नुवाकोटमा नयाँ शक्तिको प्रचार अभियान तीव्र

२३ वैशाख, २०७४

नुवाकोट – यहि वैशाख ३१ गते हुन गइरहेको पहिलो चरणको स्थानीय तह निर्वाचनको माहोल नुवाकोट जिल्लाभरी ह्वात्तै बढेको छ । निर्वाचनको मिति नजिकिँदै गर्दा नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरमको संयुक्त मोर्चामा जारी निर्वाचन अभियान पनि तीव्र बन्दै गएको छ ।

निर्वाचनको माहोल तालेकै बेला नुवाकोटको बेलकोटगढी नगरपालिकामा नयाँ शक्ति पार्टीको प्रचार अभियान तीव्र गतिमा भइरहेको सो नगरपालिकाका मेयरका उम्मेद्वार नवराज ढुंगाना र उपमेयरका उम्मेद्वार कमला नेपालले बताउनु भयो ।

प्रचार अभियानकै क्रममा नुवाकोटको बेलकोटगढी नगरपालिकामा मेयरका उम्मेद्वार ढुंगाना, उपमेयरका उम्मेद्वार नेपालले नयाँ शक्ति पार्टी जिल्ला कमिटी नुवाकोटसहितको टोलीले स्थानीयहरुसँग छलफल तथा अन्तरक्रिया सम्पन्न गरेको छ ।

प्रचार टोलीले स्थानीय बुद्धिजीवी, नागरिक समाजका अगुवा, पेशाकर्मी, व्यवसायीहरुसँग चुनावलक्षित छलफल गरेको छ । छलफलमा स्थानीय मतदाताहरुको संख्या उल्लेखनीय रहेको थियो । त्यसैगरी प्रचार टोलीले शनिबार नै नगरपालिकाको वडा नं. १३ मदानपुरबाट प्रचार अभियान सुरु गर्दै क्रमश नगरपालिकाको सबै वडामा प्रचारप्रसार अभियान पु¥याउने लक्ष्य राखिएको उपमेयरकी उम्मेद्वार नेपालले बताउनु भयो ।

चुनाव प्रचार प्रसार अभियान सुरु भएसँगै नयाँ शक्तिको पक्षमा मतदाताहरुको उभार नै आएकाले नुवाकोटको बेलकोटगढी नगरपालिकामा नयाँ शक्तिका उम्मेद्वारहरुले विजय हासिल गर्ने निश्चितजस्तै भएको उपमेयरकी उम्मेद्वार नेपालले दाबी गर्नुभएको छ ।