'विरोध गर्नेहरु नयाँ शक्तिकै एजेण्डामा आउँछन्'

- २१ साउन २०७५

कल्पना धमला,
सचिवालय सदस्य, नयाँ शक्ति पार्टी, नेपाल

कल्पना धमला नयाँ शक्ति पार्टीको केन्द्रीय सचिवालय सदस्य तथा राज्य व्यवस्था तथा संसदीय मामिला विभाग प्रमुख हुनुहुन्छ । पूर्व विज्ञान तथा प्रविधि मन्त्री समेत रहनुभएकी धमला नयाँ शक्तिकै एजेन्डामा पुराना पार्टीहरु आए देश रुपान्तरण हुने बताउनुहुन्छ । नयाँ शक्तिको औचित्य, आवश्यकता र भावी कार्ययोजनाको बारेमा उहाँसँग गरिएको संवादको सम्पादित अंश:

नेपाली राजनीतिमा नयाँ शक्ति किन ?

अहिले सतहमा भइराखेका पुराना पार्टीहरुले एउटा कार्यभार पूरा गरे । संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भयो । त्यो एउटा इतिहासको कार्यभार थियो ।

अबको चरण भनेको नयाँ संविधान कार्यान्वयन गर्ने र देशमा सुशासन, सदाचार र समृद्धिको बाटो तय गर्ने चरण हो । पार्टीहरुको राजनीतिक कार्यभार यही हो । तर, अहिलेका राजनीतिक पार्टीहरुले गर्नुपर्ने काम एकातिर छोडेर अरु नै खेलधन्दामा लागिरहेका छन् । पुराना पार्टीहरुमा पुरानै तरिकाले शक्ति आर्जन कसरी गर्ने भनेर त्यसैमा लाग्ने र प्राप्त शक्तिको दुरुपयोग गर्ने कार्यशैली देखिन्छ । हामीले पुरानो पार्टीहरुकै कार्यशैलीमा रुमल्लिएर शक्ति आर्जन गर्ने होइन कि सदाचार, सुशासन र संविधानले निर्दिष्ट गरेको लक्ष्यतिर अगाडि बढ्नुपर्छ । ती लक्ष्यहरु पूरा गर्न अहिलेका पार्टीहरुले सक्दैनन् । संविधानले निर्दिष्ट गरेको लक्ष्य पूरा गर्न वैकल्पिक राजनीतिक धार आवश्यक छ । अहिले सतहमा देखिएका समाजवादी र पुँजीवादी विचारधाराभन्दा २१ औं शताब्दीको नयाँ विचारसहित नयाँ नेतृत्व हुनुपर्छ । नयाँ विचारको बहस हुनुपर्छ, पुराना विचारले मात्र पुग्दैन भनेर हामीले नयाँ वैकल्पिक विचारसहित नयाँ शक्ति पार्टी, नेपालको स्थापना गरेका हौं । संक्षेपमा २१औं शताब्दीको अभिभारा पूरा गर्न नै नेपाली राजनीतिमा नयाँ शक्ति पार्टी नेपालको स्थापना भएको हो ।

नयाँ शक्ति पार्टी, नेपालले अहिलेको राजनीतिक अभिभारा पूरा गर्ला ?

मान्छेहरुले नयाँ शक्ति पार्टी सानो छ, एमाले–माओवादी एक भए, दुई तिहाईको सरकार छ यस्तो अवस्थामा के गर्न सक्छ भने पनि यसको उद्देश्य भने ठूलो र दूरगामी छ । एकपटक नेपाली जनताले इतिहासलाई फर्केर हेर्नुपर्‍यो । १०४ वर्षीय राणा शासन र राजतन्त्र कसैले ढल्छ भन्ने परिकल्पना गरेका थिएनन् ।

अहिले सत्तामा रहेको तत्कालीन एमाले २०४७ सालको संविधानलाई संसारकै सर्वोत्कृष्ट र कसैले चलाउन सक्दैनन् भनेका थिए । राजतन्त्र पनि गयो । बहुदलीय राजतन्त्रभित्र बहुदलीय पार्टीहरुले हामीबाहेक कोही आउनै सक्दैनन् भन्ने गरेका थिए, त्यो पनि गयो । आज त्यस्ता शक्ति सबै हराएर गणतन्त्र नेपाल भएको छ । नेपालको संविधानमा नै सार्वभौमसत्तासम्पन्न नेपाली जनता भनेर लेखिएको छ । गणतन्त्रभन्दा अगाडिको संविधानमा सार्वभौम नेपाल भनेर लेखिन्थ्यो अहिलेको संविधानमा सार्वभौमसत्तासम्पन्न नेपाली जनता भनेर लेखिएको छ । राजाबाट मुक्त भएर स्वतन्त्र नेपालको नागरिक बनेका छौं ।

