देशको समृद्धिका लागि खेलकुदको विकास अपरिहार्य : संयोजक भट्टराई

२७ चैत, २०७३

काठमाडौं – नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले आर्थिक समृद्धिका लागि खेलकुदको विकास अपरिहार्य हुने बताउनुभएको छ । काठमाडौंमा आइतबार नयाँ शक्ति पार्टीसम्बद्ध नयाँ शक्ति समाजवादी खेलकुद महासंघको प्रथम राष्ट्रिय भेलाको उद्घाटन गर्दै संयोजक भट्टराईले खेलकुदको विकासबिना समृद्धि हासिल गर्न संभव नहुने बताउनुभएको हो ।

ओलम्पिक खेलमा सम्पन्न र विकसित देशहरुले नै धेरै स्वर्ण पदक जित्ने गरेको तथ्य पेश गर्दै उहाँले देशको समृद्धिका लागि खेलकुद र राष्ट्रका खेलाडीहरुको भूमिका प्रभावकारी हुने बताउनुभयो ।

‘देशको समृद्धिको अभियानमा खेलकुद प्रत्यक्ष रुपमा जोडिने विषय हो’ उहाँले खेलकुद महासंघलाई शुभकामना दिंदै भन्नुभयो – ‘खेलकुद महासंघले खेलकुदको माध्यमबाट आम युवाहरुकाबिच भावनात्मक सम्बन्धको विकास गरी संगठन विस्तार गर्न सफल होस् ।’

संयोजक भट्टराईले पुराना शक्तिहरुको विकल्पको रुपमा नयाँ शक्ति निर्माण भएकोेले पुराना शक्तिहरुको प्रतिवाद खेपेरै अघि बढ्नुपर्ने आवश्यकता औंल्याउनुभयो । ‘नयाँ विचार र शक्तिको उदय हुँदा प्रतिरोध हुन्छ, त्यसलाई चिरेर अघि बढ्नुपर्छ’ उहाँले भन्नुभयो –‘हामी युवाहरुलाई पार्टीभित्र पनि र राष्ट्रको नेतृत्वदायी भूमिकामा पनि अग्रस्थान दिन्छौं । देशको विकास र समृद्धिका लागि युवापुस्ता अघि बढ्नुपर्छ ।’

सम्मेलनलाई शुभकामना दिंदै नयाँ शक्ति पार्टीका संगठन विभाग प्रमुख देवेन्द्र पौडेलले देशको विकास र समृद्धिका लागि युवाहरुलाई रचनात्मक एवं सिर्जनात्मक रुपले अघि बढ्न आग्रह गर्नुभयो । सांसद गंगा चौधरीले शुभकामना दिंदै देश बनाउने काममा युवाहरुको सिर्जनशील भूमिका अपरिहार्य रहेको बताउनुभयो । त्यसैगरी नयाँ शक्तिको युवा संगठन राष्ट्रिय युवा अभियानका संयोजक कमल शाहीले खेलकुदमार्फत युवाहरुले सामाजिक अभियानमा जोडिंदै देशको समृद्धिमा हातेमालो गर्नुपर्ने बताउनुभयो ।

भेलाले देवी सुवेदीको संयोजकत्वमा १ सय ५१ सदस्यीय केन्द्रीय समिति गठन गरेको छ भने २१ सदस्यीय कार्याकारिणी समिति गठन गरेको छ । भेलाले ५ जना सहसंयोजकको चयन गरेको छ । सहसंयोजकहरुमा दिपराज गुरुङ, शैलेन्द्र अमात्य, पदम बहादुर राई, रीत बहादुर श्रेष्ठ र निरोज मास्के चयन हुनुभएको छ । नवनिर्वाचित पदाधिकारीहरुलाई नयाँ शक्तिका पासाङ शेर्पा, कुमार पौडेललगायतका नेताहरुले शुभकामना व्यक्त गर्नुभएको थियो ।