढ्ने कुरा गरेका हौं । जनतामा पैदा भइरहेको निरपेक्ष भावलाई यहि ढंगको सहभागितामूलक लोकतन्त्रले पूरा गर्नेछ र जनतालाई राजनीतिप्रति आशावादी बनाउने छ । हामीले अब राजनीतिलाई सुरुचिपूर्ण बनाउनुपर्यो । राजनीति नै सबै नीतिहरुको माउ नीति हो र यो सबैको मुहान पनि हो । यसर्थ, मुहान फोहोर बनाउनु हुँदैन । यो मुख्य नीति हो र यसलाई राम्रो बनाउने मुख्य दायित्व पनि जनताकै हो भन्ने कुरा हामी जनतालाई बुझाउँछौ । त्यो बुझाउने माध्यम भनेको सहभागितामूलक लोकतन्त्र नै हो र हामीले त्यही कुरा जनतालाई बुझाएर लोकतन्त्रलाई बलियो बनाउनेछौं ।

देशमा स्थानीय तह निर्वाचनको घोषणासँगै राजनीतिक जटिलता बढ्दै गएको महशुस हुँदैछ, अहिलेको समस्याको गाँठो कहाँनेर परेको हो जस्तो लाग्छ तपाईंलाई ?

समग्रमा राजनीतिक समस्याको गाँठो पहिल्याउँदै गयौं भने खासगरी तीन थरी विचारहरु बिचको द्वन्द्व कै कारण यो गाँठो परेको देखिन्छ । देशमा एकातिर अग्रगामी विचार छ, जसको नेतृत्व नयाँ शक्तिले गरिरहेको छ भन्ने हाम्रो दाबी छ । अर्को यथास्थितिवादी विचार छ, जसको नेतृत्व पुराना दलहरु कांग्रेस, एमाले र माओवादीहरुले गरिरहेका छन् । र, अर्काेतिर पश्चगामी विचार पनि छ, जसको नेतृत्व पर्दापछाडि ज्ञानेन्द्र शाह र पर्दा अगाडि राप्रपाले गरिरहेको छ ।

फेरि यो स्वभाविक पनि हुन्छ, किनकि कुनै पनि देशको जीवनमा ठूलो उथलपुथल जसलाई हामी संक्रमण भन्छौं, त्यो संक्रमणकाल जतिजति लम्बिँदै जान्छ, जनतामा पीडाहरु पनि थपिँदै जान्छन् र जटिलता पनि बढ्दै जान्छ । देशमा संक्रमणकालको समय लम्बिँदै गर्दा यी सबै नकरात्मक कुराहरु सामना गर्नुपर्ने अवस्था बढ्न गएको हो । यसर्थ, यसको अन्त्य सबैभन्दा पहिले गर्नुपर्यो । अनि संविधान क्रियान्वयन गरेर नै यसको अन्त्य हुन्छ । तर, संविधान क्रियान्वयन कसरी हुन्छ त भन्दा त्यो सहमतिकै प्रक्रियाबाट हुन्छ । यसर्थ, हामीले भनेका छौं यदि संभव हुन्छ भने सबै मिलेर सरकार बनाऔं र संविधान कार्यान्वयन गर्ने वतावरण पनि बनाऔं ।

