देवी प्रसाद ओझा विगत एक दसकदेखि राजनीतिक रुपले निश्कृय रहनुभयो । अहिले त्यो राजनीतिक निश्कृयता तोड्दै उहाँ नयाँ शक्ति पार्टीमा समाहित हुनुभएको छ र हाल उहाँ नयाँ शक्तिको केन्द्रीय कार्यकारी समिति सदस्य हुनुहुन्छ । उहाँसँग नयाँ शक्ति नेपाल अनलाईनका लागि मनिकर कार्कीले गरेको राजनीतिक संवादको सम्पादित अंशः

" /> प्रगति र समृद्धिको मुद्दालाई अब राजनीतिले केन्द्रविन्दुमा राखेर लैजानुपर्छ | नयाँ शक्ति नेपाल

प्रगति र समृद्धिको मुद्दालाई अब राजनीतिले केन्द्रविन्दुमा राखेर लैजानुपर्छ

- ४ चैत, २०७३

देवी प्रसाद ओझा

केन्द्रीय कार्यकारी समिति सदस्य, नयाँ शक्ति पार्टी नेपाल ।

नेपालको कम्युनिष्ट आन्दोलनमा तीन दसकसम्म सक्रिय रहेर सांसद हुँदै दुईपटक शिक्षा मन्त्रीसम्म हुनुभएका राजनीतिज्ञ देवी प्रसाद ओझा विगत एक दसकदेखि राजनीतिक रुपले निश्कृय रहनुभयो । अहिले त्यो राजनीतिक निश्कृयता तोड्दै उहाँ नयाँ शक्ति पार्टीमा समाहित हुनुभएको छ र हाल उहाँ नयाँ शक्तिको केन्द्रीय कार्यकारी समिति सदस्य हुनुहुन्छ । उहाँसँग नयाँ शक्ति नेपाल अनलाईनका लागि मनिकर कार्कीले गरेको राजनीतिक संवादको सम्पादित अंशः


तपाईं लामो समयदेखि राजनीतिक रुपमा सक्रिय रहनुभयो । राजनीतिमा लागेपछि सांसद र मन्त्री पनि हुनुभयो । तर, विगतमा भए गरेको राजनीतिले जनतालाई खासमा चाहिं केही पनि दिएको रहेनछ, अहिलेसम्म राजनीतिले जनताको आशा र अपेक्षा पूरा गर्न सकेन किन ?

राजनीतिले दिने भन्दा पनि नेपालको सन्दर्भमा कहिल्यै पनि राजनीतिले स्थायित्व पाउन सकेन । कुनै पनि मुलुकको प्रगति र उन्नतिको लागि राजनीतिक स्थायित्वको आवश्यकता हुन्छ । यसो भन्नुको मतलब सरकारको स्थायित्व हुन्छ, कार्य संचालन र प्रक्रियाको स्थायित्वको कुरा हुन्छ । जतिबेला म विद्यार्थी राजनीतिमा संलग्न हुँदै पार्टीगत राजनीतिमा सक्रिय भएर लागें, त्यतिखेरदेखि अहिलेसम्मको अवस्थालाई हेर्दा हामी मूलत राजनीतिक मुद्दामा नै केन्द्रित भयौं । हाम्रो केन्द्र चाहिं राजनीति नै भयो । आज पनि हामी विकास र समृद्धिको मुद्दाभन्दा पनि राजनीतिमै केन्द्रित भइरहेका छौं । हिजो पञ्चायत थियो, त्यसको विरुद्ध लडियो अनि बहुदलीय प्रजातन्त्र आयो, तर त्यो पनि पूर्ण भएन । फेरि पनि राजनीतिक मुद्दा समाधान भएन भन्दै माओवादीले जनयुद्धको सुरुवात गर्यो । अनि जनयुद्धबाट र जनयुद्ध बाहिरका शक्तिहरु मिलेर एक खालको परिवर्तन ल्याएर देशमा लोकतन्त्र, गणतन्त्र, संघीयता जस्ता उपलब्धिहरु हासिल भयो । तर, अहिले पनि मुलुक राजनीतिक मुद्दा सकियो भन्ने निश्कर्षमा पुगेन र हामीले संविधान संशोधनको कुरा गर्दैगर्दा त्यहाँ अझै पनि राजनीतिक मुद्दा नै मुखरित हुन आउँछ ।