स्वतन्त्र नागरिकको नेतृत्व गर्ने पार्टी र सरकारका विभिन्न खाले व्यक्तिहरुले नागरिकको मौलिक हक, सुशासन, सदाचार र देशको समृिद्धलाई सोच्नुपथ्र्यो । सरकारको नेतृत्व गर्ने पार्टीको ध्यान त्यतातिर पटक्कै गएको देखिँदैन । हिजोको राजतन्त्रकालीन शैलीकै निरन्तरतामा भइरहेको छ । सरकारमा रहेका पार्टीहरुले समावेशीको नाममा आफ्ना परिवार, नाता, पार्टीभित्रका गुटलाई पोस्ने काम गरेका छन्, इमान्दार व्यक्तिहरु सबै पछाडि परिरहेका छन् । त्यस्ता पार्टीहरुको नेतृत्वमा देशमा सदाचार, सुशासन र समृिद्ध आउँदैन । देश समृद्धिको दिशामा नजाने भएपछि मान्छेहरुले विकल्प खोज्छन् । त्यसैले हामी विश्वस्त छौं, इमान्दार व्यक्तिहरुको सहभागितामै नयाँ शक्ति पार्टीले वर्तमान राजनीतिक अभिभारा पूरा गर्छ ।

पार्टी स्थापनाको २ वर्षलाई कसरी समीक्षा गर्नुहुन्छ ? के सोच्नु भएको थियो, के पाउनुभयो ?

विश्वमा रहेको पुँजीवादी र समाजवादी विचारको केही पाटापक्षहरुलाई लिएर गलत प्रयोग भइरहेको छ । त्यसलाई पनि सच्चाउने र विकल्पमा वैकल्पिक विचारमा बहस र छलफल गर्ने दिर्घकालीन उद्देश्य राखेर हामी पार्टी निर्माणमा लागेको हौं । दुई वर्षमा हामीले राजनीतिक संकटको बीचमा लिप हान्नुपथ्र्यो । नेपालको घटनाक्रमअनुसार जुन पार्टीले नयाँ विचार, एजेण्डा ल्याउँछ त्यसलाई नै जनताले ग्रहण गर्छ भन्ने हामीलाई लागेको थियो । तर, त्यसो हुन सकेन । पार्टी स्थापना भएदेखि नै चुनावको भारी बोक्नुपर्यो । स्थानीय तहको निर्वाचनमा हाम्रो पार्टीलाई निर्वाचन चिन्ह दिइएन । पार्टीले चुनाव चिन्ह नपाएपछि उपेन्द्र यादव नेतृत्वको पार्टीको चुनाव चिन्ह लिएर चुनावमा गयौं । चुनाव चिन्ह नपाएको पीडा र स्थानीय चुनावको परिणाम देखेपछि केही साथीहरु निराश भए । पार्टीले राम्रो नतिजा हासिल गर्न नसकेपछि केही साथीहरु सत्ता र शक्तिको खोजीमा लाग्नुभयो । जसले पार्टीप्रति नकारात्मक भाव पैदा गर्‍यो ।

एउटा बच्चा जमिने बित्तिकै जागिर खाने र सत्ता सञ्चालन गर्ने त हुँदैन । उसलाई ताते–ताते गर्न, बोल्न र हिँड्न समय त लाग्छ नै । अहिले आफूलाई ठूला पार्टी भन्नेहरु पनि ७० वर्ष इतिहास बोकेका पार्टीहरु हुन् । ती पार्टीहरुले अधिनायकवाद लाद्दैमा र सत्ता, शक्तिमा डुल्दैमा हामी पूरै सकियौं हाम्रो विचार स्थापित हुँदैन भन्ने छैन ।

