‘अन्ध राष्ट्रवादले देशलाई कमजोर बनाउँछ’

- १४ जेठ २०७४

महेन्द्र पासवान

संयोजक, प्रदेश नं. २, नयाँ शक्ति पार्टी नेपाल ।

नयाँ शक्ति पार्टी, नेपालका केन्द्रीय कार्यकारी सदस्य तथा प्रदेश नं. २ का संयोजक महेन्द्र पासवानसँग समसामयिक राजनीतिक एवं मधेशमा स्थानीय तह निर्वाचनको तयारीका विषयमा नयाँ शक्ति नेपाल अनलाइनका लागि गरिएको कुराकानीको सम्पादित अंश –

तपाईंको राजनीतिक पृष्ठभूमि के हो ?

म सानैदेखि राजनीतिको प्रभावमा जोडिएको व्यक्ति हुँ । २०४०/४२ सालतिर म सानै छँदादेखि गाउँमा पञ्चायत विरोधी आन्दोलन चलेको थियो र गाउँमा सामन्तहरुको उत्पीडनका विरुद्ध पनि विभिन्न संघर्षहरु चल्ने गर्दथ्यो । ती सबै संघर्षहरुको प्रभावले होला म सानैदेखि राजनीतिक रुपले जागरुक बन्न पुगेँ । सामान्तहरुको दमन र उत्पीडनको कारणले बाल्यकालदेखि नै एउटा चेतना उत्पन्न भयो र राजनीतिक रुपले प्रभावित म भएँ । अर्को म पञ्चायतको तानाशाही व्यवस्थाविरुद्ध गाउँघरमा चलेको आन्दोलनको जागरणले पनि राजनीतितर्फ आकर्षित भएँ ।

२०४६ सालको आन्दोलनको उत्कर्षको बेलामा मधेशका गाउँघरका बाटोघाटोमा व्यापाक मात्रामा कालोझण्डा गाडेका थियौं र त्यहीँबाट सक्रिय रुपमा राजनीतिक यात्रा सुरु भएको हो । २०४९।५० सालतिर क्याम्पसका वालहरुमा पर्चा, पम्प्लेट, पोस्टरिंग इत्यादि गरियो साथै विद्यार्थी संगठन निर्माणतिर अग्रसर भइयो र, २०५४ सालसम्म म अखिल क्रान्तिकारीको विद्यार्थी राजनीतिमै सक्रिय थिएँ । त्यसपछि भूमिगत भएर माओवादी जनयुद्धमा सक्रिय भएँ । २०५८ को अन्त्यतिर तत्कालीन नेकपा माओवादीको केन्द्रीय समिति सदस्य भएँ र बारा, पर्सा, रौतहत, धादिङ, मकवानपुर आदि जिल्लाहरुको सेक्रेटरी हुँदै त्यस क्षेत्रको ब्यूरो इन्चार्ज भएर काम गरेँ ।

२०६२/६३ को जनआन्दोलनमा बारा पर्सामा जनपरिचालन गर्ने मुख्य काम हामीले नै गर्यौं । जनआन्दोलनको सफलतासँगै बनेको २०६३ को अन्तरिम संसदमा माओवादीको तर्फबाट म व्यवस्थापिका संसद सदस्य भएँ र ०६४ सालको पहिलो संविधानसभाको निर्वाचनमा म सिरहाको क्षेत्र नं. ५ बाट सभासद् निर्वाचित भएँ । त्यसपछि माओवादी अध्यक्ष प्रचण्डको नेतृत्वमा बनेको सरकारमा भूमिसुधार मन्त्री भएर काम गरेँ । त्यसपछि झलनाथ खनाल नेतृत्वको सरकार बन्दा पनि म मन्त्रिपरिषद्मा परेको थिएँ तर, ९ महिनासम्म म र जयपुरी घर्ती सरकारमा गएनौं । त्यो बेला हामीले मन्त्रीपरिषद्मा समावेशी र जनमतको कदर गर्नुपर्ने भन्दै केही मुद्दा उठाएका थियौं । ९ महिनापछि बल्ल हाम्रो संघर्ष सफल भयो र म पुनः मन्त्री भएँ ।