अहिले पनि अधिकारको कुरा उठिरहेको छ । सबै राजनीतिक दहरुले राजनीतिक मुद्दालाई नै केन्द्रमा राखेर राजनीति गरिरहेका छन् । त्यस हिसाबले मुलुकको आर्थिक समृद्धि र विकास पछाडि पर्न गयो । वास्तवमा भन्ने हो भने राजनीतिमा विकास र समृद्धिको एजेण्डा नै सेट हुन सकेन । पार्टीले आफ्नो घोषणापत्रमा लेखेर, ठूला ठूला आमसभाको आयोजना गरेर प्रवचन दिएर मात्र हुँदैन । पार्टीले त्यसलाई एजेण्डा बनाएर कार्यान्वयन गर्नतिर लाग्नुपर्छ । के २०६२/६३ सालको आन्दोलनको एजेण्डा विकास र समृद्धि हो ? होइन । संविधानसभाको एजेण्डा विकास र समृृद्धि हो ? त्यो पनि होइन । अनि २०७० को संविधानको एजेण्डा पनि संविधान निर्माण नै थियो ।

आज पनि हामी घुमिफिरी कहाँ छौं ? राजनीतिक मुद्दामै छौं । मधेशमा जुन आन्दोलन छ के त्यो बाटोघाटो बन्नुपर्यो भनेर गरिएको आन्दोलन हो ? सिचाईंको लागि हो ? विद्युतको लागि हो ? स्तरीय शिक्षाको लागि हो ? गरिबी र बेरोजगारीको अन्त्य गर्नुपर्छ भनेर आन्दोलन भएको छ ? विदेशिएका लाखौं युवालाई स्वदेशमै रोजगारी दिनुपर्छ भनेर आन्दोलन भएको छ ? छैन नि त । त्यसैले राजनीतिमा विकास र समृद्धिको मुद्दा नै एजेण्डा बनेको छैन भने समृद्धि कहाँबाट आउँछ ?

तपाईंले राजनीतिमा विकासको मुद्दा छैन भन्नुभयो, विकास र राजनीति वा आर्थिक समृद्धि र राजनीति सँगसँगै जोडिएर आउने विषय हुन् वा एकपछि अर्को आउने हो ?

हेर्नुस् राजनीति र विकासका मुद्दाहरु सँगसँगै जाने विषय हुन् तर पनि मुख्य कुरा के हो भन्ने चाहिं स्पष्ट हुनुपर्छ । जस्तो हामीले खाना खाँदा दाल, भात, तरकारी, अचार खान्छौं भने मुख्य खाना के हो ? पक्कै पनि भात चाहिं मुख्य हो नि । यसर्थ समयको अन्तरालमा मुख्य कुरा के हो त्यो निर्धारण हुनुपर्छ । आज हामीले विकासलाई मुख्य बनायौं त ? बनाएनौं । पञ्चायती व्यवस्थाले विकासलाई मुख्य बनाएको थियो । अनि विकासका केही पूर्वाधार खडा गर्ने प्रयत्न पनि गर्यो तर, त्यो व्यवस्थाले राजनीतिक स्वतन्त्रतालाई कुण्ठित गर्यो । दलहरुलाई प्रतिबन्ध लगायो, राजनीतिक गतिविधिलाई निषेध गर्यो, विरोधीहरुलाई दमन गर्यो । राजनीतिलाई नै दमन गर्यो । त्यतिखेर राजनीतिक गतिविधिलाई दमन गरेर विकासलाई मात्र एकोहोरा बनाउन खोज्दा स्रोत र साधन पनि जुट्न सकेन, अन्तर्राष्ट्रिय सहयोग पनि प्राप्त हुन सकेन । त्यसैले पञ्चायमा विकास मुख्य एजेण्डा बनेपनि त्यो विकास गतिलो ढंगले हुन सकेन । त्यसपछि त हामीले कहिले विकासको एजेण्डा बनायौं र ? अर्थमन्त्रीले बजेटमा पढेर मात्रै त हुँदैन नि । वास्तविक रुपमा विकासको एजेण्डा खै ? अहिलेका ठूला पार्टीहरुका विकासको एजेण्डा खोई ?

