‘नयाँ शक्ति अहिले आन्तरिक जीवन सुदृढ गर्ने काममा व्यस्त छ’

- ५ भदौ २०७५

गंगानारायण श्रेष्ठ,
हेडक्वार्टर सदस्य, नयाँ शक्ति पार्टी, नेपाल

गंगानारायण श्रेष्ठ नयाँ शक्ति पार्टी, नेपालका संघीय हेडक्वार्टर सदस्य हुनुहुन्छ । उहाँ जनताले विकल्प खोजिरहेको र त्यो विकल्प नयाँ शक्ति पार्टी नै हो भन्नुहुन्छ । अब आउने निर्वाचनमा नयाँ शक्ति पार्टी देशको सशक्त वैकल्पिक राजनीतिक शक्तिको रुपमा स्थापित हुने उहाँको विश्वास छ । समग्र राजनीतिक विषयवस्तुमा केन्द्रीत रहेर नेता श्रेष्ठसँग गरिएको संवादको सम्पादित अंश:

० नेपाली राजनीतिमा नयाँ शक्तिको उदय किन ?

देशमा पार्टीहरु निश्चित लक्ष्य हासिल गर्न स्थापना गरिन्छन् । जस्तै नेपाली काँग्रेस जहाँनिया राणा शासन अन्त्यको लागि स्थापना गरिएको थियो । त्यस्तै एमाले पञ्चायतको अन्त्य गर्नको लागि स्थापना गरिएको पार्टी थियो भने माओवादी सामन्ती राजतन्त्रको अन्त्य गरेर गणतन्त्र स्थापना गर्नको लागि खोलिएको पार्टी थियो । सारमा भन्नुपर्दा हिजो जति पनि पार्टीहरु खोलिएका थिए, ती सबै राजनीतिक अधिकार प्राप्तिको निम्ति वा लोकतान्त्रीकरणको लडाइँ लड्नका लागि स्थापना गरिएका पार्टीहरु थिए ।

हामीले २०७२ साल असोज ३ गते दोस्रो संविधानसभाबाट संविधान घोषणा गरिसकेपछि आधारभूत रुपमा लोकतान्त्रीकरणको लडाइँ पूरा भएको छ । देश अब समृद्धीकरणको चरणमा प्रवेश गरेको छ । विकास र समृद्धिको नेतृत्व हिजो लोकतन्त्रको निम्ति लडेका पार्टीहरुबाट सम्भव छैन । गन्तव्य अनुसारको साधन प्रयोग गर्न जानिएन भने नियत जतिसुकै पवित्र भएता पनि गन्तव्यमा पुगिँदैन । बयलगाडा चढेर चन्द्रमा पुगिन्छ र ? चन्द्रमा पुग्न त रकेटै चढ्न पर्‍यो नि हैन र ? पुराना पार्टीहरुबाट विकास र समृद्धिको नेतृत्व सम्भव नदेखेपछि हामीले नयाँ शक्ति पार्टी खोलेका हौं ।

० पार्टी स्थापना भएको दुई वर्षमा के–के भयो ?

अहिले नयाँ शक्ति पार्टी स्थापना भएको दुई वर्ष दुई महिना पूरा भएको छ । यो अवधिमा हामीले अग्रगामी वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता र औचित्य जनताका बीचमा पुष्टि गर्ने काम गर्‍यौं । अब देशको नेतृत्व पुराना पार्टीहरुबाट सम्भव छैन भन्ने सन्देश जनताबीच दिइरहेका छौं । जनताले पुरानाको विकल्प खोजिरहेका छन् ।

