सन् २०४० सम्म समृद्ध देश बनाउने नयाँ शक्तिको सपना

चुनावी घोषणापत्र लेख्दै नयाँ शक्ति
५ वैशाख, २०७३

काठमाडौं – नयाँ शक्ति पार्टी, नेपालले घोषित स्थानीय तह चुनावलाई लक्षित गरेर आफ्नो चुनावी घोषणापत्र लेख्दैछ । नयाँ शक्तिले सन् २०२२ सम्म गरिबीको अन्त्य गरी सन् २०४० सम्म नेपाललाई विश्वका समृद्ध देशहरुको सूचीमा समावेश गर्ने प्रतिबद्धतासहितको चुनावी घोषणापत्र ल्याउँदैछ ।

पार्टीको चुनावी घोषणापत्र मस्यौदा समितिका संयोजक केशव दाहालले घोषित चुनावलाई लक्षित गर्दै समग्र देशको दीगो विकास र समृद्धिकेन्द्रीत भएर घोषणापत्र तयार गरिरहेको बताउनुभयो ।

देशको विकास र समृद्धिलाई नै केन्द्रीय राजनीतिक मुद्दा बनाउँदै स्थापना भएको नयाँ शक्तिले विकास र समृद्धिको मुद्दालाई ५ ‘स’ मा केन्द्रीत गरेको छ । देशको आर्थिक समृद्धिका लागि स्थानीय तहलाई अझै बढी समृद्ध र अधिकारसम्पन्न बनाउनुपर्ने भन्दै नयाँ शक्तिले केही नीतिगत र केही ब्यवहारिक प्रतिवद्धता अनुरुप केन्द्रीय र स्थानीयतहमा आफ्ना प्रतिबद्धताहरु तयार गरिरहेको छ ।

‘केन्द्रीय र प्रादेशिक योजना अन्तरगत हामीले सन् २०२२ सम्ममा गरिबीको अन्त्य गर्ने र सन् २०३० सम्ममा जनताको जीवनस्तरलाई मध्यम श्रेणीमा उकास्ने र सन् २०४० सम्ममा देशलाई विश्वका समृद्ध देशहरुको सूचीमा पुर्याउने प्रतिबद्धता गर्नुपर्छ’ नयाँ शक्ति पार्टीको चुनावी घोषणापत्रको मस्यौदामा उल्लेख छ ।

केन्द्रीय लक्ष्यलाई कार्यान्वयन गर्नका लागि नयाँ शक्तिले स्थानीय तहहरु परिचालित गर्ने जनाएको छ । जस अनुरुप मूलतः ५ वर्षभित्र भूमिसुधार र आवास अधिकारको सुनिश्चितता सहित सबैभन्दा गरिब ५० लाख किसान तथा सुकुम्बासी परिवारलाई गरिबीको रेखाबाट माथि उठाउने कार्यक्रम ल्याउने भएको छ ।

त्यसैगरी रोजगारविहीन थप ३० लाख युवाहरुलाई वार्षिक न्यूनतम् १०० दिन रोजगारी सृजना गर्ने प्रतिबद्धता पनि नयाँ शक्तिले आफ्नो चुनावी घोषणापत्रमा जनाउँदैछ । यसरी प्रदान गरिने रोजगरी मूलतः पूर्वाधार विकास, कृषिको आधुनिकीकरण, औद्योगिकीकरण र पर्यटन प्रवद्र्दनमार्फत सृजना गरिने नयाँ शक्तिले जनाएको छ ।

मूल्य नियन्त्रण, रासन कार्ड र गरिबीको रेखामुनी रहेका जनताका लागि शिक्षा र स्वास्थको सुनिश्चिततालाई पनि नयाँ शक्तिले आफ्नो कार्यक्रम बनाएको छ ।

नयाँ शक्तिले दुर्गम क्षेत्र र अति ग्रामीण बस्तीहरुलाई स्थानान्तरण गरी सुन्दर ‘स्मार्ट’ आवास क्षेत्र बनाउने योजना ल्याएको छ भने ५ वर्षभित्र प्रत्येक नगर तथा गाउँपालिकाको केन्द्रसम्म पक्की सडक सञ्जाल निर्माण गर्ने योजना बनाएको छ ।

मेचीकाली राजमार्गलाई ६ लेनको बनाउने, तराई मधेसमा हुलाकी राजमार्गलाई ४ लेनको पक्की राजमार्गको स्वरुप दिने र मध्यपहाडी लोकमार्गलाई ५ वर्षभित्र कालोपत्र गरिसक्ने योजना नयाँ शक्तिले ल्याएको छ भने अबको १० बर्षमा पूर्व–पश्चिम रेल सेवा सुचारु गर्ने प्रतिबद्धता जनाएको छ ।

त्यस्तै हरेक प्रदेशमा अन्तर्राष्ट्रिय स्तरका एक एक विश्वविद्यालय स्थापना गर्ने र दुई दुई ठूला अस्पतालहरु खोल्ने लक्ष्य लिएको छ । हरेक गाउँपालिकामा २५ सैयाका ग्रामीण अस्पतालहरु ५ वर्षभित्र खोल्ने उद्देश्य नयाँ शक्तिले लिएको छ ।

त्यसैगरी सहरी क्षेत्रमा बढ्दो सवारी आवागमनलाई मध्यनजर गर्दै हरेक महानगरपालिका र उपमहानगरपालीकाको ट्राफिक ब्यवस्थापनका लागि ५ बर्षभित्र १०० कि.मी. फ्लाईओभर ब्रिज निर्माण गर्ने र ५ वर्षभित्र काठमाडौमा १०० कि.मीं साईकल लेन बनाउने लक्ष्य निर्धारण गरेको छ ।