अब राजनीति र विकास एक अर्काका परिपूरक नै हुन् । राजनीति असल भयो, राम्रो भयो भने स्थायित्व प्राप्त भयो भने विकास हुन्छ । राजनीति नै अस्थिर भयो भने विकास कसले गर्ने ? भएको पनि भत्किँदै छ, निर्माण नै भत्किरहेको छ भने त्यहाँ कसरी नयाँ विकास हुन्छ ? यसकारण हामीले अहिलेसम्म विकास र समृद्धिलाई ठोस रुपमा राजनीतिक मुद्दा नै बनाएनौं त्यसैले विकास हुन सकेन ।
जस्तो चीन र भारतमा ठूला राजनीतिक मुद्दाहरु १० वर्ष देखि के उठेका छन् ? इतिहास हेर्दै गर्दा २०/३० वर्ष अघिदेखि भारतमा राष्ट्रलाई नै प्रभावित गर्ने गरी कुन मुद्दा उठ्यो ? त्यहाँ उठेको मुद्दा भनेका प्रान्तहरु बढ्ने कि घट्ने भन्ने मात्रै छ । यसको अर्थ उनीहरुकोमा एउटा राजनीतिक सेटअप छ । राजनीतिक परिपाटी स्थापित छ अनि राजनीतिक मुद्दा गौण छ । अनि मूलभूत राजनीतिक शक्तिहरुको राजनीतिक सहमति एउटै छ । उनीहरुको राजनीतिक परिपाटी र राष्ट्रिय स्वार्थमा एउटै धारणा छ तर हाम्रोमा कहाँ छ ?

तपाईंले ठीक भन्नुभयो हाम्रो देशमा राजनीतिक पार्टीहरुबीच राष्ट्रिय स्वार्थमा एकीकृत धारणा बन्न सकेको छैन । तपाईंको विचारमा किन त्यस्तो धारणा बन्न सकेन ?

यसको कारण एउटै हो । तीतो शब्दमा भन्नुपर्दा राष्ट्र र जनताप्रतिको उत्तरदायित्वमा हामी चुकेका हौं । यदि राजनीतिक दलहरुले राजनीतिक मुद्दासँगसँगै आर्थिक विकासको मुद्दालाई पनि अगाडि लैजानुपर्छ यसमा पनि पहलकदमी र नेतृत्व लिनुपर्छ भन्ने कुरा व्यवहारिक र प्रभावकारी रुपमा अगाडि बढाएको भए विकास र समृद्धि संभव थियो । तर, मूल राजनीतिक शक्ति र नेतृत्व यसबाट चुकेकै हो ।

अब त्यो कुराको पहलकदमी लिने वैकल्पिक राजनीति कस्तो हुनुपर्छ ?

जनताले अहिलेसम्म अनुभूति गरेको कुरा के हो भने देशमा एक प्रकारको राजनीतिक उपलब्धि हासिल भयो । राजनीतिक रुपमा जनताले प्रशस्त उपलब्धि हासिल गरेका छन् । तर, सधैंभरि राजनीतिक उपलब्धिले मात्र त पुग्दैन । राजनीतिले मात्र पेट त भरिँदैन, खानु त पर्यो नि । लगाउनु पर्यो । उपचार गर्नुपर्यो । छोराछोरीलाई राम्रो शिक्षादिक्षा दिनु पर्यो । पानी बिजुली बाटोघाटो बन्नु पर्यो । खेतीबारीमा सिचाईं हुनुपर्यो । प्राकृतिक स्रोत साधनको समुचित उपयोग हुनुपर्यो । हो, अब हामीले यस्तै मुद्दालाई उठान गर्नुपर्छ । यो मुद्दालाई उठाउने मात्र होइन, त्यसलाई समाधान गर्ने हिसाबले हामीले राजनीतिक यात्रा तय गर्नुपर्छ । सधैंभरि कति गाउँपालिका हुने कति नगरपालिका हुने भन्ने लडाईंमा मात्रै बिताएर कसरी समृद्धि आउँछ ? त्यसकारण विकासको मुद्दालाई प्रगतिको मुद्दालाई, समृद्धिको मुद्दालाई अब राजनीतिले केन्द्रविन्दुमा राखेर लैजानुपर्छ ।

यहाँको राजनीतिक पृष्ठभूमि हेर्दा वामपन्थी आन्दोलनमै सक्रिय देखिन्छ, अहिले नयाँ शक्तिमा आउनुभएको छ, तपाईंलाई नयाँ शक्तिमा आउन केले आकर्षित गर्यो ?

नयाँ शक्तिको मलाई आकर्षण गर्ने विषय भनेको पहिले त मैले १०/१२ वर्ष सक्रिय राजनीतिक जीवनबाट अलग बसेर मुलुकलाई एउटा स्वतन्त्र नागरिकको हैसियतले नियाल्ने प्रयत्न गरेँ । यो मुलुकमा राजनीतिबाहेक अरु केही चिज छ कि छैन ? जिन्दावाद र मूर्दावाद बाहेक अरु केही छ कि छैन ? भनेर नजिकबाट नियाल्ने प्रयत्न गरेँ । यसरी हेर्दा मैले सक्रिय रुपमा राजनीतिबाट पार्टीको केन्द्रीय नेता भएर मैले यो मुलुकलाई जति बुझेको थिएँ, त्यो केवल ४० प्रतिशत पनि रहेनछ भन्ने बुझें । म दुई पटकसम्म शिक्षामन्त्री हुँदाखेरि पनि मैले यो देशलाई ४० प्रतिशत पनि बुझेको रहेनछु, बाँकी ६० प्रतिशत त मैले नजानेकै कुरा रहेछ । विगतको एक दसक मैले पार्टीको राजनीतिबाट अलग रहेर जुन समाजको अध्ययन गरेँ एउटा नागरिकको हैसियतले त्यसले मलाई यो देश र समाज बुझ्न मद्दत गर्यो ।

देशको विकास र समृद्धिको लागि हामीभित्रै अथाह प्राकृतिक स्रोत साधन छ, त्यसलाई संरक्षणसहितको सदुपयोग गर्ने हो भने हामीले दाताहरुसँग हात थाप्नुपर्दैन । उनीहरुको आरती उतार्नुपर्दैन । हामीले १०/१५ वर्षको अवधिमा यो देशकै मुहार फेर्न सक्छौं । ३ करोड नेपालीको जीवनस्तरमा ठूलो परिवर्तन ल्याउन सक्छौं भन्ने कुरा मैले पार्टीगत रुपमा निश्कृय भएर निकालेको निश्कर्ष हो ।
यदि हामी कुनै पनि विषयमा गहिरोसँग अध्ययन गर्न चाहन्छौं भने हामी पूर्वाग्रहबाट मुक्त हुनुपर्छ । निश्पक्ष, तटस्थ र निरपेक्ष भएर अध्ययन गर्यौं भने हामी सहि निश्कर्षमा पुग्न सक्छौं । हो, मैले पनि पछिल्लो १० वर्ष सबै आग्रहबाट मुक्त भएर समाजको अध्ययन गरेँ । ठीक त्यही बेला नेपाली राजनीतिमा वैकल्पिक राजनीतिक शक्तिको रुपमा नयाँ शक्तिको जन्म भयो । नयाँ शक्तिको दस्तावेज, विचार र दृष्टिकोण मैले अध्ययन गरेँ । नेताहरुसँग पनि छलफल गरेँ । र मैले निकालेको निश्कर्ष र नयाँ शक्तिको कुरा धेरै प्रकारले मिल्दोजुल्दो लाग्यो र राजनीति नै गर्ने हो भने यहिं बसेर गरौं भनेर म नयाँ शक्तिमा लागेको हुँ ।