तर, सरकारले जसरी एकतर्फी ढंगबाट निर्वाचनको मिति घोषणा गरेको छ, त्यसले एकखालको टकरावको स्थिति पैदा गरिदिएको छ । सरकारले निर्वाचन घोषणा गरेसँगै मधेशी दलहरुले आन्दोलको घोषणा गरेका छन् । यो देशको आधा जनसंख्या मधेशमा बसोबास गर्छन् । कि त हामीले मधेशलाई छाडेर चुनाव गर्नसक्नु पर्यो होइन भने उनहिरुलाई लिएर जानका निम्ति त उनीहरुले अहिले जुन माग राखेका छन् त्यो संबोधन गर्नुपर्यो । अनि चुनाव गर्नुपर्यो नि । उनीहरुले अहिले ठिक भनिरहेका छन् र हाम्रो पार्टीका भनाइ पनि संविधान संशोधनबाट अहिलेको समस्या समाधान गर्नुपर्यो र माघ ७ भित्र तीनवटै निकायको चुनाव सम्पन्न गर्नुपर्यो भन्ने नै हो । र, यहि नै सुल्टो प्रक्रिया पनि हो । जुन हामी शक्ति निक्षेपीकरणको कुरा गरिरहेका छौं, केन्द्रले नै स्थानीय तहको चुनाव गरेपछि त्यो केन्द्रवाद भयो, त्यो संघवाद भयो । यसर्थ, सिद्धान्ततः चाहिं माथिबाट तलको चुनाव गर्नुपर्छ तबमात्र त्यो सुल्टो प्रक्रिया हुन्छ, नत्र उल्टो हुन्छ । यहि कुरालाई सुल्टो बनाइयो भने कोर्स सहि दिशातर्फ अघि बढ्छ ।

मधेशवादी, आदिवासी जनजाति, थारु सबैको मागको सन्दर्भमा प्रष्टता नभएको एकथरीको बुझाई छ र कताकता मधेशवादी दलहरुभित्र देखिने आन्तरिक विवादले पनि उनीहरुले आफ्ना असन्तुष्टिलाई संक्षेपीकरण गर्न नसकेको जस्तो देखिन्छ । अनि पछिल्लो समयमा नयाँ शक्ति पनि उनीहरुकै पछिपछि हिंडेको जस्तो देखिन गएको छ, यसमा समस्या के हो र समाधान कसरी हुनसक्छ ?

यसमा एउटा कुरा म के स्पष्ट गर्न चाहन्छु भने मधेशवादी दलहरुको मुद्दा नयाँ शक्तिले बोकेको होइन, तर तराई मधेशमा बस्ने जनताको मुद्दा नयाँ शक्तिले बोकेको कुरा म प्रष्ट पार्न चाहन्छु । दोस्रो कुरा उनीहरुको मुद्दा के हो भन्ने कुरा उनीहरुले नै प्रष्ट पार्लान्, त्यसमा मैले बोलिरहनु जरुरी छैन । तर, मधेशी जनताहरुको एउटा मनोविज्ञान दिनानुदिन पहाडियाहरुको विरुद्धमा जसरी बन्दै गएको छ, यो मनोविज्ञान किन निर्माण भयो भनेर यसको कारण खोज्नुपर्छ । विगतमा चार भञ्ज्याङ्ग पार गरेर काठमाडौं पस्नको निम्ति पनि मधेसीहरुले अस्थायी पासपोर्ट बनाउनुपर्दथ्यो । जुन मधेशीहरुले यो देशको सीमा रक्षा गरिरहेका छन्, हामी यो देशको नागरिक हुन पाउँ भनेर भनिराखेका छन्, उनीहरुलाई उनीहरुको रंग, भाषा र संस्कृतिका आधारमा विहारी भारतीय भन्ने जुन ढंगको एउटा पहाडी अहंकार राष्ट्रवाद नेपालमा देखापर्यो, त्यो नै मुख्य समस्या हो । यसले मधेशलाई विखण्डनतिर नै लैजान्छ ।

यसैको फाइदा उठाएर देशमा सीके राउत प्रवृत्ति देखापरिरहेको छ, जुन विखण्डनवादी प्रवृत्ति हो । यो देशमा एउटा केपी ओली राष्ट्रवाद छ, जसले मधेशलाई नेपालमा देख्दैन र अर्कोतिर सिके राउतको विखण्डनबाद छ, जसले मधेशलाई नेपालमा देख्दैन । अन्ततः यी दुवै विखण्डनवादी साेंचहरु हुन् । तराई मधेशबिना नेपालको कल्पना गर्न सकिंदैन । पहाड या हिमालबिना पनि नेपालको परिकल्पना गर्न सकिंदैन । यसर्थ, हिमाल पहाड तराई मधेश सबैको एकता अहिले जरुरी छ । हामीले भनेको त्यही हो । हिजो पृथवीनारायण शाहको नेतृत्वमा आधारभूत रुपमा नेपाल भन्ने देशको निर्माण भयो । तर, त्यो सरहद या सीमाभित्र बस्ने जनताको भावनात्मक एकीकरण गर्ने काम भएन । त्यसले गर्दा हामीले संघीयताको माध्यमबाट जनतालाई शक्ति हस्तान्तरण गरेर त्यो भावना जोड्ने काम गर्नुपर्छ । मधेशी जनताको राष्ट्रभक्तिमाथि उनीहरुको भावनामाथि हामी सबैले विश्वास गर्नुपर्छ र उनीहरुबिना यो देशको एकता जोगिन सक्दैन भन्ने यथार्थ बुझ्नुपर्छ ।

