‘नयाँ शक्ति सशक्त ढंगले चुनावी अभियानमा केन्द्रित छ’

- १८ जेठ २०७४

  • देवीप्रसाद ओझा,

    उत्प्रेरक, १ नं. प्रदेश, नयाँ शक्ति पार्टी, नेपाल

दाेस्रो चरणको स्थानीय तह निर्वाचनको तयारीमा जुटिरहेको नयाँ शक्ति पार्टीको १ नम्बर प्रदेशको समग्र अवस्था कस्तो छ ?

१ नम्बर प्रदेशमा १४ वटा जिल्लाहरु पर्दछन् । ती सबै जिल्लामा नयाँ शक्ति, पार्टी नेपाल यतिबेला चुनाव प्रचार–प्रसार अभियानमा तीव्रताका साथ लागेको छ । हामी हरेक गाउँपालिका, नगरपालिकामा प्रचार प्रसारमा केन्द्रित भइरहेका छौं । प्रचारप्रसार कार्य वडास्तर वा अझ त्यहाँ भन्दा तल गाउँस्तरमा समेत भइरहेको छ । अर्को कुरा निर्वाचनमा हामीले संघीय समाजवादी फोरमसँग चुनावी तालमेल गर्ने तयारीमा पनि छौं । त्यसो भएको हुनाले नयाँ शक्ति पार्टी, नेपाल र संघीय समाजवादी फोरम नेपालको संयुक्त रुपमा चुनावी प्रचार प्रसार अभियान पनि चलिरहेको छ । यो प्रदेशका कतिपय स्थानमा हामीले स्वतन्त्र उम्मेदवारी दिने तयारी पनि भइरहेको छ । समग्रमा भन्नुुपर्दा नयाँ शक्ति पार्टी, नेपाल प्रदेश नम्बर १ मा तीव्र ढंगले चुनावी अभियानमा केन्द्रित भइरहेको छ ।

तपाईले संघीय समाजवादी फोरमसँग निर्वाचनमा तालमेल हुने कुरा गर्नुभयो साथै कतिपय स्थानमा स्वतन्त्र ढंगले पनि निर्वाचनमा जाने तयारी भइरहेको कुरा गर्नुभयो । स्थानीय तहको सबै स्थानमा तालमेल हुन नसक्ने अवस्था हो त ?

हामी सकेसम्म सबै ठाउँमा चुनावमा तालमेल गर्ने तयारीमा छौं । हामी संघीय समाजवादी फोरमसँग मात्रै होइन, प्रदेश नम्बर १ मा अन्य राजनीतिक शक्तिहरु पनि छन्, जोसँग हाम्रो चुनावी तालमेल हुनसक्ने सम्भावना छ । केही केही ठाउँमा भने तालमेलमा समस्या देखिने अवस्था छ । समस्या देखिएका त्यस्ता ठाउँहरुमा हामी स्वतन्त्र रुपमा पनि उम्मेदवारी दिने तयारी गरिरहेका छौं । ती ठाउँहरुमा पनि हाम्रो चुनावी अभियान तीव्र रुपमा अगाडि बढिरहेको छ ।

तपाईहरुले नयाँ शक्ति पार्टी, नेपाल यो मुलुकको बैकल्पिक राजनीतिक शक्ति हो भनेर जनतालाई कसरी विश्वास दिलाउनुहुन्छ ?

हामीले जनतालाई हामी वैकल्पिक राजनीतिक शक्ति हौं, यो पार्टी जनताको पक्षमा काम गर्नकै लागि गठन भएको हो भनेर विश्वास दिलाउन आवश्यक छ । खासगरी भन्ने हो भने नयाँ शक्ति पार्टी, नेपाल जनताको पक्षमा काम गर्नकै लागि भनेर गठन भएको शक्ति हो । यो पार्टी गठन भएको एक वर्ष मात्रै पुग्दैछ । हामी यो अवधिमा संगठन निर्माणको काममा लागिरहेका छौं । संगठन पनि भर्खर भर्खर निर्माण हुँदैछ । आम जनताको बीचमा नयाँ शक्ति पार्टी, नेपालको विचार अझै पनि पुगिसकेको छैन । तर पनि आम जनताको बीचमा नयाँ शक्ति पार्टी, नेपाल स्थापित भइरहेको छ । अहिले भर्खरै हेर्‍यौं भने पनि पहिलो चरणमा निर्वाचन भएका अधिकांश स्थानीय तहहरुमा नयाँ शक्ति पार्टी, नेपाल जनताको बीचमा पुगेको छ । दोस्रो चरणको निर्वाचन हुने जति पनि क्षेत्रहरु छन्, ती ठाउँमा नयाँ शक्ति पार्टी, नेपाल वैकल्पिक राजनीतिक शक्तिको रुपमा मुलुकभर स्थापित भएको छ । साथसाथै संगठन निर्माणको आधार पनि तयार भएको छ ।

