गण्डकी गाउँपालिकालाई समृद्ध बनाउने तिवारीको योजना

धादिङ्गको नेत्रवती गाउँपालिकालाई नमूना बनाइने
२४ वैशाख, २०७४

गोरखा– नयाँ शक्ति र संघीय समाजवादी फोरमबाट गोरखाको गण्डकी गाउँपालिकामा प्रमुखका उम्मेदवार कुमार तिवारीले गाउँलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने बताएका छन् ।

उनले भुम्लीचोकको भैरवी डाँडादेखि मनकामना जाने पर्यटकीय पैदल मार्ग निर्माण गरिने बताए । ‘सुन्दर दृष्य अवलोकन गर्दै धार्मिक आस्थाको केन्द्र मनकामना जाने पैदल मार्र्ग बनाउनु पर्छ’, तिवारीले भने, ‘यो पदमार्गले पर्यटकलाई आकर्षित गर्ने छ ।’ भैरवी डाँडामा भ्यू टावर निर्माण गर्ने पनि उनले बताए ।

चर्चित विद्यार्थी नेताको रुपमा स्थापित तिवारीले गाउँपालिकामा प्राविधिक शिक्षालय खोल्ने योजना रहेको समेत प्रष्ट पारेका छन् । ‘गाउँमा प्राविधिक शिक्षालय खोलिने छ । जसले लाखौं खर्च गरेर बाहिर पढ्न जाने बाध्यता हट्ने छ’, उनले भने, ‘यसले देशमा अभाव भएको दक्ष्य जनशक्तिलाई पनि पूर्ती गर्ने विश्वास लिएको छु ।’

निर्माणधिन राष्ट्रिय गौरवको बुढीगण्डकी आयोजनाबाट विस्थापितहरुको मुअब्जा बढाउने र उनीहरुलाई सुकुम्वासी बन्नबाट जोगाउने समेत उनले बताए । ‘बढीगण्डकीको मुअब्जा कम भएको छ, यसलाई बढाउनु पर्छ’, उनको भनाई छ । उनले कम्तीमा प्रति रोपनी ८ लाखका दरले मुअब्जा दिलाउने बताएका छन् ।

बढीगण्डकी परियोजना बनेपछि विस्थापितलाई परियोजनाकै लगानीमा ५० प्रतिशत सेयर र व्याक्तिगत लगानीमा थप ५० प्रतिशत सेयरको व्यवस्था गर्ने बताए । यस्तै उनले प्रभावितहरुलाई २५ प्रतिशत परियोजनाको लगानी र २५ प्रतिशत आफ्नै लगानीमा सेयर दिलाउने बताए ।

यस्तै तिवारीले कृषिमा आधुनिकिकरण गर्ने र स्वरोजगारको वातावरण सृजना गर्ने योजना पस्केका छन् । उनले दिर्घकालीन र अल्पकालीन गरेर कृषि र पशुपालनलाई व्यवसायीकरण गर्दै स्थानीयको आम्दानी बढाउने बताएका छन् ।

सामुदायिक विद्यालयको सुधार गरी शिक्षाको गुणस्तर बढाउने उनको योजना छ । गाउँपालिकामा नै गुणस्तरीय शिक्षा दिलाउने उनले बताए । गोरखामै वसेर लामो समय विद्यार्थी राजनीति गरेका तिवारी नयाँ शक्तिका संघीय परिषद् सदस्यसमेत हुन् ।

धादिङ्गको नेत्रवती गाउँपालिकालाई नमूना बनाइने

यसैबिच नयाँ शक्ति पार्टी नेपालले धादिङ जिल्लाको नेत्रवती गाउँपालिकाको अध्यक्ष पदको उम्मेदवारमा युवा नेता टेकबहादुर तामाङलाई उठाएको छ । नेत्रवती गाउँको विकास, समृद्धि, सुशासनका र देशकै नमुना गाउँपालिका बनाउनका लागि आफूले उम्मेदवारी दिएको टेकबहादुरले बताएका छन् । उनले आफूले चुनाव जितेको खण्डमा उक्त गाउँपालिकाको विकासका लागि के–के गर्ने भन्ने योजनाको सन्दर्भमा २७ बुँदे प्रतिबद्धता पत्र नै तयार गरेका छन् ।

नेत्रवती गाउँपालिकालाई ऐतिहासिक डब्जोङ गाउँपालिका बनाउने बनाएर जेष्ठ नागरिकहरूका हेरविचारका लागि मनोरंजन केन्द्र, सफा खानेपानीको अण्डरग्राउण्ड पानी ट्याङ्की र वैकल्पिक उर्जाका लागि दिर्घकालिन योजना, सबै गाउँमा पुग्ने ग्राबेल सडक, खेलकुदको विकासका लागि रंगशाला निर्माण लागायतका विकासको काम प्रथमिकतामा रहेको उनले बताए ।

प्रत्येक युवाहरूलाई स्वरोजगार बनाउन उनले विभिन्न उद्यमशील क्षेत्रको तालिम संचालन गर्ने, महिलालाई आत्मनिर्भर बनाउन सिलाई–बुनाई लगायतका रोजगार उन्मुख तालिम दिने योजना पनि अघि सारेका छन् । गाउँपालिकाका जनताको स्वास्थ्यलाई ध्यनमा राखेर घुम्ति स्वास्थ्य शिविर चलाउने, कृषिलाई व्यवासायिकरण गर्ने र किसानहरूको उत्पादलाई बजार व्यवस्था गर्न हाटबजार संचालन गर्ने कुरा पनि प्रतिद्धता पत्रमा उल्लेख गरिएको छ ।

आर्थिक समृद्धिका लागि उनले गाउँका सबै नागरिकको पहँच हुनेगरी सहकारी बैंक स्थाना गर्ने योजना बनाएका छन् । त्यसैगरी कटुन्जे, सेम्जुङ र मार्पकमा एकीकृत पर्यटन विकास योजना लागु गरी प्रत्येक .वडामा होम स्टेको व्यवस्था गर्ने योजना रहेको पनि उनले बताए ।

गाउँमा बढ्दै गएको विकृति हटाउन असामाजिक गतिविधि गर्नेलार्ई श्रम शिविरमा राखेर सुधार गर्ने, शिक्षाको गुणस्तरमा जोड दिने, वृद्ध र असहायका लागि खाने र वस्नेको विशेष प्रबन्ध गर्ने लगायतका कार्ययोजना प्रतिवद्धता पत्र मार्फत अगाडि सारिएको टेकबहादुर तामाङ बताउँछन् ।