हामीले बोकेको लक्ष्य पुरानो राजनीतिकै बाटोबाट शक्ति आर्जन गर्ने होइन । यो देशमा संविधान बनेको डा बाबुराम भट्टराईकै भिजनमा हो । बाबुराम भट्टराईले उठाएको विचार यो देशमा कार्यान्वयन हुन्छ । तर, समय लाग्छ । सत्तामा र प्रतिपक्षमा रहेका मान्छेहरुले डा बाबुराम यो देशलाई चाहिने मान्छे हो भनेर भन्छन् । बाबुरामको विचारबाटै यो देश चल्ने तर, डा बाबुरामले नेतृत्व गरेको पार्टीले देश बन्दैन भन्ने हुँदैन ।

नयाँ शक्ति पार्टी अस्थीर पार्टी भन्छन् नि ? वैकल्पिक शक्तिकै सूचकको बारेमा तपाईंहरु कन्फ्युजन हुनुभएको हो ?

स्थानीय तहको निर्वाचनमा हामीलाई निर्वाचन चिन्ह नदिएर निरंकुशता लादियो । हामीसँग निर्वाचन चिन्ह नभएपछि अर्को पार्टीको चिन्ह सापटी लिएर चुनावमा गयौं । त्यो हाम्रो बाध्यता थियो । तेस्रो चरणको स्थानीय निर्वाचनमा फोरमले हामीसँग सहकार्य गरेन । त्यतिबेला तराईमा उहाँहरुको शक्ति आफैंमा सुदृढ छ भन्ने उहाँहरुलाई लाग्यो होला । फोरमसँग सहकार्य नभएपछि फेरी अर्कै पार्टीको निर्वाचन चिन्ह हामीले लिनुपर्‍यो ।

प्रतिनिधिसभाको निर्वाचनअघि असोज १७ गते पत्रकार सम्मेलन गर्नुभन्दा २ घण्टा अगाडि केपी ओलीले बाबुराम भट्टराईलाई सबै कम्युनिष्ट शक्तिहरु एक भएर जाने, तपाईंले उठाउनु भएकै विचारमा अगाडि बढ्ने हो, तपाईं किन बाहिर बस्ने ? समाजवादी केन्द्र बनाएर जानेमा हामी तयार छौं भन्नुभयो । केपी ओलीले समाजवादी केन्द्र बनाएर जाने भनेपछि बाबुराम भट्टराई पत्रकार सम्मेलनमा जानुभयो । तर, त्यसपछि बाबुराम र नयाँ शक्ति पार्टीमाथि धोका भयो । पुरानै यथास्थितिलाई निरन्तरता दिन हामीलाई विलय गराउने षड्यन्त्र भएको रहेछ । नयाँ शक्ति पार्टी र बाबुराम भट्टराईमाथिको धोकापछि हामी वाम गठबन्धनबाट पछि हट्यौं ।

मान्छेहरुले हामीलाई यताउता गइरहने भन्दै अस्थीर भने । तर, त्यो धोका थियो । नयाँ शक्तिको अस्थिरता थिएन । हाम्रो शक्ति मात्रै प्राप्त गर्ने स्वार्थ भएको भए प्रचण्डले माओवादी एमालेमा विलय गराएजसरी हामी पनि एमालेमा विलय हुन सक्थ्यौं । हाम्रो लक्ष्य भनेको यो देशमा वैकल्पिक राजनीति स्थापित गर्ने, अहिले भइराखेको राजनीतिक विसंगतिबाट मुक्त पार्ने र नेपाल र नेपालीलाई समृद्ध बनाउने हो । त्यो लक्ष्य प्राप्त हुने अवस्था नदेखेपछि शक्ति आर्जन होस् या नहोस् हाम्रो यथार्थ जनतामा लान सकिन्छ, जनताले बुझ्छन् भनेर गठबन्धनबाट फर्किएका हौं । हामी अस्थीर होइनौं ।

हामीलाई अझै विश्वास छ, बाबुराम भट्राईको नेतृत्वमा यो देश गोलबन्द हुन्छ । गोलबन्द नभई देश अगाडि बढ्न सक्दैन । जसरी गणतन्त्रको विरोध गर्नेहरु गणतन्त्र स्थापनाका निम्ति एकताबद्ध भए । त्यसैगरी आज हामीलाई विरोध गर्नेहरु हाम्रै एजेण्डामा आउनेछन् ।

अरुभन्दा नयाँ शक्ति कसरी फरक ?

