उपचाररत कलाकार दीपक क्षेत्रीलाई नयाँ शक्तिले गर्‍याे अार्थिक सहयोग

१५ वैशाख, २०७४

काठमाडौं – नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकार दीपक क्षेत्रीको स्वास्थ्य उपचारका लागि नयाँ शक्ति पार्टीले आर्थिक सहयोग गरेको छ । नयाँ शक्ति पार्टीको प्रवास संगठन अन्तर्राष्ट्रिय नेपाली समाज इजरायलले संकलन गरेको एक लाख नगद शुक्रबार पार्टीका संयोजक डा. बाबुराम भट्टराईले कलाकार दम्पतीलाई हस्तान्तरण गर्नुभएको हो ।

संयोजक भट्टराईले सहयोग रकम हस्तान्तरण गर्दै कलाकार राष्ट्रका अमूल्य सम्पत्ति भएको हुँदा कलाकारहरुको संरक्षण गर्दै स्वास्थ्योपचारमा सरकारले सहयोग गर्नुपर्ने बताउनुभयो । आर्थिक संकटमा परेका कलाकार दीपक क्षेत्रको उपचारमा सहयोग गर्नका लागि अन्तर्राष्ट्रिय नेपाली समाज इजरायलले त्यहाँस्थित नेपालीहरुबाट प्राप्त भएको सहयोग हस्तान्तरण गरेको नयाँ शक्तिका प्रवास विभाग सदस्य इन्द्रराज भट्टराईले बताउनुभयो ।

केही साताअघि कलाकार क्षेत्री गम्भीर बिरामी भई उपचाररत रहेको खबर सञ्चार माध्यमहरुमा आएको थियो । कलाकार क्षेत्रको श्वरनलीमा पलाएको मासुका कारण उहाँको स्वर भास्सिएकोले यथाशीघ्र सल्यक्रिया गर्न चिकित्सकले सुझाव दिएका थिए ।

तर, आर्थिक अभावका कारण उपचारमा समस्या आएपछि सहयोगका लागि विभिन्न क्षेत्रमा भौंतारिएका दीपक दम्पती सबैको सहयोगबाट उपचारका लागि आर्थिक स्रोत जुटाउन सफल छ । ‘सबैको सहयोगले उपचारका लागि पैसा जुटेको छ’ क्षेत्रीकी धर्मपत्नी विपना बस्नेतले भन्नुभयो ।

‘मलाई जुन बेला सहयोग आवश्यक थियो, राज्यले हामी कलाकारलाई सहयोग गरेन । राज्य सीमित मान्छेको पेवा रहेछ’ कलाकार क्षेत्रीले गुनासो पोख्दै भन्नुभयो – ‘अहिले मलाई माया गर्ने शुभचिन्तक तथा मेरा दर्शक श्रोताहरुले आर्थिक सहयोग गर्नुभयो, उहाँहरुलाई धन्यवाद दिन्छु ।’