हेटौंडालाई व्यवस्थित औद्योगिक सहर बनाउने पुनम भट्टराईकाे योजना

२३ वैशाख, २०७४

हेटौंडा – यहि बैशाख ३१ गतेको पहिलो चरणको स्थानीय तह निर्वाचनमा चुनाव हुन गइरहेको एउटै मात्र उपमहानगरपालिका हो हेटौंडा । प्रदेश नं.३ को निकै महत्व बोकेको यो उपमहानगरपालिकामा विजयी हुने लक्ष्यसहित विभिन्न पार्टीबाट उम्मेद्वारहरुको लर्को लागेको छ । त्यही लाइनमा नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरमको तर्फबाट संयुक्त रुपमा उपमहानगरको उपमेयर पदको उम्मेद्वारमा हुनुहुन्छ पुनम भट्टराई ।

‘अरुले गर्छन् कुरा, हामी गर्छौ पूरा’, ‘अबको निकास आर्थिक विकास’को मूल नारासहित निर्वाचनमा होमिनुभएकी भट्टराईले मकवानपुर जिल्लाकै सरदमुकाम समेत रहेको, औद्योगिक क्षेत्र समेत रहेको हेटांैडाको उपमेयर पदमा प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । पुराना र आफूलाई ठूला भन्ने पार्टीहरुले हेटौंडाका जनतालाई विकासको सपना देखाएर झुक्काएको भन्दै भट्टराई आफू नयाँ नीति र नेतृत्वको भिजनसहित उम्मेद्वार बनेको बताउनुहुन्छ ।

उहाँले हेटौंडा उपमहानगरपालिकालाई साँच्चै नै नयाँ र सुविधासम्पन्न औद्योगिक शहरका रुपमा विकास गर्ने अवधारणा सार्नुभएको छ । उहाँको यो अवधारणासँगै हेटौंडामा यसपटक नयाँ शक्तिका उम्मेद्वारहरुलाई विजयी गराउने अभियानमा मतदाताहरु लागेको उहाँको भनाइ छ ।

चुनावको मिति जति नजिकिँदै जाँदैछ, त्यति नै नयाँ शक्तिप्रति जनताको आकर्षण बढ्दै गएको छ । नयाँ शक्तिले पनि हेटौडा उपमहानगरपालिकामा निर्वाचन जित्नेगरी प्रचारप्रसार कार्यमा जोड दिंदै आएको छ । १९ वटा वडा रहेको हेटौडामा वडास्तरमा प्रचारप्रसार तीव्र पारिएको र मेयर र उपमेयरसहितको संलग्नतामा संयुक्त प्रचार कार्य भइरहेको उपमेयरकी उम्मेद्वार भट्टराईले बताउनु भयो ।

वैशाख २३ गतेसम्म ६ वटा वडामा प्रचारप्रसार गरिसकिएको र त्यहाँको माहोल हेर्दा नयाँ शक्तिले सहजै जित्ने अवस्था रहेको भट्टराईको दाबी छ । उहाँले निर्वाचनमा विजय प्राप्त गरेपछि हेटौंडा उपमहानगरपालिकाको सडक विस्तार गर्ने, सडक विस्तार गर्दा पीडित हुन पुग्ने उपभोक्ताहरुलाई उचित क्षतिपूर्ति र मुआब्जाको व्यवस्था गर्ने, उद्योगधन्दा तथा कलकारखानालाई व्यवस्थित गर्ने आफ्नो मूल उद्देश्य रहेको बताउनु भयो ।