पुराना पार्टी र नयाँ शक्तिबीच धेरै फरक छन् । नयाँ शक्तिको प्रतिवद्धता पाँच “स”: समतामूलक समृिद्ध, समानुपातिक/समावेशी/सहभागितामूलक लोकतन्त्र, सुशासन/सदाचार, स्वाधीनता/सार्वभौमिकता र समुन्नत समाजवादको अवधारणा नै मुख्य फरक हो । समृद्धिको एजेण्डा सबै पार्टी र सरकारले बनाएका छन् । पुराना पार्टीहरुले समृद्धिको कुरा गरे पनि पारिवारिक जहानियाँ राणाशासनको अभ्यासमा छन् । हामी चाहीँ प्रत्यक्ष लोकतन्त्रमार्फत त्यो चित्र देखाउँछौं भन्ने छ पहिलो । दोस्रो अहिलेको भ्रष्टाचार बढाउने निर्वाचन प्रणालीलाई अन्त्य गरेर पूर्ण समानुपातिक निर्वाचनमा जाने भनेका छौं, जुन अन्य पार्टीले भनेका छैनन् । तेस्रो प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको एजेण्डाले गर्दा अन्य पार्टीभन्दा हाम्रो पार्टी फरक छ ।

राजनीतिमा महिलाहरु किन पछि छन् ? यसमा नयाँ शक्तिको धारणा के छ ?

हामीले समानुपातिक समावेशीको जति कुरा गरे पनि, संविधानले नै अधिकार दिए पनि उत्पीडित समुदायको आवाजलाई सुनिएको छैन । उत्पीडित समुदाय र वर्गको नाममा अहिले नेताहरुकै परिवारभित्रका सदस्यहरु आए । समानुपातिक समावेशिताको खिल्ली उडाइयो, महिलाहरुको प्रश्नमाथि पनि राजनीतिक हिंसा गरियो । महिलालाई सहभागी गराउनुपर्छ भनेर एकाध महिलाहरु पञ्चायत र बहुदलकालमा पनि मन्त्री त भएका थिए । आज गणतन्त्र आइसकेपछि पनि ४० प्रतिशत महिला समानुपातिकतर्फबाट चुन्ने अभ्यास गरेका पार्टीहरुलाई हेर्दा कार्यकारी पदमा महिलालाई पुर्‍याउने मनसाय नभएको देखिन्छ । मेयर/अध्यक्ष वा उपमेयर/उपाध्यक्षमध्ये एकजना महिला भन्ने थियो । तर, मेयर/अध्यक्षमा अति न्युन संख्यामा महिला आए । महिलाको नाममा राष्ट्रपतिलाई दुई कार्यकालको जिम्मेवारी दिइएको छ । यसरी महिलालाई समानुपातिक समावेशिताको नाममा देखाउने काम मात्र गरियो ।

महिलाले पनि महिलाको नाममा सधैं कोटा खानु हुँदैन । कोटामा जाने महिला जनताप्रति भन्दा पनि कसले पदमा पुर्‍यायो उसैप्रति उत्तरदायी हुने परिस्थिति बनेको छ । त्यसैले राजनीतिक पहुँच भएका महिला मात्र सत्तामा पुगेका छन्, क्षमतावान महिलाहरु पछाडि परिरहेका छन् । सत्तामा रहेका महिलाहरु मुलुकप्रति उत्तरदायी नहुँदा महिलाहरुमा निराशा छाएको छ । त्यसकारण राजनीतिमा महिलाहरु कम आउने गरेका छन् ।

नयाँ शक्तिमा मान्छेहरु टिक्न नसक्नुको मुख्य कारण के हो ? पार्टी दोषी हो कि व्यक्ति ?