पछि माओवादी पार्टी फुटेपछि म केही समय वैद्य नेतृत्वको माओवादीमा सामेल भएँ, देशमा पुनः जनयुद्धको आवश्यकता देखेर । तर, उहाँले पनि गरिखाने जस्तो देखिएन र म फर्किएँ । २०७२ मा नयाँ संविधान जारी भएसँगै संविधान पूर्ण छैन भनेर वक्तव्य निकाल्यौं । संविधान निर्माणमा संवाद समितिको सयोजकको हैसियतले अहोरात्र खट्नुहुने डा. बाबुराम भट्टराईले पनि संविधानलाई आधा गिलास खाली, आधा गिलास भरि भन्नुभएको थियो । उत्पीडित वर्ग, जाति र समुदायहरुको हक अधिकारका लागि डा. बाबुराम भट्टराई जति लड्नुभयो तर, उहाँलाई संविधान नबनाउन षड्यन्त्र गर्यो भनेर विष वमन भयो । पछि हामीले नै डा. बाबुराम भट्टराईलाई लौ नयाँ तरिकाले सोच्नुपर्यो, देशलाई राष्ट्रलाई लिड गर्नुपर्छ भन्यौं र म लगायत माओवादीबाट धेर साथीहरु नयाँ शक्ति निर्माणको अभियानमा संलग्न भयौं ।

तपाईंले आफू बाल्यकालदेखि नै राजनीतिक रुपले सक्रिय भएको बताउनुभयो । यहाँको राजनीतिक पृष्ठभूमिले पनि त्यही देखाउँछ । तपाईं २५/३० वर्षदेखि राजनीतिमा सक्रिय रहनुभएको छ, तपाईंले जनतालाई के दिनुभयो र के पाउनुभयो ?

यो देशमा हामीले राजनीतिक संघर्षको एउटा उभार ल्यायौं र नै देशमा ठूलो परिवर्तन संभव भयो । संघीयता, धर्मनिरपेक्षता, गणतन्त्र, समानुपातिक समावेशी जस्ता अधिकारहरु सुनिश्चित भएका छन् । यी सबै उपलब्धिहरु हामीले गरेको राजनीतिक संघर्षको उपलब्धि नै हो । यसर्थ, यसमा म आफूलाई पनि गर्वको महशुस हुन्छ । यद्यपि हाम्रो लक्ष्य भनेको जनवाद र समाजवाद प्राप्त गर्ने थियो तर, अहिले नेपालमा निम्न पूँजीवादी चिन्तनले बढी ग्रसित हुँदा देशको राजनीति सहि दिशातिर जान नसकेको महशुस भएको छ । व्यक्तिगत रुपमा राजनीतिमा लागेर मैले केही आर्जन गरेको त होइन तर, आम शोषित, पीडित समुदायमा जुन खालको राजनीतिक जागरण पैदा भएको छ, त्यो सबै हामीले गरेको राजनीतिक संघर्षको परिणाम नै थियो भन्ने कुरामा म विश्वास गर्छु र यसमा गर्व पनि लाग्छ । यो देशमा सामन्ती राजतन्त्रको अन्त्य भयो र गणतन्त्र आयो, यो नै देशको लागि ठूलो उपलब्धि हो ।

यो देशमा राजनीतिक परिवर्तनका लागि धेरै संघर्ष भयो र तपाईं आफू पनि त्यो राजनीतिक रुपान्तरणको संघर्षमा सामेल हुनुभयो । यसले पनि नपुगेर अब फेरि नयाँ शक्ति निर्माण गर्नुपर्छ भन्ने आवश्यकता कसरी महशुस भयो त ?

माओवादी पार्टीको नेतृत्वमा जुन जनयुद्ध भयो र हामी त्यही प्रक्रियाबाट राजनीतिमा जोडिएका हौं । जनयुद्धले यो देशमा राजनीतिक व्यवस्थाको परिवर्तन त भयो तर, जुन शान्ति प्रक्रियामा माओवादी आयो, त्यसयता माओवादी पार्टीको रुपमा हैन मठमन्दिर जस्तो बन्न पुग्यो । किनकि पार्टी जसरी चल्नुपर्दथ्यो, जुन पद्धति र सामुहिकतामा चल्नुपर्दथ्यो, त्यस्तो हुन सकेन । अध्यक्षले मन्दिरको पूजारीले जस्तो एकोहोरो शैलीमा निर्णय गर्ने र अरुले केवल सुन्ने मात्र हुन गयो । उहाँले जे निर्णय गर्यो त्यही लागू हुने अरुले भनेको कुरा लागू नहुने भयो, त्यसकारण त्यो पार्टी मठमन्दिर जस्तो भइसकेपछि यहि संरचनाबाट देश अगाडि बढ्न सक्दैन भन्ने महशुस गरेर नयाँ पार्टीको आवश्यकता भएको हो ।

