काठमाडौं महानगरमा नयाँ शक्ति र संघीय समाजवादी फोरमको संयुक्त मनोनयन पत्र दर्ता

१९ वैशाख, २०७४

काठमाडौं । नयाँ शक्ति पार्टी नेपाल र संघीय समाजवादी फोरमले काठमाडौं महानगरपालिकामा आफ्नो उम्मेदवार मनोनयन गरेका छन् । संघीय समाजवादी फोरमका पबित्रमान बज्राचार्र्य महानगर प्रमुख र नयाँ शक्ति पार्टी नेपालकी नेतृ सबिना अर्यालले उपप्रमुख पदमा मनोनयन पत्र दर्ता गराएका हुन् ।

दुबै पार्टीको संयुक्त टोलीले राष्ट्रिय सभा गृह प्रदर्शनीमार्गमा गएर प्रस्तावक र समर्थकसहित मनोनयन दर्ता गराएका हुन् । यसैगरी काठमाण्डौं महानगरपालिकाका ३२ वटै वडाका अध्यक्षसहितका पदाधिकारीहरुको पनि मनोनयन गरिसकेको छ । फोरम र नयाँ शक्ति पार्टीको संयुक्त चुनाव चिन्ह एक हातले बोकेको मशालसहित चुनावमा होमिएका हुन् ।

महानगरको मनोनयनमा उम्मेदवारहरुलाई हौसला प्रदान गर्न नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराई एवं संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव मनोनयन स्थल पुग्नु भएको थियो । उहाँहरुले मनोनयनस्थलमा उम्मेदवारहरुलाई शुभकामना दिनु भयो ।

मनोनयनस्थलमा नयाँ शक्ति पार्टीका दुर्गा सोब, हिसिला यमी, केशव दाहाललगायतका नेताहरुको उपस्थिति रहेको थियो भने संघीय समाजवादी फोरमका वरिष्ठ नेता अशोक राई, उपाध्यक्ष राजेन्द्र श्रेष्ठलगायतका नेताहरुकोसमेत उपस्थिति रहेको थियो ।

शान्ति बाटिका रत्नपार्कबाट दुवै पार्टीका नेता कार्यकर्ता तथा समर्थकहरु र्यालीसहित मनोनयन स्थल राष्ट्रिय सभा गृह पुगेका थिए ।

यसैबिच सरकारले घाेषणा गरेकाे पहिलाे चरण अन्तर्गतका प्रदेश ३, ४ र ६ का जिल्लास्थित नगरपालिका तथा गाउँपालिकाहरुमा दुवै पार्टीले संयुक्त मनाेनयनपत्र दर्ता गराएका छन् ।

हेर्नुहोस् मनोनयनस्थलका केही तस्बिरहरु: