काठमाडौंमा नयाँ शक्ति र संघीय समाजवादी फोरमको चुनाव प्रचार तीव्र

२२ वैशाख, २०७४

काठमाडौं – नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरमले काठमाडौं महानगरमा चुनाव प्रचार अभियानलाई तीव्र बनाएको छ । महानगरमा दुई पार्टीले संयुक्त चुनाव प्रचार संयन्त्र निर्माण गरी प्रचारप्रसार सुरु गरेका हुन् ।

दुई पार्टीले संयुक्त रुपमा शुक्रबार जडिबुटीमा काठमाडौं महानगरपालिका ३२ नम्बर वडा कार्यालय उद्घाटन गरी यस क्षेत्रमा प्रचार प्रसार सुरु गरेका हुन् । कार्यालय उद्घाटन गर्दै नयाँ शक्ति पार्टीकी सांस्कृतिक विभाग प्रमुख तथा अभिनेत्री करिष्मा मानन्धरले देशको व्यवस्था परिवर्तन भइसकेको हुँदा अब नागरिकले आफ्नै भोटले अवस्था परिवर्तन गर्नुपर्ने बताउनुभयो ।

उहाँले काठमाडौंको व्यवस्थित र दीगो विकासका लागि काठमाडौंलाई बुझेको जानेको मान्छेलाई भोट दिन आग्रह गर्दै भन्नुभयो – ‘हामीले जसरी काठमाडौं बुझेका छौं, अरुले त्यसरी बुझेका छैनन् । हामी वाग्मतीमा पौडी खेल्थ्यौं, माछा माथ्र्यौं । तर अहिले किन यस्तो प्रदूषित भयो ? कसले गर्यो ?’ उहाँले अब फेरि काठमाडौंलाई सुन्दर सफा र हराभरा बनाउनकै लागि नयाँ शक्ति र संघीय समाजवादी फोरमका संयुक्त उम्मेदवारहरुलाई जिताउन आग्रहसमेत गर्नुभयो ।

दुई पार्टीका तर्फबाट काठमाडौं महानगरपालिकाको प्रमुखका उम्मेदवार पवित्र बज्राचार्यले जनप्रतिनिधि नहुँदा अहिले महानगरको कामकारबाही अत्यन्त अव्यवस्थित र जवाफदेहीबिहीन भएको भन्दै आफूले महानगर प्रमुखमा विजयी हासिल गरे आफ्नो विवेक, अनुभव प्रयोग गरी जनतासँग मिलेर महानगरको विकासको कामलाई विगतको भन्दा तीव्र र छिटो सम्पन्न गर्ने अठोट व्यक्त गर्नुभयो ।

उपप्रमुखको उम्मेदवार सबिना अर्यालले काठमाडौंका अस्तव्यस्तता फेर्नकै लागि आफूहरु चुनावी प्रतिस्पर्धामा उत्रिएको जनाउँदै अब काठमाडौं फेर्ने बेला आएको बताउनुभयो । कार्यक्रममा ३२ नम्बर वडा अध्यक्षका उम्मेदवार रुद्र पौडेललगायतले बोल्नुभएको थियो ।