‘राजविराजलाई सुन्दर, समृद्ध, हरियालीयुक्त र सामाजिक विकृतिमुक्त नगर बनाउँछु’

- २९ भदौ, २०७४

मीना ठाकुर

उम्मेदवार प्रमुख, राजविराज नगरपालिका


आगामी असोज २ गते हुन गइहरेको स्थानीय तह निर्वाचनका लागि नयाँ शक्ति पार्टीको तर्फबाट सप्तरीको राजविराज नगरपालिका प्रमुख पदका उम्मेदवार हुनुहुन्छ मीना ठाकुर । विगत चार दसकदेखि शिक्षा, कला, साहित्य, सांस्कृतिक एवं सामाजिक क्षेत्रमा लामो अनुभव संगाल्नु भएकी ठाकुरसँग उहाँको राजनीतिक यात्रा र राजविराज नगरको विकासमा केन्द्रीत रहेर नयाँ शक्ति नेपाल अनलाइनका लागि मनिकर कार्कीले गरेकाे कुराकानीको सम्पादित अंशः

विगत ४ दसकसम्म शिक्षा, कला एवं सांस्कृतिक क्षेत्रमा योगदान गर्नुभयो, यो सामाजिक सेवाको क्षेत्र छाडेर तपाईं अहिले राजनीतिमा प्रवेश गर्नुभएको छ । राजनीतिमा प्रवेश गर्न तपाईंलाई केले आकर्षित गर्यो ?

मलाई राजनीतिमा प्रवेश गर्न आकर्षित गर्नेकुरा मुख्य गरी महिलाको सवाल नै हो । महिलाहरुको जुन सोच छ, यहाँको सामाजिक संस्कारका कारण महिालहरु शिक्षित भएर पनि उनीहरुको सोच चाहिं महिलाहरु जहिल्यै पनि दोस्रो दर्जामै रहनुपर्छ भन्ने छ । यो पुरानो सोचलाई हटाउनुपर्छ र महिलालाई पनि अब सशक्तिकरण गर्नुपर्छ भन्ने विचार पलाएर नै म राजनीतिमा लागेको हुँ । हामी महिलाहरु ५० प्रतिशतको हकदार हौं, तर पनि हामीलाई ३३ प्रतिशत मै सीमित तुल्याइएको छ, त्यो पनि कानून र घोषणामा मात्रै सीमित छ । महिलाहरुलाई राज्यका अंगहरुको निर्णायक पदमा पुर्याउनुपर्छ भन्ने सोचले नै म राजनीतिमा लागेको हुँ ।


साथै यो नगरको समग्र विकासको गतिविधिसँगसँगै महिलाहरुको हकहितको संरक्षण, उनीहरुलाई प्रोत्साहित गर्ने, हाम्रो जुन सामाजिक संस्कार छ, त्यसलाई परिवर्तन गर्ने र समग्र समाज रुपान्तरणको पक्षमा अघि बढ्नको लागि नै नयाँ सोच, नयाँ जोस जाँगरसहित राष्ट्र निर्माणमा योगदान दिउँ भनेर नै मैले राजनीतिक यात्रा सुरु गरेको हुँ ।

मतलब सामाजिक क्षेत्रमा रहेर जति पनि काम गर्नुभयो त्यसले मात्र पुग्दैन रहेछ, यसको लागि अझ ठूलो क्षेत्र राजनीति हो भन्ने लागेर तपाईं राजनीतिमा प्रवेश गर्नुभएको हो ?

राजनीतिक क्षेत्रमा पनि महिलाहरु स्थापित हुन सकेका छैनन् । महिलाहरु राजनीतिमा सक्रिय भए भने मात्र हामीले आफ्नो हक, अधिकारको संरक्षण गर्न सक्छौं । अहिले राष्ट्रपति र सभामुख महिला हुनुहुन्छ, त्यसमा हामी महिलालाई गर्व छ । त्यो क्षमता हामी यता (मधेश) का महिलामा पनि छ तर, हामी अवसरबाट बञ्चित छौं । यसर्थ, यो अवसर मधेशका महिलालाई पनि प्राप्त होस् भन्ने सोच राखेर नै म राजनीतिमा सक्रिय भएको हुँ ।

राजनीतिमा लाग्न तपाईंसँग धेरै विकल्पहरु थिए, ठूला सत्ताधारी पार्टीहरु पनि थिए । तर, तपाईंले नयाँ शक्ति नै किन रोज्नुभयो ?