पहिलो चरणको निर्वाचनमा तपाईहरुले सोचेजस्तो परिणाम त प्राप्त भएन नि ?

हो, हामीले विश्वास गरेको र आम जनताले पनि चाहेको कुरा पहिलो चरणमा हामीले सोचेजस्तो परिणाम आउन सकेन । यसका केही कारणहरु छन् । त्यसमध्ये मुख्य कारण भनेको हाम्रो पार्टीलाई स्थानीय तहको निर्वाचनमा चुनाव चिन्ह नदिनु पनि परिणाम सोचेजस्तो नआउनुको मुख्य कारण हो । हामीलाई चुनाव चिन्ह नदिएर सरकारले बदमासी र फट्याइँ काम गरेको छ । चुनाव चिन्ह नदिएपछि प्रभावकारी ढंगले चुनाव प्रचारको काम हुन सकेन । हामीले जे जति तयारी गर्नुपर्ने हो, त्यति तयारी गर्न पाएनौं । अन्य पूराना दलहरुले जे जसरी साधन स्रोतको प्रयोग गरेर चुनावमा केन्द्रित भए हामीसँग साधनस्रोतको पनि अभाव रह्यो । कतिपय ठाउँमा पूरानो मनोविज्ञानले पनि काम गरेको छ । वैकल्पिक राजनीतिक शक्तिलाई नै जनताले रोज्नुपर्ने वातावरण निर्माण गर्ने सन्दर्भमा हाम्रो पनि केही कमी कमजोरी हुन पुग्यो । हामीले त्यसखालको व्यवस्थापन गर्न सकेनौं । जसले गर्दा पहिलो चरणको निर्वाचनमा सोचेजस्तो परिणाम आउन सकेन । यद्यपि यो चरणको निर्वाचनले हामीलाई धेरै कुराको पाठ सिकाएको छ । जुन पाठबाट हामीले दोस्रो चरणको निर्वाचनमा बढी भन्दा बढी सफलता हासिल गर्न सक्नेछौं ।

तपाईहरु नै सही र वैकल्पिक राजनीतिक शक्ति हो भन्ने कुरा जनतालाई कसरी बुझाउनु हुन्छ त ?

हो हामीले जनतालाई हामी नै सही र वैकल्पिक शक्ति हो भन्ने कुरा बुझाउनै पर्छ । अर्को कुरा हामी खासगरी जनताकै शक्ति हो । यो शक्ति जनताको पक्षमा काम गर्नकै लागि निर्माण भएको हो । नयाँ युगको लागि नयाँ शक्तिको खाँचो छ । आर्थिक विकास र समृद्धिका निम्ति पनि नयाँ शक्तिको आवश्यकता छ । जनताले यो कुरा बुझिसकेका छन् । नयाँ शक्ति जनताकै शक्ति भएकाले पनि आफैंले आफैंलाई जित्नका लागि नयाँ शक्तिलाई भोट दिनुपर्छ भन्ने कुरा हामीले जनतालाई बुझाइरहेका छौं । हामीले यसअघि पहिलो चरणमा निर्वाचन भएका प्रदेशका स्थानीय तहको निर्वाचनबाट पनि शिक्षा प्राप्त गरेका छौं । त्यसो भएको हुनाले जनतालाई हामी नै वैकल्पिक राजनीतिक शक्ति हौं । हाम्रो विजय भएमात्रै मुलुकमा आर्थिक विकास र समृद्धि सम्भव छ भन्ने कुरा बुझाउँदै गएका छौं । जनताले हाम्रो कुरा सही छ भन्ने हिसावले पनि बुझिरहेका छन् । तर जनताको बीचमा प्रभावकारी रुपमा हामी जान सकिरहेका छैनौं । यो चुनावले हामीलाई यो काम पूरा गर्न सघाएको छ ।

०००