काठमाडौंको विकास र समृद्धिलाई तीव्र बनाउने घोषणा

नयाँ शक्ति र संघीय समाजवादी फोरमको संयुक्त काठमाडौं घोषणापत्र सार्वजनिक
२३ वैशाख, २०७४

काठमाडौं – नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरमको तर्फबाट काठमाडौं महानगरपालिकाको मेयर पदमा साझा उम्मेदवार बनेका पवित्र बज्राचार्यले आफू काठमाडौंलाई विश्वकै उदाहरणीय शहर बनाउन प्रयासरत रहेको बताउनु भएको छ ।

काठमाडौंमा शनिबार दुवै पार्टी संयुक्त घोषणापत्र सार्वजनिक कार्यक्रममा बोल्दै बज्राचार्यले आफू काठमाडौंलाई बस्न लायक सहर बनाउने अभियानमा लागेको बताउँदै विशेष गरी शिक्षा र स्वास्थ्यको विषयमा केन्द्रित रहेर काठमाडौंको विकास र समृद्धिलाई तीव्र बनाउने बताउनुभएको छ । काठमाडौंवासीले स्वच्छ हावापानी र स्वच्छ पिउने पानी उपभोग गर्न पाउनु नै यहाँका बासिन्दाहरुको पहिलो आवश्यकता भएको उल्लेख गर्दै त्यसैलाई प्राथमिकतामा राखेको उहाँको भनाइ थियो ।

त्यसैगरी दुवै पार्टीका उपमेयरका साझा उम्मेदवार नयाँ शक्ति पार्टीकी सविना अर्यालले विकासका लागि काठमाडौं आफैं सक्षम भएको र यहाँ व्यवस्थापनको मात्र कमी रहेको बताउनुभयो । अर्यालले काठमाडौंको श्रोत र साधनलाई नै सदुपयोग गर्दै उचित व्यवस्थापन गर्ने र काठमाडौंलाई सबैले देखेको सपनाको शहर बनाउने बताउनुभयो । अरुले कुरा मात्र गर्ने गरेकोमा आफू त्यसलाई पूरा गर्न उद्दत रहेको उहाँको भनाइ थियो ।

कार्यक्रममा संघीय समाजवादी फोरम नेपालका सह अध्यक्ष राजेन्द्र श्रेष्ठले वर्तमान परिप्रेक्षमा राजनैतीक क्षेत्रमा अस्वस्थ अभ्यास शुरु भएको बताउँदै देश र नगरको विकासको लागि सबै निस्वार्थ भावनाले अघि बढ्नुपर्ने बताउनुभयो ।

त्यसैगरी नयाँ शक्ति पार्टी नेपालका नेता परशुराम तामाङले दलीय प्रतिस्पर्धामा विकास पछि परेको बताउँदै आफ्नो पार्टी सदैव विकासका लागि प्रयासरत रहने बताउनुभयो ।

सोही कार्यक्रममा मेयरका उम्मेदवार बज्राचार्य, उपमेयरका उम्मेदवार अर्यालका साथै ससफो नेपालका सह अध्यक्ष श्रेष्ठ, नयाँ शक्तिका नेता पर्शुराम तामाङ एवं नयाँ शक्तिकै नेतृ हिसिला यमीले दुवै पार्टीको संयुक्त घोषणा पत्र संयुक्त रुपमै सार्वजनिक गर्नुभयो ।