हो, हाम्रो पार्टीभित्र पनि विभिन्न साथीहरु आउने जाने गरे । सुरुमा आएका मान्छेहरु बाबुरामको भिजन देखेर छिट्टै सत्तामा पुग्ने र केही फाइदा लिने सपना देखेर आए । तर, त्यस्तो भइदिएन । पार्टी निर्माणकै क्रममा हामी छौं । नयाँ शक्ति पार्टीले जन्माउन खोजेको विचारलाई त्यस्ता साथीहरुले बुझ्न सक्नुभएन, सत्ता र शक्तिको लोभमा बनिबनाउ पुरानो पार्टीमा जानुभयो । यदी उहाँहरुले साच्चै नै मुलुकको समृद्धि चाहनु भएको भए पार्टीभित्रको कमीकमजोरीलाई सुधारेर हामीसँगै अगाडि बढ्नुहुन्थ्यो । त्यसैले दिर्घकालीन विकासको महत्वलाई नबुझेर र आफ्नो जिम्मेवारीबाट भागेर त्यस्ता साथीहरु गएका हुन् । पार्टी स्थापनाकालदेखिका धेरै साथीहरु भने हामीसँगै छन्, पार्टी दोषी भन्ने होइन ।

माओवादी आन्दोलनको पृष्ठभूमीबाट नयाँ शक्ति माथि उठ्न सकेन भन्ने आरोप छ, यसलाई स्वीकार्नु हुन्छ ?

नयाँ शक्ति माओवादीको एक टुक्रा होइन । नयाँ शक्तिबाट देशको रुपान्तरण हुन सक्दैन भन्नु पनि गलत कुरा हो । नयाँ शक्तिको पृष्ठभूमि हेर्ने मान्छेहरुले हिजो माओवादीमा रहँदा उसको भूमिका के थियो त्यो बुझ्न जरुरी छ । हिजो पनि माओवादी पार्टीमा सबैभन्दा इमान्दार रहेका, सबै वर्गप्रति उत्तरदायी भएका र सत्ता–शक्तिको दुरुपयोग नगरेका स्वच्छ छवि भएका व्यक्तिहरु नयाँ शक्तिमा छन् । सत्ता र शक्तिको दुरुपयोग गर्ने व्यक्तिहरु पुरानै पार्टीमा छन्, कतिपय त्यस्तो चाहना राख्नेहरु पनि फर्किसके । त्यसैले पृष्ठभूमिका कारण नयाँ शक्ति माथि उठ्न सकेन भन्ने बुझाइ गलत हो ।

विवेकशील साझा पार्टी र नयाँ शक्ति दुवैले आफूलाई वैकल्पिक शक्ति भनेर दावी गर्दे आएको छ, एकताको सम्भावना कत्तिको छ ?

विवेकशील साझा र नयाँ शक्ति पार्टीबीच तत्काल एकताको सम्भावना छैन । एउटा पार्टीले राष्ट्रिय, अन्तर्राष्ट्रिय कूटनीतिक सम्बन्ध सबै निर्धारण गरेको हुनुपर्छ । तर, विवेकशील साझा पार्टीले अझै वैचारिक मार्ग निर्दिष्ट गरेको छैन । कता–कता रुमल्लिएर पछाडि फर्कन खोजेको जस्तो देखिन्छ । द्वन्दवादमा आधारित समुन्नत समाजवादमा पुग्छौं भनेर हामीले पाँच “स” सहित लक्ष्य निर्धारण गरेका छौं, जुन विवेकशील साझा पार्टीमा प्रष्ट छैन । त्यसैले विवेकशील साझा पार्टीसँग एजेण्डा स्पष्ट भएमा र नयाँ शक्तिसँग एजेण्डा मिलेमा मात्र एकता हुनसक्छ, तत्काल एकताको सम्भावना छैन ।

अन्तिममा, नयाँ शक्ति कसरी अगाडि बढ्दैछ ?

आगामी फागुनमा हामीले महाधिवेशन गर्देछौं । त्यसकै तयारीमा अहिले हामी छौं । दुई वर्षको बीचमा हामीले देशभित्र ७७ जिल्लामै संगठन विस्तार गरेका छौं, विदेशमा पनि नेपालीहरुमाझ धेरै देशहरुमा हाम्रो संगठन विस्तारित भएको छ । ती संगठनहरुलाई बलियो बनाउन पनि नेतृत्व तहले विशेष योजना बनाउँदैछ । अर्को हाम्रा मतदातालाई हामीले हाम्रो विचार र योजनाहरु बुझाउन सकिरहेका छैनौं । मतदाताबीच छलफल र अन्र्तरक्रिया गरेर वैकल्पिक शक्तिको अर्थ, विचार र योजना बुझाउनमा पनि पार्टीको ध्यान केन्द्रित हुनेछ ।