नयाँ शक्तिका विभिन्न नेताहरुसँग पटकपटक छलफल भयो । संयोजक डा. बाबुराम भट्टराईले पनि बहस र छलफल गरेर अगाडि बढौं भन्नुभयो, अनि नयाँ शक्तिले बोकेका मुद्दाहरु अहिलेको सन्दर्भमा एकदमै सान्दर्भिक, उपयुक्त र अहिलेको समाज र देशलाई साँच्चिकै समृद्ध ढंगले अगाडि बढाउने खालका छन् भन्ने लाग्यो । यो नै मेरो नयाँ शक्तिसँग जोडिने आधार बन्यो । यद्यपि त्यहाँ कतिपय सवालमा असहमति र विमति पनि होलान् तर, त्यसलाई छलफल गर्दै एउटा निश्कर्षमा पुग्ने कुरा हो ।

नयाँ शक्तिले भनेको छ राजनीतिक व्यवस्था परिवर्तन भयो अब आर्थिक अवस्था परिवर्तन गर्ने बेला हो भनेर सांगठनिक रुपमा अघि बढिरहेको छ, त्यो कसरी संभव छ ?

नयाँ शक्तिको एउटा महत्वपूर्ण प्रस्थान विन्दु नेपाललाई वास्तविक रुपमा नेपालको राष्ट्रिय एकता कायम गर्नुपर्छ भन्ने नै हो । नेपाल एउटा बहुभाषि, बहुजाति, बहुधार्मिक एवं बहुसांस्कृतिक देश हो भने भूगोलको हिसाबले पनि हिमाल, पहाड, तराई र मधेश छ । यी सबै कुराहरुलाई भावनात्मक र आत्मीक रुपमा जोड्नुपर्छ । तराईमा बस्ने एकदमै सीमान्तकृत मानिसहरु ती झाँगर हुन्, सतार हुन् वा मुसहर हुन्, त्यस्तै हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा वा जोसुकै हुन्, ती सबैबीचको एकता नै राष्ट्रियताको पहरेदारी हुन्छ, राष्ट्रिय स्वतन्त्रता र अखण्डताको लागि त्यो बल हुन्छ । नेपालीमा बस्ने नेपालीहरुको सुन्दर एकता कायम गर्न सक्यौं भने मात्र नेपालको राष्ट्रियता र देशभक्तिपूर्ण भावनाको विकास गर्छ भन्ने दृष्टिकोण नै नयाँ शक्तिको दृष्टिकोण हो ।

विकास र समृद्धि प्राप्त गर्ने आधारहरु के के हुन् ?

विकास र समृद्धिका लागि न्यूनतम् रुपमा राजनीतिक सेटलमेन्टको आवश्यकता हुन्छ । मलाई के लाग्छ भने अब राजनीतिक क्षेत्रमा ठूला मुद्दाहरु सेटलमेन्ट हुन बाँकी छैन, अहिले सतहमा देखिएका मुद्दाहरु ससाना नै हुन् । यी मुद्दाहरुलाई राष्ट्रको हितमा राष्ट्रको स्वतन्त्रता, स्वाधिनता र अखण्डतालाई कायम राख्दै कुनै प्रकारको गलत बिउ नरोप्ने हिसाबले समाधान गरियो भने मुलुक समृद्धितर्फ अगाडि बढ्छ । अबको मुख्य एजेण्डा विकास र समृद्धिलाई बनाउनैपर्छ ।

सबैले विकासको कुरा गर्छन् तर, अरुले गर्ने र नयाँ शक्तिले गर्ने समृद्धिको कुरामा के फरक छ ?

