न्यायिक कार्यसँगै बागलुङको समिृद्धका लागि काम गर्छु: तारादेवी शर्मा

२२ बैशाख २०७४

बागलुङ । नयाँ शक्ति पार्टी, नेपालको तर्फबाट बागलुङ नगरपालिकाको उपमेयरकी उम्मेद्वार तारादेवी शर्माले आफूले उपमेयरको मुख्य काम न्यायिक कार्यसँगै बागलुङको समग्र समृद्धिका लागि पनि काम गर्ने प्रतिवद्धता मतदाताका बीचमा गर्नुभएको छ । शर्माले घरदैलो कार्यक्रममा नगरको क्षेत्राधिकार भित्रका विवादको निरुपण गर्ने र नगरपालिकाको समृद्धिका लागि उपमेयरमा उम्मेद्वारी दिएको बताउनुभयो ।

स्थानीय तहमा उपमेयरको संयोजकत्वमा न्यायिक समिति गठन हुने संवैधानिक व्यवस्था छ । त्यो समिति मार्फत् मेलमिलाप र न्यायिक कार्यलाई प्रभावकारी रुपमा काम गर्ने उहाँले प्रतिवद्धता जनाउनुभयो । नगरवासीको विकास र समृद्धिको सपना पूरा गर्ने आफ्नो प्रमुख उद्देश्य रहेकै कारण मतदाताले मशाल चिन्हमा मतदान गरी जिताउनेमा आफू ढुक्क रहेको उहाँले बताउनुभयो ।

नगरपालिकाका धार्मिक, साँस्कृतिक, ऐतिहासिक, पूरातात्विक र पर्यटकीय क्षेत्रको विकास गर्ने आफ्नो प्रमुख योजना रहेको भन्दै शर्माले विश्वास व्यक्त गर्नुभयो – ‘अब साँच्चै नै बागलुङको विकास गर्ने हो भने नयाँ शक्ति पार्टी र त्यसका उम्मेद्वारलाई यहाँका मतदाताले जिताउनु हुनेछ ।’

बागलुङ नगरपालिकाभित्र सञ्चालनमा नआएको पुरानो वलेवा विमानस्थल सञ्चालनमा ल्याउनु पनि आफ्नो प्रमुख उद्देश्य रहेको उहाँले बताउनुभयो । यो विमानस्थल सञ्चालनमा आयो भने नगरपालिकाको विकास र पर्यटकीय क्षेत्र विकासको लागि सहयोग हुने शर्माले बताउनुभयो । शर्माले आदिवासी जनजाति तथा महिलाहरुको आर्थिक अवस्थामा सुधार र आयआर्जनको लागि वैज्ञानिक प्रविधिमार्फत नयाँ कार्यक्रम ल्याउन र त्यसलाई पूरा गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।