रत्नपार्कमा नयाँ शक्तिसहित ६८ दलको जारी अनशन अाज तेस्राे दिनमा

४ वैशाख, २०७४

काठमाडौं – घोषित स्थानीय तह निर्वाचनमा दलीय सहभागिताका लागि दलीय चुनाव चिन्हको माग गर्दै नयाँ शक्ति पार्टीसहित ६८ दलले रिले अनशन जारी राखेका छन् ।

काठमाडौंको रत्नपार्कस्थित शान्तिबाटिकामा आयोजित रिले अनशनको आज तेस्रो दिन नयाँ शक्तिसम्बद्ध महिला संगठन महिला शक्ति महासंघको नेतृत्वमा चुनाव चिन्हबाट बञ्चित दलहरुको महिला संगठनहरुले अनशन जारी राखेका हुन् । एक सातासम्म चल्ने रिले अनशनको सुरुवात गत वैशाख २ गते नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले अनशन बसेर सुरुवात गर्नुभएको थियो ।

लोकतान्त्रिक राज्य व्यवस्थामा दलहरुलाई दलीय चुनाव चिन्हबाट बञ्चित गरेर सरकारले घोर तानाशाही र अलोकतान्त्रिक व्यवस्था लादेको भन्दै त्यसको सांकेतिक विरोध स्वरुप नयाँ शक्तिलगायतका चुनाव चिन्हबाट बञ्चित दलहरु संयुक्त आन्दोलनमा उत्रिएका हुन् । दलहरुले दलीय चुनाव चिन्ह प्रदान गरी चुनावमा भाग लिने वातावरण बनाउन र संविधान संशोधनमार्फत असन्तुष्ट पक्षहरुको माग सम्बोधन गरी सबैलाई चुनावमा भागलिने अवस्थाको सिर्जना गरी निर्वाचन सम्पन्न गर्न सरकारसँग माग गरेका छन् ।

सरकारलाई आफ्ना मागहरु पूरा गर्न दबाबस्वरुप दलहरुले संयुक्त संघर्ष समिति घोषणा गरी चरणबद्ध आन्दोलन गरिरहेका छन् । आफूहरु संवैधानिक रुपमा विधिसम्मत तरिकाले निर्वाचन आयोगमा दर्ता भएको दललाई चुनाव चिन्हबाट बञ्चित गरिने घोर तानाशाही व्यवस्था भएको जनाउँदै त्यसको विरुद्ध सशक्त आन्दोलन गर्ने अनशनरत दलका नेताहरुले बताएका छन् ।

सोमबारको अनशनमा नयाँ शक्ति पार्टीका नेतृहरु कल्पना धमाल, हिसिला यमी, कमला हिमचुरीलगायत अनशनमा बस्नुभएको छ ।

अनशनका ताजा तस्बिरहरु हेर्नुहोस्