हेर्नुस् नयाँ शक्ति पार्टी भर्खरै जन्मिएको पार्टी हो । यसका विचार पनि विस्तारै परिमार्जित हुँदै जानु आवश्यक छ र समयक्रमसँगै त्यो हुँदै जान्छ पनि । कुनै पनि पार्टीको विचार सर्वकालिक र सदासर्वदा त्यही हुँदैन । नयाँ शक्तिको विचार पनि तरल नै छ र स्थिर हुन बाँकी नै छ । स्थिर भइसकेपछि पनि परिमार्जित हुँदै जान्छ । विचार भनेको एउटा गतिशिल विज्ञान पनि हो । नयाँ शक्तिले राजनीतिक मुद्दा उठाएको छ कि समृद्धिको मुद्दा उठाएको छ, त्यो हेर्नुपर्छ । उसको मुख्य जोड केमा छ ? समृद्धिको पनि निश्चित योजनासहित के गर्न सकिन्छ भनेर ल्याएको छ कि छैन त्यो हेर्नुपर्छ ? मलाई बताइदिनुस् कुन पार्टीले समृद्धिका कार्यक्रमहरु अगाडि सारेको छ ? राजनीतिक प्रतिवेदन र चुनावी घोषणापत्रमा लेखिएका होलान् तर व्यवहारिक रुपमा कार्यक्रम बनाएर लागू गरेको कहाँ छ ? नयाँ शक्तिको त्यसलाई कार्यरुपमा लैजाने योजना छ, यद्यपि त्यो प्रयोग हुन बाँकी नै छ, प्रयोगशालामा त गएकै छैन नि ।

विकास र पहिचानबीच कस्तो सम्बन्ध हुन्छ ?

विकास भनेको चाहिं अभावलाई समाधान गर्ने कुरा हो । अभाव नै समाधान भएन भने पहिचान कहाँ हुन्छ ? खान लाउन पाएको छैन, बस्ने सामान्य आश्रय छैन, छोराछोरीलाई उचित शिक्षादीक्षा दिनसकेको छैन, घरमा जाने बाटो छैन, खानेपानी छैन, बिजुली छैन भने कसैको पनि पहिचान स्थापित हुँदैन । पहिचान पनि मुख्य पक्ष नै हो, तर जीवनको प्रमुख आवश्यकता के हो ? म बाहुन हुँ, बाहुन भइरहनुपर्छ भनेर पनि हुन्छ र ? खाली पेट भएर पनि बाहुन, नांगो आङ भएर पनि बाहुन भइरहनुपर्छ भनेर मात्र हुँदैन । सामथ्र्य र क्षमतासहितको पहिचान मात्रै साँच्चिकै पहिचान हो । सामथ्र्य आर्जन नगरेसम्म संसारमै पहिचान रहँदैन । यसर्थ सामथ्र्य निर्माण गर्नुनै मुख्य कुरा हो । विकास गरेर सामथ्र्यवान भएपछि मात्र पहिचान सुरक्षित रहन्छ । सामथ्र्यसहितको पहिचानको चाहिं महत्वपूर्ण अर्थ राख्छ । सबैकुरा विकाससँग जोडिन्छ । जस्तो कि चेपाङ र राउटेको विकास र प्रगति भयो भने न उनीहरुको पहिचान पनि रहन्छ, उनीहरुको दैनिक जीवनमा आवश्यक पर्ने कुराहरुको व्यवस्थापन भएन, शिक्षादीक्षा भएन, उनीहरुलाई आधुनिक विकाससँग जोड्न सकिएन, आधुनिक विज्ञानसँग जोड्न सकिएन भने के उनीहरु यो समाजमा बाँच्न सक्छन् ? अनि नबाँचेसम्म कसरी रहन्छ पहिचान ?

तपाईंले नेपाली राजनीति अनि समाजको मसिनो अध्ययन गर्नुभएको छ, समृद्ध नेपालको परिकल्पना गर्दा तपाईंले देखेको तस्बिर कस्तो छ ?

