देशभरका निर्वाचन कार्यालयहरुमा नयाँ शक्तिको धर्ना

२१ चैत, २०७३

काठमाडौं— नयाँ शक्तिले आज सोमबार दलीय चुनाव चिन्हको माग गर्दै देशैभरिका जिल्ला निर्वाचन कार्यालयहरुमा धर्ना दिएको छ । नयाँ शक्ति लगायत दलीय चुनाव चिन्हबाट बञ्चीत दलहरुले हिजो र आज चुनाव चिन्हका लागि दबाब दिने उद्देश्य स्वरुप देशभरका ७५ वटै जिल्ला निर्वाचन कार्यालयमा घेराउ गर्ने संयुक्त कार्यक्रम राखेका थिए । जस अन्तर्गत देशभरका जिल्ला निर्वाचन कार्यालयहरुमा सोमबार बिहानैदेखि धर्ना जारी राखेको नयाँ शक्ति पार्टीका जिल्ला संयन्त्रहरुले जनाएका छन् ।

धर्नाकै क्रममा धनुषाको जनकपुरस्थित जिल्ला निर्वाचन कार्यालय घेराउ गर्दा प्रहरीले नयाँ शक्तिका १५ नेता कार्यकर्तालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नयाँ शक्ति पार्टीका संघीय परिषद् सदस्य तारादेवी महतो, रुवी मिश्रा, जिल्ला नेता आमना खातुन, रमेश यादव, मोहन झा, रघुनाथ साह, विजय भगत, हेमा झा, सुरेन्द्र यादव, प्रशान्त झा, भरत साह, सुमन ठाकुर, अजयकुमार दास, नरेन्द्रविक्रम साह र मोहम्मद साहिद खानलगायत रहेका छन् ।

पक्राउ परेका नेता तथा कार्यकर्ताहरुलाई जिल्ला प्रहरी कार्यालयको नियन्त्रण राखी साँझ रिहाई गरिएको बुझिएको छ ।


यसैबिच निर्वाचन आयोगको कार्यालय ललितपुरले पनि संयुक्त धर्ना कार्यक्रम आयोजना गरेको छ । ललितपुरको धर्ना कार्यक्रमलाई संबोधन गर्दै नयाँ शक्ति पार्टी, नेपालका कार्यकारी सदस्य एवं प्रवास प्रादेशिक समिति संयोजक नवराज सुवेदीले दलीय निर्वाचन चिन्ह नदिनु, संविधान र बहुदलीय प्रतिस्पर्धा हुने धारणा राख्नुभयो ।

धर्ना कार्यक्रममा क्रान्तिकारी माओवादी निकट देशभक्त जनगणतान्त्रिक मोर्चाका केन्द्रीय सचिवालय सदस्य नगेन्द्र राईले आफुहरुलाई दलीय निर्वाचन चिन्ह नदिइएसम्म आन्दोलन नरोक्ने बताउनु भयो । संघीय समाजवादी फोरमका नेता वीर बहादुर लामाले निरङकुशता विरुद्ध विगतको लडाईं खेर जान नदिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

धर्ना कार्यक्रममा नयाँ शक्ति पार्टी, नेपालका ललितपुर उत्प्रेरक फणिन्द्र देवकोटा, रोशन पोखरेल ईशुजंग कार्की, गणेश केसी, कृष्ण मुरारी ढकाल, जनक थापा, किरण शाक्य, पवन न्यौपानेलगायतको उपस्थिति रहेको थियो ।