पार्टीको सांगठनिक संरचना जुन थियो, त्यसबाट देश अगाडि बढ्न सक्दैन । जुन विचार र सिद्धान्त, वर्ग र जातिको हक अधिकारका लागि लड्ने पार्टी हुनुपर्ने हो त्यो धरातल छाडिसकेपछि हामीले नयाँ पार्टीको आवश्यकता महशुस गर्यौं । राष्ट्रलाई नयाँ ढंगले नयाँ पार्टी बनाएर बाँकी मुद्दाहरुलाई सम्बोधन गरेर अघि बढ्ने, भ्रष्टाचारको अन्त्य गर्दै देशको विकास र समृद्धितिर अगाडि बढ्नकै लागि नयाँ नेतृत्वसहितको नयाँ पार्टीको आवश्यकता महशुस गरेर हामी नयाँ शक्ति निर्माणमा लागेका हौं ।

नयाँ शक्तिले विकास र समृद्धिको राजनीतिक गर्ने भनिरहेको छ, के विकास र राजनीति अलग अलग विषय हुन् ?

हेर्नुस् मुख्य कुरा राजनीति नै हो । राजनीतिले सबैको कमाण्ड गर्छ नै । संसारको जतिसुकै देशहरु छन् त्यहाँको राजनीतिले नै त्यो देश संचालित भइरहेको छ । त्यो जुनसुकै राजनीतिक दर्शन र विचार किन नहोस् सबै राजनीतिले नै सहि कुराको निर्धारण गर्छ । आर्थिक समृद्धि र विकास पनि राजनीतिसँगै जोडिएर आउने हो । यसर्थ राजनीति सहि भएर नै देशले विकासको मार्ग समात्ने हो । यस मानेमा राजनीति नै प्रधान हो ।

तपाईं नयाँ शक्ति पार्टीको २ नम्बर प्रदेश संयोजक हुनुहुन्छ, त्यहाँ नयाँ शक्ति पार्टीको स्थिति के कस्तो छ ? र संगठन निमार्ण कसरी अघि बढिरहेको छ ?

२ नम्बर प्रदेशमा नयाँ शक्तिको पोजिशन राम्रो छ । त्यहाँको सबै जिल्लामा हाम्रो सांगठनिक आधार तयार भइसकेको छ । सांगठनिक स्वरुप हाम्रो बलियो छ । नयाँ संरचनासहित हाम्रो सांगठनिक स्वरुप निर्माण भएको छ । रौतहट, महोत्तरी, धनुषा, सिरहा, सर्लाही, बारालगायतका सबैजसो जिल्लाहरुमा संगठन राम्रो बनेको छ । हामीले संगठन निर्माणकै क्रममा दुई वटा अभियान संचालन गर्यौं । पहिले हामीले हुलाकी मार्गकेन्द्रित अभियान संचालन गरेका थियौं भने पछिल्लो समयमा हामीले पूर्वपश्चिम राजमार्ग केन्द्रीत अभियान संचालन गरेर पार्टीको सांगठनिक स्वरुपलाई मजबुद बनाएका छौं ।

यो प्रदेश अलिकति संवेदनशील पनि छ, किनकि यहाँ संविधान जारी पछि लामोसमय आन्दोलन पनि चल्यो र आन्दोलनमा धेरै मानवीय क्षति पनि भयो । अझै पनि त्यसको प्रभाव बाँकी नै छ । यहाँको समस्याको निकास के हो ? अझै पनि केही आशंका छ चुनाव हुन्छ कि हुँदैन भन्ने, तपाईं के भन्नुहुन्छ ?