पार्टी स्थापना भएको ११ महिनामा स्थानीय तहको निर्वाचन चौतर्फी घेराबन्दी र षड्यन्त्रको बीच सामना गर्नुपर्‍यो । त्यसपछि ६ महिना नबित्दै प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा भाग लियौं । प्रतिनिधिसभामा एक जना र प्रदेशसभामा २ जना प्रत्यक्षतर्फ र १ जनाको प्रदेशसभामा समानुपातिकतर्फ विजय पनि हासिल गर्‍यौं । यो हाम्रो लागि अपेक्षित नभए पनि ठूलै उपलब्धी थियो । सुशासन र सदाचारको निम्ति भ्रष्टाचारविरोधी आन्दोलनहरु गर्‍यौं । महंगी, कमिसनखोरी, कालाबजारीहरुका विरुद्धमा पनि प्रदर्शन गर्‍यौं, गरिरहेका छौं । समग्रमा भन्दा सरकारका जनविरोधी कामहरुका विरुद्ध सडकमा आन्दोलन गरिरहेका छौं ।

पार्टी निर्माणको आन्तरिक कामहरुलाई हेर्ने हो भने हामीले छोटो समयमा नै ७७ जिल्लामा संगठन विस्तार गर्न सफल भयौं । सबै प्रदेशहरुमा स्कूलिङका कामहरु गरिराखेका छौं । त्यसको सँगसँगै हामीले पार्टीको सदस्यता वितरण गर्ने, नवीकरण गर्ने, पार्टी कमिटीहरुको नियमित बैठक गर्ने कामहरु पनि गरिरहेका छौं । ३ नम्बर प्रदेशमा त संगठन विस्तार तथा सम्मेलन अभियान नै चलाईरहेका छौं ।

० दुई वर्षमा के हुनुपर्‍थ्यो ? के भएन जस्तो लाग्छ ?

पहिलो कुरा, वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता र औचित्यबारे जनतामाझ जति वैचारिक बहस गर्न सफल भयौं त्यति त्यस विचारलाई संगठनमा बदल्न सकेनौं ।

दोश्रो कुरा, बाबुराम भट्टराईले नेतृत्व गरेको पार्टी हुनाको नाताले नयाँ शक्तिलाई जनताले उमेर खाएका अरु पार्टी जस्तै हो भनेर बुझे । पार्टीप्रति जनताको अपेक्षा धेरै नै बढ्यो । एक बर्षे बच्चाले जवान पहलमानहरुसँग प्रतिस्पर्धा गरिरहेको यथार्थता मान्छेले बिर्सिए । चुनावमा परिणाम राम्रो नआएपछि पार्टीभित्र र बाहिर सबैतिर अलि निराशा छायो । वास्तवमा हाम्रो पार्टीको लागि जवान पहलमानहरुसँग प्रतिस्पर्धामा उत्रनु नै ठूलो विजय थियो । यो कुरा हामीले राम्रोसँग बुझाउन सकेनौं ।

तेस्रो कुरा, हामीले जनअपेक्षा अनुसार जनपरिचालन गर्न अलि सकेनौं । जसको कारण जनतामा नयाँ शक्ति पनि पुरानै जस्तो हो कि के हो ? भन्ने थोरै भ्रम पर्न गयो ।

चौथो कुरा, पार्टीभित्र आन्तरिक लोकतन्त्रको अभ्यास राज्यमा भएको तीन तहको निर्वाचनको कारण गर्न सकेनौं । जसले गर्दा नेतृत्वको शृङ्खला निर्माणमा केही ढिलाइ हुन गयो ।

० अन्य पार्टीभन्दा नयाँ शक्ति केमा फरक ?

अन्य पार्टीहरु भन्दा नयाँ शक्ति आधारभूत रुपमै फरक छ । नयाँ शक्ति अग्रगामी लोकतान्त्रिक पार्टी हो । पुँजीवादी र साम्यवादी विचार, दर्शन, प्रणालीको विकल्पमा नयाँ विकल्प दिन स्थापना गरिएको पार्टी हो । नयाँ शक्तिले पुँजीवादी र साम्यवादीले जस्तो व्यक्तिको निजत्वको कुरा गर्दा सामूहिकता बिर्सने र समाजको कुरा गर्दा व्यक्तिको निजत्व बिर्सने गर्दैन । स्वतन्त्रता र समानता एउटै सिक्काका दुई पाटा हुन् । हामीलाई गाई वा त्रिशुल वा एकपाटे सिक्का रोज्ने छुट छैन । हामी एकपाटे विचार होइन, समग्र विचार निर्माण गरिरहेका छौं ।

