यस्ताे छ भक्तपुरलाई समृद्ध बनाउने चार नगरका उम्मेदवारहरुको योजना

२४ वैशाख, २०७४

भक्तपुर – अत्यन्त पुरानो सांस्कृतिक तथा पर्यटकीय महत्व बोकेको नेपालको सबैभन्दा सानो जिल्ला हो भक्तपुर । नेवार समुदायको वाहुल्यता रहेको भक्तपुर ऐतिहासिक तथा धार्मिक महत्वको खानी हो । यहाँका बजारहरुमा नेवार समुदायका पुरानो घना बस्तीहरु प्रशस्त छन् । भक्तपुरले धार्मिक तथा सांस्कृतिक महत्व वोक्नुको अलवा शिक्षाको केन्द्र भागको रुपमा समेत परिचित छ ।

आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि भक्तपुरमा चार वटा स्थानीय तह कायम गरिएको छ । गाउँपालिका नभएको भक्तपुर जिल्लामा सुर्यविनायक, चाँगुनारायण, भक्तपुर र मध्यपुर ठिमी गरी चार नगरपालिका रहेको छ । यतिबेला पहिलो चरणको निर्वाचन हुने तीन वटै प्रदेशमा चुनावी सरगर्मी ह्वात्तै वढेको छ । वैकल्पिक राजनीतिको सुत्रधार नयाँ शक्ति पार्टी, नेपाल र संघीय समाजवादी फोरम, नेपालले गठबन्धन गरेर एक हातले समातेको मसाल चुनाव चिन्ह लिएर मैदानमा उत्रिएका छन् । सोही क्षेत्रको विकास र समृद्धि गर्नको लागि नयाँ शक्ति र समाजवादी फोरमका तर्फबाट संयुक्त उम्मेदवारी दिएका उम्मेदवार यसो भन्छन्ः

भक्तपुर नगरपालिका प्रमुख उम्मेदवार विष्णु निसुत

आसन्न निर्वाचनका लागि भक्तपुर नगरपालिकामा ५३ हजार तीन सय २४ जना मतदाता रहेका छन् । उक्त नगरपालिकामा १७ मतदान स्थल कायम गरिएको छ । भक्तपुर नगरपालिका प्राकृतिक सोत र साधनले सम्पन्न भए पनि पुरातन सोंच र विचार वोकेकाहरुले थिलोथिलो बनाएका छन् । भक्तपुर नगरपालिका नमूना र आकर्षकको केन्द्र बनाउन मेरो अहम् भूमिका हुनेछ । प्रविधिमैत्री शिक्षा, गुणस्तरीय स्वास्थ्य, युवा जनशक्तिको पलायनलाई रोक्नको लागि स्वरोजगार, वैज्ञानिक कृषि प्रणालीमा आधाररित कृषि प्रणाली लगायतमा मेरो ध्यान जानेछ । नगरपालिकाको विकासमा नीति नियमको तर्जुमा गरी वृद्धवृद्धालाई सहयोगमा खटिन पनि लगाव लगाएर काम गर्नेछु ।

चाँगुनारायण नगरपालिका प्रमुख उम्मेदवार कान्छा तामाङ मुखिया

आसन्न निर्वाचनमा चाँगुनारायण नगरपालिकामा ३४ हजार दुई सय ९३ जना मतदाता रहेका छन् । उक्त नगरपालिकामा २१ मतदानस्थल कायम गरिएका छ । चाँगुनारायण नेपालको ऐतिहासिक महत्व वोकेको क्षेत्र मात्रै नभई विश्वको आकर्षणको केन्द्र हो । धार्मिक र पर्यटकीय हिसावले उर्वर चाँगुनारायण क्षेत्रमा खानेपानी, शिक्षा, स्वास्थ्यलगायका क्षेत्रको समस्या अझै जर्जर रहेको छ । युवा पलायनको स्थिति पनि उत्तिकै विकराल छ । भ्रष्टाचारको शून्य सहनशिलतालाई दिलोज्यानले अपनाई युवा पलायनलाई रोकेर स्वरोजगार स्थापना गर्नुमा मेरो पहिलो भूमिका हुनेछ ।