मुख्य कुरा शासक वर्गले मधेशलाई हेर्ने दृष्टिकोण गलत छ । मधेशका जनता पनि नेपाली हुन् । तिनले पनि अधिकार पाउनुपर्छ र त्यहाँका जनताले पनि म नेपाली हुँ भनेर महशुस गर्न पाउनुपर्यो भन्ने नै त्यहाँको मुख्य माग हो । के यो माग गलत हो ? उनीहरुलाई दोस्रो दर्जाको नागरिकको रुपमा हेर्ने शासकीय दृष्टिकोण नै गलत छ, सबैभन्दा पहिले त्यो सच्याउनुपर्छ ।

दोस्रो कुरा जनताले सात सालदेखि अहिलेसम्म आन्दोलन गरिरकेको छ, किन ? यसबाटै थाहा हुन्छ यहाँको राज्यसत्तामा समस्या छ भन्ने कुरा त । त्यसकारण अहिलेसम्म देशमा विद्रोह वा आन्दोलन किन भयो भन्दा राज्यसत्ताबाट राजनीतिक, आर्थिक, सांस्कृतिक, सामाजिक उत्पीडनबाट मुक्त भएर अधिकार पाउनका लागि लडाईं चलेको हो । तर, शासक वर्गले त्यो सोचेको देखिँदैन । तराई मधेशका जनताले गरेका आन्दोलन जायज र न्यायपूणै थियो । ती सबै नेपाली हुन् र शासकवर्गको सोच, चिन्तन र प्रवृत्ति नै समस्या छ । महेन्द्रीय राष्ट्रवाद र अन्धराष्ट्रवादले गाँजेकै कारण यी समस्यालाई समाधान नगरिएको हो ।

यी आन्दोलन पहिलो त जनतालाई राज्यसत्ताले जुन व्यवहार गरेको थियो त्यो अधिकार पाउनका लािग देशमा संघीयताको जरुरी थियो र त्यो सीमांकनसँग जोडिएको विषय हो । जनतालाई अधिकार दिने हिसाबले राज्यको पुनःसंरचनासँग हुनुपर्दथ्यो । तर, त्यो हुन सकेन र नै त्यहाँ समस्या देखियो । अहिले पनि माग त त्यही हो नि । तर, मूल चिजलाई डाइभर्ट गरेर अन्तै मोड्न खोजिएको छ । अधिकारदिंदा देश नै टुक्रिन्छ भनेर भ्रम फैलाइएको छ । यस्तो प्रवृत्तिले देश बलियो बन्दैन । यस्तो अन्ध राष्ट्रवादले देशलाई कमजोर बनाउँछ ।

त्यसैले नयाँ शक्तिले तराई, मधेश, पहाड र हिमाललाई जोड्ने नीति ल्याएको छ । राज्यको पुनःसंरचनाका लागि र सत्ताको पुनःसंरचनाका लागि जनताले आन्दोलन र संघर्ष गरेका थिए । अब पाएको उपलब्धिलाई संरक्षण गर्दै बाँकीको लागि संघर्ष गर्नुपर्ने आवश्यकता देखिन्छ । अब संविधान संशोधनमार्फत असन्तुष्ट पक्षहरुको मागलाई सम्बोधन गरेर अघि बढ्दा नै देशमा स्थायित्व आउनेछ र द्वन्द्वको समाधान हुनेछ । साथै, देश आर्थिक विकास र समृद्धितिर अग्रसर हुनेछ । नयाँ शक्तिको धारणा पनि यहि हो ।

मधेशी समुदायको मागको सम्बन्धमा त्यहाँ राजनीति गर्ने खासगरी मधेशवादी दलहरु नै अलमलमा छन् र उनीहरु आफैंमा मिलेको देखिएन नि किन ?

मधेशका जनता चाहे थारु, मधेशी, मुस्लिम जोसुकै होउन् त्यहाँको जनताले आफ्नो अधिकारका लागि लडार्इं लडेको हो र तिनीहरुले आफ्नो अधिकार बुझेका छन् । राजनीतिक चेतनाका हिसाबले उनीहरु नेता र दलभन्दा अगाडि देखिन्छन् । तर, त्यसलाई ठीक ढंगले नेतृत्व प्रदान गर्ने नेता मधेशमा भएनन् । जसको कारणले त्यहाँको आन्दोलन कमजोर हुन गयो । आन्दोलन कमजोर भएकै कारणले जनताको अधिकार सुनिश्चित हुन सकेन ।

मधेशमा रहेको नेतृत्वको संकटलाई नयाँ शक्तिले पूरा गर्न सक्छ ?