नयाँ शक्तिको जुन सोच र भिजन छ समृद्ध नेपाल बनाउने, त्यही भिजनले मलाई आकर्षित गरेको हो । हरेक दृष्टिकोण र हरेक क्षेत्र जस्तोः हिमाल पहाड मधेश सबै क्षेत्रलाई समेटेर यसको विकास गर्ने सोचले मलाई उत्प्रेरित गर्यो । आर्थिक विकासबिना केही संभव छैन भन्ने सोचेर नै मलाई नयाँ शक्तिको नीति मन परेको हो । नयाँ शक्तिको सबै समुदायलाई समेटेर अगाडि बढ्ने जुन सोच र भिजन छ त्यसैले मलाई आकर्षित गरेको हो । र नयाँ पार्टी भएर पनि यो एउटा राम्रो रुप लिएर भविष्यमा राम्रो र ठूलो पार्टी बन्न सक्छ । नयाँ शक्ति पक्कै पनि ठूलो र राम्रो पार्टी भएर देशको आर्थिक परिवर्तनमा भूमिका खेल्छ भन्ने विश्वासका साथ म नयाँ शक्तिमा लागेको हुँ ।

राजविराज नगरपालिका प्रमुखको दाबेदारी प्रस्तुत गर्नुभएको छ, तपाईंलाई नगर प्रमुख पदमा चुनाव लड्न उत्प्रेरणा कसरी जाग्यो ?

मेरो जन्म सप्तरी जिल्लाको तिलाठी भन्ने ठाउँमा भएको हो । तर, मेरो कर्मक्षेत्र भने यहि राजविराज हो । आफ्नो जन्म र कर्मक्षेत्रमा केही गर्नुपर्छ भन्ने लागेर नै म यहाँ सक्रिय भएको हुँ । मेरो बुबाआमाको छोरा छैनन् म आफू छोरा भएरै उहाँहरुप्रतिको दायित्व निर्वाह गरें । साथै मलाई यो नगरको विकास र अस्तव्यस्ताको अन्त्य गर्नका लागि केही गर्नुपर्छ भन्ने लागिरहेको थियो । किन यहाँको बाटोघाटो साँघुरो अनि खाल्टाखुल्टी छन् ? किन नगर सुरक्षित हुन सकेको छैन ? किन अस्तव्यस्त हुँदैछ ? यस्ता कुराहरुले मलाई छुन्थ्यो र अर्को कुरा यहाँ महिलाहरु निकै पछाडि छन् । मेरै उम्मेदवारीको विषयमा पनि मान्छेहरु मेयरमा पनि महिला हुन्छ र ? उपमेयरमा होला मेयर हैन होला ? भन्ने सोच राख्छन् । यस्तो सोचलाई परिवर्तन गर्न अनि यो नगरको प्रमुख पदमा निर्वाचित भएर केही राम्रो र उदाहरणीय काम गर्ने लालसाले नै म चुनावी प्रतिस्पर्धामा उत्रिएको हुँ ।

राजविराज नेपालको पुरानो सहर हो तर, आज अन्य सहरहरुसँग तुलना गर्दा यो धेरै पछाडि परेको जस्तो देखिन्छ । यसो हुनुको कारण के हो जस्तो लाग्छ ?

यसको मुख्य कारण के छ भने यहाँ राजनीति गर्ने एक से एक मान्छेहरु नेता भएर गए । तर, कसैको पनि यो ठाउँको विकास गर्नुपर्छ भन्ने सोच आएन । सबैले आफ्नो कुर्सीलाई सुरक्षित गरे अनि आफ्नो व्यक्तिगत विकासलाई नै ध्यान दिए । आफ्नो नगरको विकास गरौं भन्ने सोच कसैको रहेन । त्यसैले यति पुरानो सहर भएर पनि आज राजविराज निकै पछाडि परेको छ । हरेक वर्ष वाढीले सताउँछ तर, यसको दीगो व्यवस्थापन र संरक्षण कसरी गर्ने भन्ने सोच नै आएन । यहाँ बजेटको सदुपयोग पनि भएन सबै भ्रष्टाचारमै लिप्त भए ।