संगठनात्मक रुपमा पनि हामी अन्य पार्टीभन्दा नितान्त फरक छौं । हामी पार्टीभित्र समावेशी, समानुपातिक, सहभागितामूलक लोकतन्त्रको विधिद्वारा नेतृत्व चयन गर्छौं । हाम्रो १३ जना संघीय पदाधिकारीहरु महाधिवेशनमा पार्टी सदस्यहरुको प्रत्यक्ष मतबाट निर्वाचित हुन्छन् । हाम्रो पार्टीमा पार्टी सदस्य सार्वभौम हुन्छन् । एक व्यक्ति, एक कार्यकारी पद र अधिकतम दुई कार्यकाल साथै, पार्टीभित्र प्रत्याह्वान र अस्वीकारको अधिकार पनि व्यवस्था गरिएको छ ।

० पुरानो पार्टीसँग समानता पनि भेट्नुहुन्छ कि ?

व्यक्तिको निजत्व र लोकतन्त्रको कुरा गर्दा कांग्रेस र सामूहिकता र समानताको कुरा गर्दा कम्युनिष्टहरुसँग व्यवहारमा त नभनुँ तर शब्दमा भने कुरा मिल्छ ।

० जनअपेक्षाअनुसार पार्टी अगाडि बढ्न सकेन भन्ने जनगुनासो छ, स्वीकार्नुहुन्छ ?

मैले अघि नै भनिसकें, नयाँ शक्ति डा. बाबुराम भट्टराईले नेतृत्व गर्नुभएको पार्टी हुनाको कारण जनअपेक्षा पार्टीको उमेरभन्दा बढी थियो । त्यस आँखाबाट हेर्दा पार्टीले यस दुई बर्षमा प्राप्त गरेको उपलब्धी कम लाग्नसक्छ । त्यस्तै, देशको आवश्यकताको आधारमा पनि हाम्रो गतिविधि कम नै लाग्न सक्छ । तर पार्टीको उमेर अनुसारको उपलब्धी निराशाजनक भने पक्कै छैन ।

० स्थापनाकालका धेरै सदस्यहरु तपाईंंहरुमाझ हुनुहुन्न, कमजोरी कसको हो ?

स्थापनाकालका साथीहरुले नयाँ शक्ति छोड्नुको दुई वटा कारण छन् । पहिलो, मान्छेको साेंच हो । दोस्रो चाहिँ स्वार्थ । आफू बसेको पार्टीभित्र जब सोंचमा नै अन्तर आउँछ, तब सोंच मिल्ने पार्टी खोज्दै मान्छे हिँड्न थाल्छ । जुन विल्कुल स्वाभाविक हो । केही साथीहरुले सोंच नमिलेको कारण पार्टी छाड्नु भयो ।

दोस्रो, स्वार्थका कारण पनि साथीहरुले पार्टी छाड्नुभयो । जो–जो साथीहरु नयाँ शक्तिमा व्यक्तिगत स्वार्थ बोकेर आउनुभएको थियो, ती साथीहरु यस पार्टीमा स्वार्थ पूरा हुने नदेखेपछि पार्टी छाडेर हिँड्नुभयो ।

० विवेकशील साझा र तपाईंहरु दुवैले आफूलाई वैकल्पिक शक्ति भनेर दावी गर्नुहुन्छ, एकताको कत्तिको सम्भावना छ ?

विश्वमा वैकल्पिक शक्तिहरु अग्रगामी र यथास्थितिवादी दुई धारमा विकास भइरहेको छ । नेपालमा पनि त्यसको प्रभाव छ ।

पार्टीको एकता भनेको सामान्य कुरा होइन । एकताको लागि विचार, दर्शन, राजनीति, संगठन र नेतृत्व मिल्नुपर्छ । विवेकशील साझाका कतिपय मुद्दाहरु हामीसँग मिल्छन् । हामीले अगाडि सारेको पाँच वटा ‘स’ मध्येमा सदाचार, सुशासन र सहभागितामूलक लोकतन्त्रको कुरा मिल्छ । बाँकी ३ वटामा बहस छ । बहसको लागि हामी सधैं सकारात्मक र खुल्ला छौं । बहस गर्दै जाउँ । एकताको कुरा समयलाई नै छाडिदिउँ ।

० विवेकशील साझासँग समानता पनि छन् कि?