निश्चय नै अहिलेको विकल्पको रुपमा नै नयाँ शक्ति स्थापना भएको हो । तर, नयाँ शक्तिले जुन हिसाबले अघि बढ्नुपथ्र्यो त्यहाँ पनि अलिकति अलमल भएको जस्तो देखिएको छ । फेरि पनि नयाँ शक्तिको के स्पष्ट धारणा छ भने मधेशमा बाँकी रहेका मुद्दाहरुलाई क्रमशः संविधान संशोधनमार्फत सम्बोधन गर्ने र समस्या समाधान गर्ने । देशैभर व्याप्त भ्रष्टाचारको नियन्त्रण गरेर आर्थिक विकास र समृद्धिको दिशातिर देशलाई लैजाने जुन योजना छ, त्यसको कार्यान्वयनसँगै नयाँ शक्तिले मधेशमा पनि नेतृत्व स्थापित गर्नेमा विश्वस्त हुने ठाउँ भने पक्कै पनि छ ।

खासगरी संविधानप्रतिको असन्तुष्टिका विषयहरु जुन छन्, अहिले त्यो अलिकति अफ्ठेरो अवस्थामा परेको जस्तो देखिन्छ । किनकि शासकीय चिन्तनले त्यसलाई समाधानको दिशातिर भन्दा पनि अड्काउने दिशातिर लगिरहेको छ । यसमा समाधानमुखी उपाय खोज्नुपर्छ भन्ने हाम्रो धारणा हो ।

मधेशका मुद्दाहरुलाई समाधान गर्ने वैधानिक प्रक्रिया संविधान संशोधन नै हो तर, अहिले नै त्यो हासिल हुने देखिँदैन । यसमा निकासको लागि बिचको बाटो के हो ?

हेर्नुस्, मधेशमा कतै न कतै ठूलो चलखेल छ । प्रत्यक्ष अप्रत्यक्ष रुपमा त्यस्तो चलखेल भएको देखिन्छ । यदि सहि ढंगबाट मधेशका मुद्दा सम्बोधन भएन भने अबको १० वर्षभित्र मुलुक विखण्डनको दिशातिर जान सक्छ । त्यो खतरालाई नजरअन्दाज गर्न मिल्दैन । किनकि मधेशमै पनि मधेशी दलहरुको अहिलेको भूमिका जुन छ त्यो पनि कमजोर हुन्छ । यदि दलहरुको भूमिका कमजोर भयो भने त्यहाँ अतिवादी सोचले स्थान लिन्छ । यदि मधेशका मुद्दाहरु समाधान भएनन् भने दुई अतिवादी सोच एउटा केपी ओलीको र अर्को सीके राउतको अतिवादी सोच हावी हुने खतरा देखिन्छ । यी दुई अतिवादी सोचले देशको हित गर्दैन । त्यसले विखण्डनकै खतराको विजारोपण गर्नेछ । यदि समस्याको सहि निकास निस्किएन भने राजनीतिको ठाउँ अतिवादी सोचले लिनसक्छ । हो, हामीले यहिंनेर शतर्क हुनुपर्छ र देशलाई बचाउने र हिमाल, पहाड, तराई मधेशबीचको राष्ट्रिय एकता कायम गर्नुपर्छ । नयाँ शक्तिले त्यही भनिरहेको छ ।

किन मधेशवादी दलहरुले त्यो ठाउँ लिन नसकेका हुन् ?

मधेशवादी दलहरु आफैं चल्न सकेका छैनन्, उनीहरु कतै न कतैबाट चलेको जस्तो देखिन्छ । त्यसकारण आन्दोलन पनि वार या पारको अवस्थामा पनि पुग्न सकेको छैन । जनताले त बलिदानी गर्यो । तर, त्यो बलिदानीले सार्थकता पाउन सकेको छैन । शासक वर्ग पनि लचिलो हुनु पर्ने हो त्यो हुन सकेन । अब आशा र भरोसा भनेको संविधान संशोधन नै हो । संशोधनमार्फत सीमांकनलगायतका विषयहरु टुंगोमा पुर्याएर समस्या हल गर्नुपर्छ । चुनावभन्दा पहिले नै त्यो गर्दा राम्रो हुन्थ्यो । यदि त्यो भन्दा पछि भए तापनि सबै चुनावमा भाग लिएर ओली र सीके राउत प्रवृत्तिका विचारहरु जुन छन् त्यसलाई मधेशबाट विस्थापन गर्न जरुरी छ ।

अहिले मधेशको मनोविज्ञान र माहोल कस्तो छ ? चुनावी माहोल छ कि आन्दोलनको ?