नयाँ शक्तिले आत्मनिर्भर आर्थिक विकासका लागि नवीन औद्योगिक क्रान्ति गर्ने योजना बनाएको छ । जस अन्तर्गत प्रत्येक गाउँपालिका र नगरपालिकाका वडामा साना तथा मझौला उद्योग स्थापना गर्ने योजना बनाएको छ । देशको आर्थिक विकासका लागि भारत, चीन जस्ता देशहरुको ब्यापार श्रृङ्खलामा सहभागी हुनेगरी औद्योगिक नीति बनाई राष्ट्रिय पुँजिपतिहरुसँग सहकार्य गर्ने नीति नयाँ शक्तिले बनाएको छ ।

कृषिमा आत्मनिर्भर हुने, धानको उत्पादन तीन गुणा गर्ने, बाली पकेट क्षेत्रहरु बनाउने, फलफूल, नगदे वाली, माछा, मासु र दूधको उत्पादन, मसला, जडिबुटी खेति गर्न चाहानेहरुलाई सरकारले सुरक्षा दिने र यसैमार्फत वार्षिक रोजगारी दरलाई डब्बल गर्ने नीति नयाँ शक्तिले बनाएको छ ।

त्यसैगरी नयाँ शक्तिले समानुपातिक र समावेशी विकासलाई आधार मानी इन्द्रणी राष्ट्रियताको प्रवद्र्धन गर्ने योजना बनाएको छ । नेपालका आदिवासी जनजाति, मधेशी–थारु र खसआर्यका तीन मुख्य क्लष्टरमा रहेका हामी नेपालीलाई हामीले ईन्द्रेणी राष्ट्रियताबाट परिभाषित गरेको नयाँ शक्तिले आन्तरिक एकता सवल भएपछि मात्र हाम्रो परराष्ट्र नीति सन्तुलित र प्रभावकारी हुनेछ जनाउँदै राष्ट्रिय एकता, सन्तुलित छिमेक सम्बन्ध र देशभक्तिबाट हाम्रो राष्ट्रियता र सार्वभौमिकता अझ समृद्ध गर्ने प्रयत्न गर्ने जनाएको छ ।

हरेक स्थानीय तहलाई अल्पसंख्यक केन्द्रीत कार्यक्रम बनाउन ५० लाखसम्म बजेट प्रवाह गरिने नयाँ शक्तिको योजना रहेको छ । त्यस्तै मातृभाषालाई राज्यले संरक्षण गर्ने र यसलाई प्रवद्र्धन गर्ने नीति रहेको छ ।

नयाँ शक्तिले विकट मानिएको कर्णालीको विकासका लागि छुट्टै कर्णाली विकास कार्यक्रम बनाएको छ । जस अन्तर्गत त्यहाँको जलविद्युत, जडीबुटी, जैविक विविधता जस्ता प्राकृतिक स्रोत र साधनको उपयोग गरी दीगो विकास गर्न विशेष मास्टर प्लानलाई केन्द्रमा राखी विशेष कर्णालीको विकास र उत्थान कार्यक्रम संचालन गर्ने जनाएको छ ।

गाउँको विकास र प्रवद्र्धनका लागि ‘हामी बनाउछौं हाम्रो गाउँ, सफा, सुन्दर र सुरम्य ठाउँ’ नारा तय गर्दै नयाँ शक्तिले स्थानीय विकासका लागि पाँच अभियानअन्तर्गत शिक्षा, स्वास्थ, सफाई, सडक र सशक्तिकरणका लागि प्रत्येक गाउँपालिकालाई थप अनुदान दिने हाम्रो प्रतिबद्धता जनाएको छ ।

सुशासन र सदाचारका लागि भ्रष्टाचारमा शून्य शहनशीलतालाई आफ्ना घोषित नारा नै बनाएको नयाँ शक्तिले सबैका लागि सामाजिक सुरक्षाको ग्यारेन्टी गरेको छ । ‘सबैलाई गास, बास, कपास, शिक्षा, स्वास्थ, रोजगारी, सुरक्षा र आत्मासम्मानको पूर्ण प्रत्याभूति हुनेछ । सबै नागरिकले राज्यलाई सेवा दिने र राज्यले हरेक नागरिकलाई सुरक्षादिने अवधारणा कार्यान्वयन गरिने छ । जेष्ठ जागरिक भत्ता, अपांगता भएकाहरुलाई दिइने सुविधा, एकल महिला भत्तामा अहिलेको तीनगुणा बृद्धि गरिने छ ।’ चुनावी घोषणापत्रमा उल्लेख छ ।

भूकम्पीय प्रकोपबाट भएका सम्पदाहरुको पुनर्निर्माणलाई राष्ट्रिय अभियान घोषणा गर्दै भुकम्प प्रभावित क्षेत्रको पुनर्निमाण स्थानीय सरकारको प्राथमिकतामा राखेर काम गर्नेछ । जस अन्तर्गत स्थानीय सरकारको सिफारिसमा सबै भुकम्प प्रभावितहरुलाई १० बर्षसम्म उद्याम गर्न सरकारले सहयोग, कर छुट लगायतका सुविधा दिने नयाँ शक्तिको योजना छ ।

नयाँ शक्तिले चुनावकेन्द्रीत प्रतिबद्धतालाई केन्द्रीय तहमा गरिने नीतिगत व्यवस्था र स्थानीयस्तरमा कार्यान्वयनको तहमा गरिने कार्ययोजनाको रुपमा आफ्ना प्रतिबद्धताहरु सार्वजनिक गर्ने तयारी गरिरहेको घोषणापत्र मस्यौदा समितिका संयोजक दाहालले बताउनुभएको छ ।