नयाँ शक्तिको केन्द्रीय कार्यकारी समिति बैठक बस्दै

६ वैशाख, २०७४

काठमाडौं – नयाँ शक्ति पार्टी नेपालको केन्द्रीय कार्यकारी समितिको बैठक अाज बुधबार पार्टी कार्यालय बबरमहलमा बस्दैछ । आसन्न स्थानीय तहको निर्वाचनका लागि चुनावी रणनीति तयार गर्न तथा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमसँगको पार्टी एकताको विषयमा छलफल गरी ठोस निर्णय लिन समितिको बैठक डाकिएको केन्द्रीय कार्यालयका संयोजक डा. केशवमान शाक्यले बताउनुभएको छ ।

आगामी वैशाख ३१ गतेका लागि घोषित स्थानीय तह चुनावमा भाग लिनको लागि नयाँ शक्तिलगायतका नयाँ दलहरुलाई दलगत चुनाव चिन्ह नदिएको भन्दै नयाँ शक्तिसहित चुनाव चिन्हबाट बञ्चित दलहरुले चरणबद्ध आन्दोलन गरिरहेका छन् ।

चुनाव चिन्हबाट बञ्चित दलहरुको संयुक्त संघर्ष समिति बनाएर केन्द्रीय र स्थानीयस्तरमा धर्ना तथा विरोधका कार्यक्रमहरु गरिरहेका छन् । सोही क्रममा वैशाख २ गतेदेखि दलहरुले काठमाडौंको रत्नपार्कस्थित शान्तिबाटिकामा रिले अनशन जारी राखेका छन् ।

नयाँ शक्तिको आजको घोषित स्थानीय तह निर्वाचनका लागि दलगत चुनाव चिन्ह नदिएको अवस्थामा कसरी अगाडि बढ्ने भन्ने विषयमा आवश्यक चुनावी रणनीति तयार गर्ने बुझिएको छ । त्यस्तै संघीय समाजवादी फोरमसँग पार्टी एकताका लागि भइरहेको गृहकार्यको सन्दर्भमा पनि बैठकले ठोस निर्णय गर्ने बुझिएको छ ।

नयाँ शक्तिले यसअघि नै मधेशी, थारु, आदिवासी जनजाति, अल्पसंख्यक तथा सीमान्तकृत समुदायहरुको असन्तुष्टिलाई संविधान संशोधनमार्फत सम्बोधन गरेर चुनावी वातावरण बनाउनुपर्ने भन्दै ६ बुँदे पूर्वशर्तहरु अगाडि सारेको थियो । सरकारले ती पूर्वशर्तहरुको बेवास्ता गर्दै एकतर्फी रुपमा चुनावमा जाने निर्णय गर्दै संसदमा प्रतिनिधित्व गर्ने बाहेकका दलहरुलाई दलगत चुनाव चिन्हबाट बञ्चित गर्नेगरी स्थानीय तह निर्वाचनसम्बन्धी कानून ल्याएको छ ।

लोकतान्त्रिक राज्य व्यवस्थामा दलहरुलाई दलीय चुनाव चिन्हबाट बञ्चित गरेर सरकारले घोर तानाशाही र अलोकतान्त्रिक व्यवस्था लादेको भन्दै त्यसको सांकेतिक विरोध स्वरुप नयाँ शक्तिलगायतका चुनाव चिन्हबाट बञ्चित दलहरु संयुक्त आन्दोलनमा उत्रिएका हुन् ।

नयाँ शक्तिको आजको कार्यकारी समितिको बैठकले यिनै विषयहरुमा ठोस निर्णय गर्दै पार्टीको आगामी रणनीति तय गर्ने बुझिएको छ ।