तपाईंहरुलाई लामो समयपछि घोषणा भएको स्थानीय तहको चुनावको किन विरोध गरेको भनेर आरोप लाग्ने गरेको छ ? के मान्छेहरुले आरोप लगाएजस्तै नयाँ शक्ति चुनावबाट भाग्न खोजेको हो त ?

यो चाहिं फगत आरोप मात्रै हो । हामीले त प्रस्ट भनेका छौं कि हामी जनताको मतबाट अर्थात् जनताको मन जितेर अघि बढ्छौं । पार्टीले अगाडि सारेको आफूले सोचेको समृद्धिको कार्यक्रम लागू गर्न खोज्दैछौं । अनि त्यो कार्यदिशा लागू गर्न सक्छौं भन्ने विश्वास पनि हामीमा छ । हामी कुनै पनि युद्ध गर्ने, रक्तपातपूर्ण क्रान्ति वा विद्रोह गर्ने, सत्ता कब्जा गर्ने लाइनमा छैनौं । हामी शान्तिपूर्ण रुपमा अगाडि बढ्छौं । प्रतिस्पर्धामा विश्वास गर्छौं, जनतामा हामी विश्वास गर्छौं भनेर हामीले भनिसकेका छौं । यो हाम्रो नीतिगत मान्यता हो । यहि नीतिगत मान्यताका कारण हामी चुनाव विरोधी कहिल्यै पनि हुँदैनौं ।

अहिले जसरी भनिंदैछ, १९ वर्ष भयो स्थानीय निकायको चुनाव नभएको भनेर । अनि १९ वर्षपछि हुन लागिरहेको निर्वाचनको पनि विरोध गर्दैछ भनेर जसरी प्रचार गरिएको छ, पहिलो कुरा के स्पष्ट गर्न चाहन्छु भने १९ वर्ष होइन नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछिको यो पहिलो चुनाव हुँदैछ, यो ऐतिहासिक कुरा हो । यहो हिजोको पञ्चायत या संसदीय व्यवस्थाको निरन्तरताको चुनाव होइन । यो नयाँ ऐतिहासिक संरचना निर्माणपछिको पहिलो ऐतिहासिक चुनाव हो । यसर्थ यस्तो चुनावलाई हल्काफुल्का रुपमा लिने होइन, यसलाई नियमित जस्तो प्रचार गरेर जानु हुँदैन । यो नयाँ संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधनलाई कसरी लागू गर्ने भनेर गरिने चुनाव हो । हामीले गर्नुपर्ने छलफल र बहस त त्यहाँ पो हो । हो, त्यही छलफल पुगेन भन्ने हाम्रो भनाइ हो ।

अहिले सबै पार्टीले विकास र समृद्धिको कुरा गर्न थालेका छन् । अब विकास र समृद्धिको कुरा नगरेसम्म कसैको राजनीति नटिक्ने देखियो । यहाँ नयाँ शक्तिले अगाडि सारेको समृद्धिको रोडम्याप र पुराना दलहरुले भन्ने गरेको विकास र समृद्धिको कुरामा कहाँनेर अन्तर छ ?