सुशासन, सदाचार र लोकतन्त्रको विषयमा हामीबीच समानता छ ।

० भर्खर तपाईं सातवटै प्रदेश भ्रमणबाट फर्कनुभएको छ, जनअपेक्षा कस्तो पाउनुभयो, समग्रमा अब पार्टी कसरी अगाडि बढ्दैछ ?

निर्वाचन परिणामपछि जनतामा अलिकति पार्टीप्रति निराशा देखिएको थियो । पार्टीको आन्तरिक पंक्तिमा पनि भागदौडको अवस्था देखिएको थियो । त्यसपछि हामीले कास्कीको ल्वाङमा गएर पार्टीको समीक्षा गर्‍यौं । त्यसपछि बुद्ध जन्मभूमि लुम्बिनीमा गएर वैकल्पिक शक्ति बनाइछाड्ने संकल्प गर्‍यौं । संकल्पसँगसँगै हामीले पाँच वर्षीय कार्यक्रम पनि बनायौं । जस अनुसार, अघिल्लो दुई बर्ष पार्टीको आन्तरिक जीवन सुदृढ गर्ने र पछिल्लो ३ बर्ष चुनावको तयारी गर्ने ।

त्यही कार्ययोजना अनुसार अहिले हामी काममा व्यस्त छौं । हाम्रो पहिलो चरणको कार्यक्रमअन्तर्गत सातवटै प्रदेशमा पार्टीको स्कुलिङ गर्ने काम भइरहेको छ । ३ र ४ नम्बर प्रदेशमा सम्पन्न समेत भइसक्यो । यही भाद्र महिनाको ७ र ८ गते एक नम्बरमा, १२ र १३ गते ५ र ६ नम्बर प्रदेशको दाङको तुल्सिपुरमा, १४ र १५ गते ७ नम्बर प्रदेशको कैलालीको धनगढीमा र दुई नम्बर प्रदेशको २२ र २३ गते जनकपुरमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न हुँदैछ । यो सँगसँगै हामीले पार्टीको सदस्यता नवीकरण, सदस्यता वितरण, आन्तरिक पार्टी कमिटीको बैठक राख्ने, सम्मेलन गर्नको निम्ति पूर्वाधारहरु तयार गर्ने काम पनि गरिरहेका छौं ।

मंसीरको मसान्तसम्म स्थानीय तहको सम्मेलन, माघको मसान्तसम्म प्रदेशहरुको अधिवेशन र आगामी फागुन १० देखि १५ गतेसम्म पार्टीको प्रथम संघीय महाधिवेशन सम्पन्न गर्नेछौं । यसरी हामी अहिले पार्टीको आन्तरिक कामहरुमा फोकस गरेर अगाडि बढिराखेका छौं ।

प्रदेश भ्रमणको कुरा पनि म यहाँ जोड्न चाहन्छु । हामी केही दिनअघि सातवटै प्रदेश भ्रमण गरेर फर्कियौं । नेताहरु आफूहरुमाझ आएर आफ्ना समस्या बुझिदिओस् भन्ने सबै अभियन्ता र जनताको पनि माग छ । भ्रमणको क्रममा सातवटै प्रदेशमा निकै उत्साहजनक सहभागिता पायौं । अहिलेको आवश्यकता अनुसार अब हामी सबै नेताहरु फिल्डमा जाने निर्णय गरेका छौं । संघीय तहमा जिम्मा लिएका साथीहरु प्रदेशमा र प्रदेशमा जिम्मेवारी लिनुभएका साथीहरु स्थानीय तहमा जाने भन्ने कार्यक्रम बनाएका छौं । यदि कोही नेताहरु फिल्डमा जानुभएन भने त्यो अनुशासन उल्लंघनको विषय बन्छ । अनुगमन तथा मूल्याङ्कन विभागले नेताहरुको रेकर्ड राख्छ ।

० आगामी निर्वाचनमार्फत नयाँ शक्तिले नेतृत्व लिन सक्ला ? कत्तिको विश्वस्त हुनुहुन्छ ?