१० वर्ष एउटा कल्पनाशील इमानदार राजनीतिक नेतृत्वले सरकार संचालन गर्ने अवसर पाउँदाखेरि तपाईंले कल्पना गरेको भन्दा धेरै फरक नेपाल बन्छ । यसका लागि प्रशस्त आधारहरु छन् । नेपालमा प्रशस्त संभावना छन् स्रोत साधन छन्, अन्तर्राष्ट्रिय सहयोग छ, बाहिरबाट पनि उद्योग व्यवसाय संचालन गर्न आउने छन् । हामीले विकासको एउटा धारणा बनाएर १० वर्षसम्म एउटा भिजनरी पार्टी र लिडरले सरकारमा रहेर काम गर्ने हो भने देश झलमल्ल नै हुन्छ । सामान्य उदाहरण लिउँ न, अहिले काठमाडौंमा लोडसेडिङ छैन, आखिर किन ? विद्युत प्राधिकरण त त्यही हो, यो अवधिमा विजुली उत्पादन कति बढ्यो ? केही उत्पादन थपियो होला र अलिकति भारतबाट आयात भयो होला । खै त लोडसेडिङ त हट्यो नि । कुलमान घिसिंङ, जसलाई म व्यक्तिगत रुपमा त चिन्दिन, उनले त्यो काम त गरे नि । के रहेछ त ? व्यवस्थापन, चुहावट र भ्रष्टाचार नियन्त्रणको कुरा न रहेछ आखिर । अलिकति शासनले दबाब दिँदा त केही हुँदोरहेछ नि । काठमाडौंका बाटो र गल्लीहरुमा एउटा गाडी छिर्न नसक्ने अवस्था थियो, तर डा. बाबुराम भट्टराईले बाटो विस्तारको योजना ल्याउनुभयो आखिर परिवर्तन त भयो नि । ठूलाठूला नेताहरु सडकमै सुत्दा पनि बाटो बनाउने अभियान त रोकिएन नि । हो, यहाँ समस्या मात्र होइन, संभावना पनि छ र गर्न पनि सकिन्छ भन्ने कुरा देखिन्छ नै । हामीले आफ्नै स्रोत साधनको उपयोग गरेर पनि धेरै गर्न सकिन्छ । हामी शून्यमा त छैनौं नि । हामीसँग भएको जनशक्ति संसारको विकसित देशहरुमा भएकोसँग हाराहारीमै छ । तिनको क्षमतालाई प्रयोग गर्ने वातावरण बनाउनु मुख्य कुरा हो ।

यी सबैलाई कार्यान्वयन गर्नका निम्ती राजनीतिक अस्थिरता मुख्य कारण हो, राजनीतिक स्थायित्व कसरी हासिल हुन्छ त अब ?

जतिबेला म एमालेमा थिएँ, हामीले जनताको बहुदलीय जनवादको बारेमा छलफल गर्दा हामी भन्ने गर्दथ्यौं, यो राज्य व्यवस्थाको पावर जतासुकै छरेर हुँदैन, अनि एउटा शक्तिशाली नेतृत्व भएन र शक्ति केन्द्रीत भएन भने हाम्रो जस्तो अविकसित मुलुकले विकास गर्न निकै कठिन हुन्छ । एउटा उच्चतम् लोकतन्त्रको अभ्यास गर्ने मानसिकतामा हामी अझै पुगेका छैनौं । लोकतन्त्रको बुझाई र प्रयोगलाई हामीले कत्तिको आत्मसात गर्न सकेका छौं ? हामी त पछौटे देशको नागरिक न हौं । उच्चतम् लोकतन्त्रको अभ्यास युरोप अमेरिका जस्ता विकसित देशहरुले त गर्न सकेका छैनन् भने हामी जस्ता देशका नागरिकले कसरी सक्छौं ? हो, लोकतन्त्रमा जनताको अधिकार सुनिश्चित गर्नुपर्छ तर शासन व्यवस्था त अलि कडा नै हुनुपर्यो नि । शासन स्थिर, कडा र शक्तिशाली पनि हुनुपर्यो नि, बल्ल परिवर्तन हुन्छ ।

यसको लागि व्यवस्था मुख्य हो वा नेतृत्व मुख्य हो ?

