'कृषि क्षेत्रमा काम गर्नेको न्यूनतम तलब निर्धारण'

नयाँ शक्तिको योजनाः विषादीमुक्त कृषि
२२ वैशाख २०७४

काठमाडौं । नयाँ शक्ति पार्टी, नेपालले आफ्नो प्रतिबद्धतापत्रमा कृषिलाई मुख्यरुपमा समेटेको छ । नयाँ शक्तिले प्रारम्भिक चरणमा कृषि क्रान्ति नै आर्थिक क्रान्तिको मेरुदण्ड हुने बताएको छ ।

कृषिलाई आर्थिक क्रान्तिको साधनको रुपमा उल्लेख गर्दै युवाहरुलाई यस पेशामा आकर्षित गर्ने पर्टीको योजना छ । ‘युवाहरुलाई कृषि पेशामा आकर्षित गर्न र यस क्षेत्रको कूल गार्हस्थ उत्पादनमा योगदान बढाउन कृषिमा यान्त्रीकरण, आधुनिकीकरण र व्यवसायीकरण गर्न जोड दिइनेछ’ नयाँ शक्तिको प्रतिबद्धतापत्रमा भनिएको छ । त्यसका लागि पार्टीले कार्ययोजना पनि बनाएको छ ।

देशको भू–उपयोग नीति र योजना प्रदेशहरुको सहमतिमा बनाउने र कार्यान्वयन गर्ने योजना नयाँ शक्तिको रहेको छ । भू–स्वामित्व प्रणालीमा आमूल परिवर्तन ल्याई जमीन लगायत प्राकृतिक सम्पदामा राज्य र समुदायको स्वामित्व कायम गर्दै व्यक्तिलाई कानून बमोजिमका अधिकार हस्तान्तरण गरिने पार्टीले प्रतिबद्धतापत्रमा उल्लेख गरेको छ ।

व्यवसायिक कृषि (खाद्यान्न बाली, पशुपालन, माछापालन, फलफूल–तरकारी, जडीबुटी खेती) क्षेत्रको उत्पादकत्व बढाउने पार्टीको नीति रहेको छ । १५ वर्षभित्रमा कृषि पेशामा संलग्न जनसंख्या २०–२५ प्रतिशतमा झारिने र तुलनात्मक लाभ बढी हुने कृषि तथा पशुपालनजन्य क्रियाकलापहरुलाई विशेष प्रोत्साहन गर्ने योजना रहेको छ । साना किसानहरुलाई सहकारीमा संगठित गराएर व्यवसायिक खेती गर्ने व्यवस्था गर्ने पार्टीले जनाएको छ ।

कृषि औजार कारखाना खोल्न चाहने उद्यमीहरुलाई ५ प्रतिशत ब्याजमा वित्तीय संस्थाबाट यथेष्ट ऋण लिन पाउने व्यवस्था गर्ने पार्टीको योजना छ ।

कृषिमा उत्पादकत्व बढाउन आधुनिक कृषि औजार, गुणस्तरीय मलखाद र वीऊ–विजन समयमा उपलब्ध गराउन र उत्पादित वस्तुहरुको खरिद–बिक्री सहज बनाउन हरेक स्थानीय तहहरुमा शीत भन्डारण सहित एक/एक उत्पादन संकलन र बिक्री केन्द्रको स्थापना र सञ्चालन गर्ने योजना पार्टीको छ ।

कृषि उत्पादनको न्यूनतम समर्थन मूल्य सुनिश्चित गर्ने र सबै किसानलाई ५ वर्षभित्र कृषि तथा पशुपालन बिमा कार्यक्रम राख्ने पार्टीले जनाएको छ ।

व्यवसायिक कृषिमा काम गर्ने व्यक्तिहरूको न्यूनतम तलब निर्धारण गर्ने समेत कार्ययोजना रहेको छ । कामदारहरुको तलब तथा उद्यमीहरूको खूद नाफाको १० प्रतिशत रकममा सरकारले १० प्रतिशत थप गरी एकमुष्ट उपदान दिने व्यवस्था गर्ने समेत जनाइएको छ ।

भूमिहीन किसान, मुक्तकमैया/हलियाहरुको सम्मानजनक पुनस्र्थापना गर्ने र रोजगारीको ग्यारेन्टीको व्यवस्था गर्ने पार्टीको योजना रहेको छ ।

जैविक खेती प्रणालीलाई प्रोत्साहन गर्ने र देशलाई २० वर्षभित्र पूर्ण रुपले रासायनिक मल र विषादी मुक्त बनाउने प्रयत्न गर्ने जनाइएको छ ।