तपाईंले भनेको जस्तो सबै राजनीतिक पार्टीलाई समृद्धि र विकासको नारा नलगाइकन जनतामा जाने बाटो पनि छैन । यसले गर्दा सबै पार्टीले त्यो नारा लगाउनै पर्छ । अब नारालाई शब्दमै सीमित राख्ने हो या त्यसलाई व्यवहारिक रुपमा रुपान्तरण गर्ने हो भन्ने कुरा चाहिं प्रष्ट हुनुपर्छ ।

नयाँ शक्ति पार्टीमा हामीले एउटा मूल नारा बनाएका छौं ‘अबको निकास आर्थिक विकास, समृद्धि संभव छ हाम्रै पालामा’ । हो, यो नाराभित्र हाम्रो समग्र कार्यदिशा छ । आर्थिक समृद्धिको कुरा छ । हामीले आवधिक रुपमा कति वर्षमा के गर्न सकिन्छ भनेर प्रक्षेपण पनि गरेका छौं । हामी सत्ताको वागडोर संचालन गरेको दिनदेखि ७ वर्षभित्रमा अल्पविकसित नेपाललाई विकासशील, अबको १५ वर्षभित्र मध्यम स्तरको धनी राष्ट्र, अनि २५ वर्ष भित्रमा नेपालाई विकसित राष्ट्र बनाउने संकल्पका साथ अघि बढिरहेका छौं ।

जहाँसम्म समृद्धि शब्दको प्रयोगको अर्थ छ, त्यो सामान्य होइन । विकास र समृद्धि पर्यायवाची शब्द होइनन् । समृद्धिभित्र विकास अटाउन सक्छ तर, विकासभित्र समृद्धि आउँदैन । भौतिक पूर्वाधार विकासलाई मात्र समृद्धि भन्न मिल्दैन । त्यहाँ त्यो देशमा जनताले उत्पादन गरेका वस्तुहरुलाई राज्यले आम जनताको बिचमा समन्यायिक रुपमा वितरण गर्न सक्छ कि सक्दैन ? जब त्यो उत्पादन समन्यायिक ढंगबाट वितरण हुन्छ आम जनतामा एउटा सुखी र खुसीपना आउँछ, हामीले सोचेको समृद्धि चाहिं त्यो हो । त्यसले गर्दा हामीले निरपेक्ष विकासको कुरा मात्रै गरेका छैनौं हाम्रा यी समृद्धिसम्म पुग्नको निम्ति चाहिने आधारहरु पनि हामीले प्रस्तुत गरका छौं ।

अब त्यो समृद्धि प्राप्त गर्नका लागि के कस्तो योजना लागू गर्नुहुन्छ ?

सबैभन्दा ठूलो कुरा कुनै पनि राजनीतिक पार्टीले आफ्नो कार्ययोजना लागू गर्नका लागि ऊसँग शक्ति चाहिन्छ । त्यो शक्ति भनेको सत्ता र सरकार नै हो । त्यो पनि बहुमतको सरकार हो । अब हामी भर्खरै जन्मिएका छौं, तर हामीलाई के विश्वास छ भने केही समयपछि हामी नेपालको एउटा मुख्य पार्टी हुनेछौं भने विश्वास पनि छ । हामी सरकारभन्दा बाहिर रहँदा चाहिं जनतालाई परिचालन गर्ने, जनताको श्रम र सीप माथि, जनताको क्षमतामाथि विश्वास गर्ने नै हो । र खासमा हाम्रो कार्ययोजनाको कुरा गर्दा जनतालाई कसरी परिचालन गर्छौं ? त्यही नै समृद्धिको आधार हो । हामीसँग भएको प्राकृतिक सम्पदाहरुको उपयोग कसरी गर्छों ? त्यसमा जनताको सीप, श्रम र लगानी भएन भने त त्यो स्रोत सम्पत्तिमा रुपान्तरण हुँदैन । यसर्थ सबैभन्दा पहिला जनतालाई सक्षम बनाउने, लगानीको वातावरण बनाउने र उनीहरुले उत्पादन गरेका चिजहरु बजारसम्म पुग्नका लागि राज्यले व्यवस्था गर्ने कुरा नै मुख्य हो ।