मान्छेहरुमा संविधान संशोधन भएर चुनाव भए राम्रो हुन्थ्यो भन्ने नै छ । फेरि पनि परिस्थितिले जसरी चुनावको पक्षमा जनमत ओइरिरहेको छ, जनता त्यतातिर आकर्षित छन् नै । यद्यपि त्यहाँ आफ्नो अधिकारको लागि आन्दोलित हुने अवस्था पनि विद्यमान छ ।

मधेशमा चुनावी तयारी कस्तो छ ?

नयाँ शक्ति चुनावका लागि तयारी अवस्थामा रहेका छौं । हामीले प्रदेशको बैठक बसेर चुनावी रणनीति र कार्यनीति तयार गरेर सबै जिल्लाहरुको बैठक बसेर तयारी गरिसकेका छौं । अहिले हामी उम्मेदवार चयनकै प्रक्रियामा छौं । १५ गतेसम्म यो प्रक्रिया टुंग्याएर हामी चुनावी अभियानमा लाग्नेछौं । समाजवादी फोरम, कांग्रेस, एमालेलागतयका दलहरु पनि चुनावी अभियानमै छन् यद्यपि भर्खरै बनेको राजपाको अवस्था भने अलि क्लियर देखिएको छैन । यद्यपि हामी चुनावी अभियानकै तयारीमा जुटेका छांै ।

तराईमा मधेशका जनताले किन नयाँ शक्तिलाई मत दिने ?

यदि नयाँ शक्तिले मत पाएर विजयी भयो भने हामी यो स्थानीय तहको निर्वाचन जुन छ, आर्थिक समृद्धि र विकासको योजना लागू गर्नका लागि हामीले जनताको मत पायौं भने नमूना बनाएर लागू गर्न सक्छांै । पछि प्रदेश र केन्द्रमा पनि अभिमत पाएको खण्डमा हामीले साँच्चिकै देशलाई नयाँ स्वरुपमा लैजानेछौं ।

२ नम्बर प्रदेशको विकास र समृद्धि केन्द्रीत योजना के कस्ता छन् ?

पहिलो कुरा हामीले एउटा योजना बनाएर प्रादेशिक स्तरमा लैजाने छौं । साथै प्रदेशको संभावनाहरु के के हुन् ? त्यसको खाका तयार गरेर हामी अघि बढ्नेछौं । हामीले कृषि, पर्यटन, उद्योग व्यापार जस्ता क्षेत्रको विकासमार्फत देशलाई समृद्ध बनाउने योजना अगाडि सारेका छौं । अहिले हरेक घरबाट एक कम्तीमा एक जना युवा रोजगारीका लागि विदेशिएको छ, ती विदेशिने जनशक्तिलाई स्वदेशमै आकर्षित गर्नसक्नुपर्छ । तिनलाई कृषिमा आकर्षित गर्ने र कृषिमा आधारित उद्योगकलकारखानाहरु खोल्ने र राजगारी सिर्जना गर्ने योजना छ । त्यस्तै कृषि क्षेत्रमा धान, मकै, गहुँ जस्ता खाद्यान्न तरकारी फलपूmल उत्पादनको लागि उपयुक्त स्थान हो । त्यो उत्पादनलाई व्यवस्थित गरेर आधुनिक कृषि प्रणालीको विकास गर्ने र मधेशलाई समृद्ध बनाउने हाम्रो योजना रहेको छ । त्यस्तै पर्यटनको हिसाबले पर्यावरण र धार्मिक पर्यटनका लागि यो प्रदेश निकै उपयुक्त हो । हामीले पर्यटनको विकास गरेर पनि मनग्ये आम्दानी गर्नसक्छौं ।