यस्तो छ नयाँ शक्तिको चुनावलक्षित कार्ययोजना

२१ वैशाख, २०७४

काठमाडौं – नयाँ शक्ति पार्टीले यहि वैशाख ३१ गतेका लागि तय गरिएको पहिलो चरणको स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै चुनावी कार्ययोजना बनाएको छ ।

नयाँ शक्ति र संघीय समाजवादी फोरम संयुक्त चुनावी गठबन्धन निर्माण गरी स्थानीय तह निर्वाचनमा होमिएका हुन् । दुई दलले संयुक्त रुपमा एक हातले बोकेको मसाल चुनाव चिन्ह लिई चुनावी मैदानमा उत्रिएका हुन् । दुई दलले पहिलो चरणमा निर्वाचन हुन लागेका प्रदेश ३, ४ र ६ का ३४ जिल्लाका नगर तथा गाउँपालिकाहरुमा संयुक्त उम्मेदवारी दिएका छन् ।

सोही चुनावलाई लक्षित गर्दै नयाँ शक्ति पार्टीले प्रचारप्रसारका लागि आफ्ना केन्द्रीय कार्यकारी सदस्यहरुलाई चुनावी क्षेत्रमा खटाइसकेको छ । चुनावका लागि नयाँ शक्ति र संघीय समाजवादी फोरमले संयुक्त रुपमा केन्द्रदेखि स्थानीय तहसम्म निर्वाचन परिचालन संयन्त्र बनाएर चुनावी अभियान सुरु गरेका हुन् ।

नयाँ शक्तिको बिहिबार बबरमहलस्थित केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय निर्वाचन अभियान परिचालन समितिको बैठकले पार्टीका सम्पूर्ण सदस्यहरु र कमिटीलाई अनिवार्य रुपले निर्वाचन अभियानमा सहभागी गराई घरदैलो कार्यक्रम लिएर उम्मेद्वारसहित जनताको बीचमा जाने निर्णय गरेको छ ।


नयाँ शक्तिले समाजका क्रियाशील एवं नागरिक समाजका अगुवाहरु, सेलिब्रिटीहरु, ज्येष्ठ नागरिक, एकल महिला, अपांगता भएको समूह, यौनिक तथा लैंगिक अल्पसंख्यक, सांस्कृतिक समूह र गुठीहरु, युवा बिद्यार्थीहरु, मजदुर किसान लगायतसँग भेटघाट गर्ने र मतदानकालागि आह्वान सहित परिचालन गर्ने योजना बनाएको छ ।

त्यसैगरी केही खास ठाउँहरुमा मुख्य नेतृत्वको कार्यक्रसहित विशेषतः महानगर, उपमहानगरमा सांगितीकसहितका चुनावी कार्यक्रमहरु संचालन गर्ने कार्यक्रम पनि नयाँ शक्तिले तय गरेको छ ।

जारी राजनीतिक ध्रुवीकरण कार्यक्रमलाई समेत तीव्र बनाएर नगर तथा गाउँपालिकाकेन्द्रित पार्टी प्रवेश कार्यक्रमहरु आयोजना गर्ने नयाँ शक्तिले जनाएको छ ।