अहिले २१ औं शताब्दीमा हामी नेपालीहरुले मात्रै लगानी गरेर हामीले चाहेको विकास र समृद्धि हासिल हुन सक्दैन । हाम्रो आफ्नै लगानीले मात्र त हामीलाई चाहिएको तीव्रतम् विकास हासिल नहुन पनि सक्छ । त्यसैले यसका लागि हामीले अन्तर्राष्ट्रिय मित्रशक्तिहरुसँग पनि सहयोग लिनुपर्छ । हिजो डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा उहाँले भारतसँग जुन विप्पा सम्झौता गर्नुभएको थियो, त्यो सम्झौता चाहिं नेपाललाई छिटो भन्दा छिटो एउटा समृद्धिको यात्रामा छालमय गतिमा अघि बढाउनुपर्छ भन्ने हिसाबले उहाँले गर्नुभएको थियो ।

त्यसकारण कलकारखाना, उद्योगधन्दा, भौतिकपूर्वाधार इत्यादिमा ठूलो लगानी गर्ने अन्तर्राष्ट्रिय समुदायहरुको सुनिश्चित गर्ने, कृषिलाई आधुनिकीकरण गर्दैजाने युवाहरु जो विदेश गएर सीप र क्षमता आर्जन गरेर आएका छन् उनीहरुको सीपलाई उपयोग गर्ने वातावरण बनाउने र जनतालाई सबैभन्दा बढी मोविलाइज गर्ने कार्ययोजना हाम्रो छ । भोलि सरकारमा गइसकेपछि त राष्ट्रिय, अन्तर्राष्ट्रिय, क्षेत्रीय सबै स्रोतहरुको उपयोग गरेर विकास र समृद्धि हासिल गर्ने उद्देश्य राखेका छौं ।

तपाईं नयाँ शक्ति निर्माणको सुरुवातका दिनदेखि नै सक्रिय रुपले लाग्नुभएको छ, यहाँसम्म आइपुग्दा तपाईंले कस्तो अनुभव गरिरहनु भएको छ ?

पुराना राजनीतिक शक्तिहरुबाट नयाँ आवश्यकता अनुसारको नेतृत्व हुन संभव छैन भन्ने निश्कर्षमा पुगिसकेपछि म पनि एकदमै सजिलोसँग खाइपाइ आएको बाटो छाडेर एउटा जोखिमपूर्ण बाटोमा लामबद्ध हुन आएँ, यसमा मलाई गौरव छ । हिजो इतिहासको आवश्यकता यस्तो थियो, बन्दुक बोकेर हिंड्नुपर्दथ्यो । सबै सेना बनेर हिंड्नुपर्ने खालको स्थिति थियो, त्यो बेला । बम बारुदसँग खेल्नुपर्ने स्थिति थियो । हामीले खेल्यौं, मैले पनि खेलें । मेरो त्यो विगतको जीवनप्रति पनि मलाई गौरव छ । वास्तवमा इतिहास एकदमै प्रवाह र गतिमा अघि बढिरहेको छ र त्यसमा जो गतिवान हुनसक्छ त्यो मान्छे नै गतिमा रहन सक्छ । र त्यसले नै इतिहास निर्माण गर्न सक्छ । मलाई लाग्छ, नयाँ शक्ति पार्टीले पनि त्यही ढंगले इतिहासको निर्माण गर्दै अघि बढिरहेको छ । मेरो पुराना पार्टीहरुप्रति कुनै गुनासो छैन । किनकि राजनीतिक व्यवस्था परिवर्तनको आन्दोलनमा उनीहरुले पनि आन्दोलन र दुःख गरेकै हुन् । मेरो एउटा मात्रै सुझाव के हो भने जब राजनीतिक व्यवस्था परिवर्तन भएर एउटा कोर्स सकिन्छ तब गतिशील मान्छेहरुले, नेतृत्वहरुले एउटा नयाँ सोंच, भिजन र नेतृत्व प्रणाली, संगठनात्मक संरचना बनाएर नयाँ नेपालको नेतृत्व गर्नुपर्दथ्यो । तर, तयो उहाँहरुले गर्नुभएन जसले गर्दा हामीले भइरहेको पार्टी छाडेर यहाँ आउनुपर्यो ।

मानौं हामी चन्द्रमाको गन्तब्य बनाउँछौं र त्यहाँ पुग्न चाहन्छौं भने बयलगाडा चढेर त त्यहाँ पुगिंदैन । गन्तब्य अनुसारको सवारीसाधन रोज्न सकिएन भने गन्तब्यमा पुग्न सकिंदैन । अहिले हाम्रो गन्तब्य चन्द्रमा हो, समृद्धि भनेको चन्द्रमाको यात्रा हो, त्यो यात्रामा साथीहरु बयलगाडा चढेरै पुगिन्छ भनिरहनुभएको छ । उहाँहरुले नारा लगाइरहनुभएको छ । तर, उहाँहरुको यो नारा भोलि जीवन व्यवहारमा लागू हुने नारा होइन । त्यही कारणले म नयाँ शक्तिमा लामबद्ध हुन आएको हुँ ।

यो अभियानबाट तपाईंले कति सन्तुष्ट हुनुहुन्छ ?

हेर्नुस् सिक्काको दुईवटा पाटा हुन्छन् भनेजस्तै राजनीतिक पार्टी भनेको पनि एउटा जीवित वस्तु हो मेरो आफ्नो बुझाइमा । यहाँ विचारहरुको बहस हुन्छ । बहस हुनु र विवाद हुनु अलगअलग कुराहरु हुन् । अझ राम्रो कुरा राजनीतिक पार्टी एउटा जिवीत पार्टी हुनुको नाताले यहाँ जीवन्त बहस चलिरहेको हुन्छ । एउटा गजबको कुरा के हो भने नेपालका सबै राजनीतिक पार्टीहरुको निर्माणको प्रक्रिया एउटा लिगेसीका आधारमा हुन्छ । तर, हाम्रो यो नयाँ शक्ति पार्टी विगतको कुनै लिगेसी बोकेर निर्माण भएको पार्टी होइन । यहाँ विभिन्न पृष्ठभूमिहरुको संकेन्द्रण छ । यहाँ विभिन्न राजनीतिक व्यक्तित्व, नागरिक व्यक्तित्व, पूर्व प्रशासकहरु, बौद्धिक, व्यवसायिक मानिसहरु लगायत सबै विभिन्न खालका पृष्ठभूमिहरुको संकेन्द्रण यहाँ छ । निश्चय पनि यसले बेलाबेलामा अफ्ठेरो पनि बनाउँछ तर, यो नै हाम्रो सबैभन्दा ठूलो पूँजी हो । यो पूँजीलाई अब देशको समृद्धिका लागि पूँजीकृत गर्नुपर्छ । हामी त्यही पूँजीकृत गर्ने अभियानमा लामबद्ध छौं ।

तपाईं पार्टीको ३ नम्बर प्रदेशको प्रदेश संयोजक पनि हुनुहुन्छ, तपाईंको प्रदेशमा पार्टी संगठन निर्माण कसरी अघि बढिरहेको छ ?

३ नम्बर प्रदेश त्यसै पनि यो केन्द्रीय प्रदेश हो र यसमा सबैको चासो हुने नै भयो । अहिलेको सन्दर्भमा जनसंख्याको हिसाबले पनि यो सबैभन्दा धेरै जनसंख्या भएको प्रदेश हो । फेरि यो राजधानी प्रदेश पनि भएकोले हामीले जुन समृद्धिको नारा लगाएका छौं, अनि हाम्रो जुन कार्यदिशा छ, त्यसको व्यवहारिक प्रयोग हुने थलो पनि यहि हो । त्यसकारण यहाँ हामीले धेरै मेहेनत गरिरहेका छौं । हामी योजनाबद्ध ढंगबाट संगठन निर्माण जुटिरहेका छौं । हामीले मात्रै प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा ५ लाख हस्ताक्षर संकलन गरिसकेका छौं । त्यसैगरी ध्रुवीकरणको अभियान पनि जारी छ र प्रदेशभर संगठन निर्माणको अभियान पनि तीव्र रुपले जारी छ । यसरी हेर्दा सांगठनिक रुपमा पनि हामीले नयाँ प्रयोग जो गरेका छौं, यसबाट हामी सफलतातिर छौं भन्ने लाग्छ । म यसबाट सन्तुष्ट छु ।