हेर्नुस् कहिलेकाहीं निरंकुश व्यवस्थाले पनि विकास गरेको छ, व्यवस्था आफैं निरंकुश पनि हुन्छ । तर, त्यस्तो व्यवस्थामा राजनीति नियन्त्रित हुन्छ । राजनीतिलाई अस्तव्यस्त बनाएर विकास गर्छु भन्यो भने त्यो संभव छैन । यसर्थ, यी दुईवटा कुराहरु व्यवस्था र नेतृत्वबीचमा समन्वय आवश्यक हुन्छ । अझ म त मुख्य गरी नेतृत्व र उसको टीम चाहिं सक्षम, इमानदार र राष्ट्रप्रति वफादार भयो भने जस्तो सुकै व्यवस्थामा पनि विकास चाहिं संभव हुन्छ भन्ने मान्यता राख्छु । त्यो व्यक्ति देशप्रति इमानदार, क्रियाशील, देख्न र गर्न सक्ने हुनुपर्यो ।

सरकारले चुनावको घोषणा गरेसँगै अहिले देशको राजनीतिक परिदृष्य अलिक जटिल जस्तो बनिरहेको छ, यसलाई कसरी समाधान गर्न सकिएला ?

सर्वसाधारण मतदाताहरुले स्वतन्त्र र निर्भिकतापूर्वक चुनावमा जाने वातावरण सरकारले बनाउनुपर्छ । कसरी बनाउने त्यो सरकारको काम हो । आम मतदाताले चाहिं निर्भिकतापूर्वक मतदान गर्ने वातावरण हुनुपर्छ । अहिले तराई मधेशमा जुन अवस्था छ, त्यो समस्या त समाधान गर्नुपर्यो नि सरकारले । चुनावको मनोविज्ञान राष्ट्रिय मनोविज्ञान हो, आम जनता चुनाव होस् भन्ने चाहन्छन् । अब राजनीतिक मठाधिसहरुको त आफ्नो हिसाब हुन्छ, उनीहरुले त प्लस माइनस हेर्ने हो नि । तर, आम मनोविज्ञान चाहिं चुनाव नै हो र सबै पक्षहरुलाई समेटेर चुनाव गर्नुपर्छ । त्यो जिम्मेवारी अनि दायित्व पनि सरकारको नै हो । चुनाव त सबैले चाहन्छन् नि । आन्दालनकारीले पनि त आखिर चुनाव नै चाहेको हुन्छ । आम मनोविज्ञान चुनाव हो त्यसको वातावरण सरकारले निर्माण गर्नुपर्छ ।

राजनीतिमा अब कति समय सक्रिय रहने योजना छ तपाईंको ?

हेर्नुस् राजनीतिमा त्यस्तो नापे तौले जस्तो त केही पनि हुँदैन । योजना आयोगले पञ्चवर्षीय योजना बनाए जस्तो राजनीतिक मान्छेले यति वर्ष गर्ने भन्ने योजना त बनाउँदैन । राजनीति भनेको यस्तो भेल हो, त्यसमा लागेपछि बग्नुनै पर्छ । त्यो भेललाई अनुकूल दिशातर्फ कसरी लैजाने भन्ने कुरा चाहिं राजनीतिक नेतृत्वको कुशलता हो । यति वर्ष राजनीति गर्ने अनि त्यसपछि अवकाश लिने, पेन्सन लिने भन्ने त राजनीतिमा कहाँ हुन्छ र ? जतिसम्म आवश्कता महशुस हुन्छ र सबै कुराले साथ दिन्छ राजनीतिमा होमिएपछि त्यही गर्ने हो ।