विनाशकारी भूकम्पले दिएको पीडालाई भुल्नका लागि पुनःनिर्माण लगायका थुप्रै कार्य गर्नुपर्ने छ । भक्तपुर नेवार समुदायको वाहुल्यता भएको क्षेत्र हो । उनीहरुको आआफ्नै संस्कार र सस्कृति रहेको छ । त्यहाँ विभिन्न धर्म मान्ने धर्मालम्वीहरुको पनि उत्तिकै घनत्व रहेको छ । सबैको साझा फुलवारी बनाउनुमा मेरो उल्लेख्य भूमिका रहन्छ । नगरकोट त्यहाँको पर्यटकको आकर्षणको केन्द्र हो । त्यसको प्रवद्र्धन गर्नुमा मेरो उल्लेख्य भूमिका हुनेछ । कृषि, व्यापार, पर्यावरण, सडक, बिजुली, ढलनिकास लगायतका विभिन्न पूर्वाधारका साधनहरु विकास निर्माण गर्नेकार्यमा लिन हुनेछु ।

सूर्यविनायक नगरपालिका प्रमुख उम्मेदवार नारायणकृष्ण थापा

सूर्यविनायक नगरपालिकामा ३६ हजार तीन सय ९३ जना मतदाता रहेका छन् । यस नगरपालिकामा सबै भन्दा बढी २३ मतदान स्थल रहेको छ । सूर्यविनायक नगरपालिका छुट्टै मौलिक संस्कार र संस्कृतिले बनेको छ । यस क्षेत्रमा नेवार समुदायका साथै व्राम्हण, क्षेत्री लगायतको पनि बाहुल्यता रहेको छ । यस नगरपालिकाको मुख्य समस्या भनेको सडक, खानेपानी, स्वास्थ्य लगायत नै हो । मेरो ध्यान शान्तिसुव्यवस्था कायम गरी उक्त समस्याको निदान गर्नुमा नै मुख्य जोड हुनेछ ।

अनुसन्धान एवं विज्ञान तथा प्रविधामा आधारित शिक्षा प्रणाली, सूचना तथा सञ्चारको सुव्यवस्था, भुकम्पबाट ध्वस्त सम्पदाको पुनःनिर्माणमा मुख्य जोड, भ्रष्टारको अन्त्यमा जोड दिनुका साथै विदेशिने जनशक्तिलाई रोकी स्वरोजगारको स्थापनामा मेरो प्रमुख ध्यान हुनेछ । फोहोरमैला व्यवस्थापन, आधुनिक कृषि खेती, खेलकुदको विकासमा पनि मेरो ध्यान जानेछ ।

मध्यपुर ठिमी नगरपालिका प्रमुख उम्मेदवार ज्ञानराम श्रेष्ठ

शैशिक क्षेत्रको केन्द्रविन्दुका रुपमा रहेको मध्यपुरठिमी नगरपालिकामा ३६ हजार ८८ जना मतदाता रहेका छन् । यस नगरपालिकामा १७ मतदान स्थल कायम गरिएको छ । आसन्न स्थानीय तहको निर्वाचनमा विजय भएको खण्डमा मैलै मध्यपुर ठिमीलाई नमूना र भ्रष्टाराचरहित बनाउनमा मेरो मुख्य ध्यान हुनेछ । यस नगरपालिका भुकम्पले थुप्रै क्षतविक्षत बनाएको छ । सोही दुर्घटनाको आलो घाउमा मल्हमपट्टी लगाउनमा मेरो ध्येय हुनेछ । यस नगरपालिकाभित्र सडक मर्मत, धुँवा धुलो, सडक वत्ति, खानेपानी, ढलनिकास लगायतका क्षेत्रमा पनि काम गर्नेछु । स्थानीय मौलिकतालाई प्रथमिकतामा राखी काम गर्नुका साथै जेष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य विमा, शिक्षा, स्वास्थ्य, आवास, व्यापारिक पर्यटकीय लगायतका क्षेत्रको उन्नयनमा काम गर्नेछु ।