जनताले विकल्प खोजेका छन् । विकल्प दिनका लागि हामी प्रतिबद्ध छौं । मलाई विश्वास छ, आगामी चुनावमा नयाँ शक्ति पार्टी देशको सशक्त वैकल्पिक शक्तिको रुपमा स्थापित हुनेछ ।

० देश संघीयतामा गएको छ, कतिपयले संघीयता नै खारेज हुन्छ भन्न थालिसकेका छन् । तपाईंको बुझाई के छ ?

नेपाल पहिलो पटक संघीयतामा गएको छ । संघीयतालाई यो देशको शासकहरुदेखि लिएर संघीयताको विरोधी मानसिकता बोक्ने संघ संस्था र व्यक्ति–व्यक्त्विहरुले असफल गराउन खोजिरहेका छन् । संघीयताविरुद्ध पाइला पाइलामा षड्यन्त्र भइरहेको छ । जथाभावी जबरजस्ती जनताको टाउकोमा करको भारी बोकाएर यो सरकार संघीयतामाथि षड्यन्त्र गर्दैछ । संघीयताविरुद्ध षड्यन्त्र आफूहरु गर्ने र त्यसको दोष संघीयतामाथि थोपर्ने जुन काम भइरहेको छ, यसको सशक्त प्रतिवाद र भण्डाफोर गर्न सच्चा संघीयतावादीहरुको दायित्व बन्न गएको छ ।

० वर्तमान सरकारलाई कसरी हेर्नुहुन्छ?

अहिलेको सरकार नेपाली इतिहासकै सर्वाधिक शक्तिशाली सरकार हो । त्यसकारण यो सरकारसँग जनअपेक्षा पनि धेरै नै थियो । तर सरकार कुहिरोको कागझैं अलमलिइरहेको छ । समृद्धिको अमूर्त नाराले सरकारलाई गिज्याइरहेको छ । प्रधानमन्त्रीको उखानटुक्काले प्रधानमन्त्रीकै मजाक उडाइरहेको छ ।

समृद्धिको लागि शान्ति र स्थायित्व अनिवार्य शर्त हुन् । जसकालागि संविधान संशोधन अपरिहार्य छ । तर सरकार उल्टो बाटो हिँडिरहेको छ । प्रदेशको नामाकरण, समावेशिता, मुलुकी ऐन नयाँ संशोधन लगायत बिषयहरुलाई हेर्दा सरकार दुई तिहाईको बलमा शासन गर्न खोजे जस्तो देखिन्छ । संघीयता, समावेशिता र लोकतन्त्रको मर्मविपरीत यो सरकारले काम गरिरहेको छ । सरकारको कामले थप विद्रोहको बीऊ रोप्ने र आगोमा घीउ थप्ने काम गरिरहेको छ ।

सरकारको ६ महिनाको कामलाई हेर्ने हो भने यो सरकारले यथास्थितिवादकै पक्षपोषण गरिरहेको देखिन्छ । बजेट त प्रतिगामी नै छ । माइतीघर मण्डलालगायत ठाउँहरुमा निषेधित क्षेत्र घोषणा गरेर लोकतन्त्र विरोधी निरंकुश चरित्र देखाइसकेको छ ।

समाजवादउन्मुख कम्युनिष्ट सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा खुलेआम व्यापार गरेको छ । आसेपासे पुँजीवाद डरलाग्दो गरी मौलाएको छ । भ्रष्टाचार, कमिसन, महंगी, कालाबजारीले इतिहासकै सबै रेकर्डहरु बिर्साउला जस्तो छ । समग्रमा भन्दा यो सरकारले न समृद्धिको बाटो समाउन सक्यो न लोकतन्त्रलाई सुदृढ नै गर्न सक्यो । त्यसैले यो सरकारलाई विश्वास गर्ने ठाउँ छैन । सरकार उल्टो बाटोमा हिँडिरहेको छ ।

०००