यो पुरानो र राम्रो मात्र होइन इतिहासमा पनि यसको ठूलो स्थान छ । यहाँका जनताले यो राष्ट्रको रक्षाको लागि हरबखत आफ्नो ज्यानको बाजी लगाएको छ । मेरो बुबा कुशेश्वर पाठक २००७ सालको क्रान्तिमा अगुवा भएर लड्नुभयो । यसरी योगदान दिनेमा यहाँका एकसेएक अग्रजहरु हुनुहुन्छ । तर, यो नगरलाई राम्रो बनाउनतिर कसैको ध्यान गएन । राज्यले पनि यसलाई अपहेलना मात्रै गर्यो । त्यसैले अब राजविराजलाई माया गर्ने र यो नगरको विकास गर्ने यहाँको विकृतिलाई हटाउने मान्छेको खाँचो छ ।

यो नगरको मुख्य समस्या के के हुन् र तिनलाई समाधान गर्ने तपाईंको योजना के छ ?

मलाई सबैभन्दा पहिले जीर्ण बन्दै गएका यहाँका सडकहरुको मर्मत संभार गरी दीगो बनाउनुपर्छ भन्ने लाग्छ । यहाँको अव्यस्थित सहरीकरणको व्यवस्थापन गर्ने र दीगो बनाउने नै राजविराजको दीगो विकासको सुरुवात हो । यहाँ आउने बजेटको सदुपयोग होस् । यस मातहतमा पर्ने सबै प्रशासनिक निकायहरुमा सुशासन होस् भन्ने मेरो योजना हो । त्यस्तै शिक्षा, स्वास्थ्य, रोजगार यहाँका प्रमुख आवश्यकताहरु हुन् । समुदायको विकास होस् । विद्यार्थीले समयमानै पाठ्य पुस्तक पाउन् भन्ने लाग्छ ।अनि समाजमा व्याप्त विकृति र विसंगतिको अन्त्य नै मेरो लक्ष्य हो । मैले जे सोच राखेको छु नगरको विकास र व्यवस्थापनको लागि त्यो गरेर देखाउने नै मेरो प्रतिबद्धता हो ।

समग्रमा तपाईंले कस्तो राजविराजको परिकल्पना गर्नुभएको छ ?

मैले एउटा सुन्दर, समृद्ध, हरियालीयुक्त, परिपूर्ण, सामाजिक विकृतिमुक्त नगरको परिकल्पना गरेको छु । यदि म यो नगरको प्रमुख पदमा निर्वाचित भएँ भने मैले आफ्नो परिकल्पना साकार पार्नेछु ।

तपाईंलाई नगरबासीहरुले किन मत दिने ?

यहाँको सेवा क्षेत्रमा मैले जुन योगदान गरेको छु, यहाँका नगरबासीहरुले त्यो हेरिसकेका छन् । मेरो जुन निस्वार्थ भावना छ र मैले जुन छवि बनाएको छु त्यसलाई अझै बर्करार राखेर जनताको माझमा आएर सबैको सहयोगबाट यहाँको विकास गरौं भन्ने सोच राखेर अघि बढेको छु । यहाँ एक कर्मठ महिलालाई अवसर दिइनुपर्छ भनेरै म अघि बढेको हुँ । मलाई के लाग्छ भने जसरी महिलाले आफ्नो गृहको उचित व्यवस्थापन गर्छिन्, त्यही महिलाले नगर र राष्ट्रको पनि उचित व्यवस्थापन गर्न सक्छिन् । त्यसैले महिलालाई अवसर दिइनुपर्छ भन्ने सोचेको छु । मेरो निस्वार्थ सेवामुखी भावनालाई कदर गरेर मतदाताले पक्कै पनि मलाई मत दिन्छन् भन्ने विश्वास छ ।

अन्तमा राजविराज नगरबासीहरुलाई के अपिल गर्नुहुन्छ ?

म नगरबासीहरुलाई यहि अपिल गर्दछु कि कम्तीमा एकचोटी मलाई अवसर दिनुहोस् । म एउटा महिला भएर एउटा विद्यालयलाई व्यवस्थित गरेर उच्च मावि संचालन गरेँ त्यस्तै म यो नगरको विकास र समृद्धिका लागि पनि काम गर्नसक्छु । त्यसैले मलाई एकपटक अवसर दिनुहोस् भन्न चाहन्छु ।